सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आत्माको तरवारले भ्रष्टाचार विरुद्ध लड्‌ने

आत्माको तरवारले भ्रष्टाचार विरुद्ध लड्‌ने

आत्माको तरवारले भ्रष्टाचार विरुद्ध लड्‌ने

“नयाँ मानिसलाई धारण गर, जो परमेश्‍वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको छ।”—एफिसी ४:२४.

रोमी साम्राज्य, आफ्नो शासनको चरमसीमामा पुग्दा संसारले त्यतिबेलासम्म त्यो जस्तो ठूलो मानव प्रशासन पहिले कहिल्यै देखेको थिएन। रोमी ऐनकानुन यस्तो प्रभावकारी थियो कि यो अझै पनि थुप्रै देशहरूको कानुन व्यवस्थाको आधार भएको छ। तथापि, रोमका उपलब्धिहरूको बावजूद यसका सेनाले एउटा धूर्त शत्रुमाथि विजय हासिल गर्न सकेन। त्यो थियो, भ्रष्टाचार। अन्ततः भ्रष्टाचारकै कारण रोमी साम्राज्यको पतन एकदमै द्रुत गतिमा भयो।

भ्रष्ट रोमी अधिकारीको कारण दुःख भोग्नुपरेका मानिसहरूमध्ये प्रेरित पावल पनि एक थिए। तिनलाई केरकार गर्ने रोमी राज्यपाल फेलिक्सलाई पावल निर्दोष छन्‌ भनेर थाह भएको हुनुपर्छ। तर त्यतिबेलाका सबैभन्दा भ्रष्ट राज्यपालहरूमध्येका फेलिक्सले पावलले आफ्नो रिहाइको निम्ति पैसा दिनेछन्‌ भन्‍ने आशामा तिनको मुद्दा छिनफान गर्न ढिलो गरे।—प्रेरित २४:२२-२६.

फेलिक्सलाई घूस दिनुको सट्टा पावलले तिनलाई ‘धार्मिकता र संयमबारे’ स्पष्टसित बताए। फेलिक्सले आफ्नो तौरतरिका परिवर्तन गरेनन्‌ र घूस दिएर कानुनबाट बच्नुको सट्टा पावल जेलमै रहे। तिनले सत्य र इमानदारीताको सन्देश प्रचार गरे अनि त्यहीअनुरूप जीवन बिताए। तिनले यहूदी मसीहीहरूलाई यस्तो लेखे: “सबै कुरामा इमान्दारीसाथ रहने इच्छा गरेर हाम्रो असल विवेक छ भनी हामी विश्‍वास गर्दछौं।”—हिब्रू १३:१८.

त्यस्तो अडान त्यतिबेलाको नैतिक अवस्थाभन्दा एकदमै भिन्‍न थियो। फेलिक्सका भाइ पालास प्राचीन संसारको सबैभन्दा धनी मानिसहरूमध्ये एक थिए र तिनको ४ करोड ५० लाख अमेरिकी डलर बराबरको धनसम्पत्ति सबैजसो घूसखोरीबाट आर्जन गरेका थिए। तथापि, २० औं शताब्दीका केही भ्रष्ट शासकहरूले आफ्नो गोप्य बैंक खातामा जम्मा गरेका अरबौं डलरसित तुलना गर्ने हो भने तिनको पैसा त नगण्य हुन्छ। स्पष्टतः अत्यन्तै सोझा केही पनि थाह नभएका मानिसहरूले मात्र आजको सरकारले भ्रष्टाचार रोक्न सकेको छ भनेर विश्‍वास गर्छ।

यति लामो समयदेखि भ्रष्टाचार चल्दै आएकोले के हामी मानव स्वभाव नै यस्तै हो भन्‍ने निष्कर्षमा पुग्नु ठीक होला? वा भ्रष्टाचार रोक्न केही गर्न सकिन्छ?

भ्रष्टाचार कसरी रोक्न सकिन्छ?

स्पष्टतः भ्रष्टाचार रोक्ने पहिलो कदम, यो विनाशकारी र गलत हो भनेर स्वीकार्नुपर्छ किनभने यसबाट अरूको हानि गर्ने बेइमानहरूको फाइदा हुन्छ। यसतर्फ निश्‍चय पनि केही प्रगति भएको छ। सं.रा.अ.-का सहायक परराष्ट्र मन्त्री जेम्स फोलिले यसो भने: “घूसको लेनदेनले भयानक परिणामहरू हुन्छन्‌ भनेर हामी सबैले बुझेका छौं। घूसले बलियो सरकारलाई कमजोर बनाउँछ, आर्थिक दक्षता र विकासमा हानि पुऱ्‍याउँछ, व्यापारमा घाटा गर्छ र विश्‍वभरिका नागरिकहरूले असाध्यै असुविधा भोग्नुपर्छ।” थुप्रै मानिसहरू तिनीसित सहमत हुनेछन्‌। डिसेम्बर १७, १९९७ मा ३४ वटा प्रमुख राष्ट्रहरूले “घूसखोरी विरुद्ध बडापत्र”-मा हस्ताक्षर गरे र यस बडापत्रको उद्देश्‍य “विश्‍वभरि भ्रष्टाचार रोक्न ठोस कदम चाल्ने थियो।” यस बडापत्रअनुसार “अन्तरराष्ट्रिय व्यापार सम्झौता कायम राख्न वा प्राप्त गर्न विदेशी सरकारी अधिकारीलाई घूस दिनु वा घूस दिने प्रतिज्ञा गर्नु अपराध हो।”

तथापि, अरू देशहरूमा व्यापारिक ठेक्का पाउन घूस दिनु त भ्रष्टाचारको एउटा सानो नमुना हो। भ्रष्टाचारलाई पूर्णतया हटाउने हो भने धेरै गाह्रो दोस्रो कदम चाल्नुपर्छ। त्यो हो, मन परिवर्तन गर्ने वा साँच्चै भन्‍ने हो भने, धेरैको मन परिवर्तन गर्नुपर्छ। सबै मानिसहरूले घूसखोरी र भ्रष्टाचारलाई घृणा गर्न सिक्नुपर्छ। त्यसपछि मात्र भ्रष्टाचार हट्‌नेछ। कोही कोही यसो गर्न न्युजवीक पत्रिकाले भनेझैं सरकारले “नागरिक सद्‌गुणको भावलाई बढाउनुपर्छ” भन्छन्‌। त्यस्तै गरी, भ्रष्टाचार विरुद्ध समूह ट्रास्परेन्सी इन्टरनेशनलले कार्यस्थलमा “ ‘निष्ठाको बीउ’ रोप्न” प्रोत्साहन दियो।

भ्रष्टाचार विरुद्धको युद्ध नैतिक युद्ध हो र यो ऐनकानुन वा दण्ड कानुनको “तरवार[बाट]” मात्र जित्न सकिंदैन। (रोमी १३:४, ५) मानिसहरूको हृदयमा सद्‌गुण र निष्ठाको बीउ रोप्नुपर्छ। यसो गर्ने सबैभन्दा सर्वोत्तम तरिका प्रेरित पावलले भनेझैं “आत्माको तरवार” अर्थात्‌ परमेश्‍वरको वचन, बाइबल हो।—एफिसी ६:१७.

बाइबलले भ्रष्टचारको निन्दा गर्छ

पावलले किन भ्रष्टाचारको समर्थन गर्न इन्कार गरे? किनभने तिनी परमेश्‍वरको इच्छा गर्न चाहन्थे अनि परमेश्‍वरले “कसैको पक्षपात गर्नुहुन्‍न, औ उहाँलाई कहिल्यै घूस चढ़ाउनसकिंदैन।” (व्यवस्था १०:१७) यसबाहेक, पावलले पक्कै पनि मोशालाई दिइएको व्यवस्थामा उल्लिखित यो स्पष्ट निर्देशन सम्झेका हुनुपर्छ: “इन्साफ भ्रष्ट नगर, पनपक्षे नगर, घूस नलेऊ, घूसखोरीले समझदारका आँखा बन्द गरिदिन्छ, र निर्दोषको मामिला पनि बर्बाद गरिदिन्छ।” (व्यवस्था १६:१९) त्यस्तै गरी, राजा दाऊदले पनि यहोवाले भ्रष्टाचारलाई घृणा गर्नुहुन्छ भनी बुझेका थिए र परमेश्‍वरले तिनलाई “दाहिने हात घूसले भरिएको” पापीहरूमध्येको नठानून्‌ भनेर बिन्ती गरे।—भजन २६:१०.

परमेश्‍वरलाई साँचो हृदयले उपासना गर्ने व्यक्‍तिहरूसित भ्रष्टाचारलाई तिरस्कार गर्ने अझ थप कारण छ। सुलेमानले यस्तो लेखे: “न्याय कायम गरेर राजाले देशलाई स्थायित्व दिन्छ, तर घूसको लोभ गर्नेले मुलुकलाई सर्वनाश गर्छ।” (हितोपदेश २९:४, नयाँ संशोधित संस्करण) सबैभन्दा उच्च अधिकारीले न्यायको अभ्यास गर्दा स्थायित्व कायम हुन्छ तर त्यसको विपरीत भ्रष्टाचारले देशलाई दरिद्र बनाउँछ। चाखलाग्दो कुरा, न्युजवीक-ले यसो भन्यो: “भ्रष्टाचारबाट लाभ उठाउन चाहने प्रणालीमा सबैले आफ्नो भाग लिन जानेका हुन्छन्‌ र यसले अर्थव्यवस्था खत्तम पार्नसक्छ।”

अर्थव्यवस्था पूरै नडुबे तापनि न्यायप्रेमीहरू खुलेआम भ्रष्टाचार भइरहेको देख्दा दिक्क हुन्छन्‌। (भजन ७३:३, १३) हामीलाई जन्मजात न्यायको चाहना दिनुहुने सृष्टिकर्ताको पनि गलत अर्थ लाउँछन्‌। विगतमा व्याप्त भ्रष्टाचार रोक्न यहोवाले हस्तक्षेप गर्नुभएको थियो। उदाहरणका लागि, उहाँले यरूशलेमका बासिन्दाहरूलाई शत्रुहरूको हातमा छोडिदिनुहुने कारण स्पष्टै बताउनुभयो।

आफ्नो अगमवक्‍ता मीका मार्फत परमेश्‍वरले यसो भन्‍नुभयो: “हे याकूबका घरानाका प्रधान र इस्राएलीहरूका शासक हो, जसले न्यायलाई घृणा गर्दछौ र सोझो बाटोलाई बाङ्‌गो टेढ़ो पार्दछौ, ‘त्यसका प्रधानहरू घूस खाएर न्याय गर्दछन्‌। त्यसका पूजाहारीहरू ज्याला लिएर व्यवस्था सिकाउँदछन्‌। त्यसका अगमवक्‍ताहरू पैसाको लागि अगमवाणी कहँदछन्‌, . . . यसैले तिमीहरूकै कारण सियोन, खेतझैं जोतिनेछ, र यरूशलेमचाहिं भत्केको ढेर बन्‍नेछ, औ घरका डाँड़ा अल्गा जंगलका ठाउँहरूजस्तै होइजानेछ।’ ” भ्रष्टाचारले इस्राएललाई तहसनहस गऱ्‍यो र शताब्दीयौंपछि रोमको हालत पनि त्यस्तै भयो। मीकाले ती शब्दहरू लेखेको झन्डै एक शताब्दीपछि परमेश्‍वरले चेताउनीमा भन्‍नुभएझैं यरूशलेमको नाश भयो र यो त्यागियो।—मीका ३:९, ११, १२.

तथापि, कुनै पनि मानिस वा राष्ट्र भ्रष्ट हुनु आवश्‍यक छैन। परमेश्‍वरले दुष्टहरूलाई आफ्नो मार्ग र सोचाइ त्याग्न प्रोत्साहित गर्नुहुन्छ। (यशैया ५५:७) हामी प्रत्येकले लोभको साटो निःस्वार्थ भाव र भ्रष्टाचारको साटो धार्मिकता कायम गरेको उहाँ चाहनुहुन्छ। “गरीबलाई अत्याचार गर्नेले आफ्नो सृष्टिकर्त्ताको विरोध गर्छ। दरिद्रलाई उदारता देखाउनेले उहाँलाई आदर गर्छ” भनी यहोवा हामीलाई सम्झाउनुहुन्छ।—हितोपदेश १४:३१.

बाइबल सत्यको मदतले सफलतापूर्वक भ्रष्टाचार विरुद्ध लड्‌ने

त्यस्तो परिवर्तन गर्न मानिसलाई कुन कुराले प्रेरित गर्नसक्छ? यो त्यही प्रेरक तत्त्व हो जसको कारण पावलले फरिसी जीवनशैली त्यागेर येशू ख्रीष्टको एक अग्रणी अनुयायी भए। तिनले यस्तो लेखे: “परमेश्‍वरको वचन जीवित र प्रबल” छ। (हिब्रू ४:१२) आज पनि धर्मशास्त्रीय सत्यले कुनै समय भ्रष्टाचारमा चुर्लुम्म डुबेका मानिसहरूलाई इमानदार हुन मदत गर्छ। एउटा उदाहरणलाई विचार गर्नुहोस्‌।

पूर्वी युरोपका एलेकजान्डर आफ्नो सैन्य सेवा सिद्धिएको केही समय नबित्दै बेइमान तरिकामा व्यापार गर्ने, बलजफ्ती पैसा धुत्ने र घूसखोरी गर्ने गिरोहमा सामेल भए। a तिनी भन्छन्‌, “मेरो कामचाहिं धनी व्यापारीहरूबाट तिनीहरूको सुरक्षाको निम्ति भनेर पैसा धुत्नु थियो। मैले तिनको भरोसा जितेपछि आफ्नै गिरोहको अन्य सदस्यहरूले तिनलाई हानि पुऱ्‍याउने धम्की दिन्थे। त्यसपछि, ठूलो रकम बापत तिनको समस्या समाधान गरिदिने प्रस्ताव राख्थें। मेरा ‘ग्राहकहरूले’ तिनीहरूको समस्या सुल्झाइ दिएकोमा मलाई धन्यवाद दिन्थे जबकि तिनीहरूको समस्याको जड नै म थिएँ। अनौठो देखिएला तर मलाई आफ्नो कामको यही पक्ष मन पर्थ्यो।

“यस जीवनशैलीबाट पाउने पैसा र रोमाञ्च पनि मलाई रमाइलो लाग्थ्यो। महँगो गाडी हाँक्थे, सुविधा सम्पन्‍न अपार्टमेन्ट थियो र आफूलाई मन परेको सबै चीजबीज किन्‍न मसित पैसा थियो। मानिसहरू मसित डराउँथे र आफू शक्‍तिशाली भएको महसुस हुन्थ्यो। मलाई कसैले केही गर्न सक्दैन, मलाई कानुनले पनि छुन सक्दैन जस्तो लाग्थ्यो। प्रहरीसित कुनै समस्या भइहालेमा पनि निपुण वकिलले कानुन छलेर बचाइहाल्छ वा सही व्यक्‍तिलाई घूस दिएपछि ठीक भइहाल्छ जस्तो लाग्थ्यो।

“तथापि, भ्रष्टाचार गर्ने मानिसहरूमा वफादारी भन्‍ने कुरा हुँदैन। हाम्रो गिरोहको एक जनाले मलाई मन पराउन छोड्यो र मैले पाइरहेको मान सम्मान सबै हरायो। एकाएक मैले आफ्नो शानदार गाडी, पैसा सबै गुमाउनुका साथै महँगो चीजबीजहरूका सोखिन मेरी प्रेमिकाले समेत मलाई छाडिन्‌। मैले नराम्रोसित पिटाइ पनि खाएँ। जीवनले यस्तो कोल्टो फेरेपछि जीवनको उद्देश्‍यबारे गम्भीरतासाथ सोच्न बाध्य भएँ।

“केही महिनाअघि मेरी आमा यहोवाको साक्षी हुनुभएको थियो र मैले उनीहरूको प्रकाशनहरू पढ्‌न थालें। हितोपदेश ४:१४, १५ ले मलाई साँच्चै सोच्न बाध्य गरायो: ‘दुष्टको चालमा नहिंड्‌ अथवा दुष्ट मानिसहरूको मार्गलाई नपछ्या। त्यसमा तेरो पाइलाले नटेक्‌, तर त्यसलाई छोड़िदे, त्यसबाट तर्केर आफ्नै बाटो लाग्‌।’ यस्ता विवरणहरू पढेपछि अपराधी जीवन बिताउनेहरूको भविष्यमा कुनै आशा छैन भनेर म विश्‍वस्त भएँ। मलाई सही मार्गमा डोऱ्‍याउनुहोस्‌ भनेर यहोवालाई प्रार्थनामा बिन्ती गर्न थालें। यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालें र अन्ततः यहोवालाई आफ्नो जीवन समर्पण गरें। त्यसबेलादेखि मैले इमानदार जीवन बिताउँदै आएको छु।

“निस्सन्देह, इमानदार जीवन बिताउँदा पहिलेजस्तो पैसा कमाउन सकिंदैन। तर अहिले मलाई आफ्नो भविष्य छ र मेरो जीवनको साँचो अर्थ छजस्तो लाग्छ। अहिले मलाई आफ्नो पहिलेको विलासी जीवनशैली ढल्ने तासको घरजस्तो लाग्छ। पहिले मेरो अन्तस्करण बोधो थियो। तर अहिले बाइबल अध्ययनको कारण सानो काममा बेइमानी गर्न प्रलोभित हुँदासमेत मेरो अन्तस्करणले घोच्छ। म भजन ३७:३ बमोजिम जीवन बिताउन कोसिस गरिरहेछु। त्यहाँ यसो भनिएको छ: ‘परमप्रभुमा भरोसा राख्‌, र भलाइ गर्‌। देशमा रहेर सत्यताको पछि लाग्‌।’ ”

“घूसलाई घीन गर्नेको जीवन सुखी हुन्छ”

एलेकजान्डरले पत्ता लगाएझैं बाइबल सत्यले मानिसहरूलाई भ्रष्टाचारमाथि विजय हासिल गर्न उत्प्रेरित गर्नसक्छ। प्रेरित पावलले एफिसीहरूलाई लेखेको पत्रअनुरूपै तिनले परिवर्तनहरू पनि गरे। त्यहाँ यसो भनिएको छ: “तिमीहरूले अघिअघिको आचरणअनुसारको पुरानो मानिसलाई जो छलको लालसाअनुसार भ्रष्ट भएर जानेहुन्छ, त्याग, र आफ्नो मनको आत्मामा नयाँ होओ, र नयाँ मानिसलाई घारण गर, जो परमेश्‍वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको छ। यसकारण झूट त्यागेर हरेकले आफ्नो आफ्नो छिमेकीसित सत्य बोल, किनकि हामी एक दोस्रोका अंग हौं। बरू त्यसले परिश्रम गरोस्‌, र जे असल छ, सो आफ्नै हातले काम गरेर दरकार पर्नेहरूलाई केही दिनालाई त्यससँग होस्‌।” (एफिसी ४:२२-२५, २८) मानिसजातिको भविष्य यस्तै परिवर्तनहरूमा निर्भर छन्‌।

बेलगाम लोभ र भ्रष्टाचारको कारण रोमी साम्राज्यको पतन भएझैं पृथ्वी पनि स्वाहा हुनसक्छ। तर आनन्दको कुरा, मानवजातिको सृष्टिकर्ताले त्यस्ता कुराहरू त्यत्तिकै छोड्‌नु हुन्‍न। उहाँले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्ने संकल्प गर्नुभएको छ। (प्रकाश ११:१८) अनि भ्रष्टाचारबाट मुक्‍त संसारको बाटो हेर्नेहरूलाई चाँडै ‘धार्मिकताले बास गर्ने नयाँ स्वर्ग र नयाँ पृथ्वीको’ यहोवाले प्रतिज्ञा गर्नुभएको छ।—२ पत्रुस ३:१३.

हो, आजको संसारमा इमानदार जीवन बिताउनु सजिलो नहोला। तर जे होस्‌, पछि “नाफा गर्ने लोभीले आफ्नो परिवारमा दुःख ल्याउँछ, तर घूसलाई घीन गर्नेको जीवन सुखी हुन्छ” भनी यहोवाले हामीलाई आश्‍वासन दिनुहुन्छ। b (हितोपदेश १५:२७) अहिले भ्रष्टाचारबाट अलग रहेर साँचो हृदयले परमेश्‍वरलाई प्रार्थना गर्दा हामी यसो भनिरहेका हुनेछौं: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।”—मत्ती ६:१०.

त्यस राज्यले कारबाही गर्ने समयको प्रतीक्षा गर्दै हामी सबैले भ्रष्ट हुन इन्कार गरेर ‘धार्मिकतामा बिउ रोप्नसक्छौं।’ (होशे १०:१२) त्यसो गरेको खण्डमा हाम्रो जीवनले पनि परमेश्‍वरको प्रेरित वचनको शक्‍तिको गवाही दिइरहेको हुनेछ। आत्माको तरवारले भ्रष्टाचारमाथि विजय हासिल गर्नसक्छ।

[फुटनोटहरू]

a तिनको नाउँ परिवर्तन गरिएको छ।

b निस्सन्देह, घूस दिनु र बक्सिस दिनुमा भिन्‍नता छ। घूस भनेको कानुन छल्न वा अन्य बेइमान कार्यहरू गर्न दिइन्छ भने बक्सिस आफूले पाएको सेवाको मूल्यांकन सरह दिइन्छ। यो अक्टोबर १, १९८६ प्रहरीधरहरा-को अंग्रेजी अंकको “पाठकहरूका प्रश्‍नहरू”-मा छलफल गरिएको छ।

[पृष्ठ ७-मा भएको चित्र]

बाइबलको मदतद्वारा “नयाँ मानिसलाई धारण” गरेर हामी भ्रष्टाचारबाट अलग रहनसक्छौं