सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रो दिनको लागि परमेश्‍वरको भविष्यसूचक वचनमा ध्यान दिनुहोस्‌

हाम्रो दिनको लागि परमेश्‍वरको भविष्यसूचक वचनमा ध्यान दिनुहोस्‌

हाम्रो दिनको लागि परमेश्‍वरको भविष्यसूचक वचनमा ध्यान दिनुहोस्‌

“हे मानिस, यो बुझ्‌ कि अन्तको समयलाई यसले संकेत गर्छ।”–दानियल ८:१७.

१. आज हाम्रो समयबारे सबै मानिसजातिले कुन कुरा जानोस्‌ भन्‍ने यहोवाको इच्छा छ?

 यहोवा परमेश्‍वरले भविष्यमा हुने घटनाहरूको जानकारी आफैमा मात्र सीमित राख्नुहुन्‍न। बरु, उहाँले गोप्य कुराहरू प्रकट गर्नुहुन्छ। भनौं भने, हामी अन्तको पनि “अन्तको समय[मा]” छौं भनेर सबैले थाह पाऊन्‌ भन्‍ने चाहनुहुन्छ। यस पृथ्वीमा अहिले बाँचिरहेका छ अरब मानिसहरूको निम्ति यो अत्यन्तै महत्त्वपूर्ण समाचार हो!

२. मानिसहरू किन मानवजातिको भविष्यबारे चिन्ता गर्छन्‌?

यस दुष्ट रीतिरिवाजको अन्त नजिकै हुनु के कुनै छक्कलाग्दो कुरा हो र? मानिस चन्द्रमामा पुगिसक्यो तर पृथ्वीमा चाहिं यस्ता कतिपय ठाउँहरू छन्‌ जहाँ डर त्रासबिना ढुक्क भएर हिंडडुल गर्न सकिंदैन। मानिसले आफ्नो घरमा हरेक प्रकारका अत्याधुनिक सुखसुविधाहरू जुटाउन सकेको छ तर परिवार टुक्रिनदेखि रोक्न सकेको छैन। अनि अहिले मानिस सञ्चार युगमा पुगिसक्यो तर मानिसहरूलाई शान्तिसित मिलेर बस्न सिकाउन सकेको छैन। यी असफलताले हामी अन्तको समयमा छौं भन्‍ने यथेष्ट धर्मशास्त्रीय प्रमाणहरूलाई समर्थन गर्छन्‌।

३. “अन्तको समय” भन्‍ने शब्द पृथ्वीमा पहिलो चोटि कहिले प्रयोग गरियो?

“अन्तको समय” भन्‍ने यो उल्लेखनीय पद्यांश प्रथम चोटि स्वर्गदूत गब्रिएलले झन्डै २,६०० वर्षअघि चलाएका थिए। परमेश्‍वरका भयभीत अगमवक्‍ताले गब्रिएलले यसो भनेको सुने: “हे मानिस, यो बुझ्‌ कि अन्तको समयलाई यसले संकेत गर्छ।”—दानियल ८:१७.

यो “अन्तको समय” हो !

४. अरू कुन तरिकामा पनि बाइबलले अन्तको समयको उल्लेख गर्छ?

दानियलको किताबमा “अन्तको समय” र “तोकिएको समय” भन्‍ने अभिव्यक्‍ति छ चोटि प्रयोग गरिएका छन्‌। (दानियल ८:१७, १९; ११:३५, ४०; १२:४, ९) यी अभिव्यक्‍ति, प्रेरित पावलले भविष्यवाणी गरेको “आखिरी दिन[सित]” सम्बन्धित छन्‌। (२ तिमोथी ३:१-५) येशू ख्रीष्टले सोही समयावधिलाई स्वर्गमा सिंहासनारूढ राजाको रूपमा हुने उहाँको “आगमन” भनेर संकेत गर्नुभयो।—मत्ती २४:३७-३९.

५, ६. अन्तको समयको दौडान को ‘यता र उता डुलेका’ छन्‌ र त्यसको नतिजा के भएको छ?

दानियल १२:४ (नयाँ संशोधित संस्करण) यसो भन्छ: “तिमीचाहिं, हे दानिएल, यस चर्मपत्रका मुट्ठाका वचनहरू अन्तको समयसम्म बन्द गरी मोहोर लगाएर राख। धेरै जना ज्ञान बढ़ाउनलाई यता र उता जानेछन्‌।” दानियलले लेखेका प्रायजसो कुराहरू शताब्दीयौंसम्म गोप्य राखिनुका साथै मानव समझदेखि बन्द राखिएका थिए। तर आज नि?

यस “अन्तको समय[मा]” थुप्रै विश्‍वासी मसीहीले परमेश्‍वरको वचनका पानाहरूमा ‘यता र उता’ खोजेका छन्‌। नतिजा के भएको छ? यहोवाको आशिष्‌ले गर्दा तिनीहरूले साँचो ज्ञान प्रशस्त भेट्टाएका छन्‌। उदाहरणका लागि, येशू ख्रीष्ट १९१४ मा स्वर्गमा राजा हुनुभयो भनी बुझ्न यहोवाका अभिषिक्‍त साक्षीहरूले अन्तरदृष्टि पाए। दोस्रो पत्रुस १:१९-२१ मा लिपिबद्ध प्रेरितका शब्दहरू मनमा राख्दै अभिषिक्‍त जन तथा तिनीहरूका वफादार सँगीहरू ‘भविष्यसूचक वचनमा ध्यान दिंदैछन्‌’ र “अन्तको समय” अहिल्यै हो भनी पूर्णतया विश्‍वस्त छन्‌।

७. कुन कुन विवरणले गर्दा पनि दानियलको किताब बेजोड हुन पुगेको हो?

दानियलको किताब निकै तरिकामा अनुपम छ। यस किताबमा उल्लेखित राजाले आफ्ना ज्ञानी पुरुषहरूले तिनको रहस्यमय सपनाको अर्थ खुलाउन नसकेकोले मार्ने धम्की दिएको तर परमेश्‍वरको अगमवक्‍ताले अर्थ खुलाएको विवरण पाइन्छ। एउटा अग्लो मूर्तिलाई उपासना गर्न इन्कार गर्ने तीन जवानहरू दन्केको आगोको भट्टीमा फ्याँकिन्छन्‌ तर तिनीहरूको केशसमेत डढ्‌दैन। भोजको रमझममा सयौं मानिसहरूले महलको भित्तामा एउटा हातले रहस्यमय शब्दहरू लेखेको देख्छन्‌। दुष्ट षड्यन्त्रकारीहरूले एक जना वृद्ध पुरुषलाई सिंहको खोरमा फ्याँकिदिन्छन्‌ तर तिनको शरीरमा चिथोरेको एउटा सानो दागसम्म भेटिंदैन। दर्शनमा चारवटा जन्तु देखा पर्छन्‌ र तिनीहरूको भविष्यसूचक अर्थ “अन्तको समय[सम्मै]” लागू हुन्छ।

८, ९. दानियलको किताबले विशेष गरी अहिले अन्तको समयमा कसरी लाभ पुऱ्‍याउनसक्छ?

स्पष्टतः दानियलको किताबमा दुइटा बेग्लाबेग्लै प्रकारको वर्णन पाइन्छ। एउटा घटनाको वर्णन, अर्को भूविष्यसूचक। दुवैले हाम्रो विश्‍वासलाई बलियो बनाउन सक्छ। यहोवा परमेश्‍वरप्रति निष्ठा कायम राख्नेहरूलाई उहाँले आशिष्‌ दिनुहुन्छ भनी घटनाहरूको वर्णनले देखाउँछ। अर्कोतिर, यहोवालाई इतिहासको कालक्रम शताब्दीयौं र हजारौं वर्षअघिदेखि नै थाह हुन्छ भनी देखाएर भविष्यसूचक अंशहरूले हाम्रो विश्‍वास बढाउँछन्‌।

दानियलले लिपिबद्ध गरेका थुप्रै भविष्यवाणीले परमेश्‍वरको राज्यप्रति ध्यानाकर्षण गर्छन्‌। त्यस्ता भविष्यवाणीहरू पूरा भएको देख्दा हाम्रो विश्‍वास अझ बलियो हुनुका साथै हामी साँच्चै “अन्तको समय[मा]” बाँचिरहेका छौं भनी झनै विश्‍वस्त हुन्छौं। तर दानियलको किताबका केही आलोचकहरू भने ती भविष्यवाणीहरू पूरा भएपछि मात्र लेखिएका हुन्‌ भन्‍ने आरोप लगाउँछन्‌। त्यस्ता आरोपहरू सत्य हुन्‌ भने “अन्तको समय[बारे]” दानियलको किताबमा गरिएका भविष्यवाणीमाथि गम्भीर प्रश्‍नहरू खडा हुन्छन्‌। आलोचकहरू किताबमा दिइएका घटनाको वर्णनहरूमाथि पनि प्रश्‍न खडा गर्छन्‌। अतः आउनुहोस्‌, हामी जाँचबुझ गरौं।

पुर्पक्ष !

१०. दानियलको किताबलाई के कुराको दोष लागेको छ?

१० अदालतमा पुर्पक्षको दृश्‍य हेरिरहनुभएको कल्पना गर्नुहोस्‌। सरकारी वकिलले प्रतिवादी जालसाजीको दोषी छ भन्छन्‌। दानियलको किताबले यसका विवरणहरू साँचो हुन्‌ अनि यो सा.यु.पू. सातौं र छैटौं शताब्दीतिरका हिब्रू अगमवक्‍ता दानियलले लेखेका किताब हो भन्छ। तर आलोचकहरूले त्यो किताब जाली हो भन्छन्‌। त्यसोभए आउनुहोस्‌, सर्वप्रथम, त्यस किताबमा गरिएको घटनाको वर्णन, ऐतिहासिक तथ्यसित मेल खान्छ कि खाँदैन हेरौं।

११, १२. बेलसजर काल्पनिक व्यक्‍ति मात्र हुन्‌ भन्‍ने दोष के भयो?

११ उदाहरणका लागि, त्यस राजाको घटनालाई विचार गरौं, जो आलोचकअनुसार अस्तित्वमा नै थिएनन्‌। दानियल अध्याय ५ ले सा.यु.पू. ५३९ मा बाबेलको पराजय हुँदा त्यहाँका राजा बेलसजर थिए भनी बताउँछ। बाइबलबाहेक अरू कतै पनि बेलसजरको नाउँ नपाइएको हुँदा आलोचकहरूले तिनको अस्तित्वमाथि प्रश्‍न खडा गरेका छन्‌। पुरातन इतिहासकारहरूको भनाइअनुसार बाबेलको अन्तिम राजा नाबोनिडस हुन्‌।

१२ तथापि, १८५४ मा अहिले दक्षिणी इराकमा पर्ने, पुरातन बाबेलको ऊर शहरको भग्नावशेषमा बेलनाकार ढुंग्रोहरू फेला पऱ्‍यो। उक्‍त ढुंग्रोमा कोरिएका कीलाक्षरमा राजा नाबोनिडसको प्रार्थना थियो र त्यसमा “मेरो जेठो छोरा, बेलसारसुर” भनी उल्लेख गरिएको पाइयो। आलोचकहरूसमेत यस कुरामा सहमत हुनुपऱ्‍यो: दानियलको किताबको बेलसजर यिनै हुन्‌। अतः अस्तित्वमा नभएको राजा, साँच्चै अस्तित्वमा नभएको होइन रहेछ तर बाइबलबाहेक अन्य स्रोतहरूमा उल्लेख भएको अहिलेसम्म पत्ता नलागेको मात्र हो। दानियलका लेखोटहरू साँचो हुन्‌ भन्‍ने थुप्रै प्रमाणहरूमध्ये यो एउटा मात्रै हो। यस्ता प्रमाणहरूले दानियलको किताब साँच्चै परमेश्‍वरको भविष्यसूचक वचनको भाग हो र अहिले यस “अन्तको समय[मा]” त्यसमा गहिरिएर ध्यान दिनु नितान्त आवश्‍यक छ भनी देखाउँछ।

१३, १४. नबूकदनेसर को थिए अनि तिनी कुन झूटो देवको उपासना गर्थे?

१३ दानियलको किताबमा विश्‍वशक्‍तिहरूको उत्थान र केही शासकहरूको कार्यबारे पनि भविष्यवाणी गरिएको छ। ती शासकहरूमध्ये एक जनालाई योद्धा भन्‍न सकिन्छ, जसले एउटा साम्राज्य खडा गरे। बाबेलको युवराजधिराजको हैसियतमा तिनी अनि तिनका सेनाले मिश्री फिरऊन नेकोको सेनालाई कर्कमीशमा परास्त गरे। तर एउटा सन्देशको कारण विजयी राजकुमारले दुश्‍मनहरू सबैलाई सखाप पार्ने अन्तिम कार्य आफ्ना सेनापतिहरूको जिम्मामा छोड्‌न विवश भए। आफ्नो पिता नेबोपोलास्सरको मृत्यु भएको थाह पाएपछि जवान नबूकदनेसरले सा.यु.पू. ६२४ मा राजपाट सँभाले। आफ्नो ४३ वर्षे शासनको दौडान पहिले अश्‍शूरको अधीनमा रहेको भूमि आफ्नो साम्राज्यमा गाभे र तिनले अराम, प्यालेस्टाइन र मिश्रको सीमासम्म आफ्नो राज्य विस्तार गरे।

१४ नबूकदनेसर विशेष गरी बाबेलको प्रधानदेव मार्डुकलाई पुज्थे। राजाले आफ्ना सबै विजयहरूको श्रेय मार्डुकलाई दिन्थे। नबूकदनेसरले बाबेलमा मार्डुक र अन्य थुप्रै बेबिलोनी देवीदेवताहरूका राम्रा राम्रा असंख्य मन्दिरहरू निर्माण गर्न लगाए। बाबेलका राजाले दूराको मैदानमा खडा गरेको सुनको मूर्ति पनि मार्डुकलाई नै समर्पित गरेको हुनसक्छ। (दानियल ३:१, २) अनि नबूकदनेसरले आफ्ना सेना परिचालन गर्न तन्त्रमन्त्रमा असाध्यै भरोसा राखेको देखिन्छ।

१५, १६. नबूकदनेसरले बेबिलोनको अनुहार कसरी बद्‌ले अनि आफ्नो महानताको घमण्ड गर्दा तिनलाई के भयो?

१५ आफ्नो पिताले सुरु गरेको बाबेलका दुई पत्रे बडेमाका पर्खालहरूको निर्माण कार्य पूरा गरेर नबूकदनेसरले राजधानीलाई अजयजस्तै बनाए। आफ्नो मातृभूमिको जंगल अनि डाँडाकाँडाको चाहना गर्ने मिद्यानी पत्नीलाई खुसी पार्न नबूकदनेसरले ह्‍यांगिङ गार्डन बनाउन लगाए जसलाई प्राचीन संसारका सात आश्‍चर्यहरूमध्ये एक मानिन्छ। बाबेललाई चारैतिर पर्खालले घेरेर तिनले त्यतिबेलाको सबैभन्दा मजबुत शहर बनाए। अनि झूटो उपासनाको त्यस्तो थलो खडा गर्न सकेकोमा तिनी घमण्डले फुले!

१६ एक दिन नबूकदनेसरले “के यो त्यही महान्‌ बाबेल होइन जो मैले आफ्नो . . . निम्ति . . . बनाएको होइन र?” भनी घमण्ड गरे। तथापि, दानियल ४:३०-३६ अनुसार “यी शब्दहरू उनको ओठबाट नसिद्धिंदै” तिनी बौलाहा भए। दानियलले भविष्यवाणी गरेझैं तिनले सात वर्षसम्म शासन गर्न सकेनन्‌ र गाईवस्तुले जस्तै घाँसपात खाए। त्यसपछि तिनको राज्य तिनलाई नै फिर्ता गरियो। के तपाईंलाई यसको भविष्यसूचक महत्त्व थाह छ? के तपाईं यसको महान्‌ पूर्तिले कसरी अन्तको समयलाई समेत गाभेको छ, व्याख्या गर्न सक्नुहुन्छ?

भविष्यसूचक सूत्रहरू केलाउँदै

१७. नबूकदनेसरले विश्‍वशक्‍ति हासिल गरेको दोस्रो वर्षमा परमेश्‍वरले तिनलाई देखाउनुभएको भविष्यसूचक सपनालाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ?

१७ आउनुहोस्‌, अब हामी दानियलको किताबबाट केही भविष्यसूचक सूत्रहरू केलाऔं। विश्‍व शासकको हैसियतमा नबूकदनेसरको शासनको दोस्रो वर्षमा (सा.यु.पू. ६०६/६०५) परमेश्‍वरले तिनलाई एउटा डरलाग्दो सपना देखाउनुभयो। दानियल अध्याय २ अनुसार सपनामा एउटा विशाल मूर्ति थियो जसको टाउको सुनको, छाती र हातहरू चाँदीको, पेट र फिला पितलको, खुट्टाहरू केही फलामका र केही माटाका थिए। यस मूर्तिको विभिन्‍न भागले केलाई प्रतिनिधित्व गर्थ्यो?

१८. नबूकदनेसरले सपनामा देखेको मूर्तिको सुनौलो टाउको, चाँदीको छाती र हातहरू अनि पितलको पेट र फिलाहरूले कसको प्रतिनिधित्व गऱ्‍यो?

१८ यहोवाका अगमवक्‍ताले नबूकदनेसरलाई यसो भने: “हे महाराज, . . . हजूरनै त्यो सुनको टाउको हुनुहुन्छ।” (दानियल २:३७, ३८) नबूकदनेसर बाबेल साम्राज्यमाथि शासन गर्ने राजकुलका प्रमुख थिए। मूर्तिको चाँदीको छाती र हातहरूले प्रतिनिधित्व गर्ने मादी-फारसी साम्राज्यले बाबेललाई परास्त गऱ्‍यो। त्यसपछि युनानी साम्राज्य आयो जसको प्रतिनिधित्व पितलको पेट र फिलाले गऱ्‍यो। त्यस विश्‍वशक्‍तिको उत्थान कसरी भयो?

१९, २०. महान सिकन्दर को थिए अनि युनानलाई विश्‍वशक्‍तिको रूपमा खडा गर्न तिनले कस्तो भूमिका निर्वाह गरे?

१९ सा.यु.पू. चौथो शताब्दीमा दानियलको भविष्यवाणीको यस भाग पूरा गर्न एक जना युवकले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। तिनको जन्म सा.यु.पू. ३५६ मा भएको थियो र संसारले तिनलाई महान्‌ सिकन्दरको रूपमा चिन्छन्‌। सा.यु.पू. ३३६ मा आफ्नो पिता, फिलिपको हत्यापछि २० वर्षीय सिकन्दर म्यासिडोनियाको सिंहासनमा बसे।

२० सा.यु.पू. ३३४ मे महिनाको सुरुतिर सिकन्दरले विजय अभियान थाले। तिनको सैन्यदल सानो भए तापनि निपुण थिए। तिनीसँग जम्माजम्मी ३०,००० थलसेना र ५,००० घोडचढीहरू थिए। सा.यु.पू. ३३४ मा सिकन्दरले उत्तर पश्‍चिमी एसिया माइनरको (हाल टर्की) ग्रानिकस नदीमा फारसीहरू विरुद्ध पहिलो विजय हासिल गरे। सा.यु.पू. ३२६ सम्ममा यस अथक विजयी योद्धाले फारसलाई परास्त गरिसकेका थिए र हाल पाकिस्तानमा अवस्थित सिन्धु नदीजस्तो सुदूर पूर्वसम्म पुगेर एकपछि अर्को विजय हासिल गरे। तर सिकन्दरले आफ्नो अन्तिम युद्ध बाबेलमा हारे। सा.यु.पू. ३२३ जून १३ का दिन तिनले ३२ वर्ष ८ महिनाको कलिलो उमेरमा सबैभन्दा ठूलो शत्रु, मृत्युको अगाडि हार स्वीकार्नुपऱ्‍यो। (१ कोरिन्थी १५:५५) तथापि, दानियलको भविष्यवाणीमा अगमवाणी गरिएझैं तिनले हासिल गरेका विजयहरूले गर्दा ग्रीस विश्‍वशक्‍ति भयो।

२१. रोमी साम्राज्यको अतिरिक्‍त सपनामा देखिएको मूर्तिको फलामे खुट्टाहरूले अर्को कुन विश्‍वशक्‍तिलाई पनि चित्रित गर्छ?

२१ विशाल मूर्तिका फलामे खुट्टाहरूले केको प्रतिनिधित्व गर्छ त? त्यसले फलामजस्तो बलियो रोमको प्रतिनिधित्व गर्छ जसले युनानी साम्राज्यलाई चकनाचूर पाऱ्‍यो। येशू ख्रीष्टले घोषणा गर्नुभएको परमेश्‍वरको राज्यप्रति कुनै आदर नदेखाई रोमले सा.यु. ३३ मा येशूलाई शूलीमा झुन्डाएर माऱ्‍यो। साँचो मसीही धर्म अन्त गर्न रोमले येशूका चेलाहरूलाई सतायो। तथापि, नबूकदनेसरको सपनाको मूर्तिको फलामे खुट्टाले रोमी साम्राज्य मात्र होइन तर त्यसबाट उम्रेको अर्को विश्‍वशक्‍ति—एंग्लो-अमेरिकी विश्‍वशक्‍तिलाई पनि चित्रित गर्दछ।

२२. हामी अन्तको पनि अन्तिम समयमा बाँचिरहेका छौं भनेर बुझ्न सपनामा देखिएको मूर्तिले कसरी मदत गर्छ?

२२ गहिरिएर अध्ययन गर्दा हामी अन्तको पनि अन्तमा पुगिसकेका छौं भनेर प्रस्ट हुन्छ किनभने हामी नबूकदनेसरले सपनामा देखेको मूर्तिको माटो र फलाम मिसिएको पैतालासम्म पुगिसक्यौं। वर्तमान सरकारहरूमध्ये केही त्यस पैतालाका फलामजस्तै बलिया छन्‌ वा अख्तियार जमाउँछन्‌ भने अरूचाहिं माटाजस्तै छन्‌। “राज्यहरू” माटाजस्ता कमजोर भए तापनि, फलामजस्तो बलियो शासन प्रणालीहरू साधारण जनतालाई सरकारबारे आफ्नो राय व्यक्‍त गर्ने छुट दिन बाध्य भएका छन्‌। (दानियल २:४३; अय्यूब १०:९) माटो र फलाम मिसिन नसकेझैं अख्तियार जमाउने शासक अनि साधरण जनता नङ र मासु जस्तै भएर बस्न सक्दैनन्‌। तर राजनीतिक तवरमा टुक्रिएको यस्तो संसारलाई परमेश्‍वरको राज्यले अब चाँडै हटाउनेछ।—दानियल २:४४.

२३. बेलसजरको शासनकालको पहिलो वर्षमा दानियलले देखेको सपना अनि दर्शनहरूलाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ?

२३ दानियल सातौं अध्यायको एकदमै चाखलाग्दो भविष्यवाणीले पनि अन्तको समयबारे बताउँछ। यस अध्यायमा बाबेलको राजा बेलसजरको शासनको प्रथम वर्षमा भएको घटना बताइएको छ। सत्तरी वर्ष नाघिसकेका दानियलले “पलङ्‌गमा ढल्किरहेको बेला . . . सपना र दर्शनहरू” देख्छन्‌। ती दर्शनहरू देखेर तिनी एकदमै तर्सिन्छन्‌! “हेर!” भनेर तिनी चिच्याउँछन्‌। “आकाशका चारै बतासले महासमुद्रलाई हल्लाएको मैले देखें। औ समुद्रबाट चार किसिमका भिन्दाभिन्दै ठूला ठूला जन्तुहरू बाहिर निस्के।” (दानियल ७:१-८, १५) कस्ता अनौठा जन्तुहरू! पहिलोचाहिं पखेटा भएको सिंह थियो अनि दोस्रो जन्तु भालु जस्तो थियो। त्यसपछि चारवटा पखेटा र चारवटा टाउको भएको चितुवा देखा पर्छ! अत्यन्तै बलियो चौथो जन्तुको चाहिं फलामका ठूला दाँत र दस सिङ छन्‌। अनि दस सिङहरूमध्ये एउटा सानो सिङ थियो र यस सिङमा “मानिसको जस्तै आँखा र ठूला ठूला कुरा गर्ने मुख थिए।” कस्ता घिनलाग्दा जन्तुहरू!

२४. दानियल ७:९-१४ अनुसार दानियलले स्वर्गमा के देख्छन्‌ अनि तिनको यो दर्शनले कुन कुरालाई औंल्याउँछ?

२४ त्यसपछि, दानियलको दर्शन स्वर्गतिर मोडिन्छ। (दानियल ७:९-१४) “अति वृद्ध व्यक्‍ति,” यहोवा परमेश्‍वर स्वर्गीय बासस्थानमा न्यायाधीशको रूपमा सम्पूर्ण महिमा पाएर सिंहासनमा विराजमान हुनुभएको देखिन्छ। ‘हजारौं हजारले उहाँको सेवा गर्दैछन्‌ र लाखौं लाख उहाँको सामु खड़ा छन्‌।’ जन्तुहरूको प्रतिकूल न्याय गर्दै परमेश्‍वरले तिनीहरूको हातबाट सर्वाधिकार खोस्नुहुन्छ र चौथो जन्तुलाई नाश गर्नुहुन्छ। “विभिन्‍न भाषा बोल्ने सबै जातिका मानिसहरू[माथि]” स्थायी शासन गर्ने सर्वाधिकार “मानिसका पुत्रजस्तै कोही[लाई]” दिइन्छ। यसले “अन्तको समय” र १९१४ मा मानिसको पुत्र, येशू ख्रीष्ट सिंहासनमा बस्नुभएको समयलाई चित्रण गर्छ।

२५, २६. दानियलको किताब पढिसकेपछि हाम्रो मनमा कुन प्रश्‍नहरू उठ्‌नसक्छ र कुन प्रकाशनले त्यसको जवाफ पाउन मदत गर्छ?

२५ दानियलको किताब पढ्‌ने व्यक्‍तिहरूको पक्कै पनि विभिन्‍न प्रश्‍नहरू होलान्‌। उदाहरणका लागि, दानियल अध्याय ७ का चार जन्तुहरूले केको प्रतिनिधित्व गर्छन्‌? दानियल ९:२४-२७ मा उल्लिखित भविष्यसूचक “सत्तरी हप्ता” के हो? अनि दानियल अध्याय ११ मा उल्लिखित “उत्तरका राजा” र “दक्षिणका राजा[बीचको]” भविष्यसूचक युद्ध नि? अहिले यस “अन्तको समय[मा]” ती राजाहरूबाट के आशा गर्नसक्छौं?

२६ दानियल ७:१८ मा “सर्वोच्चका पवित्र जन” कहलिएका उहाँका पार्थिव अभिषिक्‍त जनहरूलाई यहोवाले यस्ता विषयहरूमा अन्तरदृष्टि दिनुभएको छ। यसबाहेक, “विश्‍वासी र बुद्धिमान दास[ले]” अगमवक्‍ता दानियलको प्रेरित लेखोटहरूबाट हामी सबैले अझ थप अन्तरदृष्टि प्राप्त गर्न सकून्‌ भन्‍ने हेतुले प्रबन्ध मिलाएको छ। (मत्ती २४:४५) हालै प्रकाशित पे अटेन्सन टु डानियल्स प्रोफेसी! शीर्षक भएको नयाँ किताबमा तपाईंले उक्‍त अन्तरदृष्टि पाउन सक्नुहुन्छ। आकर्षक चित्रहरू भएको यस ३२० पृष्ठे प्रकाशनमा दानियलको किताबको हरेक भागलाई समेटिएको छ। यसमा हाम्रो विश्‍वासलाई अझ बलियो बनाउने प्रत्येक भविष्यवाणीका साथै प्रिय अगमवक्‍ता दानियलले लिपिबद्ध गरेका सबै घटना विवरणहरूको छलफल गरिएको छ।

हाम्रो समयको लागि वास्तविक अर्थ

२७, २८. (क) दानियलको किताबमा दिइएका भविष्यवाणीको पूर्तिबारे निश्‍चिन्त भएर के भन्‍न सकिन्छ? (ख) हामी कस्तो समयमा बाँचिरहेका छौं अनि हामीले के गर्नुपर्ने हो?

२७ अब यो महत्त्वपूर्ण बुँदा विचार गर्नुहोस्‌: दानियलको किताबका केही विवरणबाहेक अन्य सबै भविष्यवाणीहरू पूरा भइसके। उदाहरणका लागि, दानियल अध्याय २ मा उल्लिखित सपनाको मूर्तिको खुट्टाले चित्रण गर्ने विश्‍व परिस्थिति हामीले देखिसकेका छौं। दानियल अध्याय ४ मा उल्लिखित ठुटो रूखमा बाँधिएको साङ्‌ला १९१४ मा स्वर्गमा परमेश्‍वरको राज्य स्थापना हुँदा फुकाइ सकिएको छ। हो, दानियल अध्याय ७ मा भविष्यवाणी गरिएझैं अति वृद्ध व्यक्‍तिले सर्वाधिकार मानिसको पुत्रलाई सुम्पनुभयो।—दानियल ७:१३, १४; मत्ती १६:२७–१७:९.

२८ दानियल अध्याय ८ मा उल्लिखित २,३०० दिन अनि अध्याय १२ को १,२९० दिन र १,३३५ दिन पनि सबै बितिसके। दानियल अध्याय ११ को अध्ययनले दक्षिणका राजा र उत्तरका राजाबीचको झगडा चरमोत्कर्षमा पुगिसक्यो भनेर देखाउँछ। यी सबैले हामी “अन्तको समय[को]” चरम बिन्दुमा छौं भन्‍ने धर्मशास्त्रीय प्रमाणलाई अझ बलियो बनाउँछ। हामी बाँचिरहेको महत्त्वपूर्ण घडीलाई विचार गर्दै हामीले के गर्ने निर्णय गर्नुपर्ने हो त? निस्सन्देह, हामीले यहोवा परमेश्‍वरको भविष्यसूचक वचनमा ध्यान दिइरहनुपर्छ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• आज हाम्रो समयबारे सबै मानिसजातिले कुन कुरा जानोस्‌ भन्‍ने यहोवाको इच्छा छ?

• दानियलको किताबले हाम्रो विश्‍वासलाई कसरी बलियो बनाउनसक्छ?

• नबूकदनेसरले सपनामा देखेको मूर्तिका विभिन्‍न भागके हुन्‌, अनि त्यसले के केलाई चित्रण गर्छ?

• दानियलको किताबमा दिइएका भविष्यवाणीहरूको पूर्तिबारे कुन उल्लेखनीय कुरा भन्‍न सकिन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]