सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको भविष्यसूचक वचनमाथि विश्‍वास गर्नुहोस्‌!

परमेश्‍वरको भविष्यसूचक वचनमाथि विश्‍वास गर्नुहोस्‌!

परमेश्‍वरको भविष्यसूचक वचनमाथि विश्‍वास गर्नुहोस्‌!

“बढ़ता पुष्टि गराउने हामीसँग अगमवाणीको वचन छ।”–२ पत्रुस १:१९.

१, २. आजसम्म रेकर्ड गरिएका भविष्यवाणीहरूमध्ये सबैभन्दा पहिलो कुन थियो र यसको कारण उठेका थुप्रै प्रश्‍नहरूमध्ये एउटा कुनचाहिं थियो?

 आजसम्म रेकर्ड गरिएका भविष्यवाणीहरूमध्ये सबैभन्दा पहिलो भविष्यवाणीको स्रोत यहोवा हुनुहुन्थ्यो। आदम र हव्वाले पाप गरिसकेपछि परमेश्‍वरले साँपलाई भन्‍नुभयो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कच्चो डस्नेछस्‌।” (उत्पत्ति ३:१-७, १४, १५) यी भविष्यसूचक वचनहरूको अर्थ पूर्णतया बुझ्नअघि थुप्रै शताब्दी बिते।

तथापि, त्यस पहिलो भविष्यवाणीले पापी मानिसजातिलाई बलियो आशा प्रदान गऱ्‍यो। धर्मशास्त्रले पछि शैतान अर्थात्‌ दियाबललाई “वृद्ध साँप” भनेर चिनायो। (प्रकाश १२:९) तर परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको वंश को हुने थियो?

वंशको खोज

३. हाबिलले पहिलो भविष्यवाणीमाथि कसरी विश्‍वास प्रकट गरे?

हाबिलले आफ्नो बुबाले जस्तो त्यस पहिलो भविष्यवाणीमाथि अविश्‍वास गरेनन्‌। पापमोचनको निम्ति रगत बगाउनु आवश्‍यक छ भनेर हाबिलले अवश्‍य पनि बुझेको हुनुपर्छ। यसप्रकार, तिनको विश्‍वासले तिनलाई परमेश्‍वरसामु स्वीकार्य पशुबलि चढाउन उत्प्रेरित गऱ्‍यो। (उत्पत्ति ४:२-४) यद्यपि, यसको बावजूद प्रतिज्ञा गरिएको वंश को हो, रहस्यको रहस्यै भएर रह्‍यो।

४. परमेश्‍वरले अब्राहामसित कस्तो प्रतिज्ञा गर्नुभयो र यसले प्रतिज्ञा गरिएको वंशबारे के संकेत गऱ्‍यो?

हाबिलभन्दा झन्डै २,००० वर्षपछि यहोवाले कुलपिता अब्राहामसित यस्तो भविष्यसूचक प्रतिज्ञा गर्नुभयो: “तेरो सन्तानको वृद्धि गरेर आकाशका तारा . . . सरह तुल्याउनेछु। तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्‌।” (उत्पत्ति २२:१७, १८) यी शब्दहरूले अब्राहाम र पहिलो भविष्यवाणीको पूर्तिबीच सम्बन्ध गाँस्यो। शैतानका सारा कर्तुत नाकाम तुल्याउने वंश अब्राहामबाटै निस्कनेछ भन्‍ने कुरा त्यसले संकेत गऱ्‍यो। (१ यूहन्‍ना ३:८) “परमेश्‍वरको प्रतिज्ञाको बारेमा [अब्राहाम] अविश्‍वासले डग्मगाएनन्‌,” न त “प्रतिज्ञाको कुरा” नपाउने यहोवाका अरू मसीहीपूर्व साक्षीहरू नै डग्मगाए। (रोमी ४:२०, २१; हिब्रू ११:३९) बरु, तिनीहरूले परमेश्‍वरको भविष्यसूचक वचनमाथि भरोसा गरिरहे।

५. परमेश्‍वरले गर्नुभएको वंशको प्रतिज्ञा कसमाथि पूरा भयो अनि तपाईं किन त्यसो भन्‍न सक्नुहुन्छ?

परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको वंशबारे प्रेरित पावलले यसो भने: “अब्राहामलाई र उनका वंशलाई सो प्रतिज्ञाहरू बोलिएको हो। वंशहरूलाई भनी धेरै जनालाई भने झैं गरी होइन, तर एकै जनालाई, तेरो वंशलाई, जो ख्रीष्ट हुनुहुन्छ।” (गलाती ३:१६) अतः जुन वंशद्वारा सारा मानवजातिले आशिष्‌ पाउने थियो, त्यो अब्राहामका सबै सन्तान थिएनन्‌। जस्तै, अब्राहामको छोरा इश्‍माएल अनि अब्राहामका पत्नी कतूराका सन्तानहरू मानिसजाति आशिषित हुने वंशमा परेनन्‌। आशिष्‌को वंश अब्राहामका छोरा इसहाक अनि तिनका नाति याकूबका सन्तानबाट आए। (उत्पत्ति २१:१२; २५:२३, ३१-३४; २७:१८-२९, ३७; २८:१४) याकूबले यहूदाको कुलबाट निस्कने शीलोप्रति “मानिसहरू” आज्ञाकारी हुनेछन्‌ भनी देखाए तर चुनिएको वंश अन्ततः दाऊदको वंशबाट निस्कने थियो। (उत्पत्ति ४९:१०; २ शमूएल ७:१२-१६) प्रथम शताब्दीका यहूदीहरूले मसीह वा ख्रीष्टको प्रतीक्षा गरिरहेका थिए। (यूहन्‍ना ७:४१, ४२) अनि परमेश्‍वरले वंशबारे गर्नुभएको भविष्यवाणी उहाँको पुत्र येशू ख्रीष्टमाथि पूरा भयो।

मसीह देखापर्नुहुन्छ !

६. (क) हामीले ७० हप्ताबारे गरिएको भविष्यवाणी कसरी बुझ्नुपर्छ? (ख) कहिले र कसरी येशूले ‘पापको अन्त गर्नुभयो’?

दानियल अगमवक्‍ताले मसीहसित सम्बन्धित महत्त्वपूर्ण भविष्यवाणी रेकर्ड गरे। मादी दाराको शासनकालको पहिलो वर्षमा तिनले यरूशलेमको ७० वर्षसम्मको विनाश सकिनै लागेको छ भनेर बुझे। (यर्मिया २९:१०; दानियल ९:१-४) दानियलले प्रार्थना गरिरहेकै बेला गब्रिएल स्वर्गदूत आएर ‘पापको अन्त गर्न सत्तरी हप्ता तोकिएको छ’ भनेर प्रकट गरे। सत्तरीऔं हप्ताको बीचतिर मसीह हटाइनेथिए। “वर्षमा गणना गरिने सत्तरी हप्ता” सा.यु.पू. ४५५ मा फासरी राजा आर्ट-जारसेजले ‘यरूशलेमको पुननिर्माण गर भन्‍ने आदेश दिएपछि’ सुरु भयो। (दानिएल ९:२०-२७; मोफट; नहेम्याह २:१-८) सात हप्तामा ६२ हप्ता जोडिसकेपछि मसीह आउनुहुनेथियो। यी ४८३ वर्ष सा.यु.पू. ४५५ मा सुरु भएर येशूले बप्तिस्मा लिनुभएको र परमेश्‍वरले उहाँलाई मसीह वा ख्रीष्टको रूपमा अभिषेक गर्नुभएको समय अर्थात्‌ सा.यु. २९ मा अन्त भयो। (लूका ३:२१, २२) येशूले सा.यु. ३३ मा आफ्नो जीवन छुडौतिको रूपमा दिनुभएर ‘पापको अन्त गर्नुभयो।’ (मर्कूस १०:४५) परमेश्‍वरको भविष्यसूचक वचनमाथि विश्‍वास गर्ने कत्ति युक्‍तिसंगत कारणहरू! a

७. मसीहसम्बन्धी गरिएका भविष्यवाणीहरू येशूले कसरी पूरा गर्नुभयो, बाइबलबाट बताउनुहोस्‌।

परमेश्‍वरको भविष्यसूचक वचनमाथिको विश्‍वासले हामीलाई मसीह चिन्‍न मदत गर्छ। हिब्रू धर्मशास्त्रमा मसीहसम्बन्धी गरिएका भविष्यवाणीहरूमध्ये थुप्रै येशू ख्रीष्टमाथि प्रत्यक्षतः पूरा भए भनेर मसीही युनानी धर्मशास्त्रका लेखकहरूले प्रस्तुत गरेका छन्‌। जस्तै: येशूको जन्म कन्या केटीद्वारा बेतलेहेममा हुनु। (यशैया ७:१४; मीका ५:२; मत्ती १:१८-२३; लूका २:४-११) उहाँलाई मिस्र देशबाट बोलाइनु अनि उहाँको जन्म पश्‍चात्‌ बालकहरूको हत्या हुनु। (यर्मिया ३१:१५; होशे ११:१; मत्ती २:१३-१८) येशूले हाम्रा रोगहरू बोक्नु। (यशैया ५३:४; मत्ती ८:१६, १७) गधैनीको बछेडामाथि सवार भएर यरूशलेममा प्रवेश गर्नु। (जकरिया ९:९; यूहन्‍ना १२:१२-१५) अनि त्यसै गरी येशूलाई शूलीमा कीला ठोकिसकेपछि सिपाहीहरूले उहाँको भित्री वस्त्र लिएर प्रत्येक सिपाहीलाई एक एक भाग हुने गरी भाग लगाउँदा, भजनरचयिताका शब्दहरू पूरा भए। (भजन २२:१८; यूहन्‍ना १९:२३, २४) उहाँको एउटै पनि हड्डी नभचाँइनु अनि भालाले उहाँलाई रोप्नु पनि भविष्यवाणीहरू पूर्तिअनुरूपै भए। (भजन ३४:२०; जकरिया १२:१०; यूहन्‍ना १९:३३-३७) ईश्‍वरप्रेरित बाइबल लेखकहरूले मसीहसम्बन्धी भविष्यवाणीहरू येशूमाथि पूरा भए भनेर उल्लेख गरेका थुप्रै घटनाहरूमध्ये यी त केही मात्र हुन्‌। b

मसीही राजाको जय !

८. अति वृद्ध व्यक्‍ति को हुनुहुन्छ अनि दानियल ७:९-१४ को भविष्यवाणी कसरी पूरा भयो?

बेबिलोनी राजा बेलसजरको शासनकालको पहिलो वर्षतिर यहोवाले दानियल अगमवक्‍तालाई सपना तथा उल्लेखनीय दर्शनहरू देखाउनुभयो। दानियलले प्रथमतः चारवटा भयानक जनावरहरू देखे। परमेश्‍वरको दूतले ती जनावरहरू “चार राज्य” हुन्‌ र तिनीहरूले पृथ्वीमा क्रमशः देखापर्ने विश्‍वशक्‍तिहरूको चित्रण गर्छ भनेर अर्थ खुलाए। (दानियल ७:१-८, १७) त्यसपछि, दानियलले “अति वृद्ध व्यक्‍ति” अर्थात्‌ यहोवालाई सम्पूर्ण महिमासहित सिंहासनमा विराजमान हुनुभएको देखे। उहाँले जनावरहरूको प्रतिकूल न्याय गर्नुहुँदै तिनीहरूको हातबाट शासनाधिकार खोस्नु हुन्छ र चौथो जनावरलाई नाश गर्नुहुन्छ। त्यसपछि, “मानिसका पुत्रजस्तै कोही[लाई]” “विभिन्‍न भाषा बोल्ने सबै जातिका मानिसहरू[माथि]” स्थायी शासन गर्ने अधिकार दिइन्छ। (दानियल ७:९-१४) “मानिसका पुत्र” अर्थात्‌ येशू ख्रीष्टको राज्याभिषेकसित सम्बन्धित अद्‌भुत भविष्यवाणी, जुन १९१४ मा स्वर्गमा पूरा भयो!—मत्ती १६:१३.

९, १०. (क) नबूकदनेसरले सपनामा देखेको मूर्तिको विभिन्‍न अंगहरूले केलाई चित्रण गर्छन्‌? (ख) दानियल २:४४ कसरी पूरा भयो, बताउनुहोस्‌।

परमेश्‍वरले नै “राजाहरूलाई हटाउनु र बसाल्नुहुन्छ” भनेर दानियललाई थाह थियो। (दानियल २:२१) अतः “रहस्यका कुराहरू प्रकट” गर्नुहुने यहोवामाथि पूरा भरोसा गर्दै दानियल अगमवक्‍ताले बेबिलोनी राजा नबूकदनेसरलाई तिनले सपनामा देखेका विशाल मूर्तिको अर्थ बताए। मूर्तिका विभिन्‍न अंगहरूले बेबिलोन, मादी-फारसी, युनान, अनि रोमजस्ता विश्‍वशक्‍तिहरूको उत्थान तथा पतनको चित्रण गर्थे। परमेश्‍वरले उक्‍त मूर्तिको दर्शनद्वारा हाम्रो समय र भावी समयसम्म हुने विश्‍व घटनाहरू बताउन दानियललाई प्रयोग गर्नुभयो।—दानियल २:२४-३०, नयाँ संशोधित संस्करण।

१० उक्‍त भविष्यवाणी भन्छ, ती राजाहरूको समयमा “स्वर्गका परमेश्‍वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” (दानियल २:४४) सन्‌ १९१४ मा “अन्यजातिको समय पूरा” भएपछि परमेश्‍वरले स्वर्गीय राज्य बसाल्नुभएर त्यसको जिम्मा ख्रीष्टलाई दिनुभयो। (लूका २१:२४, NW; प्रकाश १२:१-५) त्यसपछि, परमेश्‍वरको विश्‍वव्यापी सार्वभौमिकताको “पहराबाट” ईश्‍वरीय शक्‍तिद्वारा मसीही राज्य अर्थात्‌ “ढुङ्‌गा” उप्केर आयो। आरमागेडोनमा त्यस ढुंगाले त्यस मूर्तीलाई चकनाचूर पारेर धूलोपीठो बनाउनेछ। त्यसपछि, मसीही राज्य पर्वतजस्तै बढेर “सारा पृथ्वीलाई” ढाक्नेछ र सधैंभरि रहिरहनेछ।—दानियल २:३५, ४५; प्रकाश १६:१४, १६. c

११. येशूको रूप परिवर्तन कुन कुराको पूर्वदर्शन थियो अनि त्यसले पत्रुसमाथि कस्तो प्रभाव पाऱ्‍यो?

११ आफ्नो यस किसिमको राज्याधिकारलाई ध्यानमा राख्दै येशूले चेलाहरूलाई भन्‍नुभयो: “यहाँ खड़ा हुनेहरूमध्ये कोही छन्‌, जसले मानिसको पुत्रलाई आफ्नो राज्यमा आउँदै गरेको नदेखुञ्जेल कुनै रीतिले मृत्यु चाख्ने छैनन्‌।” (मत्ती १६:२८) यसो भन्‍नुभएको छ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्‍नालाई अग्लो पर्वतमा लानुभयो, र त्यहाँ तिनीहरूकै सामु उहाँको रूप परिवर्तन भयो। प्रेरितहरूलाई चहकिलो बादलले डम्म ढाकेपछि, परमेश्‍वरले यस्तो घोषणा गर्नुभयो: “यिनी मेरा प्रिय पुत्र हुन्‌, जसमा म प्रसन्‍न छु, तिमीहरूले उनको कुरा सुन।” (मत्ती १७:१-९; मर्कूस ९:१-९) ख्रीष्टको गौरवमय राज्यको कस्तो सशक्‍त पूर्वदर्शन! त्यसैले होला, पत्रुसले पछि उक्‍त प्रभावशाली दर्शनलाई संकेत गर्दै यसो भने: “बढ़ता पुष्टि गराउने हामीसँग अगमवाणीको वचन छ।”—२ पत्रुस १:१६-१९. d

१२. विशेष गरी अहिले किन भविष्यसूचक वचनमाथि विश्‍वास प्रदर्शन गर्ने समय हो?

१२ स्पष्टतः “भविष्यसूचक वचनमा” हिब्रू धर्मशास्त्रमा मसीहबारे गरिएका भविष्यवाणीहरूका साथै येशूले उहाँ “शक्‍ति र ठूलो महिमासित” आउनुहुनेछ भनेर बताउनुभएको वचन पनि समावेश छ। (मत्ती २४:३०) ख्रीष्टले गौरव अनि महिमासहित राज्य शक्‍ति हासिल गर्नुहुनेछ भन्‍ने भविष्यसूचक वचनलाई येशूको रूप परिवर्तनले पुष्टि गऱ्‍यो। गौरव अनि महिमासहित आइसक्नुभएको ख्रीष्टले अब छिट्टै अविश्‍वासीहरूको नाश गर्नुहुनेछ अनि विश्‍वासीहरूलाई आशिष्‌ दिनुहुनेछ। (२ थिस्सलोनिकी १:६-१०) भविष्यवाणीको पूर्तिले आज हामी “आखिरी दिनमा” छौं भनेर प्रमाणित गर्छ। (२ तिमोथी ३:१-५, १६, १७; मत्ती २४:३-१४) यहोवाको मुख्य न्याय कार्यान्वयनकर्ताको हैसियतमा माइकल अर्थात्‌ येशू ख्रीष्ट अब “महा संकष्ट[को]” दौडान यस दुष्ट रीतिरिवाजको अन्त गर्न तयार हुनुहुन्छ। (मत्ती २४:२१; दानियल १२:१) तसर्थ, अहिले अवश्‍य पनि परमेश्‍वरको भविष्यसूचक वचनमाथि विश्‍वास देखाउने समय हो।

परमेश्‍वरको भविष्यसूचक वचनमा विश्‍वास गरिरहनुहोस्‌

१३. परमेश्‍वरप्रतिको हाम्रो प्रेम अनि उहाँको वचनमाथिको विश्‍वास कायम राख्न हामीलाई कुन कुराले मदत गर्नसक्छ?

१३ परमेश्‍वरको भविष्यसूचक वचनको पूर्तिबारे जानकारी पाउँदा हामी अवश्‍य पनि रोमाञ्चित भएका थियौं। तर अहिले नि? के हाम्रो विश्‍वास अनि प्रेम सेलाइसकेको छ? कहिले पनि हामी एफिससका मसीहीहरूजस्ता नहोऔं। तिनीहरूले ‘आफ्नो पहिलो प्रेम छोड़िदिए।’ (प्रकाश २:१-४) हामीले यहोवाको सेवा गर्न थालेको जतिसुकै वर्ष भइसकेको किन नहोस्‌, ‘पहिले परमेश्‍वरको राज्य अनि उहाँको धार्मिकता खोजिरहेनौं’ भने हामी पनि एफिससका मसीहीहरूजस्तै हुनसक्छौं। (मत्ती ६:१९-२१, ३१-३३) तर लगनशील भएर बाइबल अध्ययन गऱ्‍यौं, नियमित तवरमा मसीही सभाहरू धायौं, जोसिलो भई राज्य प्रचार कार्यमा भाग लियौं भने, त्यसले यहोवा, उहाँको पुत्र अनि धर्मशास्त्रप्रतिको प्रेम कायम राख्न मदत गर्नेछ। (भजन ११९:१०५; मर्कूस १३:१०; हिब्रू १०:२४, २५) फलतः परमेश्‍वरको वचनमाथिको हाम्रो विश्‍वास जीवित रहिरहनेछ।—भजन १०६:१२.

१४. यहोवाको भविष्यसूचक वचनमाथि विश्‍वास गरेको हुनाले अभिषिक्‍त जनहरूले कस्तो इनाम पाउनेछन्‌?

१४ बितेका समयमा परमेश्‍वरको भविष्यसूचक वचन पूरा भएजस्तै भविष्यमा पनि पूरा हुनेछ भनेर हामी ढुक्क हुनसक्छौं। उदाहरणका लागि, ख्रीष्टले अहिले गौरवमय ढंगमा राज्य शासन थालिसक्नुभएको छ, अनि मृत्यु पर्यन्त विश्‍वासी रहने अभिषिक्‍त मसीहीहरूले यस भविष्यसूचक प्रतिज्ञाको पूर्ति पनि अनुभव गरिसकेका छन्‌: “जसले जित्छ, त्यसलाई परमेश्‍वरको स्वर्गमा भएको जीवनको रूखको फल म खान दिनेछु।” (प्रकाश २:७, १०; १ थिस्सलोनिकी ४:१४-१७) येशूले यी विजयी जनहरूलाई परमेश्‍वरको “स्वर्गमा भएको जीवनको रूखको फल” खान दिनुहुनेछ। तिनीहरूको पुनरुत्थान भइसकेपछि अनि येशू ख्रीष्टद्वारा “अनन्त, अविनाशी, अदृश्‍य राजा, अद्वितीय परमेश्‍वर” यहोवाले तिनीहरूलाई अनन्त, अविनाशी जीवन दिनुहुनेछ। (१ तिमोथी १:१७; १ कोरिन्थी १५:५०-५४; २ तिमोथी १:१०) परमेश्‍वरप्रतिको अमर प्रेम अनि उहाँको भविष्यसूचक वचनमाथिको अटल विश्‍वासको कत्ति ठूलो इनाम!

१५. कसमाथि “नयाँ पृथ्वी[को]” जग बसालियो अनि तिनीहरूका साथी को हुन्‌?

१५ “परमेश्‍वरको स्वर्गमा” विश्‍वासी मृत अभिषिक्‍त जनहरूको पुनरुत्थान भएको तुरुन्तैपछि आत्मिक इस्राएलका शेष जनहरू पृथ्वीमा “बेबिलोन” अर्थात्‌ झूटो धर्मको विश्‍व साम्राज्यबाट स्वतन्त्र भए। (प्रकाश १४:८; गलाती ६:१६) यिनीहरूमै “नयाँ पृथ्वी[को]” जग पनि बसालियो। (प्रकाश २१:१) यसप्रकार, एउटा “देश” किनियो र त्यसलाई आत्मिक प्रमोदवनमा परिवर्तन गरियो। यो अहिले पृथ्वीको चारैतिर फस्टाइरहेको छ। (यशैया ६६:८) अहिले अर्थात्‌ “पछिल्ला दिनमा” आत्मिक इस्राएलका लाखौं लाख भेडाखाले संगी उपासकहरू त्यसतर्फ ओइरिरहेका छन्‌।—यशैया २:२-४; जकरिया ८:२३; यूहन्‍ना १०:१६; प्रकाश ७:९.

परमेश्‍वरको भविष्यसूचक वचनमा मानव भविष्यको अगमवाणी

१६. अभिषिक्‍त जनहरूको वफादार समर्थकहरूसामु कस्ता प्रत्यासाहरू छन्‌?

१६ अभिषिक्‍त जनहरूको वफादार समर्थकहरूको भविष्य कस्तो छ त? तिनीहरू पनि परमेश्‍वरको भविष्यसूचक वचनमा विश्‍वास गर्छन्‌ अनि पार्थिव प्रमोदवनमा प्रवेश गर्ने आशा राख्छन्‌। (लूका २३:३९-४३) त्यहाँ तिनीहरूले जीवन धान्‍ने “जीवनको नदी[बाट]” पिउनेछन्‌, अनि त्यसका किनारमा रोपिएका “रूखका पातहरू[बाट]” निवारण प्राप्त गर्नेछन्‌। (प्रकाश २२:१, २) यदि तपाईंको त्यस्तो अद्‌भुत आशा छ भने, यहोवाप्रतिको गहिरो प्रेम अनि उहाँको भविष्यसूचक वचनमाथिको विश्‍वास प्रदर्शन गरिरहनुहोस्‌। पार्थिव प्रमोदवनमा असीमित खुसियालीको आनन्द उठाउनेहरूमध्ये तपाईं पनि हुनुहोस्‌।

१७. पार्थिव प्रमोदवनमा कस्ता आशिष्‌हरू पाइनेछन्‌?

१७ आउँदै गरेको पार्थिव प्रमोदवनमा कस्तो किसिमको जीवन होला भनेर असिद्ध मानवले पूर्णतया व्याख्या गर्नसक्दैन तर परमेश्‍वरको भविष्यसूचक वचनले आज्ञाकारी मानिसहरूले त्यतिबेला पाउने आशिष्‌हरूको अन्तरदृष्टि दिनसक्छ। परमेश्‍वरको राज्यले निर्विरोध राज्य गर्न थालेपछि अनि उहाँको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पनि पूरा हुँदा, कुनै पनि हिंस्रक मानिस अनि जनावरहरूले समेत “केही हानि न नोक्सानी” नै गर्नेछन्‌। (यशैया ११:९; मत्ती ६:९, १०) नम्रहरूले देश अधिकार गर्नेछन्‌ र “प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।” (भजन ३७:११) कोही भोको हुनेछैन, “किनकि पृथ्वीमा पहाड़का टाकुराहरूमा प्रशस्तगरी अन्‍न हुनेछ।” (भजन ७२:१६) कसैले दुःखको आँसु बगाउनेछैन। रोगबिमार अनि मृत्युसमेत हुनेछैन। (यशैया ३३:२४; प्रकाश २१:४) डाक्टर, औषधी, अस्पताल, पागलखाना केही चाहिने छैन अनि अन्त्येष्टिसमेत गर्नुपर्ने छैन। कस्तो अद्‌भुत प्रत्याशा!

१८. (क) दानियललाई के आश्‍वासन दिइयो? (ख) दानियलको “उत्तराधिकार” के हुनेछ?

१८ मरिसकेका मानिसको पुनरुत्थान हुन थालेपछि चिहानहरूसमेत रित्तिनेछन्‌। धर्मी अय्यूबले पनि त्यस्तै पुनरुत्थानको आशा गरेका थिए। (अय्यूब १४:१४, १५) अनि दानियलले पनि। किनकि परमेश्‍वरको दूतले तिनलाई यस्तो सान्त्वनादायी आश्‍वासन दिएका थिए: “तिमीचाहिं अन्तसम्मै आफ्नो बाटो लाग। तिमीले विश्राम गर्नेछौ, र त्यसपछि तोकिएको उत्तराधिकार प्राप्त गर्नलाई तिमी दिनहरूको अन्तमा खड़ा हुनेछौ।” (दानियल १२:१३, नयाँ संशोधित संस्करण) दानियलले आफ्नो जीवनको अन्तसम्मै विश्‍वासी भएर परमेश्‍वरको सेवा गरे। अहिले तिनी अचेतावस्थामा छन्‌ तर छिट्टै ख्रीष्टको सहस्र वर्षे राज्यको दौडान “धर्मीहरूका पुनरुत्थान” हुँदा तिनी “खड़ा” हुनेछन्‌। (लूका १४:१४) दानियलको “उत्तराधिकार” के हुनेछ त? इजकिएलको भविष्यवाणी पार्थिव प्रमोदवनमा पूरा हुँदा हरेकले व्यवस्थित अनि निष्पक्ष ढंगमा बाँडिएको जमिन हासिल गर्नेछ भनेर संकेत गर्छ। (इजकिएल ४७:१३–४८:३५) दानियलले पनि प्रमोदवनमा ठाउँ पाउनेछन्‌ तर तिनको उत्तराधिकार त्यति मात्र हुनेछैन। यहोवाको उद्देश्‍यमा पनि तिनको स्थान रहनेछ।

१९. पार्थिव प्रमोदवनमा प्रवेश गर्न के गर्नुपर्छ?

१९ तपाईं अनि तपाईंको उत्तराधिकार नि? यदि तपाईं परमेश्‍वरको वचन बाइबलमाथि विश्‍वास गर्नुहुन्छ भने, अवश्‍य पार्थिव प्रमोदवनमा जिउने तृष्णा गर्नुहुन्छ। सायद तपाईं प्रमोदवनको कल्पना गर्दै, त्यहाँ थुप्रै आशिष्‌हरूको आनन्द उठाइरहनुभएको, पृथ्वीलाई सुन्दर बनाउने काम अनि पुनरुत्थान भएर आउने मानिसहरूको स्वागत गरिरहनुभएको सपनासमेत देख्नुहुन्छ होला। यो स्वाभाविकै हो। किनकि, आखिर प्रमोदवन मानिसहरूकै हो। परमेश्‍वरले प्रथम मानव जोडीको सृष्टि गर्नुहुँदा तिनीहरूलाई त्यस्तै प्रमोदवनमा राख्नुभएको थियो। (उत्पत्ति २:७-९) अनि परमेश्‍वर आज्ञाकारी मानिसहरू प्रमोदवनमा सधैं बाँचिरहून्‌ भन्‍ने इच्छा गर्नुहुन्छ। पार्थिव प्रमोदवनमा प्रवेश गर्ने लाखौं लाख मानिसहरूबीच आफू पनि हुन के तपाईं धर्मशास्त्रअनुरूप जीवन बिताउनुहुनेछ? स्वर्गमा हुनुहुने हाम्रो पिता यहोवालाई साँच्चै प्रेम गर्नुभयो अनि उहाँको भविष्यसूचक वचनमाथि अटल विश्‍वास राख्नुभयो भने, तपाईंले पनि त्यस प्रमोदवनमा प्रवेश गर्न पाउनसक्नुहुनेछ।

[फुटनोटहरू]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित पे अटेन्सन टु डानियल्स प्रोफेसी!-को अध्याय ११ र इन्साइट अन द स्किप्चर्स-को “सत्तरी हप्ता” हेर्नुहोस्‌।

b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित “अल स्क्रिप्चर इज इन्सपायर्ड अफ गड एण्ड बेनेफिशियल,” किताबको पृष्ठ ३४३-४ हेर्नुहोस्‌।

c पे अटेन्सन टु डानियल्स प्रोफेसी! किताबको अध्याय ४ र ९ हेर्नुहोस्‌।

d अप्रिल १, २००० अंकको प्रहरीधरहरा-मा “परमेश्‍वरको भविष्यसूचक वचनमा ध्यान दिनुहोस्‌,” लेख हेर्नुहोस्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• पहिलो भविष्यवाणी के थियो अनि प्रतिज्ञा गरिएको वंश को थियो?

• येशूले पूरा गर्नुभएका मसीहसम्बन्धी केही भविष्यवाणीहरू के थिए?

दानियल २:४४, ४५ कसरी पूरा हुनेछ?

• परमेश्‍वरको भविष्यसूचक वचनले आज्ञाकारी मानवजातिको भविष्य कस्तो छ भनेर औंल्याउँछ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको चित्र]

के तपाईं पार्थिव प्रमोदवनमा जिउने आशा गर्नुहुन्छ?