सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सुसमाचारका पुस्तक-इतिहास वा मिथ्या?

सुसमाचारका पुस्तक-इतिहास वा मिथ्या?

सुसमाचारका पुस्तक-इतिहास वा मिथ्या?

संसारभरि नासरतको येशू अर्थात्‌ मानव इतिहासलाई अर्कै मोड दिने यस जवान मानिसको कथा सबै समाजको अभिन्‍न अंग भइसकेको छ। यो औपचारिक वा अनौपचारिक शिक्षाको अंश भइसकेको छ। धेरैले सुसमाचारका पुस्तक सधैंको लागि उपयोगी सत्य वचन तथा भनाइहरूको स्रोत हो भन्छन्‌, जस्तै, “तिमीहरूको वचन चाहिं, ‘हो भने, हो’ ‘होइन भने, होइन’ होस्‌।” (मत्ती ५:३७) निस्सन्देह, तपाईंका आमाबाबुहरू ईसाइ हून्‌ या नहून्‌, उहाँहरूले सुसमाचारका पुस्तकबाटै लिइएका कतिपय कुराहरू तपाईंलाई सिकाउनुभएको होला।

सुसमाचारका पुस्तकमा वर्णन गरिएको पुरुषका लागि ख्रीष्टका लाखौं सच्चा अनुयायीहरूमध्ये कतिपय दुःखकष्ट भोग्न र मर्नसमेत तयार भएका छन्‌। सुसमाचारका पुस्तकले साहस, धीरज, विश्‍वास र आशाको आधार अनि उत्प्रेरणा पनि प्रदान गरेको छ। त्यसकारण, के तपाईंको विचारमा यी विवरणहरू केवल कथा हुन्‌ भन्‍न अकाट्य प्रमाणहरू चाहिंदैन र? सुसमाचारका पुस्तकले मानिसहरूको सोचाइ र आचरणमा पारेको गहन प्रभावबारे विचार गर्दा यसको सत्यतामा कसैले शंका गऱ्‍यो भने के तपाईं जोडदार प्रमाण प्रस्तुत गरेको चाहनुहुन्‍न र?

आउनुहोस्‌, हामी सुसमाचारका विवरणसम्बन्धी केही विचारणीय प्रश्‍नहरू विचार गरौं। सुसमाचारका पुस्तकका केही गैरईसाइ र ईसाइ विद्यार्थीहरू यी विषयहरूमा कस्तो धारणा राख्छन्‌, तपाईं आफै विचार गर्नुहोस्‌। अनि यी जानकारीहरू विचार गरिसक्नुभएपछि आफै निष्कर्षमा पुग्न सक्नुहुन्छ।

विचार गर्नुपर्ने प्रश्‍नहरू

के सुसमाचारका पुस्तक कसैको चलाखीपूर्ण रचना हुनसक्छ?

येशू विषयक गोष्ठीका संस्थापक, रबर्ट फंक यसो भन्छन्‌: “मत्ती, मर्कूस, लूका र यूहन्‍नाले येशूको मृत्युपछि उत्पन्‍न मसीही धर्मसिद्धान्तसित मिल्ने ‘मसीह प्रस्तुत गरे।’ ” तथापि, सुसमाचारका पुस्तक लेखिएको समयमा, येशूको कुराहरू सुन्‍ने, उहाँका कामहरू देख्ने र पुनरुत्थानपछि पनि उहाँलाई देख्ने थुप्रै मानिसहरू जीवितै थिए। तिनीहरूले सुसमाचार पुस्तकका लेखकहरूले कुनै प्रकारको जालझेल गरेको आरोप लगाएनन्‌।

ख्रीष्टको मृत्यु र पुनरुत्थानलाई विचार गर्नुहोस्‌। येशूको मृत्यु र पुनरुत्थानबारे सुसमाचारका पुस्तकमा मात्र होइन तर पावलले पुरातन कोरिन्थका मसीहीहरूलाई लेखेको प्रथम पत्रमा पनि भरपर्दो विवरण पाइन्छ। तिनले यसरी लेखे: “सबैभन्दा पहिले मैले तिमीहरूलाई त्यो सुम्पिदिएँ जो मैले पाएको पनि थिएँ, अर्थात्‌ धर्मशास्त्रअनुसार कसरी ख्रीष्ट हाम्रा पापको निम्ति मरे, र गाड़िए, औ धर्मशास्त्रैअनुसार तेस्रो दिनमा उहाँको पुनरुत्थान भयो, औ उहाँ केफासकहाँ, अनि बाह्रै जनाकहाँ देखापर्नुभयो, त्यसपछि उहाँ एकैपल्ट पाँच सयभन्दा बढ़ता भाइहरूकहाँ देखापर्नुभयो, जसमध्ये धेरैजसो अहिलेसम्म छँदैछन्‌, तर कुनै कुनै सुतिसके। त्यसपछि उहाँ याकूबकहाँ अनि सबै प्रेरितहरूकहाँ, देखा पर्नुभयो। अनि सबैभन्दापछि बेला नपुगी जन्मेको मानिस जस्तै मकहाँ पनि उहाँ देखा पर्नुभयो।” (१ कोरिन्थी १५:३-८) ती प्रत्यक्षदर्शीहरू येशूको जीवनको ऐतिहासिक तथ्यका संरक्षकहरू थिए।

पछि मात्र रचना गरेर लेखेको होला भन्‍ने अहिलेका आलोचकहरूको दाबी मसीही युनानी धर्मशास्त्रले समर्थन गरेको पाइँदैन। यस्तो दाबी सा.यु. दोस्रो शताब्दीका कागजातहरूमा पाइन्छ। अतः प्रेरितहरूको मण्डलीबाट तर्किएका समुदायहरूले साँचो मसीहीधर्ममा धर्मत्याग सुरु गरेपछि मात्र ख्रीष्टसम्बन्धी यस्ता गैरशास्त्रीय विवरणहरू उत्पन्‍न भए।—प्रेरित २०:२८-३०.

के सुसमाचारका पुस्तक दन्त्यकथा हुन्‌?

लेखक अनि आलोचक सि. एस. लुइसलाई सुसमाचारका पुस्तक मात्र दन्त्यकथा हुन्‌ भनेर पत्याउन गाह्रो लाग्यो। तिनले यसप्रकार लेखे: “साहित्यिक इतिहासकारको हैसियतमा सुसमाचारका पुस्तक मिथ्या होइन भन्‍ने कुरामा मलाई पूर्ण विश्‍वास छ। ती विवरणहरूमा मिथ्यामा जस्तो काल्पनिक कुराहरू छैनन्‌। . . . येशूको जीवनको प्रायजसो कुरा हामीलाई थाह छैन अनि मनगढन्ते मिथ्या बनाउने व्यक्‍तिले कुरो त्यसरी अपूरो छोड्‌दैन।” अर्को चाखलाग्दो कुरा हो, प्रख्यात इतिहासकार एच. जि. वेल्सले आफू मसीही हुँ भन्‍ने दाबी नगरे तापनि यो कुरा मानिलिए: “[सुसमाचारका पुस्तकको] चारै जना लेखकहरू एउटा विशेष व्यक्‍तित्व प्रस्तुत गर्ने कुरामा सहमत भएको पाइन्छ; तिनीहरूको विवरणमा . . . सत्यता झल्कन्छ।”

पुनरुत्थान हुनुभएको येशू आफ्ना चेलाहरूसामु देखा पर्नुभएको घटनालाई विचार गर्नुहोस्‌। मिथ्या बनाउने व्यक्‍तिले त्यस घटनालाई येशू एकदमै सानसित फर्कनुभएको, प्रभावशाली भाषण दिनुभएको वा सान र वैभव छाएको विवरणको रूपमा प्रस्तुत गर्थे होलान्‌। त्यसो नभई सुसमाचारका लेखकहरूले उहाँ आफ्ना चेलाहरूसामु उभिरहनुभएको थियो मात्र भनेका छन्‌। उहाँले यो प्रश्‍न गर्नुभयो: “नानी हो, तिमीहरूसित केही खानेकुरो छ?” (यूहन्‍ना २१:५) शास्त्रविद्‌ ग्रेग इस्टरब्रुक निचोडमा यसो भन्छन्‌: “यस्ता विवरणहरूले मिथ्या होइन तर सत्य विवरण हुन्‌ भनेर संकेत गर्छ।”

सुसमाचारका पुस्तक मिथ्या हुन्‌ भन्‍ने आरोप सुसमाचारका पुस्तक लेखिंदा तत्कालीन रब्बीहरूको लोकप्रिय, कट्टर शिक्षण प्रणालीसित पनि मेल खाँदैन। त्यस प्रणालीअनुसार एउटै कुरा दोहऱ्‍याइ तेहऱ्‍याइ मुखस्त गर्ने चलन थियो। यसले थपथाप गरिएको मिथ्याभन्दा येशूको भनाइ वा कार्यलाई हुबहु लेखेको विवरण सत्य थियो भनेर समर्थन गर्छ।

सुसमाचारका पुस्तक मिथ्या हुँदो हो त, येशूको मृत्यु हुनेबित्तिकै त्यति थोरै समयमा त्यो तयार पार्न सकिन्थ्यो होला र?

प्राप्त प्रमाणअनुसार सुसमाचारका पुस्तक सा.यु. ४१ र ९८ बीच लेखिएका हुन्‌। येशूको मृत्यु सा.यु. ३३ मा भयो। यसको मतलब, उहाँको सेवकाई पूरा भएको केही समयभित्रै उहाँको जीवनका विवरणहरू तयार पारिए। यसले सुसमाचारका पुस्तक मिथ्या मात्र हुन्‌ भन्‍ने तर्कसामु ठूलो अवरोध खडा गर्छ। मिथ्याहरू प्रचलित हुन समय लाग्छ। उदाहरणका लागि, पुरातन युनानी कवि होमरको इलियाडओडिसी-लाई लिनुहोस्‌। कसै कसैको विचारमा यी मिथ्या तयार पारेर प्रचलित हुन सयौं वर्ष लाग्यो। सुसमाचारका पुस्तक नि?

सिजर एण्ड क्राइस्ट भन्‍ने पुस्तकका लेखक विल डुरान्ट यस्तो लेख्छन्‌: “दुई चार जना साधारण मानिसहरू मिलेर . . . यस्तो प्रभावशाली र आकर्षक व्यक्‍तित्व रचना गर्न सक्नु, यस्तो उच्च नैतिक मूल्यमान्यता अनि मानव भ्रातृत्वको लागि यस्तो उत्प्रेरणादायी दर्शन तयार गर्न सक्नु, सुसमाचारका पुस्तकमा लिपिबद्ध चमत्कारहरूभन्दा पनि अविश्‍वनीय चमत्कार हुनेछ। दुई शताब्दीभन्दा धेरै अघिदेखि गरिंदै आएको बाइबलीय लेखोटको अनेकन्‌ आलोचनाको बावजूद ख्रीष्टको जीवनी, आचरण र शिक्षाहरू अत्यन्तै सुस्पष्ट हुनुका साथै पश्‍चिमी संसारको इतिहासको सबैभन्दा रोमाञ्चकारी पक्ष भएको छ।”

के प्ररम्भिक मसीही समुदायको आवश्‍यकताअनुरूप सुसमाचारका पुस्तक पछि छाँटकाँट गरिएका हुन्‌?

प्रारम्भिक मसीही समाजको राजनीतिले गर्दा सुसमाचारका लेखकहरूले येशूको कथा छाँटकाँट वा त्यसमा थपथाप गरे भनेर तर्क गर्ने आलोचकहरू पनि छन्‌। तथापि, सुसमाचारका पुस्तकलाई नियालेर हेर्ने हो भने, त्यस्तो जालझेल भएको कतै पाइँदैन। प्रथम शताब्दीमै छक्कापन्जा गरेर येशूसित सम्बन्धित विवरणहरूमा हेरफेर गरिएका हुन्‌ भने यहूदी र अन्यजातिहरू दुवैबारे गरिएका नकारात्मक टीकाटिप्पणीहरूमा चाहिं किन छाँटकाँट गरिएन त?

एउटा उदाहरण, मत्ती ६:५-७ मा पाइन्छ। त्यहाँ येशूको यो भनाइ उद्धरण गरिएको छ: “जब तिमी प्रार्थना गर्दछौ तब कपटीहरू जस्ता नहोऊ, किनकि तिनीहरू सभाघरहरूमा र गल्लीहरूका कुनामा मानिसहरूले देखून्‌ भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्‌। म तिमीहरूलाई साँचो भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका हुन्छन्‌।” स्पष्टतः, यो यहूदी धार्मिक नेताहरूलाई गरिएको निन्दा थियो। येशूले अझै यसो भन्‍नुभयो: “प्रार्थना गर्दा अन्यजातिहरू जस्ता व्यर्थै नबरबराऊ। किनभने कराएर बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्‍ने तिनीहरू विचार गर्दछन्‌।” यसरी येशूको कुरा उद्धरण गरेर सुसमाचारका लेखकहरूले मानिसहरूको धर्म परिवर्तन गर्ने प्रयास गरिरहेका थिएनन्‌। तिनीहरूले केवल येशू ख्रीष्टले भन्‍नुभएका कुराहरू उद्धरण गरिरहेका थिए।

येशूको चिहानमा हेर्न जाँदा रित्तो देख्ने स्त्रीहरूबारे सुसमाचारका पुस्तकले के भन्छ, विचार गर्नुहोस्‌। (मर्कूस १६:१-८) ग्रेग इस्टरब्रुकअनुसार “पुरातन मध्यपूर्वीय समाजमा स्त्रीहरूको कुरा पत्यारै गरिंदैनथ्यो: जस्तै, एउटी स्त्रीलाई व्यभिचार गरेको दोष लगाउन दुई जना पुरुष साक्षीहरू भए पुग्थ्यो तर पुरुष विरुद्ध स्त्रीको जतिसुकै प्रमाण भए तापनि त्यसलाई अपर्याप्त ठहराइन्थ्यो।” निस्सन्देह, येशूका आफ्नै चेलाहरूले समेत स्त्रीहरूको कुरा विश्‍वास गरेनन्‌! (लूका २४:११) अतः यस्तो कथा कसैले पनि जानाजानी बनाएको हुन सक्दैन।

प्रेरितहरूका पत्र र प्रेरितको पुस्तकमा उखानहरू नहुनु, सुसमाचारका पुस्तकमा समावेश गरिएका उखानहरू प्रारम्भिक मसीहीहरूले पछि थपथाप गरेका नभई येशू स्वयम्‌ले भन्‍नुभएका कुराहरू हुन्‌ भन्‍ने बलियो प्रमाण हो। साथै, सुसमाचारका पुस्तकलाई प्रेरितहरूका पत्रसित गहिरिएर तुलना गर्दा पावल र युनानी धर्मशास्त्रका अन्य लेखकका कुराहरू छाँटकाँट गरी येशूको भनाइजस्तो गरिएको हो भन्‍न मिल्दैन। प्रारम्भिक मसीही समुदायले येशूलाई ती शब्दहरू भन्‍न लगाएको हुँदो हो त, सुसमाचारका पुस्तकमा पनि प्रेरितहरूका पत्रको कुनै कुनै कुरा हुनुपर्ने हो। तर त्यसो नभएको हुँदा हामी सुसमाचारका पुस्तकको विषयवस्तु मौलिक र सत्य हुन्‌ भन्‍ने निष्कर्षमा पुग्नसक्छौं।

सुसमाचारका पुस्तकमा अमिल्दोजस्तो देखिने कुराहरू नि?

सुसमाचारका पुस्तकमा अमिल्दो कुराहरू थुप्रै छन्‌ भनेर आलोचकहरूले भन्दै आएका धेरै भइसक्यो। इतिहासकार डुरान्टले एकदमै निष्पक्ष भएर ऐतिहासिक कागजातको आधारमा सुसमाचारको विवरण केलाउने प्रयास गरे। तिनले ती विवरणमा केही कुराहरू अमिल्दोजस्तो देखिन्छ भनी स्वीकारे तापनि निष्कर्षमा यसो भन्छन्‌: “यस्ता अमिल्दो कुराहरू मूलभूत कुरामा होइन, तर स-साना [कम महत्त्वपूर्ण विवरणहरूमा] छन्‌; मूलभूत कुराहरूमा सुसमाचारका पुस्तक एकअर्कासित पूर्णतया सहमत छन्‌ र ख्रीष्टको सिंगो रूप प्रस्तुत गर्छन्‌।”

सुसमाचारका विवरणहरूमा अमिल्दोजस्तो देखिने कुराहरू प्रायः सजिलै सुल्झिन्छन्‌। जस्तै, मत्ती ८:५ मा आफ्नो नोकरलाई निको पार्न “एउटा कप्तान [येशूलाई] बिन्ती गर्दै त्यहाँ आए” भनिएको छ। लूका ७:३ मा कप्तानले “तिनको दासलाई निको पारिदिनोस्‌ भनी यहूदीहरूका बूढ़ा-प्रधानहरूलाई [येशूकहाँ] बिन्ती गर्न पठाए” भनी लेखिएको पाउँछौं। कप्तानले आफ्नो प्रतिनिधिको हैसियतमा बूढा-प्रधानहरूलाई पठाए। यी बूढा-प्रधानहरू कप्तानको प्रवक्‍ता भएको हुँदा तिनले नै येशूलाई बिन्ती गरे भनी मत्ती बताउँछन्‌। सुसमाचारका पुस्तकमा अमिल्दो कुराहरू छन्‌ भनी लगाएको आरोप सुल्झाउन सकिन्छ भनी देखाउने यो त एउटा सानो उदाहरण मात्र हो।

सुसमाचारका पुस्तकमा साँचो इतिहासमा हुनुपर्ने कुराहरू छैनन्‌ भन्‍ने आलोचनाहरूबारे के भन्‍न सकिन्छ? डुरान्ट यसो भन्छन्‌: “नयाँ नियमलाई झूटो साबित गर्न त्यसको यति धेरै आलोचना गरिएका छन्‌ कि त्यतिकै आलोचना पुरातन समयका सयौं उल्लेखनीय व्यक्‍तिहरू जस्तै, हमुराबी, डेभिड र सुकरातको गरिएको भए तिनीहरू केवल मिथ्या पात्रहरू साबित हुनेछन्‌। सुसमाचारकहरूको पूर्वाग्रह तथा धर्मसैद्धान्तिक अवधारणाहरूको बावजूद तिनीहरूले थुप्रै विवरणहरू समावेश गरेका छन्‌ जुन कुरा अरू मानिसहरूले भए बताउने नै थिएनन्‌ होला। जस्तै, परमेश्‍वरको राज्यमा उच्च ओहदा पाउन प्रेरितहरूबीच भएको तँछाडमछाड, येशू पक्राउ पर्नुभएपछि उहाँलाई छोडेर भाग्नु, पत्रुसको इन्कार इत्यादि। . . . यी विवरणहरू पढिसकेपछि, चर्चा गरिएको व्यक्‍तिको वास्तविकतामा शंका गर्ने कुनै ठाउँ हुँदैन।”

के वर्तमान समयको मसीहीधर्मले सुसमाचारका पुस्तकले बताएको येशूको प्रतिनिधित्व गर्छ?

येशू विषयक गोष्ठीले सुसमाचारका पुस्तकसम्बन्धी अनुसन्धान “चर्चका निकायहरूको आदेशमा” आधारित छैनन्‌ भनेर घोषणा गरेको छ। तर सुसमाचारका पुस्तकमा प्रस्तुत येशूका शिक्षाहरू र मसीहीजगत्‌का कुराहरूमा आकाश जमिनको फरक छ भनेर इतिहासकार वेल्सले बुझे। तिनले यसप्रकार लेखे: “येशूका प्रेरितहरूले त्रिएकबारे उहाँको मुखबाट सुने होलान्‌ भन्‍ने कुनै प्रमाण छैन। . . . न त [येशूले] आफ्नी आमा मरियम, स्वर्गकी रानी आइसिसको रूप हुन्‌ र तिनको उपासना गर्नुपर्छ भनेर बताउनुभएको नै पाइन्छ। अहिले मसीहीजगत्‌को उपासना अनि शिक्षाका अभिन्‍न अंशको रूपमा चिनिने सबै कुरा उहाँले तिरस्कार गर्नुभयो।” तसर्थ, मसीहीजगत्‌का शिक्षाहरूको आधारमा सुसमाचारका पुस्तकको यथार्थता निर्धारण गर्न मिल्दैन।

तपाईं कुन निष्कर्षमा पुग्नुभयो?

माथि दिइएका बुँदाहरूमा विचार गरिसकेपछि तपाईंको विचार के छ? सुसमाचारका पुस्तक मिथ्या हुन्‌ भन्‍ने के कुनै सत्य, पत्यारिला प्रमाण छन्‌ त? सुसमाचारका पुस्तकको सत्यताबारे उठाइएका प्रश्‍न र शंकाहरू धेरैले बकमफुसे र अपत्यारिलो महसुस गरेका छन्‌। आफ्नै व्यक्‍तिगत धारणा बनाउन तपाईंले खुला मनले सुसमाचारका पुस्तक पढ्‌नुपर्छ। (प्रेरित १७:११) सुसमाचारका पुस्तकले येशूको व्यक्‍तित्वबारे एकरूप, इमानदार र सही ढंगमा प्रस्तुत गरेको तथ्यलाई विचार गर्नुभएपछि यी विवरणहरू मिथ्याको पोको होइन रहेछ भनेर पक्कै बुझ्नुहुनेछ। a

तपाईंले गहिरिएर बाइबल केलाउनुभयो अनि यसका सल्लाहहरू लागू गर्नुभयो भने, यसले तपाईंको जीवनमा कस्तो राम्रो प्रभाव पार्नसक्दो रहेछ भनेर देख्नुहुनेछ। (यूहन्‍ना ६:६८) त्यसमाथि पनि अझ विशेष गरी सुसमाचारका पुस्तकमा लिपिबद्ध येशूका भनाइले। त्यति मात्र होइन, आज्ञाकारी मानवजातिका लागि साँचेर राख्नुभएको अद्‌भुत भविष्यबारे पनि तपाईं सिक्न सक्नुहुन्छ।—यूहन्‍ना ३:१६; १७:३, १७.

[फुटनोट]

a द बाइबल—गड्‌स वर्ड अर म्यान्स्‌? पुस्तकको अध्याय ५ देखि ७ र सबैका लागि उपयोगी किताब भन्‍ने पुस्तिका हेर्नुहोस्‌। यी दुवै वाचटावर सोसाइटीका प्रकाशन हुन्‌।

[पृष्ठ ७-मा भएको पेटी]

साँचो वर्णनको प्रमाण

केही वर्षअघि एक जना अस्ट्रेलियाली संवाददाता तथा कुनै समयका बाइबल आलोचकले यो कुरा मानिलिए: “जीवनमा पहिलो चोटि मैले संवाददाताको मूलभूत कर्तव्य पूरा गरें: मैले आफ्ना तथ्यहरू केलाएँ। . . . म त तीन छक परें किनभने मैले [सुसमाचारका विवरणमा] पढिरहेका कुराहरू मिथ्या वा साँचोजस्तो लाग्ने कथा होइन रहेछ। त्यो त यथार्थ घटनाको वर्णन थियो। असामान्य घटनाहरूबारे प्रत्यक्षदर्शी तथा प्रत्यक्षदर्शीबाट सुनेका विवरणहरू थिए। . . . वास्तविक घटनाको वर्णनको आफ्नै चिनारी हुन्छ र त्यो चिनारी सुसमाचारका पुस्तकमा पाइन्छ।”

त्यसै गरी, अकल्याण्ड विश्‍वविद्यालयका, पुरातन साहित्यका प्राध्यापक इ. एम. ब्लाइक्लकले यस्तो तर्क गरे: “म आफूलाई एक जना इतिहासकार भन्छु। म यी पुरातन साहित्यलाई ऐतिहासिक दृष्टिकोणले हेर्ने गर्छु। ख्रीष्टको जीवन, मृत्यु तथा पुनरुत्थानको प्रमाण, पुरातन इतिहासका प्रायजसो प्रमाणहरूभन्दा यथार्थपूर्ण छन्‌।”

[पृष्ठ ८, ९-मा भएको नक्सा/चित्रहरू]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

फोनिसिया

गालील

यर्दन नदी

यहूदिया

[चित्रहरू]

“ख्रीष्टको जीवन, मृत्यु तथा पुनरुत्थानको प्रमाण, पुरातन इतिहासका प्रायजसो प्रमाणहरूभन्दा यथार्थपूर्ण छन्‌।”—प्राध्यापक इ. एम. ब्लाइक्लक

[स्रोत]

Background maps: Based on a map copyrighted by Pictorial Archive (Near Eastern History) Est. and Survey of Israel.