सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भविष्यवाणी गरिएअनुसार सबै कुरा नयाँ तुल्याउने

भविष्यवाणी गरिएअनुसार सबै कुरा नयाँ तुल्याउने

भविष्यवाणी गरिएअनुसार सबै कुरा नयाँ तुल्याउने

“सिंहासनमा विराजमान हुनुहुनेले भन्‍नुभयो, ‘हेर, म सब कुरा नयाँ तुल्याउँछु।’ औ उहाँले भन्‍नुभयो, . . . ‘यी कुराहरू विश्‍वासयोग्य र सत्य छन्‌।’”–प्रकाश २१:५.

१, २. भविष्य कस्तो हुन्छ भनेर अनुमान लगाउन थुप्रै मानिसहरू हिचकिचाउनु किन स्वाभाविकै हो?

 के तपाईंले ‘भोलि के हुन्छ कसलाई के थाह’ भन्‍नु भएको वा सोच्नुभएको छ? भविष्य कस्तो हुन्छ भनेर अनुमान लगाउने वा भविष्य बताउने दाबी गर्नेहरूमाथि भरोसा गर्न मानिसहरू किन अकमकाउँछन्‌, तपाईं बुझ्न सक्नुहुन्छ। आउँदा महिना वा वर्षहरूमा यस्तो हुन्छ भनी पूर्वानुमान गर्नसक्ने क्षमता मानिसहरूमा छँदैछैन।

फोर्ब्ज ए एस ए पि पत्रिकामा समयसम्बन्धी एउटा लेखमा टिभी वृत्तचित्र सञ्चालक रोबर्ट क्रिंलीले यस्तो लेखे: “आखिरीमा समयले हामी सबैलाई धोका दिन्छ तर भविष्य बताउनेहरूमाथि विश्‍वास गर्नेहरूले जति धोका पाउँछन्‌ त्यत्ति त कसैले पाउँदैन। भविष्य अनुमान गर्ने कोसिस गर्नु एउटा यस्तो खेल हो, जसमा हामी प्रायः सधैं नै हार्छौं। . . . तैपनि विशेषज्ञ भनौंदाहरू अझै भविष्य अनुमान गर्न थाकेका छैनन्‌।”

३, ४. (क) नयाँ सहस्र वर्षबारे कसै कसैले कस्तो आशा गरेका छन्‌? (ख) भविष्यबारे अरू कतिपयले चाहिं कस्तो व्यावहारिक प्रत्याशा राखेका छन्‌?

नयाँ शताब्दीबारे धेरै चर्चा परिचर्चा भइरहेकोले थुप्रै मानिसहरूले भविष्यबारे सोच्नथालेको तपाईंले याद गर्नुभएकै होला। गत वर्षको सुरु सुरुमा मक्लिन्स पत्रिकाले यसो भन्यो: “हुन त अधिकांश क्यानेडियालीहरू सन्‌ २००० लाई विशेष वर्ष ठान्दैनन्‌, तर भन्‍न सकिंदैन यही वर्षमा साँच्चै केही भइहाल्न पनि सक्छ।” तथापि, योर्क युनिभर्सिटीका प्राध्यापक क्रिस ड्यूडनेले आशावादी हुने यस्तो कारण दिए: “सहस्र वर्षको अर्थ एउटा भयानक शताब्दीलाई विदा गर्नु हो।”

त्यसरी परिस्थिति सुध्रनेछ भनेर आशा गर्नु कतै मनको लड्डू घिउसँग खानु बराबर त होइन? क्यानाडामा गरिएको सर्वेक्षणमा मात्र २२ प्रतिशतले “सन्‌ २००० ले नयाँ बिहानी ल्याउनेछ भनी विश्‍वास गरेको” पाइयो। वास्तवमा, झन्डै आधाजतिले त आउँदो ५० वर्षभित्र “अर्को विश्‍वयुद्ध हुने अनुमानसमेत लगाएका” देखियो। स्पष्टतः, थुप्रैले नयाँ सहस्र वर्षले हाम्रो समस्या समाधान गर्न अनि सब थोक नयाँ तुल्याउन सक्दैन भनेर बुझेका छन्‌। बेलाइतको रोयल सोसाइटीका भूतपूर्व सभापति वैज्ञानिक माइकल आत्याले लेखे: “द्रुत परिवर्तनको अर्थ . . . यो एक्काइसौं शताब्दीले हाम्रो सभ्यतासामु खडा गर्ने निर्णायक चुनौतिहरू हुन्‌। जस्तै बढ्‌दो जनसंख्या, सीमित स्रोत तथा साधन, वातावरणीय प्रदूषण अनि व्याप्त गरिबी। जुन हामीसँग छ र जससँग हामी तुरुन्तै लड्‌नु पनि परेको छ।”

५. अब हुन लागेका कुराहरूबारे भरपर्दो जानकारी हामी कहाँ पाउनसक्छौं?

तर तपाईंलाई लाग्ला, ‘मानिसहरूले भविष्य बताउन नसक्ने भए पछि त्यसको वास्ता गर्नुको साटो चुपचाप बसे हुन्‍न र?’ जवाफ छ, पटक्कै हुँदैन! हो, मानिसहरूले भविष्यमा हुने कुराहरू ठीक ठीक बताउन सक्दैनन्‌ तर कसैले पनि सक्दैन भन्‍ने निष्कर्षमा चाहिं पुग्नु हुँदैन। त्यसो भए, कसले सक्छ त अनि हामी आशावादी हुनुपर्ने कारण के छ?’ तपाईंले यी प्रश्‍नहरूको सन्तोषजनक जवाफ चारवटा खास भविष्यवाणीहरूमा पाउन सक्नुहुन्छ। ती प्रायः सबैसित भएको र सबैले पढेको तर गलत अर्थ लगाउनुका साथै बेवास्ता गरेको किताबमा लिपिबद्ध गरिएका छन्‌। त्यो किताब हो—बाइबल। बाइबलबारे तपाईंको विचारधारा जस्तोसुकै होस्‌ वा तपाईंलाई बाइबलमा भएका एक एक कुरा थाह किन नहोस्‌, यी चार आधारभूत पदहरू तपाईंले विचार गर्नैपर्ने पदहरू हुन्‌। ती पदहरूले वास्तवमा एउटा उज्ज्वल भविष्यबारे बताउँछ। यसबाहेक, यी चार आधारभूत भविष्यवाणीहरूले तपाईं र तपाईंका प्रियजनहरूको भविष्य कस्तो छ, त्यो पनि बताउँछ।

६, ७. यशैयाले कहिले भविष्यवाणी गरेका थिए र यो भविष्यवाणी कसरी अचम्मलाग्दो तरिकामा पूरा भयो?

तीमध्ये पहिलोचाहिं यशैयाको अध्याय ६५ मा पाइन्छ। पद पढ्‌नुअघि कुन बेला यो लेखियो र परिस्थिति कस्तो थियो त्यसमाथि राम्ररी ध्यान दिनुहोस्‌। ती शब्दहरू यहूदा राज्य पतन हुनुभन्दा १०० वर्षअघि परमेश्‍वरका अगमवक्‍ता यशैयाले लेखेका थिए। यहोवाले अविश्‍वासी यहूदीहरूमाथि आफ्नो सुरक्षा हटाउनुभएर बेबिलोनीहरूलाई यरूशलेमको विनाश गर्न अनि त्यहाँका बासिन्दाहरूलाई कैद गर्ने छुट दिनुभएपछि उक्‍त पतन भएको थियो। यद्यपि, नबिर्सनुहोस्‌, यसो हुनेछ भनेर यशैयाले सय वर्षभन्दा अघि नै बताइसकेका थिए।—२ इतिहास ३६:१५-२१.

यो भविष्यवाणी पूर्तिको ऐतिहासिक पृष्ठभूमिलाई बुझ्न परमेश्‍वरको निर्देशनमा यशैयाले त्यतिञ्जेल पैदा भई नसकेका कोरेस नाउँ गरेको फारसीले बेबिलोनलाई परास्त गर्नेछ भनेर बताएको कुरा पनि सम्झनुहोस्‌। (यशैया ४५:१) कोरेसले यहूदीहरूलाई सा.यु.पू. ५३७ मा तिनीहरूको आफ्नो भूमिमा फर्काउने परिस्थिति सृजना गरे। अचम्मको कुरा, यशैयाले यो पुनर्स्थापनाबारे पहिल्यै भविष्यवाणी गरिसकेका थिए र यो हामी अध्याय ६५ मा पाउँछौं। यशैयाले इस्राएलीहरू आफ्नो भूमिमा फर्केपछि तिनीहरूले अनुभव गर्ने परिस्थितिमाथि ध्यान केन्द्रित गरे।

८. यशैयाले कस्तो आनन्दित भविष्यबारे अगमवाणी गरे र विशेष गरी कुन अभिव्यक्‍ति चाखलाग्दो छ?

यशैया ६५:१७-१९ मा हामी यस्तो लेखिएको पाउँछौं: “हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु, र अघिअघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्‌। तर तिमीहरू मैले सृष्टि गरेको कुरामा सदा सर्वदा आनन्द गर र हर्ष मनाऊ। किनकि हेर, म यरूशलेमलाई हर्षित र त्यसका मानिसहरूलाई आनन्दित तुल्याउनेछु। म यरूशलेममा हर्षित हुनेछु, र मेरो प्रजामा रमाउनेछु, औ त्यहाँ नता रोएको आवाज फेरि कहिल्यै सुनिनेछ, न चर्को गरी रोएको सोर सुनिनेछ।” पक्कै पनि यशैयाले वर्णन गरेको यो अवस्था यहूदीहरूले बेबिलोनमा भोगेको अवस्थाभन्दा धेरै राम्रो थियो। तिनले हर्ष र रमाहटको अगमवाणी गरे। अब “नयाँ आकाश र नयाँ पृथ्वी” भन्‍ने अभिव्यक्‍तिलाई विचार गर्नुहोस्‌। उक्‍त अभिव्यक्‍ति बाइबलमा जम्मा चारपटक उल्लेख गरिएको पाइन्छ र योचाहिं पहिलो हो। यी चारै वाक्यांशहरूले हाम्रो भविष्यमाथि प्रत्यक्ष प्रभाव पार्छ। अझ भनौं भने, हाम्रो भविष्यसमेत बताउनसक्छ।

९. यशैया ६५:१७-१९ को पूर्तिमा पुरातन यहूदीहरू कसरी बिथोलित थिए?

यशैया ६५:१७-१९ को प्रारम्भिक पूर्ति ती पुरातन यहूदीहरूमाथि भयो। यशैयाले अगमवाणी गरेझैं तिनीहरूले आफ्नो भूमिमा फर्केर शुद्ध उपासना स्थापित गरे। (एज्रा १:१-४; ३:१-४) हो, तपाईंले सही विचार गर्नुभयो, तिनीहरू यही पृथ्वीमै फर्के, ब्रह्‍माण्डमा अन्त कतै होइन। यसले हामीलाई यशैयाले नयाँ आकाश र नयाँ पृथ्वी भन्‍नुको अर्थ बुझ्न मदत गर्नसक्छ। तथापि, कसै कसैले नोस्ट्राडेमस वा अन्य मानिसहरूले गरेका अस्पष्ट भविष्यवाणीहरू सुनेर अनुमान लगाएजस्तै हामीले अनुमान लगाउनुपरेको छैन। यशैयाले भनेको कुराको अर्थको बाइबल आफैले स्पष्टिकरण दिएको छ।

१०. यशैयाले भविष्यवाणी गरेको नयाँ “पृथ्वी[लाई]” हामीले कसरी बुझ्नुपर्ने हो?

१० बाइबलमा प्रयोग गरिएको “पृथ्वी” शब्दले सधैं हाम्रो ग्रहलाई बुझाउँदैन। उदाहरणका लागि, भजन ९६:१ ले शाब्दिक रूपमा यसो भन्छ: “हे सारा पृथ्वी, परमप्रभुकै निम्ति गाओ।” हामीलाई थाह छ हाम्रो यस ग्रह—विशाल भूमि तथा बृहत्‌ समुद्रहरूले गीत गाउनसक्दैनन्‌। गीत मानिसहरू पो गाउँछन्‌। हो, भजन ९६:१ ले पृथ्वीमा भएका मानिसहरूलाई संकेत गरिरहेको छ। a तर यशैया ६५:१७ मा ‘नयाँ आकाशबारे’ पनि उल्लेख गरिएको छ। यदि ‘पृथ्वीले’ आफ्नो भूमिमा फर्कने मानिसहरूको नयाँ समाजलाई बुझाउँछ भने “नयाँ आकाश[ले]” नि?

११. “नयाँ आकाश” भन्‍ने वाक्यांशले केलाई बुझाउँछ?

११ म्याक्लिन्टक र स्ट्रंगको ख्यातिप्राप्त किताब साइक्लोपीडिया अफ बिब्लिकल, थियोलजिकल, एण्ड एक्लिजियास्टिकल लिट्रेचर यसो भन्छ: “बाइबलमा पाइने भविष्यसूचक दर्शनको विवरणमा आकाश भन्‍नाले . . . शासन गर्ने . . . शासकहरूको समूह, अर्थात्‌ पृथ्वीमाथि जसरी प्राकृतिक आकाशले शासन गर्छ त्यसरी नै आफ्ना प्रजाहरूमाथि शासन गर्ने समूहलाई बुझाउँछ।” “आकाश र पृथ्वीबारे” चाहिं उक्‍त साइक्लोपीडिया के भन्छ भने, ‘भविष्यसूचक भाषामा उक्‍त वाक्यांशले विभिन्‍न पदका व्यक्‍तिहरूको राजनैतिक अवस्थालाई जनाउँछ। स्वर्ग सार्वभौमिकता हो भने पृथ्वी रैती हो, अर्थात्‌ मानिस, जसमाथि वरिष्ठ व्यक्‍तिहरूले शासन गर्छन्‌।’

१२. पुरातन यहूदीहरूले “नयाँ आकाश र नयाँ पृथ्वी” कुन अर्थमा पूरा भएको पाए?

१२ यहूदीहरू आफ्नो भूमिमा फर्कंदा एउटा नयाँ व्यवस्था सुरु भयो। एउटा नयाँ किसिमको शासक समूह गठन गरियो। राजा दाऊदका सन्तान यरूबाबेल बडा हाकिम भए भने यहोशू प्रधान पूजाहारी भए। (हाग्गै १:१, १२; २:२१; जकरिया ६:११) यी दुई मिलेर यहूदीहरूको “नयाँ आकाश” बन्यो। कसमाथि? यो “नयाँ आकाश,” “नयाँ पृथ्वी,” अर्थात्‌ यहोवाको उपासनाको निम्ति मन्दिर तथा यरूशलेम पुनर्निर्माण गर्न आफ्नो भूमि फर्कने मानिसहरूको शुद्ध समाजमाथि बनेको थियो। यसरी त्यतिखेरका यहूदीहरूका लागि वास्तविक अर्थमा नयाँ आकाश र नयाँ पृथ्वीको सृजना भयो।

१३, १४. (क) हामीले “नयाँ स्वर्ग र नयाँ पृथ्वी” भनेर उल्लेख गरिएको कुन अर्को पदमाथि पनि विचार गर्नुपर्ने हो? (ख) पत्रुसले गरेको भविष्यवाणी आज हाम्रो लागि विशेष चासोको कारण किन छ?

१३ तर मुख्य कुरालाई नबिर्सनुहोस्‌। यहाँ न त बाइबल अर्थ्थाउने प्रयास गरिएको हो न पुरातन इतिहासलाई नै सरसरती केलाउन लागिएको हो। बाइबलमा “नयाँ आकाश र नयाँ पृथ्वी” भनेर उल्लेख गरिएको अर्को पद पढ्‌नुभएपछि तपाईं यो थाह पाउन सक्नुहुन्छ। दोस्रो पत्रुस अध्याय ३ मा तपाईंले यो वाक्यांश उल्लेख गरिएको पाउनुहुनेछ र यसमा हाम्रो भविष्य समावेश छ भनेर पनि बुझ्नुहुनेछ।

१४ यहूदीहरू आफ्नो जन्मभूमि फर्केको झन्डै ५०० वर्षपछि प्रेरित पत्रुसले आफ्नो पत्र लेखे। येशूका प्रेरितहरूमध्ये एक भएको नाताले पत्रुसले २ पत्रुस ३:२ अनुसार “प्रभु” ख्रीष्टका अनुयायीहरूलाई उक्‍त पत्र लेखिरहेका थिए। पद ४ मा येशूको “आगमनको प्रतिज्ञा[बारे]” पत्रुस उल्लेख गर्छन्‌ र यसले यो भविष्यवाणी आज हाम्रो समयसित सम्बन्धित छ भनेर प्रस्टै देखाउँछ। प्राप्त प्रशस्त प्रमाणअनुसार प्रथम विश्‍वयुद्ध भएदेखि येशू परमेश्‍वरको स्वर्गीय राज्यको शासकको हैसियतमा उपस्थित भइसक्नुभएको अर्थात्‌ अख्तियार पाइसक्नुभएको छ। (प्रकाश ६:१-८; ११:१५, १८) यो कुरालाई ध्यानमा राख्ने हो भने, पत्रुसले यस अध्यायमा भनेका कुराको विशेष अर्थ लाग्छ।

१५. पत्रुसले “नयाँ स्वर्ग[बारे]” गरेको भविष्यवाणीको पूर्ति कसरी भयो?

१५ दोस्रो पत्रुस ३:१३ मा हामी यस्तो लेखिएको पाउँछौं: “उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।” अहिले स्वर्गमा येशू “नयाँ पृथ्वी[का]” मुख्य शासक हुनुहुन्छ भनेर त तपाईंले बुझिसक्नुभयो होला। (लूका १:३२, ३३) यद्यपि, बाइबलका अन्य पदहरूले उहाँ एक्लैले शासन गर्नुहुन्‍न भनेर संकेत गर्छ। प्रेरितहरू र तिनीहरूजस्तै अन्य थुप्रैले स्वर्गमा ठाउँ पाउनेछन्‌ भनेर येशूले प्रतिज्ञा गर्नुभएको थियो। हिब्रूहरूको पुस्तकमा प्रेरित पावलले यिनीहरूलाई “स्वर्गीय बोलावटका सह-भागी” भनेर सम्बोधन गरेका छन्‌। अनि येशूले यी समूहमा पर्नेहरू उहाँसित स्वर्गको सिंहासनमा बस्नेछन्‌ भन्‍नुभयो। (हिब्रू ३:१; मत्ती १९:२८; लूका २२:२८-३०; यूहन्‍ना १४:२, ३) भन्‍न खोजिएको कुरा के हो भने, नयाँ स्वर्गको भाग भएर येशूसित राज्य गर्ने अरू पनि हुनेछन्‌। त्यसो भए पत्रुसले “नयाँ पृथ्वी[बारे]” उल्लेख गर्नुको अर्थचाहिं के हो त?

१६. हाल कुन “नयाँ पृथ्वी” अस्तित्वमा छ?

१६ पुरातन समयमा आफ्नो भूमिमा फर्कने यहूदीहरूमाथि उक्‍त भविष्यवाणी पूरा भएजस्तै २ पत्रुस ३:१३ को वर्तमान पूर्ति यो नयाँ स्वर्गको शासनको अधीनमा बस्ने मानिसहरूमाथि हुन्छ। आज राजीखुसीसाथ यो राज्यको अधीनमा बस्ने लाखौं मानिसहरूलाई तपाईं भेट्‌न सक्नुहुन्छ। तिनीहरूले यस राज्यको शैक्षिक कार्यक्रमबाट फाइदा उठाउनुका साथै धर्मशास्त्रमा पाइने व्यवस्थाबमोजिम गर्ने प्रयास गरिरहेका छन्‌। (यशैया ५४:१३) यिनीहरू नै “नयाँ पृथ्वी[को]” जग अर्थात्‌ सम्पूर्ण जाति, भाषा तथा वर्णका मानिसहरूको विश्‍वव्यापी समाज हुन्‌। तिनीहरू शासनारूढ राजा येशू ख्रीष्टको अधीनमा एकसाथ काम गर्छन्‌। तथापि, महत्त्वपूर्ण तथ्य त के हो भने, तपाईं पनि यो समूहमा सामेल हुन सक्नुहुन्छ!—मीका ४:१-४.

१७, १८. दोस्रो पत्रुस ३:१३ का शब्दहरूले हामीलाई किन भविष्यबारे विचार गर्ने कारण दिन्छ?

१७ कुरा यतिकैमा टुंगिदैन, भविष्यमा हुने अझ थप कुराहरू हामीलाई बताइएको छ। दोस्रो पत्रुस अध्याय ३ को सन्दर्भलाई केलाएर हेर्नुहोस्‌। त्यहाँ तपाईंले भविष्यमा हुने बृहत्‌ परिवर्तनहरूको संकेत पाउनुहुनेछ। पद ५ र ६ मा पत्रुस नूहको समयमा भएको जलप्रलयबारे उल्लेख गर्छन्‌। त्यो जलप्रलयले त्यस समयको दुष्ट संसारको अन्त्य भएको थियो। पद ७ मा तिनी “अहिलेको आकाशहरू र पृथ्वी,” अर्थात्‌ शासकवर्ग तथा थुप्रै जनताहरू दुवै पक्षलाई “भक्‍तिहीन मानिसको इन्साफ र विनाशको दिन[का लागि]” छुट्‌याएर राखिएका छन्‌ भनी उल्लेख गर्छन्‌। यस प्रसंगले पनि “अहिलेको आकाशहरू र पृथ्वी” भन्‍ने अभिव्यक्‍तिले हाम्रो भौतिक ब्रह्‍माण्डलाई होइन तर मानवजाति तथा तिनीहरूका शासकहरूलाई संकेत गर्छ भनेर पुष्टि दिन्छ।

१८ यसपछि पत्रुस, आउँदै गरेको यहोवाको दिनमा बृहत्‌ सफाइ हुनेछ र त्यसले पद १३ मा उल्लिखित नयाँ स्वर्ग र नयाँ पृथ्वीको निम्ति बाटो खोल्नेछ भनेर बताउँछन्‌। उक्‍त पदको अन्तिम शब्दहरूलाई विचार गर्नुहोस्‌—“जसमा धार्मिकताले बास गर्छ।” के यसले अब हाम्रै भलाइ हुने ठूलठूला परिवर्तनहरू हुने रहेछन्‌ भनी संकेत गर्दैन र? के यसले आजभन्दा प्रचुर मात्रामा आनन्द उठाउन सकिने नयाँ कुराहरूको प्रत्याशा जगाउँदैन र? यदि यो कुरा बुझ्न सक्नुभयो भने त्यसको अर्थ, तपाईंले बाइबलले भविष्यवाणी गरेको कुराको अन्तरदृष्टि प्राप्त गर्नुभएको हुनेछ। यस्तो अन्तरदृष्टि विरलै मानिसहरूले पाएका छन्‌।

१९. प्रकाशको पुस्तकले कुन पृष्ठभूमिमा “नयाँ आकाश र नयाँ पृथ्वी[को]” उल्लेख गरेको छ?

१९ तर यसबारे अझै कुरा गरौं। हामीले यशैया अध्याय ६५ अनि २ पत्रुस अध्याय ३ मा “नयाँ स्वर्ग र नयाँ पृथ्वी” भनेर उल्लेख गरिएका पदहरू पढिहाल्यौं। अब प्रकाश अध्याय २१ पल्टाउनुहोस्‌। त्यहाँ बाइबलको यो अभिव्यक्‍ति फेरि अर्को पटक उल्लेख गरिएको छ। यहाँ पनि यो पदको प्रसंगलाई बुझ्नु मदतकारी हुनेछ। प्रकाश अध्याय १९ मा हामी एउटा लाक्षणिक युद्धको जीवन्त वर्णन पाउँछौं। तर यो युद्ध कट्टर विरोधी राष्ट्रहरूबीचको युद्ध होइन। एकातिर “परमेश्‍वरको वचन” हुनुहुन्छ। यो पदवी, येशू ख्रीष्टको हो भनेर सायद तपाईंले थाह पाइसक्नुभएको हुनुपर्छ। (यूहन्‍ना १:१, १४) उहाँ स्वर्गमा हुनुहुन्छ र यो दर्शनमा उहाँलाई आफ्नो स्वर्गीय सेनाहरूसहित उपस्थित हुनुभएको चित्रण गरिएको छ। तर उहाँ कोसित लड्‌दै हुनुहुन्छ? उक्‍त अध्याय बताउँछ “राजाहरू,” “कप्तानहरू” र विभिन्‍न पदका “साना ठूला” सबै मानिसहरूसित। यो युद्ध आउँदै गरेको यहोवाको दिनमा हुन्छ। त्यस दिन दुष्टहरूको विनाश हुनेछ। (२ थिस्सलोनिकी १:६-१०) त्यसपछि, प्रकाश अध्याय २० को सुरुमै “त्यो पुरानो सर्प, जो दियाबल र शैतान पनि हो” त्यसलाई हटाउने कुरा व्याख्या गरिएको छ। यसले हामीलाई प्रकाश अध्याय २१ विचार गर्ने पृष्ठभूमि तयार पार्छ।

२०. प्रकाश २१:१ ले अब कुन अर्थपूर्ण परिवर्तन हुनेछ भनेर संकेत गर्छ?

२० प्रेरित यूहन्‍ना यी रोमाञ्चक शब्दहरूद्वारा आफ्नो विवरण सुरु गर्छन्‌: “मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्वी ता बितिहाले, समुद्र ता अब रहँदैरहेनछ।” यशैया अध्याय ६५ र २ पत्रुस अध्याय ३ बारे हामीले बुझिसकेको कुराअनुसार यहाँ वास्तविक आकाश अनि गहिरा गहिरा समुद्रहरू भएका हाम्रो पृथ्वी ग्रह प्रतिस्थापित हुनेछन्‌ भन्‍न खोजिएको होइन भनी हामी निश्‍चिन्त हुनसक्छौं। यसअघिका अध्यायहरूमा उल्लेख गरिएझैं अदृष्य शासक शैतानलगायत दुष्ट मानिसहरू र तिनीहरूका शासकहरूलाई हटाइनेछ। हो, यहाँ पृथ्वीवासीहरू समावेश हुने एउटा नयाँ व्यवस्थाको प्रतिज्ञा गरिएको छ।

२१, २२. यूहन्‍ना हामीलाई कस्ता आशिष्‌हरूको आश्‍वासन दिन्छन्‌ अनि आँसु पुछिनुको अर्थ के हो?

२१ यो अद्‌भुत भविष्यवाणीलाई केलाउँदै जाँदा उक्‍त कुरा पक्कै हुनेछ भनी हामीलाई निश्‍चिन्त पार्छ। पद ३ को अन्तमा परमेश्‍वर मानिसजातिसित हुनुहुने अर्थात्‌ उहाँको इच्छाबमोजिम गर्ने मानिसहरूको भलाइ गर्नुहुने समयबारे बताइएको छ। (इजकिएल ४३:७) पद ४ र ५ मा यूहन्‍ना अझै यसो भन्छन्‌: “उहाँले [यहोवा परमेश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌। औ सिंहासनमा विराजमान हुनुहुनेले भन्‍नुभयो, ‘हेर, म सब कुरा नयाँ तुल्याउँछु।’ औ उहाँले भन्‍नुभयो, ‘लेख, किनकि यी कुराहरू विश्‍वासयोग्य र सत्य छन्‌।’ ” कस्तो प्रोत्साहनजनक भविष्यवाणी!

२२ एकछिन पर्खनुहोस्‌ र बाइबलको यस भविष्यवाणीको स्वाद लिनुहोस्‌। ‘परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।’ यसले हाम्रो आँखाबाट त्यसै बररर झर्ने आँसुलाई वा हर्षको आँसुलाई संकेत गरिरहेको हुनसक्दैन। परमेश्‍वरले पुछिदिनुहुने आँसु त दुःख, शोक, नैराश्‍य, चोट अनि पीडाले गर्दा उर्लिएको आँसु हो। हामी यत्ति पक्का भएर यो कसरी भन्‍नसक्छौं? किनकि, यहाँ परमेश्‍वरले गर्नुभएको आँसु पुछ्‌ने उल्लेखनीय प्रतिज्ञा ‘मृत्यु, शोक, रुवाइ, पीड़ा फेरि केही नहुने’ प्रतिज्ञासित जोडिएको छ।—यूहन्‍ना ११:३५.

२३. यूहन्‍नाको भविष्यवाणीले कस्ता अवस्थाहरू अन्त हुनेछन्‌ भन्‍ने ग्यारेन्टी दिन्छ?

२३ के यसले, क्यान्सर, मस्तिष्कघात, हृदयघातजस्ता रोगहरू अनि मृत्युसमेत नामेट हुने रहेछन्‌ भनेर प्रमाणित गर्दैन र? रोगबिमार, दुर्घटना वा प्राकृतिक प्रकोपको कारण हामीमध्ये कसले पो आफ्नो प्रियजन गुमाएका छैनौं होला र? मृत्यु नै हुनेछैन भनी परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको छ र यसले त्यतिखेर जन्मनसक्ने बच्चाहरू बूढो हुने अनि मर्ने प्रत्याशासहित जन्मने छैनन्‌ भनेर पनि संकेत गर्छ। यो भविष्यवाणीको अर्थ स्नायु रोग, हाडजोर्नीसम्बन्धी रोग, पाठेघरको ट्युमर, जलबिन्दु वा मोतीबिन्दुजस्ता वृद्धावस्थामा देखापर्ने सामान्य रोगहरू पनि हुनेछैनन्‌।

२४. ‘नयाँ आकाश र नयाँ पृथ्वी’ कसरी आशिष्‌ साबित हुनेछ र अब हामी के विचार गर्नेछौं?

२४ मृत्यु, वृद्धावस्था र रोगबिमार हटाइँदा शोक, रुवाइ हुनेछैनन्‌ भनेर त तपाईं पनि पक्कै सहमत हुनुहुन्छ होला। तर, हामीलाई पिरोल्ने गरिबी, बाल दुर्व्यवहार तथा जात वा वर्णको आधारमा गरिने दमन नि? आज जताततै भइरहेका यी कुराहरू निरन्तर भइरह्‍यो भने हामी कदापि शोक रुवाइबाट मुक्‍त हुनेछैनौं। त्यसकारण हामी भन्‍नसक्छौं, “नयाँ आकाश र नयाँ पृथ्वी” मा पाइने जीवनलाई यी विद्यमान कारणहरूले दुःखी बनाउने छैन। कस्तो परिवर्तन! हामीले बाइबलमा “नयाँ आकाश र नयाँ पृथ्वी” भनेर चारपटक उल्लेख गरिएका पदहरूमध्ये तीनवटाको मात्र छलफल गऱ्‍यौं। यसबाहेक, अर्को एक ठाउँमा पनि यो वाक्यांश उल्लेख गरिएको छ। यो भर्खर हामीले छलफल गरेका कुराहरूसित सम्बन्धित हुनुका साथै परमेश्‍वरले ‘सब थोक नयाँ तुल्याउनेछु’ भनी गर्नुभएको प्रतिज्ञा कहिले र कसरी पूरा हुनेछ, त्यो हेर्ने कारणमाथि पनि जोड दिन्छ। यसपछिको लेखमा उक्‍त भविष्यवाणी र हामीले पाउने आनन्दसित त्यसको सम्बन्धबारे छलफल गरिएको छ।

[फुटनोट]

a द न्यु इंग्लिस बाइबल-ले भजन ९६:१ लाई यसरी पेस गरेको छ: “हे, पृथ्वीका सारा मानिसहरू हो, प्रभुको निम्ति भजन गाओ।” द कन्टेम्पररी इंग्लिस भर्सन-मा चाहिं यस्तो लेखिएको पाउँछौं: “यस पृथ्वीमा भएका सबैले प्रभुको प्रशंसा गर्दै गाओ।” यशैयाले “नयाँ पृथ्वी” भनेर सम्बोधन गर्दा त्यसले आफ्नो भूमिमा फर्कने परमेश्‍वरका जनहरूलाई संकेत गरिरहेको थियो भन्‍ने कुरासित यो मेल खान्छ।

तपाईंलाई के सम्झना छ?

• बाइबलमा कुन तीन ठाउँहरूमा “नयाँ आकाश र नयाँ पृथ्वी” भनेर भविष्यवाणी गरिएको छ?

• पुरातन यहूदीहरूमाथि “नयाँ आकाश र नयाँ पृथ्वी” कसरी पूरा भयो?

• पत्रुसले उल्लेख गरेका “नयाँ स्वर्ग र नयाँ पृथ्वी” कुन कुन अर्थमा पूरा हुन्छ भन्‍ने बुझिएको छ?

प्रकाश अध्याय २१ ले कसरी हामीलाई उज्ज्वल भविष्यतिर ध्यान केन्द्रित गराउँछ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएको चित्र]

यहोवाले भविष्यवाणी गर्नुभएबमोजिम नै कोरेसले यहूदीहरूलाई सा.यु.पू. ५३७ मा आफ्नो भूमिमा फर्कने बाटो तयार पारे