सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नयाँ संसार–के तपाईं त्यहाँ हुनुहुनेछ?

नयाँ संसार–के तपाईं त्यहाँ हुनुहुनेछ?

नयाँ संसार–के तपाईं त्यहाँ हुनुहुनेछ?

“जीवित छँदानै सबैभन्दा सुन्दर जीवन निर्वाह गर्नु र सुखी हुनबाहेक मानिसको निम्ति अरू केही कुरो असल छैन . . .। त्यसबाहेक आफ्नो सारा परिश्रमको फलस्वरूप मानिसले खानु, पिउनु र आनन्द उपभोग गर्नुनै परमेश्‍वरको दान हो।”– उपदेशक ३:१२, १३.

१. हामी भविष्यप्रति किन आशावादी हुनसक्छौं?

 थुप्रै मानिसहरू सर्वशक्‍तिमान्‌ परमेश्‍वर निर्दयी अनि कठोर हुनुहुन्छ भन्ठान्छन्‌। यद्यपि, उहाँको प्रेरित वचनमा पाइने उपरोक्‍त पद तपाईंले सत्य पाउनुहुनेछ। उहाँ “आनन्दित परमेश्‍वर” हुनुहुन्छ भन्‍ने तथ्य र उहाँले हाम्रो प्रथम मातापितालाई पार्थिव प्रमोदवनमा राख्नुभएको कुरासित यो मेल खान्छ। (१ तिमोथी १:११, NW; उत्पत्ति २:७-९) आफ्ना जनहरूका निम्ति परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको भविष्यलाई नियाँल्दा हामीलाई चिरकालीन आनन्द दिने अवस्थाहरूबारे जानकारी पाइएमा हामीले अचम्म मान्‍नुपर्दैन।

२. तपाईंले आशा गर्नुभएका केही कुराहरू के के हुन्‌?

अघिल्लो लेखमा हामीले बाइबलमा “नयाँ आकाश र नयाँ पृथ्वी[बारे]” भविष्यवाणी गरिएको चार स्थानहरूमध्ये तीनवटा कहाँ कहाँ रहेछन्‌ भनी जाँच्यौं। (यशैया ६५:११) यी भरपर्दा भविष्यवाणीहरूमध्ये एउटा प्रकाश २१:१ मा लिपिबद्ध गरिएको छ। यस पदपछिका पदहरूमा सर्वशक्‍तिमान्‌ परमेश्‍वरले हाम्रै भलाइका निम्ति यस पृथ्वीलाई पूर्णतया परिवर्तन गर्नुहुने समयबारे बताइएको छ। उहाँले दुःखको आँसु पुछिदिनुहुनेछ। वृद्धावस्था, रोग वा दुर्घटनाका कारण मानिसहरू मर्नेछैनन्‌। शोक, रुवाइ, पीडा सब बितेका कुरा हुनेछन्‌। कत्ति मनोहर प्रत्याशा! तर के यसो हुने नै छ भनेर हामी पक्का हुनसक्छौं र? यस्तो प्रत्याशाले अहिल्यै हामीलाई कस्तो असर पार्नसक्छ?

भरोसा गर्ने कारणहरू

३. बाइबलले भविष्यबारे गरेका प्रतिज्ञाहरूमाथि हामी किन भरोसा गर्नसक्छौं?

प्रकाश २१:५ ले अझ अघि के भन्छ याद गर्नुहोस्‌। त्यहाँ स्वर्गको सिंहासनमा विराजमान्‌ परमेश्‍वरले गर्नुभएको यस्तो घोषणा उद्धृत गरिएको छ: “हेर, म सब कुरा नयाँ तुल्याउँछु।” यो ईश्‍वरीय प्रतिज्ञा आजसम्म कुनै पनि राष्ट्रले गरेको स्वतन्त्रता तथा हकसम्बन्धी घोषणा वा मानिसको भावी आकांक्षाभन्दा कता हो कता उत्तम छ। यो यस्तो व्यक्‍तिले गर्नुभएको भरपर्दो घोषणा हो, जसलाई बाइबलले “कहिल्यै झूट नबोल्नुहुने” भनी परिचय दिएको छ। (तीतस १:२) तपाईंलाई एकछिन यहीं टक्क रोकिएर यो अत्युत्तम प्रत्याशाको आनन्द उठाउन र परमेश्‍वरमा भरोसा गर्न मन लाग्यो होला। तर हामी रोकिनु पर्दैन। हामीले भविष्यबारे सोच्ने थुप्रै कुराहरू छन्‌।

४, ५. हामीले छलफल गरिसकेका बाइबलका कुन कुन भविष्यवाणीहरूले अब हुन लागेका कुरामा हाम्रो भरोसा अझ बढाउँछ?

बाइबलले नयाँ आकाश र नयाँ पृथ्वीबारे गरेका भविष्यवाणीहरूबारे अघिल्लो लेखले के बताएको थियो, त्यो विचार गर्नुहोस्‌। यशैयाले त्यस्तो नयाँ व्यवस्थाबारे भविष्यवाणी गरे र त्यो यहूदीहरू आफ्नो भूमिमा फर्केर साँचो उपासना पुनर्स्थापित गरिसकेपछि पूरा भयो। (एज्रा १:१-३; २:१, २; ३:१२, १३) यद्यपि, यशैयाको भविष्यवाणीको पूर्ति के त्यत्तिमै सीमित थियो त? पक्कै पनि थिएन! तिनले भविष्यवाणी गरेका कुराहरू निकै टाढा भविष्यमा अझ विस्तृत तवरमा पूरा हुनलागेको थियो। हामी किन त्यसो भन्छौं? किनकि, २ पत्रुस ३:१३ अनि प्रकाश २१:१-५ मा हामीले जे पढ्यौं त्यसैले गर्दा। यी पद्यांशहरूले विश्‍वव्यापी तवरमा मसीहीहरूको हित गर्ने नयाँ आकाश र नयाँ पृथ्वीलाई संकेत गर्छ।

सुरुमा उल्लेख गरिएझैं बाइबलमा “नयाँ आकाश र नयाँ पृथ्वी” भन्‍ने वाक्यांश चार पटक प्रयोग गरिएका छन्‌। हामीले यीमध्ये तीनवटाको छलफल गरिसकेका छौं, र त्यसो गरेर हामी निकै प्रोत्साहनजनक निष्कर्षहरूमा पनि पुगेका छौं। परमेश्‍वरले दुष्टता र दुःखकष्टका अन्य कारणहरूलाई नामेट पार्नुहुनेछ र त्यसपछि उहाँले प्रतिज्ञा गर्नुभएबमोजिम नयाँ व्यवस्था सुरुभएपछि मानिसजातिलाई आशिष्‌ दिनुहुनेछ भनेर बाइबलले सुस्पष्ट भविष्यवाणी गरेको छ।

६. “नयाँ आकाश र नयाँ पृथ्वी” भनेर चौथो पटक उल्लेख गरिएको भविष्यवाणीले के बताउँछ?

अब हामी फेरि यशैया ६६:२२-२४ मा “नयाँ आकाश र नयाँ पृथ्वी” भनेर उल्लेख गरिएको अन्तिम वाक्यांशलाई केलाऔं, जहाँ यस्तो लेखिएको छ: “ ‘जसरी नयाँ आकाश र पृथ्वी, जो म बनाउनेछु, ती मेरै सामने रहिरहनेछन्‌, त्यसरीनै तिमीहरूका सन्तान र तिमीहरूका नाउँ पनि रहिरहनेछ,’ परमप्रभु भन्‍नुहुन्छ। ‘औंसी र विश्राम–दिनैपिच्छे, सबै मानिसहरू मलाई सेवा गर्न आउनेछन्‌,’ परमप्रभु भन्‍नुहुन्छ। ‘तिनीहरूले निस्केर मेरो विरुद्धमा अपराध गर्ने मानिसहरूका लाशहरूलाई हेर्नेछन्‌। तिनीहरूका कीरा मर्नेछैन। तिनीहरूको आगो निभ्नेछैन। सबैको निम्ति तिनीहरू घीनलाग्दा हुनेछन्‌।’ ”

७. आगामी दिनहरूमा पनि यशैया ६६:२२-२४ को भविष्यवाणी पूरा हुनेछ भन्‍ने निष्कर्षमा हामी किन पुग्न सक्छौं?

आफ्नो जन्मभूमि फर्केका यहूदीहरूमाथि यो भविष्यवाणी पूरा भए तापनि यसको अर्को पूर्ति हुन भने बाँकी नै थियो। यो पत्रुसले आफ्नो दोस्रो पत्र र प्रकाशको पुस्तक लेखिसकेपछि पूरा भएको हुनुपर्छ किनकि, तिनीहरू दुवैले भावी ‘नयाँ आकाश र नयाँ पृथ्वीलाई’ संकेत गरेका थिए। नयाँ व्यवस्था सुरुभएपछि हामीले उक्‍त भविष्यवाणीको बृहत्‌ अनि पूरापूर पूर्ति देख्ने आशा गर्नसक्छौं। हामीले आनन्द उठाउनसक्ने केही अवस्थाहरू विचार गर्नुहोस्‌।

८, ९. (क) कुन अर्थमा परमेश्‍वरका जनहरू “रहिरहनेछन्‌”? (ख) यहोवाका सेवकहरूले “औंसी र विश्राम–दिनैपिच्छे” उपासना गर्नेछन्‌ भन्‍ने भविष्यवाणीको आशय के हो?

प्रकाश २१:४ ले मृत्यु हुनेछैन भनी संकेत गरेको छ। यससित मिल्दोजुल्दो वाक्यांश यशैया ६६ मा पाइन्छ। हामी पद २२ मा के पाउँछौं भने, यो नयाँ आकाश र नयाँ पृथ्वी अस्थायी, सीमित अवधिको लागि मात्र होइन भनी यहोवालाई थाह छ। यसबाहेक, उहाँका जनहरू रहिरहनेछन्‌; हो, तिनीहरू उहाँ सामने “रहिरहनेछन्‌।” यसको प्रमाण परमेश्‍वरले आफ्ना चुनिएका जनहरूका लागि जे जति गरिसक्नुभयो, त्यसबाट पाउँछौं। साँचो मसीहीहरूले थुप्रै क्रूर सतावटहरू भोगिसकेका छन्‌ र कतिपटक तिनीहरूलाई पूर्णतया नामेट गर्ने सशक्‍त प्रयाससमेत गरिएको छ। (यूहन्‍ना १६:२; प्रेरित ८:१) यद्यपि, परमेश्‍वरका जनहरूको अत्यन्त शक्‍तिशाली शत्रुहरू रोमी सम्राट नेरो तथा अडोल्फ हिटलरले समेत यहोवाको नाउँ पुकार्ने उहाँका वफादार जनहरूलाई नामेट पार्न सकेनन्‌। यहोवाले आफ्ना जनहरूको मण्डलीलाई जोगाउनु भएको छ र जोगाइराख्न सक्नुहुन्छ भनी हामी पक्का छौं।

त्यसै गरी, नयाँ पृथ्वी अर्थात्‌ नयाँ संसारमा साँचो उपासना चढाउनेहरूको समाजको रूपमा परमेश्‍वरप्रति विश्‍वासी भइरहने व्यक्‍तिहरू व्यक्‍तिगत तवरमा रहिरनेछन्‌। किनकि, तिनीहरूले सबै थोकका सृजनहारलाई शुद्ध उपासना चढाइरहेका हुनेछन्‌। यो कहिलेकाहीं वा मन लागेअनुसार गरिने उपासना होइन। परमेश्‍वरले मोशा मार्फत इस्राएललाई दिनुभएको व्यवस्थाले परमेश्‍वरको उपासना गर्दा प्रत्येक महिनाको औंसी र प्रत्येक हप्ताको विश्राम-दिनैपिच्छे गर्नुपर्ने केही खास कामहरूबारे बताएको छ। (लेवी २४:५-९; गन्ती १०:१०; २८:९, १०; २ इतिहास २:४) त्यसकारण, यशैया ६६:२३ ले हप्तैपिच्छे अनि महिनैपिच्छे नियमित तवरमा चलिरहने साँचो परमेश्‍वरको उपासनातर्फ संकेत गर्छ। त्यतिखेर, नास्तिकवाद र धार्मिक कपट देखा पर्नेछैन। “सबै मानिस-जाति आएर” यहोवाको “सामुन्‍ने निहुरिनेछन्‌।”— नयाँ संशोधित संस्करण।

१०. नयाँ पृथ्वीलाई दुष्टहरूले सधैंका लागि बिगार्न पाउनेछैनन्‌ भनी तपाईं किन विश्‍वस्त हुन सक्नुहुन्छ?

१० यशैया ६६:२४ ले नयाँ पृथ्वीको शान्ति र धार्मिकता कहिल्यै खतरामा पर्नेछैन भनी हामीलाई आश्‍वासन दिन्छ। दुष्ट मानिसहरूले शान्ति अनि धार्मिकता भंग गर्न पाउनेछैनन्‌। दोस्रो पत्रुस ३:७ सम्झनुहोस्‌। त्यहाँ आउँदै गरेको विनाशको दिनमा “भक्‍तिहीन मानिसको इन्साफ र विनाश[बारे]” वर्णन गरिएको छ। हो, अभक्‍तहरू विनाशको दिनमा नाश हुनेछन्‌। मानव युद्धहरूमा अक्सर सिपाहीको तुलनामा जनसाधारण बढी मारिए वा घाइते भएजस्तो निर्दोषहरूमाथि पटक्कै हानि आइपर्नेछैन। उहाँको दिनमा केवल अभक्‍तहरूको नाश हुनेछ भनी महान्‌ न्यायकर्ता हामीलाई ग्यारेन्टी दिनुहुन्छ।

११. परमेश्‍वर र उहाँको उपासनाको विरोध गर्नेहरूको भविष्य कस्तो हुनेछ भनेर यशैयाले बुझाए?

११ बचेका धर्मी जनहरूले परमेश्‍वरको भविष्यसूचक वचन सत्य रहेछ भनी बुझ्नेछन्‌। पद २४ ले यहोवाको “विरुद्धमा अपराध गर्ने मानिसहरूका लाशहरू” उहाँको न्यायको प्रमाण हुनेछन्‌ भनी भविष्यवाणी गर्छ। यशैयाले गरेको यो बीभत्स वर्णन सुनेर हामी स्तब्ध होऔंला। तथापि, तिनले ऐतिहासिक तथ्यतर्फ मात्र ध्यान खिचिरहेका थिए। पुरातन यरूशलेमको पर्खालबाहिर फोहर फालिन्थ्यो र कहिलेकाहीं गाड्‌न अनुपयुक्‍त ठहरिएका नीच अपराधीहरूको लास पनि। a त्यहाँ फालिएका फोहर तथा लास दुवैलाई कीरा तथा भस्म पार्ने आगोले तुरुन्तै सखाप पार्थ्यो। स्पष्ट छ, यहोवाले पाप गर्ने मानिसहरूको न्याय गर्नुहुँदाखेरिको अन्तिम अवस्था चित्रण गर्न यशैयाले त्यस्तो दृष्टान्त चलाए।

उहाँले प्रतिज्ञा गर्नुभएको कुरा

१२. नयाँ संसारमा पाइने जीवनबारे यशैया अझै के संकेत दिन्छन्‌?

१२ प्रकाश २१:४ ले हामीलाई आउँदै गरेको नयाँ व्यवस्थामा रहँदै नरहने केही कुराबारे बताउँछ। तथापि, त्यसोभए केचाहिं रहिरहनेछ त? त्यतिखेरको जीवन कस्तो हुनेछ? के हामी कुनै भरपर्दो सुराक प्राप्त गर्नसक्छौं? पक्कै सक्छौं! ‘नयाँ आकाश र नयाँ पृथ्वीलाई’ यहोवाले अन्तिम रूप दिनुहुँदा त्यहाँ बाँच्न अनुमति पाउने मानिसहरूले आनन्द उठाउने अवस्थाबारे यशैया अध्याय ६५ ले भविष्यसूचक ढंगमा वर्णन गर्छ। नयाँ पृथ्वीमा सधैंभरि बस्ने आशिष्‌ पाउनेहरू कहिल्यै बूढो हुनेछैनन्‌, तिनीहरूको मृत्यु पनि हुनेछैन। यशैया ६५:२० हामीलाई यस्तो आश्‍वासन दिन्छ: “त्यहाँ कहिल्यै थोरै दिन मात्र जीवित रहने, र आफ्नो पूरा उमेरसम्म नबाँच्ने मानिस हुनेछैन। किनकि बालक सय वर्ष भएर मर्नेछ, र पापी सय वर्ष श्रापित ठहरिनेछ।”

१३. परमेश्‍वरका जनहरू सुरक्षित हुनेछन्‌ भनी यशैया ६५:२० ले हामीलाई कसरी आश्‍वस्त गराउँछ?

१३ यशैयाको समयका मानिसहरूमाथि यो भविष्यवाणी पहिलोपटक पूरा हुँदा त्यस मुलुकका बच्चाहरू सुरक्षित भए। कुनै समय बेबिलोनीहरू आएजस्तै दूधे बालकहरूलाई उठाएर लैजान वा अकाल मृत्युको मुखमा धकेल्न कुनै शत्रुहरू आएनन्‌। (२ इतिहास ३६:१७, २०) आउँदै गरेको नयाँ संसारमा मानिसहरू सकुशल र सुरक्षित हुनेछन्‌, आ-आफ्नो जीवनको आनन्द उठाउन सक्नेछन्‌। कुनै व्यक्‍तिले परमेश्‍वरसित विद्रोह गर्ने छनौट गरेको खण्डमा त्यो जीवित रहिरहन पाउनेछैन। परमेश्‍वरले त्यसलाई हटाउनुहुनेछ। पाप गर्न छनौट गर्ने व्यक्‍ति सय वर्षको रहेछ भने नि? त्यो उसले पाउनसक्ने अनन्त जीवनको तुलनामा “बालक” छँदै मर्नेछ।—१ तिमोथी १:१९, २०; २ तिमोथी २:१६-१९.

१४, १५. यशैया ६५:२१, २२ मा आधारित कस्ता इनामदायी क्रियाकलापहरूमा तपाईं भाग लिन सक्नुहुन्छ?

१४ जानाजानी पाप गर्ने व्यक्‍ति कसरी हटाइनेछ भनी छलफल गरिरहनुको साटो यशैया नयाँ संसारमा बिताइने जीवनको वर्णन गर्छन्‌। यस दृश्‍यमा आफूलाई सामेल गर्नुहोस्‌। तपाईंले आफ्नो मनको आँखाले सबैभन्दा पहिले देख्ने कुरा नै तपाईंको घरपरिवार हुनसक्छ। त्यसैलाई ध्यानमा राख्दै यशैया पद २१ र २२ यसो भन्छ: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌। तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खाने चाहिं हुनेछैन, किनकि जस्तो रूखको आयु हुन्छ, त्यस्तै मेरो प्रजाको आयु हुनेछ, र छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्‌।”

१५ तपाईंले कहिल्यै कुनै निर्माण कार्य गर्नुभएको छैन वा कहिल्यै बगैंचा लगाउनुभएको छैन भने तपाईंले यससम्बन्धमा तालिम पाउन सक्नुहुने कुरा यशैयाको यो भविष्यवाणीले संकेत गर्छ। के तपाईं सक्षम अनि अनुभवी निर्देशकको मदत लिएर सिक्न वा छिमेकीको सहयोग लिएर काम गर्न इच्छुक हुनुहुन्‍न? तपाईंको घरमा सरर्र हावा बहने अथवा कोठाभित्रबाटै मौसम फेरिरहेको हेर्न मिल्ने ठूलठूला झ्याल हुनेछ वा हुनेछैन यशैया बताउँदैनन्‌। हिउँ, पानी तर्केर जाने छाना भएको घर बनाउने हो कि? अथवा स्थानीय हावापानीअनुसार अर्थात्‌ मध्यपूर्वमा जस्तो समतल छाना भएको घर बनाएर छतमा परिवारसित बसेर मीठो मीठो गफ गर्ने वा खाना खाने पो हो कि?—व्यवस्था २२:८; नहेम्याह ८:१६.

१६. नयाँ संसारमा स्थायी सन्तुष्टि पाइनेछ भनेर किन आशा गर्न सकिन्छ?

१६ यस्ता कुराहरू विस्तृत तवरमा थाह पाउनुभन्दा तपाईंको आफ्नै एउटा घर हुनेछ भनेर जान्‍न पाउनु नै महत्त्वपूर्ण कुरा हो। हो, त्यो तपाईंको आफ्नै घर हुनेछ, आजजस्तो आफूले दुःख गरी बनाएर अरूलाई छोड्‌नुपर्ने घर होइन। यशैया ६५:२१ ले तपाईंले रोपेर त्यसको फल पनि तपाईंले नै खान पाउनुहुनेछ भन्छ। स्पष्टतः यसले त्यतिबेलाको सामान्य अवस्थालाई सारांशमा प्रस्तुत गर्छ। तपाईंले आफ्नो मिहेनतको मीठो फल पाउनुहुनेछ, निकै सन्तुष्टि पाउनुहुनेछ। अनि “रूखको जस्तो आयु हुने” लामो जीवनभर तपाईं त्यसै गरिरहनुहुनेछ। अनि यो “सब थोक नयाँ” भन्‍ने विवरणसित ठ्याक्कै मिल्छ!—भजन ९२:१२-१४.

१७. आमाबाबुहरूले विशेष गरी कुनचाहिं प्रतिज्ञाबाट प्रोत्साहन पाउनेछन्‌?

१७ तपाईं आमाबाबु हुनुहुन्छ भने यी शब्दहरूले तपाईंको हृदय छुनेछ: “तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्‌, नता विपदको दिनको निम्ति बालकहरू जन्माउनेछन्‌, किनकि तिनीहरू आफ्ना बाल–बच्चाहरूसमेत परमप्रभुको आशिष पाएको वंश हुन्‌। तिनीहरूले बिन्ती गर्न अघिनै म उत्तर दिनेछु। तिनीहरूले बोल्दा बोल्दै म तिनीहरूका कुरा सुन्‍नेछु।” (यशैया ६५:२३, २४) के तपाईंलाई ‘विपद्‌को दिनको निम्ति बालकहरू जन्माउनु पर्दाको’ पीडा थाह छ? छोराछोरीहरू हुर्काउनु पर्दा आमाबाबु र अरूले सामना गर्नुपरेका समस्याहरूको लामो सूची नै तयार पारिरहनु आवश्‍यक छैन। अर्कोतर्फ आफ्नो जागिर-पेसा तथा मनोरञ्जनमा चुर्लुम्मै डुबेर छोराछोरीलाई समय वा चासो नदिने आमाबाबुहरू पनि हामीले देखेका छौं। यसको विपरीत यहोवा हाम्रो कुरा सुन्‍ने, हाम्रा आवश्‍यकताहरू पूरा गर्ने आश्‍वासन दिनुहुन्छ। यहाँसम्म कि, हामीले उहाँसित कुरा गरेको अनि बिन्तीभाउ गरेको आशासमेत गर्नुहुन्छ।

१८. नयाँ संसारमा जनावरहरूसित आनन्द उठाउन सकिनेछ भनेर तपाईं किन आशा गर्न सक्नुहुन्छ?

१८ नयाँ संसारमा तपाईंले आनन्द उठाउन सक्नुहुने कुराहरू सम्झँदै गर्नुहुँदा परमेश्‍वरले भविष्यवाणी गर्नुभएको यो दृश्‍य पनि कल्पना गर्नुहोस्‌: “ ‘ब्वाँसो र थुमा एउटै ठाउँमा खानेछ, र सिंहले चाहिं गोरुहरूलेझैं पराल खानेछ, र साँपको आहारा धूलो हुनेछ। मेरा सारा पर्वतमा तिनीहरूले नोक्सानी गर्नेछैन, नष्ट गर्नेछैन,’ परमप्रभु भन्‍नुहुन्छ।” (यशैया ६५:२५) चित्रकारहरूले यो दृश्‍यलाई चित्रद्वारा उतार्ने प्रयास गरेका छन्‌ तर हामीले यहाँ जे पढ्यौं त्यो चित्रकारको कल्पना होइन। यो वास्तविक हो। मानिसहरूबीच अनि जनावरहरूबीच र जनावर तथा मानिसहरूबीच पनि शान्ति कायम रहनेछ। प्राणीहरूको अध्ययन गर्ने जीवविज्ञानीहरू तथा प्राणी प्रेमीहरूले केही थरिका वा हुनसक्छ कुनै उपजाति वा नस्लका जनावरहरूबारे जानकारी पाउन मात्रै पनि आफ्नो जीवनका सुनौला क्षणहरू बिताउँछन्‌। यसको विपरीत कल्पना गर्नुहोस्‌ त, जनावरहरूले मानिसको डरै मान्‍नु नपर्ने समयमा तिनीहरूबारे कति धेरै कुराहरू थाह पाउन सकिएला। त्यतिखेर, तपाईं चराचुरुंगी अनि जंगलमा बस्ने स-साना प्राणीहरूको नजिक जान सक्नुहुनेछ। हो, तपाईं तिनीहरूलाई एकदम नजिकैबाट नियाल्न अनि तिनीहरूसित खेल्न सक्नुहुनेछ। (अय्यूब १२:७-९) अनि तपाईं तिनीहरूदेखि रत्तीभर डराउनु पर्नेछैन। यहोवा यसो भन्‍नुहुन्छ: “मेरा सारा पर्वतमा तिनीहरूले नोकसानी गर्नेछैन, नष्ट गर्नेछैन।” आज हामीले देखिरहेको र भोगिरहेको अवस्थाभन्दा कत्ति भिन्‍न अवस्था!

१९, २०. आज थुप्रै मानिसहरूभन्दा परमेश्‍वरका जनहरू किन भिन्‍नैछन्‌?

१९ आउँदै गरेको नयाँ सहस्र वर्षबारे मानिसहरूले जति नै चर्चा गरे तापनि मानवजातिले ठीक ठीक भविष्य बताउन सक्दैन भनेर हामीले सुरुमै उल्लेख गरिसक्यौं। यसरी मानिसले भविष्य बताउन नसकेकोले, थुप्रै दिक्क मान्छन्‌, अलमल्लमा पर्छन्‌ वा हतास हुन्छन्‌। क्यानेडियाली विश्‍वविद्यालयका निर्देशक पिटर एम्बेर्लीले लेखे: “थुप्रै [वयस्कहरू] अन्तमा अस्तित्वसम्बन्धी प्रश्‍नहरू सोध्छन्‌। म को हुँ? म के प्राप्त गर्ने प्रयास गरिरहेको छु? आउँदो पुस्ताको लागि म कस्तो भविष्य निर्माण गर्दैछु? तिनीहरू आफ्नो आधा जीवन बितिसक्दा पनि जीवनलाई व्यवस्थित तुल्याउन, जीवनमा उपलब्धि हासिल गर्न प्रयत्न गरिरहेका हुन्छन्‌।”

२० थुप्रैको अवस्था किन यस्तै छ भनी तपाईंलाई थाहै होला। सौखहरू वा रोमाञ्चकारी मनोरञ्जनहरूद्वारा तिनीहरू जीवनको आनन्द उठाउन खोज्लान्‌। यद्यपि, तिनीहरूलाई भविष्य थाह छैन। त्यसकारण, तिनीहरूका लागि यो जीवनको कुनै महत्त्व छैन, कुनै अर्थै छैन। तर अब यसलाई हामीले छलफल गरेका कुराहरूको आधारमा जीवनप्रति तपाईंको दृष्टिकोणसित तुलना गर्नुहोस्‌। यहोवाले प्रतिज्ञा गर्नुभएको नयाँ आकाश र नयाँ पृथ्वीमा हामीले चारैतिर हेरेर हृदयदेखि ‘हो, साँच्चै परमेश्‍वरले सब थोक नयाँ तुल्याउनुभएको छ’ भन्‍नसक्नेछौं! हामी कत्ति रमाउनेछौं!

२१. यशैया ६५:२५ र यशैया ११:९ मा कुन कुरा मिल्दोजुल्दो पाउँछौं?

२१ यहोवाले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा जीवन बिताइरहेको कल्पना गर्नु कुनै सेखी गर्नु होइन। उहाँ हामीलाई अहिल्यै सत्यतामा उपासना गर्न र ‘उहाँको सारा पर्वतमा तिनीहरूले नोक्सानी नगर्ने, नष्ट नगर्ने’ जीवनको निम्ति योग्य हुन निम्त्याउनुहुन्छ, अझ आग्रह नै गर्नुहुन्छ। (यशैया ६५:२५) यशैयाले पहिले पनि यस्तै अभिव्यक्‍ति प्रयोग गरेको र त्यसमा नयाँ संसारमा साँच्चै आनन्द उठाउन हामीसित हुनैपर्ने कुरा समावेश गरेको के तपाईंले याद गर्नुभयो? यशैया ११:९ यसो भन्छ: “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्‌, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।”

२२. बाइबलका चारवटा भविष्यवाणीको छलफलले हाम्रो कुन अठोटलाई सुदृढ पार्नुपर्ने हो?

२२ “परमप्रभुको ज्ञान।” परमेश्‍वरले सब थोक नयाँ तुल्याउनुहुँदा पृथ्वीका आशिषित्‌ बासिन्दाहरूले उहाँ र उहाँको इच्छाबारे सही ज्ञान पाउनेछन्‌। यसमा सृष्टि गरिएका जनावरहरूबाट सिक्न सकिने कुराहरूभन्दा पनि धेरै कुराहरू समावेश हुनेछन्‌। यसमा उहाँको प्रेरित वचन समावेश छ। उदाहरणका लागि, “नयाँ आकाश र नयाँ पृथ्वी” उल्लेख गरिएका चारवटा भविष्यवाणीहरूलाई केलाउँदा मात्र पनि हामीले कत्ति धेरै कुराहरू थाह पाइसक्यौं, त्यसमाथि विचार गर्नुहोस्‌। (यशैया ६५:१७; ६६:२२; २ पत्रुस ३:१३; प्रकाश २१:१) दिनहुँ बाइबल पढ्‌ने प्रशस्त कारण तपाईंसित छ। के तपाईं दिनहुँ बाइबल पढ्‌नुहुन्छ? पढ्‌नुहुन्‍न भने प्रत्येक दिन परमेश्‍वरले तपाईंलाई भन्‍नुहुने कुरा थाह पाउन अलिकता मात्र भए पनि बाइबल पढ्‌न तपाईं के कस्ता छाँटकाँट गर्न सक्नुहुन्छ? यसो गर्नुभयो भने, नयाँ संसारमा उठाउन सकिने आनन्द त छँदैछ, त्यसका साथसाथै अझ धेरै कुराहरू पाउनुहुनेछ अर्थात्‌ भजनरचयिताले जस्तै तपाईंले अहिल्यै प्रशस्त आनन्द उठाउन सक्नुहुनेछ।—भजन १:१, २.

[फुटनोट]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स, खण्ड १, पृष्ठ ९०६ हेर्नुहोस्‌।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

यशैया ६६:२२-२४ मा भविष्यमा हुने कुराहरूको अगमवाणी गरिएको हो भनी हामी किन भन्‍नसक्छौं?

यशैया ६६:२२-२४ र ६५:२०-२५ का भविष्यवाणीहरूमा उल्लिखित कुराहरूमध्ये कुनचाहिंको पूर्ति तपाईं विशेष गरी हेर्न चाहनुहुन्छ?

• आफ्नो भविष्यबारे विश्‍वस्त हुने के कस्ता कारणहरू तपाईंसित छन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएका चित्रहरू]

यशैया, पत्रुस र यूहन्‍नाले “नयाँ आकाश र नयाँ पृथ्वी [का]” विभिन्‍न पक्षहरूबारे भविष्यवाणी गरे