सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मसीही गोठाला हो, ‘ठूलो मनको हुनुहोस्‌’!

मसीही गोठाला हो, ‘ठूलो मनको हुनुहोस्‌’!

मसीही गोठाला हो, ‘ठूलो मनको हुनुहोस्‌’!

“परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केहीको खाँचो हुँदैन।” यी शब्दहरूमार्फत दाऊदले परमेश्‍वरमाथिको आफ्नो पूरा भरोसा व्यक्‍त गरे। आध्यात्मिक तवरमा भन्‍ने हो भने, यहोवाले तिनलाई “हरियो खर्क” र “सुख-चैनको पानीनेर” डोऱ्‍याउँदै “धार्मिकताका मार्गमा अगुवाइ” गर्नुभयो। शत्रुहरूले घेर्दा दाऊदले यसो भन्‍नसक्ने गरी साहारा अनि प्रोत्साहन पाए: “म कुनै खतरादेखि डराउँनेछैनँ। किनकि तपाईं मेरो साथमा हुनुहुन्छ।” त्यस्तो शक्‍तिशाली गोठालो पाएको हुनाले दाऊदले “परमप्रभुको घरमा . . . सदा रहने” अठोट गरे।—भजन २३:१-६.

परमेश्‍वरको जेष्ठ पुत्रले पनि यहोवाको मायालु रेखदेखको आनन्द उठाउनुभयो र आफ्नो पार्थिव जीवनको दौडान आफ्ना चेलाहरूसित गर्नुभएको व्यवहारमा त्यस किसिमको रेखदेख प्रतिबिम्बित गर्नुभयो। त्यसैकारण त, धर्मशास्त्रले उहाँलाई “असल गोठालो,” “महान्‌ गोठाला” र “मूल-गोठाला” भनेर सम्बोधन गर्छ।—यूहन्‍ना १०:११; हिब्रू १३:२०; १ पत्रुस ५:२-४.

यहोवा र येशू ख्रीष्ट उहाँहरूलाई प्रेम गर्नेहरूको अझै पनि गोठाला हुनुहुन्छ। उहाँहरू दुवैको गोठालो काम मण्डलीको हेरचाह गर्ने उप-गोठालाहरूका कामद्वारा प्रकट हुन्छ। पावलले त्यस्ता उप-गोठालाहरूलाई यसरी सम्बोधन गरे: “तपाईंहरू आफै र पवित्र आत्माले परमेश्‍वरका मण्डलीमा चराउनलाई तपाईंहरूलाई धर्माधिकारी तुल्याउनुभएको र बगालसमेत, उहाँले आफ्नै रगतले किन्‍नुभएकोले होशियारी हुनुहोस्‌।”—प्रेरित २०:२८.

यहोवा र ख्रीष्ट येशूले बसाल्नुभएको नमुनालाई पछ्याउँदै बगालको गोठालो गर्नु कुनै सजिलो काम होइन तरैपनि, यसो गर्नु पहिलेभन्दा धेरै महत्त्वपूर्ण छ। विगत तीन वर्षभित्र बप्तिस्मा लिने दस लाखभन्दा बढी साक्षीहरूलाई सम्झनुहोस्‌! त्यस्ता नयाँ व्यक्‍तिहरूसित वर्षौंसम्म सेवा गरिसकेपछि पाइने आध्यात्मिक अनुभव छैन। अनि साक्षीहरूबारे पनि विचार गर्नुहोस्‌, जो अझै कलिला वा किशोरावस्थामा छन्‌। तिनीहरूलाई आमाबाबुको हेरचाह मात्र होइन मण्डलीका गोठालाहरूको हेरचाह पनि आवश्‍यक छ।

हो, हरेक मसीहीले साथीहरूको दबाउलगायत बाहिरी दबाउको पनि सामना गर्नु परेको छ। संसारको आत्मविलासी मार्गमा नहिंड्‌न सबैले कठोर संघर्ष गर्नु परेको छ। कुनै कुनै देशमा, मानिसहरूले आफ्नो समाचार नसुनिदिंदा राज्यका प्रचारकहरू निरुत्साहित हुनसक्छन्‌। थुप्रै प्रकाशकहरूलाई स्वास्थ्यसम्बन्धी गम्भीर समस्याहरूले घेरेका छन्‌ भने अरू कतिपयको चाहिं राज्यलाई प्रथम स्थान दिने आफ्नो जोसलाई आर्थिक संकटले गर्दा निसासिरहेको हुनसक्छ। साँच्चै भन्‍ने हो भने, धेरै वर्षदेखि सच्चाइमा हुनेहरूदेखि लिएर हामी सबैलाई गोठालाहरूको मायालु मदतको आवश्‍यकता छ र पर्छ।

उचित मनोभाव

प्रथम शताब्दीका मसीहीहरूलाई यस्तो अर्ती दिइएको थियो: “ठूला मनका होओ”! (२ कोरिन्थी ६:११-१३) मसीही प्राचीनहरूले गोठालोको काम गर्दा उक्‍त सुझाउ पालन गर्छन्‌। तिनीहरूले कसरी यसो गर्नसक्छन्‌? अनि भविष्यमा गोठालो हुनसक्ने सेवकाई सेवकहरूले नि?

मसीही प्राचीनहरू बगालको लागि आशिष्‌ साबित हुन चाहन्छन्‌ भने तिनीहरू दायित्वबोधले मात्र उत्प्रेरित हुनुहुँदैन। तिनीहरूलाई यस्तो परामर्श दिइएको छ: “तिमीहरूका जिम्मामा रहेको परमेश्‍वरको बगालको गोठालो होओ। करले होइन, तर परमेश्‍वरको इच्छाबमोजिम, खुशीसाथ। पैसाको लोभले होइन, तर तयारी मनले।” (१ पत्रुस ५:२) तसर्थ, प्रभावकारी गोठालो कार्य गर्न स्वेच्छा अनि सेवा गर्ने उत्सुकता चाहिन्छ। (यूहन्‍ना २१:१५-१७) यसको अर्थ, बगालको आवश्‍यकता खुट्याएर तुरुन्तै आवश्‍यक कदम चालिहाल्नुपर्छ। अनि अरूसित काम गर्दा परमेश्‍वरको आत्माको फलहरू अर्थात्‌ असल मसीही गुणहरू प्रकट गर्नु पनि यसमा समावेश छ।—गलाती ५:२२, २३.

गोठालोको काम गर्नुमा कहिलेकाहीं भाइहरूको घरमा जानु पनि समावेश छ। a तर, ‘ठूलो मन हुने’ गोठालाहरूले आफैलाई बेच्छन्‌। मतलब, तिनीहरूले कहिलेकाहीं गोठालो भेट गर्ने मात्र होइन त्योभन्दा पनि बढी गर्छन्‌। बगालमा रहेकाहरूको पनि हेरचाह गर्न तिनीहरू हरेक सुअवसरको फाइदा उठाउँछन्‌।

अरूलाई गोठालो बन्‍न सिकाउने

उमेर जतिसुकै भए तापनि कुनै भाइले “विशपको काम गर्न खोज्छन्‌ भने, तिनले असलै कामको इच्छा गर्छन्‌।” (१ तिमोथी ३:१) थुप्रै सेवकाई सेवकहरूले थप सुअवसरहरू प्राप्त गर्ने इच्छा व्यक्‍त गरेका छन्‌। तसर्थ, यस्ता उत्सुक भाइहरूलाई “विशपको काम गर्न” आवश्‍यक कदमहरू चाल्न प्राचीनहरूले खुसीसाथ मदत गर्छन्‌। यसको अर्थ तिनीहरूलाई प्रभावशाली गोठाला बनाउन प्रशिक्षण दिनु हो।

परमेश्‍वरका उच्च स्तरहरूलाई राम्ररी पालन गरेको हुनाले यहोवाको मसीही मण्डलीलाई इजकिएल ३४:२-६ मा वर्णन गरिएका झूटा गोठालाले कमजोर पार्न सकेका छैनन्‌। यस्ता झूटा गोठाला यहोवाको दृष्टिकोणमा घृणित थिए र अझै पनि छन्‌। बगाललाई चराउनुको सट्टा तिनीहरूले आफ्नै पेट भरे। तिनीहरूले बिरामीहरूलाई बल दिने, दुःखकष्टमा परेकाहरूलाई सान्त्वना दिने, भाँचेकाहरूलाई पट्टी लगाउने अथवा तितर-बितर भएका वा हराएकाहरूलाई फर्काउनदेखि चुके। गोठालोको सट्टा ब्वाँसा भएका यस्ता झूटा गोठालाले भेडाहरूको शोषण गरे। यी बेवास्ता गरिएका भेडाहरू आफ्नो हेरचाह गर्ने कोही नहुँदा यताउता बरालिएर छरप्रस्ट भए।—यर्मिया २३:१, २; नहूम ३:१८; मत्ती ९:३६.

ती अविश्‍वासी गोठालाले गरेजस्तो नगरीकन मसीही गोठाला यहोवाको अनुकरण गर्छन्‌। तिनीहरू भेडाहरूलाई आध्यात्मिक तवरमा “हरियो खर्क” र “सुख-चैनको पानीनेर” डोऱ्‍याउँछन्‌। यहोवाको वचन राम्ररी बुझाएर अनि व्यक्‍तिगत तवरमा पालन गर्न मदत गरेर तिनीहरू उनीहरूलाई “धार्मिकताका मार्गमा अगुवाइ” गर्न यत्न गर्छन्‌। तिनीहरूले यो प्रभावशाली ढंगमा गर्नसक्छन्‌ किनभने तिनीहरू “सिकाउनामा सिपालु” छन्‌।—१ तिमोथी ३:२.

प्राचीनहरूले यस्ता प्रशिक्षणहरू प्रायजसो मण्डलीका सभाहरूमा मञ्चबाट दिन्छन्‌। तथापि, प्राचीनहरूले व्यक्‍तिगत तवरमा पनि सिकाउँछन्‌। हो, कति प्राचीनहरू आमने सामने बसेर शिक्षा दिनमा कुशल हुन्छन्‌ भने अरू कतिचाहिं भाषणहरूद्वारा त्यस्ता शिक्षा दिन पोख्त हुन्छन्‌। तर शिक्षा दिने कुनै एउटा पक्षमा कमजोर भयो भन्दैमा कुनै व्यक्‍ति शिक्षक हुन अयोग्य छ भन्‍नु मिल्दैन। प्राचीनहरू गोठालो कामलगायत आफूले पाउने सबै मौकाको सदुपयोग गर्दै सिकाउँछन्‌। केही गोठालो कामहरू औपचारिक रूपमा गरिन्छ। जस्तै, तालिका मिलाएर गरिने भेटद्वारा। तर गोठालोको काम अनौपचारिक तवरमा पनि गर्न सकिन्छ र त्यो पनि निकै लाभदायी हुनसक्छ।

हर समय गोठालो अनि शिक्षक

आफ्नो काम पूरा गर्न डाक्टरलाई ज्ञान अनि अनुभवको आवश्‍यकता पर्छ। तर तिनले दया, अनुकम्पा, चासो र हार्दिक रुचि लिएको खण्डमा मात्र रोगीहरूले पनि तिनको मूल्यांकन गर्छन्‌। यी गुणहरू तिनको व्यक्‍तित्वको भाग हुनैपर्छ। त्यस्तै गुणहरू असल शिक्षक र गोठालोले पनि आफ्नो व्यक्‍तित्वको भाग बनाउनुपर्छ। साँचो शिक्षक जुनसुकै बेला पनि आफू वरपरकाहरूलाई सिकाउन तयार हुनेछन्‌। “ठीक बेलामा भनिएको कुरा झन्‌ कति असल हुन्छ” भनी हितोपदेश १५:२३ बताउँछ। त्यो “ठीक बेला” तिनले मञ्चबाट भाषण दिंदा, घरघर गएर प्रचार गर्दा, अथवा राज्यभवन वा टेलिफोनमा कुराकानी गर्दा हुनसक्छ। त्यसै गरी, असल गोठालोले गोठालोको काम गर्दा मात्र होइन अरूबेला पनि अरूप्रति उत्तम तथा चिन्तापूर्ण व्यक्‍तित्व झल्काउने प्रयास गर्छन्‌। ‘ठूलो मन हुने’ गोठालाहरूले बगाल चराउने हर मौकाको फाइदा उठाएर ठीक समयमा हेरचाह गर्छन्‌। यसै कुराले गर्दा नै तिनी भेडाहरूको नजरमा प्रिय बन्छन्‌।—मर्कूस १०:४३.

अहिले प्राचीन भइसकेका भोल्फगेन, एक सेवकाई सेवक र तिनकी पत्नीले गरेको भ्रमण पुन सम्झना गर्छन्‌। तिनी भन्छन्‌: “हाम्रा छोराछोरीहरूप्रति देखाएको चासो र तिनीहरूसित बिताएको रमाइलो क्षणले गर्दा धेरै खुसी भए। तिनीहरू अझ पनि त्यसबारे कुरा गर्छन्‌।” हो, यस सेवकाई सेवकले तिनीहरूको हेरचाह गर्छु भन्‍ने देखाए। तिनले ‘ठूलो मन’ देखाए।

‘ठूलो मनको हुने’ अर्को तरिका बिरामीहरूलाई भेट्‌न जानु, प्रोत्साहनका केही शब्दहरू लेखेर पठाउनु अथवा तिनीहरूलाई फोन गरेर तिनीहरूको चिन्ता व्यक्‍त गर्नु हो। चाहिएको बेला मदत गर्नुहोस्‌। तिनीहरू कुरा गर्न चाहन्छन्‌ भने, ध्यान दिएर सुन्‍नुहोस्‌। स्थानीय मण्डली र अरू ठाउँमा भइरहेका सकारात्मक अनि उत्साहजनक ईश्‍वरतान्त्रिक गतिविधिबारे कुरा गर्नुहोस्‌। यहोवालाई प्रेम गर्नेहरूका लागि साँचेर राखिएको उज्ज्वल भविष्यमा ध्यान केन्द्रित गर्न मदत गर्नुहोस्‌।—२ कोरिन्थी ४:१६-१८.

गोठालो भेट बाहेक

गोठालो कार्यको उद्देश्‍यलाई ध्यान दिने हो भने, भाइहरूको घरमा गएर औपचारिक गोठालो भेट गर्नु महत्त्वपूर्ण भए तापनि गर्नुपर्ने कामको यो एउटा सानो भाग मात्र हो भन्‍ने कुरा स्पष्ट हुन्छ। मायालु गोठालोले जुनसुकै बेला अरूसित कुरा गर्न तयार भई ‘ठूलो मनका हुन्छन्‌।’ तिनले आफ्नो भाइहरूसित खेती गर्ने न्यानो सम्बन्धले तिनीहरूको त्यो मायालु भाइ हरबखत उनीहरूको हेरचाह गर्न तयार छन्‌ भन्‍ने आश्‍वासन दिनुका साथै अन्धकारमय समयमा ढुक्क भएर बस्ने बल प्रदान गर्छ।—भजन २३:४.

त्यसैले, सबै मसीही गोठालाहरू हो, ‘ठूलो मनका हुनुहोस्‌।’ आफ्ना भाइहरूप्रति हार्दिक प्रेम प्रकट गर्नुहोस्‌। तिनीहरूलाई प्रोत्साहन दिनुहोस्‌, स्फूर्ती प्रदान गर्नुहोस्‌ अनि हर तरहबाट तिनीहरूलाई आध्यात्मिक प्रोत्साहन दिनुहोस्‌। तिनीहरूलाई विश्‍वासमा स्थिर रहन मदत गर्नुहोस्‌। (कलस्सी १:२३) ‘ठूलो मन भएका’ मसीही गोठालो पाउने भेडाहरूसित कुनै कुराको कमी हुनेछैन। तिनीहरू पनि दाऊदजस्तै जीवनभरि यहोवाको भवनमा रहन कटिबद्ध हुनेछन्‌। (भजन २३:१, ६) मायालु गोठालोले चाहेको के यत्ति नै होइन र?

[फुटनोट]

a गोठालो काम गर्ने सल्लाहहरू सेप्टेम्बर १५, १९९३ को द वाचटावर पृष्ठ २०-३, र मार्च १५, १९९६ को प्रहरीधरहरा पृष्ठ २४-७ मा पाउनसकिन्छ।

[पृष्ठ ३०-मा भएको पेटी]

मसीही गोठालाहरू

• उत्साह तथा स्वेच्छासाथ सेवा गर्छन्‌

• बगाललाई चराउँछन्‌ र हेरचाह गर्छन्‌

• अरूलाई गोठालो बन्‍न मदत गर्छन्‌

• बिरामीहरूकहाँ जान्छन्‌ र तिनीहरूको हेरचाह गर्छन्‌

• हर समय आफ्ना भाइहरूलाई मदत गर्न तत्पर रहन्छन्‌

[पृष्ठ ३१-मा भएका चित्रहरू]

चाहे क्षेत्र सेवकाईमा होस्‌, सभामा होस्‌ वा सामाजिक सुअवसरहरूमा, प्राचीनहरू सधैंभरि गोठालै हुन्छन्‌