पूर्ण-समय सेवाद्वारा यहोवालाई धन्यवाद!
जीवनी
पूर्ण-समय सेवाद्वारा यहोवालाई धन्यवाद!
स्टान्ली ई. रेनोल्ड्सको वृत्तान्तमा आधारित
सन् १९१० मा मेरो जन्म इंग्ल्याण्डको लण्डनमा भएको थियो। प्रथम विश्वयुद्धपछि मेरो मुमाबुबा विल्टशायरको सानो गाउँ वेस्टवरी भन्ने ठाउँमा बसाइँ सर्नुभयो। ठिटै छँदा म अक्सर सोच्ने गर्थें, ‘परमेश्वर को हुनुहुन्छ?’ कसैले मलाई यसको जवाफ दिन सकेन। अनि मलाई सधैं हाम्रोजस्तो सानो समुदायमा पनि परमेश्वरलाई उपासना गर्न किन दुइटा स-साना चर्च र अर्को ठूलो चर्च चाहिएको होला जस्तो लाग्थ्यो।
दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा चार वर्षअघि १९३५ मा मेरो भाइ र म बिदा मनाउन बेलायतको दक्षिणी समुद्री किनारा वाइमथतिर साइकलमा गयौं र त्यहाँ हामी पाल टाँगेर बस्यौं। झमझम परिरहेको पानीको आवाज सुन्दै अब के गर्ने होला भनेर विचार गर्दै पालभित्र बसिरहेकै बेला एक वृद्ध पुरुषले हामीलाई भेटेर तीनवटा बाइबल अध्ययन सहायक, द हार्प अफ गड, लाइट प्रथम र दोस्रो खण्ड दिए। बोर भएर बस्नुको सट्टा भनेर मैले खुसीसाथ ती पुस्तकहरू स्वीकारें। म त तुरुन्तै ती पुस्तकहरूमा मग्न भएँ तर यसले म र मेरो भाइको जीवनमा यस्तो फरक पार्ला भनेर मलाई के थाह।
म घर फर्कंदा मेरी आमाले हाम्रो गाउँकी केट पार्सनले पनि त्यस्तै प्रकारको बाइबल साहित्यहरू बाँड्छ भनेर बताउनुभयो। उहाँलाई सबैले चिन्थे किनभने पाको उमेरको भए तापनि उहाँ हाम्रो त्यति बाक्लो बस्ती नभएको गाउँमा सानो मोटरसाइकलमा मानिसहरूलाई भेट्न यताउता जानुहुन्थ्यो। म उहाँलाई भेट्न गएँ र उहाँले खुसीसाथ क्रिएसन, रिचेज-का साथै वाच टावर सोसाइटीका अन्य साहित्यहरू दिनुभयो। उहाँ यहोवाको साक्षी हुनुहुन्छ भनेर पनि मलाई बताउनुभयो।
बाइबलका साथै ती पुस्तकहरू पढेपछि यहोवा नै साँचो परमेश्वर हुनुहुन्छ भनेर मलाई पक्का भयो र उहाँको
उपासना गर्न चाहन्थें। त्यसैले मैले चर्चमा राजीनामा पत्र पठाएँ अनि जोन र एलिस मूडीको घरमा बाइबल अध्ययन धाउन थालें। हाम्रो सबैभन्दा नजिकैको शहर वेस्टवरीमा उहाँहरू बस्नुहुन्थ्यो। ती सभाहरूमा हामी सात जना मात्र भेला हुन्थ्यौं। सभाहरूको अघि र पछि केट पार्सनले हार्मोनियम बजाउनुहुन्थ्यो र हामीचाहिं स्वरमा स्वर मिलाएर राज्य गीत गाउँथ्यौं!ती सुरुका दिनहरूमा
हामी अत्यन्तै महत्त्वपूर्ण समयमा बाँचिरहेका छौं भनेर मैले बुझें र मत्ती २४:१४ मा भविष्यवाणी गरिएको प्रचारकार्यमा भाग लिने इच्छा गरें। त्यसैले मैले चुरोट पिउन छोडें, एउटा झोला किनें र महान् परमेश्वर यहोवालाई आफ्नो जीवन समर्पण गरें।
अगस्त १९३६ मा वाच टावर सोसाइटीका अध्यक्ष जोसेफ एफ. रदरफोर्ड “आरमागेडोन” विषयमा भाषण दिन ग्लासगो, स्कटल्याण्डमा हुनुहुन्थ्यो। ग्लासगो म बस्ने ठाउँदेखि झन्डै ६०० किलोमिटर टाढा भए तापनि त्यहाँ गएर त्यस अधिवेशनमा बप्तिस्मा लिन म कटिबद्ध थिएँ। मसँग धेरै पैसा थिएन। त्यसैले मैले स्कटल्याण्डको सीमावर्ती शहर कार्लिसम्म रेलमा जाँदा साइकल पनि सँगै लगें र उत्तर दिशामा अर्को १६० किलोमिटर साइकलमै यात्रा गरें। घर फर्कंदा पनि प्रायजसो बाटो साइकलमै फर्कें। घर पुग्दा शारीरिक तवरमा थकित भए तापनि आध्यात्मिक तवरमा तन्दुरुस्त नै महसुस गरें।
त्यतिबेला देखि सँगसँगैका गाउँका मानिसहरूलाई आफ्नो विश्वासबारे बताउन म साइकलमै जान्थें। ती दिनहरूमा प्रत्येक साक्षीसित घरधनीहरूलाई पढेर सुनाउन धर्मशास्त्रीय सन्देश भएको साक्षीपत्र हुन्थ्यो। हामी सोसाइटीका अध्यक्षको बाइबल भाषण रेकर्ड गरिएको पोर्टेबल फोनोग्राफ पनि बोक्ने गर्थ्यौं। अनि निस्सन्देह, हामीलाई यहोवाको साक्षीको रूपमा चिनाउने पत्रिका झोला a पनि हुन्थ्यो।
युद्धको समयमा अग्रगामी गर्दै
मेरो भाइले १९४० मा बप्तिस्मा लियो। सन् १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भएको थियो र हामी दुवैले पूर्ण-समय प्रचारकहरूको नितान्त आवश्यकता देख्यौं। यसर्थ, हामीले अग्रगामी आवेदन फारम बुझायौं। हामी दुवैलाई ब्रिस्टोल अग्रगामी घरमा खटाइएकोमा कृतज्ञ थियौं। त्यहाँ एडिथ् पूल, बर्ट फार्मर, टम र डोरोथी ब्रिजेज, बर्नाड होटन र अरू अग्रगामीहरू थिए। तिनीहरूको विश्वास हामी धेरै पहिलेदेखि मूल्यांकन गर्थ्यौं।
“यहोवाको साक्षीहरू” भनेर छेउमा ठूलठूलो अक्षरमा लेखिएको सानो भ्यान हामीलाई चाँडै लिन आयो। त्यस गाडीको चालक स्टान्ली जोन्स हुनुहुन्थ्यो। पछि उहाँ चीनमा मिसनरी हुनुभयो र त्यहाँ प्रचार गरेको अभियोगमा उहाँ सात वर्ष एकल बन्दी गृहमा पर्नुभयो।
युद्ध चर्किंदै जाँदा हामीलाई एकै निद्रामा उज्यालो
भएको त्यति सम्झना छैन। हाम्रो अग्रगामी घर वरपर पनि बम वर्षा भइरहन्थ्यो र हामी सधैं कुनै आगोको फिलिंगो खस्ला कि भनेर होसियार रहनुपर्थ्यो। एक साँझ ब्रिस्टोलमा आयोजित २०० साक्षीहरू उपस्थित सम्मेलन धाएर फर्कंदा बम वर्षा भइरहेको बेला पनि हाम्रो सुरक्षित घर पुग्यौं भन्नु पऱ्यो।भोलिपल्ट बिहान डिक र म शहरमा हामीले छोडेको केही कुरा लिन गयौं। हामी त अक्क न बक्क भयौं किनभने ब्रिस्टोल तहसनहस भएको थियो। पूरै शहर जलेर भस्म भएको थियो। पार्क स्ट्रीटमा भएको हाम्रो राज्यभवन पनि जलेर खाक भएको थियो। तथापि, एउटै साक्षीलाई पनि चोटपटक लागेन अनि कसैको मृत्यु भएन। खुसीको कुरा, हामीले बाइबल प्रकाशनहरू राज्यभवनबाट मण्डलीका विभिन्न सदस्यहरूको घरमा राख्न बाँडफाँड गरिसकेका थियौं। हामीले यी दुवै कुराको लागि यहोवालाई धन्यवाद दियौं।
अप्रत्याशित स्वतन्त्रता
सेनामा भर्ती हुने आदेशपत्र पाउँदा मैले अध्यक्षको हैसियतमा सेवा गरिरहेको ब्रिस्टोल मण्डलीमा ६४ जना सेवकहरू भइसकेका थिए। अन्य थुप्रै मसीहीहरू तटस्थताको कारण जेल गइसकेका थिए र मेरो स्वतन्त्रता माथि पनि त्यस्तै बन्देज लगाइने मैले अनुमान लगाइसकेको थिएँ। मेरो मुद्दाको सुनुवाइ स्थानीय ब्रिस्टोल अदालतमा भएको थियो र त्यहाँ पहिलेको जेल अधिकारी, भाइ एन्थोनी बकले मेरो पक्षमा बोल्नुभयो। उहाँ साहसी अनि निडर हुनुहुन्थ्यो र बाइबल सत्यको बलियो वकालत गर्नुहुन्थ्यो। उहाँको राम्रो गवाहीको कारण मलाई अप्रत्याशित ढंगमा सैन्य सेवाबाट पूर्णतया मुक्त गरियो। तर एउटा सर्त थियो, मैले पूर्ण-समय सेवकाई गरिरहनुपर्थ्यो!
मैले स्वतन्त्रता पाएकोमा रोमाञ्चित भएँ र यो स्वतन्त्रता प्रचारकार्यमा आफूले सक्दो चलाउने संकल्प गरें। शाखा कार्यालयका निरीक्षक अल्बर्ट डी. श्रोडरलाई भेट्न लण्डनस्थित शाखा कार्यालयमा आउनु भनेर फोन आउँदा मैले निश्चय पनि अब चाहिं के काम पाउने होला भनेर सोचें। योर्कशायरमा परिभ्रमण निरीक्षकको हैसियतमा हरेक हप्ता विभिन्न मण्डलीहरूमा भ्रमण गरेर भाइहरूलाई प्रोत्साहित गर्ने निमन्त्रणा पाउँदा म कत्ति छक्क परें होला विचार गर्नुहोस्। म यस कामको निम्ति योग्य छैनजस्तो लाग्थ्यो तर म सैन्य सेवाबाट मुक्त भएकोले जहाँ पनि जानसक्थें। त्यसैले मैले यहोवाको निर्देशन स्वीकारें र राजी खुसीसाथ गएँ।
अल्बर्ट श्रोडरले हर्डरसफिल्ड भन्ने ठाउँमा सम्मेलन हुँदा भाइहरूसित मेरो परिचय गराउनुभयो र अप्रिल १९४१ देखि मैले नयाँ काम गर्न थालें। ती प्रिय भाइहरूलाई चिन्न पाउनु कस्तो आनन्दको कुरा थियो! उनीहरूको प्रेम र दयाले गर्दा एकअर्कालाई प्रेम गर्ने अनि यहोवाप्रति पूर्णतया समर्पित मानिसहरूको अझ बढी मूल्यांकन गर्न सकें।—यूहन्ना १३:३५.
सेवाका थप सुअवसर
सन् १९४१ मा लेस्टरको डे मन्टफर्ट हलमा भएको पाँच दिने राष्ट्रिय अधिवेशन अविस्मरणीय थियो। पर्याप्त मात्रामा खाने कुरा नपाइने र
यातायातमा पनि बन्देज लगाइए तापनि आइतबारको शिखर उपस्थिति १२,००० पुगेको थियो। तर त्यतिबेला देशभरि लगभग ११,००० साक्षीहरू मात्र थिए। सोसाइटीका अध्यक्षको रेकर्ड गरिएका भाषणहरू बजाइयो र चिल्ड्रेन नामक पुस्तक विमोचन गरियो। बेलाइतस्थित यहोवाका जनहरूको ईश्वरतान्त्रिक इतिहासमा यो अधिवेशन पक्कै पनि एउटा नयाँ आयाम थियो र अझ त्यसमाथि पनि यो दोस्रो विश्वयुद्ध चर्किरहेको बेलामा भएको थियो।यस अधिवेशनको तुरुन्तैपछि मलाई लण्डन बेथेल परिवारमा सेवा गर्न आमन्त्रित गरियो। त्यहाँ मैले ढुवानी र पोका पार्ने विभागमा र पछि मण्डलीसित सम्बन्धित कुराहरू देखभाल गर्ने कार्यालयमा काम गरें।
बेथेल परिवारले दिनरात बम वर्षाको मार सहनुपऱ्यो साथै त्यहाँ कार्यरत जिम्मेवार भाइहरूलाई बारम्बार केरकार गरिन्थ्यो। प्राइस ह्युज, युर्ट चिटे र फ्रान्क प्ल्याट सबैलाई तटस्थ रहेको कारण झ्यालखाना पठाइयो र अन्ततः अल्बर्ट श्रोडरलाई पनि देश निकाला गरेर संयुक्त राज्य अमेरिका पठाइयो। यस्ता दबाउहरूको बावजूद मण्डली तथा राज्य गतिविधिको राम्रो देखभाल भइरह्यो।
गिलियडमा!
सन् १९४५ मा युद्ध अन्त भएपछि मैले वाचटावर बाइबल स्कूल अफ गिलियडमा पाइने मिसिनरी प्रशिक्षणको निम्ति आवेदन भरें र १९४६ मा आठौं कक्षाको निम्ति स्वीकृति पाएँ। हामीमध्ये थुप्रै जस्तै टोनी आट्वुड, स्टान्ले जोन्स, ह्यारोल्ड किङ, डन रेन्डल र स्टान्ले वुडवर्नलाई फोवेको माछा मार्ने बन्दरगाह कर्निशबाट जहाज चढेर जान सोसाइटीले प्रबन्ध मिलायो। एक स्थानीय साक्षीले सेतो माटो बोकेको सानो ढुवानी जहाजमा हाम्रो यात्राको प्रबन्ध मिलाइ दिए। हामी बसेको ठाउँ कोचाकोच थियो र डेकमा चाहिं अक्सर पानी नै पानी हुन्थ्यो। हामी फिलाडेल्फियाको बन्दरगाह आइपुग्दा मात्र बल्ल ढुक्क भयौं!
गिलियड स्कूल न्यु योर्क शहरको उत्तरी भाग साउथ लान्सिङको सुन्दर ठाउँमा अवस्थित थियो र त्यहाँ पाएको प्रशिक्षण मेरोलागि अनमोल थियो। हाम्रो कक्षामा १८ विभिन्न राष्ट्रका विद्यार्थीहरू थिए। सोसाइटीले त्यति थुप्रो राष्ट्रका मानिसहरूलाई एकै चोटि भर्ना लिनसकेको यो पहिलो चोटि थियो र हामी सबै घनिष्ठ मित्र भयौं। मसित एउटै कोठामा बस्ने फिनल्याण्डको साथी क्याल सालभाराको संगती मलाई एकदमै रमाइलो लाग्थ्यो।
समय बितेको पत्तै भएन र पाँच महिने प्रशिक्षणको अन्तमा सोसाइटीका अध्यक्ष नेथन एच. नोर मुख्यालय ब्रूकलिनबाट हामीलाई प्रमाणपत्र दिन र हामी खटाइएका ठाउँ बताउन आउनुभयो। ती दिनहरूमा विद्यार्थीहरूले आफू खटाइएको ठाउँ दीक्षान्त समारोहमा मात्र थाह पाउँथे। मैलेचाहिं लण्डन बेथेलमा फर्केर त्यहीं काम गर्ने असाइनमेन्ट पाएँ।
पुनः लण्डनमा
बेलायतमा युद्धपछिका वर्षहरू असाध्यै कष्टदायी थियो। खाना र कागजलगायत अन्य थुप्रै आधारभूत कुराहरूमा रासन प्रणाली अपनाइन्थ्यो। तर हामीले जसोतसो पुऱ्यायौं र यहोवाको राज्य गतिविधिमा वृद्धि भयो। बेथेलमा काम गर्नुका अलावा म जिल्ला तथा क्षेत्रीय सम्मेलनहरूमा सेवा गर्थें र इंगल्याण्डका साथै आयरल्याण्डका केही मण्डलीहरूमा भ्रमणको निम्ति जान्थें। एरिक फ्रोस्ट तथा युरोपका अन्य भाइबहिनीहरूलाई भेटेर नाजी यातना शिविरमा भोग्नुपरेको भयावह परिस्थितिमा सँगी साक्षीहरूको निष्ठाबारे केही कुरा सिक्न पाउनु सुअवसरको कुरा थियो। बेथेल सेवा निस्सन्देह एउटा विशेष सुअवसर थियो।
मैले जोआन वेबलाई चिनेको दस वर्ष भइसकेको थियो र तिनी लण्डनको ठीक उत्तरमा पर्ने वाटफोर्डमा विशेष अग्रगामीको रूपमा सेवा गर्थिन्। सन् १९५२ मा हामीले बिहे गऱ्यौं। हामी दुवै जना पूर्ण-समय सेवकाई नै गर्न चाहन्थ्यौं र त्यसैले बेथेल छोडेपछि क्षेत्रीय निरीक्षकको रूपमा नियुक्त हुँदा हामी रोमाञ्चित भयौं। हाम्रो पहिलो क्षेत्र बेलायतको दक्षिणी समुद्री किनारा ससेक्स र ह्यामशायर थियो। त्यतिबेला क्षेत्रीय निरीक्षकको काम सजिलो थिएन। हामी प्रायजसो यात्रा बस र साइकलमा वा हिंडेरै गर्थ्यौं। थुप्रै मण्डलीहरूको ठूलो ग्रामीण इलाका हुन्थ्यो र त्यहाँ जानआउन गाह्रो थियो। तर साक्षीहरूको संख्या निरन्तर रूपमा वृद्धि हुन थाल्यो।
सन् १९५८ मा न्यु योर्क शहर
सन् १९५७ मा मैले बेथेलबाट अर्को यस्तो निमन्त्रणा पाएँ: “न्यु योर्क शहरको यांकी स्टेडियम र पोलो ग्राउन्डमा १९५८ मा हुने अन्तरराष्ट्रिय सम्मेलनको निम्ति यात्राको प्रबन्ध मिलाउन मदत गर्न के तपाईं आउन चाहनुहुन्छ?” सोसाइटीले भाडामा लिएको हवाईजहाज र जहाजहरूमा जान आवेदन दिनेहरूको बन्दोबस्त मिलाउने काममा जोआन र म व्यस्त भयौं। यो प्रख्यात ईश्वरीय इच्छा प्रेरित २:४१.
अन्तरराष्ट्रिय सम्मेलन थियो र त्यहाँ ठूलो जमात अर्थात् २,५३,९२२ जना उपस्थित भएका थिए। यस अधिवेशनमा ७,१३६ जनाले यहोवाप्रति पानीको बप्तिस्माद्वारा आफ्नो जीवन समर्पण गरे र यो संख्या बाइबलमा रिपोर्ट गरिएको सा.यु. ३३ पेन्तिकोसको ऐतिहासिक घटनाको संख्याभन्दा दोब्बर बढी हो।—जोआन र म, भाइ नोरको दया कहिल्यै बिर्सनेछैनौं। उहाँले १२३ राष्ट्रबाट न्यु योर्क शहरमा आउने प्रतिनिधिहरूको देखभाल गर्न मदतको लागि हामीलाई व्यक्तिगत रूपमा बोलाउनुभयो। यो हामी दुवैको निम्ति आनन्दमय र सन्तोषजनक अनुभव थियो।
पूर्ण-समय सेवाका आशिष्हरू
त्यहाँबाट फर्केर पनि हामीले शारीरिक समस्याहरू नहोउञ्जेल परिभ्रमण कार्य नै गऱ्यौं। जोआनलाई अस्पताल भर्ना गर्नुपऱ्यो र मलाईचाहिं मत्थर खाले मस्तिष्कघात भयो। त्यसपछि हामी विशेष अग्रगामी भयौं र पछि केही समयको निम्ति पुनः परिभ्रमण कार्य गर्ने सुअवसर पायौं। अन्ततः हामी ब्रिस्टोल फर्क्यौं र यहाँ हामी अझै पूर्ण-समय सेवामै छौं। मेरो भाइ डिक उसको परिवारसँगै यहाँ नजिकै बस्छ र हामी अक्सर पहिलेको कुराहरू सम्झने गर्छौं।
सन् १९७१ मा आँखाको नानीमा गम्भीर समस्या भएको कारण दृष्टि असाध्यै कमजोर भएको छ। त्यतिबेलादेखि मलाई पढ्न धेरै गाह्रो भएको छ। त्यसैले मलाई बाइबल साहित्यहरूको श्रव्य क्यासेट यहोवाले गर्नुभएको उत्तम प्रबन्ध हो जस्तो लाग्छ। जोआन र म अझै गृह बाइबल अध्ययनहरू सञ्चालन गर्छौं र वर्षौंको दौडान हामीले झन्डै ४० जना व्यक्तिहरूलाई सत्यको ज्ञानमा आउन मदत गर्ने सुअवसर पायौं। तीमध्ये एउटा त सात जनाको परिवार थियो।
हामीले ६० वर्षभन्दा अघि यहोवालाई आफ्नो जीवन समर्पण गर्दा हाम्रो इच्छा पूर्ण-समय सेवामा प्रवेश गरेर त्यसैमा लागिरहने थियो। महान् परमेश्वर यहोवाको सेवा गर्न अझै बल भएकोमा हामी अत्यन्तै कृतज्ञ छौं। उहाँले दिनुभएका असल कुराहरूको निम्ति र हामीलाई वर्षौं सँगै आनन्ददायी सेवा गर्ने मौका दिनुभएकोमा हामीसँग यसरी बाहेक उहाँलाई धन्यवाद दिनसक्ने अर्को तरिका नै छैन!
[फुटनोट]
a काँधमा भिर्न मिल्ने यो कपडाको झोला द वाचटावर र कन्सोलेशन (पछि, अवेक!) राख्न बनाइएको थियो।
[पृष्ठ २५-मा भएको चित्र]
ब्रिस्टोलको अग्रगामी घरअगाडि मेरो भाइ डिक (बायाँपट्टि सबैभन्दा छेउमा; डिक उठिरहेको छ) र अरू अग्रगामीहरूसँग
[पृष्ठ २५-मा भएको चित्र]
सन् १९४० मा ब्रिस्टोल अग्रगामी घर
[पृष्ठ २६-मा भएका चित्रहरू]
स्टान्ले र जोआन रेनोल्डस् जनवरी १२, १९५२ मा तिनीहरूको बिहे भएको दिनमा र अहिले