सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भारतमा बाइबल अध्ययनद्वारा विश्‍वास बलियो बनाईंदैछ

भारतमा बाइबल अध्ययनद्वारा विश्‍वास बलियो बनाईंदैछ

हामी चाहिं विश्‍वास गर्नेहरूमध्येका हौं

भारतमा बाइबल अध्ययनद्वारा विश्‍वास बलियो बनाईंदैछ

उत्तरका सानदार हिमशिखरहरूदेखि लिएर दक्षिणको अति बाफिलो हिन्द महासागरको किनारसम्म, भारत भौगोलिक तथा धार्मिक विविधताले भरिभराउ मुलुक हो। यहाँका एक अरबभन्दा बढी जनसंख्यामध्ये झन्डै ८३ प्रतिशत हिन्दू र ११ प्रतिशत मुसलमान छन्‌ भने बाँकीमा खास गरी मसीही कहलिएकाहरू, सिक्ख, बौद्ध धर्मावलम्बी र जैन मार्गीहरू छन्‌। ती सबैले स्वतन्त्रतासाथ उपासना गर्ने अधिकार पाएका छन्‌। द वर्ल्ड बूक इन्साइक्लोपीडिया-को भनाइअनुसार “भारतीय जीवनशैलीमा धर्मले एकदमै महत्त्वपूर्ण भूमिका खेल्छ।”

तथापि, आफ्नो मसीही विश्‍वासअनुसार जीवन यापन गर्नेहरू भन्‍न सुहाउनेहरू चाहिं यहोवाका साक्षीहरू नै हुन्‌। भारतमा तिनीहरूको संख्या २१,२०० भन्दा बढी छ। विश्‍वभरिका अन्य भूभागस्थित तिनीहरूका आध्यात्मिक मित्रहरूजस्तै भारतीय यहोवाका साक्षीहरू पनि परमेश्‍वरको वचन पवित्र बाइबलमा आफ्ना छिमेकीहरूको विश्‍वास बलियो बनाउन मदत गर्न पाउनु सुअवसर सम्झन्छन्‌। (२ तिमोथी ३:१६, १७) दक्षिण भारतस्थित चेन्‍नाइको एउटा परिवारले बाइबलको सत्य ज्ञान कसरी सिक्यो, एकछिन विचार गरौं।

यहोवाका साक्षीहरूसँग सम्पर्क हुनुअघि यो परिवारको क्याथोलिकसित सक्रिय सम्बन्ध थियो। साथै यस परिवारका सदस्यहरू दर्शन देख्ने, विभिन्‍न भाषामा बोल्ने र बिरामी निको पार्ने दाबी गर्थे। तिनीहरू चर्चका साथै समाजमा पनि प्रसिद्ध थिए। यस परिवारका कुनै कुनै सदस्यलाई त मानिसहरूले “स्वामी” अर्थात्‌ “प्रभु”-समेत भन्थे। एक दिन, एक जना साक्षी त्यस परिवारकहाँ आए। तिनले, जनसाधारणले विश्‍वास गरेझैं येशू सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्‍न, तर परमेश्‍वरको पुत्र हुनुहुन्छ भनी बाइबलबाट देखाए। उक्‍त साक्षीले परमेश्‍वरको नाउँ यहोवा हो र यस पृथ्वीलाई सुन्दर प्रमोदवन बनाउने यहोवाको उद्देश्‍य छ भनेर पनि तिनीहरूलाई बुझाइदिए।—भजन ८३:१८; लूका २३:४३; यूहन्‍ना ३:१६.

परमेश्‍वरको वचनलाई आदर गर्ने गरेका र आफूले सुनेका कुराहरू चित्त बुझेकोले यस परिवारका सदस्यहरू यहोवाका साक्षीसँग नियमित बाइबल अध्ययन गर्न राजी भए। त्यसो गर्दा तिनीहरूका चर्चका साथीभाइले उपहास गर्न थाले। जेसुकै भए पनि यस परिवारले बाइबल अध्ययन नछोड्‌ने निश्‍चय गऱ्‍यो। मनग्य ज्ञान हासिल गर्दै र विश्‍वासमा बलियो हुँदै गएपछि तिनीहरूले झूटा धार्मिक गतिविधिहरू बन्द गरे। अहिले यस परिवारका तीन सदस्यहरू बप्तिस्मा प्राप्त जोसिला साक्षी भएका छन्‌। आमाचाहिं अनुकूल परिस्थितिमा सहायक अग्रगामी गर्ने गर्छिन्‌।

असक्‍ततामाथि विश्‍वासको विजय

पंजाबको एउटा गाउँमा बस्ने सुन्दर लाल नामका युवकलाई परमेश्‍वरको राज्यको सुसमाचार अरूलाई बाँड्‌न असाधारण विश्‍वास र साहस आवश्‍यक पऱ्‍यो। (मत्ती २४:१४) त्यसो हुनुको एउटा कारण हो, नाना थरिका देवी-देवता मान्‍ने आफ्नो परिवार र गाउँभन्दा भिन्दै भएर साँचो परमेश्‍वर यहोवाको उपासना गर्नु। सुन्दर लालका खुट्टाहरू नहुनु अर्को कारण थियो।

सन्‌ १९९२ सम्म सुन्दर लालको जीवन एकनासको थियो। उनी एउटा डाक्टरको सहयोगीको रूपमा काम गर्थे अनि आफ्नो परिवारसँगसँगै पुरोहितको निर्देशनअनुसार थरिथरिका देवी-देवताको पूजापाठमा भाग लिन्थे। एक रात रेलको लिक पार गर्न लाग्दा तिनी बल्ड्यांङै पछारिए। त्यसै बेला तिनका दुवै तिघ्रामाथिबाट रेल पार भयो र दुवै खुट्टा तिघ्राबाट छुट्टिए। तिनी बाँच्न त बाँचे तर तिनको संसार भताभुंग भयो। त्यसपछि सुन्दर लाल साह्रै खिन्‍न भए। आत्महत्या गर्ने प्रयास पनि गरे। हुन त तिनको परिवारले सक्दो आडभरोस दिए तर तिनको भविष्य आशाहीनजस्तो देखिन्थ्यो।

त्यसपछि, यहोवाका एक साक्षी सुन्दर लालकहाँ आएर परमेश्‍वरले यस पृथ्वीलाई एकदम रमाइलो प्रमोदवन बनाउनुहुनेछ र उहाँलाई प्रेम गर्ने अनि उहाँसँग डराउनेहरूलाई सुस्वास्थ्य दिने प्रतिज्ञा गर्नु भएको छ भनी बाइबलबाट देखाइदिए। सुन्दर लालले बाइबल अध्ययन गर्न मन्जुर गरे र कडा मेहनतसाथ एक वर्षसम्म अध्ययन गरे। तिनलाई मसीही सभामा बोलाइयो र साथीको साइकलमा पछाडि बसेर गए। त्यो यात्रा एकदमै कष्टप्रद भए तापनि त्यसको इनाम भने त्योभन्दा मूल्यवान्‌ थियो। त्यहाँ, परमेश्‍वरको वचनका प्रतिज्ञाहरूमा साँच्चै विश्‍वास गर्ने र बाइबलका शिक्षाअनुरूप जीवन यापन गर्ने अरू थुप्रै मानिसलाई भेटेपछि आफूले व्यक्‍तिगत बाइबल अध्ययनमा सिकेका कुराहरूसित तिनी साक्षात्‌कार भए।

सुन्दर लालले आफ्ना छिमेकीहरूलाई सुसमाचार बाड्‌न थाले अनि १९९५ मा बप्तिस्मा लिए। सुरुसुरुमा, तिनी यताउता जाँदा जसरी जान्थे त्यसरी नै घिच्चिमुन्टी गर्दै घर घरको सेवकाईमा भाग लिए। तर अहिले तिनीसँग तिनका आध्यात्मिक भाइहरूले दिएको उपहार छ! त्यो हो, हातैले “चलाउन” हुने गरी बनाइएको विशेष प्रकारको तीन पांग्रे साइकल। यो तीन पांग्रे साइकल धन्यको छ! अहिले तिनी पहिलेभन्दा सक्षम भएका छन्‌ र कसैको सहाराबिनै मण्डलीका सभाहरू धाउन १२ किलोमिटर लामो यात्रा गर्नसक्छन्‌। कहिलेकाहीं मुसलधारे पानी पर्ने वर्षा याममा र कुनै समय तापक्रम ४३ डिग्री सेल्सिएस हुँदा पनि तिनले यो साइकल गुडाइरहेका हुन्छन्‌।

सभाहरूमा उपस्थित हुनुको अलावा सुन्दर लाल साँचो परमेश्‍वर यहोवाप्रति विश्‍वास बलियो बनाउन मदत चाहनेहरूलाई सहयोग गर्न धेरै जनासँग बाइबल अध्ययन पनि गर्छन्‌। साँच्चै भन्‍ने हो भने, तिनीसँग पहिले बाइबल अध्ययन गर्ने सात जना व्यक्‍तिहरूले हाल बप्तिस्मा लिइसकेका छन्‌। त्यसै गरी पहिले तिनले भेटेका र पछि सँगी साक्षीसँग बाइबल अध्ययन गर्ने अरू तीन जनाले पनि बप्तिस्मा लिइसके।

बाइबलको भनाइअनुसार “सबैमा विश्‍वास छैन।” (२ थिस्सलोनिकी ३:२) तर “अनन्त जीवनका लागि नियुक्‍त भएकाहरू जत्ति[मा]” परमेश्‍वरको वचनको नियमित अध्ययनले विश्‍वास गहिरो बनाउनसक्छ। (प्रेरित १३:४८) यस्तो अध्ययनले, अद्‌भुत भविष्यको आशातर्फ उत्सुकतासाथ हेर्न सिकाउँछ! त्यस्तै कुरामा भारतका थुप्रै मानिसहरूले विश्‍वास बढाउँदैछन्‌।

[पृष्ठ ३०-मा भएको नक्सा]

अफगानिस्तान

पाकिस्तान

नेपाल

भुटान

चीन

बंगलादेश

म्यानमार

लाओस

थाइल्याण्ड

भियतनाम

कम्बोडिया

श्रीलंका

भारत

[स्रोत]

Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.