के तपाईं अरूसामु आफ्नो सिफारिस गर्दै हुनुहुन्छ?
के तपाईं अरूसामु आफ्नो सिफारिस गर्दै हुनुहुन्छ?
‘अरूले जेसुकै सोचून् मलाई केही मतलब छैन!’ रिस उठेको वा दिक्क लागेको बेला सायद तपाईंले पनि त्यसरी ठाडै बोल्नुभएको होला। तर यसरी देखाएको रिस मर्न नपाउँदै तपाईंलाई चिन्ता लागेको हुनसक्छ। किन? किनकि हामीमध्ये प्रायजसोलाई अरूले के सोच्लान् भन्ने कता कता चिन्ता छ।
निस्सन्देह, हामीले अरूको भावनाको ख्याल गर्नुपर्छ। विशेष गरी मसीही अनि यहोवा परमेश्वरको नियुक्त सेवकको नाताले, अरू मानिसहरूले हामीलाई कुन दृष्टिले हेर्छन्, त्यसबारे उपयुक्त चासो हामीले राख्नैपर्छ। आखिर, हामी “संसार . . . का निम्ति तमाशा भएका छौं।” (१ कोरिन्थी ४:९) दोस्रो कोरिन्थी ६:३, ४ मा हामी प्रेरित पावलको राम्रो सल्लाह पाउँछौं: “हाम्रो सेवामा कलङ्क नलागोस् भनेर हामी कुनै कुरामा केही बाधा दिन्नौं, तर हरेक कुरामा हामी आफैलाई [“परमेश्वरको सेवकको रूपमा सिफारिस गर्छौं,” NW] परमेश्वरका सेवकजस्तो देखाउँछौं।”
अरूसामु आफ्नो सिफारिस गर्नुको अर्थ के हो? के यसको अर्थ आफ्नो बढाइचढाइ कुरा गर्नु वा आफू र आफ्ना क्षमताहरूतर्फ अनावश्यक तरिकामा अरूको ध्यान खिच्नु हो? होइन। यसको अर्थ, १ पत्रुस २:१२ का यी शब्दहरू प्रयोगमा ल्याउनु हो: “अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ, र . . . तिनीहरूले देखेका तिमीहरूका असल कामबाट . . . तिनीहरूले परमेश्वरको महिमा गरून्।” मसीहीहरूको आचरणले नै तिनीहरूको सिफारिस गर्छ! हाम्रो असल आचरणले अन्ततः हाम्रो होइन, परमेश्वरको प्रशंसा गर्छ। तथापि, आफ्नो सिफारिस गर्दा हामीलाई पनि फाइदा हुन्छ। आउनुहोस्, तपाईंलाई फाइदा हुने तीन क्षेत्रहरूलाई जाँचौं।
विवाह योग्य व्यक्तिको रूपमा
उदाहरणका लागि, विवाहलाई नै लिनुहोस्। यो ‘स्वर्ग र पृथ्वीमा हरेक परिवारको नाउँ राख्नुहुने’ यहोवा परमेश्वरले दिनुभएको उपहार हो। (एफिसी ३:१५) हुनसक्छ, तपाईंले कुनै दिन विवाह गर्ने इच्छा गर्नुभएको होला। त्यसो हो भने, तपाईंले आफूलाई कुन हदसम्म विवाह योग्य व्यक्तिको रूपमा सिफारिस गरिरहनुभएको छ? हो, अविवाहित मसीही पुरुष अथवा स्त्रीको रूपमा तपाईंले कस्तो नाउँ कमाइरहनुभएको छ?
कुनै कुनै मुलुकमा यसबारे परिवारहरूले निकै ख्याल राख्छन्। उदाहरणका लागि, घानामा विवाह गर्न चाहने जोडीले आ-आफ्ना आमाबाबुलाई त्यसबारे जानकारी दिनुपर्ने परम्परा छ। अनि त्यसपछि यसबारे आमाबाबुहरूले परिवारका अन्य सदस्यहरूलाई खबर गर्छन्। तत्पश्चात् केटाको परिवारले टोलछिमेकमा केटीको कस्तो नाउँ चलेको छ, पत्ता लगाउँछ। केटाको आमाबाबु त्यो केटी बुहारी हुन लायककी छे भनी पक्का भइसकेपछि मात्र कन्या पक्षलाई आफ्नो छोरालाई उनीहरूकी छोरी मन परेको कुरा बताउँछन्। अब, विवाहको लागि सहमति जनाउनुअघि केटीको परिवारले केटाको प्रतिष्ठा कस्तो छ भनी सोधखोज गर्छ। त्यसैकारण, घानामा “बिहे गर्नुअघि कुरा बुझ्नुहोस्” भन्ने आहानै छ।
अक्सर आफैले आफ्नो भावी जोडी छान्ने अनुमति दिइने पश्चिमी मुलुकहरूबारे चाहिं के भन्न सकिन्छ नि? त्यहाँ पनि परिपक्व मसीही पुरुष वा स्त्रीले भावी जोडीलाई राम्ररी चिन्ने व्यक्तिहरू जस्तै आमाबाबु वा परिपक्व साथीहरूसित निष्कपट सिफारिस लिनु बुद्धिमानी हुनेछ। पारिवारिक आनन्दको रहस्य पुस्तकअनुसार एउटी अविवाहित स्त्रीले यी प्रश्नहरू सोध्नसक्छिन्: “ ‘यस पुरुषको कस्तो नाउँ चलेको छ? उनका मित्र को को हुन्? के उनले आत्मसंयम प्रदर्शित गर्छन्? उनले बूढापाकाहरूसित कस्तो व्यवहार गर्छन्? उनको परिवार कस्तो छ? तिनीहरूसित उनको सम्बन्ध कस्तो छ? पैसाप्रति उनको कस्तो दृष्टिकोण छ? के उनले मादक पेयहरू आवश्यकताभन्दा बढी पिउने गर्छन्? के उनको मुड छिनछिनमा बिग्रन्छ? के उनि हिंस्रक स्वभावका छन्? उनलाई मण्डलीमा कुन कुन जिम्मेवारीहरू सुम्पिएको छ? उनले ती जिम्मेवारीहरू कसरी पूरा गर्दैछन्? के म उनको गहिरो आदर गर्नसक्छु?’—लेवी १९:३२; हितोपदेश २२:२९; ३१:२३; एफिसी ५:३-५, ३३; १ तिमोथी ५:८; ६:१०; तीतस २:६, ७.” a
त्यसै गरी पुरुषले पनि आफूले विवाह गर्ने विचार गरेको मसीही स्त्रीबारे छानबिन गर्नसक्छन्। बाइबलअनुसार बोअजले रूथसित विवाह गर्नअघि त्यस्तै गरेका थिए। रूथले “म विदेशी हुँ भनी जानेर पनि हजूरले किन यति कृपा गर्नुहुन्छ” भनेर सोध्दा बोअजले यस्तो जवाफ दिए: “तिमीले . . . गरेका सबै काम मलाई मानिसहरूले भनेका छन्।” (रूथ २:१०-१२) हो, बोअजले रूथलाई वफादार, समर्पित र परिश्रमी आईमाइको रूपमा देख्नुका साथै अरूले पनि तिनीबारे राम्रा टिप्पणीहरू गरेका सुनेका थिए।
त्यसै गरी तपाईं योग्य वैवाहिक जोडी हुनुहुन्छ कि हुनुहुन्न त्यो बुझाउन तपाईंको आचरणले असर गर्छ। त्यसोभए, यससम्बन्धमा तपाईंले आफ्नो कस्तो सिफारिस गर्दै हुनुहुन्छ त?
कर्मचारीको रूपमा
असल चालचलनले तपाईंलाई फाइदा पुऱ्याउने अर्को क्षेत्र हो कार्यस्थल। कामका लागि असाध्यै होडबाजी हुनसक्छ।
अदबमा नबस्ने, समयमा कहिल्यै नआउने र बेइमान कर्मचारीहरू अक्सर कामबाट निकालिन्छन्। खर्च कम गर्न कम्पनीहरूले अनुभवी कर्मचारीहरूलाई समेत अवकास दिनसक्छन्। बेरोजगारहरूले नयाँ काम खोज्दा, नयाँ कम्पनीले पुरानो कम्पनीसित तिनीहरूको काम गर्ने बानी, मनोवृत्ति र अनुभवबारे सोधखोज गर्नसक्छ। थुप्रै मसीहीहरूले आफ्नो आदरणीय बानीबेहोरा, भद्र पहिरन, राम्रो आचरण र विशिष्ट मसीही गुणहरूद्वारा आफ्ना मालिकहरूसामु सफलतासाथ आफ्नो सिफारिस गरेका छन्।इमानदारी यस्तै एउटा गुण हो। थुप्रै मालिकहरू यो गुणको निकै कदर गर्छन्। प्रेरित पावल जस्तै हामी पनि “सबै कुरामा इमान्दारीसाथ रहने इच्छा” गर्छौं। (हिब्रू १३:१८) घानाको एउटा खानीमा बारम्बार चोरी भएको रिपोर्ट गरियो। थुप्रै जागिरबाट निकालिए तापनि ट्रिट्मेन्ट प्लान्टको सुपरभाइजर जो यहोवाका साक्षी थिए, तिनको जागिर भने खोसिएन। किन? किनभने, तिनी इमानदार छन् भनेर सञ्चालक समीतिलाई धेरै समयदेखि थाह थियो। तिनी मेहनती छन् र हाकिमहरूको आदर गर्छन् भनेर पनि तिनीहरूलाई थाह थियो। हो, तिनको निष्ठावान् आचरणले गर्दा तिनको जागिर जोगियो!
काम पाउनको लागि एक मसीहीले आफ्नो सिफारिस गर्नसक्ने अन्य केही तरिका के के हुन्? तपाईंलाई दिइएको जुनसुकै काममा निपुण हुनुहोस्। (हितोपदेश २२:२९) लगनशील भई इमानसँग काम गर्नुहोस्। (हितोपदेश १०:४; १३:४) आफ्नो मालिक र हाकिमसित आदरपूर्ण व्यवहार गर्नुहोस्। (एफिसी ६:५) समयनिष्ठ, इमानदारी, कार्यदक्षता र मेहनत मालिकहरूले कदर गर्ने गुणहरू हुन् र यी गुणहरूले तपाईंलाई जागिर पाउन धौधौ परिरहेको समयमा समेत जागिर पाउन मदत गर्नेछ।
मण्डलीका विशेषाधिकारहरू
अहिले मसीही मण्डलीहरूमा नेतृत्व लिन पहिलेभन्दा पनि धेरै परिपक्व पुरुषहरू चाहिएका छन्। यसको कारण? यशैया यस्तो भविष्यवाणी गर्छन्: “तेरो पालको ठाउँ बढ़ा। तेरो डेराको पाटा तन्काइऊन्। न थाम्, लामो पार्, र तेरा कीलाहरू बलियो गर्।” (यशैया ५४:२) यो भविष्यवाणीको पूर्तिअनुरूप यहोवाको विश्वव्यापी मण्डलीहरू धमाधम बढ्दै छन्।
यदि तपाईं मसीही पुरुष हुनुहुन्छ भने, नियुक्त सेवकको हैसियतमा सेवा गर्न आफैलाई कसरी सिफारिस गर्न सक्नुहुन्छ? जवान तिमोथीलाई विचार गर्नुहोस्। “लिस्त्रा र आइकोनियमका भाइहरूमा” तिमोथीका “बारेमा असल नाउँ चलेको थियो” भनी लूका रिपोर्ट गर्छन्। हो, असल आचरणद्वारा यी जवान पुरुषले दुई भिन्नभिन्नै शहरहरूमा आफ्नो सिफारिस गरे। त्यसकारण, पावलले तिमोथीलाई आफ्नो परिभ्रमण सेवकाईमा सँगै जान समेत निम्त्याए।—प्रेरित १६:१-४.
आज कुनै पनि पुरुषले ईश्वरीय तरिकामा कसरी ‘निरीक्षकको काम गर्ने चाहना गर्नसक्छन्’? आफ्नो सिफारिस गरिदेओस् भनेर प्रचार गरेर त पक्कै पनि होइन तर यस्ता जिम्मेवारीहरू वहन गर्नसक्ने आध्यात्मिक गुणहरू खेती गरेर सक्छन्। (१ तिमोथी ३:१-१०; १२, १३; तीतस १:५-९) प्रचारकार्यमा र चेला बनाउने कार्यमा पूरापूर भाग लिएर पनि “असलै कामको इच्छा” आफूले गरेका छन् भनी देखाउनसक्छन्। (मत्ती २४:१४; २८:१९, २०) जिम्मेवार मसीही पुरुषको रूपमा आफूलाई सिफारिस गर्नेहरूले आफ्ना आत्मिक भाइहरूको हितमा निष्कपट चासो लिन्छन्। तिनीहरू प्रेरित पावलको यो सल्लाह पालन गर्छन्: “पवित्र जनहरूका अभावहरूमा सहायता देओ, अतिथि-सत्कार कायम राख।” (रोमी १२:१३) यी कामहरू गरेर एक मसीही पुरुषले आफूलाई साँच्चै ‘परमेश्वरको सेवकको रूपमा सिफारिस गर्छन्।’
हर समय
आफ्नो सिफारिस गर्नुको अर्थ स्वाँङ गर्नु वा “मानिसहरूलाई खुशी पार्ने” हुनु भनेको होइन। (एफिसी ६:६) अन्ततः, यसको अर्थ हाम्रो सृष्टिकर्ता यहोवा परमेश्वरका व्यवस्थाहरू तथा सिद्धान्तहरू होसियारीसाथ पालन गरेर आफूलाई उहाँसामु सिफारिस गर्नु हो। आध्यात्मिकतामा बढ्दै जानुभयो र यहोवा परमेश्वरसितको आफ्नो सम्बन्धलाई बलियो पार्नुभयो भने तपाईंले आफ्नो परिवार, सहकर्मी तथा सँगी मसीहीहरूसित गर्नुभएको व्यवहारमा उन्नति गर्नुभएको अरूले याद गर्नेछन्। तिनीहरूले तपाईं दृढ र सन्तुलित हुनुहुन्छ, तपाईंसित ठीकबेठीक निर्णय गर्ने राम्रो क्षमता छ, जिम्मेवार बहन गर्नसक्ने र नम्र हुनुहुन्छ भनेर पनि देख्नेछन्। यसले गर्दा तपाईंले तिनीहरूको प्रेम र आदर कमाउनुहुनेछ र सबैभन्दा महत्त्वपूर्ण कुरा त, अरूसामु यसरी आफ्नो सिफारिस गर्नुभएकोमा यहोवाको अनुमोदन पाउनुहुनेछ!
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
[पृष्ठ १९-मा भएको चित्र]
थुप्रै आमाबाबुहरू आफ्नो छोरा वा छोरीले विवाह गर्न खोजेको व्यक्तिको कस्तो नाउँ चलेको छ भनी बुद्धिमानीसाथ जाँचबुझ गर्छन्
[पृष्ठ २०-मा भएको चित्र]
अरूको ख्याल राख्दै एक जना भाइले सेवा गर्ने विशेषाधिकारको लागि आफ्नो सिफारिस गर्नसक्छन्