सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मायालु परमेश्‍वरलाई चिन्‍ने

मायालु परमेश्‍वरलाई चिन्‍ने

राज्य उद्‌घोषकहरूको रिपोर्ट

मायालु परमेश्‍वरलाई चिन्‍ने

ब्राजिल निवासी एन्टोन्यो सोह्रै वर्षको उमेरमा जिन्दगीदेखि निराश भएका थिए। आफूलाई बेकम्मा सम्झेर तिनी लागू पदार्थ दुर्व्यसनी र मतवाला भए। तिनले थुप्रै चोटि आत्महत्या गर्ने विचार गरे। यस्तै समयमा तिनले आफ्नो मुमाले भनेको यो कुरा सम्झे: “परमेश्‍वर प्रेम हुनुहुन्छ।” (१ यूहन्‍ना ४:८) तर यो मायालु परमेश्‍वर कहाँ हुनुहुन्थ्यो?

आफ्नो कुलत हटाउन एन्टोन्योले स्थानीय चर्चको पादरीसित मदत मागे। एन्टोन्यो क्याथोलिक चर्चका क्रियाकलापहरूमा एकदमै सक्रिय हुन थाले तापनि तिनको मनमा भने अझ थुप्रै प्रश्‍नहरू थिए। उदाहरणका लागि, “तिमीहरूले सत्य के हो, सो जान्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ” भनेर येशूले भन्‍नुभएको कुराले तिनलाई अकमक्क पारेको थियो। (यूहन्‍ना ८:३२) येशूले कस्तो स्वतन्त्रता दिने प्रतिज्ञा गर्नुभएको थियो? तिनले चर्चबाट आफ्ना प्रश्‍नहरूको सन्तोषजनक जवाफ पाएनन्‌। अन्तमा एन्टोन्यो लक्ष्यविहीन भएर आफ्नो पुरानै बानीमा लागे। भनौं भने, तिनी झन्‌ बढी दुर्व्यसनको दलदलमा फसे।

यसै समयताक एन्टोन्योकी पत्नी मारियाले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन सुरु गरिन्‌। एन्टोन्योले तिनको अध्ययनको विरोध नगरे तापनि साक्षीहरू “अमेरिकी साम्राज्यवादीको सेवा गर्ने अमेरिकी धर्म” मान्‍नेहरू हून्‌ भनेर बेवास्ता गरे।

तैपनि, हरेस नखाईकन मारियाले एन्टोन्योलाई मनपर्ने लेखहरू भएका प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिकाहरू घरमा चारैतिर राखिन्‌। एन्टोन्यो पढ्‌न रुचाउँथे। त्यसैले तिनकी पत्नी घरमा नहुँदा कहिलेकाहीं तिनले ती पत्रिकाहरू सरसरती हेर्थे। जीवनमा पहिलो चोटि तिनले बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ पाए। तिनी भन्छन्‌, “मेरी पत्नी र साक्षीहरूले मलाई माया अनि स्नेह देखाउन थालेको पनि मैले महसुस गर्न थालें।”

सन्‌ १९९२ को बीचतिर एन्टोन्योले पनि यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्ने निर्णय गरे। तथापि, तिनले अझै पनि लागू पदार्थको दुर्व्यसन र मतवालीपन छाडिसकेका थिएनन्‌। एक रात तिनी र तिनका साथी झुपडीबस्ती हुँदै घर फर्कंदै गर्दा प्रहरीले तिनीहरूलाई रोके। एन्टोन्योसित कोकेन भेट्टाउँदा प्रहरीले तिनलाई पिट्‌न थाले। एक जना प्रहरीले त तिनलाई हिलोमा लडाएर तिनको अनुहारैमा बन्दुकको नाल तेर्साए। अर्का प्रहरी “मार त्यसलाई!” भनेर गर्जिए।

हिलोमा लडिरहेको बेला एन्टोन्योले बितेका दिनहरू सम्झे। तिनले आफ्नो परिवार र यहोवाबाहेक अरू कुनै राम्रो कुरा सम्झन सकेनन्‌। तिनले यहोवासित मदत माग्दै छोटो प्रार्थना गरे। कुनै विशेष कारणैबिना प्रहरीले तिनलाई त्यत्तिकै छाडिदिए। यहोवाले बचाउनुभयो भनेर पूर्ण विश्‍वस्त हुँदै तिनी घर फर्के।

एन्टोन्योले नयाँ जोसकासाथ बाइबल अध्ययन गर्न थाले। बिस्तारै तिनले यहोवालाई प्रसन्‍न तुल्याउने परिवर्तनहरू गरे। (एफिसी ४:२२-२४) तिनले आत्मसंयम विकास गरेर लागू पदार्थको समस्यासँग लडाइँ गरे। तैपनि, तिनलाई डाक्टरहरूको मदत चाहियो। सुधारगृहमा दुई महिना बस्दा तिनले ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकलगायत अरू थुप्रै बाइबल प्रकाशनहरू पढ्‌ने मौका पाए। एन्टोन्यो आफूले ती पुस्तकहरूबाट सिकेका कुराहरू अरू बिरामीहरूलाई सुनाउँथे।

त्यस सुधारगृहबाट निस्केपछि एन्टोन्योले साक्षीहरूसित अध्ययन गरिरहे। आज एन्टोन्यो, मारिया, तिनीहरूका दुइटी छोरी र एन्टोन्योकी मुमा सुखी तथा एकताबद्ध परिवारको हैसियतमा यहोवाको सेवा गरिरहेका छन्‌। एन्टोन्यो यसो भन्छन्‌: “अब भने मैले ‘परमेश्‍वर प्रेम हुनुहुन्छ’ भन्‍ने शब्दको साँचो अर्थ बुझें।”

[पृष्ठ ८-मा भएको चित्र]

रियो दे जेनेरोमा प्रचार गर्दै