परमेश्वरलाई प्रसन्न तुल्याउने संगीत
परमेश्वरलाई प्रसन्न तुल्याउने संगीत
संगीतलाई “सम्पूर्ण राम्रा कलाहरूमध्ये सबैभन्दा पुरानो अनि प्राकृतिक” भनेर वर्णन गरिएको छ। भाषाजस्तै यो पनि एउटा यस्तो उत्कृष्ट वरदान हो, जसले मानिसलाई पशुहरूबाट अलग्गै छुट्याउँछ। संगीतले भावना जगाउँछ। यसले, सुन्ने व्यक्तिलाई आनन्दित बनाउनसक्छ, मनमा गुञ्जी रहनसक्छ र सबैभन्दा मुख्य कुरा त, संगीतले परमेश्वरलाई प्रसन्न तुल्याउनसक्छ।
बाइबलले बताएअनुसार इस्राएलीहरू संगीतमा निकै चासो राख्थे। ऊंगर्स् बाइबल डिक्सनरी-अनुसार संगीत “पुरातन बाइबलकालीन विशिष्ट कला” थियो। तिनीहरूको दैनिक उपासनामा गीत अनि वाद्ययन्त्रद्वारा बजाइएको संगीत हुन्थ्यो। तर प्रायजसो गाउने गरिन्थ्यो।
आफ्नो छोरा सुलेमानले निर्माण गरेको मन्दिरको उद्घाटन गरिनुभन्दा धेरैअघि राजा दाऊदले बासस्थानमा “संगीतको जिम्मा” दिनको लागि लेवीहरूबाट प्रतिनिधि नियुक्त गरेका थिए। (१ इतिहास ६:३१, ३२) यहोवाको उपस्थिति चित्रित गर्ने करारको सन्दूक यरूशलेममा ल्याउँदा दाऊदले “उहाँको नाउँ स्मरण गर्न र . . . परमेश्वरको प्रशंसा र स्तुति गर्न” कुनै कुनै लेवीलाई नियुक्त गरे। तिनीहरूले गाउनुका साथै “सारङ्गी र वीणाको साथमा . . . झ्यामटा, . . . तुरही” बजाए। दाऊदले तिनीहरूलाई “परमप्रभुलाई धन्यवाद चढाउन खटाए, ‘किनभने उहाँको प्रेम सदा सर्वदै रहिरहन्छ।’ ”—१ इतिहास १६:४-६, ४१; २५:१.
बाइबलका प्रायः अरू पुस्तकहरूको तुलनामा सबैभन्दा संगीतसित सम्बन्धित पुस्तक, भजनमा “[यहोवाको] प्रेम सदा सर्वदै रहिरहन्छ” भन्ने टुक्का थुप्रै चोटि उल्लेख गरिएको छ। उदाहरणका लागि, उक्त टुक्का भजन १३६ अध्यायको २६ वटै पदहरूको दोस्रो भागमा उल्लेख गरिएको छ। एक जना बाइबलविद् भन्छन्, “पदैपिच्छे उल्लेख हुनुको अर्थ मानिसहरूलाई त्यो टुक्का कण्ठस्थ थियो। त्यो सुन्ने जोसुकैले पनि सम्झन सक्थ्यो।”
भजनको सुरुमा लेखिएका शीर्षकहरूले वाद्ययन्त्रको प्रयोग कत्तिको व्याप्त थियो भनेर देखाउँछ। भजनको
१५० अध्यायले सितारका साथै तुरही, वीणा, खैंजड़ी, बाँसुरी र झ्यालीबारे बताउँछ। तैपनि, विशेष गरी गीत गाएको नै मन पराइन्थ्यो। पद ६ ले यस्तो आग्रह गर्छ: “सास हुने जति सबैले, परमप्रभुको प्रशंसा गर। परमप्रभुको प्रशंसा गर!”संगीतले हाम्रा भावनाहरू प्रकट गर्नेहुँदा बाइबल समयमा शोक मनाउन विलापका गीत वा शोकको भजन गाइन्थ्यो। तथापि, यसप्रकारको गीत इस्राएलीहरूले मात्र गाउँथे। इन्साइट अन द स्क्रिप्चर्स a, बाइबल कोष भन्छ, “विलाप वा शोक मनाइँदा मात्र संगीतको लय अथवा शुद्ध भाषालाई मौखिक तवरमा जोड दिनुको सट्टा शोक भजन गाउन उचित ठानिन्थ्यो।”
येशूको मृत्यु हुनु एक रातअघि येशू र उहाँका विश्वासी प्रेरितहरूले यहोवाको प्रशंसा गरे। त्यतिखेर उहाँहरूले पक्कै पनि हल्लेल भजनहरू गाएको हुनुपर्छ। (भजनसंग्रह ११३-११८) आफ्नो गुरुसँग बिछोड हुन लागेको बेला येशूका चेलाहरूलाई उक्त भजनले कत्ति बलियो बनायो होला! अझ योभन्दा मुख्य कुरा त के हो भने, तिनीहरूले “उहाँको करुणा सदा सर्वदा रहिरहन्छ” भन्ने टुक्का पाँच पाँच चोटि गाउँदा ब्रह्माण्डको सर्वोच्च सार्वभौम यहोवाको विश्वासी सेवक भइरहने तिनीहरूको संकल्प अझ बलियो भयो होला।—भजन ११८:१-४, २९.
एफिसस र कलस्सेका प्रारम्भिक मसीहीहरूले “[परमेश्वरको लागि] भजन, गीत” (शाब्दिक अर्थमा “स्तुतिगान”) गाए। त्यसका साथै तिनीहरूले आ-आफ्ना हृदयमा “आत्मिक गान” पनि गाए। (एफिसी ५:१९; कलस्सी ३:१६) तिनीहरूले संगीत तथा अलंकारको प्रयोग गरेर सुरिलो आवाजमा प्रशंसा गाए भनेर हामी निश्चित भएर भन्नसक्छौं। किनभने येशूले, “हृदयमा भरिएका कुरानै मुखले बोल्दछ” भन्नुभएको थियो नि, होइन र?—मत्ती १२:३४.
परमेश्वरलाई अप्रसन्न तुल्याउने संगीत
बाइबलमा उल्लेख गरिएको सबै संगीतले परमेश्वरलाई प्रसन्न तुल्याएन। मोशाले दस आज्ञालगायत व्यवस्था प्राप्त गर्दा सिनै पर्वतमा घटेको घटना सम्झनुहोस्। पर्वतबाट ओर्लिंदा मोशाले के सुने? तिनले “नता जित्नेहरूको न हार्नेहरूको” तर “गाउनेहरूको सोर” सुने। त्यो संगीत यहोवालाई अप्रसन्न तुल्याउने मूर्तिपूजासित सम्बन्धित थियो। त्यसैले त्यो संगीत गाउने, बजाउने लगभग ३,००० जना मारिए।—प्रस्थान ३२:१८, २५-२८.
मानिसहरूले हर प्रकारको संगीत रच्न, बजाउन र सुन्न सके तापनि सबै प्रकारका संगीतले परमेश्वरलाई प्रसन्न पार्दैन। किन? मसीही प्रेरित पावल भन्छन्: “सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुनगएका छन्।” (रोमी ३:२३) गैरमसीही प्रजनन रीतिरिवाज, मानव प्राण अमर रहन्छ भन्ने सिद्धान्त र मरियमलाई “परमेश्वरको आमा” भन्ने नाउँ दिई गरिने प्रशंसा त्यतिखेर सांगीतिक धुनहरूको विषय हुनेगर्थ्यो। यद्यपि, यस्ता विश्वास र कामहरूले साँचो परमेश्वरको अनादर गर्छ, किनकि यस्ता कुराहरू उहाँको प्रेरित वचन बाइबलमा प्रकट गरिएका कुराहरूसित पटक्कै मेल खाँदैनन्।—व्यवस्था १८:१०-१२; इजकिएल १८:४; लूका १:३५, ३८.
बुद्धिमानी भई संगीत छान्ने
अहिले संगीत छानिनसक्नु किसिमका छन्। ग्राहकहरूले हर प्रकारका सांगीतिक रेकर्डहरू किनून् भनेर कम्प्याक्ट डिस्कको खोल एकदमै आकर्षक बनाइएको हुन्छ। तर परमेश्वरको उपासकले उहाँलाई प्रसन्न तुल्याउन चाहन्छ भने, तिनीहरू झूटा धार्मिक विश्वास अथवा अनैतिकता र प्रेतवादलाई बढावा दिने स्वर तथा वाद्ययन्त्रद्वारा रचिएका संगीतहरूबाट अलग्गै रहन होसियार भई छान्नुपर्छ।
एकताक, अफ्रिकामा मसीही मिसनरीको रूपमा सेवा गर्ने अल्बर्ट आफूले त्यहाँ कहिलेकाहीं पियानो बजाउने मौका पाएको कुरा स्वीकार्छन्। तथापि, तिनी आफूसित लगेका केही ग्रामाफोन क्यासेटहरू बारम्बार सुन्थे। अहिले अल्बर्ट आफ्नै देशमा परिभ्रमण निरीक्षकको हैसियतमा मसीही मण्डलीहरूको भ्रमण गर्छन्। संगीत सुन्नको लागि तिनीसित अब पहिलेजस्तो समय छैन। तिनी भन्छन्, “मलाई मनपर्ने रचनाकार बिथोभन हुन्। वर्षौंदेखि मैले तिनका रचनाहरू सिम्फोनी, कन्सर्टो, सोनाटा अनि क्वार्टेट जम्मा गरेर राखेको छु।” ती संगीतहरू सुनेर तिनले धेरै आनन्द उठाएका छन्। हुन त हरेक मानिसलाई आ-आफ्नै इच्छाअनुसारको संगीत मनपर्छ, तर मसीही भएपछि हामीले पावलको यो सल्लाहलाई पनि याद गर्नुपर्छ: “चाहे तिमीहरू खाओ अथवा पिओ, अथवा तिमीहरू जेसुकै गर, सबै परमेश्वरकै महिमाको निम्ति गर।”—१ कोरिन्थी १०:३१.
संगीत र समर्पण
सुजीलाई संगीत असाध्यै मनपर्थ्यो। तिनी भन्छिन्, “मैले ६ वर्षको उमेरमा पियानो, १० वर्षमा भाइलिन र १२ वर्षमा हार्प बजाउन थालें।” सुजी पछि हार्प सिक्न बेलाइतको लन्डनस्थित रोयल कलेज अफ म्युजिकमा गइन्। तिनले चार वर्षसम्म प्रख्यात स्पेनी हार्पवादकबाट सिकिन् र अर्को एक वर्ष पेरिश कन्जरभेटोइरमा प्रशिक्षणमा बिताइन्। त्यसपछि तिनले संगीतमा सम्मानार्थ स्नातक पाउनुका साथै हार्प वादन अनि पियानो प्रशिक्षणमा डिप्लोमा हासिल गरिन्।
त्यसपछि, लन्डनमा सुजीले यहोवाका साक्षीहरूको मण्डलीसित सरसंगत गर्न थालिन्। त्यहाँ तिनले सँगी साक्षीहरूबीच साँचो चासो र प्रेम देखिन्। बिस्तारै तिनले यहोवाप्रति आफ्नो प्रेम बढाउँदै गइन् र उहाँको सेवा गर्ने जोस भएकोले त्यसो गर्ने तरिकाहरू खोज्न थालिन्। त्यसपछि तिनले समर्पण गरेर बप्तिस्मा लिइन्। सुजी भन्छिन्, “संगीतलाई पेसा बनाउनु भनेको समर्पित जीवनशैली बिताउनु हो। यसकारण समर्पित जीवन बिताउनु मेरो लागि कुनै अनौठो कुरो थिएन।” येशूको निर्देशन पालन गर्दै परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न मसीही सेवकाईमा भाग लिंदा तिनले सांगीतिक कार्यक्रमहरूमा पहिलेजस्तो धेरै समय बिताउन सकिनन्।—मत्ती २४:१४; मर्कूस १३:१०.
संगीतमा थोरै समय मात्र बिताउन पाउँदा तिनलाई कस्तो लाग्छ? तिनी स्वीकार्छिन्, “अभ्यास गर्ने समय नपाउँदा कहिलेकाहीं हतोत्साहित हुन्छु, तर अझै पनि म बाजागाजाहरू बजाउँछु र संगीत सुन्छु। संगीत, यहोवाले दिनुभएको वरदान हो। मैले उहाँको सेवालाई आफ्नो जीवनमा प्रथम स्थान दिएकोमा अहिले म त्यसबाट अझ बढी आनन्द उठाउँछु।”—मत्ती ६:३३.
परमेश्वरको प्रशंसा गर्ने संगीत
यहोवाका झन्डै ६० लाख साक्षीहरूसँगसँगै अल्बर्ट र सुजी नियमित तवरमा संगीतद्वारा यहोवा परमेश्वरको प्रशंसा गर्छन्। दुई सय चौतीसवटा मुलुकहरूका राज्य भवनहरूमा सञ्चालन हुने मसीही सभाहरूको सुरु र अन्तमा सम्भव भएसम्म यहोवाका साक्षीहरू यहोवाको लागि भजन गाउँछन्। मेजर अनि माइनर कीमा बजाइने मीठा धुनहरूमा धर्मशास्त्रमा आधारित बोलहरूमा गीत गाएर तिनीहरू यहोवा परमेश्वरको प्रशंसा गर्छन्।
उपस्थित सबै यहोवा हाम्रो चिन्ता गर्ने परमेश्वर हुनुहुन्छ भनी ठूलो सोरले हृदयदेखि गाउँछन् (गीत ४४)। तिनीहरू यहोवाको महिमाको गीत गाउँछन् (गीत १९०)। तिनीहरूले गाउने गीतले मसीही भातृत्व, मसीही जीवन र मसीही गुणहरूका आनन्द र जिम्मेवारीहरू प्रस्ट पार्छ। यी धुनहरू कम्पोज गर्दा एसिया, अस्ट्रेलिया, युरोप र उत्तर तथा दक्षिण अमेरिकाका विभिन्न संगितकारहरूले प्रयोग गरेका विभिन्न स्टाइलहरूको पनि तिनीहरू आनन्द उठाउँछन्। b
भजनरचयिताको समयमा लेखिएको शाही भजनको सुरुमा भनिएको छ, “परमेश्वरको निम्ति एउटा नयाँ भजन गाओ। हे सारा पृथ्वी, परमप्रभुकै निम्ति गाओ। परमप्रभुको निम्ति गाओ, उहाँको नाउँलाई धन्य भन उहाँको महिमाको वर्णन जाति जातिका बीचमा गर। सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरू वर्णन गर।” (भजन ९६:१-३) तपाईंको इलाकाका यहोवाका साक्षीहरूले यसै गरिरहेका छन् र तिनीहरूसँगसँगै प्रशंसाको गीत गाउन तपाईंलाई पनि आमन्त्रित गर्छन्। तिनीहरूको राज्य भवनमा तपाईंलाई स्वागत छ, त्यहाँ तपाईंले यहोवालाई प्रसन्न तुल्याउने संगीतद्वारा उहाँको प्रशंसा गर्ने तरिकाभनेर सिक्नसक्नुहुनेछ।
[फुटनोटहरू]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
b यी गीतहरू वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित सिङ प्रेजेस टु जेहोवा पुस्तकमा छन्।
[पृष्ठ २८-मा भएको चित्र]
गीतले यहोवाको प्रशंसा गर्छ