सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आन्तरिक शान्ति पाउन सकिएला?

आन्तरिक शान्ति पाउन सकिएला?

आन्तरिक शान्ति पाउन सकिएला?

सन्‌ १८५४ मा अमेरिकी लेखक हेन्री थोरसले यस्तो लेखे: “थुप्रै मानिसको जीवन निराशामय शून्य छ।”

यसको मतलब, त्यसबेलाका प्रायजसो मानिसहरूले आन्तरिक शान्ति पाएका थिएनन्‌। त्यो लगभग १५० वर्षअघिको कुरा भए तापनि के आजको परिस्थितिचाहिं फरक छ त? अथवा के थोरसका शब्दहरू अझै सान्दर्भिक छन्‌? तपाईंको आफ्नै अवस्था कस्तो छ? के तपाईं पर्याप्त मात्रामा शान्ति अनुभव गर्दैहुनुहुन्छ? वा भविष्यबारे असुरक्षित, अनिश्‍चित अनि थोरसले भनेजस्तै ‘निराशामय शून्य’ महसुस गर्नुहुन्छ?

दुःखको कुरा, आन्तरिक शान्तिमा खलल पुऱ्‍याउने संसारमा थुप्रै कुरा छन्‌। आउनुहोस्‌, ती मध्ये केहीको चर्चा गरौं। धेरै देशमा बेरोजगारी र न्यून आयको कारण गरिबी र यससँगसँगै आर्थिक समस्या आउँछ। अरू कैयौं मुलुकमा मानिसहरू सम्पत्ति र भौतिक कुरा हात पार्न आफ्नो भएभरको शक्‍ति खर्च गर्छन्‌। यद्यपि, यस्तो प्रतिस्पर्धाको जीवन पद्धतिले शान्ति त होइन बरु चिन्ता पो हात लाग्छ। रोगबिमार, युद्ध, अपराध, अन्याय र अत्याचार पनि मानिसको शान्ति हरण गर्ने तत्त्वहरू हुन्‌।

तिनीहरूले आन्तरिक शान्ति खोजे

थुप्रै मानिसहरू संसारमा भैरहेका कुराहरू लाचार भएर सजिलै स्वीकार्न चाहँदैनन्‌। ब्राजिलको साओ पाओलोस्थित ठूलो कारखानामा आन्टोनियो a नाउँका मजदुर नेता थिए। जीवनस्तर उकास्ने आशामा तिनले विरोध प्रदर्शनहरूमा भाग लिए तर त्यसले तिनलाई मानसिक शान्ति दिएन।

केही मानिसहरू विवाह गरेपछि एकदमै सुखशान्ति होला भन्‍ने आशा गर्छन्‌ तर तिनीहरू उल्टै निराश बन्‍न सक्छन्‌। मार्कस सफल व्यापारी थिए। तिनी राजनीतिमा लागेर औद्योगिक शहरको नगरपितासम्म बने। तर तिनको घरेलु जीवन भने भताभुंग थियो। तिनका छोराछोरीले घर छोडेर गएपछि तिनी र तिनकी पत्नी आपसी मतभिन्‍नता र बेमेलका कारण छुट्टिए।

ब्राजिलको साल्भाडोर निवासी सडक बालक गेर्जोन साहसिक काम गर्न चाहन्थे। तिनी ट्रक ड्राइभरहरूसँग यात्रा गर्दै शहर शहरमा भौंतारिंदै हिंडे। धेरै समय नबित्दै तिनी लागू औषधीको दुर्व्यसनी बने अनि लागू पदार्थ किन्‍न अरूलाई लुटपाट गर्न थाले। थुप्रै पटक प्रहरीको पञ्जामा पनि परे। यस्तो मापाको र हिंस्रक स्वभावका भए तापनि गेर्जोन आन्तरिक शान्तिको खोजीमा थिए। पाउन सके त?

भानिया लाऊँलाऊँ र खाऊँखाऊँ भन्‍ने उमेरकी मात्र छँदा तिनकी आमाको मृत्यु भयो। त्यति मात्र कहाँ हो र, तिनले आफ्नो घर अनि बिरामी बहिनीको समेत हेरचाह गर्नुपऱ्‍यो। भानिया चर्च गईन्‌ तर परमेश्‍वरले तिनलाई लत्त्याउनु भएको जस्तो लाग्यो। कुरा स्पष्ट छ, तिनले मानसिक शान्ति पाउन सकिनन्‌।

त्यस्तै, अर्का छन्‌ मार्सेलु। मार्सेलुलाई एउटै कुराको ध्याउन्‍ना थियो। त्यो हो, मोजमस्ती। तिनलाई अल्लारेहरूसँग पार्टीमा जम्न अर्थात्‌ नाच्न, पिउन र लागू पदार्थमा मस्त हुन पाएपछि केही चाहिंदैनथ्यो। एक दिन तिनी झगडामा परे र एउटा ठिटोलाई घाइते बनाइदिए। पछि, आफूले गरेका नराम्रा कामहरू सम्झेर पछुताउँदै मदतका लागि परमेश्‍वरलाई बिन्ती गरे। तिनी पनि मानसिक शान्तिकै खोजीमा थिए।

यी तीता अनुभवहरू मानसिक शान्ति हरण गर्ने केही अवस्थाका उदाहरणहरू मात्र हुन्‌। के ती मजदुर नेता, राजनीतिज्ञ, सडक बालक, कामको बोझले थिचिएकी छोरी र पार्टी जाने जवानले कसै गरी आफूले खोजेको आन्तरिक शान्ति भेट्टाए होलान्‌? तिनीहरूको जीवनमा घटेका घटनाहरूबाट हामीले सिक्न सक्ने केही कुरा छन्‌ कि? अर्को लेखबाट दुवै प्रश्‍नको सकारात्मक जवाफ पाउनेछौं।

[फुटनोट]

a केही नाउँ परिवर्तन गरिएका छन्‌।

[पृष्ठ ३-मा भएको चित्र]

के तपाईं पनि आन्तरिक शान्तिको खोजीमा हुनुहुन्छ?