सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सुखी पारिवारिक जीवनले अरूलाई परमेश्‍वरतिर आकर्षित गर्छ

सुखी पारिवारिक जीवनले अरूलाई परमेश्‍वरतिर आकर्षित गर्छ

राज्य उद्‌घोषकहरूको रिपोर्ट

सुखी पारिवारिक जीवनले अरूलाई परमेश्‍वरतिर आकर्षित गर्छ

यहोवाले यूसुफलाई बुद्धि र विवेक दिनुभयो। (प्रेरित ७:१०) परिणामस्वरूप, यूसुफको अन्तरदृष्टि “फिरऊन र तिनका सारा भारादारहरूलाई मन पऱ्‍यो।”—उत्पत्ति ४१:३७.

त्यसै गरी, आज पनि यहोवाले आफ्ना जनहरूलाई बाइबल अध्ययनबाट अन्तरदृष्टि र विवेक दिनुहुन्छ। (२ तिमोथी ३:१६, १७) बाइबल आधारित सल्लाह पालन गर्दा यो बुद्धि अनि विवेकले असल फल फलाउँछ। तिनीहरूको असल चालचलन ‘देख्नेहरूले प्रायजसो प्रशंसा गरेका छन्‌’ भनेर जिम्बावेका निम्न अनुभवहरूले देखाउँछ।

• एउटी आइमाईका छिमेकीहरू यहोवाका साक्षीहरू थिए। तिनलाई यहोवाका साक्षीहरू मन नपरे तापनि तिनीहरूको आचरण र विशेष गरी घरायसी जीवनको भने निक्कै तारिफ गर्थिन्‌। तिनले पतिपत्नीबीच राम्रो सम्बन्ध रहेको र छोराछोरीहरू पनि आज्ञाकारी भएको देखेकी थिइन्‌। विशेष गरी, पतिले पत्नीलाई औधी माया गरेको तिनले देखेकी थिइन्‌।

अफ्रिकी संस्कृतिहरूमा साधारणतया पतिले पत्नीलाई माया गर्छन्‌ भने पत्नीले पक्कै पनि पतिलाई “मोहनी” लगाएको हुन्छ भन्‍ने विश्‍वास छ। त्यसैले ती आइमाई पनि त्यस साक्षी पत्नीकहाँ गएर भनिन्‌: “तपाईंले आफ्नो श्रीमान्‌लाई के जन्तर दिनुभयो हँ, मलाई पनि दिनुस्‌ न। मैले त्यो जन्तर मेरो श्रीमान्‌लाई दिएपछि उहाँले पनि मलाई माया गर्नुहोला नि?” त्यस साक्षीले यस्तो जवाफ दिइन्‌: “ए, हुन्छ नि। म तपाईंलाई भोलि दिउँसो दिन्छु है।”

भोलिपल्ट, ती बहिनी आफ्नो “जन्तर” लिएर ती छिमेकीकहाँ गइन्‌। त्यो जन्तर के थियो? त्यो बाइबल र त्यसको साथमा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ भन्‍ने प्रकाशन थियो। ज्ञान पुस्तकको “परमेश्‍वरलाई आदर गर्ने परिवार निर्माण” विषयमा पाइने जानकारीहरू देखाइसकेपछि तिनले त्यस आइमाईलाई यसो भनिन्‌: “म र मेरो श्रीमान्‌ले एकअर्कालाई ‘मोहनी’ लगाउने ‘जन्तर’ यही हो। त्यसैले हामी एकअर्कालाई धेरै माया गर्छौं।” त्यसपछि, बाइबल अध्ययन सुरु गरियो। अनि त्यस आइमाईले चाँडचाँडो उन्‍नति गरेर पानीको बप्तिस्माद्वारा यहोवालाई आफ्नो जीवन समर्पण गरिन्‌।

• जिम्बावेको उत्तरपूर्वी सिमानाको सानो मण्डलीमा खटाइएका दुई जना विशेष अग्रगामीहरू दुई हप्तासम्म ढोका ढोकाको सेवकाईमा गएनन्‌। किन? किनभने, तिनीहरूको कुरा सुन्‍न मानिसहरू तिनीहरूकहाँ नै ओइरिरहेका थिए। एक जना अग्रगामीले यसो हुनुको कारणबारे यसरी बताए: “हामी एक जना जिज्ञासु व्यक्‍तिसित साप्ताहिक बाइबल अध्ययन गर्न १५ किलोमिटर यात्रा गर्थ्यौं। यसो गर्नु सजिलो थिएन। हामी हिलोमा हिंड्‌नुपर्थ्यो, अनि हाम्रो गर्दनसम्म पानी आउने नदी तर्नुपर्थ्यो। यसको मतलब हामीले आफ्ना लुगाहरू र जुत्ताहरू टाउकोमा राखेर नदी तर्नुपर्थ्यो अनि अर्को छेउमा पुगेपछि फेरि लगाउँथ्यौं।”

“त्यस जिज्ञासु व्यक्‍तिका छिमेकीहरू हाम्रो जोस देखेर निकै प्रभावित भए। तिनीहरूमध्ये एक जना स्थानीय धार्मिक संस्थाका नेता पनि थिए। तिनले आफ्ना अनुयायीहरूलाई भने: ‘तपाईंहरू पनि ती दुई जवान यहोवाका साक्षीहरूजस्तै जोसिलो हुन चाहनुहुन्‍न र?’ हामी यत्तिबिघ्न मेहनती हुनुको कारण थाह पाउन तिनका अनुयायीहरूमध्ये धेरै जना भोलिपल्ट हामीकहाँ आए। यसबाहेक, अर्को दुई हप्तासम्म यत्ति धेरै मानिसहरू आए कि हामीलाई खाना पकाउने समेत फुर्सत भएन!”

यो दुई हप्तामा, ती अग्रगामीहरूको घरमा आउने मानिसहरूमध्ये एक जना त्यही धार्मिक नेता थिए। तिनले गृह बाइबल अध्ययन स्वीकार्दा ती अग्रगामीहरू कत्ति खुसी भए होलान्‌!