सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सिद्धता अपेक्षा गर्ने झुकाउ किन हटाउने?

सिद्धता अपेक्षा गर्ने झुकाउ किन हटाउने?

सिद्धता अपेक्षा गर्ने झुकाउ किन हटाउने?

के तपाईं सकेसम्म राम्रो गर्न निकै परिश्रम गर्नुहुन्छ? त्यसो गर्दा तपाईं अनि तपाईं वरपरका मानिसहरूलाई पक्कै पनि फाइदा पुग्छ। अर्कोतिर कसै कसैले सानातिना कुरालाई पनि अचाक्ली ध्यान दिएर सिद्धता अपेक्षा गर्ने झुकाउ राखेका छन्‌। त्यसले के संकेत गर्छ?

“सिद्धता अपेक्षा गर्ने झुकाउ”-को एउटा अर्थ “कुनै काम पूर्णतया सिद्ध नहुने बित्तिकै अस्वीकार गर्ने मनोवृत्ति” हो। सायद तपाईंले यस्तो मनोवृत्ति भएका मानिसहरू भेट्‌नुभएको होला। तिनीहरूले अरूबाट अचाक्ली आशा गर्दा असन्तुष्टी तथा निरुत्साहजस्ता थुप्रै समस्याहरू उत्पन्‍न भएको पनि तपाईंले देख्नुभएको होला। धेरैजसो सन्तुलित मानिसहरूले जीवनका हर कुरामा अचाक्ली अव्यवहारिक माग गर्दै सिद्धता अपेक्षा गर्ने झुकाउ राख्नु साँच्चै नसुहाउँदो कुरा हो भनेर स्वीकार्छन्‌। यसलाई हटाउनुपर्छ। तथापि, आफैसित यो समस्या छ भने, त्यस्तो सिद्धता अपेक्षा गर्ने झुकाउतर्फ आशक्‍त हुने भाव ठम्याउन गाह्रो हुन्छ र हटाउनु चुनौती साबित हुन्छ।

नेल्सनसित गहन जिम्मेवारी छ र तिनले धेरै समस्याहरू समाधान गर्नुपर्छ। तिनी नियमित तवरमा तथ्यांकहरू केलाउँछन्‌ र उत्पादन नै महत्त्वपूर्ण ठान्छन्‌। तिनको विचारमा यस प्रतिस्पर्धात्मक बजारमा सफलता हासिल गर्न कुनै गल्ती नगरी काम गर्नु अत्यावश्‍यक छ। कसै कसैले नेल्सनको प्रभावकारिताको प्रशंसा गरे तापनि सिद्धता अपेक्षा गर्ने झुकाउले गर्दा तिनलाई टाउको दुख्ने र तनाउ बढ्‌ने जस्ता शारीरिक समस्याहरूले सताएको छ। के तपाईं पनि नेल्सनजस्तै अवस्थामा हुनुहुन्छ?

जवानहरूलाई पनि सिद्धता अपेक्षा गर्ने झुकाउले छोड्‌दैन। रियो दे जेनेरोमा बस्ने रीता सानो उमेरदेखि नै स्कूल जान मन पराउँथिन्‌। तिनी धेरै महत्त्वाकांक्षी देखिन चाहन्थिनन्‌ तैपनि, धेरै अंक ल्याउन नसक्नू तिनका लागि असोचनीय कुरा थियो। रीता भन्छिन्‌: “बच्चैदेखि म आफूलाई प्रशस्त समय हुने साथीहरूसित तुलना गर्थें। म जहिले पनि आफ्नो काम सिध्याउन दगुरीरहेकी हुन्थें। मैले कहिल्यै आराम गर्नुपर्छ भन्‍ने महसुसै गरिनँ किनभने म सधैं व्यस्त हुन्थें।”

मारिया सानै छँदा अरूले जस्तो राम्रो चित्र कोर्न नसक्दा निराश भएर रून्थिन्‌। त्यसबाहेक, संगीतमा दक्ष हुने प्रयासले गर्दा तिनी प्रायजसो आफ्नो गाउने वा बजाउने क्षमताबाट आनन्द उठाउन सक्दिनथिन्‌। बरु, उल्टो तनाउग्रस्त हुन्थिन्‌। ब्राजिलकी अर्की केटी तानिया बाठी हुनुका साथै प्रतिस्पर्धादेखि अलग्गै बस्थिन्‌ र पनि तिनी आफ्नोलागि घर अनि स्कूलमा आफूले भ्याउनै नसक्ने स्तरहरू राखेको कुरा स्वीकार्छिन्‌। तिनी आफ्नो कुनै काम शतप्रतिशत सिद्ध भएन भने अरूले माया गर्नेछैन भन्‍ने महसुस गर्थिन्‌। त्यसबाहेक, तानिया कहिलेकाहीं अरूबाट धेरै आशा गर्थिन्‌ जसले गर्दा तिनी निराश अनि दिक्क हुन्थिन्‌।

सीप, लगनशीलता तथा व्यक्‍तिगत सन्तुष्टि महत्त्वपूर्ण भए तापनि कहिल्यै हासिल गर्न नसक्ने लक्ष्यहरू राख्दा असफल हुने डरजस्ता नकारात्मक सोचाइहरू उत्पन्‍न हुन्छन्‌। आमाबाबु वा अरूले स्कूलका काममा वा खेलकुदमा छोराछोरीले हासिलै गर्न नसक्ने लक्ष्यहरू राखिदिन सक्छन्‌। उदाहरणका लागि, रीकार्डोकी आमाले तिनलाई डाक्टर, पियानोवादक अनि विभिन्‍न भाषा बोल्नमा माहिर बनाउने ठूलो आशा गरेकी थिइन्‌। यस्तो अचाक्ली मागले समस्या अनि निराशा निम्त्याउन सक्छ भनेर के तपाईंले बुझ्नुभयो?

किन सिद्धता अपेक्षा गर्ने झुकाउलाई त्याग्ने?

उच्च गुणस्तरीय काम, सर्वोत्तम अनि उत्कृष्टताको माग बढिरहेको छ। त्यसैले मानिसहरूले रोजगारको निम्ति बजारमा प्रतिस्पर्धा गर्नैपर्छ। आफ्नो जीविकोपार्जन गुमाउनुपर्ने डरले गर्दा पनि थुप्रै व्यक्‍तिहरू कडाभन्दा कडा परिश्रम गर्छन्‌। केही कामदारहरू खेलाडीहरूलेजस्तै नयाँ रेकर्ड कायम गर्न ठूलठूला त्याग गर्छन्‌। त्यसपछि, निकै कठिन प्रतिस्पर्धाको सामना गर्नुपर्दा तिनी अझबढी सिक्नुपर्ने आवश्‍यकता महसुस गर्छन्‌ र रासायनिक पदार्थको मदतद्वारा आफ्नो क्षमता बढाएर सफल हुने आशा गर्छन्‌। सिद्धता अपेक्षा गर्ने झुकाउले उन्‍नति गर्ने अनि अगाडि बढ्‌ने स्वास्थ्यकर मनोवृतिलाई हटाएर “आफ्नो हार होला भन्‍ने डर” अथवा “प्रथम हुने चाहना” बढाउँछ।—द फिलिंग गुड ह्‍याण्डबूक।

हो, कसैकसैले आफ्नो कला अथवा खेलकुदमा जे जति गर्छन्‌ त्योभन्दा अझ बढी उन्‍नति गर्नसक्छन्‌ भन्‍ने सोचाइ राख्लान्‌। तैपनि, डा. रोबर्ट एस. इलियटकाअनुसार “सिद्धता अपेक्षा गर्ने झुकाउ भनेको कहिल्यै पाउन नसकिने कुरा पाउन खोज्नु हो।” तिनी अझ भन्छन्‌: “यस्तो भावना दोष, प्रतिरक्षा अनि हाँसोको पात्र हुनसक्ने डरको उपज हो।” तसर्थ, सुलेमान राजाका यी शब्दहरू कत्ति साँचो छन्‌: “मैले सबै मेहनत र प्राप्तिहरूको विचार गरें, औ के देखें भने ती सबै मानिसको आपसको शत्रुताको नतीजा रहेछ। यो पनि व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र हो।”—उपदेशक ४:४.

यदि तपाईं पनि सिद्धता अपेक्षा गर्ने व्यक्‍ति बन्दै हुनुहुन्छ भने के गर्नसक्नुहुन्छ? तपाईं जति धेरै प्रयास गर्नुहुन्छ उति नै निराश हुनुहुन्छ भन्‍ने कुरा के सत्य हो? के तपाईं सन्तुलित अनि तनाउमुक्‍त व्यक्‍ति बन्‍न चाहनुहुन्छ। सिद्ध हुनु भनेको के हो? के तपाईं सिद्धता अपेक्षा गर्ने झुकाउ हटाएर आफूसित भएको क्षमताको पूर्ण सदुपयोग गर्न चाहनुहुन्‍न र? असिद्ध मानिसहरूले अरूको हित गर्ने कुराहरू प्राप्त गर्न परमेश्‍वरले दिनुभएको क्षमता चलाउन सक्छन्‌ भने सिद्ध अवस्थामा ईश्‍वरीय निर्देशन अन्तर्गत मानिसजातिले झनै के के गर्न सक्लान्‌, कल्पना गर्नुहोस्‌ त!

[पृष्ठ ४-मा भएको चित्र]

आमाबाबु वा अरूले केटाकेटीले पूरा गर्नै नसक्ने सिद्ध कुरा माग गर्नसक्छन्‌