सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आत्माले के भन्छ, सुन्‍नुहोस्‌

आत्माले के भन्छ, सुन्‍नुहोस्‌

आत्माले के भन्छ, सुन्‍नुहोस्‌

“तिमीहरू दाहिने-देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्‍ने शब्द सुन्‍नेछौ, ‘बाटो यही हो, यसैमा तिमीहरू हिंड़।’ ”–यशैया ३०:२१.

१, २. यहोवाले इतिहासभरि नै मानिसहरूसित कसरी सञ्चार कायम गर्नुभएको छ?

 पोर्टो रिकोको टापुमा संसारको सबैभन्दा ठूलो र संवेदनशील सिंगल डिश रेडियो टेलिस्कोप छ। दशकौंदेखि वैज्ञानिकहरूले यस ठूलो उपकरण चलाएर पृथ्वीबाहिर अन्य ग्रहहरूमा भएको जीवनबारे सन्देश पाउने आशा गरेका छन्‌। तर अहिलेसम्म त्यस्तो कुनै सन्देश प्राप्त भएको छैन। चाखलाग्दो कुरा के छ भने, हामी जोसुकैले पनि कुनै जटिल उपकरणको प्रयोगबिनै मानव संसारभन्दा बाहिरबाट सन्देश प्राप्त गर्नसक्छौं। यो कपोलकल्पित कुनै बाह्‍य ग्रहभन्दा उच्च स्रोतबाट आउँछ। त्यस्तो सञ्चारको स्रोत को हो र त्यो कसले प्राप्त गरिरहेको छ? अनि ती सन्देशहरूले के बताउँछन्‌?

बाइबलमा मानिसहरूले सुन्‍ने गरी ईश्‍वरीय स्रोतबाट प्राप्त गरेका सन्देशका केही विवरणहरू लिपिबद्ध गरिएका छन्‌। कहिलेकाहीं यी सन्देशहरू परमेश्‍वरको सन्देशवाहकको रूपमा सेवा गर्ने आत्मिक प्राणीहरूले घोषणा गरे। (उत्पत्ति २२:११, १५; जकरिया ४:४, ५; लूका १:२६-२८) तीन चोटि यहोवाको आफ्नै स्वर सुनिएको थियो। (मत्ती ३:१७; १७:५; यूहन्‍ना १२:२८, २९) परमेश्‍वरले मानव अगमवक्‍ताहरूमार्फत पनि कुरा गर्नुभयो। तिनीहरूमध्ये थुप्रैले उहाँका प्रेरित वचनहरू लेखे। आज हामीसित बाइबल छ र यसमा ती थुप्रै जानकारीहरू तथा येशू र उहाँका चेलाहरूको शिक्षा पनि लिपिबद्ध गरिएका छन्‌। (हिब्रू १:१, २) यहोवाले आफ्ना मानव प्राणीहरूलाई साँच्चै जानकारीहरू दिइरहनुभएको छ।

३. परमेश्‍वरको सन्देशको उद्देश्‍य के हो र हामीबाट के आशा गरिन्छ?

परमेश्‍वरबाट प्राप्त ती सबै प्रेरित सन्देशहरूले ब्रह्‍माण्डबारे कमै मात्र बताउँछन्‌। ती सन्देशहरू विशेष गरी हाम्रो जीवनमा अहिले र भविष्यमा प्रभाव पार्ने अझ महत्त्वपूर्ण कुराहरूमा केन्द्रित छन्‌। (भजन १९:७-११; १ तिमोथी ४:८) यहोवा प्रेरित सन्देशहरूमार्फत आफ्नो इच्छा बताउनुहुन्छ र हामीलाई डोऱ्‍याइ दिनुहुन्छ। अगमवक्‍ता यशैयाका यी शब्दहरू पूरा भइरहेको यो एउटा तरिका हो: “तिमीहरू दाहिने–देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्‍ने शब्द सुन्‍नेछौ, ‘बाटो यही हो, यसैमा तिमीहरू हिंड़।’ ” (यशैया ३०:२१) यहोवाले हामीलाई उहाँका “शब्द[हरू]” सुन्‍न जबरजस्ती गर्नुहुन्‍न। परमेश्‍वरको निर्देशन सुनेर उहाँको मार्गमा हिंड्‌ने हो या होइन, हामी आफैले निर्णय गर्नुपर्छ। यसैकारण, धर्मशास्त्रमा हामीलाई यहोवाले बताउनुभएका कुराहरू सुन्‍न सल्लाह दिइएको छ। प्रकाशको पुस्तकमा ‘आत्माले के भन्‍नुहुन्छ, त्यो सुनोस्‌’ भन्‍ने प्रोत्साहन सात चोटि उल्लेख गरिएको छ।—प्रकाश २:७, ११, १७, २९; ३:६, १३, २२.

४. हाम्रो समयमा परमेश्‍वरले हामीसित स्वर्गबाट सीधै कुरा गर्नुहुने आशा राख्नु के व्यवहारिक हो?

आज, यहोवाले स्वर्गबाट सीधै हामीसित कुरा गर्नुहुन्‍न। बाइबल समयमा समेत यस्तो अलौकिक ढंगमा सन्देश विरलै र कहिलेकाहीं त शताब्दीयौंको अन्तरालमा मात्र प्राप्त हुन्थ्यो। इतिहासका पानाहरू पल्टाएर हेर्ने हो भने, यहोवाले आफ्ना जनहरूसित धेरैजसो अप्रत्यक्ष ढंगमा कुरा गर्नुभएको पाइन्छ। हाम्रो समयमा पनि कुरा त्यस्तै हो। आउनुहोस्‌, यहोवाले आज हामीसित कुरा गर्नुहुने तीनवटा तरिका छलफल गरौं।

“प्रेरणा भएको हरेक धर्मशास्त्र”

५. यहोवाले हामीसित कुराकानी गर्नुहुने मुख्य तरिका के हो र हामी यसबाट कसरी लाभ उठाउनसक्छौं?

परमेश्‍वर र मानवहरूबीच सम्पर्कको मुख्य माध्यम बाइबल हो। यो परमेश्‍वरबाट प्रेरित वचन हो र यसमा भएको हरेक कुरा हाम्रोलागि उपयोगी हुनसक्छ। (२ तिमोथी ३:१६) परमेश्‍वरको आवाज सुन्‍ने कि नसुन्‍ने भन्‍ने सन्दर्भमा आफ्नो स्वतन्त्र इच्छा प्रयोग गर्ने थुप्रै मानिसहरूको उदाहरण बाइबलमा पाइन्छ। त्यस्ता उदाहरणहरूले हामीलाई परमेश्‍वरको आत्माले भनेका कुराहरू सुन्‍नु किन अत्यावश्‍यक छ भनी सम्झाउँछ। (१ कोरिन्थी १०:११) बाइबलमा व्यवहारिक बुद्धि पनि छ। जीवनमा निर्णयहरू गर्नुपर्दा यसले हामीलाई सल्लाहहरू प्रदान गर्छ। परमेश्‍वरले हामीलाई पछिल्तिरबाट कानमै यसो भन्‍नुभए सरह हो: “बाटो यही हो, यसैमा तिमीहरू हिंड़।”

६. अन्य सबै लेखोटहरूभन्दा बाइबल किन उत्कृष्ट हो?

आत्माले बाइबलका पानाहरूद्वारा भन्‍ने कुरा सुन्‍न हामीले बाइबल नियमित तवरमा पढ्‌नुपर्छ। बाइबल आज उपलब्ध राम्ररी लेखिएका थुप्रै लोकप्रिय पुस्तकहरूको समूहमा पर्ने मात्र होइन। बाइबल आत्माद्वारा प्रेरित पुस्तक हो र यसमा परमेश्‍वरका विचारहरू लिपिबद्ध छन्‌। हिब्रू ४:१२ यसो भन्छ: “परमेश्‍वरको वचन जीवित र प्रबल, र कुनै दुइ-धारे तरवारभन्दा पनि धारिलो, औ प्राण र आत्मालाई जोर्नी जोर्नी र हड्डीका मासीलाई भाग भाग पारुञ्जेलसम्म वारपार छेंड़ने, र हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ।” बाइबल पढ्‌दै जाँदा यसका विषयवस्तुले हाम्रा भित्री विचार र उत्प्रेरणालाई तरवारले झैं छेड्‌छ र आफ्नो जीवनमा परमेश्‍वरको इच्छाअनुसार कत्तिको गरिरहेका छौं भनेर प्रकाश पार्छ।

७. बाइबल पढाइ किन अत्यावश्‍यक छ र हामीलाई कति चोटि पढ्‌न प्रोत्साहन दिइएको छ?

समयको दौडान हामीले भोग्ने तीतामीठा अनुभवहरूले गर्दा हाम्रो “हृदयको भावना र विचार” परिवर्तन हुनसक्छ। हामीले निरन्तर परमेश्‍वरको वचन अध्ययन गरेनौं भने हाम्रो विचार, मनोवृत्ति र भावनाहरू ईश्‍वरीय सिद्धान्तहरूअनुरूप हुनेछैनन्‌। यसैकारण, बाइबलले हामीलाई यस्तो सल्लाह दिन्छ: “तिमीहरू विश्‍वासमा छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ।” (२ कोरिन्थी १३:५) आत्माले के भन्छ, सधैं सुनिरहने हो भने हामीले दिनहुँ परमेश्‍वरको वचन पढ्‌ने सल्लाह पालन गर्नुपर्छ।—भजन १:२.

८. बाइबल पढ्‌ने सन्दर्भमा प्रेरित पावलका के-कस्ता शब्दहरूले हामीलाई आत्म-परीक्षण गर्न मदत गर्छन्‌?

बाइबल पाठकहरूलाई एउटा महत्त्वपूर्ण सम्झौटा यस्तो छ: आफूले पढेको कुरा दिमागमा ठप्प राख्न पर्याप्त समय दिनुहोस्‌! दिनहुँ बाइबल पढ्‌ने सल्लाह पालन गर्ने धुनमा हामी हतारहतार आफूले पढिरहेको कुरा बुझ्दै नबुझी अध्यायहरू फटाफट पढ्‌न सिद्धयाउन मात्र चाहँदैनौं। बाइबल नियमित तवरमा पढ्‌नु महत्त्वपूर्ण छ तर हाम्रो उद्देश्‍य तालिका भ्याउने मात्र हुनुहुँदैन। यहोवा अनि उहाँका उद्देश्‍यहरूबारे सिक्ने साँचो इच्छा हुनुपर्छ। यस सन्दर्भमा हामीले आत्म-परीक्षण गर्न प्रेरित पावलका शब्दहरू लागू गर्नु बेस हुन्छ। सँगी मसीहीहरूलाई लेख्दै तिनले यसो भने: “म आफ्ना घुँड़ा पिताको सामने टेक्‍तछु, . . . कि तिमीहरूका हृदयमा ख्रीष्ट विश्‍वासद्वारा बास गर्नुहोला, यस हेतुले कि, प्रेममा जरा हालेका र जग बसालिएका भएर सबै पवित्र जनहरूसँग चौड़ाइ, लमाइ, उँचाइ र गहराइ के रहेछ सो तिमीहरूले बुझ्नालाई बलिया होओ। औ परमेश्‍वरको सारा पूर्णतामा तिमीहरू पूर्ण हुनालाई ज्ञानलाई माथ गर्ने ख्रीष्टको प्रेमलाई जान्‍नसक।”—एफिसी ३:१४, १६-१९.

९. यहोवाबाट सिक्ने हाम्रो इच्छा कसरी खेती गर्नुका साथै यसलाई झनै गहिरो बनाउँदै लैजानुपर्छ?

हो, हामीमध्ये कतिलाई पढ्‌न पटक्कै मन लाग्दैन भने कतिचाहिं असाध्यै पढ्‌न रुचाउँछौं। हाम्रो आफ्नो व्यक्‍तिगत बानी जस्तोसुकै भए तापनि हामीले परमेश्‍वरबाट सिक्ने इच्छा खेती गर्नुका साथै यसलाई झन्‌ झन्‌ गहिरो बनाउँदै लैजानुपर्छ। प्रेरित पावलले हामीमा बाइबल ज्ञानको निम्ति तृष्णा हुनुपर्छ भनेर बताए। अनि त्यस्तो तृष्णा खेती गर्नुपर्ने हुनसक्छ भनेर तिनलाई थाह थियो। तिनले यस्तो लेखे: “नयाँ जन्मेका बालकहरूजस्तै छलरहितको आत्मिक दूधको तृष्णा गर, र त्यसबाट तिमीहरू मुक्‍तिको निम्ति बढ़दै जाओ।” (१ पत्रुस २:२) बाइबल अध्ययनको निम्ति “तृष्णा” जगाउने हो भने, आत्म-अनुशासन अत्यावश्‍यक छ। हामीले नयाँ प्रकारको खाना दुई तीन चोटि चाखेपछि मात्र त्यो रुच्न थालेझैं नियमित तवरमा तालिका पछ्याउन आफूलाई अनुशासनमा राख्यौं भने पढ्‌ने र अध्ययन गर्ने क्षेत्रमा हाम्रो मनोवृत्ति राम्रो हुनसक्छ।

“ठीक ठीक समयमा” खाना

१०. “विश्‍वासी र बुद्धिमान दास” को हो र आज यहोवाले तिनीहरूलाई कसरी चलाइरहनुभएको छ?

१० यहोवाले आज हामीसित कुरा गर्न चलाउनुहुने अर्को पक्षबारे येशूले मत्ती २४:४५-४७ मा बताउनुभएको छ। त्यहाँ उहाँले आत्मा अभिषिक्‍त मसीही मण्डलीबारे बताउनुभएको छ। “विश्‍वासी र बुद्धिमान दास” “ठीक ठीक समयमा” आध्यात्मिक खाना दिन नियुक्‍त भएका छन्‌। यस वर्गका सदस्यहरू येशूको “परिवार[का]” हुन्‌। यिनीहरूलगायत “अरू भेड़ा[का]” “ठूलो भीड़[ले]” प्रोत्साहन र डोऱ्‍याइ पाउँछन्‌। (प्रकाश ७:९; यूहन्‍ना १०:१६) प्रायजसो यो खाना ठीक समयमा मुद्रित प्रकाशनको रूपमा आउँछ। जस्तै प्रहरीधरहरा, ब्यूँझनुहोस्‌! र अन्य प्रकाशनहरू। अधिवेशन, सम्मेलन तथा मण्डलीका सभाहरूमा थप आध्यात्मिक खाना भाषणको रूपमा दिइन्छ।

११. “विश्‍वासी र बुद्धिमान दास[मार्फत]” आत्माले भन्‍नुभएको कुरा सुन्‍न इच्छुक छौं भनेर हामी कसरी प्रमाणित गर्नसक्छौं?

११ “विश्‍वासी र बुद्धिमान दास[ले]” उपलब्ध गराउने जानकारी हाम्रो विश्‍वासलाई बलियो पार्न र हाम्रो ज्ञानेन्द्रियलाई प्रशिक्षण दिन तयार पारिएको हुन्छ। (हिब्रू ५:१४) त्यस्ता सल्लाहहरू हामी प्रत्येकले व्यक्‍तिगत तवरमा लागू गर्न सकिने सबैको लागि उपयोगी ढंगमा प्रस्तुत गरिएको हुनसक्छ। समय समयमा हामीले आफ्नो आनीबानीको खास पक्षबारे पनि सल्लाह पाउँछौं। दास वर्गमार्फत आत्माले भनेका कुरा हामी साँच्चै सुन्‍ने इच्छा गर्छौं भने, हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ? प्रेरित पावल यस्तो जवाफ दिन्छन्‌: “तिमीहरूमाथि शासन गर्नेहरूका आज्ञाकारी होओ, र तिनीहरूका अधीनमा बस।” (हिब्रू १३:१७) हो, यस प्रबन्धमा संलग्न सबै मानिसहरू असिद्ध छन्‌। तैपनि, यस आखिरी दिनमा हामीलाई डोऱ्‍याउन यहोवा आफ्ना असिद्ध मानव सेवकहरूलाई नै चलाउन रुचाउनुहुन्छ।

हाम्रो अन्तस्करणद्वारा डोऱ्‍याइ

१२, १३. (क) यहोवाले हाम्रो डोऱ्‍याइको निम्ति अर्को कुन स्रोत प्रबन्ध गर्नुभएको छ? (ख) परमेश्‍वरको वचनको सही ज्ञान नभएका मानिसहरूमा पनि अन्तस्करणले कस्तो सकारात्मक प्रभाव पार्नसक्छ?

१२ यहोवाले हाम्रो डोऱ्‍याइको निम्ति एउटा अर्को स्रोतको पनि प्रबन्ध गर्नुभएको छ। त्यो हो, हाम्रो अन्तस्करण। उहाँले मानिसलाई सही र गलत छुट्याउन सक्ने भित्री क्षमतासहित सृष्टि गर्नुभयो। यो हाम्रो स्वभावको भाग नै हो। प्रेरित पावलले रोमीहरूलाई लेखेको पत्रमा यसो भने: “व्यवस्था नहुने अन्यजातिहरू स्वभावैले व्यवस्थाका कुरा पालन गर्दछन्‌ भने, तिनीहरूका व्यवस्था नभए तापनि तिनीहरू आफ्ना निम्ति आफै व्यवस्था छन्‌, यसैमा तिनीहरू व्यवस्थाको काम आफ्ना हृदयमा लेखिएको देखाउँछन्‌, औ तिनीहरूका आफ्नै अन्तस्करणले गवाही दिन्छ, र विचारहरूले आपसमा दोषारोपण अथवा समर्थन गर्नेगर्छन्‌।”—रोमी २:१४, १५.

१३ यहोवालाई नचिनेका थुप्रैले केही हदसम्म आफ्नो विचार र कार्यलाई सही र गलत छुट्याउने ईश्‍वरीय सिद्धान्तअनुरूप गर्नसक्छन्‌। यो तिनीहरूले सही मार्गमा डोऱ्‍याउन एउटा भित्री आवाज सुनिरहेझैं हो। परमेश्‍वरको वचनको सही ज्ञान नभएका मानिसहरूलाई त त्यस्तो हुन्छ भने, साँचो मसीहीहरूलाई त्यो भित्री आवाजले झन्‌ कत्ति धेरै घचघच्याउनुपर्छ होला! निश्‍चय पनि, परमेश्‍वरको वचनको सही ज्ञानले खारिएको र यहोवाको पवित्र आत्माअनुरूप काम गर्ने मसीही अन्तस्करणले भरपर्दो डोऱ्‍याइ दिनसक्छ।—रोमी ९:१.

१४. बाइबल प्रशिक्षित अन्तस्करणले हामीलाई कसरी यहोवाको आत्माको डोऱ्‍याइ पछ्याउन मदत गर्छ?

१४ बाइबल प्रशिक्षित असल अन्तस्करणले आत्माले हामी कसरी हिंडेको चाहन्छ भनेर पनि बताउनसक्छ। कहिलेकाहीं हामीले भोग्नु परिरहेको खास परिस्थितिबारे न त धर्मशास्त्रले न हाम्रो बाइबलआधारित प्रकाशनहरूले नै केही बताउँछ। तैपनि, हाम्रो अन्तस्करणले सम्भावित हानिकारक मार्गबारे चेताउनी दिनुका साथै सजग गराउँछ। त्यस्ता अवस्थामा हाम्रो अन्तस्करणले भनेको कुराको बेवास्ता गर्नुको अर्थ यहोवाको आत्माले भनेको कुरालाई बेवास्ता गर्नु बराबर हुनेछ। अर्कोतर्फ, हाम्रो प्रशिक्षित मसीही अन्तस्करणमा भर पर्न सिकेर खास निर्देशनहरू लिखित रूपमा नभए तापनि बुद्धिमानी छनौट गर्न सक्षम हुनेछौं। तथापि, कुनै ईश्‍वरीय सिद्धान्त, नियम वा व्यवस्था छैन भने आफ्ना सँगी मसीहीहरूलाई पूर्णतया व्यक्‍तिगत कुरामा आफ्नो अन्तस्करणअनुसार जबरजस्ती गर्न लाउनु अनुचित हो भनेर सम्झनु महत्त्वपूर्ण छ।—रोमी १४:१-४; गलाती ६:५.

१५, १६. कुन कुराले हाम्रो अन्तस्करण खलबल्याउन सक्छ र त्यस्तो हुनबाट हामी कसरी बच्नसक्छौं?

१५ सफा बाइबल प्रशिक्षित अन्तस्करण परमेश्‍वरले दिनुभएको उत्तम वरदान हो। (याकूब १:१७) तर यो सुरक्षात्मक नैतिक यन्त्रको रूपमा राम्रोसित सञ्चालन हुने हो भने, हामीले यस वरदानलाई भ्रष्ट प्रभावहरूदेखि जोगाउनुपर्छ। परमेश्‍वरको स्तरसित मेल नखाने स्थानीय चलन, परम्परा र आचरणहरू पछ्यायौं भने हाम्रो अन्तस्करणले राम्ररी काम गर्न छोड्‌नसक्छ र हामीलाई सही मार्गमा हिंड्‌न उत्प्रेरित गर्न असफल हुनसक्छ। यसो भयो भने, हामी सही निर्णय गर्न सक्दैनौं र खराब कार्य पनि वास्तवमा असलै हो भन्‍ने सोचाइमा परेर ठगिनसक्छौं।—यूहन्‍ना १६:२ तुलना गर्नुहोस्‌।

१६ हामीले आफ्नो अन्तस्करणको चेताउनीलाई बेवास्ता गर्ने बानी बसाल्यौं भने, यसको आवाज झन्‌ झनै मधुरो हुँदै जानेछ र अन्ततः हामी नैतिक तवरमा कठोर वा भावशून्य हुनेछौं। त्यस्ता व्यक्‍तिहरूबारे भजनरचयिताले यसो भने: “तिनीहरूको हृदय बोसोजस्तै बाक्लो भएको छ।” (भजन ११९:७०) आफ्नो अन्तस्करणको आवाजलाई बेवास्ता गर्ने कोही कोहीले सही ढंगमा सोच्ने क्षमता नै गुमाउँछन्‌। तिनीहरू ईश्‍वरीय सिद्धान्तहरूद्वारा डोऱ्‍याइएका हुँदैनन्‌ र सही निर्णयहरू गर्न पनि सक्दैनन्‌। त्यस्तो परिस्थितिमा नफस्न एकदमै मामुलीजस्तो देखिने कुरामा समेत हाम्रो मसीही अन्तस्करणको आवाज सुन्‍नुपर्छ।—लूका १६:१०.

कुरा सुन्‍ने र आज्ञा पालन गर्ने धन्यका हुन्‌

१७. ‘कानले पछिल्तिर सुन्‍ने शब्द’ सुनेर हाम्रो बाइबल प्रशिक्षित अन्तस्करणका सम्झौटाहरू पालन गर्दा हामीले कसरी आशिष्‌ पाउनेछौं?

१७ ‘कानले पछिल्तिर सुन्‍ने शब्द’ अर्थात्‌ धर्मशास्त्र अनि विश्‍वासी र बुद्धिमान्‌ दासमार्फत प्रबन्ध गरिएका कुराहरू सुन्‍नुका साथै हाम्रो बाइबल प्रशिक्षित अन्तस्करणका सम्झौटाहरू पालन गर्ने बानी बसाल्यौं भने यहोवाले हामीलाई उहाँको आत्माद्वारा आशिष्‌ दिनुहुन्छ। अनि पवित्र आत्माले हामीलाई यहोवाले बताउनुहुने कुरा प्राप्त गर्ने र बुझ्ने हाम्रो क्षमता बढाउन मदत गर्नेछ।

१८, १९. हाम्रो सेवकाई र व्यक्‍तिगत जीवन दुवैमा यहोवाको डोऱ्‍याइले कसरी लाभ पुऱ्‍याउनसक्छ?

१८ यहोवाको आत्माले कठिन परिस्थितिहरू बुद्धिमानी तथा साहससित सामना गर्न मदत गर्नेछ। अनि प्रेरितहरूलाई जस्तै परमेश्‍वरको आत्माले हाम्रो मानसिक शक्‍तिलाई पनि उत्प्रेरित गर्नुका साथै सधैं बाइबलको सिद्धान्तअनुरूप बोल्न र चल्न मदत गर्नेछ। (मत्ती १०:१८-२०; यूहन्‍ना १४:२६; प्रेरित ४:५-८, १३, ३१; १५:२८) यहोवाको आत्मा र हाम्रो व्यक्‍तिगत प्रयास भयो भने जीवनमा महत्त्वपूर्ण निर्णयहरू गर्दा सफलता प्राप्त गर्नुका साथै हाम्रो निर्णयअनुसारै कामकुराहरू गर्न साहस प्रदान गर्नेछ। उदाहरणका लागि, आध्यात्मिक कुराहरूमा अझ बढी समय दिन तपाईंले आफ्नो जीवनमा छाँटकाँट गर्ने विचार गरिरहनुभएको होला। वा तपाईंले जीवनसाथी छान्‍ने, जागिरको प्रस्ताव स्वीकार्ने कि नस्वीकार्ने वा घर किन्‍ने कि नकिन्‍ने जस्ता जीवनमा आमूल परिवर्तन ल्याउने कुराहरूको निर्णय गर्नु परिरहेको हुनसक्छ। आफ्ना भावनाहरूको आधारमा मात्र त्यस्ता निर्णयहरू गर्नुको साटो परमेश्‍वरको आत्माले के भन्छ, हामीले सुन्‍नुपर्छ र यसकै डोऱ्‍याइअनुरूप चल्नुपर्छ।

१९ हामी प्राचीनहरूलगायत सँगी मसीहीहरूमार्फत पाउने दयालु सम्झौटा तथा सल्लाहहरूको साँच्चै मूल्यांकन गर्छौं। तथापि, हामी सधैं अरूले बताएपछि मात्र केही गरौंला भनेर पर्खेर बस्नु हुँदैन। बुद्धिमानी मार्ग के हो र परमेश्‍वरलाई खुसी तुल्याउन आफ्नो मनोवृत्ति र आचरणमा कस्तो काँटछाँट गर्नुपर्छ हामीलाई थाह भयो भने, आवश्‍यक कदम चालिहालौं। येशूले यसो भन्‍नुभयो: “तिमीहरूले यी कुरा जानेर गऱ्‍यौ भने, तिमीहरू धन्य हौ।”—यूहन्‍ना १३:१७.

२०. ‘कानले पछिल्तिर सुन्‍ने शब्द’ सुन्‍नेहरूले कस्तो आशिष्‌ पाउनेछन्‌?

२० स्पष्टतः परमेश्‍वरलाई कसरी प्रसन्‍न तुल्याउने भनेर थाह पाउन मसीहीहरूले न त स्वर्गबाट साँच्चिकै आवाज सुन्‍नु जरुरी छ न तिनीहरूलाई स्वर्गदूतले भेट्‌न नै आउनुपर्छ। तिनीहरूसित परमेश्‍वरको लिखित वचन छ र पृथ्वीमा भएका अभिषिक्‍त वर्गबाट मायालु निर्देशन पाउँछन्‌। तिनीहरू चनाखो भई ‘कानले पछिल्तिर सुन्‍ने शब्द’ सुनेर बाइबल प्रशिक्षित अन्तस्करणअनुसार हिंडेको खण्डमा परमेश्‍वरको इच्छाअनुसार गर्न सफल हुनेछन्‌। अनि तिनीहरूले निश्‍चय पनि प्रेरित यूहन्‍नाको यो प्रतिज्ञा पूरा भएको देख्नेछन्‌: “परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ यूहन्‍ना २:१७.

संक्षिप्त पुनरावृत्ति

• यहोवा किन आफ्ना मानव सृष्टिहरूसित कुरा गर्नुहुन्छ?

• नियमित बाइबल पढाइ कार्यक्रमबाट हामी कसरी लाभ उठाउनसक्छौं?

• दास वर्गमार्फत प्राप्त निर्देशनप्रति हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

• बाइबल प्रशिक्षित अन्तस्करणको आवाजलाई हामीले किन बेवास्ता गर्नु हुँदैन?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको चित्र]

परमेश्‍वरबाट सन्देश प्राप्त गर्न मानिसलाई जटिल उपकरण चाहिंदैन

[स्रोत]

Courtesy Arecibo Observatory/David Parker/Science Photo Library

[पृष्ठ १५-मा भएको चित्र]

यहोवाले हामीसित बाइबल अनि “विश्‍वासी र बुद्धिमान दास [मार्फत ]” कुरा गर्नुहुन्छ