सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ईश्‍वरीय शिक्षालाई दृढतासाथ पक्रिराख्नुहोस्‌

ईश्‍वरीय शिक्षालाई दृढतासाथ पक्रिराख्नुहोस्‌

ईश्‍वरीय शिक्षालाई दृढतासाथ पक्रिराख्नुहोस्‌

“तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।”—हितोपदेश ३:५, ६.

१. पहिले कहिल्यै उपलब्ध नभएको मानव ज्ञान आज कसरी उपलब्ध भइरहेको छ?

 संसारभरि अहिले झन्डै ९,००० वटा दैनिक अखबारहरू वितरणमा छन्‌। वर्षेनी संयुक्‍त राज्य अमेरिकामा मात्र झन्डै २,००,००० नयाँ पुस्तकहरू प्रकाशित हुन्छन्‌। एउटा अनुमानअनुसार १९९८ मार्चसम्ममा इन्टरनेटमा लगभग २७.५ करोड वेब पेजहरू थिए। भनिन्छ, यो संख्या प्रत्येक महिना दुई करोडको दरमा बढिरहेको छ। मानिसहरूले जुनसुकै विषयमा पनि भरपूर जानकारी अहिलेजस्तो पहिले कहिल्यै पाएका थिएनन्‌। यसका सकारात्मक पक्षहरू भए तापनि जानकारीको त्यस्तो अथाह भण्डारले समस्याहरू पनि खडा गरेका छन्‌।

२. जानकारीहरूको अथाह भण्डार उपलब्ध हुँदा कस्ता समस्याहरू खडा हुनसक्छन्‌?

कोही कोही मानिसहरू त जानकारी हासिल गर्न लग्गू नै भएका छन्‌। तिनीहरू बढी महत्त्वपूर्ण कुराहरूलाई बेवास्ता गरेर कहिल्यै इच्छा पूरा नहुने नवीनतम जानकारीहरू प्राप्त गर्न सधैं व्यस्त रहन्छन्‌। अरू कोहीचाहिं जटिल विषयहरूबारे केही जानकारी प्राप्त गर्छन्‌ र आफूलाई विशेषज्ञ भन्ठान्छन्‌। अनि आफूले बुझेको सीमित ज्ञानको भरमा तिनीहरू आफू वा अरूलाई पनि हानि पुऱ्‍याउने जटिल निर्णयहरू गर्छन्‌। अनि त्यसमाथि गलत वा बेठीक जानकारी प्राप्त गर्ने खतरा त छँदैछ। अक्सर यी असंख्य जानकारीहरू सही र सन्तुलित हुन्‌ या होइनन्‌ भनी पक्का गर्ने कुनै भरपर्दो तरिका छैन।

३. मानव बुद्धिको पछि लाग्ने सन्दर्भमा बाइबलमा कस्तो चेताउनी दिइएको छ?

कौतूहलता मानिसको पुरानो गुण हो। बेकारका वा हानिकारक जानकारीहरू प्राप्त गर्न धेरै समय बिताउनु खतरनाक हुनसक्छ भन्‍ने कुरा राजा सुलेमानको समयमा पनि प्रस्टै थियो। तिनले यसो भने: “हे मेरो छोरो, अझै एउटा चेताउनी सुनिराख्‌–पुस्तकहरूको उपयोगको केही अन्त छैन, औ धेरै अध्ययनले थकाउँछ।” (उपदेशक १२:१२) शताब्दीयौंपछि प्रेरित पावलले तिमोथीलाई यस्तो लेखे: “अशुद्ध वकवादबाट र ज्ञान कहलिएको झूटा विरोधबाट फर्केर तिमीलाई सुम्पिएको जो छ, त्यसको हिफाजत गर, जो कुनै कुनैले मानेर विश्‍वासबाट भ्रममा परेका छन्‌।” (१ तिमोथी ६:२०, २१) हो, मसीहीहरू आज हानिकारक सोचाइहरूको अनावश्‍यक प्रभावमा पर्नदेखि अलग रहनुपर्छ।

४. यहोवा अनि उहाँको शिक्षामा हाम्रो विश्‍वास प्रदर्शन गर्ने एउटा तरिका के हो?

यहोवाका जनहरूले पनि हितोपदेश ३:५, ६ मा उल्लिखित कुरा सुन्‍नु बुद्धिमानी हुनेछ। त्यहाँ यस्तो लेखिएको छ: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” यहोवामाथि विश्‍वास गर्नुमा परमेश्‍वरको वचनसित मेल नखाने विचारहरू चाहे त्यो आफ्नै होस्‌ वा सहमानवको, त्यसलाई तिरस्कार गर्नु पनि समावेश छ। हाम्रो आध्यात्मिकता जोगाउन हामीले आफ्नो ज्ञानेन्द्रियलाई प्रशिक्षण दिनु अत्यावश्‍यक छ। यसो गर्दा हामीले हानिकारक जानकारीहरू चिनेर त्यसबाट अलग रहनसक्छौं। (हिब्रू ५:१४) त्यस्ता जानकारीका केही स्रोतहरू आउनुहोस्‌, हामी छलफल गरौं।

शैतानको अधीनमा परेको संसार

५. हानिकारक विचारहरूको एउटा स्रोत के हो र यसको पछाडि कसको हात छ?

यो संसार, हानिकारक विचारहरूको अति राम्रो स्रोत हो। (१ कोरिन्थी ३:१९) येशू ख्रीष्टले आफ्ना चेलाहरूको निम्ति परमेश्‍वरसित यसरी प्रार्थना गर्नुभयो: “तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस्‌ भनी म बिन्ती गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट जोगाइराख्नुहोस्‌।” (यूहन्‍ना १७:१५) चेलाहरूलाई “दुष्टबाट” जोगाइराख्नुहोस्‌ भन्‍ने येशूको बिन्तीबाट यस संसारमा शैतानको प्रभाव छ भन्‍ने कुरा स्पष्ट हुन्छ। हामी मसीही हुँदैमा स्वतः यस संसारको प्रभावहरूबाट सुरक्षित हुँदैनौं। यूहन्‍नाले यस्तो लेखे: “हामी जान्दछौं, कि हामी परमेश्‍वरका हौं, र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्‍ना ५:१९) विशेष गरी, यस आखिरी दिनको पनि अन्तमा शैतान अनि त्यसका प्रेतहरूले संसारमा हानिकारक जानकारीहरू पक्कै पनि छ्यासछ्यासती उपलब्ध गराउनेछन्‌।

६. मनोरञ्जनजगत्‌ले हामीलाई कसरी नैतिक तवरमा भावशून्य बनाउनसक्छ?

यी हानिकारक जानकारीहरूमध्ये कतिपय अहानिकारकजस्तो पनि देखिन सक्छ। (२ कोरिन्थी ११:१४) उदाहरणका लागि, मनोरञ्जनजगत्‌लाई लिनुहोस्‌। यसमा टेलिभिजन कार्यक्रम, चलचित्र, संगीत र पत्रपत्रिकाहरूमा हुने मनोरञ्जन समावेश छन्‌। अनैतिकता, हिंसा र लागू पदार्थको दुर्व्यसनजस्ता पतित कुराहरूलाई आजकाल मनोरञ्जनका कुनै कुनै पक्षले झनै बढावा दिन्छन्‌ भनेर थुप्रै मानिसहरू सहमत हुन्छन्‌। मनोरञ्जनको नाउँमा एकदमै पतित कुरा पहिलो चोटि देखाउँदा दर्शकहरूको आङ सिरिङ होला। तर बारम्बार त्यस्तै दृश्‍य देखाइरहँदा यो साधारण कुराजस्तो लाग्न थाल्छ। हानिकारक विचारहरूलाई बढावा दिने मनोरञ्जनलाई हामीले कहिल्यै स्वीकार्य वा अहानिकारक ठान्‍नु हुँदैन।—भजन ११९:३७.

७. कस्तो प्रकारको मानव बुद्धिले बाइबलमाथिको हाम्रो विश्‍वासलाई कमजोर तुल्याउनसक्छ?

हानिकारक जानकारीको अर्को सम्भाव्य स्रोतलाई विचार गर्नुहोस्‌। त्यो हो, केही वैज्ञानिक तथा शास्त्रविद्‌हरूले बाइबलको प्रमाणिकतालाई चुनौती दिन प्रकाशित गरेका तीन थुप्रो विचारहरू। (याकूब ३:१५ तुलना गर्नुहोस्‌।) त्यस्ता विषयवस्तुहरू प्रमुख पत्रपत्रिका र लोकप्रिय पुस्तकहरूमा बारम्बार प्रकाशित हुने गर्छन्‌ र यसले बाइबलमाथिको विश्‍वास कमजोर तुल्याउनसक्छ। कोही कोही मानिस असंख्य अनुमान लगाएर परमेश्‍वरको वचनको अख्तियारलाई कमजोर तुल्याउने घमण्ड गर्छन्‌। प्रेरितहरूको समयमा पनि त्यस्तै खतराहरू विद्यमान थिए र यो प्रेरित पावलका शब्दहरूबाट स्पष्ट हुन्छ: “होशियार बस, नत्रता कसैले ख्रीष्टअनुसारको होइन, तर मानिसहरूको कुलाचार, संसारको अनुसारका तत्त्वज्ञान, र फोस्रो छलले तिमीहरूलाई शिकार बनाउला।”—कलस्सी २:८.

सत्यका शत्रुहरू

८, ९. आज धर्मत्याग कसरी प्रकट भइरहेको छ?

धर्मत्यागीहरूले हाम्रो आध्यात्मिकतामा अर्को खतरा पुऱ्‍याउनसक्छन्‌। प्रेरित पावलले मसीही भनौंदाहरू माझ धर्मत्याग देखा पर्नेछ भनेर भविष्यवाणी गरेका थिए। (प्रेरित २०:२९, ३०; २ थिस्सलोनिकी २:३) तिनका शब्दहरूअनुरूपै प्रेरितहरूको मृत्युपछि भएको ठूलो धर्मत्यागले मसीहीजगत्‌को सुरुआत भयो। आज, परमेश्‍वरका जनहरूमाझ ठूलो धर्मत्याग त भइरहेका छैन। तैपनि, केही व्यक्‍तिविशेषले हामीलाई त्यागेका छन्‌ र तिनीहरूमध्ये कोही कोही झूटा जानकारीहरू फैलाएर यहोवाका साक्षीहरूको बदनाम गर्न तल्लीन छन्‌। अरू कतिचाहिं शुद्ध उपासनाको प्रतिरोध गर्न अन्य संगठित समूहहरूसित हात मिलाउँछन्‌। त्यसो गर्दा तिनीहरूले प्रथम धर्मत्यागी अर्थात्‌ शैतानको पक्ष लिइरहेका हुन्छन्‌।

केही धर्मत्यागीहरूले यहोवाका साक्षीहरूबारे गलत जानकारी फैलाउन इन्टरनेटजस्ता आमसञ्चारका विभिन्‍न माध्यमहरू अत्यधिक मात्रामा चलाइरहेका छन्‌। फलस्वरूप, साँचो हृदय भएका मानिसहरूले हाम्रो विश्‍वासबारे अनुसन्धान गर्दा धर्मत्यागी अफवाहहरू पढ्‌नसक्छन्‌। केही साक्षीहरूले समेत अनजानमा यस्ता हानिकारक विषयवस्तुहरू पढेका छन्‌। यसबाहेक, धर्मत्यागीहरू समय समयमा टेलिभिजन वा रेडियो कार्यक्रमहरूमा भाग लिन्छन्‌। यस सन्दर्भमा हामीले अपनाउनुपर्ने बुद्धिमानी मार्ग कुन हो?

१०. धर्मत्यागी अफवाहहरूप्रति कस्तो प्रतिक्रिया देखाउनु बुद्धिमानी हुनेछ?

१० प्रेरित यूहन्‍नाले मसीहीहरूलाई आफ्नो घरमा धर्मत्यागीहरूलाई स्वागत नगर्नू भने। तिनले यस्तो लेखे: “यदि कोही तिमीकहाँ आएर यही शिक्षा ल्याउँदैन भने त्यसलाई घरमा स्वागत नगर्नू। त्यसलाई अभिवादन पनि नगर्नू। किनकि त्यसलाई अभिवादन गर्ने ता त्यसका दुष्ट कामहरूमा सहभागी हुन्छ।” (२ यूहन्‍ना १०, ११) त्यस्ता विरोधीहरूसित कुनै सरोकार नराख्दा हामी तिनीहरूको भ्रष्ट सोचाइबाट जोगिन्छौं। विभिन्‍न प्रकारको आमसञ्चार माध्यमद्वारा धर्मत्यागी शिक्षाको प्रभावमा पर्नु भनेको धर्मत्यागी व्यक्‍तिलाई आफ्नो घरमा स्वागत गर्नु बराबर हो। कौतूहलताको कारण हामी कहिल्यै त्यस्ता विपत्तिजनक मार्ग अपनाउन प्रलोभित हुनु हुँदैन!—हितोपदेश २२:३.

मण्डलीभित्र

११, १२. (क) प्रथम शताब्दीका मण्डलीहरूमा हानिकारक जानकारीको स्रोत के थियो? (ख) ईश्‍वरीय शिक्षाहरूलाई दृढतासाथ पक्रिराख्न कोही कोही मसीहीहरू कसरी विफल भए?

११ हानिकारक सोचाइको अझ अर्को सम्भावित स्रोतबारे विचार गर्नुहोस्‌। झूटो कुरा सिकाउने मनसाय नराखे तापनि समर्पित मसीहीले विचारै नगरी प्वाक्क बोल्ने बानी बसाल्नसक्छ। (हितोपदेश १२:१८) हाम्रो असिद्ध झुकाउको कारण हाम्रो जिब्रोले कुनै न कुनै समय पापी कुरा बोलीहाल्छ। (हितोपदेश १०:१९; याकूब ३:८) स्पष्टतः पावलको समयमा पनि आफ्नो जिब्रो नियन्त्रणमा राख्न नसकेर शब्दहरूको विवादमा पर्ने मानिसहरू मण्डलीमा थिए। (१ तिमोथी २:८) अनि आफ्नै विचारबारे मात्रै बढ्‌ता सोचेर पावलको अख्तियारलाई समेत चुनौती दिने मानिसहरू पनि थिए। (२ कोरिन्थी १०:१०-१२) त्यस्तो मनोवृत्तिको कारण अनावश्‍यक झगडाहरू हुन्थे।

१२ कहिलेकाहीं “मानिसहरूका कचिंगल[ले]” गर्दा मण्डलीको शान्ति नै भंग भयो। (१ तिमोथी ६:५; गलाती ५:१५) यस्ता झगडाहरूका बीउबारे पावलले यस्तो लेखे: “यदि कुनै मानिसले अर्कै सिद्धान्त सिकाउँछ, र पक्का वचनहरू, अर्थात्‌ हाम्रा प्रभु येशू ख्रीष्टका वचनहरू र भक्‍तिअनुसारको सिद्धान्तलाई मान्दैन भने, केही पनि नजानेर त्यो घमण्डले फुलेर औ सवाल र वाद-विवाद गर्ने रोग त्यसलाई लागेको हुन्छ, जसबाट डाह झगड़ा, गाली, खराब शंका” उत्पन्‍न हुन्छ।—१ तिमोथी ६:३, ४.

१३. प्रथम शताब्दीमा अधिकांश मसीहीहरूको कस्तो आचरण थियो?

१३ खुसीको कुरा, प्रेरितहरूको समयमा अधिकांश मसीहीहरू विश्‍वासी रहेर परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्ने काममै ध्यानकेन्द्रित गरे। तिनीहरू “अनाथ र विधवाहरूलाई तिनीहरूका कष्टमा हेरचाह” गर्न र शब्दहरूबारे व्यर्थको झगडा गरेर समयको फजुल खर्च गर्न होइन तर “आफूलाई दुनियाँबाट निष्कलंक” राख्नु नै व्यस्त थिए। (याकूब १:२७) तिनीहरूले आफ्नो आध्यात्मिकतालाई जोगाइराख्न मसीही मण्डलीभित्रसमेत “खराब संगत[बाट]” अलग बसे।—१ कोरिन्थी १५:३३; २ तिमोथी २:२०, २१.

१४. हामी सतर्क भएनौं भने सामान्य विचारहरूको आदानप्रदान नै कसरी हानिकारक विवादको विषय बन्‍नसक्छ?

१४ त्यस्तै गरी, अनुच्छेद ११ मा बताइएको जस्तो परिस्थिति आज यहोवाका साक्षीहरूका मण्डलीहरूमा खासै छैन। तैपनि, हामी त्यस्ता व्यर्थका विवादहरू हुने सम्भावनादेखि होसियार हुनुपर्छ। निस्सन्देह, बाइबल विवरणहरू वा अहिलेसम्म प्रकाश नपारिएका प्रतिज्ञाकृत नयाँ संसारको कुनै पक्षहरूबारे छलफल गर्नु स्वाभाविकै हो। अनि पहिरन, कोरीबाटी वा मनोरञ्जनको छनौटजस्ता व्यक्‍तिगत कुराहरूबारे छलफल गर्नुमा पनि कुनै खराबी छैन। तथापि, आफ्नै कुरामा जिद्दी गर्न थाल्यौं र अरू आफूसित सहमत नहुँदा अपमान भएको ठान्यौं भने मण्डली स-साना कुरामा पनि विभाजित हुनसक्छ। अहानिकारक साधारण कुराले नै पछि हानिकारक रूप लिनसक्छ।

हाम्रो विश्‍वास सुरक्षित राख्ने

१५. “भूतात्माहरूका सिद्धान्त[ले]” हामीलाई आध्यात्मिक तवरमा कुन हदसम्म हानि पुऱ्‍याउनसक्छ र धर्मशास्त्रमा कस्तो सल्लाह दिइएको छ?

१५ प्रेरित पावलले यस्तो चेताउनी दिए: “पवित्र आत्मा प्रष्टै भन्‍नुहुन्छ, कि पछि आउने समयमा बहकाउने आत्मा र भूतात्माहरूका सिद्धान्ततिर मन लाएर कोही कोही विश्‍वासबाट पतित हुनेछन्‌।” (१ तिमोथी ४:१) हो, हानिकारक विचारहरूले ठूलो खतरा उत्पन्‍न गर्छ। अतः पावलले आफ्ना प्रिय मित्र तिमोथीलाई यसरी अनुरोध गर्नुको कारण हामी बुझ्नसक्छौं: “हे तिमोथी, अशुद्ध वकवादबाट र ज्ञान कहलिएको झूटा विरोधबाट फर्केर तिमीलाई सुम्पिएको जो छ, त्यसको हिफाजत गर, जो कुनै कुनैले मानेर विश्‍वासबाट भ्रममा परेका छन्‌। तिमीहरूसँग अनुग्रह रहोस्‌।”—१ तिमोथी ६:२०, २१.

१६, १७. यहोवाले हामीलाई के सुम्पनुभएको छ र हामीले कसरी यसको सुरक्षा गर्नुपर्छ?

१६ आज हामीले यो मायालु चेताउनीबाट कसरी लाभ उठाउनसक्छौं? तिमोथीलाई नासो अर्थात्‌ एउटा बहुमूल्य कुराको देखभाल र सुरक्षा गर्ने जिम्मा सुम्पिएको थियो। त्यो के थियो? पावल भन्छन्‌: “ख्रीष्ट येशूमा भएको विश्‍वास र प्रेममा तिमीले मबाट जे सुनेका छौ, ती पक्का कुराहरूको नमूना पक्रीराख। तिमीलाई सुम्पिएको उत्तम नासोलाई हामीमा बास गर्ने पवित्र आत्माद्वारा सुरक्षित राख।” (२ तिमोथी १:१३, १४) हो, तिमोथीले “पक्का कुराहरू” र “भक्‍तिअनुसारको सिद्धान्त[को]” पनि देखभाल गर्नुपर्थ्यो। (१ तिमोथी ६:३) यी शब्दहरूअनुरूप आज पनि मसीहीहरू आफ्नो विश्‍वासको र तिनीहरूलाई सुम्पिएको सत्य कुराहरूको सुरक्षा गर्न कटिबद्ध छन्‌।

१७ त्यो नासोलाई सुरक्षित राख्नुमा बाइबल अध्ययन गर्ने राम्रो बानी बसाल्नु र “सबै मानिसतर्फ, खास गरेर विश्‍वासका घरानातर्फ, भलाइको काम” गरेर निरन्तर प्रार्थना गर्नु पनि समावेश छ। (गलाती ६:१०; रोमी १२:११-१७) पावल अझ यस्तो सल्लाह दिन्छन्‌: “धार्मिकता, भक्‍ति, विश्‍वास, प्रेम, धीरज, नम्रताको पछि लाग। विश्‍वासको उत्तम लड़न्त लड़। अनन्त जीवन पक्री राख, जसमा तिमीलाई बोलावट भएको थियो, र धेरै गवाहीहरूका सामनेमा उत्तम धर्मको सारलाई स्वीकार गरेका थियौ।” (१ तिमोथी ६:११, १२) पावलले चलाएका “उत्तम लड़न्त लड़” र “पक्री राख” जस्ता वाक्यांशहरूबाट हामीले सक्रियतासाथ हानिकारक आध्यात्मिक प्रभावहरूको प्रतिरोध गर्नैपर्छ भन्‍ने कुरा प्रस्ट हुन्छ।

विवेक चाहिन्छ

१८. सांसारिक जानकारीहरूको सन्दर्भमा मसीहीहरूले कसरी सन्तुलन देखाउनसक्छन्‌?

१८ निश्‍चय पनि विश्‍वासको उत्तम लडन्त लड्‌न विवेक चाहिन्छ। (हितोपदेश २:११; फिलिप्पी १:९) उदाहरणका लागि, सबै सांसारिक जानकारीहरूलाई पत्यार नगर्नु अव्यवहारिक हुनेछ। (फिलिप्पी ४:५; याकूब ३:१७) सबै मानव सोचाइहरू परमेश्‍वरको वचन विपरीत हुँदैनन्‌। येशूले बिरामी मानिसले योग्य चिकित्सकलाई देखाउनुपर्छ भनेर संकेत गर्नुभयो र औषधोपचार पनि एउटा सांसारिक पेसा हो। (लूका ५:३१) येशूको समयमा चिकित्सा क्षेत्र त्यति विकसित नभए तापनि चिकित्सकको सहायता लिंदा केही फाइदा हुन्छ भनेर उहाँले स्वीकार्नुभयो। आज मसीहीहरू सांसारिक जानकारीहरूको सन्दर्भमा सन्तुलन देखाउँछन्‌ तर आफ्नो आध्यात्मिकतालाई हानि पुऱ्‍याउने सबै प्रभावको प्रतिरोध गर्छन्‌।

१९, २०. (क) मूर्ख कुरा गर्नेहरूलाई मदत गर्दा प्राचीनहरूले कसरी विवेक चलाउँछन्‌? (ख) झूटा शिक्षा प्रवर्धन गर्नेतर्फ नै लाग्नेहरूसित मण्डलीले कस्तो व्यवहार गर्छ?

१९ मूर्ख कुरा गर्ने मानिसहरूलाई मदत दिन आग्रह गरिंदा पनि प्राचीनहरू विवेकी हुनु अत्यावश्‍यक छ। (२ तिमोथी २:७) कहिलेकाहीं मण्डलीका सदस्यहरू सानो र अनुमानित तर्कहरूबारे झगडा गर्नसक्छन्‌। मण्डलीको एकतालाई जोगाउन प्राचीनहरूले त्यस्ता समस्याहरू तुरुन्तै सुल्झाउनुपर्छ। फेरि अर्कोतर्फ आफ्ना भाइहरूले गलत अर्थ नलगाऊन्‌ भनेर प्राचीनहरूले त्यस्ता सदस्यहरूलाई तुरुन्तै धर्मत्यागी ठहऱ्‍याउँदैनन्‌।

२० मदत दिंदा हुनुपर्ने मनोभावबारे पावलले यसो भने: “हे भाइ हो, यदि मानिस कुनै अपराधमा पक्राउ पऱ्‍यो भने पनि तिमी आत्मिकीहरूले चाहिं नम्रताको आत्माले आफै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्तै यस्ताको सुधार गर।” (गलाती ६:१) विशेष गरी, शंका उपशंका गर्ने बानी भएका मसीहीहरूबारे कुरा गर्दै यहूदाले यस्तो लेखे: “दुविधामा हुनेहरूलाई दया गर। औ कसै कसैलाई आगोबाट गाँजेर बचाओ।” (यहूदा २२, २३) निस्सन्देह, बारम्बार सम्झाउँदा पनि कोही झूटा शिक्षा प्रवर्धन गर्नेतर्फ नै लाग्छ भने, प्राचीनहरूले मण्डलीलाई जोगाउन निर्णायक कदम चाल्नुपर्छ।—१ तिमोथी १:२०; तीतस ३:१०, ११.

हाम्रो मनमा प्रशंसनीय कुराहरू भर्ने

२१, २२. हामी कुन कुराबारे होसियार हुनुपर्छ र हामीले कस्ता कुराहरूले आफ्नो मन भर्नुपर्छ?

२१ “सइनको घाउले जस्तै सड़ाउने” हानिकारक शब्दहरूदेखि मसीही मण्डली टाढा बस्छ। (२ तिमोथी २:१६, १७; तीतस ३:९) ती चाहे, भ्रामक सांसारिक “बुद्धि” होस्‌ या धर्मत्यागीहरूको अफवाह वा मण्डलीमै बेकारका कुराहरू नै किन नहून्‌। नयाँ नयाँ कुरा सिक्ने चाहना लाभकारी भए तापनि बेलगाम चाहनाले हानिकारक प्रभावहरूको वशमा पार्नसक्छ। शैतानका चालहरूबारे हामी अनजान छैनौं। (२ कोरिन्थी २:११) परमेश्‍वरको सेवाबाट हामीलाई अलमल्याउन त्यसले निकै प्रयास गरिरहेको छ भनेर हामीलाई थाह छ।

२२ असल सेवकहरूको हैसियतमा ईश्‍वरीय भक्‍तिअनुसारको शिक्षालाई दृढतासाथ पक्रिराखौं। (१ तिमोथी ४:६) आफूले लिने जानकारीबारे होसियार भई आफ्नो समयको सदुपयोग गरौं। अनि हामी हतपती शैतान प्रेरित अफवाहहरूको प्रभावमा पर्दैनौं। हो, “जे कुरा सच्चा छन्‌, जे कुरा आदरणीय छन्‌, जे कुरा चोखा छन्‌, जे कुरा असल छन्‌, जे कुरा मनपर्दा छन्‌, तिनमा केही सद्‌गुण र केही प्रशंसा छ भने, तिनै कुराको विचार गर। तिमीहरूले जुन कुरा सिक्यौ, र ग्रहण पनि गऱ्‍यौ, सुन्यौ र ममा देख्यौ, तिनै काम गर, औ शान्तिका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।” यदि हामीले आफ्नो मन अनि हृदय यस्ता कुराहरूले भऱ्‍यौं भने शान्तिका परमेश्‍वर हाम्रो साथमा हुनुहुनेछ।—फिलिप्पी ४:८, ९.

हामीले के सिक्यौं?

• सांसारिक बुद्धिले कसरी हाम्रो आध्यात्मिकतालाई खतरामा पार्नसक्छ?

• हानिकारक धर्मत्यागी जानकारीहरूबाट जोगिन हामी के गर्नसक्छौं?

• मण्डलीमा कस्तो प्रकारको बोलीवचन गर्नु हुँदैन?

• आज उपलब्ध जानकारीहरूको अथाह भण्डारप्रति कसरी मसीही सन्तुलन देखाउन सकिन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र]

थुप्रै लोकप्रिय पत्रपत्रिका तथा पुस्तकहरू मसीही मूल्यमान्यतासित मेल खाँदैनन्‌

[पृष्ठ १०-मा भएको चित्र]

मसीहीहरूले आफ्नो कुरामा जिद्दी नगरी आफ्ना विचारहरू आदानप्रदान गर्नसक्छन्‌