सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उत्सुकतासाथ सुसमाचार घोषणा गर्नुहोस्‌

उत्सुकतासाथ सुसमाचार घोषणा गर्नुहोस्‌

उत्सुकतासाथ सुसमाचार घोषणा गर्नुहोस्‌

“आत्मामा जोशिलो होओ, प्रभुको सेवा गर्दै रहो।”–रोमी १२:११.

१, २. सुसमाचारका प्रचारकहरूको हैसियतमा मसीहीहरू कस्तो मनोवृत्ति राख्ने प्रयास गर्छन्‌?

 नवयुवक जागिर पाएर एकदमै फुरफुर्रिएका छन्‌। जागिरको पहिलो दिन हाकिमले कहिले के काम अह्राउने होला भनेर आतुर छन्‌ र त्यसलाई गम्भीरतापूर्वक लिन्छन्‌। तिनी आफूले सकेसम्म राम्रो गर्न उत्सुक हुन्छन्‌।

त्यसरी नै, हामी मसीहीहरू पनि आफूलाई नयाँ जागिरेजस्तै सम्झन सक्छौं। हाम्रो आशा सधैंभरि बाँच्ने भएको कारण हामीले भर्खरै मात्र यहोवाको सेवा गर्न थालेका छौं भने पनि हुन्छ। हाम्रो सृष्टिकर्ताले अवश्‍य हामीलाई थुप्रै काम दिन सक्नुहुन्छ र त्यो काममा हामी अनन्तसम्म व्यस्त रहनसक्छौं। तर हामीले सबैभन्दा पहिला पाएको काम परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्नु हो। (१ थिस्सलोनिकी २:४) परमेश्‍वरले दिनुभएको यो काम हामीलाई कस्तो लाग्छ? उक्‍त नवयुवकजस्तै हामी पनि आफ्नो क्षमताले भ्याएसम्म जोस र आनन्दसाथ परमेश्‍वरको सेवा गर्न चाहन्छौं। हो, उत्सुक भएर गर्न चाहन्छौं!

३. सुसमाचारका सेवकको हैसियतमा सफल हुन के गर्नुपर्छ?

हुन त, त्यस्तो सकारात्मक मनोवृत्ति राख्नु कुनै सजिलो काम होइन। सेवकाईको अलावा हाम्रो अरू थुप्रै जिम्मेवारीहरू छन्‌ र त्यसले हामीलाई शारीरिक तथा भावनात्मक तवरमा थकित तुल्याउनसक्छ। प्रायजसो हामी यी जिम्मेवारीहरू पूरा गर्दै सेवकाईमा पनि भाग लिइरहेकै हुन्छौं। तैपनि, यो कहिल्यै नटुंगिने चक्र हुनसक्छ। (मर्कूस ८:३४) मसीहीहरूको हैसियतमा सफल हुन हामीले कडा परिश्रम गर्नुपर्नेछ भनेर येशूले जोड दिनुभयो।—लूका १३:२४.

४. दैनिक जीवनका फिक्रीहरूले हाम्रो आध्यात्मिक झुकाउमा कस्तो असर पार्नसक्छ?

थुप्रै काम भ्याउनुपर्ने हुँदा कहिलेकाहीं हैरान वा बोझले दबिएको महसुस गर्नसक्छौं। “जीवनको फिक्रीले” ईश्‍वरतान्त्रिक क्रियाकलापप्रतिको हाम्रो जोस र मूल्यांकनलाई दबाउनसक्छ। (लूका २१:३४, ३५; मर्कूस ४:१८, १९) असिद्ध मानव स्वभावले गर्दा हामीले “पहिला प्रेम” छोडिदिन सक्छौं। (प्रकाश २:१-४) यहोवाको सेवासित सम्बन्धित कतिपय पक्षहरू एकोहोरो लाग्नसक्छ। सेवकाईको लागि हाम्रो जोस सेलाउन नदिन बाइबलले कस्तो प्रोत्साहन दिन्छ?

हाम्रो हृदयमा “जलिरहेको आगो[जस्तै]”

५, ६. प्रचार गर्ने सुअवसरलाई प्रेरित पावल कुन दृष्टिले हेर्थे?

यहोवाले हामीलाई सुम्पनुभएको सेवकाई बहुमूल्य भएकोले त्यसलाई पक्कै पनि हल्कासित लिन मिल्दैन। प्रेरित पावलले सुसमाचार प्रचार गर्न पाउनु एउटा ठूलो विशेषाधिकार ठाने र आफू त्यो विशेषाधिकार पाउन अयोग्य महसुस गरे। तिनले भने: “सबै पवित्र जनहरूमा म सबैभन्दा क्षुद्र, अन्यजातिहरूमा सुसमाचार अथवा ख्रीष्टको अगम सम्पत्तिको प्रचार गर्नालाई यो अनुग्रह मलाई दिइएको हो। औ सब कुरा सृजनुहुने परमेश्‍वरमा युग-युगदेखि दबिरहेको रहस्यको प्रबन्ध के हो मानिसलाई ती सबै झल्काउनालाई।”—एफिसी ३:८, ९.

सेवकाईप्रति पावलको सकारात्मक मनोवृत्ति हाम्रो लागि एकदमै राम्रो उदाहरण हो। रोमीहरूलाई लेखेको पत्रमा तिनले यसो भने: “सुसमाचार प्रचार गर्न, म तयार छु।” तिनी सुसमाचारसँग शर्माउँदैनथे। (रोमी १:१५, १६) तिनको सही मनोवृत्ति थियो र सेवकाईमा लागिरहन उत्सुक थिए।

७. रोमीहरूलाई लेखेको पत्रमा पावलले के चेताउनी दिए?

प्रेरित पावलले जोसिलो हुनुपर्ने महत्त्व बुझेको हुँदा रोमका मसीहीहरूलाई यस्तो सल्लाह दिए: “प्रयत्न गर्नामा अल्छी नहोओ, आत्मामा जोशिलो होओ, प्रभुको सेवा गर्दै रहो।” (रोमी १२:११) “अल्छी” भनेर अनुवाद गरिएको युनानी शब्दले “लोसे, सुस्त” भन्‍ने अर्थ बुझाउँछ। हामीले सेवकाईमा अल्छी त नगरौंला तर आध्यात्मिक अल्छीपनाका लक्षणहरू देखा पर्न थाल्ने बित्तिकै उपयुक्‍त छाँटकाँट गरिहाल्न सजग हुनुपर्छ।—हितोपदेश २२:३.

८. (क) यर्मियाको हृदयमा कुन कुरा “जलिरहेको आगो[जस्तै]” भयो र किन? (ख) यर्मियाको अनुभवबाट हामी कस्तो पाठ सिक्नसक्छौं?

निरुत्साहित हुँदा परमेश्‍वरको आत्माले हामीलाई मदत गर्नसक्छ। उदाहरणका लागि, अगमवक्‍ता यर्मिया अत्यन्तै निरुत्साहित भए र भविष्यवाणी गर्ने काम अब उप्रान्त नगर्ने विचार गरे। तिनले यहोवालाई यसो समेत भने: “म उहाँको चर्चा गर्नेछैनँ, म फेरि कहिल्यै उहाँको नाउँ लिन्‍नँ।” के यो यर्मियाको आध्यात्मिकतामा ठूलो कमजोरीको संकेत हो? होइन। किनभने, यर्मियाको बलियो आध्यामिकता, यहोवाप्रतिको प्रेम र सत्यप्रतिको जोसले गर्दा तिनले भविष्यवाणी गर्न छोडेनन्‌। तिनी भन्छन्‌: “मेरो हृदयमा जलिरहेको आगो हड्डीहरूका बीचमा थुनिराखेको जस्तै हुनेछ, त्यसलाई भित्र रोकि राख्ता म थकित हुन्छु, औ म त्यो थाम्नै सक्‍तिनँ।” (यर्मिया २०:९) यहोवाका विश्‍वासी सेवकहरू समय समयमा निरुत्साहित हुनु स्वाभाविकै हो। तर मदतको लागि यहोवालाई प्रार्थना गर्दा उहाँले तिनीहरूको हृदय पढ्‌नुहुन्छ र यर्मियाको जस्तै तिनीहरूको हृदयमा पनि परमेश्‍वरको वचन छ भने प्रशस्त मात्रामा पवित्र आत्मा दिनुहुनेछ।—लूका ११:९-१३; प्रेरित १५:८.

“आत्मालाई ननिभाओ”

९. कस्ता कुराहरूले पवित्र आत्मालाई निभाउन सक्छन्‌?

प्रेरित पावलले थिस्सलोनिकीहरूलाई यस्तो सल्लाह दिए: “आत्मालाई ननिभाओ।” (१ थिस्सलोनिकी ५:१९) हो, ईश्‍वरीय सिद्धान्त विपरीतका क्रियाकलाप र मनोवृत्तिले पवित्र आत्माको कामलाई रोक्नसक्छ। (एफिसी ४:३०) अहिले मसीहीहरूले सुसमाचार प्रचार गर्ने काम पाएका छन्‌। हामी यो सुअवसरको गहिरो आदर गर्छौं। त्यसकारण, सृष्टिकर्तालाई नचिन्‍नेहरूले हाम्रो प्रचारकार्यको गिल्ला गर्नु कुनै अनौठो कुरा होइन। तर मसीहीहरूले जानाजानी सेवकाईको बेवास्ता गर्दा परमेश्‍वरले प्रेरणा दिनुहुने आत्माको आगो निभ्नसक्छ।

१०. (क) संगीमानवको दृष्टिकोणले हामीलाई कसरी असर गर्नसक्छ? (ख) दोस्रो कोरिन्थी २:१७ मा हाम्रो सेवकाईप्रति कस्तो उच्च दृष्टिकोण व्यक्‍त गरिएको छ?

१० मसीही मण्डलीसित सरसंगत नगर्ने मानिसहरूले हाम्रो सेवकाई भनेको साहित्य वितरण गर्नु मात्र हो भन्ठान्लान्‌। अरू कतिले चाहिं हामी चन्दा संकलन गर्न घर घर जाने व्यक्‍तिहरू भन्‍ने गलत सोचाइ राख्नसक्छन्‌। त्यस्तो नकारात्मक धारणाले हाम्रो मनोवृत्ति प्रभावित हुन दियौं भने सेवकाईमा हाम्रो प्रभावकारिता घट्‌नसक्छ। त्यस्तो सोचाइले हामीलाई प्रभाव पार्न दिनुको सट्टा हाम्रो सेवकाईप्रति यहोवा र येशूको जस्तै दृष्टिकोण राखौं। प्रेरित पावलले उच्च दृष्टिकोण व्यक्‍त गर्दै यस्तो घोषणा गरे: “धेरै जनाले जस्तै हामी परमेश्‍वरको वचनलाई व्यापार गर्ने होइनौं। तर निष्कपट मानिस जस्तै, परमेश्‍वरबाट पठाइएका जस्तै, परमेश्‍वरका सामुन्‍ने हामी ख्रीष्टमा बोल्दछौं।”—२ कोरिन्थी २:१७.

११. सतावट आइपर्दा पनि जोसिलो रहन प्रारम्भिक मसीहीहरूलाई कुन कुराले मदत गऱ्‍यो अनि तिनीहरूको उदाहरणले हामीलाई कस्तो प्रभाव पार्नुपर्ने हो?

११ येशूको मृत्यु भएको केही समयपछि उहाँका चेलाहरूले अनेकन्‌ सतावट भोग्नुपऱ्‍यो। तिनीहरूलाई प्रचारकार्य बन्द गर्ने धम्की दिइयो। तैपनि, “तिनीहरू सबैजना पवित्र आत्माले भरिए, र तिनीहरूले निर्भयतासँग परमेश्‍वरको वचन बोले” भनी बाइबल बताउँछ। (प्रेरित ४:१७, २१, ३१) पावलले केही सालपछि तिमोथीलाई लेखेको पत्रले पनि मसीहीहरूले राख्नुपर्ने सकारात्मक झुकाउ झल्काउँछ। पावलले यसो भने: “परमेश्‍वरले हामीलाई डरको आत्मा होइन, तर शक्‍ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ। यसकारण हाम्रा प्रभुको साक्षीको शर्म नमान, नता म उहाँको कैदीको, तर परमेश्‍वरको शक्‍तिअनुसार सुसमाचारको निम्ति कष्ट भोग।”—२ तिमोथी १:७, ८.

छिमेकीप्रति हाम्रो दायित्व के हो?

१२. हामीले सुसमाचार प्रचार गर्नुको प्रमुख कारण के हो?

१२ सेवकाईप्रति सकारात्मक मनोवृत्ति राख्न हाम्रो मनसाय ठीक हुनुपर्छ। हामी किन प्रचार गर्छौं? यसको प्रमुख कारण भजनरचयिता यसरी बताउँछन्‌: “तपाईंका सारा कार्यले तपाईं [यहोवालाई] धन्यवाद दिनेछन्‌, हे परमप्रभु। र तपाईंका भक्‍त जनहरूले तपाईंलाई धन्यको भन्‍नेछन्‌, तिनीहरूले तपाईंको राज्यको महिमाको वर्णन गर्नेछन्‌। र तपाईंको शक्‍तिको कुरा गर्नेछन्‌। उहाँका शक्‍तिशाली कार्यहरू र उहाँका राज्यको शाही महिमा मानिसहरूका सन्तानलाई जनाउनेछन्‌।” (भजन १४५:१०-१२) हो, हामी जनसमक्ष यहोवाको प्रशंसा गर्न अनि सारा मानवजातिको अगाडि उहाँको नाउँ पवित्र पार्न प्रचार गर्छौं। हाम्रो कुरा थोरैले सुने तापनि वफादार भई सुसमाचार घोषणा गरिरह्‍यौं भने यहोवाको प्रशंसा हुनेछ।

१३. हामी मुक्‍तिको आशाबारे अरूलाई बताउन कसरी उत्प्रेरित हुन्छौं?

१३ हामी मानिसहरूप्रति प्रेमको खातिर अनि रक्‍तदोषबाट मुक्‍त हुन प्रचार गर्छौं। (इजकिएल ३३:८; मर्कूस ६:३४) यो कुरा, पावलले मसीही मण्डली बाहिरकालाई भनेका यी शब्दसित मिल्दाजुल्दा छन्‌: “ग्रीकहरू र अरू भाषा बोल्नेहरू दुवैको, औ बुद्धिमान र निर्बुद्धिहरूको पनि म ऋणी छु।” (रोमी १:१४) परमेश्‍वर “सबै मानिसहरूले उद्धार पाऊन्‌” भन्‍ने इच्छा गर्नुहुने हुँदा पावलले सबै मानिसहरूलाई सुसमाचार घोषणा गर्नुपर्ने दायित्व महसुस गरे। (१ तिमोथी २:४) अहिले हामी आफ्ना छिमेकीहरूप्रति त्यस्तै प्रेम र दायित्व महसुस गर्छौं। मानिसजातिप्रति प्रेमको खातिर यहोवाले पृथ्वीमा आफ्नो पुत्र पठाउनुभएर मर्न दिनुभयो। (यूहन्‍ना ३:१६) त्यो एउटा ठूलो बलिदान थियो। हामीले येशूको बलिदानमा आधारित मुक्‍तिको सुसमाचार अरूलाई बताउन समय खर्च गरेर प्रयास गर्दा यहोवाको प्रेम अनुकरण गरिरहेका हुनेछौं।

१४. बाइबलले मसीही मण्डली बाहिरको संसारलाई कसरी वर्णन गर्छ?

१४ यहोवाका साक्षीहरू सँगी मानवलाई मसीही भ्रातृत्वको सम्भाव्य सदस्यहरू ठान्छन्‌। हामीले निर्भयतासाथ प्रचार गर्नुपर्छ तर हाम्रो निर्भयता भनेको निहुँ खोजाहापन चाहिं होइन। यो कुरा पक्कै हो कि, बाइबलले सामान्य अर्थमा संसारलाई बुझाउन कडा शब्दहरू प्रयोग गरेको छ। पावलले “संसारको ज्ञान” र “संसारको तृष्णा” बुझाउन “संसार” शब्द नै नकारात्मक अर्थमा प्रयोग गरेका छन्‌। (१ कोरिन्थी ३:१९; तीतस २:१२) पावलले एफिसीका मसीहीहरूलाई तिनीहरू “संसारको रीतिअनुसार” हिंड्‌दा आध्यात्मिक तवरमा “मरेका” थिए भने। (एफिसी २:१-३) यी र यस्तै अरू कतिपय वाक्यांशहरू प्रेरित यूहन्‍नाका शब्दअनुरूप छन्‌: “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।”—१ यूहन्‍ना ५:१९.

१५. मसीही मण्डली बाहिरका व्यक्‍तिहरूलाई हामी के गर्दैनौं र किन?

१५ तर एउटा कुरा नबिर्सनुहोस्‌, ती वाक्यांशहरूले व्यक्‍तिविशेषलाई नभई परमेश्‍वरबाट तर्किएको मानव समाजलाई बुझाउँछ। मानिसहरूले प्रचारकार्यप्रति कस्तो प्रतिक्रिया देखाउलान्‌ भनेर मसीहीहरूले पहिल्यै अड्‌कल काट्‌दैनन्‌। तिनीहरूसित कसैलाई भेडा वा बाख्रा भनेर छुट्याउने आधार छैन। येशूले “भेडा” र “बाख्रा” छुट्याउनु हुँदा कसलाई के हुनेछ, हामी भन्‍न सक्दैनौं। (मत्ती २५:३१-४६) येशू न्यायकर्ता नियुक्‍त हुनुभएको छ, हामी होइन। यसबाहेक, अत्यन्तै खराब काम गर्ने मानिसहरूले समेत बाइबलको सन्देश स्वीकारेर आफ्नो जीवनशैली परिवर्तन गरेर स्वच्छ मसीही हुन सकेका छन्‌ भनी थुप्रै अनुभवले देखाउँछन्‌। यसर्थ, हामी कसै कसैसित सरसंगत गर्न नचाहौंला तर मौका मिल्ने बित्तिकै तिनीहरूलाई परमेश्‍वरको राज्य आशाबारे बताउन पछि पर्दैनौं। विश्‍वास नगरे तापनि “अनन्त जीवनका लागि नियुक्‍त भएका” व्यक्‍तिहरूबारे पनि धर्मशास्त्रमा बताइएको छ। पछि तिनीहरूले पनि विश्‍वास गरे। (प्रेरित १३:४८) हामीले साक्षी दिएपछि र हुनसक्छ, धेरै चोटि प्रचार गरिसकेपछि मात्र तिनीहरू अनन्त जीवनका लागि नियुक्‍त भएका हुन्‌ कि होइनन्‌ भनेर थाह पाउनसक्छौं। यसलाई विचार गर्दै मुक्‍तिको सन्देश अहिलेसम्म नस्वीकारेकाहरूसित “नम्रसँग” र “डरसँग” व्यवहार गर्छौं र कुनै दिन तिनीहरूमध्ये कोही कोहीले जीवनदायी सन्देश स्वीकार्नेछन्‌ भन्‍ने हाम्रो आशा छ।—२ तिमोथी २:२५; १ पत्रुस ३:१५.

१६. हामीले आफ्नो “शिक्षण कला” विकास गर्न चाहनुपर्ने एउटा कारण के हो?

१६ शिक्षकमा हुनुपर्ने गुणहरू विकास गर्दा हामी सुसमाचार प्रचार गर्न अझ उत्सुक हुनेछौं। जस्तै, आफूले नजानेको खेल खेल्न कसैलाई पनि त्यति रमाइलो लाग्दैन। तर राम्ररी खेल्न जान्‍ने व्यक्‍तिलाई रमाइलो लाग्छ। त्यसै गरी, “शिक्षण कला” विकास गरेका मसीहीहरूको सेवकाईमा आनन्द बढ्‌छ। (२ तिमोथी ४:२, NW; तीतस १:९) पावलले तिमोथीलाई यस्तो सल्लाह दिए: “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला भई आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्य तुल्याउने प्रयत्न गर।” (२ तिमोथी २:१५) हामी आफ्नो शिक्षण कलालाई कसरी विकास गर्नसक्छौं?

१७. हामी बाइबल ज्ञानको लागि कसरी “तृष्णा” जगाउनसक्छौं अनि त्यस्तो ज्ञानले हाम्रो सेवकाईमा कसरी फाइदा पुऱ्‍याउँछ?

१७ एउटा तरिका हो, थप सही ज्ञान लिएर। प्रेरित पत्रुस हामीलाई यस्तो प्रोत्साहन दिन्छन्‌: “नयाँ जन्मेका बालकहरूजस्तै छलरहितको आत्मिक दूधको तृष्णा गर, र त्यसबाट तिमीहरू मुक्‍तिको निम्ति बढ़दै जाओ।” (१ पत्रुस २:२) स्वस्थ बच्चाले दूधको तृष्णा गर्छ। तथापि, मसीहीहरूले बाइबल ज्ञानको लागि “तृष्णा” जगाउनुपर्छ। पढ्‌ने तथा अध्ययन गर्ने राम्रो बानी बसालेर यो तृष्णा जगाउन सकिन्छ। (हितोपदेश २:१-६) परमेश्‍वरको वचनका निपुण शिक्षकहरू बन्‍न प्रयास गर्नुपर्छ अनि आत्म-अनुशासित हुनुपर्छ तर त्यस्तो प्रयास गर्दा प्रशस्त इनाम पाइन्छ। परमेश्‍वरको वचन केलाउँदा प्राप्त हुने आनन्दले हामीलाई परमेश्‍वरको आत्मामा जोसिलो बनाउँछ। फलतः, हामी आफूले सिकेका कुराहरू अरूलाई बताउन उत्सुक हुन्छौं।

१८. मसीही सभाहरूले हामीलाई सत्य वचन सही ढंगमा प्रयोग गर्न कसरी मदत गर्छन्‌?

१८ परमेश्‍वरको वचन प्रयोग गर्न निपुण हुने सन्दर्भमा मसीही सभाहरूको पनि महत्त्वपूर्ण भूमिका छ। जनभाषण वा अन्य धर्मशास्त्रीय छलफलहरूको दौडान बाइबल पदहरू पढिंदा हामीले पनि बाइबल पल्टाएर पदहरू पढ्‌नु बेस हो। सभाका कार्यक्रमहरू र विशेष गरी हाम्रो प्रचारकार्यसित सम्बन्धित विषयवस्तु छलफल गरिंदा चनाखो भएर सुन्‍नु राम्रो हो। हामीले सभाहरूमा देखाइने प्रदर्शनहरूलाई बेवास्ता गरेर आफ्नो ध्यान यताउता अलमलिन दिनु हुँदैन। यसो गर्न पनि अनुशासन चाहिन्छ र ध्यान दिनुपर्छ। (१ तिमोथी ४:१६) मसीही सभाहरूले हाम्रो विश्‍वास बढाउँछ, परमेश्‍वरको वचनको तृष्णा जगाउन मदत गर्छ अनि सुसमाचारका उत्सुक उद्‌घोषक हुन प्रशिक्षण दिन्छ।

हामी यहोवामा भरोसा राख्नसक्छौं

१९. प्रचारकार्यमा नियमित तवरमा भाग लिनु किन महत्त्वपूर्ण छ?

१९ “आत्मामा जोशिलो” र सुसमाचार घोषणा गर्न उत्सुक मसीहीहरू नियमित तवरमा सेवकाईमा भाग लिने प्रयास गर्छन्‌। (एफिसी ५:१५, १६) हो, सबैको परिस्थिति एउटै हुँदैन र सबैले यस जीवनदायी काममा उत्तिकै समय बिताउन सक्दैनन्‌। (गलाती ६:४, ५) यद्यपि, हामीले प्रचारकार्यमा बिताउने कुल घण्टाभन्दा पनि महत्त्वपूर्ण कुरा अरूलाई हाम्रो आशाबारे बताउने कार्यमा कत्तिको नियमित छौं, त्यो हो। (२ तिमोथी ४:१, २) हामी जत्ति बढी प्रचार गर्छौं, उत्तिनै यस कार्यको महत्त्व बुझ्नुका साथै मूल्यांकन पनि गर्नेछौं। (रोमी १०:१४, १५) कुनै आशा नपाएर शोक र विलाप गरिरहेका निष्कपट मानिसहरूलाई नियमित तवरमा भेट्‌दा हाम्रो अनुकम्पा र सँगी भाव बढ्‌नेछ।—इजकिएल ९:४; रोमी ८:२२.

२०, २१. (क) हामीले अझ कुन काम गर्नु बाँकी नै छ? (ख) यहोवाले हाम्रा प्रयासहरूलाई कसरी समर्थन गरिरहनुभएको छ?

२० यहोवाले हामीलाई सुसमाचार सुम्पनुभएको छ। परमेश्‍वरका “सहकर्मी[को]” हैसियतमा हामीले पाएको पहिलो काम यही हो। (१ कोरिन्थी ३:६-९) हामी परमेश्‍वरले दिनुभएको यो जिम्मेवारी पूरा तनमनले अनि आफूले सकेसम्म गर्न उत्सुक छौं। (मर्कूस १२:३०; रोमी १२:१) यस संसारमा सत्यको लागि भोकाइ रहेका अर्थात्‌ अनन्त जीवनका लागि नियुक्‍त भएका अझ थुप्रै मानिसहरू छन्‌। गर्नुपर्ने काम थुप्रै छन्‌ तर आफ्नो सेवकाई पूरा गर्दै हामी यहोवामा पूर्ण भरोसा राख्नसक्छौं।—२ तिमोथी ४:५.

२१ यहोवाले हामीलाई उहाँको आत्मा र “आत्माको तरवार” अर्थात्‌ उहाँको वचन दिनुहुन्छ। उहाँको मदत पाएर हामी “सुसमाचारको रहस्य साहससित जनाउनालाई” आफ्नो मुख खोल्नसक्छौं। (एफिसी ६:१७-२०) प्रेरित पावलले थिस्सलोनिकीका मसीहीहरूलाई लेखेको कुरा हामीमा पनि लागू होस्‌: “हाम्रो सुसमाचार केवल वचनमा मात्र होइन, तर शक्‍तिमा पनि, र पवित्र आत्मामा, र ज्यादै आत्मविश्‍वासमा तिमीहरूकहाँ आएको हो, जसरी तिमीहरू पनि जान्दछौ।” (१ थिस्सलोनिकी १:५) हो, हामी उत्सुकतासाथ सुसमाचार घोषणा गरौं!

संक्षिप्त पुनरावृत्ति

• जीवनका फिक्रीहरूले गर्दा सेवकाईमा हाम्रो जोसलाई के हुनसक्छ?

• कुन अर्थमा सुसमाचार घोषणा गर्ने हाम्रो इच्छा आफ्नो हृदयमा “जलिरहेको आगो[जस्तै]” हुनुपर्छ?

• हामीले सेवकाईप्रति कस्ता नकारात्मक मनोवृत्ति राख्नु हुँदैन?

• साधारणतया हाम्रोभन्दा बेग्लै विश्‍वास राख्नेहरूप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

• यहोवाले हामीलाई प्रचारकार्यमा जोसिलो रहन कसरी मदत गर्नुहुन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएका चित्रहरू]

मसीहीहरू यर्मिया र पावलको जोसको अनुकरण गर्छन्‌

[पृष्ठ १०-मा भएका चित्रहरू]

परमेश्‍वर र छिमेकीप्रतिको प्रेमले गर्दा हामी सेवकाईमा उत्सुक भएका हौं