सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सिद्ध जीवन सपनामात्र होइन!

सिद्ध जीवन सपनामात्र होइन!

सिद्ध जीवन सपनामात्र होइन!

सिद्ध संसार—तपाईंको लागि यसले के अर्थ राख्छ? हिंसा, लागूऔषध दुर्व्यसन, अनिकाल, गरिबी अथवा अन्याय नभएको मानव समाजको कल्पना गर्नुहोस्‌। सबैजना मानसिक अनि शारीरिक तवरमा स्वस्थ छन्‌। त्यहाँ मृत्युसमेत नामेट पारिसकिएको हुनाले कुनै किसिमको शोक वा दुःख छैन। के यस्तो संसारको आशा गर्नु व्यवहारिक कुरा होला र?

विज्ञान तथा प्रविधिका उपलब्धिहरू स्वीकार्ने कतिपय मानिसहरूसमेत मानव ज्ञान अथवा शिक्षाले शान्ति र आनन्दसाथ बाँच्नसकिने सिद्ध संसार ल्याउनेछ भन्‍ने कुरामा विश्‍वासै गर्दैनन्‌। अर्कोतिर, मानवजातिमा उन्‍नति गर्ने र बिग्रेको कुरालाई सपार्न खोज्ने झुकाउ छ भनेर हामी नकार्न पनि सक्दैनौं। हो, अव्यवहारिक कल्पनाहरूले मात्र घरबारविहीन तथा गरिबहरूलाई मदत गर्नसक्दैन न त आफ्नो पीडाबाट मुक्‍त हुनचाहने लुला-लंगडा अनि बिरामीहरूलाई नै सन्तुष्ट पार्नसक्छ। मानव बुद्धि र सिर्जनशील क्षमताको भरमा सिद्ध संसार आउनसक्दैन। तथापि, अहिलेको दारुण अवस्था तथा शोषणका बावजूद सिद्ध भन्‍न सकिने संसार नजिकै छ भनेर विश्‍वास गर्ने ठोस कारणहरू छन्‌।

सिद्ध जीवनबारे सोच्दा तपाईंको मनमा येशू ख्रीष्टको जीवन आउनसक्छ। तथापि, पृथ्वीमा बाँच्ने सिद्ध मानव येशू मात्र हुनुहुन्‍न। परमेश्‍वरकै स्वरूपमा सृजिएका आदम र हव्वाले पनि प्रमोदवनमा सिद्ध जीवनको आनन्द उठाए। तथापि, तिनीहरूले आफ्ना स्वर्गीय पिताको विरुद्धमा विद्रोह गरेकोले त्यस्तो राम्रो अवस्था गुमाए। (उत्पत्ति ३:१-६) तापनि, सृष्टिकर्ताले मानिसहरूको हृदयमा अनन्तसम्म बाँच्ने इच्छा राख्नुभयो। यसबारे उपदेशक ३:११ (नयाँ संशोधित संस्करण) यसो भन्छ: “उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ। तथापि, तिनीहरूले परमेश्‍वरले आदिदेखि अन्तसम्म के गर्नुभएको छ, त्यसको गहिराइलाई बुझ्न सक्दैनन्‌।”

असिद्धता तथा पापले मानवजातिलाई “व्यर्थता” तथा “विनाशको बन्धन[मा]” पारे तापनि पावलका यी सान्त्वनादायी शब्दहरूमा ध्यान दिनुहोस्‌: “सृष्टिको उत्कट आशाले परमेश्‍वरका छोराहरू प्रकट हुनआउने बाटो हेर्दछ। किनभने यसको आफ्नै इच्छाले होइन, तर त्यसलाई अधीनमा तुल्याउनेको कारणले सृष्टि व्यर्थताको अधीनमा रह्‍यो। यसै आशामा, कि परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रतामा सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाउनेछ।” (रोमी ८:१९-२१) परमेश्‍वरले येशू ख्रीष्टमार्फत्‌ सिद्ध मानव जीवन फेरि दिनुहुनेछ भन्‍ने कुरा बाइबलले स्पष्ट पार्दछ।—यूहन्‍ना ३:१६; १७:३.

यस्तो भावी आशाको अलावा हामी सबैले अहिल्यै आध्यात्मिकतामा बढ्‌दै जाने अनि आफ्नो उन्‍नति प्रकट गर्ने अद्‌भुत आशा पाएका छौं।

व्यवहारिक हुने प्रयास गर्नुहोस्‌

सिद्ध हुनु अपरिहार्य भएकोले विशाल श्रोतागणलाई येशू ख्रीष्टले यसो भन्‍नुभयो: “जस्तो तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ, त्यस्तै तिमीहरू सिद्ध होऊ।” (मत्ती ५:४८) के येशूले हामीबाट वर्तमान दुष्ट रीतिरिवाजमा दोष रहित भएको आशा गर्दै हुनुहुन्थ्यो? होइन। आफ्ना सह मानवहरू प्रति उदारता, दया तथा प्रेमजस्ता गुणहरू देखाउन प्रयास गर्नुपर्छ, यद्यपि, हामी त्यसो गर्न अक्सर चुक्छौं। तथापि, येशूका एक जना चेलाले यसरी लेखे: “हामीले आफ्ना पापको स्वीकार गऱ्‍यौं भने, हाम्रो पाप क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नालाई उहाँ विश्‍वासयोग्य र धर्मी हुनुहुन्छ। यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्छौं भने, हामी उहाँलाई झूटा तुल्याउँछौं, र उहाँको वचन हामीमा रहँदैन।”—१ यूहन्‍ना १:९, १०.

जे भए तापनि, हामीले आफूप्रति राख्ने दृष्टिकोणमा र अरूबाट अचाक्ली माग गर्ने व्यवहारमा सुधार ल्याउनसक्छौं। सन्तुलित अनि व्यवहारिक व्यक्‍तित्वका लागि परमेश्‍वरको वचन बाइबलमा भन्दा राम्रो निर्देशन अरू कहाँ पो पाउन सकिन्छ र? अरूसितको कामकाज, आफ्नो वैवाहिक जीवनसाथीसित अनि आफ्नो आमाबुबा अथवा छोराछोरीहरूसितको व्यवहारमा आनन्द र संयमजस्ता गुणहरू खेती गर्दा मिलेर काम गर्न मदत गर्छ। प्रेरित पावलले मसीहीहरूलाई यस्तो सल्लाह दिए: “प्रभुमा सधैं आनन्द गर। म फेरि पनि भन्छु, आनन्द गर। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाह होस्‌।”—फिलिप्पी ४:४, ५.

व्यवहारिक हुनुका फाइदा

व्यवहारिक माग गर्नुभयो अनि आफैलाई सताउने र दुःख दिने आकांक्षा गर्न छाड्‌नुभयो भने तपाईंलगायत अरूलाई पनि फाइदा हुनेछ। आफूसित भएको क्षमता थाह पाउन तपाईं आफूले गर्न चाहेको कुराहरूमा व्यवहारिक हुनु आवश्‍यक छ। नबिर्सनुहोस्‌, परमेश्‍वरले हामीलाई पृथ्वीमा रहन र हामी अनि अरूलाई पनि फाइदा हुने कामहरूबाट सन्तुष्टि हासिल गर्न सृष्टि गर्नुभएको थियो।—उत्पत्ति २:७-९.

आफूबाट अचाक्ली माग गर्दैहुनुहुन्छ भने यहोवासित मदत माग्नुहोस्‌। परमेश्‍वरको निगाह पाएर तपाईंलाई धेरै सन्चो हुनेछ। यहोवा हाम्रो बनोट र हामी असिद्ध छौं भन्‍ने कुरा जान्‍नुहुन्छ त्यसैले उहाँ अव्यवहारिक हुनुहुन्‍न र उहाँलाई खुसी तुल्याउन पनि गाह्रो छैन। भजनरचयिता हामीलाई यस्तो आश्‍वासन दिन्छन्‌: “जसरी बाबुले आफ्ना छोरा-छोरीहरूलाई टिठाउँछन्‌, त्यसरीनै उहाँसँग डराउनेहरूलाई परमप्रभुले टिठाउनुहुन्छ। किनभने उहाँले हाम्रो बनोट जान्‍नुहुन्छ। मानिसहरू माटोनै हुन्‌ भनी उहाँ सम्झनहुन्छ।” (भजन १०३:१३, १४) परमेश्‍वरले हामी मानवजातिसित त्यस्तो दयालु व्यवहार गर्नुहुन्छ भन्‍ने जानेर हामी कत्ति कृतज्ञ हुनसक्छौं! उहाँलाई हाम्रो सीमितता थाह छ, तैपनि हामी उहाँको नजरमा प्रिय बालकहरू जस्तै बहुमूल्य हुनसक्छौं।

सिद्धताको अपेक्षा गर्नुको साटो आध्यात्मिक समझशक्‍ति र सन्तुलित दृष्टिकोण खेती गर्नु साह्रै बुद्धिमानी कुरा हो! यसबाहेक, यहोवाले आफ्नो राज्यमा मानवजातिलाई सिद्ध बनाउने लक्ष्य लिनुभएको छ र त्यसलाई कसैले पनि रोक्नसक्दैन। तर मानव सिद्धताको अर्थ के हो?

सिद्ध जीवन सिद्धता अपेक्षा गर्ने झुकाउभन्दा बेस

सिद्ध हुनु भनेको सिद्धता अपेक्षा गर्ने व्यक्‍ति हुनु होइन। परमेश्‍वरको राज्यको पार्थिव प्रमोदवनमा बाँच्ने सुअवसर पाउनेहरू माग गर्ने, आत्मधर्मीहरू हुने छैनन्‌। महासंकष्टबाट बच्न पूरा गर्नु पर्ने एउटा आवश्‍यकता, प्रेरित यूहन्‍नाले वर्णन गरेको अन्तरराष्ट्रिय ठूलो भीडले जस्तै छुडौतीको बलिदानको हार्दिक मूल्यांकन व्यक्‍त गर्नु हो। त्यसबारे तिनले यसरी लेखे: “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमामा मुक्‍ति छ।” (प्रकाश ७:९, १०, १४) आउँदै गरेको महासंकष्टबाट बच्ने जति सबै जना ख्रीष्टले आफूहरू र उहाँमाथि विश्‍वास गर्नेहरूका लागि खुसीसाथ ज्यान दिनुभएकोमा कृतज्ञ हुनेछन्‌। उहाँको मायालु बलिदानले तिनीहरूका असिद्धता तथा कमजोरीहरू सधैंभरिका लागि हटाउने आधार तयार पार्छ।—यूहन्‍ना ३:१६; रोमी ८:२१, २२.

सिद्ध जीवन कस्तो हुनेछ त? प्रतिस्पर्धा तथा स्वार्थी आकांक्षाहरूको साटो त्यहाँका मानिसहरूबीच जीवन अर्थपूर्ण बनाउने र जीवनका फिक्री तथा हीनताबोध जस्ता कुराहरूलाई नामेट पार्ने प्रेम अनि दया व्याप्त हुनेछ। तथापि, सिद्ध जीवन पट्टाइलाग्दो अथवा न्यास्रोलाग्दो हुनेछैन। परमेश्‍वरको वचनले प्रमोदवनबारे एक एक कुरा नबताएको भए तापनि त्यहाँ यस्तो किसिमको जीवन बिताउने आशा गर्नसकिन्छ भनी वर्णन गरेको छ: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌। तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खाने चाहिं हुनेछैन, किनकि जस्तो रूखको आयु हुन्छ, त्यस्तै मेरो प्रजाको आयु हुनेछ, र छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्‌। किनभने तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्‌, नता विपदको दिनको निम्ति बालकहरू जन्माउनेछन्‌।”—यशैया ६५:२१-२३.

त्यहाँ कस्तो किसिमको मनोरञ्जन, बजार, प्रविधि अथवा यातायातको साधन हुनेछ भनेर कल्पना गर्नुको सट्टा यी शब्दहरूको पूर्तिको आनन्द उठाइरहनुभएको कल्पना गर्नुहोस्‌: “ ‘ब्वाँसो र थुमा एउटै ठाउँमा खानेछ, र सिंहले चाहिं गोरुहरूलेझैं पराल खानेछ, र साँपको आहारा धूलो हुनेछ। मेरा सारा पर्वतमा तिनीहरूले नोक्सानी गर्नेछैन, नष्ट गर्नेछैन,’ परमप्रभु भन्‍नुहुन्छ।” (यशैया ६५:२५) त्यो सिद्ध जीवन आजको संसारभन्दा एकदमै भिन्‍न हुनेछ! तपाईं पनि त्यस समयमा बाँच्नेहरूमध्येका हुन योग्यको हुनुभयो भने, स्वर्गमा हुनुहुने मायालु पिताले तपाईं र तपाईंको परिवारमा चासो लिनुहुन्छ भनेर ढुक्क हुने प्रशस्त कारण पाउनुहुनेछ। “परमप्रभुमा मग्न हो। र उहाँले तेरो मनोरथ पूर्ण गर्नुहुनेछ।”—भजन ३७:४.

सिद्ध जीवन एउटा सपना मात्र होइन। मानवजातिका लागि परमेश्‍वरले तोक्नुभएको मायालु उद्देश्‍य पूरा हुनेछ। तपाईं र तपाईंको परिवार सिद्ध पारिने मानिसहरूमध्येको भएर परमेश्‍वरको नयाँ संसारमा सधैंभरि बाँच्न सक्नुहुनेछ। बाइबल यस्तो भविष्यवाणी गर्छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:२९.

[पृष्ठ ६-मा भएको चित्र]

नाटीकुटी गर्ने अर्थात्‌ सिद्धता अपेक्षा गर्ने झुकाउ राख्ने व्यक्‍ति नभई हामी आफू अनि अरूप्रतिको दृष्टिकोण परिवर्तन गर्नसक्छौं

[पृष्ठ ७-मा भएको चित्र]

आफूले अहिल्यै पार्थिव प्रमोदवनको शान्त अनि धार्मिक अवस्थाको आनन्द उठाइरहेको कल्पना गर्नुभए कसो होला?