सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

थुप्रै राष्ट्रका निम्ति ज्योतिवाहक

थुप्रै राष्ट्रका निम्ति ज्योतिवाहक

जीवनी

थुप्रै राष्ट्रका निम्ति ज्योतिवाहक

जर्ज यङको जीवन कथा रूथ यङ निकोल्सनको वृत्तान्तमा आधारित

“उसोभए, हाम्रा मञ्चहरू किन सुनसान छन्‌ त? . . . मैले जसबारे लेखें ती कुराहरू सत्य प्रमाणित गरिसकेपछि पनि चुपचाप लागेर बस्यौं भने हामी कस्ता मानिसहरू हुनेछौं? आउनुहोस्‌, हामी मानिसहरूलाई अन्जानमा नराखौं बरु खुल्लमखुल्ला गर्वका साथ जनसमक्ष घोषणा गरौं।”

यी अंशहरू मेरो बुबाले चर्चबाट आफ्नो नाम हटाउन अनुरोध गर्दै लेख्नुभएको ३३ पृष्ठे पत्रमा लेखिएको थियो। साल, सन्‌ १९१३ थियो। त्यसबेलादेखि यसो उहाँले अविस्मरणीय क्षणहरूले भरिएको जीवनमा पाइला टेक्नुभयो र थुप्रै राष्ट्रका निम्ति ज्योतिवाहकको हैसियतमा सेवा गर्नुभयो। (फिलिप्पी २:१५) केटाकेटी छँदादेखि नै नातेदार तथा ऐतिहासिक कुराहरूबाट मैले बुबाका अनुभवहरू बटुलें र मेरा साथीहरूले उहाँका जीवनका घटनाहरू जम्मा गर्न मलाई मदत गरे। बुबाको जीवन धेरै तरिकामा मलाई प्रेरित पावलको जस्तै लाग्छ। “अन्यजातिहरूको प्रेरित” जस्तै बुबा पनि जुनसुकै ठाउँ अनि टापुमा यहोवाको सन्देश मानिसहरूसम्म पुऱ्‍याउनको लागि यात्रा गर्न तयार हुनुहुन्थ्यो। (रोमी ११:१३; भजन १०७:१-३) आउनुहोस्‌, म तपाईंहरूलाई मेरो बुबा जर्ज यङबारे बताउनेछु।

सुरुका वर्षहरूमा

बुबा स्कटिस प्रेसबाइटेरियन, जोन र मार्गरेट यङको कान्छो छोरा हुनुहुन्थ्यो। उहाँ सेप्टेम्बर ८, १८८६ मा जन्मनुभएको थियो। त्यसको लगत्तै पूरै परिवारसहित उहाँहरू स्कटल्याण्डको एडिनवर्गबाट पश्‍चिमी क्यानाडाको ब्रिटिश कोलम्बियामा सर्नुभयो। उहाँका तीन जना ठूला दाजुहरू अलेक्जेन्डर, जोन र मालकम स्कटल्याण्डमा केही वर्ष पहिल्यै जन्मनुभएको थियो। बुबाभन्दा दुई वर्ष कान्छी बहिनी मारियोनलाई उहाँहरू माया गरेर निली भनी बोलाउनुहुन्थ्यो।

ब्रिटिश कोलम्बियाको भिक्टोरिया नजिकै पर्ने सानिकको फार्ममा उहाँहरू सुखसयलमा हुर्कनुभयो। त्यसैबेला उहाँहरूले जिम्मेवारी वहन गर्न पनि सिक्नुभयो। त्यसैले त उहाँहरूका आमाबाबु भिक्टोरियाको यात्राबाट फर्कनुहुँदा आँगन र घर सफा अनि चिटिक्क परेका हुन्थे।

पछि, बुबा र उहाँका दाजुहरू खानीसम्बन्धी काम अनि टिम्बरको व्यापारमा चासो दिन थाल्नुभयो। ती जवान भाइहरूले टिम्बर निरीक्षकहरूका (टिम्बर उत्पादन गर्न सम्भाव्य जग्गाको निरीक्षक) हैसियतमा राम्रो प्रतिष्ठा कमाउनुका साथै टिम्बर खरिद तथा बिक्री कर्ताको रूपमा पनि नाम कमाए। बुबाचाहिं आर्थिक कारोबार सम्हाल्नुहुन्थ्यो।

अन्ततः बुबा आध्यात्मिकतातर्फ ढल्कँदै जानुभएकोले प्रेसबाइटेरियनको सेवक बन्‍ने निर्णय गर्नुभयो। तथापि, त्यसैबेलातिर जायन्स वाच टावर ट्राक्ट सोसाइटीका पहिलो अध्यक्ष चार्ल्स टेज रसलका उपदेशहरू छापिएको अखबारले उहाँको जीवनमा गहिरो छाप पाऱ्‍यो। बुबाले सिक्नुभएका कुराहरूले उहाँलाई सुरुमा वर्णन गरिएको राजीनामा पत्र लेख्न उत्प्रेरित गऱ्‍यो।

बुबाले नम्रतापूर्वक तर स्पष्टसित बाइबलका पदहरू चलाउनु भएर अमर आत्मा अनि मानव आत्मालाई परमेश्‍वरले अनन्तसम्म नरकको आगोमा सास्ती दिनुहुन्छ भन्‍ने चर्चका शिक्षाहरू गलत साबित गरिदिनुभयो। उहाँले त्रिएकको शिक्षा पनि उदांग गर्नुभएर यो गैरमसीहीहरूबाट उत्पन्‍न भएको पूर्णतया गैर-शास्त्रीय शिक्षा हो भनी प्रमाणित गरिदिनुभयो। त्यसैबेलादेखि उहाँले मसीही सेवकाईलाई अंगालेर येशू ख्रीष्टको अनुकरण गर्दै नम्रतापूर्वक आफ्ना सबै सीप अनि बल यहोवाको महिमा गर्नमा प्रयोग गर्नुभयो।

सन्‌ १९१७ मा वाच टावर सोसाइटीको निर्देशनमा बुबाले यहोवाका साक्षीहरूको परिभ्रमण प्रतिनिधिको हैसियतमा सेवा गर्न थाल्नुभयो, जसलाई त्यसबेला पिल्ग्रिम भनिने गरिन्थ्यो। क्यानाडाका शहर तथा गाउँहरू हुँदै उहाँले भाषण अनि “फोटो ड्रामा अफ क्रिएशन” भनेर चिनिने मोशन पिक्चर र स्लाइड प्रोग्राम प्रस्तुत गर्दै हिंड्‌नुभयो। बुबाले भ्रमण गर्नुहुने सभा घर मानिसहरूले भरिभराउ हुन्थे। उहाँको यात्राको तालिका १९२१ सम्म प्रहरीधरहरा-मा छापियो।

विनिपेग अखबारले प्रचारक यङले २,५०० जनासमक्ष भाषण दिएको र हल खचाखच भरिएकोले धेरैजसो मानिसहरू भित्र छिर्नै नसकेको रिपोर्ट गरेको थियो। ओट्टावामा उहाँले “नरकबाट फर्कनेहरू” भन्‍ने विषयमा भाषण दिनुभयो। सोही भाषण सुन्‍ने एक जना पाको मानिसले यसो भने: “भाषण सिद्धिएपछि जर्ज यङले पादरीहरूलाई प्लेटफर्ममा आएर उक्‍त विषयमा छलफल गर्न बोलाउनु भयो, तर कोही पनि आएनन्‌। त्यसपछि, मैले सच्चाइ यही हो भनेर थाह पाएँ।”

बुबा आफ्नो भ्रमणको दौडान सकेसम्म धेरै आध्यात्मिक कामकुराहरूमा व्यस्त हुने प्रयास गर्नु हुन्थ्यो। त्यसपछि, तालिकाअनुसार अर्को ठाउँमा पुग्न रेल चढिहाल्नुहुन्थ्यो। कारबाट यात्रा गर्दाचाहिं उहाँ बिहानको चमेना खाने बित्तिकै अर्को ठाउँमा गइहाल्नुहुन्थ्यो। बुबाले जोसिलो व्यक्‍तिको ख्याति कमाउनुका साथै अरूको ख्याल राख्ने अनि मसीही गतिविधि र उदारताको लागि पनि ख्याति कमाउनुभएको थियो।

उहाँ उपस्थित हुनुभएका थुप्रै प्रारम्भिक अधिवेशनहरूमध्ये विशेष गरी १९१८ मा अल्बर्टाको एडमन्टोनमा भएको अधिवेशनचाहिं अविस्मरणीय थियो। उहाँको सम्पूर्ण परिवार निलीको बप्तिस्मा हेर्न भेला भएका थिए। उहाँका दाजुभाइहरू सबै जना सँगै भेटेको पनि यही अन्तिम पटक थियो। त्यसको दुई वर्षपछि निमोनियाको कारण माल्कोमको मृत्यु भयो। उहाँका तीन जना दाजुहरू र उहाँको बुबाले जस्तै माल्कोमको पनि स्वर्गीय जीवनको आशा थियो र उहाँहरू सबै जना नमरुञ्जेल विश्‍वासी भइरहे।—फिलिप्पी ३:१४.

विदेशी भूमितिर

बुबाले सेप्टेम्बर १९२१ मा क्यानाडाको प्रचार यात्रा सिध्याउनु भएपछि वाच टावर सोसाइटीका तात्कालीन अध्यक्ष जोसेफ एफ. रदरफोर्डको निर्देशनमा क्यारीबियन टापुहरूको यात्रा गर्न थाल्नुभयो। बुबाले जहाँ जहाँ “फोटो ड्रामा अफ क्रिएशन” प्रस्तुत गर्नुभयो सबैले त्यसको प्रशंसा गरे। जस्तै, ट्रिनिडाडबाट उहाँले यस्तो लेख्नुभएको थियो: “मानिसहरूले भवन खचाखच भरिएको हुनाले कतिपय मानिसहरू ठाउँ नपाएर त्यत्तिकै फर्के। दोस्रो रात पनि भवन मानिसहरूको भीडले खचाखच भरिएको थियो।”

त्यसपछि, सन्‌ १९२३ मा बुबालाई ब्राजिलमा खटाइयो। त्यहाँ उहाँले ठूलो भीडसामु भाषण दिनुभयो र कुनै कुनै ठाउँहरूमा त अनुवादकहरूलाई भाडामा समेत लिनुभयो। डिसेम्बर १५, १९२३ को प्रहरीधरहरा-ले यस्तो रिपोर्ट गऱ्‍यो: “जून १ देखि सेप्टेम्बर ३० सम्ममा भाइ यङले २१ वटा जन सभाहरू सञ्चालन गरे र त्यसमा ३,६०० उपस्थित भएका थिए। त्यसै गरी तिनले ४८ वटा मण्डलीका सभाहरू पनि सञ्चालन गरे, जहाँ त्यस्तै १,१०० जनाले भाग लिए। अनि पुर्तुगाली भाषामा ५,००० प्रति साहित्यहरू निश्‍शुल्क वितरण गरे।” बुबाले “अहिले बाँचिरहेका लाखौं मानिसहरू कहिल्यै पनि मर्नेछैनन्‌” भन्‍ने भाषण दिनुहुँदा थुप्रैले राम्रो प्रतिक्रिया व्यक्‍त गरे।

ब्राजिलमा मार्च ८, १९९७ का दिन नयाँ भवनहरू समर्पण गर्दा उक्‍त अवसरका लागि छापिएको पुस्तिकाले यस्तो रिपोर्ट गऱ्‍यो: “१९२३: जर्ज यङ ब्राजिल आइपुगे। तिनले रियो दे जेनेरोको केन्द्रमै शाखा कार्यालय संगठित गरे।” स्पेनी भाषामा बाइबल साहित्यहरू उपलब्ध भए तापनि ब्राजिलको मूल भाषा पुर्तुगालीमा पनि साहित्य उपलब्ध गराउनु आवश्‍यक परेको थियो। फलतः, अक्टोबर १, १९२३ देखि पुर्तुगाली भाषामा प्रहरीधरहरा छापिन थाल्यो।

बुबाले ब्राजिलमा थुप्रै अविस्मरणीय भेटघाट गर्नुभयो। तिनीहरूमध्ये एक जना जासिन्टु पीमान्टेल काब्रेल नाउँ गरेका पुर्तुगाली मानिस थिए। तिनले आफ्नो घरमा सभा गर्न दिए। जासिन्टुले छिट्टै बाइबल सच्चाइ स्वीकारेर पछि शाखाको कामदार भए। अर्को व्यक्‍ति मानुएल डिसिल्वा जोरडाओ नाम गरेका पुर्तुगाली जवान माली थिए। बुबाले दिनुभएको भाषण सुनेर उत्प्रेरित भई पुर्तुगाल फर्केर तिनले कल्पर्चर अर्थात्‌ त्यसबेला यहोवाका साक्षीहरूको पूर्ण समय सेवकको हैसियतमा सेवा गर्न थाले।

बुबाले रेलबाट पूरै ब्राजिलको भ्रमण गर्नुका साथै जिज्ञासु व्यक्‍तिहरूलाई भेट्‌नुभयो। त्यस्तै एउटा यात्रामा उहाँले बोनी र क्याटारीना ग्रीनलाई भेट्‌नुभयो र तिनीहरूसित दुई हप्तासम्म बसेर धर्मशास्त्रबाट छलफल गर्नुभयो। तिनीहरूको परिवारबाट सात जनाले यहोवाप्रतिको आफ्नो समर्पण पानीको बप्तिस्माद्वारा जनसमक्ष प्रकट गरे।

अर्को भेट १९२३ मा सेरा बेलोना फरगीसनसितको थियो। सन्‌ १८६७ मा तिनी किशोरावस्थामा छँदै तिनको दाजु इरासमस फल्टन स्मिथ र बाँकी परिवार संयुक्‍त राज्यबाट ब्राजिलमा बसाईं सरेका थिए। तिनले १८९९ देखि नियमित तवरमा हुलाकबाट वाचटावर पत्रिका पाउन थालिन्‌। बुबाको भ्रमण सेरा, तिनका चार छोराछोरी र बुबाले फुपूभनेर बोलाउने गर्नुभएको सालीको लागि लामो समयदेखि पर्खिरहेको बप्तिस्मा लिने एउटा अवसर साबित भयो। त्यो मार्च ११, १९२४ को दिन थियो।

त्यसको केही समय पछि नै बुबाले दक्षिण अमेरिकाका अन्य राष्ट्रहरूमा पनि प्रचार गर्न थाल्नुभयो। नोभेम्बर ८, १९२४ मा उहाँले पेरूबाट यस्तो लेख्नुभयो: “मैले भर्खरै मात्र लिमा र कायाओमा १७,००० पर्चा वितरण गर्न सिध्याएँ।” त्यसपछि उहाँ पर्चाहरू वितरण गर्न बोलिभिया जानुभयो। त्यस भ्रमणबारे उहाँले लेख्नुभयो: “हाम्रा पिताले आशिष्‌ दिइरहनुभएको छ। एक जना रैथानले मलाई मदत गरे। तिनको घर एमेजोनको मुहान वरपर पर्थ्यो। तिनले १,००० वटा पर्चा र केही पुस्तकहरू लगे।

बुबाको परिश्रमले गर्दा मध्य तथा दक्षिण अमेरिकाका थुप्रै देशहरूमा बाइबल सच्चाइको बीउ छरियो। डिसेम्बर १, १९२४ को प्रहरीधरहरा-ले यस्तो रिपोर्ट गऱ्‍यो: “जर्ज यङ अहिले दक्षिण अमेरिकामा पुगेको दुई वर्षभन्दा बढी भइसक्यो . . .। यस प्रिय भाइले सच्चाइको सन्देश मेगालेनका गल्लीहरू, पुन्टा एरिनाहरूमा लैजाने विशेषाधिकार पाए।” बुबाले कोस्टारिका, पानामा, भेनेज्वेलाजस्ता देशहरूमा पनि प्रचार कार्यलाई अघि बढाउनुभयो। मलेरिया लाग्दासमेत उहाँले यो काम गरिनैरहनुभयो।

त्यसपछि युरोपमा

मार्च १९२५ मा बुबा स्पेन र पुर्तुगालमा ३,००,००० बाइबल पर्चाहरू वितरण गर्न अनि भाइ रदरफोर्डको जनभाषणहरूका लागि प्रबन्ध मिलाउन युरोपतिर लाग्नुभयो। तथापि, स्पेनमा पुगेपछि बुबाले त्यहाँ धार्मिक असहिष्णुताले भरिएको वातावरण देखेर भाइ रदरफोर्डले भाषण दिनु मनासिब नभएको विचार व्यक्‍त गर्नुभयो।

त्यसको जवाफमा भाइ रदरफोर्डले यशैया ५१:१६ उद्धृत गर्दै यसो लेखे: “आकाशलाई फैलाउँदै र पृथ्वीको जग बसाल्दै, औ सियोनलाई ‘तँ मेरो प्रजा होस्‌’ भन्दै मैले मेरो कुरा तेरो मुखमा हालिदिएको छु, र मेरो हातको छायामनि तँलाई छोपिराखेको छु।’ ” त्यसपछि बुबाले यसो भन्दै निष्कर्ष निकाल्नुभयो: “साँच्चै मैले आफ्नो काम गरेको र परिणाम उहाँकै हातमा छाडेको प्रभु चाहनुहुन्छ।”

मे १०, १९२५ मा भाइ रदरफोर्डले बार्सिलोनाको नोभाडेस थिएटरमा अनुवादकको माध्यमबाट भाषण दिनुभयो। त्यहाँ सरकारी कर्मचारीहरू तथा विशेष सुरक्षाकर्मीलगायत २,००० भन्दा बढी मानिसहरू उपस्थित भए। त्यस्तै गरी माड्रिडमा १,२०० जना उपस्थित भए। यी भाषणहरूले जगाएको चासोले गर्दा १९७८ इयरबूक अफ जेहोभाज्‌ विट्‌नेसेज-ले भनेझैं “जर्ज यङको नेतृत्वमा” स्पेनमा शाखा कार्यालयनै स्थापित भयो।

मे १३, १९२५ मा भाइ रदरफोर्डले पुर्तुगालको लिस्बनमा भाषण दिनुभयो। होहल्ला गरेर अनि मेचहरू भाँचेर पादरीहरूले सभामा दखल पुऱ्‍याउन खोजे तापनि उहाँको भ्रमण सफल नै रह्‍यो। स्पने अनि पुर्तुगालमा भाइ रदरफोर्डको भाषणपछि बुबाले निरन्तर ती ठाउँहरूमा “फोटो-ड्रामा” देखाउनुभयो र बाइबल साहित्यहरू छापेर वितरण गर्ने प्रबन्ध मिलाउनुभयो। उहाँले १९२७ मा सुसमाचार “स्पेनका हरेक शहर तथा गाउँमा प्रचारिएको छ” भन्‍ने रिपोर्ट गर्नुभयो।

सोभियत संघमा प्रचार गर्दै

बुबाको अर्को मिसनरी क्षेत्र सोभियत संघ थियो। त्यहाँ उहाँ अगस्त २८, १९२८ मा पुग्नुभयो। अक्टोबर १०, १९२८ मा उहाँले लेख्नुभएको चिठीको अंश यसप्रकार थियो:

“रूसमा आएपछि मैले हृदयदेखिनै ‘तपाईंको राज्य आओस्‌’ भनेर प्रार्थना गर्नसकें। म भाषा सिक्दैछु तर मन्द गतिमा। मेरो अनुवादक गजबका छन्‌। यहूदी भएर पनि तिनी ख्रीष्टमा विश्‍वास गर्छन्‌ र बाइबललाई प्रेम गर्छन्‌। मैले केही रोचक अनुभव बटुलेको छु तर मलाई कहिलेसम्म यहाँ बस्न दिने हो थाह छैन। गएको हप्ता मात्र मलाई २४ घण्टाभित्र देश छोड्‌नु भन्‍ने आदेश आएको थियो तर यो समस्या टलेकोले यहाँ अहिलेसम्म रहन पाएको छु।”

हाल युक्रेनको प्रमुख शहरको रूपमा चिनिने खार्कोभ शहरमा केही बाइबल विद्यार्थीहरूसित सम्पर्क गर्नुहुँदा न्यानो कुराकानीले उहाँहरूको आँखाबाट आँसु झरेछ। हरेक बेलुकी मध्यरातसम्म सानो भेटघाट हुने गर्थ्यो। भाइहरूसितको यस सभाबारे लेख्दै पछि बुबाले यस्तो टिप्पणी गर्नुभयो: “विचरा भाइहरू, तिनीहरूसँग भएका दुई चारवटा किताबहरूसमेत जफत गरिए र अधिकारीहरूले दुर्व्यवहार गरे। तैपनि, ती भाइहरू आनन्दितै थिए।”

जून २१, १९९७ मा रूसको सेन्ट पिटर्सबर्गमा नयाँ शाखा कार्यालयको समर्पण गरिंदा समारोहमा बाँडिएको विशेष पुस्तिकामा बुबाले पहिले सोभियत संघमा गर्नुभएको सेवकाईका विशेषताहरूबारे छापिएको थियो। पुस्तिकाले भनेअनुसार बुबालाई मस्कोमा पठाइयो र उहाँलाई “फ्रिडम फर द पिपल्सह्वेर आर द डेड? विषयक पुस्तिकाहरू १५,००० प्रति छाप्ने र रूसभरि वितरण गर्ने” अनुमति दिइयो।

रूसबाट फर्केपछि बुबालाई संयुक्‍त राज्यमा परिभ्रमण कार्य गर्न खटाइयो। दक्षिण डाकोटामा उहाँले निलीना र वर्डा पुल नाम गरेका दुई दिदीबहिनीलाई भेट्‌नुभयो। ती केही वर्षपछि पेरूमा मिसनरी भए। तिनीहरूले बुबाको अथक सेवकाईको मूल्यांकन जाहेर गरे र लेखे: “ती दिनहरूमा भाइहरूसित साँच्चै अग्रगामीको आत्मा थियो र तिनीहरू संसारका लोभलाग्दा कुराहरूलाई छाडेर हृदयभरि यहोवाप्रतिको प्रेम बोकी विदेशी भूमीमा जान्थे। तिनैकुराले तिनीहरूलाई आफ्नो काम पूरा गर्न उत्प्रेरित गर्थ्यो।”

विवाह र दोस्रो भ्रमण

वर्षौंदेखि बुबाले अन्टारियोको मानिटौलीन टापुकी क्लारा हब्बर्टसित पत्राचार गरिरहनुभएको थियो। जुलाई २६, १९३१ मा ओहायोको कोलम्बसमा भएको सम्मेलनमा बाइबल विद्यार्थीहरूले यहोवाका साक्षीहरू भन्‍ने नाउँ धारण गर्दा उहाँहरू दुवै जना उपस्थित हुनुहुन्थ्यो। (यशैया ४३:१०-१२) त्यसको एक हप्तापछि उहाँहरूले विवाह गर्नुभयो। धेरै समय नबित्दै बुबा फेरि आफ्नो दोस्रो मिसनरीको सिलसिलामा क्यारीबियन टापु जानुभयो। त्यहाँ उहाँले सभाहरू संचालन गर्न र अरूलाई घर घरको सेवकाईमा जान सिकाउनुभयो।

आमाले सुरिनाम, सेन्ट किट्‌स र अन्य ठाउँहरूबाट फोटो, कार्ड र चिठीहरू पाउनुहुन्थ्यो। ती चिठीहरूमा प्रचार कार्यमा भइरहेका उन्‍नतिहरूको रिपोर्टका साथै कहिलेकाहीं वरपरका चरा, जनावर र बिरुवाहरूबारे पनि केही कुराहरू समावेश गर्नुहुन्थ्यो। जून १९३२ मा बुबाले क्यारीबियन टापुको भ्रमण सिध्याउनुभयो र सदाझैं कम खर्चिलो यात्रा गरेर क्यानाडा फर्कनुभयो। त्यसपछि, उहाँ र आमा मिलेर १९३२/३३ को जाडो महिना ओट्टावा क्षेत्रको पूर्ण समय सेवकहरूको ठूलो समूहसित मिलेर पूर्ण समय सेवकाईमा भाग लिनुभयो।

पारिवारिक जीवनबारे संक्षिप्त जानकारी

सन्‌ १९३४ मा मेरो दाजु डेविडको जन्म भयो। उहाँ सानै छँदा आमाको टोपी राख्ने बाकसमा चढेर “भाषण” दिने अभ्यास गर्नुहुन्थ्यो। आफ्नो बुबाले जस्तै उहाँले पनि आफ्नो जीवनभरि यहोवाको लागि जोस देखाउनुभयो। उहाँहरू तीनै जना क्यानाडाको पूर्वी समुद्री किनारादेखि पश्‍चिमी किनारासम्म कारको छतमा ध्वनि उपकरण बाँधेर मण्डलीहरूको भ्रमण गर्नुहुन्थ्यो। बुबा ब्रिटिश कोलम्बियामा सेवा गरिरहनु भएको बेला १९३८ मा मेरो जन्म भएको थियो। मलाई खाटमा राखेर बुबा, मुमा अनि डेविड वरिपरी घुँडा टेकेर मेरोनिम्ति प्रार्थनामा धन्यवाद दिने गर्नुभएको कुरा डेविड अझै सम्झन्छन्‌।

हामीले १९३९ को जाडोयाम भानकुभरमा बितायौं। त्यसबेला बुबा वरपरका मण्डलीहरूको भ्रमण गरिरहनुभएको थियो। हामीले वर्षौंदेखि संकलन गरेका चिठीहरूमध्ये एउटा जनवरी १४, १९३९ को थियो। त्यो चिठी बुबाले ब्रिटिश कोलम्बियाको भर्नोनमा हुँदा लेख्नुभएको थियो। बुबाले त्यस चिठीमा क्लारा, डेविड र रुथलाई सम्बोधन गर्दै भन्‍नुभएको थियो: “न्यानो प्रेम अनि आलिंगन।” त्यसमा हामी प्रत्येकको लागि एउटा सन्देश थियो। उहाँले त्यहाँ फसल धेरै तर खेतालाहरू भने थोरै भएको कुरा उल्लेख गर्नुभएको थियो।—मत्ती ९:३७, ३८.

बुबा आफ्नो जिम्मेवारी पूरा गरेर भानकुभरमा फर्कनुभएको एक हप्तापछि सभामै ढल्नुभयो। स्वास्थ्य परीक्षण गरेर हेर्दा उहाँको मस्तिष्कमा ट्युमर भएको पत्ता लाग्यो। मे १, १९३९ मा उहाँले आफ्नो पार्थिव जीवन पूरा गर्नुभयो। त्यसबेला म नौ महिनाको मात्र थिएँ भने डेविड पाँचवर्षको मात्र थियो। हाम्री प्यारी आमाको पनि स्वर्गीय आशा थियो र उहाँ पनि जून १९, १९६३ मा आफ्नो मृत्यु नहोउञ्जेलसम्म विश्‍वासी नै रहनुभयो।

थुप्रै देशहरूमा सुसमाचार पुऱ्‍याउने सुअवसरलाई बुबाले कुन दृष्टिकोणले हेर्नुहुन्थ्यो भन्‍ने कुरा उहाँले आमालाई लेख्नुभएको चिठीले खुलस्त पार्छ। एक ठाउँमा उहाँले यस्तो लेख्नुभएको छ: “यहोवाले मलाई उदारतासाथ यी ठाउँहरूमा राज्य सन्देश पुऱ्‍याउन ज्योतिको रूपमा काम गर्न अनुमति दिनुभएको छ। उहाँको पवित्र नाउँको प्रशंसा अवश्‍य गरिनुपर्छ। दुर्बलता र असमर्थता अनि कमजोरीपनाले नै उहाँको महिमा गर्छ।”

अहिले जर्ज अनि क्लारा यङका छोराछोरी, नातिनातिनी र पनातिहरूसमेत हाम्रा मायालु परमेश्‍वर यहोवाको सेवा गरिरहेका छन्‌। बुबाले सधैं हिब्रू ६:१० चलाउने गर्नुहुन्थ्यो रे भनेको मैले कसैबाट सुनेकी थिएँ, त्यस पदमा यसो लेखिएको छ: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ . . . देखाएका छौ, सो बिर्सनालाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।” हामीले पनि बुबाको काम बिर्सेका छैनौं।

[पृष्ठ २३-मा भएको चित्र]

दायाँतिर आफ्ना तीन दाज्यूहरूसित मेरो बुबा

[पृष्ठ २५-मा भएका चित्रहरू]

बुबा (उभिरहनुभएको) भाइहरू ऊडवर्थ, रदरफोर्ड र म्याकमिलनसित (बीचमा)

तल: बुबा (बायाँतर्फ सबैभन्दा छेउमा) भाइ रसलसित समूहमा

[पृष्ठ २६-मा भएका चित्रहरू]

बुबा र आमा

तल: उहाँहरूको विवाहको दिन

[पृष्ठ २७-मा भएको चित्र]

बुबाको मृत्युभएको केही वर्षपछि डेभिड र आमासित