सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

के यहोवाका साक्षीहरू रगतबाट बनाइएका पदार्थहरू स्वास्थ्योपचारमा प्रयोग गर्छन्‌?

मूलभूत जवाफ हो, यहोवाका साक्षीहरूले रगत लिंदैनन्‌। परमेश्‍वरले रगतसम्बन्धी दिनुभएको व्यवस्था बेग्लाबेग्लै धारणाअनुसार छाँटकाँट गर्न मिल्दैन भनेर हामी विश्‍वस्त छौं। तैपनि, नयाँ विवादहरू खडा हुन्छन्‌ किनभने अहिले रगत प्रशोधन गरेर चारवटा मूलभुत तत्त्वहरू अनि त्यसका पनि स-साना तत्त्वहरू छुट्याउन सकिन्छ। यी तत्त्वहरू स्वीकार्ने कि नस्वीकार्ने भनेर निर्णय गर्नुअघि यसका सम्भाव्य स्वास्थ्य लाभ र खतराबारे मात्र विचार गरेर पुग्दैन। यसबारे बाइबलले के भन्छ र यसले सर्वशक्‍तिमान परमेश्‍वरसितको सम्बन्धमा कस्तो असर पार्नसक्छ भनेर विचार गर्नुपर्छ।

मूल बुँदाहरू त स्पष्टै छन्‌। यसो हुनुको कारण के हो भनेर बुझ्न बाइबल, इतिहास र चिकित्सा क्षेत्रको पृष्ठभूमि केलाउनुहोस्‌।

यहोवा परमेश्‍वरले हामी सबैको पुर्खा नूहलाई रगत पवित्र कुरा हो भन्‍नुभयो। (उत्पत्ति ९:३, ४) पछि, परमेश्‍वरले इस्राएललाई दिनुभएको यो व्यवस्थाले रगतको पवित्रता झल्कायो: “इस्राएलीहरू वा . . . परदेशीहरू . . . कसैले रगत खायो भने, त्यो रगत खानेको म विरोध गर्नेछु।” परमेश्‍वरको व्यवस्था उल्लंघन गर्ने इस्राएलीले अरूलाई पनि बहकाउन सक्थ्यो। त्यसकारण, परमेश्‍वरले यसो पनि भन्‍नुभयो: “त्यसलाई आफ्ना मानिसहरूबाट वहिष्कृत गरिदिनेछु।” (लेवी १७:१०) पछि, यरूशलेममा बसेको सभामा प्रेरितहरू तथा धर्मगुरुहरूले हामी ‘रगतबाट अलग बस्नुपर्छ’ भन्‍ने घोषणा गऱ्‍यो। त्यसो गर्नु यौन अनैतिकता र मूर्तिपूजाबाट अलग बस्नु जत्तिकै महत्त्वपूर्ण छ।—प्रेरित १५:२८, २९.

त्यतिबेला ‘अलग बस्नुको’ अर्थ के हुन सक्थ्यो? मसीहीहरूले ताजा होस्‌ वा जमेको, रगत खाँदैनथे न त रगत नबगाई मारिएको जनावरको मासु खान्थे। साथै, रगत मिसाएर बनाइएका खानेकुरा, जस्तै रक्‍त ससेजहरू पनि खानेथिएनन्‌। यीमध्ये कुनै पनि तरिकाले रगत लिनु भनेको परमेश्‍वरको व्यवस्था भंग गर्नु बराबर हुन्थ्यो।—१ शमूएल १४:३२, ३३.

पुरातन समयका प्रायजसो मानिसहरूको लागि रगत खाने या नखाने भन्‍ने कुनै चिन्ताको विषय थिएन भनी हामी टर्टुलियनका (सा.यु. दोस्रो र तेस्रो शताब्दी) लेखोटहरूबाट थाह पाउँछौं। मसीहीहरूले रगत खान्थे भन्‍ने झूटो आरोपको खण्डन गर्दै, रगत चाखेर सन्धि गर्ने जातिहरूबारे टर्टुलियनले उल्लेख गरे। साथै, तिनले भने, “रंगशालामा कुनै प्रदर्शन हुँदा [केही] रक्‍तपिपासुहरूले छारेरोगको उपचार भनी . . . दोषीहरूको आलो रगत पिएका छन्‌।”

त्यस्ता प्रचलनहरू (कोही कोही रोमीहरूले स्वास्थ्यको खातिर गर्ने गरे तापनि) मसीहीहरूको लागि गलत थियो: “हामी आफ्नो भोजनमा जनावरको रगतसमेत समावेश गर्दैनौं” भनी टर्टुलियनले लेखे। रोमीहरूले रगत लटपटिएको भोजन दिएर साँचो मसीहीहरूको निष्ठा जाँच्थे। टर्टुलियनले अझ यसो भने: “के हो यस्तो, [मसीहीहरू ] जनावरको रगतबाट त अलग्गै बस्छन्‌ भने मानिसको रगतको प्यासी होलान्‌ त?”

आज, कुनै चिकित्सकले रगत लिने सुझाउ दियो भने यसमा सर्वशक्‍तिमान परमेश्‍वरको व्यवस्था मुछिएको छ भनेर कमैले मात्र सोच्नेछ। हामी यहोवाका साक्षीहरू मर्न चाहँदैनौं तर रगतसम्बन्धी परमेश्‍वरको व्यवस्था पालन गर्न कटिबद्ध छौं। आधुनिक चिकित्सा प्रविधिहरूको दृष्टिकोणमा यसको अर्थ के हो?

दोस्रो विश्‍व युद्धपछि रक्‍तक्षेपण सामान्य हुन थाल्यो र यहोवाका साक्षीहरूले यो प्रचलन परमेश्‍वरको व्यवस्था विपरीत हो भनेर बुझे अनि अहिले पनि हामी त्यही विश्‍वासमा अडिग छौं। यद्यपि, समयको दौडान औषधोपचार गर्ने तरिका एकदमै फरक भएको छ। अहिले प्रायजसो अप्रशोधित रगत होइन तर रगतका कुनै कुनै तत्त्वहरू रक्‍तक्षेपण गरिन्छ। ती तत्त्वहरू हुन्‌: (१) रातो रक्‍तकोष; (२) सेतो रक्‍तकोष; (३) प्लेट्‌लेट्‌स; (४) प्लाज्मा (सिरम), झोल पदार्थ। बिरामीको अवस्था हेरेर चिकित्सकहरूले रातो रक्‍तकोष, सेतो रक्‍तकोष, प्लेट्‌लेट्‌स वा प्लाज्मा लिने सल्लाह दिन सक्छन्‌। त्यसरी रगतका प्रमुख तत्त्वहरू अलग्गै दिंदा एक युनिट रगत पनि थुप्रै बिरामीहरूलाई भाग लगाउन सकिन्छ। यहोवाका साक्षीहरू अप्रशोधित रगत वा त्यसका चार तत्त्वहरूमध्ये कुनै एउटा स्वीकार्दा पनि परमेश्‍वरको व्यवस्था भंग हुन्छ भन्‍ने सोचाइ राख्छन्‌। उल्लेखनीय कुरा त के हो भने, यस बाइबल आधारित अडान कायम राख्दा तिनीहरू रगतबाट सर्न सक्ने हेपाटाइटिस र एड्‌सजस्ता थुप्रै खतराहरूबाट बचेका छन्‌।

तथापि, रगत प्रशोधन गरेर आधारभूत तत्त्वहरू छुट्‌याउन सकिने भएकोले रगतका आधारभूत तत्त्वहरूबाट निकालिएका तत्त्वहरू लिने या नलिने भन्‍ने विषयमा प्रश्‍न उठ्‌छ। त्यस्ता तत्त्वहरू कसरी प्रयोग गरिन्छ र त्यसबारे निर्णय गर्दा मसीहीहरूले कुन कुरा विचार गर्नुपर्छ?

रगत एउटा जटिल मिश्रण हो। नब्बे प्रतिशत पानी भएको प्लाज्मामा समेत हर्मोन, अजैविक नुन, इन्जाइम, खनिज र चिनीजस्ता पोषक तत्त्वहरू हुन्छन्‌। प्लाज्मामा एल्ब्युमिन, रगत जमाउने तत्त्वहरू अनि रोग प्रतिरोधात्मक तत्त्वहरू पनि हुन्छन्‌। प्राविधिकहरूले थुप्रै प्लाज्मा प्रोटिनहरू अलग्गै छुट्याएर प्रयोग गर्छन्‌। उदाहरणका लागि, रगत जमाउने तत्त्व अर्थात्‌ क्लटिङ फ्याक्टर आठ, रगत धेरै बग्ने हेमोफिलियाक रोगीहरूलाई दिने गरिन्छ। अथवा कसैलाई त्यस्ता केही विशेष प्रकारका रोगहरू लागेको छ भने पनि डाक्टरले गामा ग्लोब्युलिनको सुइ लिने सल्लाह दिनसक्छ र यो गामा ग्लोब्युलिन, रोग विरुद्ध लड्‌ने क्षमता भएका मानिसहरूको रगतको प्लाज्माबाट निकालिन्छ। अन्य प्लाज्मा प्रोटिनहरू औषधीको रूपमा सेवन गरिन्छ तर माथि उल्लिखित बुँदाले आधारभूत तत्त्वहरू (प्लाज्मा) प्रशोधन गरेर कसरी अरू तत्त्वहरू निकालिन्छ भनेर देखाउँछ। a

रगतको प्लाज्माबाट धेरै तत्त्वहरू निकाल्न सकिएझैं अरू आधारभूत तत्त्वहरू (रातो रक्‍तकोष, सेतो रक्‍तकोष, प्लेट्‌लेट्‌स) पनि प्रशोधन गरेर स-साना अंशहरू निकाल्न सकिन्छ। उदाहरणका लागि, सेता रक्‍तकोषहरू कुनै कुनै प्रकारका भाइरल इन्फेक्सन र क्यान्सरको उपचारमा प्रयोग गरिने इन्टरफेरोन र इन्टरल्युकिनको स्रोत हुनसक्छ। प्लेट्‌लेट्‌स प्रशोधन गरेर घाउ निको पार्ने तत्त्व बनाउन सकिन्छ। अनि अरू औषधी पनि बनाइँदैछन्‌, जसमा (प्रारम्भिक चरणमा भए पनि) रगतको कुनै न कुनै तत्त्व हुन्छ। त्यस्ता उपचारविधिहरू रगतका आधारभूत तत्त्वहरूको क्षेपण होइन; त्यसमा ती तत्त्वहरूको सानो अंश मात्र प्रयोग हुन्छ। के मसीहीहरूले उपचारको लागि यी तत्त्वहरू स्वीकार्नु उचित हो? हामी यसको जवाफ दिन सक्दैनौं। बाइबलले यसबारे विस्तृत वर्णन नगर्ने हुँदा हरेक मसीहीले परमेश्‍वरसामु आफ्नै अन्तस्करणअनुरूप निर्णय गर्नुपर्छ।

कसै कसैले रगतबाट लिइएका कुनै पनि पदार्थहरू लिंदैनन्‌ (थोरै समयको लागि रोग प्रतिरोध क्षमता बढाउने तत्त्वहरूसमेत)। ‘रगतबाट अलग बस्नू’ भन्‍ने परमेश्‍वरको आज्ञा तिनीहरूले यसरी बुझेका छन्‌। उहाँले इस्राएललाई दिनुभएको व्यवस्थामा कुनै प्राणीबाट झिकेको रगत ‘भूइँमा पोखाइदिनू’ भन्‍नुभएको कुरा पनि तिनीहरूलाई थाह छ। (व्यवस्था १२:२२-२४) यो किन सान्दर्भिक छ? किनभने गामा ग्लोब्युलिन, रगतबाट बनाइएको रगत जमाउने तत्त्व इत्यादि बनाउन पनि रगतै संकलन गरेर प्रशोधन गर्नुपर्छ। यसर्थ, कोही कोही मसीहीहरूले अप्रशोधित रगत वा त्यसका चार आधारभूत तत्त्वहरूको रक्‍तक्षेपण गर्न इन्कार गरेझैं यी तत्त्वहरू पनि स्वीकार्दैनन्‌। यस्तो निष्कपट अनि आफ्नो अन्तस्करणको अडान लिएकोमा तिनीहरूलाई आदर गर्नुपर्छ।

अरू कतिपय मसीहीहरूको निर्णय भने बेग्लै हुन्छ। तिनीहरू पनि अप्रशोधित रगत, रातो रक्‍तकोष, सेतो रक्‍तकोष, प्लेट्‌लेट्‌स वा प्लाज्मा क्षेपण गर्न इन्कार गर्छन्‌। यद्यपि, तिनीहरूले रगतको आधारभूत तत्त्वबाट निकालिएको सानो तत्त्व लिने डाक्टरको सुझाउचाहिं स्वीकार्लान्‌। यो सन्दर्भमा पनि अवस्था बेग्लाबेग्लै हुनसक्छ। कुनै मसीहीले गामा ग्लोब्युलिन सुई लेलान्‌ तर रातो वा सेतो रक्‍त कोषबाट तयार पारिएको सुइ लिन मान्‍न पनि सक्छ, नमान्‍न पनि सक्छ। सबै कुरा विचार गर्दा कोही कोही मसीहीहरूले रगतका सानो तत्त्व स्वीकार्ने निष्कर्षमा पुग्नुको कारण के हुनसक्छ?

जून १, १९९० वाचटावर-को “पाठकहरूका प्रश्‍न[मा]” बताएअनुसार गर्भवती महिलाको रगतका प्लाज्मा प्रोटिन (सानो तत्त्वहरू) तिनको पेटको बच्चाको रक्‍तप्रणालीमा सर्छ। यसरी आमाको इम्युनोग्लोब्युलिन बच्चामा सर्छ र यसले बच्चालाई रोग प्रतिरोधात्मक शक्‍ति प्रदान गर्छ। बच्चालाई अलग्गै हेर्ने हो भने, बच्चाको रातो रक्‍तकोषहरूको जीवन चक्र पूरा हुँदा, त्यसको अक्सिजन बोक्ने अंश पनि प्रशोधित हुन्छ। यसको केही अंश बाइलिरूब्यिन बन्छ र यो सालनाललाई पनि पार गरेर शरीरबाट निस्कने फोहर पदार्थको रूपमा आमाको शरीरबाट निष्कासन हुन्छ। रगतका तत्त्वहरू यसरी एकबाट अर्को मानिसमा सर्न सक्ने हुँदा कोही कोही मसीहीहरू रक्‍त प्लाज्मा वा कोषहरूबाट निकालिएको रगतको तत्त्व स्वीकार्नु ठीकै हो भन्छन्‌।

यससम्बन्धी धारणा र अन्तस्करणको आधारमा गरिने निर्णयहरू फरक हुन्छन्‌ भन्दैमा यो विवाद असान्दर्भिक छ भन्‍नु मिल्छ र? अहँ, मिल्दैन। यो गम्भीर कुरा हो। यद्यपि, एउटा कुरा सरल छ। माथिको विषयवस्तुले प्रस्ट पारेअनुसार यहोवाका साक्षीहरूले अप्रशोधित रगत र त्यसका आधारभूत तत्त्वहरू दुवैको क्षेपण गर्न इन्कार गर्छन्‌। बाइबलले मसीहीहरूलाई ‘मूर्तिहरूलाई बलि चढाएको प्रसाद, रगत र व्यभिचारबाट अलग बस्नू’ भन्‍ने निर्देशन दिएको छ। (प्रेरित १५:२९) त्यसबाहेक, ती आधारभूत तत्त्वहरूबाट लिइने साना तत्त्वहरू लिने या नलिने भन्‍ने सन्दर्भमा हरेक मसीहीले होसियारी र प्रार्थनापूर्वक मनन गरेर आफ्नो अन्तस्करणअनुरूप व्यक्‍तिगत निर्णय गर्नुपर्छ।

थुप्रै मानिसहरू स्वास्थ्यमा तुरुन्तै राम्रो प्रभाव पार्ने उपचार स्वीकार्न तयार हुन्छन्‌। रगतबाट बनाइएका पदार्थहरू प्रयोग गर्दा त्यसले स्वास्थ्यमा खतरा पुऱ्‍याउनसक्ने उपचारमा समेत त्यही कुरा लागू हुन्छ। साँचो मसीहीहरू स्वास्थ्यमा पार्ने असर मात्र नभई अझ खुला अनि सन्तुलित दृष्टिकोण राख्ने प्रयास गर्छन्‌। यहोवाका साक्षीहरू गुणस्तरीय स्वास्थ्य सेवाको मूल्यांकन गर्छन्‌ र कुनै पनि उपचारविधिको खतरा र फाइदा विचार गर्छन्‌। तथापि, रगतबाट लिइएका पदार्थहरूको सन्दर्भमा भने तिनीहरू यसप्रति परमेश्‍वरको कस्तो दृष्टिकोण छ र हाम्रो जीवनदातासितको व्यक्‍तिगत सम्बन्धमा कस्तो असर पार्छ, त्यसलाई प्राथमिकता दिन्छन्‌।—भजन ३६:९.

भजनहारले उद्‌गार गरेझैं यस्तो आश्‍वासन पाउनु मसीहीहरूको लागि कस्तो ठूलो आशिष्‌को कुरा हो: “परमप्रभु परमेश्‍वर, सूर्य र ढाल हुनुहुन्छ, परमप्रभुले अनुग्रह र गौरव दिनुहुनेछ, इमान्दारीसँग हिंड़नेहरूदेखि उहाँले कुनै असल कुरा इन्कार गर्नुहुन्‍न। हे . . . परमेश्‍वर, तपाईंमा भरोसा राख्ने मानिस धन्यको हो।”—भजन ८४:११, १२.

[फुटनोट]

a जून १५, १९७८ र अक्टोबर १, १९९४ वाचटावर-मा प्रकाशित “पाठकहरूका प्रश्‍न” हेर्नुहोस्‌। औषधी कम्पनीहरूले रगतको प्रयोगबिनै यस्ता कृत्रिम पदार्थहरू बनाएका छन्‌ र यो रगतको कुनै तत्त्वको सट्टामा प्रयोग गर्ने सुझाउ दिनसक्छन्‌।

[पृष्ठ ३०-मा भएको पेटी]

चिकित्सकलाई सोध्न सकिने प्रश्‍नहरू

शल्यक्रिया वा रगतबाट बनाइएको तत्त्वबाट उपचार गर्नुपर्ने अवस्था आइपर्दा, सोध्नुहोस्‌:

मेरो उपचारमा संलग्न चिकित्सा टोलीका सबै व्यक्‍तिहरूलाई म एक जना यहोवाको साक्षी भएको नाताले जस्तो सुकै अवस्था आइपरे तापनि म कुनै पनि प्रकारको रक्‍तक्षेपण (अप्रशोधित रगत, रातो रक्‍तकोष, सेतो रक्‍तकोष, प्लेट्‌लेट्‌स वा रक्‍त प्लाज्मा) गर्न चाहन्‍न भनेर थाह छ?

रक्‍त प्लाज्मा, रातो वा सेतो रक्‍तकोष वा प्लेट्‌लेट्‌सबाट तयार पारिएको औषधी लिने सुझाउ दिइयो भने, सोध्नुहोस्‌:

के यो औषधी रगतका चार आधारभूत तत्त्वहरूमध्ये कुनै एउटाबाट बनाइएको हो? हो भने, यसमा कुन कुन तत्त्व छन्‌, मलाई बताउन सक्नुहुन्छ कि?

रगतबाट तयार पारिएको यो औषधीको कति मात्रा मलाई दिइनेछ र कसरी?

मेरो अन्तस्करणले मलाई रगतको यो तत्त्व लिने अनुमति दिन्छ भने यसका खतराहरू के हुन्‌?

मेरो अन्तस्करणले मलाई यो तत्त्व स्वीकार्न अनुमति दिंदैन भने, अर्को कुन उपचार गर्न सकिन्छ?

यस विषयमा मैले थप विचार गरिसकेपछि मेरो निर्णयबारे तपाईंलाई बताउन कहिले आए बेस होला?