सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंमाथि अख्तियार हुनेहरूको आदर गर्नुहोस्‌

तपाईंमाथि अख्तियार हुनेहरूको आदर गर्नुहोस्‌

तपाईंमाथि अख्तियार हुनेहरूको आदर गर्नुहोस्‌

“सबै मानिसहरूलाई आदर गर। भाइ-बन्धुहरूलाई प्रेम गर। परमेश्‍वरसँग डराओ। राजाको आदर गर।”—१ पत्रुस २:१७.

१, २. आजकाल मानिसहरू अख्तियारप्रति कस्तो दृष्टिकोण राख्छन्‌? किन?

 “केटाकेटीहरू आफूलाई मै हुँ भन्ठान्छन्‌। आमाबाबुको पटक्कै आदर गर्दैनन्‌,” भन्दै एउटी आमा गुनासो गर्छिन्‌। गाडीमा टाँसिराखेको स्टिकरले “के मतलब अख्तियारको” भन्छ। आजकाल व्याप्त परिस्थितिको यी दुइटा उदाहरण मात्र हुन्‌। आमाबाबु, शिक्षक, मालिक अनि सरकारी अख्तियारवालाहरूप्रति अनादर संसारभरि नै सामान्य कुरा भइरहेको छ।

कसै कसैले नाक खुम्च्याउँदै यसो भन्लान्‌, ‘के गर्ने त, अख्तियारवालाहरू अख्तियार पाउने योग्यकै छैनन्‌।’ कहिलेकाहीं अवस्था त्यस्तै हुनसक्छ। हामीले सधैंजसो भ्रष्ट सरकारी हाकिम, लोभी मालिक, अयोग्य शिक्षक अनि दुर्व्यवहारी आमाबाबुहरूबारे सुनिरहन्छौं। तर आनन्दको कुरा, प्रायजसो मसीहीहरूले मण्डलीका अख्तियारवालाहरूप्रति त्यस्तो दृष्टिकोण राख्दैनन्‌।—मत्ती २४:४५-४७.

३, ४. मसीहीहरूले अख्तियारवालाहरूलाई किन आदर देखाउनुपर्छ?

हामी मसीही भएकाले सरकारी अख्तियारवालाहरूलाई आदर गर्नुपर्ने “जोडदार कारण” छ। प्रेरित पावलले मसीहीहरूलाई यस्तो सल्लाह दिए, “उच्च अख्तियारवालाहरूका अधीनमा [रहनू], किनभने परमेश्‍वरका बाहेक अरूको अख्तियार हुँदैन, औ अख्तियारहरूचाहिं परमेश्‍वरबाट खटिएका हुन्छन्‌।” (रोमी १३:१, २, ५; १ पत्रुस २:१३-१५) पावलले परिवारमा पनि अख्तियारवालाहरूप्रति आज्ञाकारी हुनुपर्ने ठोस कारण देखाए: “ए पत्नी हो, प्रभुमा खुल्ने जस्तैगरी पतिका अधीनमा बस। ए बालक हो, सबै कुरामा आमाबाबुका आज्ञा पालन गर। किनकि यो प्रभुमा बढ़ता खुशी तुल्याउनेहुन्छ।” (कलस्सी ३:१८, २०) मण्डलीका प्राचीनहरू हाम्रो आदरका योग्य छन्‌ किनभने ‘पवित्र आत्माले परमेश्‍वरका मण्डलीमा चराउनलाई तिनीहरूलाई धर्माधिकारी तुल्याएको छ।’ (प्रेरित २०:२८) यहोवाप्रतिको आदरले गर्दा हामी मानव अख्तियारवालाहरूलाई आदर गर्छौं। त्यसो भए तापनि, हामीले सर्वप्रथम यहोवाको अख्तियारको आदर गर्नुपर्छ।—प्रेरित ५:२९.

यहोवाको सर्वोच्च अख्तियारलाई मनमा राख्दै, अख्तियारवालाहरूलाई आदर गर्ने तथा नगर्ने केही व्यक्‍तिहरूको उदाहरण छलफल गरौं।

अनादर गर्दा तिरस्कृत हुनुपर्छ

५. मीकलले दाऊदप्रति कस्तो अनादरपूर्ण मनोभाव देखाइन्‌ र यसको परिणाम के भयो?

राजा दाऊदसम्बन्धी इतिहास पढ्‌दा हामी ईश्‍वरप्रदत्त अख्तियारलाई तुच्छ ठान्‍नेहरूप्रति यहोवाले कस्तो दृष्टिकोण राख्नुहुन्छ भनेर बुझ्नसक्छौं। दाऊदले यहोवाको सन्दूक यरूशलेममा ल्याउँदा तिनकी पत्नी मीकलले “दाऊद राजालाई परमप्रभुको सामने उफ्रँदै र नाच्तै गरेका देखिन्‌, र तिनले मनमनै उनलाई घृणा” गरिन्‌। मीकलले दाऊद परिवारको शिर मात्र नभई देशका राजा पनि हुन्‌ भनेर बुझ्नुपर्थ्यो। तथापि, तिनले यस्तो व्यंग्य गरिन्‌: “इस्राएलका राजाको निम्ति आज कस्तो गौरवको दिन! तिनले आफ्ना दासीहरूका दृष्टिमा नाङ्‌गो बनेर आफैलाई ढटुवारेजस्तै बनाए।” यस्तो अनादरले गर्दा मीकल जिन्दगीभर निसन्तान भइन्‌।—२ शमूएल ६:१४-२३.

६. आफूले अभिषेक गर्नुभएको जनलाई अनादर गर्ने कोरहलाई यहोवाले कुन दृष्टिले हेर्नुभयो?

परमेश्‍वरले नियुक्‍त गर्नुभएको नेतृत्वको अनादर गर्ने कुख्यात व्यक्‍तिको उदाहरण दिनुपर्दा कोरहको नाउँ आउँछ। कहातवंशी भएकाले तिनले यहोवाको पवित्रस्थानमा सेवा गर्ने सुअवसर पाएका थिए! तैपनि, तिनले इस्राएलीहरूको लागि परमेश्‍वरले अभिषेक गर्नुभएका नेताहरू, मोशा र हारूनको गल्ती कोट्‌याए। कोरहले इस्राएलका अरू नेताहरूसित मिलेमतो गरेर मोशा र हारूनको यस्तो विरोध गरे: “समुदायका हरेकनै पवित्र छन्‌, र परमप्रभु तिनीहरूका बीचमा हुनुहुन्छ, रपनि तपाईंहरू किन आफूलाई उच्च तुल्याउनुहुन्छ?” यहोवाले कोरह र तिनका समर्थकहरूको मनोवृत्तिलाई कुन दृष्टिले हेर्नुभयो? यहोवाले त्यसलाई आफ्नै अनादर ठान्‍नुभयो। धर्ती फाटेर आफ्नो पक्षका सबै मानिसहरू विनाश भएका देखेपछि कोरह र २५० जना नेताहरू पनि यहोवाले पठाउनुभएको आगोले भस्म भए।—गन्ती १६:१-३, २८-३५.

७. के “मुख्य प्रेरितहरू[सित]” पावलको अख्तियारको आलोचना गर्ने कुनै आधार थियो?

प्रथम शताब्दीका मसीही मण्डलीमा पनि ईश्‍वरतान्त्रिक अख्तियारको अनादर गर्नेहरू थिए। कोरिन्थ मण्डलीका “मुख्य प्रेरितहरू[ले]” पावलप्रति अनादरपूर्ण मनोभाव राख्थे। तिनीहरूले पावलको बोल्ने क्षमताको आलोचना गर्दै तिनी “सामनेमा शरीरको निर्धो र बोलीचाहिं केही कामको छैन” भने। (२ कोरिन्थी १०:१०; ११:५) पावल, प्रभावशाली वक्‍ता हून्‌ या नहून्‌, प्रेरित भएको नाताले तिनी आदरयोग्य थिए। तर के पावलको बोली साँच्चै केही कामको थिएन? बाइबलमा लिपिबद्ध तिनका जनभाषणहरूले तिनी कत्तिको प्रभावशाली वक्‍ता थिए भन्‍ने ठोस प्रमाण दिन्छ। “यहूदीहरूका सबै . . . सवाल-जवाफहरूका कुरामा . . . सिपालु” हेरोद अग्रिपा द्वितीयसित छोटो छलफल गरिसकेपछि राजाले पावललाई यसो भने: “थोरै कुराले मलाई ख्रीष्टियान तुल्याउने मन गर्दछस्‌?” (प्रेरित १३:१५-४३; १७:२२-३४; २६:१-२८) यद्यपि, कोरिन्थका मुख्य प्रेरितहरूले तिनको बोली कुनै कामको छैन भन्‍ने आरोप लगाए! यहोवाले तिनीहरूको मनोवृत्तिप्रति कस्तो दृष्टिकोण राख्नुभयो? एफिसी मण्डलीका निरीक्षकहरूलाई पठाउनु भएको पत्रमा येशू ख्रीष्टले ‘प्रेरित हुँ भनेर हिंड़ने तर जो होइनन्‌’ तिनीहरूको पछि लाग्न इन्कार गर्नेहरूको प्रशंसा गर्नुभयो।—प्रकाश २:२.

असिद्धताको बावजूद आदर

८. यहोवाले शाऊललाई दिनुभएको अख्तियारप्रति दाऊदले कसरी आदर देखाए?

अख्तियारवालाहरूले अख्तियारको दुरुपयोग गरे तापनि तिनीहरूको आदर गर्ने थुप्रै व्यक्‍तिहरूको उदाहरण बाइबलमा पाइन्छ। यस्तै एउटा राम्रो उदाहरण दाऊदको हो। शाऊल राजाले दाऊदका सफलताहरूको डाह गरे अनि तिनलाई मार्न खोजे। (१ शमूएल १८:८-१२; १९:९-११; २३:२६) शाऊललाई मार्ने मौका पाउँदासमेत दाऊदले यसो भने: “मैले परमप्रभुको अभिषिक्‍तको विरुद्धमा हात कहिले उठाउन नपरोस्‌!” (१ शमूएल २४:३-६; २६:७-१३) गल्ती शाऊलको हो भनेर दाऊदलाई थाह थियो तर तिनले न्याय गर्ने काम यहोवाकै हातमा सुम्पे। (१ शमूएल २४:१२, १५; २६:२२-२४) तिनले शाऊलबारे अरूसित वा शाऊलसितै पनि दुर्वचन गरेनन्‌।

९. (क) शाऊलले दुर्व्यवहार गर्दा दाऊदले कस्तो महसुस गरे? (ख) दाऊदले शाऊलको साँच्चै आदर गर्थे भनेर हामी कसरी भन्‍न सक्छौं?

दुर्व्यवहार भोग्नुपर्दा के दाऊद विचलित भए? दाऊदले यहोवालाई यसरी पुकारा गरे, “थिचोमिचो गर्ने मानिसहरूले मेरो प्राण लिन खोजेका छन्‌।” (भजन ५४:३) यहोवालाई आफ्नो मनको बह पोख्दै तिनले भने: “मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहोस्‌, हे मेरा परमेश्‍वर। . . . हे परमप्रभु, न मेरो अपराधको निम्ति, नता मेरो पापको निम्ति, पराक्रमीहरू मेरो विरुद्धमा जम्मा भएका छन्‌। मेरो कसूरैविना तिनीहरू दगुरेर तम्सिन्छन्‌। मलाई सहायता गर्नालाई उठ्‌नुहोस्‌, र हेर्नुहोस्‌।” (भजन ५९:१-४) के तपाईंले पनि कहिलेकाहीं त्यस्तै अर्थात्‌ अख्तियारवालाको विरुद्धमा केही नगरे तापनि तपाईंको खेदो गरेको महसुस गर्नुभएको छ? शाऊललाई आदर गर्न दाऊद कहिल्यै चुकेनन्‌। शाऊलको मृत्युमा रमाउनुको साटो दाऊदले यस्तो विलाप गीत लेखे: “शाऊल र जोनाथन मनपर्दा र अति प्रिय थिए। . . . उनीहरू चीलहरूभन्दा पनि तीब्र थिए, सिंहहरूभन्दा पनि बलिया थिए। हे इस्राएलका छोरी हो, शाऊलको निम्ति रोऊ।” (२ शमूएल १:२३, २४) शाऊलले दाऊदको खेदो गरे तापनि यहोवाका अभिषिक्‍त जनप्रति साँचो आदर देखाएर तिनले कस्तो राम्रो उदाहरण बसाले!

१०. परमेश्‍वरले परिचालक निकायलाई दिनुभएको अख्तियारलाई आदर गर्ने सन्दर्भमा पावलले कसरी राम्रो उदाहरण बसाले र परिणाम के भयो?

१० ईश्‍वरप्रदत्त अख्तियारवालाहरूलाई आदर गर्ने उल्लेखनीय व्यक्‍तिहरूको उदाहरण हामी मसीही युगमा पनि पाउँछौं। उदाहरणका लागि, पावललाई लिनुहोस्‌। तिनले प्रथम शताब्दीको मसीही मण्डलीको परिचालक निकायका निर्णयहरूको आदर गरे। पावल यरूशलेममा अन्तिम चोटि जाँदा परिचालक निकायले तिनलाई चोखिने सल्लाह दिए किनभने यसो गर्दा तिनले मोशाको व्यवस्थाप्रति कुनै वैरभाव नराखेको प्रस्ट हुनेथियो। पावलले यस्तो तर्क गर्न सक्थे: ‘यसअघि मेरो जीवन खतरामा पर्दा मलाई यरूशलेम छोड्‌न लाउने यिनीहरू अहिले चाहिं म मोशाको व्यवस्थालाई आदर गर्छु भनी जनसमक्ष देखाएको चाहने पनि उनीहरू नै। मैले त्यो व्यवस्था पालन गर्नुपर्दैन भनेर गलातीको मण्डलीलाई पत्र पठाइसकें। म मन्दिरमा गएँ भने अरूले गलत अर्थ लगाएर मैले खतना गरेका मानिसहरूसित सम्झौता गरें भन्ठान्‍ने पो हुन्‌ कि।’ तथापि, प्राप्त प्रमाणअनुसार पावलले त्यस्तो तर्क गरेनन्‌। मसीही सिद्धान्तको कुनै सम्झौता नहुने हुँदा तिनले प्रथम शताब्दीको परिचालक निकायको सल्लाहप्रति आदर देखाए र त्यसैअनुसार गरे पनि। तर त्यसको लगत्तै पावललाई यहूदीहरूको हूलबाट बचाउनुपऱ्‍यो र तिनले झ्यालखानामा दुई वर्ष बिताए। तर जे होस्‌, अन्तमा परमेश्‍वरको इच्छा पूरा भयो। पावलले सिजरियाका हाकिमहरूसामु साक्षी दिए अनि सिजरकै सामु साक्षी दिन सरकारले नै तिनलाई रोम लगे।—प्रेरित ९:२६-३०; २१:२०-२६; २३:११; २४:२७; गलाती २:१२; ४:९, १०.

के तपाईं आदर देखाउनुहुन्छ?

११. सरकारी अख्तियारवालाहरूप्रति हामी कसरी आदर देखाउन सक्छौं?

११ के तपाईं अख्तियारवालाहरूलाई देखाउनुपर्ने आदर देखाउनुहुन्छ? मसीहीहरूलाई “तिर्नु पर्ने कुरा सबैलाई तिर . . . आदर गर्नु पर्नेलाई आदर गर” भन्‍ने सल्लाह दिइएको छ। निस्सन्देह, “उच्च अख्तियारवालाहरू[प्रति]” हाम्रो अधीनता भनेको कर तिर्नु मात्र होइन तर हाम्रो आचरण तथा बोलीवचनले अख्तियारवालाहरूको आदर गर्नु पनि हो। (रोमी १३:१-७) क्रूर सरकारी हाकिमहरू छन्‌ भने, हाम्रो प्रतिक्रिया कस्तो हुनेछ? मेक्सिकोको चियापास प्रान्तको एउटा समुदायका अख्तियारवालाहरूले यहोवाका साक्षीहरूको ५७ वटा परिवारको खेतबारी हडप गरे किनभने यी मसीहीहरू धार्मिक चाडपर्वहरूमा सामेल भएनन्‌। यो समस्या सुल्झाउन गरिएका सभाहरूमा साक्षीहरू सफा र चिटिक्क लुगा लगाएर उपस्थित भए अनि तिनीहरूले मर्यादा तथा आदरपूर्वक बोले। वर्षदिनपछि साक्षीहरूकै पक्षमा निर्णय सुनाइयो। साक्षीहरूको यस्तो मनोवृत्तिले यो घटनाक्रम हेरिरहेका कतिपय मानिसहरूको आदर जित्यो र तिनीहरूले यहोवाको साक्षी बन्‍ने इच्छासमेत व्यक्‍त गरे!

१२. बेग्लै विश्‍वास भएका पतिको गहिरो आदर गर्नु किन महत्त्वपूर्ण छ?

१२ परिवारमा ईश्‍वरप्रदत्त अख्तियारप्रति तपाईं कसरी आदर देखाउन सक्नुहुन्छ? दुष्टतालाई सहने सन्दर्भमा येशूको उदाहरण छलफल गरिसकेपछि प्रेरित पत्रुसले यसो भने: “हे पत्नी हो, त्यही किसिमले तिमीहरू पनि आफ्ना आफ्ना पतिका अधीनमा रहो, र कसैले वचन नमाने तापनि तिनका पत्नीहरूका चाल-चलनले गर्दा, विना वचनले भए पनि, तिमीहरूका डरसहितको पवित्र चाल-चलन देखेर तिनीहरू विश्‍वास गर्ने होऊन्‌।” (१ पत्रुस ३:१, २; एफिसी ५:२२-२४) कोही पतिहरू आदर पाउन योग्यका नभए तापनि पत्नीहरूले आफ्नो पतिको अधीनमा बसेर “गहिरो आदर” गर्नुपर्छ भनी पावलले यहाँ जोड दिइरहेका थिए। पत्नीको यस्तो आदरले बेग्लै विश्‍वास भएका पतिको मन जित्न सकिन्छ।

१३. पत्नीले कसरी पतिको आदर गर्नसक्छन्‌?

१३ यी शास्त्रपदहरूको सन्दर्भमा पत्रुस सारातर्फ हाम्रो ध्यानाकर्षण गर्छन्‌, तिनका पति अब्राहाम विश्‍वासका उत्कृष्ट उदाहरण थिए। (रोमी ४:१६, १७; गलाती ३:६-९; १ पत्रुस ३:६) पतिको बेग्लै विश्‍वास छ भन्दैमा पत्नीले तिनीप्रति कम आदर देखाउनु ठीक होला र? कुनै विषयमा तपाईंको पतिसित कुरा मिलेन भने नि? येशूले दिनुभएको सल्लाह साधारण परिस्थितिमा पनि लागू गर्नसकिन्छ: “यदि कसैले तिमीलाई आधा कोशसम्म जबरदस्त लैजान्छ भने, उसित एक कोशसम्मै जाऊ।” (मत्ती ५:४१) के तपाईं आफ्नो पतिको इच्छा पालन गर्नुभएर उहाँको आदर गर्नुहुन्छ? यसो गर्न असाध्यै गाह्रो लाग्छ भने यसबारे उहाँसित कुरा गर्नुहोस्‌। तपाईंलाई कस्तो लाग्छ, उहाँले बुझिहाल्नुहुन्छ नि भन्‍ने सोचाइ नराख्नुहोस्‌। उहाँलाई आफ्नो विचार आदरपूर्वक पोख्नुहोस्‌। बाइबल हामीलाई यस्तो सल्लाह दिन्छ: “हरेकलाई कसरी जवाफ दिनुपर्छ, सो जान्‍नालाई तिमीहरूको वचन नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको होस्‌।”—कलस्सी ४:६.

१४. आमाबाबुलाई आदर गर्नु भनेको के हो?

१४ तपाईं छोराछोरीहरू नि? परमेश्‍वरको वचन यस्तो आज्ञा दिन्छ: “ए बालक हो, प्रभुमा आफ्ना आमा-बाबुको आज्ञा पालन गर, किनभने यो उचित छ। आफ्ना बाबु र आमाको मान गर (जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो)।” (एफिसी ६:१-३) यहाँ याद गर्नुहोस्‌, आमाबाबुप्रति आज्ञाकारी हुनु र ‘बाबु र आमाको मान गर्नुलाई’ बराबर मानिएको छ। यहाँ “मान” भनेर अनुवाद गरिएको युनानी शब्दले “मूल्यवान्‌ ठान्‍नु” वा “मोल तोक्नु” भन्‍ने अर्थ बुझाउँछ। तसर्थ, आज्ञाकारी हुनु भनेको आमाबाबुले लागू गरेका तर आफूलाई अव्यवहारिक लागेका नियमहरू झर्को मानी मानी पालन गर्नु मात्र होइन। परमेश्‍वरले तपाईंलाई आमाबाबुको डोऱ्‍याइलाई उच्च सम्मान गर्न र मूल्यवान्‌ ठान्‍न आग्रह गर्नुभएको छ।—हितोपदेश १५:५.

१५. आमाबाबुले गल्ती गरेजस्तो लाग्दासमेत छोराछोरीले कसरी उहाँहरूप्रति आदर देखाइरहन सक्छन्‌?

१५ आमाबाबुको कुनै कार्यले गर्दा उहाँहरूप्रति आदर कम भएजस्तो महसुस गर्नुभएको छ भने के गर्ने? उहाँहरूको दृष्टिकोण बुझ्ने प्रयास गर्नुहोस्‌। तपाईंलाई “जीवन दिने” र तपाईंको लागि प्रबन्ध गर्नुहुने के उहाँहरू नै होइनन्‌ र? (हितोपदेश २३:२२) के उहाँहरूले तपाईंलाई प्रेम गर्नुहुन्‍न र? (हिब्रू १२:७-११) आफूलाई मनमा लागेका कुराहरू नम्र भई आदरपूर्वक आमाबाबुलाई बताउनुहोस्‌। उहाँहरूको जवाफ तपाईंलाई मन नपरे तापनि उहाँहरूप्रति अनादर झल्किने ढंगमा कुरा नगर्नुहोस्‌। (हितोपदेश २४:२९) राजा शाऊलले परमेश्‍वरको सल्लाह पालन गर्न छाडे तापनि दाऊदले तिनीप्रति आदर देखाउन नछाडेको घटना सम्झनुहोस्‌ त। आफ्ना भावनाहरूलाई काबुमा राख्न यहोवासित मदत माग्नुहोस्‌। दाऊदले भने: “उहाँको सामने आफ्नो हृदयको दु:ख पोखाओ, परमेश्‍वर हाम्रा निम्ति शरणस्थान हुनुहुन्छ।”—भजन ६२:८; विलाप ३:२५-२७.

अगुवाहरूलाई आदर गर्नुहोस्‌

१६. झूटा शिक्षक र स्वर्गदूतहरूको उदाहरणबाट हामी के सिक्न सक्छौं?

१६ मण्डलीका प्राचीनहरू पवित्र आत्माद्वारा नियुक्‍त हुन्छन्‌, यद्यपि तिनीहरू असिद्ध मानिसहरू हुन्‌ र गल्ती गर्छन्‌। (भजन १३०:३; उपदेशक ७:२०; प्रेरित २०:२८; याकूब ३:२) फलस्वरूप, मण्डलीका कसै कसैलाई प्राचीनहरूको कामकुरा चित्त नबुझ्नसक्छ। मण्डलीमा कुनै कामकुरा ठीकसित नहुँदा वा गलत भएजस्तो लागेमा हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? प्रथम शताब्दीका झूटा शिक्षकहरू र स्वर्गदूतहरूबीचको भिन्‍नता याद गर्नुहोस्‌: “तिनीहरू [झूटा शिक्षकहरू] सुरो भएर आफ्ना खुशी गर्नेहरू, उच्च पदाधिकारीहरूको निन्दा गर्न डराउँदैनन्‌। तर स्वर्गदूतहरू, जो शक्‍ति र सामर्थ्यमा अझ ठूला भए तापनि प्रभुका सामने तिनीहरूलाई निन्दा गरेर दोष दिंदैनन्‌।” (२ पत्रुस २:१०-१३) झूटा शिक्षकहरूले प्रथम शताब्दीको मसीही मण्डलीमा अख्तियार पाएका प्राचीनहरू अर्थात्‌ “उच्च पदाधिकारीहरूको” निन्दा गरे तापनि स्वर्गदूतहरूले भाइहरूका बीच बेमेल सृजना गर्ने झूटा शिक्षकहरूको निन्दा गरेनन्‌। मानिसहरूभन्दा उच्च ओहदामा रहेका र न्यायबारे बढ्‌ता थाह भएका स्वर्गदूतहरूलाई मण्डलीमा के भइरहेको छ भनेर राम्ररी थाह थियो। यद्यपि, “यहोवाप्रति आदरको खातिर” तिनीहरूले न्याय गर्ने जिम्मा परमेश्‍वरकै हातमा सुम्पे।—हिब्रू २:६, ७; यहूदा ९.

१७. प्राचीनहरूले गल्ती गरेजस्तो लाग्दा तपाईंको विश्‍वासले कसरी काम गर्ने मौका पाउँछ?

१७ कुनै कामकुरा हामीले सोचेजस्तो ढंगमा भएको छैन भने पनि के हामीले मसीही मण्डलीको जीवित शिर येशू ख्रीष्टमाथि भरोसा गर्नुपर्दैन र? आफ्नो विश्‍वव्यापी संगठनमा के भइरहेको छ भनेर उहाँलाई थाह छैन र? उहाँले कामकुरा सञ्चालन गर्नुहुने तौरतरिकाको आदर गर्दै सबै कुरा नियन्त्रण गर्ने उहाँको क्षमता मानिलिनु पर्दैन र? साँच्चै भन्‍ने हो भने, ‘आफ्नो छिमेकीलाई दोष लगाउने हामी को हौं र?’ (याकूब ४:१२; १ कोरिन्थी ११:३; कलस्सी १:१८) आफ्ना चासो अनि चिन्ताहरू यहोवालाई प्रार्थनामा पोखे कसो होला?

१८, १९. प्राचीनले गल्ती गरेजस्तो लाग्दा तपाईं के गर्न सक्नुहुन्छ?

१८ मानव असिद्धताले गर्दा समस्या वा कठिनाइहरू खडा हुनसक्छन्‌। कहिलेकाहीं हुनसक्छ, प्राचीनले गल्ती गर्लान्‌ र यसले गर्दा कोही कोही विचलित पनि होलान्‌। त्यस्तो अवस्थामा हामीले हतार गर्दैमा परिस्थिति सुध्रिंदैन। हतार गऱ्‍यौं भने समस्या झनै चर्किनसक्छ। आध्यात्मिक विवेक भएका व्यक्‍तिहरू यहोवाले नै आफ्नो समयमा कामकुरा सच्याउनुका साथै उहाँले नै अनुशासन दिनुहुनेछ भनेर पर्खन्छन्‌।—२ तिमोथी ३:१६; हिब्रू १२:७-११.

१९ कुनै कुराले गर्दा तपाईं विचलित हुनुहुन्छ भने नि? यसबारे मण्डलीमा अरूसित कुरा गर्नुको साटो आदरपूर्वक प्राचीनहरूसितै मदत माग्नुभए कसो होला? आलोचना नगरीकन बरु, आफूलाई परेको असर बताउनुहोस्‌। सधैं “भ्रातृ-प्रेम” देखाउनुहोस्‌ र प्राचीनहरूसित आदरपूर्वक आफ्नो मनको कुरा पोख्नुहोस्‌। (१ पत्रुस ३:८) छेडपेच नगर्नुहोस्‌, बरु, तिनीहरूको आध्यात्मिक परिपक्वतामाथि भरोसा गर्नुहोस्‌। तिनीहरूले दयालु ढंगमा दिने आध्यात्मिक प्रोत्साहनको मूल्यांकन गर्नुहोस्‌। अनि थप सुधारको आवश्‍यकता देख्नुहुँदा यहोवाले तिनीहरूलाई असल र सही कुरा गर्न डोऱ्‍याउनुहुनेछ भनी ढुक्क हुनुहोस्‌।—गलाती ६:१०; २ थिस्सलोनिकी ३:१३.

२०. अर्को लेखमा हामी के छलफल गर्नेछौं?

२० तथापि, अख्तियारवालाहरूलाई आदर र मान गर्ने सन्दर्भमा हामीले विचार गर्नुपर्ने अर्को एउटा पक्ष पनि छ। अख्तियारवालाहरूले पनि आफ्नो जिम्मामा सुम्पिएका व्यक्‍तिहरूलाई आदर गर्नुपर्दैन र? यसबारे अर्को लेखमा छलफल गरिनेछ।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• अख्तियारवालाहरूलाई आदर गर्ने हामीसित कस्तो ठोस कारण छ?

• ईश्‍वरप्रदत्त अख्तियारको अनादर गर्नेहरूप्रति यहोवा र येशू कस्तो दृष्टिकोण राख्नुहुन्छ?

• अख्तियारवालाहरूलाई आदर गर्ने व्यक्‍तिहरूको कस्ता राम्रा उदाहरणहरू छन्‌?

• हामीमाथि अख्तियार भएकाहरूले गल्ती गरेजस्तो लागेमा के गर्नसक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १२-मा भएको चित्र]

साराले अब्राहामको अख्तियारलाई गहिरो आदर गर्थिन्‌ र तिनी सुखी थिइन्‌

[पृष्ठ १३-मा भएको चित्र]

मीकलले परिवारको शिर तथा राजा, दाऊदको अख्तियारलाई आदर गरिनन्‌

[पृष्ठ १५-मा भएको चित्र]

“मैले परमप्रभुको अभिषिक्‍तको विरुद्धमा हात कहिले उठाउन नपरोस्‌!”

[पृष्ठ १६-मा भएको चित्र]

प्रार्थनाद्वारा यहोवालाई आफ्नो मनको बह पोखे कसो होला?