सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

तीन वटा सुसमाचारका पुस्तकहरूले येशूको शिरमा महँगो तेल लगाइंदा गरिएको गुनासोबारे वर्णन गर्छ। के थुप्रै प्रेरितहरूले गुनासो गरे वा यहूदाले मात्र?

हामी यस घटनाबारे मत्ती, मर्कूस र यूहन्‍नाले लेखेका सुसमाचारका पुस्तकहरूमा वर्णन गरिएको पाउँछौं। यसो हेर्दा सुरुमा यहूदाले गुनासो गरेको र अरू केही प्रेरितहरूले पनि समर्थन जनाएको जस्तो देखिन्छ। बाइबलमा चार-चार वटा सुसमाचारका पुस्तकका विवरणहरू भएकोमा हामी कृतज्ञ हुनुपर्ने कारणलाई यस घटनाले प्रस्ट पार्छ। हुन त हरेक लेखकले ठीक कुरा लेखेका थिए तर सबैले एकैनासे विवरण प्रस्तुत गरेनन्‌। यी समानान्तर विवरणहरूलाई तुलना गरेर हेर्दा हामी थुप्रै घटनाहरूको पूर्ण र विस्तृत विवरण पाउँछौं।

मत्ती २६:६-१३ मा दिइएको विवरणले उक्‍त घटना बेथानीमा शिमोन कोरीको घरमा भएको थियो भनेर बताउँछ तर येशूको शिरमा सुगन्धित तेल खन्याउने स्त्रीको नाउँ भने बताइएको छैन। मत्ती यसो भन्छन्‌: “यो देखेर चेलाहरूलाई रीस उठ्यो” र त्यो तेललाई धेरै दाममा बेचेर गरिबहरूलाई दिनसकिन्थ्यो भनेर गुनासो गरे।

मर्कूसको विवरणमा विस्तृत जानकारी दिइएको छ। तर त्यस स्त्रीले त्यो भाँडो फोरिन्‌ भनेर पनि तिनले बताएका छन्‌। त्यसमा “विशुद्ध जटामसीको” सुगन्धित तेल थियो जुन भारतबाट आयत गरिएको हुनसक्छ। गुनासोको सन्दर्भमा मर्कूसले “कोही कोहीले रीस” गरे अनि “तिनीहरू त्यससँग रीसले चूर भए” भनेर रिपोर्ट गर्छन्‌। (मर्कूस १४:३-९) यसरी दुइटा विवरणले के देखाउँछ भने एक जना प्रेरितले मात्र गुनासो गरेका थिएनन्‌। तर कुन कुराले गर्दा त्यसो भयो?

प्रत्यक्षदर्शी यूहन्‍ना थप विवरण प्रस्तुत गर्छन्‌। तिनले त्यो स्त्री मरियम अर्थात्‌ मार्था र लाजारसकी बहिनी हुन्‌ भनेर बताउँछन्‌। हामीले विरोधाभासपूर्ण सम्झनुको सट्टा पूरकको रूपमा लिनुपर्ने यो विवरण पनि यूहन्‍ना यसरी प्रस्तुत गर्छन्‌: तिनले “मलहम लिएर येशूका पाउमा मलिन्‌, र उहाँका पाउ आफ्ना कपालले पुछिन्‌।” सबै विवरणहरूलाई एकसाथ मिलाएर हेर्दा पक्कै पनि मरियमले येशूको शिर र पाउमा तेल लगाइन्‌, जुन “विशुद्ध जटामसी” थियो भनेर यूहन्‍नाले पनि पुष्टि दिन्छन्‌। यूहन्‍ना येशूसित असाध्यै घनिष्ठ थिए। त्यसैकारण, उहाँको उपेक्षा गरिएकोमा तिनी रिसाउनु ठीकै थियो। हामी यस्तो लेखिएको पाउँछौं: “तर उहाँका चेलाहरूमध्ये एक जना अर्थात्‌ उहाँलाई पक्राउन खोज्ने यहूदा इस्करयोतीले भन्यो, ‘यो मलहम तीन सय दिनारमा बेचिएर किन गरीबहरूलाई दिइएन?’ ”—यूहन्‍ना १२:२-८.

निस्सन्देह, यहूदा “उहाँका चेलाहरूमध्ये एक जना” थिए तर तिनी चेला भएर पनि येशूलाई धोका दिने योजना बनाइरहेको देख्दा यूहन्‍ना रिसाउनुको कारण तपाईं बुझ्नसक्नुहुन्छ। अनुवादक डा. सी. हावर्ड माथनीले यूहन्‍ना १२:४ बारे यसो भने: “ ‘खोजिरहेको’ [अथवा “खोज्ने”] भन्‍ने वर्तमान असमापिका र ‘पक्राउन लागेको’ [अथवा “पक्राउन खोज्ने”] भन्‍ने वर्तमान असमापिका, दुवैले हुँदै गरेको वा भइरहेको कामलाई देखाउँछ। यसले के देखाउँछ भने, यहूदाले येशूलाई धोका दिने योजना अचानक बनाएका होइनन्‌ तर धेरै दिनअघि देखि सोचिसम्झी योजना बनाएका थिए।” यहूदाले “गरीबहरूको ख्याल राखेर भनेको होइन, किनकि त्यो चोर थियो, र पैसाको थैली बोक्ने भएर त्यसमा राखिएका चीज झिकेर लैजान्थ्यो” भनेर यूहन्‍ना थप जानकारी दिन्छन्‌।

तसर्थ, चोर यहूदाले नै गुनासो गर्न सुरु गरे किनकि त्यो महँगो तेल बेचेर तिनले बोक्ने पैसाको थैलीमा हालिएको भए तिनले अझ बढी चोर्न सक्थे। यहूदाले यस्तो गुनासो गरेपछि अरू केही प्रेरितहरूले पनि तिनको कुरा ठीकै हो भन्ठानेर गनगन गरे होलान्‌। तथापि, विशेष गरी यहूदाले गुनासो गर्न सुरु गरेका थिए।