सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हिंस्रकहरूप्रति तपाईंको दृष्टिकोण के परमेश्‍वरको जस्तै छ?

हिंस्रकहरूप्रति तपाईंको दृष्टिकोण के परमेश्‍वरको जस्तै छ?

हिंस्रकहरूप्रति तपाईंको दृष्टिकोण के परमेश्‍वरको जस्तै छ?

शारीरिक बल अनि साहसले भरिएका शूरवीरहरूलाई मानिसहरूले सधैं नै आदर तथा सम्मान दिएका छन्‌। तिनीहरूमध्ये एक जना पुरातन ग्रीसका पौराणिक कथाहरूका शूरवीर थिए जसलाई रोमीहरू हिराकल वा हर्कुलस भन्थे।

हिराकल ख्यातिप्राप्त पराक्रमी लडाकु थिए। दन्त्यकथाअनुसार तिनी युनानी देव ज्यूस र मानव आमा अल्समेनका अर्धदेव पुत्र थिए। तिनले कोक्रोमै आफ्नो पराक्रम देखाइसकेका थिए। एक जना ईर्ष्यालु देवीले हिराकललाई मार्न दुइटा अजंगका साँपहरू पठाउँदा तिनले दुइटै साँपलाई घाँटी निमोठेर मारिदिए। पछि तिनले थुप्रै युद्धहरू लडे, दैत्यहरूलाई पराजित गरे र आफ्नी सँगिनीलाई बचाउन मृत्युसित पनि लडे। तिनले थुप्रै शहरहरू नष्ट गरे, स्त्रीहरूलाई बलात्कार गरे, सानो केटोलाई धरहराबाट फ्याँके अनि आफ्नै स्वास्नी र छोराछोरीलाई पनि मारे।

हिराकल वास्तविक व्यक्‍ति नभए तापनि युनानीहरूले सुनेजानेका पुरातन इलाकाहरूमा धेरै पहिलेदेखि नै दन्त्यकथाहरूमा तिनको चर्चा गरिएको पाइन्छ। रोमीहरू तिनलाई देवताको रूपमा पुज्थे भने व्यापारीहरू तथा यात्रुहरू सफलता र सुरक्षाको निम्ति तिनलाई प्रार्थना गर्थे। तिनको पराक्रमका कथाहरूले मानिसहरूलाई मोहित पार्न थालेको हजारौं वर्ष भइसक्यो।

दन्त्यकथाको उत्पत्ति

हिराकल तथा अरू पौराणिक व्यक्‍तिहरूका कथाहरू के सत्य घटनामा आधारित छन्‌? केही हदसम्म होलान्‌। किनभने, बाइबलले कुनै समय “देव” अनि “अर्धदेवहरू” पृथ्वीमा थिए भनेर बताउँछ।

उक्‍त समयबारे व्याख्या गर्दै मोशाले लेखे: “जब मानिसहरू पृथ्वीमा बढ़दै गए, तिनीहरूका छोरीहरू जन्मे, तब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे। औ आफ्नो आफ्नो रुचिका पत्नीहरू ल्याए।”—उत्पत्ति ६:१, २.

ती “परमेश्‍वरका छोराहरू” मानिसहरू नभई परमेश्‍वरका स्वर्गदूतरूपी छोराहरू थिए। (अय्यूब १:६; २:१; ३८:४, ७ तुलना गर्नुहोस्‌।) बाइबल लेखक यहूदा “आफ्नो मर्यादामा नरहने, तर आफ्ना घर-बार छोड़ने” केही स्वर्गदूतहरूबारे बताउँछन्‌। (यहूदा ६) अर्को शब्दमा भन्‍ने हो भने, तिनीहरूले परमेश्‍वरको स्वर्गीय संगठनमा आफूलाई नियुक्‍त गरिएको स्थान छोडेर पृथ्वीका राम्री राम्री आइमाईहरूसित बस्न रुचाए। यहूदाले ती विद्रोही स्वर्गदूतहरू “व्यभिचारमा परेर बिरानो शरीरको पछि लागेका” सदोम र गमोराका मानिसहरू जस्तै थिए भनी बताएका छन्‌।—यहूदा ७.

बाइबलले यी अनाज्ञाकारी स्वर्गदूतहरूका क्रियाकलापहरूको सम्पूर्ण विवरण प्रस्तुत गर्दैन। तथापि, युनान तथा अरू ठाउँहरूका पुरातन दन्त्यकथाहरूमा असंख्य देवीदेवताहरू दृश्‍य वा अदृश्‍य रूपमा मानिसहरूसित घुलमिल भएको विवरण पाइन्छ। मानव रूप धारण गर्दा तिनीहरू असाध्यै सुन्दर देखिन्थे। तिनीहरू आपसमा वा मानिसहरूसित बसेर खान्थे, पिउँथे, सुत्थे र यौनसम्पर्क राख्थे। तिनीहरूलाई पवित्र अनि अविनाशी ठानिए तापनि झूट बोल्थे, छक्याउँथे, झगडा गर्थे, काटमार गर्थे, फुस्लाउँथे अनि बलात्कार गर्थे। त्यस्ता पौराणिक अभिलेखहरूमा बाइबलको उत्पत्तिको पुस्तकमा जलप्रलयअघिको विवरणको सानो झलक पाइन्छ जसलाई समयको दौडान मानिसहरूले बंगाए, आफ्नो रुचिअनुसार थपथाप गरे।

उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू

भौतिक शरीर धारण गरेका अनाज्ञाकारी स्वर्गदूतहरूले स्त्रीहरूसित यौनसम्बन्ध राखेर बच्चाहरू जन्माए। तिनीहरू साधारण केटाकेटीहरू थिएनन्‌। तिनीहरू नपीलहरू थिए अर्थात्‌ आधा मानिस, आधा स्वर्गदूत। बाइबल विवरण यसो भन्छ: “त्यस बेला पृथ्वीमा नपीलहरू थिए। त्यसपछि पनि परमेश्‍वरका छोराहरू मानिसका छोरीहरूकहाँ जानलागे। तिनीहरूनै उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू हुन्‌।”—उत्पत्ति ६:४.

हिब्रू शब्द “नपील[को]” शाब्दिक अर्थ “दैत्यहरू” हो जसले हिंसात्मक कार्यहरूद्वारा अरूको पतन गर्छन्‌ वा अरूको पतनको कारण हुन्छन्‌। तसर्थ, बाइबलले यसो लेख्नु स्वाभाविकै हो: “पृथ्वी . . . उपद्रवले भरिएको थियो।” (उत्पत्ति ६:११) हिराकल अनि बेबिलोनका गिलगामेस जस्ता पौराणिक अर्धदेवहरू नपीलहरूको विवरणसित ठ्याक्कै मेल खान्छन्‌।

याद गर्नुहोस्‌, नपीलहरूलाई “शूरवीरहरू” अनि “नाउँ चलेका मानिसहरू” भनिन्थ्यो। समकालीन धर्मी मानिस नूहजस्तो ती नपीलहरूले परमेश्‍वरको ख्याति बढाउनेतर्फ पटक्कै चासो राखेनन्‌। तिनीहरू आफ्नै ख्याति, महिमा अनि प्रतिष्ठा चाहन्थे। तिनीहरूले स्पष्टतया हिंसा र रक्‍तपातपूर्ण शक्‍तिशाली कार्यहरू गरेर वरपरको अधर्मी संसारमा ख्याति कमाए। तिनीहरू त्यस समयका असामान्य शक्‍ति भएका वीरहरू थिए अर्थात्‌ मानिसहरू तिनीहरूसित डराउँथे, तिनीहरूलाई आदर गर्थे र तिनीहरू अजय देखिन्थे।

नपीलहरू तथा तिनका पतित स्वर्गदूत बाबुहरूले आफ्ना समकालीनहरूको नजरमा ख्याति कमाए तापनि परमेश्‍वरको दृष्टिमा आदर पाउन सकेनन्‌। तिनीहरूको जीवनशैली निन्दनीय थियो। परिणामस्वरूप, यहोवाले तिनीहरू विरुद्ध कदम चाल्नुभयो। प्रेरित पत्रुसले लेखे: “परमेश्‍वरले पाप गर्ने स्वर्गदूतहरूलाई त बाँकी राख्नुभएन, तर तिनीहरूलाई नरकमा हाल्नुभयो, र न्यायको दिनसम्म जोगाएर अन्धकारका खाल्डाहरूमा राख्नुभयो, र प्राचीन संसारलाई बाँकी राख्नुभएका, तर अभक्‍तहरूको संसारमा जलप्रलय गराउनुहुँदा धर्मका प्रचारक नूह र अरू सात जनालाई जोगाउनुभयो।”—२ पत्रुस २:४, ५.

ती विद्रोही स्वर्गदूतहरूले विश्‍वव्यापी जलप्रलय हुँदा मानव शरीर फेरेर आत्मिक संसारमै फर्के र आफ्नो मान गुमाए। परमेश्‍वरले तिनीहरूलाई फेरि मानव शरीर धारण गर्न निषेध गर्नुभएर सजाय दिनुभयो। ती अनाज्ञाकारी स्वर्गदूतहरूका असाधारण मानव सन्तान अर्थात्‌ नपीलहरू जम्मै नाश भए। नूह र तिनको सानो परिवारमात्र जलप्रलयबाट बचे।

अहिले नाउँ चलेका मानिसहरू

अहिले पृथ्वीमा देव तथा अर्धदेवहरू त छैनन्‌। तैपनि, जताततै हिंसा व्याप्त छ। पुस्तक, चलचित्र, टेलिभिजन अनि संगीतमा अहिले नाउँ चलेका मानिसहरूकै गुनगान गरिन्छ। तर तिनीहरू आफ्नो गाला चड्‌काउनेलाई अर्को गाला पनि फर्काउने, शत्रुलाई प्रेम गर्ने, शान्ति खोज्ने, क्षमा गर्ने वा खराबीबाट अलग्गै रहने विचारसमेत गर्दैनन्‌। (मत्ती ५:३९, ४४; रोमी १२:१७; एफिसी ४:३२; १ पत्रुस ३:११) बरु, आधुनिक शूरवीरहरूलाई तिनीहरूको शक्‍ति र लड्‌ने क्षमता, बदला लिने अनि अझ बढी हिंसात्मक व्यवहार गरेर साटो फेर्ने क्षमताको निम्ति प्रशंसा गरिन्छ। a

नूहको दिनदेखि अहिलेसम्म पनि त्यस्ताहरूप्रति परमेश्‍वरको दृष्टिकोणमा कुनै परिवर्तन आएको छैन। यहोवा, न त दुष्ट कुराहरू मन पराउनेहरूको सम्मान गर्नुहुन्छ न तिनीहरूको पराक्रम हेरेर रमाउनु नै हुन्छ। भजनरचयिताले यस्तो भजन गाए: “परमप्रभुले धर्मात्माको परीक्षा गर्नुहुन्छ, तर दुष्ट र अत्याचार निको मान्‍नेलाई उहाँको आत्माले घृणा गर्छ।”—भजन ११:५.

एउटा भिन्‍नै प्रकारको शक्‍ति

हिंसा मच्चाउने शूरवीर मानिसहरूको भन्दा ठीक विपरीत एक जना व्यक्‍ति हुनुहुन्छ। अनि उहाँ आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा प्रसिद्ध अनि शान्त व्यक्‍ति हुनुहुन्छ। उहाँ हुनुहुन्छ, येशू ख्रीष्ट। यस पृथ्वीमा हुनुहुँदा उहाँले “केही उपद्रव” गर्नुभएन। (यशैया ५३:९) शत्रुहरूले उहाँलाई गेतसमनीको बगैंचामा पक्रन खोज्दा उहाँका चेलाहरूसित केही तरवार थिए। (लूका २२:३८, ४७-५१) तिनीहरूले उहाँलाई यहूदीहरूको हातमा पर्नदेखि रोक्न हूलदंगा गर्नसक्थे।—यूहन्‍ना १८:३६.

वास्तवमा, येशूको रक्षा गर्न पत्रुसले आफ्नो तरवार झिकेका थिए, तर येशूले तिनलाई भन्‍नुभयो: “तिम्रो तरवार फेरि त्यसकै ठाउँमा हाल, किनभने तरवार लिनेहरू सबै जना तरवारैबाट नष्ट हुनेछन्‌।” (मत्ती २६:५१, ५२) हो, हिंसाले हिंसालाई नै निम्त्याउँछ भनेर मानव इतिहासले बारम्बार प्रमाणित गरेको छ। हतियारहरूद्वारा आफ्नो प्रतिरक्षा गर्नुको अलावा येशूसित सुरक्षाको अर्को प्रबन्ध पनि थियो। उहाँले पत्रुसलाई यसो भन्‍नुभयो: “तिमी के ठान्दछौ, के म आफ्ना पितालाई बिन्ती गर्नसक्‍तिनँ, र के उहाँले मलाई बाह्र पल्टनभन्दा बढ़ी स्वर्गदूतहरू अहिले जुटाइदिनुहुन्‍न र?”—मत्ती २६:५३.

येशूले हिंसाको जवाफ हिंसाले वा स्वर्गदूतको सुरक्षा खोज्नुभएर दिनु भएन तर आफैलाई मार्न चाहनेहरूको हातमा पर्न दिनुभयो। किन? त्यसको एउटा कारण पिताले पृथ्वीबाट दुष्कर्म निर्मूल पार्ने समय आइसकेको थिएन भनी उहाँलाई थाह थियो। परिस्थितिलाई आफ्नो हातमा लिनुको सट्टा उहाँले यहोवामाथि भरोसा गर्नुभयो।

यो कुनै कमजोरीको चिह्न नभई आन्तरिक शक्‍तिको चिनारी थियो। यहोवाले आफ्नै समय र तरिकामा कामकुराहरू मिलाउनुहुनेछ भन्‍ने बलियो विश्‍वास येशूले देखाउनुभयो। येशूको आज्ञाकारीताले गर्दा यहोवाले उहाँलाई उच्च पार्नुभयो र आफू पछिको दोस्रो स्थानमा राख्नुभयो। प्रेरित पावलले येशूबारे यस्तो लेखे: “रूपमा मानिसजस्तो भएर मृत्युसम्मै आज्ञाकारी हुनुभयो, क्रूसको मृत्युसम्मै आफूलाई होच्याउनुभयो। त्यसैकारणले पनि परमेश्‍वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमनि भएका हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्‍वर पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु हो भनी स्वीकार गर्नुपर्छ।”—फिलिप्पी २:८-११.

हिंसा अन्त गर्ने परमेश्‍वरको प्रतिज्ञा

साँचो मसीहीहरू येशूको शिक्षा अनि उदाहरणअनुरूप जीवन बिताउँछन्‌। तिनीहरू संसारमा नाउँ चलेका र हिंसा मच्चाउनेहरूको तारिफ वा नक्कल गर्दैनन्‌। परमेश्‍वरले आफ्नो समयमा त्यस्ताहरूलाई नूहको समयका दुष्टहरूलाई नाश गर्नुभएझैं नाश गर्नुहुनेछ भनी तिनीहरूलाई थाह छ।

यहोवा पृथ्वी तथा मानवजातिका सृष्टिकर्ता हुनुहुन्छ। उहाँ नै एकमात्र सार्वभौमसत्ताधारी पनि हुनुहुन्छ। (प्रकाश ४:११) मानव न्यायाधीशले त न्यायिक फैसला गर्ने कानुनी अधिकार पाएका हुन्छन्‌ भने उहाँसित त झन्‌ धेरै अख्तियार छ। आफ्नो धार्मिक स्तरहरूप्रतिको आदरका साथै आफूलाई प्रेम गर्नेहरूप्रतिको प्रेमले उहाँलाई दुष्टता र दुष्टहरूलाई नष्ट गर्न प्रेरित गर्नेछ।—मत्ती १३:४१, ४२; लूका १७:२६-३०.

फलस्वरूप, न्याय र धार्मिकताले भरिएको अनन्त शान्ति पृथ्वीमा छाउँनेछ। येशू ख्रीष्टबारे गरिएको लोकप्रिय भविष्यवाणीमा त्यो कुरा पहिल्यै उल्लेख गरिसकिएको छ: “हाम्रा निम्ति एउटा पुत्र दिइएको छ। शासन उहाँको हातमा हुनेछ। उहाँको नाउँ उदेकका युद्धि निकाल्नुहुने, पराक्रमी परमेश्‍वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाइनेछ। उहाँको शासन र शान्तिको वृद्धिको अन्त चाहिं कहिल्यै हुनेछैन। दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ खड़ा गरी स्थिर गराउन अब उप्रान्त सदाको निम्ति उहाँले शासन गर्नुहुनेछ। सेनाहरूका परमप्रभुको उत्तेजित जोशले यो गर्नेछ।”—यशैया ९:६, ७.

त्यसैकारण, मसीहीहरूले धेरै अघि दिइएको यो प्रेरित सल्लाह पालन गर्नुको राम्रै कारण छ: “उपद्रव गर्ने मानिसको अनुसरण नगर्‌। त्यसकै चालमा चल्ने इच्छा नगर्‌। किनभने जो सोझो छैन, त्यसलाई परमप्रभु घीन गर्नुहुन्छ, तर सोझा मानिसहरू परमेश्‍वरका विश्‍वास-पात्र हुन्छन्‌।”—हितोपदेश ३:३१, ३२.

[फुटनोट]

a थुप्रै भिडियो गेममा अनि विज्ञानसम्बन्धी काल्पनिक कथाहरूमा आधारित चलचित्रहरूका हिंस्रक पात्रहरूले यी दुष्कर्म, हिंसात्मक कुराहरूलाई अझ उग्र रूपमा प्रस्तुत गर्छन्‌।

[पृष्ठ २९-मा भएको ठूलो अक्षरको क्याप्सन]

आधुनिक शूरवीरहरूलाई तिनीहरूको शक्‍ति र अझ बढी हिंसात्मक व्यवहार गरेर साटो फेर्ने क्षमताको निम्ति प्रशंसा गरिन्छ

[पृष्ठ २६-मा भएको चित्रको स्रोत]

Alinari/Art Resource, NY