सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सुसमाचारका पुस्तक-विवाद अझै सुल्झिएको छैन

सुसमाचारका पुस्तक-विवाद अझै सुल्झिएको छैन

सुसमाचारका पुस्तक-विवाद अझै सुल्झिएको छैन

के येशू ख्रीष्टको जन्मबारे सुसमचारको पुस्तकका विवरणहरू सही हुन्‌?

के डाँडाको उपदेश उहाँले नै दिनुभएको हो?

के येशूको साँच्चै पुनरुत्थान भयो?

के उहाँले नै यसो भन्‍नुभएको हो: “बाटो, सत्य, र जीवन मै हुँ”?–यूहन्‍ना १४:६.

यस्ता थुप्रै विषयवस्तुहरू येशू विषयक गोष्ठीमा भेला हुने ८० जना जति शास्त्रविद्‌हरूले सन्‌ १९८५ देखि वर्षेनी दुई पटक छलफल गर्ने गरेका छन्‌। यी शास्त्रविद्‌हरूको समूहले ती प्रश्‍नहरूको अनौठो ढंगमा जवाफ दिएको छ। गोष्ठीमा उपस्थित सबै सहभागीहरूले सुसमाचारका पुस्तकमा लिपिबद्ध येशूको हरेक भनाइमा आफ्नो मत खसाल्छन्‌। रातो मतपत्रले येशूकै भनाइ हो भन्‍ने संकेत गर्छ। गुलाबी मतपत्र, यो भनाइ येशूले भन्‍नुभएको हुन पनि सक्छ, नहुन पनि सक्छ। खरानी रंगको मतपत्र, यो भनाइ येशूको धारणासित मिल्दोजुल्दो छ तर उहाँले नै भन्‍नुभएको चाहिं होइन। कालो मतपत्रले चाहिं यो येशूको भनाइ पटक्कै होइन, पछि निस्केका परम्पराहरूबाट लिइएको हो भन्‍ने बुझाउँछ।

यो तरिका अपनाएर येशू विषयक गोष्ठीका सहभागीहरूले सुरुमा उल्लिखित चारैवटा प्रश्‍नहरू बेकार हुन्‌ भनेका छन्‌। भनौं भने, सुसमाचारका पुस्तकमा लिपिबद्ध ८२ प्रतिशत जति भनाइहरूको कालो मतपत्र थियो। तिनीहरूको विचारमा सुसमाचारका पुस्तक र अन्य लेखोटहरूमा लिपिबद्ध १६ प्रतिशत जति घटना विवरणहरू मात्र सत्य हुन्‌।

सुसमाचारका पुस्तकको यस्तो आलोचना कुनै नौलो कुरा होइन। सन्‌ १७७४ मा जर्मनीको हाम्बर्गस्थित पूर्वीय भाषाहरूका प्राध्यापक हर्मन राइमारसले तयार पारेका १,४०० पन्‍ने हस्तलिपि तिनको मृत्युपछि प्रकाशित गरिंदा पनि सुसमाचारका पुस्तकमा यस्तै आक्षेप लागेको थियो। त्यसमा राइमारसले सुसमाचारका पुस्तकको ऐतिहासिकतामाथि अचाक्ली शंका गरेका थिए। तिनको निष्कर्ष, येशूको जीवनीबारे सुसमाचारका पुस्तकको चारवटा विवरणको भाषिक विश्‍लेषण र त्यसमा अमिल्दोजस्तो देखिने कुराहरूमा आधारित थियो। त्यस बेलादेखि आलोचकहरूले सुसमाचारका पुस्तकको सत्यतामा प्रायजसो शंका व्यक्‍त गरेका छन्‌ र यसले गर्दा ती लेखोटहरूमाथि जनसाधारणले अलि विश्‍वास गर्न छाडेका छन्‌।

ती शास्त्रविद्‌हरू सबै सहमत भएको कुरा के हो भने, सुसमाचारका पुस्तकका विवरणहरू थुप्रै मानिसहरूले बताएका धार्मिक कथाहरू हुन्‌। शंका गर्ने शास्त्रविद्‌हरूले सोध्ने सामान्य प्रश्‍नहरू यसप्रकार छन्‌: के मसीही विश्‍वासको कारण सुसमाचारका चारवटा पुस्तकका लेखकहरूले सत्य विवरणमा थपथाप गरेका हुनसक्छन्‌? के प्रारम्भिक मसीही समाजको राजनीतिले गर्दा तिनीहरूले येशूको कथामा संशोधन वा थपथाप गरे? सुसमाचारका पुस्तकको कुन अंश मिथ्या नभई सत्य विवरण होला?

नास्तिकवाद वा धर्मनिरपेक्ष समुदायमा हुर्केका मानिसहरू सुसमाचारका पुस्तकलगायत सम्पूर्ण बाइबल, दन्त्यकथा वा मिथ्याले भरिएको पुस्तक हो भन्छन्‌। अनि अरू थुप्रै भने मसीहीजगत्‌ले मच्चाएको रक्‍तपात, दमन, बेमेल अनि अभक्‍त व्यवहारले गर्दा अलमल्लमा परेका छन्‌। ती व्यक्‍तिहरू मसीहीजगत्‌ले पवित्र ठानेका लेखोटहरूमा ध्यान दिनुपर्ने कुनै कारणै देख्दैनन्‌। तिनीहरू यसलाई कपटी धर्मले सृजना गरेका बेकारका कथाहरू हुन्‌ भन्ठान्छन्‌।

तपाईंलाई कस्तो लाग्छ? केही शास्त्रविद्‌हरूले सुसमाचारका पुस्तकको ऐतिहासिकतामा शंका गरे भन्दैमा तपाईंको मनमा पनि त्यस्तै शंकाहरू पलाउन दिनु ठीक होला? सुसमाचारका पुस्तकका लेखकहरूको कुरा सबै मिथ्या हुन्‌ भनेको सुन्दा के ती लेखोटहरूमाथि तपाईंको विश्‍वास पनि ढलपल हुन्छ? के मसीहीजगत्‌को अभक्‍त विवरणको आधारमा तपाईंले सुसमाचारका पुस्तकको विश्‍वसनीयतामा शंका गर्नु ठीक होला र? आउनुहोस्‌, हामी केही तथ्यहरू केलाऔं।

[पृष्ठ ४-मा भएको चित्र]

सुसमाचारका पुस्तकमा दन्त्यकथा छन्‌ वा तथ्य?

[स्रोत]

Jesus Walking on the Sea/The Doré Bible Illustrations/Dover Publications

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Background, pages 3-5 and 8: Courtesy of the Freer Gallery of Art, Smithsonian Institution, Washington, D.C.