सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मेरो लजालु स्वभावलाई हटाउने मदत पाएँ

मेरो लजालु स्वभावलाई हटाउने मदत पाएँ

जीवनी

मेरो लजालु स्वभावलाई हटाउने मदत पाएँ

रूथ एल. एल्रिकको वृत्तान्तमा आधारित

मैले थाम्नै सकिनँ र त्यहीं पादरीको ढोकामै रुन थालें। तिनले वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीका प्रथम अध्यक्ष चार्ल्स टी. रसललाई भए नभएका लाञ्छना लगाए। म भर्खरकी ठिटी कसरी मानिसहरूसित यसरी कुरा गर्न पुगें, सुन्‍नुहोस्‌ है।

म १९१० मा स.रा.अ.-को नब्रास्कामा धार्मिक किसान परिवारमा जन्मेकी थिएँ। हामी सपरिवार मिलेर हरेक दिन बिहान अनि बेलुकी खाना खाइसकेपछि बाइबल पढ्‌ने गर्थ्यौं। मेरो बुबा, हाम्रो खेतभन्दा लगभग ६ किलोमिटर टाढा पर्ने एउटा सानो गाउँ विनसाईडको मेथोडिस्ट चर्चको आइतबारे-स्कूलका सुपरिटेन्डेन्ट हुनुहुन्थ्यो। हाम्रो एउटा बग्गी थियो र त्यसका झ्यालहरूमा टम्म पर्दा भएकोले जस्तोसुकै मौसममा पनि प्रत्येक आइतबार बिहान चर्चमा उपस्थित हुनसक्थ्यौं।

म लगभग आठ वर्षकी छँदा मेरो सानो भाइलाई पोलियो भयो र आमाले उसको उपचार गराउन आयोवाको स्वास्थ्य केन्द्रमा लानुभयो। उहाँले भाइको निकै स्याहारसुसार गर्नुभएको थियो, तैपनि भाइलाई बचाउन सक्नुभएन। त्यहाँ आयोवामा छँदा नै आमाले त्यतिखेर बाइबल स्टुडेन्ट्‌स भनेर चिनिने एक जना यहोवाका साक्षीलाई भेट्‌नुभएको थियो। उहाँहरूबीच धेरै कुराकानी भएको रहेछ र आमा त्यस आइमाईसित बाइबल स्टुडेन्ट्‌सको सभामा समेत जानुभएको रहेछ।

आमा घर फर्कनुभएपछि उहाँले वाच टावर सोसाइटीद्वारा प्रकाशित स्टडिज इन द स्क्रिप्चर्स-का थुप्रै खण्डहरू साथमै ल्याउनुभयो। बाइबल स्टुडेन्ट्‌सले सत्य सिकाइरहेका छन्‌ र मानव आत्मा अमर छ अनि दुष्टहरूले अनन्त शासना भोग्छन्‌ भन्‍ने शिक्षाहरू गलत हुन्‌ भनेर विश्‍वास गर्न उहाँलाई धेरै समय लागेन।—उत्पत्ति २:७; उपदेशक ९:५, १०; इजकिएल १८:४.

तथापि, बुबालाई यो पटक्कै मन परेको थिएन र आमा बाइबल स्टुडेन्ट्‌सको सभामा जान खोज्नुहुँदा उहाँले विरोध गर्नुहुन्थ्यो। उहाँले क्लारेन्स दाइ र मलाई चर्च लानुहुन्थ्यो। तर बुबा घरमा नहुनुहुँदा आमाले हामीसित बाइबल अध्ययन गर्नुहुन्थ्यो। परिणामस्वरूप, हामी केटाकेटीले बाइबल स्टुडेन्ट्‌स र चर्चको शिक्षा तुलना गरेर हेर्ने राम्रो मौका पायौं।

दाइ र म नियमित तवरमा चर्चको आइतबारे-स्कूल जान्थ्यौं र त्यहाँ दाइले गुरुआमालाई सोध्नुहुने प्रश्‍नहरूको उहाँसित जवाफै थिएन। घर फर्केपछि हामीले यो कुरा आमालाई बतायौं र फलतः यस विषयमा लामो छलफल गऱ्‍यौं। अन्तमा, म चर्च जान छोडें र आमासित बाइबल स्टुडेन्ट्‌सका सभाहरू जान थालें अनि यसको केही समयपछि दाइले पनि त्यसै गर्नुभयो।

लजालु बानीलाई हटाउँदै

सेप्टेम्बर १९२२ मा आमा र मैले बाइबल स्टुडेन्ट्‌सको सिडार प्वाइन्ट, ओहायोमा धाएको अधिवेशन कहिल्यै बिर्सन सक्दिनँ। वाच टावर सोसाइटीका तत्कालीन अध्यक्ष जोसेफ एफ. रदरफोर्डले उपस्थित १८,००० भन्दा धेरैलाई “राजा र राज्यको घोषणा गर्नुहोस्‌” भनेर आग्रह गर्दा त्यही शब्दहरू लेखिएको ठूलो ब्यानर खोलिएको मलाई आजसम्म याद छ। यसले मलाई निकै प्रभाव पाऱ्‍यो र विलम्ब नगरी अरूलाई परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नुपर्छ भन्‍ने लाग्यो।—मत्ती ६:९, १०; २४:१४.

सन्‌ १९२२ देखि १९२८ सम्म आयोजित अधिवेशनहरूमा थुप्रै प्रस्तावना पारित गरिएका थिए र ती सन्देशहरू, बाइबल स्टुडेन्ट्‌सले संसारभरका लाखौं लाख व्यक्‍तिहरूलाई वितरण गरेका पर्चाहरूमा समावेश गरिएका थिए। म एकदमै दुब्ली र टिंग्रिंङ परेकी थिएँ र यी छापिएका सन्देश मानिसहरूलाई हतारिंदै घरघर वितरण गर्दा तिनीहरूले मलाई ग्रेहाउण्ड नाउँ दिए। मलाई यो काम निकै रमाइलो लाग्थ्यो। यद्यपि, व्यक्‍तिगत तवरमा ढोका ढोकामा गई परमेश्‍वरको राज्यबारे अरूलाई बताउँदा मेरो सातो उड्‌थ्यो।

म साह्रै लजालु थिएँ र आमाले वर्षेनी थुप्रै नातेदारहरूलाई घरमा बोलाउनुहुँदासमेत मलाई के गरूँ कसो गरूँ हुन्थ्यो। म आफ्नो कोठामा गएर एक्लै बसिरहन्थें। एकपटक आमाले पूरै परिवारको तस्बिर खिच्न मलाई पनि बोलाउनुभयो। तर मलाई तस्बिर खिच्न मन परिरहेको थिएन। त्यसकारण, आमाले मलाई कोठाबाट तानेर निकाल्नुहुँदा म खिच्दिनँ कि खिच्दिनँ भनेर कराएँ।

तर एक दिन, म आफैले बाइबल साहित्यहरू झोलामा बोकेर सेवकाईमा जाने निधो गरें। मैले बारम्बार आफैलाई, “अहँ, म गर्न सक्दिनँ,” भनिरहें तर फेरि आफैलाई “मैले यो गर्नैपर्छ” भन्थें। जे होस्‌, म प्रचारकार्यमा निस्कें। यसरी सेवकाईमा जान मैले भएभरको सहास बटुलेकोमा पछि, मलाई साह्रै खुसी लाग्यो। म आफैले गरेकोमा होइन तर काम भएकोमा म एकदमै सन्तुष्ट थिएँ। त्यसबेलातिरै हो, मैले सुरुमा उल्लेख गरेको पादरी भेटेकी र रुँदै घर फर्केकी। समय बित्दै जाँदा यहोवाको मदतले म फेरि मानिसहरूसित ढोका ढोकामा गएर कुरा गर्नसक्ने भएँ र मेरो आनन्दको कुनै सीमा नै रहेन। त्यसपछि, १९२५ मा मैले यहोवाप्रतिको मेरो समर्पण पानीको बप्तिस्माद्वारा जाहेर गरें।

पूर्ण-समय सेवकाईको सुरुआत

म १८ वर्षकी भएपछि ठूलीआमाबाट पाएको अपुतालीबाट मैले एउटा गाडी किनें र अग्रगामी अर्थात्‌ पूर्ण-समय सेवकाई थालें। दुई वर्षपछि, १९३० मा अर्की एउटी सहयोगी र मैले प्रचारकार्यसम्बन्धी दिइएको जिम्मेवारी स्वीकाऱ्‍यौं। त्यतिञ्जेल दाइले पनि अग्रगामी सुरु गरिसक्नुभएको थियो। त्यसको केही समयमै उहाँले यहोवाका साक्षीहरूको ब्रूक्लिन, न्यु योर्कस्थित मुख्यालयको बेथेलमा सेवा गर्ने निम्तो स्वीकार्नुभयो।

त्यतिखेरै हाम्रो आमा र बुबा छुट्टिनुभयो, त्यसकारण, आमा र मैले एउटा ट्रेलर बनायौं र सँगै अग्रगामी गर्न थाल्यौं। यो संयुक्‍त राज्यमा महामन्दी छाएको बेलाको कुरा हो। अग्रगामी कार्यलाई निरन्तरता दिनु चुनौतीपूर्ण थियो तर हामीले यो कार्य गर्न नछोड्‌ने निधो गऱ्‍यौं। हामी बाइबल साहित्यहरूसित कुखुरा, अण्डा वा तरकारी र पुराना ब्याट्री तथा मिल्काइएका आल्मुनियमसमेत साट्‌थ्यौं। ती पुराना ब्याट्री तथा आल्मुनियमहरू बेचेर आएको पैसाले हामी गाडीको लागि इन्धन र अन्य आवश्‍यक कुराहरू किन्थ्यौं। पैसा जोगाउन मैले गाडीमा ग्रीज हाल्न र मोबिल फेर्न पनि सिकें। यहोवाले आफ्नो प्रतिज्ञाअनुरूप हामीलाई समस्याहरू पार गर्न मदत गर्नुभएको पनि हामीले महसुस गऱ्‍यौं।—मत्ती ६:३३.

मिसनरी सेवामा

सन्‌ १९४६ मा मलाई साउथ ल्यान्सिङ, न्यु योर्कस्थित वाचटावर बाइबल स्कूल अफ गिलियडको सातौं कक्षामा उपस्थित हुने निम्तो आयो। त्यतिञ्जेल आमा र मैले सँगै अग्रगामी गरेको पनि १५ वर्षभन्दा बढी भइसकेको थियो। तैपनि आमाले मलाई मिसनरी कार्यको लागि तालिम प्राप्त गर्ने मौकाबाट रोक्नुभएन। उहाँले मलाई गिलियड स्कूलमा उपस्थित हुने विशेषाधिकार ग्रहण गर्न प्रोत्साहन दिनुभयो। गिलियडबाट स्नातक भइसकेपछि पियोरिया, इलिनोइकी मार्था हेस र मसँगै काम गर्ने भयौं। वर्षदिनको लागि हामीलगायत अन्य दुई जना ओहायोको क्लेभल्याण्डमा खटाइयौं र त्यतिखेर समुद्रपारि कहाँ खटाइने हौं थाह नपाउञ्जेल त्यहीं पर्खिरहेका थियौं।

अनि हामीलाई खटाइएको ठाउँबारे १९४७ मा जानकारी पायौं। मार्था र म हवाइ टापुमा खटाइएका थियौं। यी टापुहरूमा बसाइँ सर्न सजिलो भएकोले आमा नजिकैको होनोलुलु शहरमा बस्न आउनुभयो। उहाँको स्वास्थ्य बिग्रँदै गइरहेको थियो। त्यसकारण, मिसनरी कार्यका साथै मैले आमालाई पनि मदत गर्न थालें। उहाँ १९५६ मा ७७ वर्षको उमेरमा हवाइमा नै बित्नुभयो। त्यतिञ्जेल मैले उहाँको हेरचाह गरेकी थिएँ। हामी हवाइमा आइपुग्दा, करिब १३० जना साक्षीहरू थिए तर आमाको मृत्यु हुँदासम्म त्यहाँ एक हजारभन्दा बढी साक्षीहरू भए र त्यसपछि त्यहाँ मिसनरीहरूको आवश्‍यकता परेन।

पछि १९५७ मा मार्था र मैले वाच टावर सोसाइटीबाट हामीलाई जापान जानुहुने हो कि भन्‍ने पत्र पायौं। हाम्रो पहिलो चिन्ता नै यो उमेरमा जापानी भाषा कसरी पो सिक्ने होला भन्‍ने थियो। त्यतिखेर म ४८ वर्ष पुगिसकेकी थिएँ अनि मार्था मभन्दा चार वर्ष कान्छी थिइन्‌। तर हामीले यस कुरालाई यहोवाको हातमा छोड्यौं र यो कार्यभार स्वीकाऱ्‍यौं।

सन्‌ १९५८ मा न्यु योर्क शहरको यांकी स्टेडियम र पोलो ग्राउण्डमा आयोजित अन्तरराष्ट्रिय अधिवेशनको लगत्तैपछि हामी जहाज चढेर टोकियोतिर लाग्यौं। योकोहामाको बन्दरगाहमा आइपुगेका मात्र थियौं हामीलाई समुद्री हुरीले झटारो हान्यो। त्यहाँ हामीले डन र माबेल ह्‍यास्लेट, लोइड र मेल्बा ब्यारी तथा अन्य मिसनरीहरूलाई भेट्यौं। त्यतिखेर जापानमा १,१२४ जना साक्षीहरू थिए।

हामीले तुरुन्तै जापानी भाषा सिक्न थाल्यौं र ढोकाढोकाको सेवकाईमा भाग लियौं। अंग्रेजी अक्षरहरू प्रयोग गर्दै हामीले जापानी भाषामा गरिने प्रस्तुतिहरू लेख्यौं र हामी ती सेवकाईमा पढ्‌थ्यौं। प्रत्युत्तरमा घरधनीहरूले “योरोसीइ देस्‌,” अथवा “केक्को देस्‌” भन्थे र पछि हामीले यसको अर्थ, “ठीक छ” अथवा “राम्रो छ” रहेछ भनेर थाह पायौं। तर यी शब्दहरू अस्वीकृति जनाउँदा पनि प्रयोग गरिने भएकोले घरधनीलाई चासो छ कि छैन हामीलाई सधैं थाह हुँदैनथ्यो। यी शब्दहरूको अर्थ स्वर वा अनुहारको हाउभावअनुसार फरक फरक हुन्थे। यी शब्दहरूको सही अर्थ पत्ता लगाउन हामीलाई समय लाग्यो।

मेरो हृदयलाई प्रफुल्लित

बनाउने अनुभवहरू

भाषा बोल्न गाह्रो हुँदाहुँदै पनि मैले एक दिन मित्सुबिशी कम्पनीको आवास गृहमा २० वर्षकी युवतीलाई भेटें। तिनले बाइबल ज्ञान हासिल गर्न निकै राम्रो उन्‍नति गरिन्‌। र १९६६ मा बप्तिस्मा लिइन्‌। वर्षदिनपछि तिनले अग्रगामी गर्न थालिन्‌ र त्यसको केही समयमै तिनी विशेष अग्रगामी नियुक्‍त भइन्‌। त्यसबेलादेखि तिनी अग्रगामीको रूपमा सेवा गर्दैछिन्‌। तिनले आफ्नो समयको सदुपयोग गरेको अनि आफ्नो जवानीको बल पूर्ण-समय सेवकाईमा लगाएको देख्न पाउनु मेरोलागि सधैं प्रेरणाको स्रोत भएको छ।

गैरमसीही समाजमा बस्नेहरूलाई बाइबल सत्य स्वीकार्नु विशेष गरी निकै ठूलो चुनौती हुन्छ। यद्यपि, थुप्रैले यो चुनौती पार गरेका छन्‌ र तीमध्ये मसित बाइबल अध्ययन गर्ने थुप्रै जना समावेश छन्‌। अक्सर जापानी घरहरूमा देख्न पाइने बुद्धका महँगा मूर्तिहरू तथा शिन्टोका महँगा तखताहरू तिनीहरूले मिल्काएका छन्‌। यसो गर्दा नातेदारहरूले मरिसकेका पुर्खाहरूको अपमान गरेसरह ठान्‍ने भएकाले नयाँ व्यक्‍तिहरूलाई यसो गर्न निकै साहस चाहिन्छ। तर तिनीहरूको यस्तो साहसी कार्य देख्दा झूटो धर्मसित सम्बन्धित चीजबीज मिल्काउने प्रथम शताब्दीका प्रारम्भिक मसीहीहरूको सम्झना आउँछ।—प्रेरित १९:१८-२०.

एउटी गृहणी बाइबल अध्ययन गर्थिन्‌ र तिनी सपरिवार टोकियोबाट अन्तै सर्ने विचार गरिरहेकी थिइन्‌। तिनी आफ्नो नयाँ घरमा गैरमसीही धर्मसित सम्बन्धित कुनै पनि चीज राख्न चाहन्‍नथिन्‌। त्यसकारण, तिनले आफ्नो श्रीमान्‌लाई आफ्नो इच्छा बताइन्‌ र उनले पनि स्वीकृति दिए। तिनले मलाई खुसी हुँदै यो कुरा बताइन्‌ तर त्यतिन्खेरै तिनले एकदमै किम्मती मार्बलको एउटा ठूलो फूलदान पोको पारेको सम्झिन्‌। तिनले त्यो फूलदानले घरको आनन्दलाई कायमै राख्छ भन्‍ने सुनेकी हुँदा किनेकी रहेछिन्‌। यो फूलदानको झूटो उपासनासित सम्बन्ध छ कि जस्तो शंका लागेर तिनले त्यो फूलदानलाई घनले हिर्काएर टुक्राटुक्रा पारी फ्याँकिदिइन्‌।

झूटो उपासनासित सम्बन्धित बहुमूल्य चीजबीज राजीखुसीले हटाएकी र यहोवाको सेवा गरेर नयाँ जीवन सुरु गर्न साहसी भएकी उक्‍त आइमाईलगायत अन्य व्यक्‍तिहरू देख्न पाउनु मेरोनिम्ति इनामदायी र सन्तोषप्रद अनुभव भएको छ। जापानमा ४० वर्षभन्दा धेरै समयदेखि मिसनरी सेवा गर्न सक्षम भएकीमा म यहोवालाई दिनहुँ धन्यवाद दिन्छु।

आधुनिक “चमत्कारहरू”

पूर्ण-समय सेवकाईमा बिताएका ७० वर्षलाई फर्केर हेर्दा मलाई यी सब आधुनिक चमत्कारहरू जस्तै लाग्छन्‌ र म छक्क पर्छु। लजालु स्वभावकी केटी भएकीले मेरो सम्पूर्ण जीवन अधिकांश व्यक्‍तिहरूले सुन्‍न नचाहने परमेश्‍वरको राज्य सन्देशबारे मानिसहरूकहाँ गएर आफै कुरा सुरु गरौंला भनेर त कहिल्यै सोचेकी थिइनँ। यद्यपि, मैले मात्र होइन तर हजारौं त नहोलान्‌ तर अरू सयौं व्यक्‍तिहरूले पनि त्यसै गरेको मैले देखेकी छु। अनि तिनीहरूले यो एकदमै प्रभावशाली ढंगमा गरेका छन्‌। किनकि म १९५८ मा जापान आउँदा एक हजारभन्दा अलि बढी मात्र भएका साक्षीहरूको संख्या अहिले २,२२,००० भन्दा धेरै भइसकेको छ!

मार्था र म पहिलो पटक जापान आइपुग्दा, हामीलाई टोकियोस्थित शाखा कार्यालयमा बस्ने प्रबन्ध मिलाइएको थियो। अनि त्यहीं १९६३ मा छ तले नयाँ भवन निर्माण गरियो र त्यसबेलादेखि हामी त्यहीं बसिरहेका छौं। नोभेम्बर १९६३ मा शाखा कार्यालयका निरीक्षक लोइड ब्यारीले समर्पण भाषण दिनुहुँदा उपस्थित १६३ मध्ये हामी पनि थियौं। त्यतिञ्जेल जापानमा साक्षीहरूको संख्या ३,००० पुगिसकेको थियो।

सन्‌ १९७२ मा नुमाजु शहरमा नयाँ अनि ठूलो शाखा निर्माण कार्य पूरा हुँदासम्ममा साक्षीहरूको संख्या १४,००० पुगेर राज्य-प्रचार कार्य अचानक बढेको देख्न पाउनु निकै रमाइलो थियो। तर १९८२ सम्ममा जापानमा राज्य उद्‌घोषकहरूको संख्या ६८,००० पुगिसकेको थियो र टोकियोभन्दा ८० किलोमिटर टाढा इबिना शहरमा अर्को ठूलो शाखा कार्यालय निर्माण गरियो।

त्यतिखेरै टोकियोको मुटुमै रहेको पहिलेको शाखा कार्यालयको जीर्णोद्धार गरिएको थियो। समयको क्रममा यो भवन, मेरो धेरै अघिदेखिकी सँगिनी मार्था हेस र मलगायत जापानमा ४०, ५० वर्ष वा त्यसभन्दा धेरै वर्षसम्म सेवा गरेका २० जना भन्दा बढी मिसनरीहरूको मिसनरी गृह हुन पुग्यो। एक जना डाक्टर र उहाँकी नर्स श्रीमती यहाँ हामीसितै बस्नुहुन्छ। उहाँहरू हाम्रो ख्याल गर्नुहुन्छ, मायालु तरिकामा हाम्रो स्वास्थ्यको हेरचाह गर्नुहुन्छ। हालै, अर्को एउटी नर्स यहाँ खटाइनुभएको छ र मसीही बहिनीहरू उक्‍त नर्सलाई सहयोग गर्न दिउँसोतिर आउनुहुन्छ। एबिना बेथेल परिवारका दुई जना सदस्यहरू पालैसित हाम्रो खाना तयार गर्न र घर सफा गर्न आउनुहुन्छ। साँच्चै, यहोवा हामीप्रति दयालु हुनुभएको छ।—भजन ३४:८, १०.

आजभन्दा ३६ वर्षअघि समर्पण गरिएको भवनमा गत नोभेम्बर महिनामा भएको कुरा मेरो मिसनरी सेवाको अविस्मरणीय क्षण भयो। त्यस गृहमा हामी प्रायजसो पुराना मिसनरीहरू बस्छौं। नोभेम्बर १३, १९९९ मा इबिनाको वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीको जापान शाखा कार्यालयको थप भवनहरू समर्पण गरिएको थियो। त्यहाँ ३७ मुलुकहरूमा निकै समयदेखि सेवा गरिरहेका साक्षीहरूलगायत उपस्थित ४,४८६ मध्ये म पनि एक थिएँ। अहिले, यहाँ शाखा परिवारमा करिब ६५० जना छन्‌।

बाइबलको सन्देश सुनाउन लजाउँदै घरघर जान थालेको झन्डै ८० वर्षसम्म यहोवा मेरोनिम्ति बलको स्रोत हुनुभएको छ। उहाँले मलाई मेरो लजाउने बानी हटाउन मदत दिनुभएको छ। यहोवामाथि भरोसा राख्ने जोसुकै र मजस्ती असाध्यै लजाउने व्यक्‍तिलाईसमेत उहाँले प्रयोग गर्नुहुन्छ भन्‍ने बलियो विश्‍वास मसित छ। अनि अपरिचित व्यक्‍तिहरूसित हाम्रो परमेश्‍वर यहोवाबारे बताउने कार्यमा जीवन बिताउन पाउनु अत्यन्तै सन्तोषजनक साबित भएको छ!

[पृष्ठ २१-मा भएको चित्र]

आमा र बेथेलबाट हामीलाई भेट्‌न आउनुभएका क्लारेन्स दाइसित

[पृष्ठ २३-मा भएको चित्र]

न्यु योर्क, साउथ लान्सिङ नजिकैको गिलियड स्कूलको चौरमा सहपाठीहरूसित अध्ययन गरिरहेको

[पृष्ठ २३-मा भएको चित्र]

बायाँ: हवाइमा म, मार्था हेस र आमा

[पृष्ठ २४-मा भएको चित्र]

दायाँ: हाम्रो टोकियो मिसनरी गृहका सदस्यहरू

[पृष्ठ २४-मा भएको चित्र]

तल: निकै समयदेखि मेरी सँगिनी मार्था हेससित

[पृष्ठ २५-मा भएको चित्र]

गत नोभेम्बरमा समर्पित इबिनास्थित थप शाखा भवनहरू