यहोवालाई आदर गर्ने आनन्दमय विवाहहरू
यहोवालाई आदर गर्ने आनन्दमय विवाहहरू
सन् १९८५ मा वेल्स र एल्थिया दक्षिण अफ्रिकाको सोवेटोमा विवाह बन्धनमा बाँधिए। कहिलेकाहीं तिनीहरू छोरी जीन्जीलाई आफ्नो विवाहको तस्बिरहरू देखाउँदै त्यस आनन्दमय क्षण सम्झन्छन्। जीन्जी विवाहमा आएका पाहुनाहरू चिन्न र विशेष गरी राम्रो लुगा लगाएकी आमाको तस्बिर हेर्न रुचाउँछिन्।
त्यो विवाह, सोवेटोको एउटा साझा भवनमा विवाह भाषण दिएर सुरु गरियो। त्यसपछि मसीही युवाहरूको एउटा गायन टोलीले एकदमै सुरिलो आवाजमा परमेश्वरको प्रशंसाको भजन गाए। त्यसको लगत्तै, राज्य गीतहरूको मधुरो धुन सुन्दै त्यहाँ उपस्थित पाहुनाहरूले खाना खाए। कुनैपनि मादक पेय पदार्थहरू थिएनन् र त्यहाँ ठूलठूलो स्वरले नाचगान पनि गरिएन। बरु, पाहुनाहरू एकअर्कासित कुराकानी गर्न र दुलहादुलहीलाई बधाई दिन व्यस्त थिए। यो सबै गर्न जम्माजम्मी तीन घण्टा लाग्यो। मसीही प्राचीन रेमण्ड त्यस घडीको सम्झना गर्दै भन्छन्, “यो विवाहले मलाई सधैंभरि रमाइला यादहरू ल्याइरहनेछ।”
वेल्स र एल्थियाको विवाह हुँदा तिनीहरू वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीको दक्षिण अफ्रिकास्थित शाखा कार्यालयमा स्वयंसेवा गर्थे। तिनीहरूले विवाह भोजका लागि सामान्य खर्च मात्र जुटाउन सक्थे। कोही कोही मसीहीहरूले धूमधामसित विवाह गर्न पूर्ण-समय सेवकाई छोडेर जागिर खाई खर्च जुटाएका छन्। तथापि, वेल्स र एल्थिया आफूले साधारण विवाह भोज गरेकोमा पछुताउँदैनन् किनभने यसले गर्दा तिनीहरूले जीन्जी नजन्मुञ्जेल पूर्ण-समय सेवकाई गरिरहन सके।
तथापि, दुलहादुलहीले आफ्नो विवाह भोजमा सांसारिक संगीत तथा नाचगान समावेश गर्न चाहन्छन् भने नि? तिनीहरूले मद्य वा अन्य मादक पदार्थ राख्ने निर्णय गर्छन् भने नि? धेरै पैसा खर्च गरेर धूमधामसित विवाह भोज गर्ने औकात छ भने नि? यो अवसर परमेश्वरका उपासकहरूका लागि उपयुक्त हुने आनन्दमय अवसर बनाउन तिनीहरूले के गर्नसक्छन्? यस्ता प्रश्नहरूलाई गम्भीरतापूर्वक विचार गर्नुपर्छ किनभने बाइबल यस्तो आज्ञा दिन्छ: “चाहे तिमीहरू खाओ अथवा पिओ, अथवा तिमीहरू जेसुकै गर, सबै परमेश्वरकै महिमाको निम्ति गर।”—१ कोरिन्थी १०:३१.
उत्ताउलो मोजमज्जा हुन नदिने
कुनै मोजमज्जै नभएको विवाह भोजको कल्पना गर्न गाह्रो छ। त्यसको ठीक विपरीत फेरी अचाक्ली रमझम र अनियन्त्रित मोजमज्जा गर्नु पनि एकदमै खतरनाक हुनसक्छ। धेरैजसो गैर-साक्षीहरूको विवाह भोजहरूमा परमेश्वरको अनादर हुने कुराहरू हुन्छन्। उदाहरणका लागि, मात्तिउञ्जेल मद्यपान गर्नु सामान्य हुन्छ। दुःखको कुरा, कुनै कुनै मसीहीहरूको विवाह भोजमा यस्ता कुराहरू भएका छन्।
बाइबल “कड़ा मद्यले होहल्ला मचाउँछ” भन्ने चेताउनी दिन्छ। (हितोपदेश २०:१) “होहल्ला” भनी अनुवाद गरिएको हिब्रू शब्दको अर्थ “चर्को स्वरमा हल्ला गर्नु” हो। मद्यले एक जना मानिसलाई त होहल्ला गर्न लगाउँछ भने एकसाथ भेला भएर अचाक्ली पिउने ठूलो जमातलाई झन् के गर्ला, सोच्नुस् त! स्पष्टतया, त्यस्ता अवसरहरू बाइबलले “शरीरका कामहरू” भनेर उल्लेख गरेका “मत्वालीपन, भोजको मोज-मजा र यस्तै अरू” कुराहरूमा परिवर्तन हुनसक्छ। त्यस्ता क्रियाकलापहरूमा लागिरहने अपश्चात्तापी व्यक्तिहरू परमेश्वरको राज्य अन्तर्गत अनन्त जीवनका हकदार हुनसक्दैनन्।—गलाती ५:१९-२१.
यहाँ “भोजको मोज-मजा” भनेर अनुवाद गरिएको युनानी शब्दले रक्सीले मात्तिएर नाच्दै, गाउँदै, बाजा बजाउँदै बाटोमा हल्ला गरी हिंड्नेहरू भनी बुझाउन प्रयोग गरिन्थ्यो। विवाह भोजमा प्रशस्त मद्य कुनै रोकटोकबिना खान दिने प्रबन्ध गरिएको छ र साथमा ठूलठूलो स्वरले गीत बजाउँदै, मनपरी नाच्न दिइएको छ भने त्यहाँ अचाक्ली रमझम हुने खतरा हुन्छ। त्यस्तो वातावरणमा कमजोरहरू सजिलै प्रलोभित हुनसक्छन् अथवा “व्यभिचार, अपवित्रता, लुच्च्याइँ, क्रोध” जस्ता शरीरका अन्य कामहरूमा फस्नसक्छन्। त्यस्ता शरीरका कामहरूले मसीही विवाह भोजको आनन्द हरण गर्न नदिन के गर्न सकिन्छ? त्यस प्रश्नको जवाफ दिन आउनुहोस्, बाइबलले एउटा खास विवाह भोजबारे के बताउँछ त्यसमा ध्यान देऔं।
येशू उपस्थित हुनुभएको विवाह भोज
येशू र उहाँका चेलाहरूलाई गालीलको कानामा भएको विवाह भोजमा बोलाइएको थियो। उहाँहरूले निम्तो स्वीकार्नुका साथै येशूले त्यस अवसरको आनन्द बढाउन ठूलो योगदान पनि गर्नुभयो। रक्सी सिद्धिनै लाग्दा उहाँले चमत्कारी ढंगमा उच्चस्तरीय मद्य प्रशस्त मात्रामा प्रबन्ध गरिदिनुभयो। पक्कै पनि त्यसबेला बाँकी रहेको मद्य दुलहा तथा तिनको परिवारलाई धेरै समयसम्म उपभोग गर्न पुग्यो।—यूहन्ना २:३-११.
येशू उपस्थित हुनुभएको यस विवाह भोजबाट हामीले थुप्रै पाठ सिक्नसक्छौं। पहिलो हो, येशू तथा उहाँका चेलाहरू विवाह भोजमा निम्तो नपाइकन जानुभएन। उहाँहरूले निम्तो पाउनुभएको थियो भनेर बाइबलले किटेरै बताएको छ। (यूहन्ना २:१, २) त्यसै गरी, येशूले विवाह भोजसम्बन्धी भन्नुभएका उखानहरूमा उपस्थित पाहुनाहरू पनि निम्तारुहरू नै थिए।—मत्ती २२:२-४, ८, ९; लूका १४:८-१०.
केही मुलुकहरूमा निम्तो होस् या नहोस्, जो सुकै विवाह भोजमा सरिक हुने चलन छ। तथापि, यसले गर्दा आर्थिक संकट पर्नसक्छ। त्यति धेरै पैसा नभएको नव दुलहादुलही भोजमा उपस्थित हुने असीमित भीडलाई पुग्दो खानपीनको व्यवस्था गर्न ऋणमा चुर्लुम्म डुब्नसक्छन्। तसर्थ, मसीही दुलहादुलहीले सीमित संख्यामा पाहुनाहरू बोलाउने निर्णय गर्दा निम्तो नपाएका संगी मसीहीहरूले कुरा बुझेर त्यस्तो निर्णयको आदर गर्नुपर्छ। दक्षिण अफ्रिकाको केप टाउनमा विवाह गरेका एक जना मान्छेले आफ्नो विवाह भोजमा २०० जना पाहुनालाई निम्तो दिएको कुरा सम्झन्छन्। तथापि, ६०० जना आए र एकै छिनमा जम्मै खाना सिद्धियो। यसरी निम्तो नपाई आएकाहरूमध्ये केही मानिसहरू त एउटा बसका यात्रुहरू थिए जो त्यस विवाह भोजको हप्तामा केप टाउन घुमिरहेका थिए। त्यस बसका गाइड, दुलहीको टाढाको नातेदार पर्ने भएकोले दुलहादुलहीसित एक वचन नसोधी तिनीहरूलाई त्यहाँ लैजानुमा कुनै आपत्ति ठानेनन्!
विवाह भोजमा जोसुकै पनि आउनसकिन्छ भनी नभनुञ्जेल येशूका साँचो चेलाहरू निम्तो नै नपाइकन निम्तारुहरूको लागि तयार पारिएको भोजमा जाने गर्दैनन्। निम्तो नपाइकन जान सकसक लागेकाहरूले आफैलाई यस्तो प्रश्न सोध्नुपर्छ, ‘म विवाह भोजमा गएँ भने भर्खर बिहे गरेका दुलहादुलहीलाई मैले मायानै गर्दिनँ भन्ने देखिंदैन र? मैले गर्दा त्यहाँ असुविधा भएर त्यस अवसरको आनन्दै खोसिरहेको त हुँदिनँ?’ आफूलाई ननिम्ताएकोमा रिस इबी राख्नुको सट्टा बुझक्की मसीहीले प्रेमपूर्वक त्यस दम्पतीलाई बधाई दिंदै तिनीहरूमाथि यहोवाको आशिष्को शुभेच्छा व्यक्त गर्ने सन्देश पठाउँछन्। तिनीहरूको विवाह झनै आनन्दमय बनाउन तिनले केही उपहार पठाउने विचार गर्नसक्छन्।—उपदेशक ७:९; एफिसी ४:२८.
को जिम्मेवार छन्?
अफ्रिकाका केही ठाउँहरूमा आफूभन्दा ठूला नातेदारहरूले विवाहको बन्दोबस्त मिलाउने चलन छ। विवाहित दम्पतीहरू यस्तो प्रबन्धको लागि निकै कृतज्ञ महसुस गर्लान् किनभने यसले गर्दा तिनीहरूलाई आर्थिक भार पर्दैन। अनि यसो हुँदा आइपर्नसक्ने कुनै पनि भावी परिस्थितिबाट पनि मुक्त महसुस गर्नसक्छन्। तथापि, दुलहादुलहीले असल मनसाय राखेका नातेदारहरूबाट पनि कुनै किसिमको मदत स्वीकार्नुअघि आफ्नो व्यक्तिगत इच्छाको कदर हुन्छ कि हुँदैन, भनी यकिन गर्नुपर्छ।
येशू “स्वर्गबाट ओर्लिआएको” परमेश्वरको पुत्र हुनुभए तापनि कानाको विवाह भोजमा धेरै कुरामा हात हाल्नुभएको कुनै संकेत पाउँदैनौं। (यूहन्ना ६:४१) बरु, बाइबलको विवरणले अरूनै कसैलाई “भोजका मुखिया” नियुक्त गरिएको थियो भनेर बताउँछ। (यूहन्ना २:८) यो मानिस नयाँ परिवारका शिर अर्थात् दुलहाप्रति जवाफदेही थिए।—यूहन्ना २:९, १०.
कलस्सी ३:१८-२०) आफ्नो विवाह भोजमा हुने सबै कुराको लागि जिम्मेवार दुलहा हो। स्वाभाविकतः, दुलहा व्यवहारिक हुनुपर्छ र सम्भव भएसम्म आफ्नी दुलही, आफ्नो परिवार अनि वैवाहिक सम्बन्धद्वारा साइनो पर्नेहरूको चाहनाको पनि कदर गर्नुपर्छ। तैपनि, नातेदारहरूले दुलहा र दुलहीको चाहना विरुद्ध प्रबन्ध मिलाउन कर गर्छन् भने तिनीहरूले शिष्टतापूर्वक त्यो मदतलाई अस्वीकार गरेर कम खर्चमा विवाह भोज आयोजना गर्नुपर्ने हुनसक्छ। यसरी ती दुलहादुलहीको भविष्यमा कुनै पनि तीतो सम्झना रहिरहनेछैन। उदाहरणका लागि, अफ्रिकाको मसीही विवाहमा गैर विश्वासी नातेदारहरूलाई भोजको मुखिया नियुक्त गरिंदा तिनले मृत पूर्खाहरूको नाउँमा रक्सी खुवाए!
मसीही नातेदारहरूले परमेश्वरद्वारा नियुक्त नयाँ परिवारको शिरको आदर गर्नुपर्छ। (कहिलेकाहीं विवाहित दम्पती विवाह भोज सिद्धिन अगावै हनिमुन मनाउन जान्छन्। त्यसो गर्दा दुलहाले बाइबलका स्तरहरू उल्लंघन नहोस् र त्यस उत्सवलाई ठीक समयमा सिद्धयाउन सकियोस् भनेर एक जना जिम्मेवार व्यक्तिको प्रबन्ध मिलाउनुपर्छ।
बुद्धिमानी योजना र सन्तुलन
स्पष्टतः, येशू उपस्थित हुनुभएको विवाहमा प्रशस्त स्वादिष्ट भोजन थियो किनभने बाइबलले यसलाई विवाह भोज भनेर वर्णन गरेको छ। विवरणअनुसार त्यहाँ रक्सी पनि प्रशस्तै थियो। निस्सन्देह, संगीत र मर्यादापूर्ण नाचगान पनि गरियो किनभने यी कुराहरू यहूदी सामाजिक जनजीवनको सामान्य भाग थियो। येशूले यो कुरा उडन्ता पुत्रसम्बन्धी आफ्नो प्रख्यात उखानमा देखाउनुभयो। त्यस कथाको धनी बाबुले आफ्नो पश्चात्तापी छोरो फर्कंदा असाध्यै खुसी हुँदै भने: “हामी खाएर आनन्द मनाऔं।” येशूले बताउनु भएअनुसार त्यस उत्सवमा “गान-बजान र नाचेको आवाज” पनि सुनियो।—लूका १५:२३, २५.
तर चाखलाग्दो कुरा के हो भने, बाइबलले कानामा सम्पन्न विवाह भोजमा नाचगानको आयोजना गरिएको थियो, थिएन किटेरै बताएको छैन। वास्तवमा, विवाहसम्बन्धी बाइबलको कुनै पनि विवरणमा नाचगानबारे उल्लेख गरिएको पाइँदैन। बाइबलकालीन परमेश्वरका विश्वासी सेवकहरूमाझ हुने विवाहमा कहिलेकाहीं मात्र नाच्ने गरिन्थ्यो जस्तो देखिन्छ तर त्यो नै मुख्य कुराचाहिं थिएन। के यसबाट हामी केही कुरा सिक्नसक्छौं?
अफ्रिकाका केही मसीही विवाह भोजहरूमा चर्को स्वरमा बाजा बजाइन्छ। बाजा यत्ति चर्को हुन्छ कि पाहुनाहरूलाई आरामसित कुरा गर्न समेत गाह्रो हुन्छ। कहिलेकाहीं भोजमा खाना पर्याप्त मात्रामा नभए तापनि नाचगानको भने कुनै कमी हुँदैन र त्यो अनियन्त्रित हुन धेरै बेर पनि लाग्दैन। त्यस्तो बेला, विवाह भोज होइन, डान्स पार्टी गर्ने बहाना मात्र हुन जान्छ। यसबाहेक, ठूलठूलो स्वरले संगीत बजाउँदा उपद्रव गर्ने मानिसहरू र निम्तै नपाएका बटुवाहरू पनि आकर्षित हुन्छन्।
विवाह भोजबारे बाइबलमा उल्लिखित विवरणमा संगीत तथा नाचलाई जोड नदिएको हुनाले यहोवालाई आदर गर्ने विवाह भोजको योजना बनाइरहेका दम्पतीहरूलाई यसले मार्गदर्शन दिनुपर्ने हो, होइन र? यद्यपि, दक्षिण अफ्रिकामा हालै कुनै कुनै विवाह भोजहरूमा कुनै खास नाचको तयारी गर्न केही मसीही युवाहरूले धेरै समय बिताए। महिनौंसम्म तिनीहरूको अधिकांश समय यही अभ्यासमै बिताए। तर मसीहीहरूले प्रचारकार्य, व्यक्तिगत अध्ययन तथा मसीही सभाहरूमा उपस्थित हुनेजस्ता ‘बढी महत्त्वपूर्ण कुराका’ लागि ‘समय किन्नुपर्छ।’—फिलिप्पी १:१०; एफिसी ५:१६.
येशूले उपलब्ध गरिदिनुभएको रक्सीको मात्रा हेर्दा कानामा सम्पन्न विवाह भोज एकदम भव्य थियो भन्ने देखिन्छ। तथापि, त्यस अवसरमा होहल्ला मच्चाउने र पाहुनाहरूले कुनै कुनै यहूदी विवाहहरूमा जस्तो मात्तिने गरी रक्सी पिएका थिएनन् भनी पक्का हुनसक्छौं। (यूहन्ना २:१०) हामी यो कुरामा कसरी पक्का हुनसक्छौं? किनभने, त्यहाँ येशू ख्रीष्ट उपस्थित हुनुहुन्थ्यो। खराब संगतबारे परमेश्वरको यो आज्ञा मान्न सबै मानिसहरूमध्ये येशू सजग हुनुहुन्थ्यो: “मतवाला[हरूको]. . . संगत नगर्।”—हितोपदेश २३:२०.
तसर्थ, यदि नव विवाहित दम्पतीले रक्सी अथवा अन्य मादक पेय पदार्थ विवाह भोजमा राख्ने निर्णय गर्छ भने तिनीहरूले कुनै जिम्मेवार व्यक्तिहरूलाई खटाएर यसको कडा नियन्त्रण गर्ने प्रबन्ध मिलाउनुपर्छ। अनि बाजा बजाउने निर्णय गर्छन् भने उपयुक्त धुनहरू छानेर कुनै व्यक्तिलाई आवाज ठिक्कको राख्न खटाउनु पर्छ। पाहुनाहरूलाई अनुपयुक्त संगीत बजाउन वा एकदमै ठूलो स्वरले घन्काउन दिनु हुँदैन। त्यहाँ नाचको प्रबन्ध गरिएकै छ भने पनि त्यसलाई सम्मानित ढंगमा भलादमी किसिमले गर्न सकिन्छ। विश्वासमा नभएका नातेदारहरू वा अपरिपक्व मसीहीहरूले उत्ताउलो अथवा कामुक चालमा नाच्नथाले भने दुलहाले अर्कै बाजा बजाउन वा बुद्धिमानी ढंगले नाच रोक्नसक्छन्। अन्यथा विवाह भोज अनैतिक कुलाचारमा परिवर्तन हुनेछ र त्यसले ठेस पुऱ्याउनसक्छ।—केही आधुनिक नाच, चर्को आवाज तथा मद्यपानको दुरुपयोगले हुनसक्ने खतराले गर्दा केही मसीही दुलहाहरूले यी कुराहरू आफ्ना विवाह भोजमा समावेश नगर्ने निर्णय गरेका छन्। कसै कसैले चाहिं यसको भर्त्सना गरेका छन् तर परमेश्वरको पवित्र नाउँमा कलंक लगाउनसक्ने कुनै पनि कुरा त्याग्ने तिनीहरूको चाहनाको प्रशंसा गर्नुपर्छ। अर्कोतिर, केही दुलहाहरूले उपयुक्त नाचगान र ठिक्क मात्रामा मद्यपान उपलब्ध गराउने प्रबन्ध गरेका छन्। तर जे होस्, आफ्नो विवाह भोजमा के गर्ने के नगर्ने भन्ने कुराका लागि दुलहा नै जिम्मेवार हुन्छन्।
अफ्रिकाका केही अपरिपक्व व्यक्तिहरूले आदरयोग्य मसीही विवाह भोजहरूलाई अन्त्येष्टि समारोह जस्तो पो छ भनेर गिजाएका छन्। तथापि, त्यो सन्तुलित दृष्टिकोण होइन। शरीरका पापी कामहरूले क्षणिक उत्तेजना दिए तापनि त्यसले मसीहीहरूको अन्तस्करणलाई पछिसम्म पिरोल्नसक्छ र परमेश्वरको नाउँमा पनि कलंक लाग्नसक्छ। (रोमी २:२४) अर्कोतिर परमेश्वरको पवित्र आत्माले अपार आनन्द ल्याउँछ। (गलाती ५:२२) थुप्रै मसीही दम्पतीहरूले आफ्नो विवाह भोजलाई फेरि सम्झँदा त्यो “बाधा” पार्ने अवसर नभएर खुसीको अवसर भएकोमा गर्व गर्न सक्छन्।—२ कोरिन्थी ६:३.
वेल्स र इल्थिया आफ्नो विवाह भोजमा उपस्थित हुने गैरसाक्षी नातेदारहरूले त्यसबारे थुप्रै राम्रा टिप्पणीहरू गरेको सम्झन्छन्। एक जनाले यसो भने: “हामीलाई विवाह भोजमा हुने होहल्लाहरूदेखि वाक्क लागिसक्यो। यस्तो मर्यादित विवाह भोजमा उपस्थित हुन पाएकोमा एकदम रमाइलो लाग्यो।”
सबैभन्दा महत्त्वपूर्ण कुरा, आनन्दित र मर्यादित मसीही विवाह भोजहरूले विवाहका आरम्भकर्ता यहोवा परमेश्वरलाई आदर गर्छ।
[पृष्ठ २२-मा भएको पेटी/चित्र]
विवाह समारोहका लागि ध्यान दिनुपर्ने बुँदाहरू
• तपाईंले कुनै गैरमसीही नातेदारलाई विवाह भोजबारे केही भन्न लगाउनुभयो भने के उसले गैरमसीही शिक्षा प्रस्तुत गर्दैन भन्न सक्नुहुन्छ र?
• गीतसंगीत बजाउने नै हो भने, के उचित गीतहरूको छनौट गर्नुभएको छ?
• के तपाईंका गीतसंगीतका ध्वनि ठीक स्वरमा बजाइनेछ?
• नाच्ने हो भने, के त्यो नाच मर्यादित ढंगमा हुनेछ?
• के मद्यपान ठिक्क मात्रामा मात्र प्रबन्ध गरिनेछ?
• यसको नियन्त्रण गर्न जिम्मेवार व्यक्तिहरू खटाइएका छन् कि छैनन्?
• विवाह समारोह अन्त गर्न के तपाईंले व्यवहारिक समय तोक्नुभएको छ?
• कार्यक्रम अन्तसम्मै शान्तपूर्वक सञ्चालन होस् भनेर के जिम्मेवार व्यक्तिहरू खटाइएको छ?