किन यत्तिबिघ्न भ्रष्टाचार?
किन यत्तिबिघ्न भ्रष्टाचार?
“घूस नखाओ, किनकि घूसले मानिसलाई अन्धा तुल्याउँछ, र निरपराधको कुरालाई उल्टाइदिन्छ।”–प्रस्थान २३:८.
तीन हजार पाँच सय वर्षअघि मोशालाई दिइएको व्यवस्थामा घूसखोरीको निन्दा गरिएको थियो। त्यसपछि शताब्दीयौंको दौडान भ्रष्टाचार विरुद्ध थुप्रै नियम कानुन बनाइयो। तथापि, नियम कानुनहरू भ्रष्टाचार रोक्न सफल भएका छैनन्। दिनहुँ करोडौं घूसखोरीहरू हुने गर्छन् अनि यसको असर अरबौं मानिसहरूले भोग्छन्।
भ्रष्टाचार यस्तो व्यापक र जटिल भएको छ कि यसले समाजको जगलाई नै हल्लाउने खतरा छ। कुनै कुनै देशमा घूस नदिई केही कामै बन्दैन। सही व्यक्तिको हातमा घूस पऱ्यो भने जाँचमा उतीर्ण हुन, गाडीको लाइसेन्स लिन, ठेक्का पाउन वा मुद्दा जित्न सकिन्छ। “भ्रष्टाचार भयानक प्रदूषण हो। यसले मानिसहरूमाथि बोझ लाद्नुका साथै निरुत्साहित बनाउँछ” भनी एक फ्रान्सिसी वकिल आर्नो मोंन्टबर दुःख पोख्छन्।
घूसखोरी विशेष गरी व्यापार जगत्मा व्याप्त छ। कुनै कुनै कम्पनीहरूले भ्रष्ट सरकारी अधिकारीहरूलाई खुवाउन मात्र आफ्नो आम्दानीको एक तिहाइ भाग छुट्याउँछन्। बेलायती पत्रिका दी इकोनोमिस्ट-अनुसार प्रत्येक वर्ष अन्तरराष्ट्रिय हातहतियार व्यापारमा खर्च गरिने लगभग २५ अरब अमेरिकी डलरको १० प्रतिशत त सम्भाव्य ग्राहकहरूलाई घूस खुवाउन मात्रै खर्च गरिन्छ। यस्तो भ्रष्टाचारको मात्रा बढ्दै गएको कारण नतिजा झनै विनाशकारी भएको छ। भनिन्छ, गत दशकमा ठूलाबडाहरूसँग राम्रो सम्पर्क भएका केही विशेष व्यक्तिहरूलाई मात्र अनुग्रह देखाउने भ्रष्ट व्यापारिक चलन अर्थात् “भनसुनवाद”-ले कुनै कुनै देशको सम्पूर्ण अर्थतन्त्रलाई नै डुबाइदियो।
स्पष्टतः भ्रष्टाचार र आर्थिक ह्रासबाट सबैभन्दा धेरै प्रभावित हुने वर्ग गरिबहरू नै हुन्छन्। तिनीहरू विरलै कसैलाई घूस दिने स्थितिमा हुन्छन्। दी इकोनोमिस्ट-ले सारांशमा भनेझैं “भ्रष्टाचार भनेको अरू केही होइन तर दमन हो।” के यस प्रकारको दमन वा भ्रष्टाचारमाथि विजय हासिल गर्न सकिएला? यस प्रश्नको जवाफ दिनुअघि प्रथमतः हामीले भ्रष्टाचारका आधारभूत कारणहरू बुझ्नु आवश्यक छ।
भ्रष्टाचारका कारणहरू के हुन्?
मानिसहरू इमानदार हुनुभन्दा भ्रष्ट हुन किन रुचाउँछन्? कसै कसैको निम्ति भ्रष्ट हुनु आफूले चाहेको कुरा पाउने सजिलो वा एक मात्र तरिका हुनसक्छ। कहिलेकाहीं घूस खुवाउँदा सजाय छल्न सजिलो हुन्छ। राजनीतिज्ञ, प्रहरी तथा न्यायाधीशहरूले भ्रष्टाचारलाई बेवास्ता गरेका वा तिनीहरू आफै भ्रष्ट भएका देखेर थुप्रै मानिसहरू तिनीहरूकै नमुना पछ्याउँछन्।
भ्रष्टाचार सर्वत्र फिंजिदै गएपछि यो अन्ततः जीवनशैलीको एक भाग नै भएर जान्छ। अत्यन्तै कम आयस्रोत भएका मानिसहरूलाई अरू कुनै विकल्प नभएजस्तो लाग्न थाल्छ। आफ्नो आधारभूत आवश्यकताहरू पूरा गर्ने हो उपदेशक ८:११.
भने, तिनीहरूले घूस खानै पर्ने हुन्छ। अनि अनुचित फाइदा उठाउन घूस माग्ने वा दिने मानिसहरू खुलेआम हिंडिरहेका देखेपछि कमै मानिसहरू यस विरुद्ध आवाज उठाउन तत्पर हुन्छन्। “खराब कामको दण्ड तुरुन्तै नपाएकोलेनै मानिसले यति साहससित खराब काम गर्दछ” भनी राजा सुलेमानले टिप्पणी गरे।—दुई शक्तिशाली तत्त्वले भ्रष्टाचारको आगोलाई अझ दन्काउँछ। त्यो हो, स्वार्थ र लोभ। स्वार्थले गर्दा नै भ्रष्ट मानिसहरू आफ्नो भ्रष्ट कामको कारण मानिसहरूले भोग्नुपरेको समस्या देखे पनि नदेखे सरह गर्छन् र आफ्नो फाइदा हुने भएकोले घूसखोरीको समर्थन गर्छन्। घूसखोरहरू जति धेरै सम्पत्ति थुपार्छन्, उत्ति नै लोभी हुन थाल्छन्। “जुन मानिसले रूपियाँ-पैसाको लोभ गर्छ त्यसलाई कहिल्यै प्रशस्त हुँदैन। औ धेरै धन-सम्पत्तिको लोभ गर्ने मानिसले त्यसबाट केही सुख-भोग पाउनेछैन” भनी सुलेमानले टिप्पणी गरे। (उपदेशक ५:१०) हो, पैसा कमाउनको निम्ति लोभ राम्रो हुनसक्छ तर यसले स्पष्टतः भ्रष्टाचार र गैरकानुनी गतिविधिलाई पनि निम्त्याउँछ।
बाइबलमा शैतान अर्थात् दियाबल भनिने यस संसारको अदृश्य शासकको भूमिकालाई पनि हामी बेवास्ता गर्न सक्दैनौं। (१ यूहन्ना ५:१९; प्रकाश १२:९) शैतानले पूर्णतया भ्रष्टाचारको समर्थन गर्छ। अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा ठूलो घूस शैतानले ख्रीष्टसामु राखेको प्रस्ताव हो। ‘तपाईंले घोप्टेर मलाई दण्डवत् गर्नुभयो भने, यी जगत्का सबै राज्य म तपाईंलाई दिनेछु।’—मत्ती ४:८, ९.
तथापि, येशूले कुनै हालतमा पनि त्यो प्रस्ताव स्वीकार्नु भएन र उहाँले आफ्ना अनुयायीहरूलाई पनि त्यसै गर्न सिकाउनुभयो। के येशूको शिक्षा आज भ्रष्टाचार विरुद्ध लड्ने प्रभावकारी माध्यम हुनसक्छ? यस प्रश्नको विश्लेषण अर्को लेखमा गरिनेछ।