सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

असल उदाहरणहरू—के तपाईं तिनीहरूबाट लाभ उठाउँदै हुनुहुन्छ?

असल उदाहरणहरू—के तपाईं तिनीहरूबाट लाभ उठाउँदै हुनुहुन्छ?

असल उदाहरणहरू—के तपाईं तिनीहरूबाट लाभ उठाउँदै हुनुहुन्छ?

“म्यासिडोनिया र अखैयामा विश्‍वास गर्नेहरू सबैमा तिमीहरू एक नमूना भयौ।” यी शब्दहरू प्रेरित पावलले थिस्सलोनिकी निवासी विश्‍वासी मसीहीहरूलाई लेखेका थिए। आफ्ना सँगी विश्‍वासीहरूका लागि तिनीहरूले बसालेका उदाहरण साँच्चै प्रशंसनीय थियो। ती थिस्सलोनिकीहरूले अझ पनि प्रेरित पावल तथा तिनका सहकर्मीहरूले बसालेको उदाहरणलाई पछ्याइरहेका थिए। पावलले भने: “हाम्रो सुसमाचार केवल वचनमा मात्र होइन, तर शक्‍तिमा पनि, र पवित्र आत्मामा, र ज्यादै आत्मविश्‍वासमा तिमीहरूकहाँ आएको हो, जसरी तिमीहरू पनि जान्दछौ, तिमीहरूका खातिर हामी आफैले हामी कस्ता किसिमका मानिसहरू थियौं भनी तिमीहरूलाई देखाएका थियौं। पवित्र आत्माको आनन्दसाथ, ज्यादै कष्टमा वचन ग्रहण गरेर तिमीहरू हाम्रो र प्रभुको देखा-सिकी गर्ने भयौ।”—१ थिस्सलोनिकी १:५-७.

हो, प्रेरित पावलले उपदेश मात्र दिएनन्‌। तिनको आफ्नै जीवन पनि एउटा उपदेश थियो। विश्‍वास, धीरज अनि आत्मत्यागको उदाहरण थियो। यसले गर्दा पावल र तिनका सहकर्मीहरूले थिस्सलोनिकीहरूको जीवनमा गहिरो प्रभाव पार्नुका साथै तिनीहरूलाई त्यस प्रभावले “ज्यादै कष्टमा” पनि सच्चाइ स्वीकार्न उत्प्रेरित गऱ्‍यो। तथापि, प्रेरित पावल र तिनका सहकर्मीहरूले मात्र ती विश्‍वासी जनको जीवनमा सकारात्मक प्रभाव पारेका थिएनन्‌। संकष्टमा स्थिर रहने अरू व्यक्‍तिहरूको उदाहरण पनि प्रोत्साहनदायी थियो। पावलले थिस्सलोनिकीहरूलाई यसरी लेखे: “हे भाइ हो, ख्रीष्ट येशूमा यहूदियामा भएका परमेश्‍वरका मण्डलीको देखा-सिकी गर्ने तिमीहरू भयौ, किनकि तिमीहरूका आफ्नै देश-भाइहरूले भोगेको दुःख तिमीहरूले पनि भोग्यौ, जो तिनीहरूले यहूदीहरूबाट भोगेका थिए।”—१ थिस्सलोनिकी २:१४.

येशू ख्रीष्ट—सर्वश्रेष्ठ उदाहरण

प्रेरित पावल आफैले नक्कल गर्न योग्य उदाहरण बसालेका भए तापनि मसीहीहरूले पछ्याउनुपर्ने पहिलो उदाहरणको रूपमा येशूलाई चिनाउन तिनी कहिल्यै चुकेनन्‌। (१ थिस्सलोनिकी १:६) येशूनै हाम्रो सर्वश्रेष्ठ उदाहरण हुनुहुन्थ्यो र हुनुहुन्छ। प्रेरित पत्रुसले यस्तो लेखे: “यसैको निम्ति तिमीहरू बोलाइएका हौ। किनभने तिमीहरूले उहाँको पाइलामा टेकेर हिंड़नालाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो।”—१ पत्रुस २:२१.

तथापि, येशूले झन्डै २००० वर्षअघि मानव जीवन पूरा गर्नुभयो। अहिले उहाँ आत्मिक प्राणीको रूपमा “कोही पुग्न नसक्ने ज्योतिमा रह[नुहुन्छ]।” त्यसैले उहाँलाई “कुनै मानिसले देखेको छैन, नता देख्नसक्‍तछ।” (१ तिमोथी ६:१६) उसोभए, हामी कसरी उहाँको अनुकरण गर्नसक्छौं त? एउटा तरिका येशूको जीवनीबारे लेखिएका बाइबलका चारवटा पुस्तकहरू अध्ययन गरेर हो। यी सुसमाचारका पुस्तकहरूले उहाँको व्यक्‍तित्व, जीवनी तथा “मन” बुझ्न अन्तरदृष्टि प्रदान गर्छन्‌। (फिलिप्पी २:५-८) त्यस्तै, येशूको जीवनका घटनाहरू मिति क्रमानुसार वर्णन गरिएको आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तकलाई राम्ररी अध्ययन गरेर पनि थप अन्तरदृष्टि पाउन सकिन्छ। a

प्रेरित पावललाई येशूको आत्मत्यागी उदाहरणले निकै प्रभाव पारेको थियो। तिनले कोरिन्थका मसीहीहरूलाई भने: “म तिमीहरूका प्राणको निम्ति ज्यादै खुशीसित खर्च गर्नेछु, र खर्च हुने पनि छु।” (२ कोरिन्थी १२:१५) कस्तो ठ्याक्कै ख्रीष्टको मनोवृत्ति! हामीले येशूको सिद्ध उदाहरण मनन गर्दै जाँदा हाम्रो आफ्नै जीवनमा उहाँको अनुकरण गर्न हामी पनि उत्प्रेरित हुनुपर्छ।

उदाहरणका लागि, भौतिक कुराहरूको सन्दर्भमा येशूले हामीलाई परमेश्‍वरको प्रतिज्ञाहरूमाथि भर गर्न सिकाउनुभयो। तर उहाँले त्योभन्दा धेरै गर्नुभयो। उहाँ आफैले दिनहुँ यहोवामाथि गहिरो विश्‍वास तथा भरोसा प्रकट गर्नुभयो। उहाँले भन्‍नुभयो: “फ्याउराहरूका प्वाल र आकाशका चरा-चुरुंगीहरूका गुँड़ हुन्छन्‌, तर मानिसको पुत्रको लागि ता शिर अड़ाउने ठाउँ पनि छैन।” (मत्ती ६:२५; ८:२०) के भौतिक कुराहरूले तपाईंको सोचाइ तथा कार्यहरूमा ठूलो ठाउँ ओगटेको छ? अथवा के तपाईंको जीवनले राज्यलाई प्राथमिकता दिएको प्रमाण दिन्छ? अनि यहोवाको सेवाप्रति तपाईंको मनोवृत्ति कस्तो छ नि? के यो हाम्रो आदर्श येशू ख्रीष्टकै जस्तो छ? बाइबल येशूले जोसिलो भई प्रचार गर्नुभयो मात्र भन्दैन तर केही अवसरहरूमा त बल्दो जोससमेत प्रकट गर्नुभयो पनि भन्छ। (यूहन्‍ना २:१४-१७) त्यसबाहेक, प्रेम देखाउने सम्बन्धमा पनि येशूले साह्रै राम्रो उदाहरण बसाल्नुभयो! किनभने उहाँले आफ्ना चेलाहरूका लागि आफ्नै जीवन बलिदान दिनुभयो! (यूहन्‍ना १५:१३) आफ्ना मसीही भाइबहिनीहरूलाई प्रेम गरेर के तपाईंले येशू ख्रीष्टको अनुकरण गरिरहनुभएको छ? वा के कसैको त्रुटिले गर्दा तिनीहरूप्रति तपाईंको प्रेम सेलाएको छ?

येशूको अनुकरण गर्ने प्रयास गर्दा गर्दै पनि हामी प्रायजसो चुक्छौं। तर “प्रभु येशू ख्रीष्टलाई धारण” गर्न हामीले गरेको प्रयास देख्दा यहोवा साँच्चै खुसी हुनुहुन्छ।—रोमी १३:१४.

“बगालका लागि उदाहरण”

के हाम्रो लागि उदाहरण हुनसक्ने व्यक्‍तिहरू आज पनि मण्डलीमा छन्‌? पक्कै पनि छन्‌! विशेष गरी जिम्मेवार स्थानहरूमा नियुक्‍त भएका भाइहरूले उदाहरण बसाल्नै पर्छ। क्रेटका मण्डलीहरूमा सेवा गर्ने अनि निरीक्षकहरू नियुक्‍त गर्ने तीतसलाई प्राचीनमा नियुक्‍त हुने हरेक “निर्दोष” हुनुपर्छ भनेर पावलले बताए। (तीतस १:५, ६) त्यसै गरी, प्रेरित पत्रुसले पनि “धर्म-गुरुहरूलाई . . . बगालको उदाहरण होओ” भनी अर्ती दिए। (१ पत्रुस ५:१-३) अनि सेवकाई सेवकहरूको हैसियतमा सेवा गरिरहेकाहरू नि? तिनीहरूले पनि “डिकनहरूजस्ता भएर . . . राम्ररी काम गरेका” हुनुपर्छ।—१ तिमोथी ३:१३.

हरेक प्राचीन तथा सेवकाई सेवक सेवकाईका सम्पूर्ण पक्षमा अत्यन्त सिपालु हुनैपर्छ भनेर आशा गर्नु पक्कै पनि व्यवहारिक होइन। पावलले रोमका मसीहीहरूलाई यसो भने: “हामीलाई दिइएको अनुग्रहअनुसारका वरदानहरू विभिन्‍न भएका हुनाले हामी ती प्रयोग गरौं।” (रोमी १२:६) हरेक भाइहरू भिन्‍नाभिन्‍नै कामकुराहरूमा योग्य हुन्छन्‌। प्राचीनहरूले भन्‍ने र गर्ने सबै कुरा सिद्ध हुनैपर्छ भन्‍ने आशा गर्नु व्यवहारिक हुँदैन। “धेरै कुरामा हामी चुक्‍तछौं” भनी बाइबलको पुस्तक याकूब ३:२ ले बताउँछ। “जो मानिस वचनमा चुक्‍तैन, त्यो आफ्नो सारा शरीरमा पनि लगाम कस्नसक्ने सिद्ध मानिस हुन्छ।” तथापि, आफ्नो असिद्धताको बावजूद प्राचीनहरू तिमोथीजस्तै ‘वचन, चाल-चलन, प्रेम, विश्‍वास र शुद्धतामा विश्‍वासीहरूको उदाहरण हुन’ सक्छन्‌। (१ तिमोथी ४:१२) प्राचीनहरूले त्यसो गर्दा बगालले उत्सुकता साथ हिब्रू १३:७ मा दिइएको यो अर्ती पालन गर्नेछन्‌: “तिमीहरूका अगुवाहरूलाई सम्झ र तिमीहरूका जीवनको नतिजालाई विचार गरेर तिनीहरूको विश्‍वासको देखा-सिकि गर।”

आधुनिक समयका अन्य उदाहरण

विगतका केही दशकहरूमा अरू थुप्रैले आफूलाई असल उदाहरणका रूपमा प्रस्तुत गरेका छन्‌। अनि विदेशी भूमिमा गएर मसीहीहरूले पाएको आदेश पूरा गर्न आफ्ना “घर, दाज्यू-भाइ, कि दिदी-बहिनी, अथवा बाबु, कि आमा, कि छोरा-छोरीहरू, कि जग्गा-जमीनहरू” छोड्‌ने हजारौं आत्मत्यागी मिसनरीहरूबारे चाहिं के भन्‍न सकिन्छ नि? (मत्ती १९:२९) त्यसै गरी, परिभ्रमण निरीक्षक तथा तिनीहरूका पत्नीहरू, वाच टावर सोसाइटीका कार्यालयहरूमा स्वयंसेवकको रूपमा कार्यरत पुरुष तथा स्त्रीहरू र मण्डलीको सेवा गर्ने अग्रगामीहरूलाई पनि नबिर्सनुहोस्‌। के त्यस्ता उदाहरणले अरूलाई पनि उत्प्रेरित गर्नसक्छन्‌? वाचटावर बाइबल स्कूल अफ गिलियडका आठौं कक्षाबाट आएका मिसनरीलाई एसियाका एक जना मसीही प्रचारक निकै सम्झन्छन्‌। त्यो विश्‍वासी भाइ “लामखुट्टेको गोलो सामना गर्न र कठांग्रिने जाडो खप्न पनि तयार थिए। . . . त्योभन्दा बढी त, बेलाइती भएर पनि चिनियाँ र मलाया भाषाहरूमा सुसमाचार प्रस्तुत गर्नसक्ने क्षमता झनै प्रभावशाली थियो,” भनेर तिनले बताए। यस असल उदाहरणले कस्तो प्रभाव पाऱ्‍यो? तिनले भने: “तिनको शान्त स्वभाव अनि निश्‍चिन्तता देखेर म पनि पछि ठूलो भएर मिसनरी बन्‍न प्रेरित भएँ।” अनि साँच्चै यो भाइ पछि गएर मिसनरी भए पनि।

प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌! पत्रिकाहरूमा छापिएका दर्जनौं जीवनीहरू वाच टावर पब्लिकेशन्स इन्डेक्स-मा सूचीकरण गरिएका छन्‌। यी कथाहरूले आफ्ना सांसारिक पेसा तथा लक्ष्य त्याग्ने व्यक्‍ति, कमजोरीहरूमाथि विजयी हुने, नाटकिय ढंगमा व्यक्‍तित्व परिवर्तन गर्ने, दुःख आइपर्दा पनि सकारात्मक मनोवृत्ति राख्ने, अनि परिश्रमी, धीरजी, वफादार, विनम्र तथा आत्मत्यागी भाव भएका व्यक्‍तिहरूबारे बताउँछन्‌। यी लेखहरूबारे एक जना पाठकले यसो भने: “अरूले भोगेका परिस्थितिहरूबारे पढेर मैले विनम्र अनि कृतज्ञ हुन सिकें र तिनीहरूले आफूबारे मात्र बढी नसोच्न अर्थात्‌ स्वार्थी नहुन मलाई मदत गऱ्‍यो।”

त्यसबाहेक, आफ्नो मण्डलीमा भएका असल उदाहरणहरूलाई नबिर्सनुहोस्‌। जस्तै: आफ्नो परिवारको भौतिक तथा आध्यात्मिक आवश्‍यकता निरन्तर पूरा गरिरहेका परिवारका शिर; सेवकाईमा सक्रिय भाग लिंदै आफ्ना छोराछोरी हुर्काउँदा आइपर्ने दबाउहरूको सामना गर्ने परिवारका एक्ली आमालगायत जम्मै बहिनीहरू; बढ्‌दो कमजोरी तथा अस्वस्थताका बावजूद विश्‍वासी भई सेवा गरिरहेका वृद्ध तथा असक्‍तहरू। के त्यस्ता उदाहरणहरूले तपाईंलाई झकझकाउँदैनन्‌ र?

हो, यो संसार खराब उदाहरणहरूले भरिभराउ छ। (२ तिमोथी ३:१३) तैपनि, यहूदाका मसीहीहरूलाई पावलले दिएको अर्ती ध्यान दिनुहोस्‌। पुरातन समयका थुप्रै विश्‍वासी पुरुष तथा स्त्रीहरूको उदाहरणीय व्यवहारहरूको बयान गरिसकेपछि पावलले तिनीहरूलाई यस्तो आग्रह गरे: “हामी पनि, यतिका गवाहीका मेघले घेरिएका हुनाले, . . . हाम्रा सामनेमा राखिदिएको दौड़ धीरजसँग दौड़ौं। औ विश्‍वासका कर्त्ता र सिद्ध तुल्याउनुहुने येशूलाई हेरौं।” (हिब्रू १२:१, २) आज मसीहीहरूलाई पुरातन तथा आधुनिक समयका असल उदाहरणहरूका “मेघले” घेरेको छ। के तपाईंले तिनीहरूबाट लाभ उठाइरहनु भएको छ? यदि “खराबीको होइन, तर भलाइको देखा-सिकी” गर्ने अठोट गर्नुभएको छ भने तपाईं अवश्‍य लाभ उठाउन सक्नुहुन्छ।—३ यूहन्‍ना ११.

[फुटनोट]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

[पृष्ठ २०-मा भएको ठूलो अक्षरको क्याप्सन]

हरेक प्राचीन तथा सेवकाई सेवक सेवकाईका सम्पूर्ण पक्षमा अत्यन्त सिपालु हुनैपर्छ भनेर आशा गर्नु पक्कै पनि व्यवहारिक होइन

[पृष्ठ २१-मा भएका चित्रहरू]

प्राचीनहरू “बगालका लागि उदाहरण” हुनुपर्छ