राम्रो सल्लाह-तपाईं कहाँ पाउन सक्नुहुन्छ?
राम्रो सल्लाह-तपाईं कहाँ पाउन सक्नुहुन्छ?
आज “सल्लाह व्यापार” वर्षमा करोडौं डलर कमाउने व्यापार भएको छ। मानिसहरूलाई मदत चाहिएको छ। मानसिक स्वास्थ्य विशेषज्ञ हाइन्ज लेह्मान यस्तो टिप्पणी गर्छन्: “[आजको समाजमा] शैक्षिक तथा सामाजिक कमी कमजोरीहरू छन्। धार्मिक मूल्य तथा मान्यताहरू पहिलेका जस्ता छैनन्। पारिवारिक बन्धन झन् झन् कमजोर हुँदैछ . . . , फलस्वरूप, मानिसहरू असफल भइरहेका छन्।” लेखक एरिक माइसेल भन्छन्: “पहिले पहिले मानसिक, आध्यात्मिक अनि शारीरिक समस्या पर्दा कुलगुरु, पूजाहारी वा वैद्यकहाँ जानेहरू अहिले व्यक्तित्व विकाससम्बन्धी पुस्तकहरूमा आफ्ना समस्याहरूको समाधान खोज्छन्।”
अमेरिकन साइकोलोजिकल एसोसिएसनले यो च्याउ उम्रेसरह व्यापारबारे जाँचबुझ गर्न एउटा टोली गठन गऱ्यो। यस्ता कार्यक्रमहरूमार्फत “व्यक्तिविशेषले आफैलाई अनि अरूलाई बुझ्न निकै मदत पाए तापनि . . . यी कार्यक्रमसँगसँगै प्रचारप्रसार गरिने दाबी तथा विषयहरू अत्यन्त बढाइचढाइ भनिएका र सनसनीपूर्ण हुन्छन्” भनी उक्त कार्य दलले बतायो। टोरोन्टो स्टार-का लेखक भन्छन्: “के कति बनावटी धार्मिक वा आध्यात्मिक कुराहरू छन्, होसियार हुनुहोस्। . . . विशेष गरी थोरै समयमा धेरै काम गर्ने, अलिकता प्रयास गरे पुग्ने वा अलिकता मात्र नियममा बसे पुग्ने जस्ता धारणा व्यक्त गर्ने सम्पूर्ण व्यक्तित्व विकास पुस्तक, क्यासेट चक्का वा गोष्ठीहरूबाट होसियार हुनुहोस्।” हुन त, खाँचोमा परेकाहरूलाई साँच्चै मदत गर्न चाहनेहरू पनि थुप्रै छन्। तर, दुःखको कुरा, बेइमानहरूले कुनै ठोस मदत वा समाधान दिनु त कता हो कता, बरु, मानिसहरूको एकाकीपन अनि पीडाको नाजायज फाइदा उठाइरहेका छन्।
यसलाई विचार गर्दा, हामीले भरोसा गर्नसक्ने मदतको प्रमुख स्रोत के होला? सधैं उपयोगी व्यावहारिक सल्लाह हामी कहाँ पाउनसक्छौं?
सफल निर्देशनको स्रोत
उन्नाइसौं शताब्दीका अमेरिकी प्रचारक हेन्री वार्ड बीचरले यसो भने: “बाइबल, परमेश्वरले तपाईंहरूलाई जहाज ख्याउन, डुब्नबाट जोगाउन अनि बन्दरगाह पत्ता लगाउन अनि चट्टान तथा बारहरूमा कतै नठोकाइकन गन्तव्य स्थानसम्म पुग्न मदत गर्ने मानचित्र हो।” अर्का प्रचारकले बाइबलबारे यसो भने: “धर्मशास्त्रलाई केही कुराले पनि उछिन्न सक्दैन; हाम्रो उमेर ढल्कँदै जाँदा यो किताब उत्तिकै विस्तृत अनि गहन हुँदै जान्छ।” तपाईंले यो स्रोतलाई किन गम्भीरतासाथ विचार गर्नुपर्ने हो?
आफ्नो उपयोगिताबारे बाइबल यसो भन्छ: “परमेश्वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ, र परमेश्वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्।” (२ तिमोथी ३:१६, १७) बाइबलको विषयवस्तु प्रदान गर्नुहुने जीवनको स्रोत, यहोवा परमेश्वर हुनुहुन्छ। (भजन ३६:९) त्यसकारण, उहाँ हाम्रो बनोटसित राम्ररी परिचित हुनुहुन्छ र यो कुरा भजन १०३:१४ मा हामीलाई यसरी स्मरण गराइएको छ: “उहाँले हाम्रो बनोट जान्नुहुन्छ। मानिसहरू माटोनै हुन् भनी उहाँ सम्झनहुन्छ।” त्यसकारण, हामी बाइबलको उपयोगितामा पूर्ण भरोसा गर्नसक्छौं।
वास्तवमा, बाइबलमा अनगिन्ती सिद्धान्त तथा निर्देशनहरू छन् र ती तपाईंले जस्तोसुकै परिस्थितिमा लागू गर्दा पनि फाइदाजनक पाउनुहुनेछ। यस किताबमार्फत परमेश्वर हामीलाई यसो भन्नुहुन्छ: “बाटो यही हो, यसैमा तिमीहरू हिंड़।” (यशैया ३०:२१) के बाइबलले साँच्चै आज हरेक व्यक्तिको आवश्यकता पूरा गर्नसक्छ? आउनुहोस्, हेरौं।
बाइबलले हाम्रो आवश्यकता पूरा गर्ने क्षेत्रहरू . . .
फिक्रीहरूको सामना गर्न। बाइबल हामीलाई यसो भन्छ: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्। औ परमेश्वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४:६, ७) आर्थिक दबाउ, यौन तथा मौखिक दुर्व्यवहार वा प्रियजनको मृत्यु हुँदा आइपर्ने भावनात्मक फिक्रीको सामना गर्न के प्रार्थना प्रभावशाली साबित भएको छ? तल दिइएको अनुभव विचार गर्नुहोस्।
आफ्नी छोरी यौन दुर्व्यवहारको सिकार भएकी थाह पाएपछि ज्याकी यसो भन्छिन्: “आफ्नै छोरीलाई सुरक्षित राख्न असक्षम हुँदा महसुस भएको दोषी भावना शब्दमा व्यक्त गर्न सक्दिनँ। मैले तीतोपना, अपमान अनि क्रोधजस्ता भावनाहरू खप्नुपऱ्यो। यी भावनाहरूले मेरो जीवनलाई भित्रभित्रै खाइरहेको थियो। मेरो हृदयलाई सुरक्षित राख्न मलाई यहोवाको अत्यन्तै खाँचो परेको थियो।” फिलिप्पी ४:६, ७ बारम्बार पढिसकेपछि तिनले ती पदमा बताइएको सल्लाह व्यवहारमा उतार्न उत्कट प्रयास गरिन्। ज्याकी बताउँछिन्, “म दिनहुँ प्रार्थना गर्छु, यो नकारात्मक भावनाले मलाई बरबाद नपारोस् भनेर म बारम्बार यहोवासित मदत माग्छु र यहोवाले मलाई शान्त अनि आनन्दित हृदय विकास गर्न मदत गर्नुभएको छ। अहिले मैले आन्तरिक शान्ति महसुस गर्न सकेकी छु।”
तपाईं पनि आफ्नो क्षमता बाहिरको अथवा आफूले समाधान गर्न नसक्ने अवस्थामा पर्न सक्नुहुन्छ र त्यस्तो अवस्थाले भावनात्मक तवरमा एकदमै पिरोल्न सक्छ। प्रार्थना गर्ने सम्बन्धमा बाइबलको सल्लाहलाई पालन गर्दा तपाईं त्यस परिस्थितिको मुकाबिला गर्न सफल हुन सक्नुहुन्छ। यी शब्दहरूद्वारा भजनरचयिता हामीलाई प्रोत्साहन दिन्छन्: “आफ्नो मार्ग परमप्रभुलाई सुम्पी। उहाँमानै भरोसा राख्, अनि उहाँले सो पुऱ्याइदिनुहुनेछ।”—भजन ३७:५.
प्रोत्साहन दिन। भजनरचयिताले मूल्यांकनस्वरूप यस्तो भावना व्यक्त गरे: “हे परमप्रभु, तपाईंको भवनको बासस्थान, र तपाईंको महिमा रहने ठाउँलाई म प्रेम गर्दछु। मेरो खुट्टाले सम्म ठाउँमा टेक्छ, समुदायहरूमा म परमप्रभुको प्रशंसा गर्नेछु।” (भजन २६:८, १२) बाइबलले हामीलाई यहोवाको उपासना गर्न नियमित तवरमा एकसाथ भेला हुने प्रोत्साहन दिएको छ। यस्तो सरसंगतिले हाम्रो आवश्यकता कसरी पूरा गर्छ? अरूले कस्तो महसुस गरेका छन्?
बेकी भन्छिन्: “मेरा मातापिता यहोवाको सेवा गर्नुहुन्न। त्यसकारण, परमेश्वरसित सम्बन्धित केही गर्न खोज्दा उहाँहरू विरोध गर्नुहुन्छ। सभाहरूमा उपस्थित हुन मैले निकै प्रयास गर्नुपर्छ।” मसीही सभाहरूमा नियमित तवरमा उपस्थित हुन भएभरको प्रयास गरेको कारण आफूले थुप्रै आशिष् पाएको बेकी महसुस गर्छिन्। “सभाहरूले मेरो विश्वास बलियो बनाएको छ र विद्यार्थी, छोरी अनि यहोवाको सेवकको हैसियतमा दिनदिनै भोग्नुपर्ने दबाउको प्रतिरोध गर्न सक्ने भएकी छु। स्कूलका विद्यार्थीहरूको तुलनामा राज्य भवनमा आउने मानिसहरू धेरै भिन्न छन्! उनीहरू अरूको हेरविचार गर्ने खालको अनि मदतकारी छन्, हाम्रो कुराकानी सधैं प्रोत्साहनदायी हुन्छ। साँचो साथीहरू भनेका त उनीहरू पो हुन्।”
हो, एकै ठाउँमा भेला हुने बाइबलको निर्देशनलाई पालन गर्दा यहोवाले हामीलाई चाहिएको प्रोत्साहन दिनुहुन्छ। भजनरचयिताका यी शब्दहरू कत्ति सत्य छन्, त्यो अनुभव गर्ने क्षेत्र यही हो: “परमेश्वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ, संकष्टमा अति सजिलैसँग पाइने सहायक।”—भजन ४६:१.
सन्तोषप्रद र अर्थपूर्ण कामका लागि। बाइबल यस्तो आग्रह गर्छ: “स्थिर र अटल बस। सधैं प्रभुको काममा प्रशस्त हुँदै जाओ। किनकि तिमीहरू जान्दछौ, कि तिमीहरूको परिश्रम प्रभुमा व्यर्थ हुँदैन।” (१ कोरिन्थी १५:५८) के “प्रभुको काममा” साँच्चै सन्तुष्टि पाइन्छ? के मसीही सेवकाईले कुनै अर्थपूर्ण लक्ष्य हासिल गर्छ?
अमेल्या आफ्नो अनुभव यसरी व्यक्त गर्छिन्: “मैले छुट्टिनै लागेका दम्पतीसित बाइबल अध्ययन गरेको थिएँ। मैले एउटी आइमाईलाई पनि मदत गरें। तिनकी छोरीलाई निर्ममतासाथ मारिएको थियो। उक्त आइमाई मृतकको अवस्था कस्तो हुन्छ, पक्का नभएकोले दुःखी थिइन्। यो दुइटै घटनामा बाइबलका सिद्धान्तहरू प्रयोगमा ल्याउँदा उनीहरूले जीवनमा शान्ति अनि आशा पाए। उनीहरूलाई यसरी मदत गर्न पाएकोमा मलाई पनि धेरै खुसी लाग्यो, एकदम सन्तुष्ट महसुस गर्छु।” स्कट भन्छन्: “तपाईंले क्षेत्र सेवकाईमा राम्रो अनुभव बटुल्नुभएको छ, नयाँ बाइबल अध्ययन थाल्नु भएको छ वा अनौपचारिक साक्षी दिंदा सफलता पाउनु भएको छ भने, वर्षौंपछिसम्म पनि तपाईं ती घटनाहरू सम्झेर त्यसबारे कुरा गर्नुहुनेछ। ती घटनाहरू हरेक चोटि सम्झँदा त्यतिखेर अनुभव गरिएको उत्साह र भावना पनि पुनःजागृत हुन्छन्! सबैभन्दा धेरै अनि अनन्तकालीन आनन्द प्राप्त हुने क्षेत्र, सेवकाई नै हो।”
प्रस्टै छ, बाइबलले सक्रिय सेवकहरू हुन दिएको निर्देशन पालन गर्दा यी व्यक्तिहरूले सन्तोषप्रद र अर्थपूर्ण काम पाए। तपाईं पनि अरूलाई परमेश्वरका तौरतरिका तथा सिद्धान्तहरूबारे बताउने यस शैक्षिक कार्यक्रममा भाग लिन सक्नुहुन्छ र फाइदा उठाउन सक्नुहुन्छ।—यशैया ४८:१७; मत्ती २८:१९, २०.
परमेश्वरको वचनबाट फाइदा उठाउने
निस्सन्देह, वर्तमान संसारमा बाइबल व्यवहारिक निर्देशनहरूको भरपर्दो स्रोत हो। यसबाट फाइदा उठाउन हामीले निरन्तर प्रयास गर्नु आवश्यक छ। हामीले यसलाई नियमित तवरमा पढ्नुपर्छ, अध्ययन गर्नुपर्छ अनि मनन गर्नुपर्छ। पावलले यस्तो सल्लाह दिए: “यी कुरामा परिश्रम गर। तिनीहरूमानै लागिरह, र तिम्रो प्रगति सबैमा प्रकट होस्।” (१ तिमोथी ४:१५; व्यवस्था ११:१८-२१) बाइबलमा पाइने उहाँका सल्लाहहरू प्रयोग गर्नुभयो भने, तपाईं सफल हुनुहुनेछ भन्ने ग्यारेन्टी परमेश्वर दिनुहुन्छ। उहाँ यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “तेरो सारा भरोसा परमेश्वरमा राख्, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।”—हितोपदेश ३:५, ६.
[पृष्ठ ३१-मा भएका चित्रहरू]
बाइबलको सल्लाह पालन गर्दा जीवन सन्तोषप्रद र अर्थपूर्ण हुन्छ