सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तिमीहरू चाहिं सबै दाज्यू-भाइ हौ”

“तिमीहरू चाहिं सबै दाज्यू-भाइ हौ”

“तिमीहरू चाहिं सबै दाज्यू-भाइ हौ”

“तिमीहरूलाई कसैले गुरु नभनोस्‌ किनकि तिमीहरूका गुरु एउटै छन्‌, र तिमीहरू चाहिं सबै दाज्यू-भाइ हौ।”—मत्ती २३:८.

१. हामीले कुन कुरा विचार गर्नु खाँचो छ?

 “कसलाई बढी आदर गर्नुपर्छ, मिसनरी कि बेथलाइटलाई?” एउटा पूर्वीय देशकी मसीही बहिनीले अस्ट्रेलियाबाट आएकी मिसनरीलाई मनमा कुनै छलकपट नराखी उक्‍त प्रश्‍न गरिन्‌। उनी कसलाई बढी आदर गर्नुपर्छ भनी जान्‍न चाहन्थिन्‌, अर्को देशबाट आएको मिसनरीलाई कि वाच टावर सोसाइटीको शाखा कार्यालयमा सेवारत स्थानीय सेवकलाई। त्यस निष्कपट प्रश्‍नले वर्ग विभाजनलाई महत्त्व दिने संस्कृति झल्काउँछ र यस प्रश्‍नले मिसनरी छक्कै परिन्‌। तथापि, को ठूलो भन्‍ने प्रश्‍न, कसको ओहदा र प्रतिष्ठा बढी छ भनेर थाह पाउने इच्छाबाट निस्कन्छ।

२. हामीले आफ्ना सँगी उपासकहरूलाई कुन दृष्टिले हेर्नुपर्छ?

यो कुनै नौलो कुरा होइन। येशूका चेलाहरूबीच पनि को सबैभन्दा ठूलो भन्‍ने वादविवाद कहिल्यै टुंगिएन। (मत्ती २०:२०-२४; मर्कूस ९:३३-३७; लूका २२:२४-२७) तिनीहरू पनि वर्ग विभाजनलाई महत्त्वपूर्ण ठान्‍ने प्रथम शताब्दीको यहूदी समाजमा हुर्किएका थिए। त्यस्तो समाजलाई विचार गर्दै येशूले आफ्ना चेलाहरूलाई यस्तो सल्लाह दिनुभयो: “तिमीहरूलाई कसैले गुरु [रब्बी, NW ] नभनोस्‌ किनकि तिमीहरूका गुरु एउटै छन्‌, र तिमीहरू चाहिं सबै दाज्यू-भाइ हौ।” (मत्ती २३:८) “रब्बी” भन्‍ने शब्दको अर्थ “गुरु” हो र यस धार्मिक पदवीले “यो पदवी पाउनेहरूमा घमण्ड र श्रेष्ठताको भाव जगाउँछ भने, नहुनेहरूमा ईर्ष्या अनि हीनताबोध; यसले जगाउने मनोभाव र झुकाउ ‘ख्रीष्टको सरलताभन्दा’ एकदमै विपरीत छ” भनी बाइबलविद्‌ अल्बर्ट बार्न्जले बताए। निस्सन्देह, मसीहीहरू निरीक्षकहरूलाई सम्बोधन गर्दा “प्राचीन” भन्‍ने शब्द कुनै ठूलो पदवीजस्तो गरी “प्राचीन फलानो फलानो” भन्‍ने गर्दैनन्‌। (अय्यूब ३२:२१, २२) अर्कोतर्फ, येशूको मनोभाव झल्काउने प्राचीनहरूले मण्डलीका अरू सदस्यहरूलाई त्यसरी नै आदर गर्छन्‌ जसरी यहोवा अनि येशू ख्रीष्टले वफादार उपासकहरूलाई आदर गर्नुहुन्छ।

यहोवा र येशूको उदाहरण

३. यहोवाले आफ्ना आत्मिक प्राणीहरूलाई कसरी आदर गर्नुभयो?

यहोवा “सर्वोच्च” हुनुभए तापनि उहाँले आफ्ना सबै प्राणीहरूलाई आफ्नो सृष्टिमा सामेल गर्नुभएर सुरुदेखि नै आदर गर्नुभयो। (भजन ८३:१८) प्रथम मानव सृष्टि गर्नुहुँदा यहोवाले आफ्नो एकलौटो पुत्रलाई “कारीगर” बनाउनुभयो। (हितोपदेश ८:२७-३०, नयाँ संशोधित संस्करण; उत्पत्ति १:२६) यहोवाले दुष्ट राजा आहाबलाई नाश गर्ने निर्णय गर्नुहुँदा कसरी गरे बेस होला भनी स्वर्गदूतहरूसित सोध्नुभयो।—१ राजा २२:१९-२३.

४, ५. यहोवा आफ्ना मानव प्राणीहरूलाई कसरी आदर गर्नुहुन्छ?

यहोवा, ब्रह्‍माण्डको सार्वभौमसत्ताधारी शासक हुनुहुन्छ। (व्यवस्था ३:२४) उहाँलाई मानिसहरूको राय लिनुपर्ने कुनै खाँचो छैन। यद्यपि, मानिसहरूको कुरा बुझ्न मानौं उहाँ झुक्नुहुन्छ। भजनरचयिताले यस्तो भजन गाए: “हाम्रा परमेश्‍वर परमप्रभुजस्तो को छ? उहाँ ता उच्च स्थानमा विराजमान हुनुभएको छ। औ आकाश र पृथ्वीका कुराहरूमा नजर गर्नालाई निहुरिनुहुन्छ, कङ्‌गालीहरूलाई धूलोबाट उहाँलेनै उठाउनुहुन्छ।”—भजन ११३:५-८.

सदोम र गमोराको विनाश गर्नुअघि यहोवाले अब्राहामका प्रश्‍नहरू सुन्‍नुभयो र न्यायबारे तिनको दृष्टिकोण बुझ्नुभयो। (उत्पत्ति १८:२३-३३) यहोवालाई अब्राहामको बिन्तीको परिणाम पहिल्यै थाह भए तापनि उहाँले धैर्यपूर्वक अब्राहामको कुरा सुन्‍नुभयो र तिनको तर्क स्वीकार्नुभयो।

६. हबकूकको प्रश्‍नप्रति यहोवाले आदर देखाउनुहुँदा परिणाम के भयो?

यहोवाले हबकूकको पनि कुरा सुन्‍नुभयो, तिनले यस्तो प्रश्‍न गरेका थिए: “हे परमप्रभु, कहिलेसम्म तपाईं मेरो दोहाई सुन्‍नुहुन्‍न?” के यहोवाले यस प्रश्‍नले आफ्नो अख्तियारलाई चुनौती दिएको ठान्‍नुभयो? अहँ, ठान्‍नुभएन। उहाँले हबकूकको प्रश्‍न उचित ठान्‍नुभयो र न्याय गर्न कल्दीहरूलाई खडा गर्ने आफ्नो उद्देश्‍यबारे बताउनुभयो। ‘त्यो दर्शन ठहराएको समयमा निश्‍चय पूरा हुनेछ’ भनी उहाँले अगमवक्‍तालाई आश्‍वासन दिनुभयो। (हबकूक १:१, २, ५, ६, १३, १४; २:२, ३) हबकूकको चासोलाई गम्भीरतापूर्वक लिई जवाफ दिनुभएर यहोवाले तिनलाई आदर गर्नुभयो। फलस्वरूप, विचलित हबकूक अगमवक्‍ताको मुहार उज्यालो भयो र तिनी प्रसन्‍न भए अनि परमेश्‍वरले दिनुहुने मुक्‍तिमा पूर्ण भरोसा राख्न सके। यो कुरा हबकूकको प्रेरित पुस्तकमा पाइन्छ र त्यसले अहिले यहोवामाथिको हाम्रो भरोसा बलियो बनाउँछ।—हबकूक ३:१८, १९.

७. सा.यु. ३३ पेन्तिकोसमा पत्रुसले निर्वाह गरेको भूमिका किन उल्लेखनीय छ?

अरूलाई आदर देखाउने सन्दर्भमा अर्को राम्रो उदाहरण येशू ख्रीष्ट हुनुहुन्छ। “हरेक जसले मलाई मानिसहरूका सामु इन्कार गर्छ, म पनि उसलाई मेरा स्वर्गमा हुने पिताको सामु इन्कार गर्नेछु” भनी येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभएको थियो। (मत्ती १०:३२, ३३) तथापि, उहाँलाई विश्‍वासघात गरिएको रात सबै चेलाहरूले छोडेर भागे अनि प्रेरित पत्रुसले त तीन चोटि इन्कारसमेत गरे। (मत्ती २६:३४, ३५, ६९-७५) येशूले पत्रुसका भित्री भावनाहरू बुझ्नुभयो, तिनको गहिरो पश्‍चात्ताप देख्नुभयो र तिनले गरेको इन्कारलाई मात्र हेर्नुभएन। (लूका २२:६१, ६२) त्यसको ५१ दिनपछि ख्रीष्टले पश्‍चात्तापी पत्रुसलाई पेन्तिकोसको दिनमा येशूका १२० जना चेलाहरूको प्रतिनिधित्व गर्न अनि “स्वर्गको राज्यका साँचाहरू[मध्ये]” पहिलो साँचो चलाउने अवसर दिनुभयो। (मत्ती १६:१९; प्रेरित २:१४-४०) पत्रुसलाई ‘आफ्ना भाइहरूलाई स्थिर गराउने’ मौका दिइयो।—लूका २२:३१-३३.

परिवारका सदस्यहरूलाई आदर गर्ने

८, ९. पत्नीलाई आदर दिने सन्दर्भमा पतिले कसरी यहोवा र येशूको अनुकरण गर्न सक्छन्‌?

पति तथा आमाबाबुले ईश्‍वरप्रदत्त अख्तियार प्रयोग गर्ने सन्दर्भमा यहोवा र येशू ख्रीष्टको अनुसरण गर्नु बेस हुनेछ। पत्रुसले यस्तो सल्लाह दिए: “हे पति हो, त्यसैगरी जीवनको अनुग्रहको सजिया हकदारसमेत भएकोले [पत्नीलाई] निर्बल पात्रलाई जस्तो स्त्री जातिलाई आदर” गर। (१ पत्रुस ३:७) काठभन्दा कमजोर, काँचको भाँडो चलाउनु हुँदा के गर्नुहुन्छ, कल्पना गर्नुहोस्‌ त। के तपाईं अझ बढी जतन गरेर चलाउनु हुन्‍न र? पतिले पनि यहोवाको अनुसरण गर्दै, पारिवारिक कामकुरामा निर्णय गर्नुअघि पत्नीको विचार बुझ्न सक्छन्‌। नबिर्सनुहोस्‌, यहोवाले अब्राहामको तर्क सुन्‍नुभयो। असिद्ध हुनाकारण पतिले सम्पूर्ण कुरा राम्ररी नबुझेको हुनसक्छ। त्यसकारण, आफ्नी पत्नीको कुरालाई गम्भीरतापूर्वक ध्यान दिएर उनको आदर गर्नु के बुद्धिमानी होइन र?

पुरुष प्रधान मुलुकहरूमा श्रीमतीले आफ्ना भित्री भावनाहरू पोख्न निकै ठूलठूला अवरोधहरू पार गर्नुपर्ने हुनसक्छ भनेर श्रीमान्‌ले कहिल्यै बिर्सनु हुँदैन। येशू ख्रीष्ट पृथ्वीमा हुनुहुँदा उहाँले आफ्ना चेलाहरू अर्थात्‌ भावी दुलही वर्गसित गर्नुभएको व्यवहार अनुकरण गर्नुहोस्‌। उहाँले तिनीहरूको कदर गर्नुभयो, तिनीहरूले आफ्ना आवश्‍यकताहरू व्यक्‍त गर्नुअघि नै तिनीहरूको शारीरिक तथा आध्यात्मिक सीमितताहरूको ख्याल गर्नुभयो। (मर्कूस ६:३१; यूहन्‍ना १६:१२, १३; एफिसी ५:२८-३०) साथै, तपाईंको श्रीमतीले तपाईं र तपाईंको परिवारको लागि के के गरिरहेकी छिन्‌, त्यसलाई हल्कासित नलिनुहोस्‌ अनि आफ्नो काम तथा वचनद्वारा तिनको मूल्यांकन गर्नुहोस्‌। यहोवा र येशू दुवैले योग्य जनहरूको मूल्यांकन, सराहना गर्नुभयो र तिनीहरूलाई धन्यका ठान्‍नुभयो। (१ राजा ३:१०-१४; अय्यूब ४२:१२-१५; मर्कूस १२:४१-४४; यूहन्‍ना १२:३-८) आफ्नो पति यहोवाको साक्षी भएपछि एउटा पूर्वीय देशकी मसीही बहिनीले यसो भनिन्‌: “म सधैं मेरो श्रीमान्‌भन्दा तीन चार पाइला पछाडि हिंड्‌ने गर्थें र सारा भारी मैले नै बोक्नुपर्थ्यो। अब, भारी सबै उहाँले बोक्नुहुन्छ र म घरमा जेजति गर्छु, त्यसको उहाँ मूल्यांकन गर्नुहुन्छ!” साँचो हृदयले मूल्यांकन गर्नुभयो भने तपाईंको पत्नीले पनि आफू मूल्यवान्‌ रहेछु भन्‍ने महसुस गर्नेछिन्‌।—हितोपदेश ३१:२८.

१०, ११. विद्रोही राष्ट्र इस्राएलसित यहोवाले गर्नुभएको राम्रो व्यवहारबाट आमाबाबुले के सिक्न सक्छन्‌?

१० छोराछोरीसित व्यवहार गर्दा, विशेष गरी अनुशासन दिने सन्दर्भमा आमाबाबुले परमेश्‍वरको उदाहरण अनुकरण गर्नुपर्छ। “परमप्रभुले . . . इस्राएल र यहूदालाई” खराब चाल छोड्‌न “गंभीर चेताउनी दिनुभयो” तर “तिनीहरू हठी र वागी भए।” (२ राजा १७:१३-१५) इस्राएलीहरूले “मुखले मात्र उहाँको खुशामद गरे, र तिनीहरूले आफ्ना जिब्रोले उहाँसित झूट बोले।” कहिलेकाहीं छोराछोरीले यस्तै व्यवहार गरेको आमाबाबुले महसुस गर्छन्‌। इस्राएलीहरूले “परमेश्‍वरको परीक्षा गरे” अनि उहाँको चित्त दुखाए। यद्यपि, यहोवा “दयामा पूर्ण भएको हुनाले तिनीहरूका अपराध क्षमा गर्नुभयो, र तिनीहरूलाई नष्ट गर्नुभएन।”—भजन ७८:३६-४१.

११ यहोवाले इस्राएलीहरूलाई यस्तो बिन्तीसमेत गर्नुभयो: “आऊ, हामी बसेर आफ्ना कुरा छलफल गरौं। तिमीहरूका पाप सिन्दूर रंगका भए, तापनि ती हिउँजस्तै सेता हुनेछन्‌।” (यशैया १:१८) यहोवाको कुनै दोष नभए तापनि उहाँले विद्रोही राष्ट्रहरूलाई बोलाएर उहाँसितको सम्बन्ध सुधार्न आग्रह गर्नुभयो। छोराछोरीहरूसित व्यवहार गर्दा आमाबाबुले अनुकरण गर्नुपर्ने कस्तो राम्रो मनोवृत्ति! आवश्‍यकताअनुसार छोराछोरीको पनि कुरा सुन्‍नुभएर तिनीहरूको मर्यादा राख्नुहोस्‌ अनि तिनीहरूले छाँटकाँट गर्नु पर्नाको कारण तिनीहरूसित छलफल गर्नुहोस्‌।

१२. (क) हामीले किन यहोवाको भन्दा छोराछोरीको बढ्‌ता आदर गर्नु हुँदैन? (ख) छोराछोरीलाई अनुशासन दिंदा तिनीहरूको मर्यादाको आदर गर्न के गर्नुपर्छ?

१२ निस्सन्देह, कहिलेकाहीं छोराछोरीलाई कडा सल्लाह दिनुपर्ने हुन्छ। आमाबाबुहरू एलीजस्तो हुन चाहँदैनन्‌ किनभने तिनले यहोवाको भन्दा ‘आफ्ना छोराहरूको बढी सम्मान गरे।’ (१ शमूएल २:२९, नयाँ संशोधित संस्करण) केटाकेटीहरूले आफूलाई दिइएको अनुशासनपछाडि लुकेको मायालु मनसाय बुझ्नु महत्त्वपूर्ण छ। तिनीहरूले आफूलाई आमाबाबुले माया गर्छन्‌ भन्‍ने कुरा बुझेको हुनुपर्छ। पावल बुबाहरूलाई यस्तो सल्लाह दिन्छन्‌: “तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।” (एफिसी ६:४) आमाबाबुको अख्तियार मान्‍नुपर्छ तर यहाँ भन्‍न खोजेको कुरा के हो भने, बुबाले छोराछोरीको मर्यादा राख्नुपर्छ र आफू बढ्‌तै कठोर भएर तिनीहरूलाई रिस उठाउनु हुँदैन। हो, छोराछोरीको मर्यादा राख्न आमाबाबुले समय निकाल्नुपर्छ र प्रयास गर्नुपर्छ तर त्यसो गर्दा पाइने इनामहरू, जस्तोसुकै त्यागहरूभन्दा धेरै अनमोल हुन्छन्‌।

१३. परिवारका वृद्ध सदस्यहरूप्रति बाइबलको कस्तो दृष्टिकोण छ?

१३ आफ्नो परिवारका सदस्यहरूलाई आदर गर्ने कुरा आफ्नी श्रीमती र छोराछोरीको मर्यादा राख्नुमा मात्र सीमित छैन। एउटा जापानी उखान छ, “बूढाबूढी भएपछि, छोराछोरीको कुरा सुन्‍नुहोस्‌।” यो उखानले भन्‍न खोजेको कुरा के हो भने, उमेर ढल्किसकेका आमाबाबुले आफ्नो अख्तियार प्रयोग गर्ने भन्दैमा अचाक्ली गर्नु हुँदैन र हुर्किसकेका छोराछोरीको कुरा पनि सुन्‍नुपर्छ। छोराछोरीको कुरा सुनेर आमाबाबुले तिनीहरूको आदर गर्नु धर्मशास्त्रअनुसार हो तर छोराछोरीले पनि परिवारका वृद्ध सदस्यहरूप्रति अनादरपूर्ण मनोवृत्ति राख्नु हुँदैन। “आफ्नी आमा वृद्ध हुँदा तिनलाई तुच्छ नठान्‌” भनी हितोपदेश २३:२२ ले सल्लाह दिन्छ। राजा सुलेमानले यो सल्लाह पालन गरे अनि आमाले बिन्ती गर्दा तिनको आदर गरे। सुलेमानले आमाको लागि आफ्नो सिंहासनको दाहिनेतिर एउटा सिंहासन बनाएका थिए र उमेर ढल्किसकेकी आमा, बतशेबाको कुरा सुने।—१ राजा २:१९, २०.

१४. हामीले मण्डलीका वृद्ध सदस्यहरूलाई कसरी आदर गर्नसक्छौं?

१४ हाम्रो ठूलो आध्यात्मिक परिवारमा मण्डलीका वृद्ध सदस्यहरूप्रति आदर देखाउन हामी “एउटाले अर्काको बढ्‌ता कदर” गर्नसक्छौं। (रोमी १२:१०) तिनीहरूलाई आफूले पहिले गर्नसकेजति गर्न नसक्दा दिक्क लाग्नसक्छ। (उपदेशक १२:१-७) वृद्ध भएर ओछ्यान परेकी अभिषिक्‍त मसीही बहिनीले एक चोटि त्यस्तै निराशा व्यक्‍त गरिन्‌: “यसरी बस्नुभन्दा त बरु मरे हुन्थ्यो र फेरि काम थाल्न सक्नेथिएँ।” त्यस्ता वृद्ध जनहरूलाई उचित आदर अनि मान्यता दिंदा निराशा अलि कम हुनसक्छ। इस्राएलीहरूलाई यस्तो आज्ञा दिइयो: “बूढ़ा-पाकाका सम्मानमा उठ र वृद्ध मानिसको आदर गर।” (लेवी १९:३२) वृद्ध व्यक्‍तिहरूलाई तिनीहरू मूल्यवान्‌ छन्‌ भन्‍ने महसुस गराउनुहोस्‌ र तिनीहरूको मूल्यांकन गर्दै ख्याल राख्नुहोस्‌। ‘उठ्‌नु’ भन्‍नाले तिनीहरूले वर्षौंअघिदेखि गर्दै आएका कुराहरू ध्यान दिएर सुन्‍नु पनि हो। त्यसो गर्दा वृद्धहरूको मर्यादा रहनेछ र हाम्रो आध्यात्मिक जीवन अझ अर्थपूर्ण हुनेछ।

‘मानमा एउटाले अर्कोको बढ्‌ता कदर गर्नुहोस्‌’

१५. प्राचीनहरूले मण्डलीका सदस्यहरूको मर्यादा राख्न के गर्नसक्छन्‌?

१५ प्राचीनहरूले राम्रो उदाहरण बसाल्दा मण्डलीका सदस्यहरूको बोझ हल्का हुन्छ। (१ पत्रुस ५:२, ३) जवान, परिवारका शिर, एक्ली आमा, गृहिणी र वृद्धहरूले समस्या भोगिरहेका हून्‌ या नहून्‌, आफ्नो व्यस्त तालिकाको बावजूद अरूको हेरचाह गर्ने प्राचीनहरू तिनीहरूसित कुराकानी गर्न अग्रसर हुन्छन्‌। प्राचीनहरूले मण्डलीका सदस्यहरूको कुरा सुन्छन्‌ अनि तिनीहरूले जे जति गरिरहेका छन्‌, त्यसको तारिफ गर्छन्‌। कुनै भाइ वा बहिनीले गरिरहेको कामको मूल्यांकन गर्दै टिप्पणी गर्ने प्राचीनले यहोवाको अनुकरण गरिरहेका हुन्छन्‌ किनभने यहोवाले आफ्ना पार्थिव प्राणीहरूको मूल्यांकन गर्नुहुन्छ।

१६. हामीले मण्डलीका अरूलाई जस्तै प्राचीनहरूलाई पनि किन समान आदर दिनुपर्छ?

१६ यहोवाको अनुकरण गर्दै प्राचीनहरूले पावलको यो सल्लाह पालन गरेर असल उदाहरण बसाल्छन्‌: “भातृप्रेममा एक दोस्रोतर्फ मायालु होओ। मानमा एउटाले अर्कोको बढ़ता कदर गर।” (रोमी १२:१०) सामान्यतया वर्ग विभाजन हुने मुलुकका प्राचीनहरूको लागि यसो गर्न त्यति सजिलो नहोला। उदाहरणका लागि, एउटा पूर्वीय देशमा “भाइ” अर्थ बुझाउने दुइटा पदावली छ। एउटा, आदरवाची पदवी हो भने अर्को सामान्य। केही समयअघिसम्म मण्डलीका सदस्यहरूले प्राचीन तथा वृद्धहरूलाई सम्बोधन गर्न आदरवाची पदवी र अरूलाई सामान्य पद प्रयोग गर्थे। तथापि, तिनीहरूलाई सधैं सबैको लागि सामान्य पद प्रयोग गर्न प्रोत्साहन दिइयो किनभने येशूले आफ्ना अनुयायीहरूलाई “तिमीहरू चाहिं सबै दाज्यू-भाइ हौ” भन्‍नुभयो। (मत्ती २३:८) अरू देशहरूमा यस्तो भिन्‍नता नदेखिएला तर वर्ग विभाजन गर्ने मानव झुकाउप्रति हामी सबै सतर्क हुनुपर्छ।—याकूब २:४.

१७. (क) प्राचीनहरूसित कुरा गर्न किन सजिलो हुनुपर्छ? (ख) मण्डलीका सदस्यहरूसित व्यवहार गर्ने सन्दर्भमा प्राचीनहरूले कसरी यहोवाको अनुकरण गर्नसक्छन्‌?

१७ हो, पावलले हामीलाई कोही कोही प्राचीनहरू “दोहोरो आदरका” योग्य छन्‌ भने तापनि आखिर तिनीहरू पनि त भाइहरू नै हुन्‌। (१ तिमोथी ५:१७) सार्वभौम सत्ताधारीको “अनुग्रहको सिंहासनको नजीक हामी निर्भयसँग” जानसक्छौं भने के हामी यहोवाको अनुकरण गर्ने प्राचीनहरूसामु पनि जान सक्नुपर्ने होइन र? (हिब्रू ४:१६; एफिसी ५:१) सल्लाह माग्न वा सुझाउ दिन मानिसहरू कत्तिको आउने गर्छन्‌, त्यसैको आधारमा निरीक्षकहरूले तिनीहरूसित कुरा गर्न मानिसहरूलाई कत्तिको सजिलो लाग्छ, विचार गर्नसक्छन्‌। यहोवाले कसरी आफ्नो काममा अरूलाई पनि सामेल गर्नुहुन्छ, त्यसबाट पाठ सिक्नुहोस्‌। उहाँले जिम्मेवारी बाँड्‌नुभएर अरूको मर्यादा राख्नुहुन्छ। अर्को साक्षीले दिएको कुनै कुनै सुझाउ अव्यवहारिक देखिए तापनि प्राचीनहरूले तिनीहरूको चासोको मूल्यांकन गर्नुपर्छ। अब्राहामको गहन प्रश्‍न तथा विचलित हबकूकले गरेका प्रश्‍नप्रति यहोवाले कस्तो प्रतिक्रिया व्यक्‍त गर्नुभयो, सम्झनुहोस्‌ त।

१८. मदत चाहिएकाहरूलाई सच्याउँदा प्राचीनहरूले कसरी यहोवाको अनुकरण गर्नसक्छन्‌?

१८ कोही कोही सँगी मसीहीहरूलाई सच्याउनुपर्ने हुनसक्छ। (गलाती ६:१) तैपनि, तिनीहरू यहोवाको नजरमा मूल्यवान्‌ छन्‌ र तिनीहरूसित मर्यादापूर्ण व्यवहार गर्नुपर्छ। एक जना साक्षीले यसो भने: “आदरपूर्ण ढंगमा सल्लाह दिंदा मलाई कुरा गर्न सजिलो लाग्छ।” मर्यादापूर्ण व्यवहार गर्दा प्रायजसो मानिसहरू दिइएको सल्लाहप्रति सकारात्मक प्रतिक्रिया व्यक्‍त गर्छन्‌। हुन त यसो गर्न समय बढी लाग्ला तर गलत कदम चाल्ने व्यक्‍तिहरूको कुरा राम्ररी सुनिदिंदा त्यो सल्लाह स्वीकार्न सजिलो हुन्छ। इस्राएलीहरूप्रति अनुकम्पाले गर्दा यहोवाले बारम्बार कस्तो चेताउनी दिनुभयो, त्यो पनि नबिर्सनुहोस्‌। (२ इतिहास ३६:१५; तीतस ३:२) समानुभूति र सहानुभूतिले भरिएको सल्लाहले मदत चाहिएकाहरूको हृदय छुन्छ।—हितोपदेश १७:१७; फिलिप्पी २:२, ३; १ पत्रुस ३:८.

१९. मसीहीहरूको जस्तो विश्‍वास नहुने मानिसहरूप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ?

१९ हामीले आदर गर्नुपर्ने व्यक्‍तिहरूमा पछि गएर हाम्रा आध्यात्मिक भाइ हुनसक्ने व्यक्‍तिहरू पनि समावेश छन्‌। त्यस्ता मानिसहरूले तुरुन्तै हाम्रो सन्देश नस्वीकार्लान्‌, तैपनि हामीले धैर्य गर्नुपर्छ र सँगी मानवलाई दिनुपर्ने मर्यादा दिनुपर्छ। यहोवा, “सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने इच्छा” गर्नुहुन्छ। (२ पत्रुस ३:९) के हामीले पनि यहोवाको जस्तै दृष्टिकोण राख्नु पर्दैन र? हामी मानिसहरूसित मित्रैलो भयौं भने, तिनीहरूलाई साक्षी दिने बाटो सधैं खुला हुन्छ। निस्सन्देह, हामी आफ्नो आध्यात्मिकतामा खतरा पुग्न सक्ने सरसंगतिबाट अलग्गै बस्छौं। (१ कोरिन्थी १५:३३) यद्यपि, हाम्रोजस्तै विश्‍वास नहुनेहरूलाई घृणा नगरेर हामी “भद्र व्यवहार” गर्छौं।—प्रेरित २७:३.

२०. यहोवा र येशू ख्रीष्टको उदाहरणले हामीलाई के गर्न प्रेरित गर्नुपर्ने हो?

२० हो, यहोवा अनि येशू ख्रीष्ट हामी प्रत्येकलाई आदरयोग्य ठान्‍नुहुन्छ। उहाँहरूले कस्तो व्यवहार गर्नुहुन्छ, त्यो कहिल्यै नबिर्सौं र हामी पनि एउटाले अर्काको बढ्‌ता आदर गरौं। अनि हामी प्रभु येशू ख्रीष्टका यी शब्दहरू कहिल्यै नबिर्सौं: “तिमीहरू चाहिं सबै दाज्यू-भाइ हौ।”—मत्ती २३:८.

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• सँगी उपासकहरूप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ?

• यहोवा र येशूको उदाहरणले अरूलाई आदर गर्न कसरी प्रेरित गर्छ?

• पति तथा आमाबाबुले कसरी अरूलाई आदर गर्नसक्छन्‌?

• सँगी मसीहीहरूलाई आफ्नो भाइ ठान्‍ने मनोवृत्तिले प्राचीनहरूलाई कस्तो व्यवहार गर्न प्रेरित गर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको चित्र]

आफ्नी पत्नीप्रति मूल्यांकन व्यक्‍त गरेर तिनलाई आदर गर्नुहोस्‌

[पृष्ठ १८-मा भएको चित्र]

छोराछोरीको कुरा सुनेर तिनीहरूको मर्यादा राख्नुहोस्‌

[पृष्ठ १८-मा भएको चित्र]

मण्डलीका सदस्यहरूलाई मर्यादापूर्ण व्यवहार गर्नुहोस्‌