के “मसीही” शब्दले आफ्नो मौलिक अर्थ गुमाउँदैछ?
के “मसीही” शब्दले आफ्नो मौलिक अर्थ गुमाउँदैछ?
मसीही हुनुको अर्थ के हो? तपाईं यसको जवाफ कसरी दिनुहुन्छ? विभिन्न मुलुकका भिन्नाभिन्नै मानिसहरूलाई यही प्रश्न सोधिएको थियो र तिनीहरूले दिएको जवाफको नमुना यसप्रकार छन्:
“येशूलाई पछ्याउनु र उहाँको नक्कल गर्नु।”
“असल व्यक्ति हुनु र अरूसित बाँड्नु।”
“ख्रीष्टलाई प्रभु र उद्धारक स्वीकार्नु।”
“मासमा जानु, रोजरी जप्नु र प्रसाद ग्रहण गर्नु।”
“मसीही हुन चर्च जानैपर्छ भन्ने कुरामा म विश्वास गर्दिनँ।”
शब्दकोशहरूले समेत अन्योलमा पार्ने खालका परिभाषाहरू दिन्छन्। वास्तवमा, एउटा शब्दकोशले “मसीही” शब्दको १० वटा परिभाषा दिएको छ र ती परिभाषाहरू “येशू ख्रीष्टको धर्ममा विश्वास गर्नु वा त्यस धर्ममा हुनु” देखि “असल वा ग्रहणयोग्य व्यक्ति हुनु” सम्मका थिए। त्यसैकारण, थुप्रैले मसीही हुनुको अर्थ के हो, झट्टै भन्न नसक्नुमा अचम्म मान्नुपर्ने कारण देखिंदैन।
स्वतन्त्र हुन खोज्ने झुकाउ
आज मसीही भनौंदाहरूबीच र एउटै चर्च जानेहरूबीचसमेत ईश्वरीय प्रेरणाद्वारा लेखिएको बाइबल, विकासवादको सिद्धान्त, राजनीतिमा चर्चको संलग्नता र अरूसित आफ्नो विश्वास बाँड्नेजस्ता विषयहरूमा बेग्लाबेग्लै धारणाहरू फेला पार्न सकिन्छ। गर्भपतन, समलैंगिकता र विवाह नगरी सँगै बस्ने जोडीजस्ता नैतिक विषयहरू अक्सर विवादग्रस्त विषय बनेका छन्। कुरा स्पष्ट छ, यो स्वतन्त्र हुन खोज्ने झुकाउ हो।
उदाहरणका लागि, प्रोटेस्टेन्ट चर्चको एउटा अदालतले “समलिंगी भनेर चिनिएका प्राचीनलाई आफ्नो बोर्डमा निर्वाचित गराउने” चर्चको हकलाई हालै मान्यता दिएका छन् भनी क्रिश्चियन सेन्चुरी पत्रिका रिपोर्ट गर्छ। केही खास धर्मविद्हरूले त मुक्ति पाउन येशूमा विश्वास गर्नु अत्यावश्यक छैन भन्ने धारणासमेत अघि सारेका छन्। तिनीहरू यहूदी, मुसलमान र अन्य व्यक्ति पनि “[मसीहीहरू जस्तै] स्वर्गमा जानेहरूमध्ये हुनसक्छन्” भनेर विश्वास गर्छन् भनी द न्यु योर्क टाइम्स रिपोर्ट गर्छ।
सक्नुहुन्छ भने, मार्क्सवादीले पूँजीवादीको पक्ष लिएको वा प्रजातन्त्रवादीले निरंकुश शासनलाई अघि सारेको वा वातावरणविद्ले वन विनाशलाई समर्थन गरेको कल्पना गर्नुहोस्। तपाईं भन्नु होला, “त्यो व्यक्ति मार्क्सवादी, प्रजातन्त्रवादी वा वातावरणविद् हुनै सक्दैन।” हो, तपाईंले भन्नुभएको कुरा सही हुनसक्छ। यद्यपि, आजका मसीही भनौंदाहरूले राखेका भिन्नाभिन्नै धारणाहरूलाई विचार गर्नुभयो भने तिनीहरूको विश्वास पूर्व र पश्चिमजस्तै दुई विपरीत दिशातर्फ फर्केको र अक्सर मसीहीधर्मका संस्थापक येशू ख्रीष्टले सिकाउनुभएको शिक्षा विपरीत भएको पाउनुहुनेछ। यस्ता भिन्नाभिन्नै धारणाले तिनीहरू कुन किसिमका मसीही हुन् भनेर बताउँछ?—१ कोरिन्थी १:१०.
समयसँगसँगै मसीही शिक्षालाई पनि बदल्ने चाहनाको इतिहास लामो छ। यो अब हामी बुझ्नेछौं। यस्ता परिवर्तनहरूप्रति परमेश्वर र येशू ख्रीष्टको धारणा कस्तो छ? ख्रीष्टमा आधारित नभएका शिक्षाहरू सिकाउने चर्चहरूसित के मसीही हुँ भनी दाबी गर्ने हक छ? यी प्रश्नहरूको जवाफ अर्को लेखमा छलफल गरिनेछ।