सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

राज्य सत्यको बीउ छर्ने

राज्य सत्यको बीउ छर्ने

राज्य सत्यको बीउ छर्ने

“बिहान समयमानै बिउ छर्‌, र बेलुकी साँझसम्म आफ्नो काम गर्न न छोड़।”–उपदेशक ११:६.

१. अहिले मसीहीहरूले कुन अर्थमा बीउ छरिरहेका छन्‌?

 पुरातन हिब्रू समाजमा कृषिको महत्त्वपूर्ण भूमिका थियो। त्यसैकारण, आफ्नो सम्पूर्ण जीवन प्रतिज्ञा गरिएको भूमिमा बिताउनु भएको येशूले उखानहरूमा कृषिजन्य विषयवस्तुहरू प्रयोग गर्नुभयो। उदाहरणका लागि, उहाँले परमेश्‍वरको राज्यको सुसमाचार प्रचारकार्यलाई बीउ छर्ने कामसित तुलना गर्नुभयो। (मत्ती १३:१-९, १८-२३; लूका ८:५-१५) हाम्रो मुलुक कृषिप्रधान होस्‌ या नहोस्‌, यसप्रकारको आध्यात्मिक बीउ छर्ने काम अहिलेसम्म पनि मसीहीहरूले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण काम हो।

२. हाम्रो प्रचारकार्य कत्तिको महत्त्वपूर्ण छ र यो कार्य पूरा गर्न अहिले भइरहेका केही कुराहरू के हुन्‌?

अहिले अन्तको समयमा बाइबल सत्यको बीउ छर्ने काममा भाग लिन पाउनु एउटा विशेष सुअवसर हो। रोमी १०:१४, १५ ले यस कार्यको महत्त्वलाई यसरी प्रस्ट पार्छ: “प्रचार गर्नेविना तिनीहरूले कसरी सुन्‍नसक्लान्‌? औ नपठाईकन कसरी तिनीहरूले प्रचार गर्लान्‌? जस्तो लेखिएको छ, ‘असल कुराका शुभ समाचार ल्याउनेहरूका खुट्टा कति राम्रा!’ ” परमेश्‍वरले दिनुभएको यो आज्ञा पूरा गर्न सकारात्मक मनोवृत्ति राखेर अघि बढ्‌नु अहिले जति महत्त्वपूर्ण पहिले कहिल्यै भएको थिएन। त्यसकारण, यहोवाका साक्षीहरू बाइबल तथा बाइबल अध्ययन सहायकहरू ३४० भाषामा प्रकाशन गरेर वितरण गर्न व्यस्त छन्‌। यी प्रकाशन तयार पार्न मुख्य कार्यालय र विभिन्‍न मुलुकका शाखा कार्यालयहरूमा १८,००० भन्दा बढी स्वयम्‌सेवकहरू कार्यरत छन्‌। अनि संसारभरि झन्डै ६० लाख साक्षीहरूले बाइबल साहित्य वितरण कार्यमा भाग लिइरहेका छन्‌।

३. राज्य सत्यको बीउ छरेर कुन काम पूरा भइरहेको छ?

यो कडा परिश्रमको फल के हो? प्रथम शताब्दीमा मसीहीधर्म सुरुआत हुँदाजस्तै अहिले थुप्रैले सत्य स्वीकारिरहेका छन्‌। (प्रेरित २:४१, ४६, ४७) तथापि, भर्खरै बप्तिस्मा प्राप्त नयाँ प्रकाशकहरूको ठूलो संख्याभन्दा महत्त्वपूर्ण कुरा, यो महान्‌ साक्षी कार्यले यहोवाको नाउँ पवित्र पार्न र उहाँ एकमात्र साँचो परमेश्‍वर हुनुहुन्छ भनेर प्रकाश पार्छ। (मत्ती ६:९) साथै, परमेश्‍वरको वचनको ज्ञानले थुप्रैको जीवनमा सुधार ल्याइरहेको छ र त्यसले तिनीहरूलाई मुक्‍तितर्फ डोऱ्‍याउँछ।—प्रेरित १३:४७.

४. आफूले प्रचार गरेका मानिसहरूप्रति येशूका प्रेरित चेलाहरू कत्तिको चासो राख्थे?

येशूका प्रेरित चेलाहरूलाई यस जीवनदायी सुसमाचारको महत्त्वबारे राम्ररी थाह थियो र आफूले प्रचार गरेका मानिसहरूप्रति गहिरो चासो देखाउँथे। प्रेरित पावलका यी शब्दहरूले यो कुरा स्पष्ट पार्छ: “तिमीहरूको स्नेहपूर्वक चाह गरेर, परमेश्‍वरको सुसमाचार मात्र होइन तर हाम्रो प्राणसमेत तिमीहरूलाई दिन हामी बढ़तै खुशी थियौं, किनभने तिमीहरू हामीमा प्रिय भएका थियौ।” (१ थिस्सलोनिकी २:८) मानिसहरूप्रति त्यस्तो साँचो चासो प्रकट गरेर पावल तथा अरू प्रेरितहरूले यस जीवनदायी काममा जुटिरहनुभएका येशू अनि स्वर्गदूतहरूको अनुकरण गर्दैथिए। परमेश्‍वरको स्वर्गमा भएका यी सेवकहरूले राज्यको बीउ छर्ने काममा कस्तो महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्‌, पुनरावलोकन गरौं र तिनीहरूको उदाहरणले हामीलाई आफ्नो भूमिका पूरा गर्न कसरी प्रोत्साहन दिन्छ, हेरौं।

येशू—राज्यको बीउ छर्नुहुने व्यक्‍ति

५. पृथ्वीमा छँदा येशू मुख्यतया कुन काममा व्यस्त रहनुभयो?

सिद्ध मानिस येशूले त्यतिबेलाका मानिसहरूलाई प्रशस्त मात्रामा भौतिक कुराहरू प्रबन्ध गर्न सक्नुहुन्थ्यो। उदाहरणका लागि, उहाँले त्यतिबेला व्याप्त चिकित्सासम्बन्धी थुप्रै गलत धारणाहरू स्पष्ट पार्न वा अन्य विविध विज्ञानबारे उच्च समझ प्राप्त गर्न सक्नुहुन्थ्यो। यद्यपि, उहाँले आफ्नो सेवकाईको सुरुतिरै आफ्नो प्रमुख काम सुसमाचार प्रचार गर्ने हो भनेर स्पष्ट पार्नुभयो। (लूका ४:१७-२१) अनि सेवकाईको अन्ततिर उहाँले यसो भन्‍नुभयो: “यसैको निम्ति म जन्मेको हुँ, र त्यसैको निम्ति गवाही दिऊँ भनेर म यस संसारमा आएको हुँ।” (यूहन्‍ना १८:३७) त्यसकारण, उहाँ राज्यको बीउ छर्ने काममा व्यस्त हुनुभयो। येशूले दिनसक्नुहुने कुनै पनि शिक्षाभन्दा महत्त्वपूर्ण कुरा, आफ्ना समकालीनहरूलाई परमेश्‍वर र उहाँका उद्देश्‍यबारे बताउनु थियो।—रोमी ११:३३-३६.

६, ७. (क) आफ्नो स्वर्गारोहण हुनुअघि येशूले कस्तो उल्लेखनीय वाचा गर्नुभयो र यो उहाँले कसरी पूरा गरिरहनुभएको छ? (ख) प्रचारकार्यप्रति येशूको मनोवृत्तिले तपाईंलाई व्यक्‍तिगत तवरमा कसरी असर गर्छ?

येशूले आफूलाई राज्यको बीउ छर्ने व्यक्‍तिसित तुलना गर्नुभयो। (यूहन्‍ना ४:३५-३८) उहाँले मौका पाउने बित्तिकै सुसमाचारको बीउ छर्नुभयो। शूलीमा मर्नै लागेको बेलामा समेत उहाँले भावी पार्थिव प्रमोदवनबारे सुसमाचार घोषणा गर्नुभयो। (लूका २३:४३) यसबाहेक, सुसमाचार प्रचार गरियोस्‌ भन्‍ने उहाँको गहिरो चासोलाई शूलीको मृत्युले रोक्न सकेन। स्वर्गारोहण हुनुअघि उहाँले आफ्ना चेलाहरूलाई राज्य सत्यको बीउ छरेर चेला बनाइरहने आज्ञा दिनुभयो। त्यसपछि येशूले एउटा अद्‌भुत प्रतिज्ञा गर्नुभयो। उहाँले यसो भन्‍नुभयो: “हेर, म सब दिन, अँ, जगत्‌को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।”—मत्ती २८:१९, २०.

यी शब्दहरूमार्फत येशूले “सब दिन, . . . जगत्‌को अन्तसम्म” सुसमाचार प्रचारकार्यलाई साथ दिने, निर्देशन दिने अनि जोगाउने वचन दिनुभयो। अहिले हाम्रो समयसम्मै येशूले यस प्रचारकार्यमा व्यक्‍तिगत चासो दिइरहनुभएको छ। उहाँ हाम्रो नेता हुनुहुन्छ र राज्यको बीउ छर्ने काममा नेतृत्व लिइरहनुभएको छ। (मत्ती २३:१०) मसीही मण्डलीको शिरको हैसियतमा यस विश्‍वव्यापी कार्यको लागि उहाँ यहोवासमक्ष जिम्मेवार हुनुहुन्छ।—एफिसी १:२२, २३; कलस्सी १:१८.

स्वर्गदूतहरूले सुसमाचार घोषणा गर्छन्‌

८, ९. (क) स्वर्गदूतहरूले मानिसको क्रियाकलापमा कसरी साँचो चासो प्रकट गरेका छन्‌? (ख) कुन अर्थमा हामी स्वर्गदूतहरूको अगाडि तमासा भएका छौं?

यहोवाले पृथ्वी सृष्टि गर्नुहुँदा स्वर्गदूतहरूले “एकसाथ गाए, र . . . रमाहटले कराए।” (अय्यूब ३८:४-७) त्यस बेलादेखि यी स्वर्गदूतहरूले मानव गतिविधिमा गहिरो चासो देखाएका छन्‌। यहोवाले मानिसहरूलाई ईश्‍वरीय सन्देश घोषणा गर्न यी स्वर्गदूतहरू नै प्रयोग गर्नुभएको छ। (भजन १०३:२०) यो विशेष गरी हाम्रो समयमा सुसमाचार प्रचारप्रसार गर्ने सन्दर्भमा साँचो साबित भएको छ। प्रेरित यूहन्‍नाले पाएको दर्शनमा “पृथ्वीमा रहनेहरू हरेक जाति, कुल, भाषा र मानिसहरूलाई घोषणा गर्ने अनन्त सुसमाचार साथमा” भएका “एउटा दूत स्वर्गको बीचमा उड़िरहेको” देखे। “तिनले ठूलो सोरले भन्दारहेछन्‌, ‘परमेश्‍वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँको ठूलो इन्साफको समय आएको छ।’ ”—प्रकाश १४:६, ७.

बाइबलले स्वर्गदूतहरूलाई “मुक्‍तिका हकदार हुनेहरूका खातिरमा सेवा गर्नालाई पठाइएका ती सेवा गर्ने आत्माहरू” भनेको छ। (हिब्रू १:१४) स्वर्गदूतहरूले आफ्नो जिम्मेवारी उत्सुकतासाथ पूरा गर्दा तिनीहरूले हामी र हाम्रो कामलाई नियाल्ने मौका पाउँछन्‌। सबैले छर्लंगै देख्ने रंगमञ्चमा उभिएका कलाकारहरूजस्तै स्वर्गका दर्शकवृन्दसामु हामी आफ्नो काम गर्छौं। (१ कोरिन्थी ४:९) राज्यको बीउ छर्ने काममा हामी एक्लो रहेनछौं भन्‍ने कस्तो विचारणीय तथा रोमाञ्चकारी कुरा!

हामी उत्सुकतासाथ आफ्नो भूमिका निर्वाह गर्छौं

१०. उपदेशक ११:६ को व्यवहारिक सल्लाह हाम्रो प्रचारकार्यमा कसरी लागू गर्न सकिन्छ?

१० येशू र स्वर्गदूतहरू हाम्रो कार्यमा किन यत्तिको चासो दिन्छन्‌? येशूले एउटा कारण दिंदै यसो भन्‍नुभयो: “म तिमीहरूलाई भन्दछु, ‘यसरीनै परमेश्‍वरका दूतहरूका सामने पश्‍चाताप गर्ने एक जना पापीप्रति आनन्द हुनेछ।’” (लूका १५:१०) हामी पनि मानिसहरूप्रति त्यस्तै साँचो चासो राख्छौं। यसर्थ, राज्यको बीउ जताततै छर्न हामी यथाशक्य गर्छौं। उपदेशक ११:६ का शब्दहरू हाम्रो काममा पनि लागू गर्न सकिन्छ। बाइबलले त्यस पदमा हामीलाई यस्तो सल्लाह दिन्छ: “बिहान समयमानै बिउ छर्‌, र बेलुकी साँझसम्म आफ्नो काम गर्न न छोड़, किनभने अहिले छरेको अथवा भरे छरेको कुन चाहिं सफल हुन्छ, अथवा दुवैनै राम्रो हुन्छन्‌ होला भनी तँ जान्दैनस्‌।” हो, हाम्रो सन्देश एक जनाले स्वीकार्ला, तर अर्कोतिर त्यसलाई इन्कार गर्ने सयौं वा हजारौं हुनसक्छन्‌। तर स्वर्गदूतहरूजस्तै हामी पनि “एक जना पापी[ले]” मुक्‍तिको सन्देश स्वीकार्दा रमाउँछौं।

११. बाइबल आधारित प्रकाशनहरू कत्तिको प्रभावकारी हुनसक्छन्‌?

११ सुसमाचार प्रचारकार्यमा थुप्रै कुरा समावेश छन्‌। यस कार्यमा हामीलाई मदत गर्ने एउटा महत्त्वपूर्ण कुरा, यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबल आधारित प्रकाशनहरू हुन्‌। कुनै कुनै परिस्थितिमा यी प्रकाशनहरूले यत्रतत्र छरिएका बीउले जस्तै काम गर्छ। त्यसले कहाँ फल फलाउनेछ, हामीलाई थाह छैन। कहिलेकाहीं हाम्रो प्रकाशन घुम्दै फिर्दै अन्तमा साँच्चै पढ्‌ने व्यक्‍तिको हातमा पर्नसक्छ। सही हृदय भएका व्यक्‍तिहरूको हातमा परोस्‌ भनेर येशू तथा स्वर्गदूतहरूले कहिलेकाहीं प्रत्यक्षतः डोऱ्‍याउँछन्‌। मानिसहरूले पाएका साहित्यहरूमार्फत यहोवाले कसरी अनौठो अनि अद्‌भुत ढंगमा आफ्नो काम पूरा गर्नुहुन्छ भनेर बुझ्न आउनुहोस्‌, केही उदाहरण विचार गरौं।

साँचो परमेश्‍वरको काम

१२. पुरानो पत्रिकाले गर्दा एउटा परिवारले कसरी यहोवालाई चिन्‍न सके?

१२ सन्‌ १९५३ को कुरा हो, रबर्ट, लीला र तिनीहरूका छोराछोरी स.रा.अ.-को एउटा ठूलो शहरबाट पेन्सिल्भानियाको ग्रामीण इलाकाको एउटा थोत्रो घरमा बसाइँ सरे। त्यहाँ सरेको केही समयपछि रबर्टले भऱ्‍याङमुनि बाथरूम बनाउने विचार गरे। त्यहाँबाट थुप्रै फलेकहरू हटाइसकेपछि तिनले मुसाले टुक्रा टुक्रा पारेका कागजहरू, ओखरका बोक्रा र फोहरको डुंगुर भेट्टाए। त्यही थुप्रोमा तिनले द गोल्डन ऐज पत्रिका पनि फेला पारे। रबर्टलाई यो पत्रिकामा छापिएका लेखहरूमध्ये छोराछोरी हुर्काउने विषयको लेख एकदमै मन पऱ्‍यो। यसमा प्रस्तुत गरिएको स्पष्ट, बाइबल आधारित निर्देशनबाट तिनी असाध्यै प्रभावित भए। यसैकारण, तिनले लीलालाई अब उप्रान्त तिनीहरू “गोल्डन ऐजको धर्ममा” लाग्ने कुरा बताए। त्यसको केही हप्तामै यहोवाका साक्षीहरू तिनीहरूको घरमा आए तर रबर्टले आफ्नो परिवारलाई “गोल्डन ऐजको धर्ममा” मात्र चासो भएको कुरा बताए। साक्षीहरूले त्यो गोल्डन ऐज-को नयाँ नाउँ अवेक! हो भनेर बताए। रबर्ट र लीलाले नियमित तवरमा बाइबल अध्ययन गर्न थाले र बप्तिस्मा पनि लिए। त्यसपछि, तिनीहरूले सत्यको बीउ आफ्ना छोराछोरीमा छरे र प्रशस्त कटनी गरे। आज, रबर्ट र लीलाका सात जना छोराछोरीलगायत तिनीहरूको परिवारका २० जनाभन्दा बढी सदस्यहरू, यहोवा परमेश्‍वरका बप्तिस्माप्राप्त सेवक भएका छन्‌।

१३. कुन कुराले गर्दा पोर्टो रिकोको एउटा दम्पतीको बाइबलमा चासो जाग्यो?

१३ झन्डै ४० वर्षअघि पोर्टो रिकोको कुरा हो, विलियम र आडा नाउँ गरेका पतिपत्नी दुवैलाई बाइबल अध्ययन गर्ने पटक्कै चासो थिएन। यहोवाका साक्षीहरूले आफ्नो ढोका ढकढकायो कि तिनीहरू घरमा नभएको जस्तो नाटक गर्थे। एक दिन विलियम आफ्नो घर मर्मतको लागि पुरानो मालसामान बेच्ने हाटबजारमा एउटा सामान किन्‍न गएका थिए। त्यहाँबाट फर्कनै लाग्दा तिनले हल्का हरियो रङको किताब फोहर फाल्ने कन्टेनरमा देखे। त्यो यहोवाका साक्षीहरूले १९४० मा प्रकाशित गरेको रिलिजन नामक किताब थियो। विलियमले त्यो किताब घर ल्याए अनि त्यसबाट साँचो र झूटो धर्मबीचको भिन्‍नता बुझ्न पाउँदा खुसीले गद्‌गद भए। अर्कोपल्ट यहोवाका साक्षीहरू आउँदा विलियम र आडाले तिनीहरूको कुरा सुने अनि बाइबल अध्ययन गर्न थाले। त्यसको केही महिनापछि, सन्‌ १९५८ मा तिनीहरूले ईश्‍वरीय इच्छा विषयक अन्तरराष्ट्रिय सम्मेलनमा बप्तिस्मा लिए। त्यस बेलादेखि तिनीहरूले हाम्रो मसीही भ्रातृत्वमा सामेल हुन ५० जनाभन्दा बढी व्यक्‍तिहरूलाई मदत गरिसकेका छन्‌।

१४. अनुभवले देखाएअनुसार हाम्रा बाइबल आधारित प्रकाशनहरूमा कस्तो क्षमता छ?

१४ कार्ल ११ वर्षका र अलि छुकछुके स्वभावका थिए। तिनले सधैं एउटा न एउटा उटपट्याङ गरिरहेकै हुन्थे। तिनको बुबा, जर्मन मेथोडिस्ट प्रचारक थिए र बुबाले तिनलाई सबै खराब मानिसहरू मृत्युपछि नरकमा जलाइनेछन्‌ भनेर सिकाएका थिए। त्यसकारण, कार्ललाई नरकदेखी असाध्यै डर लाग्थ्यो। सन्‌ १९१७ को कुरा हो, एक दिन कार्लले सडकबाट एक टुक्रा कागज टिपे। त्यो पढ्‌दै जाँदा तिनको आँखा यो प्रश्‍नमा टक्कै अडियो: “नरक के हो?” यो कागज, नरक विषयमा जनभाषण सुन्‍ने निमन्त्रणा थियो र बाइबल स्टुडेन्ट्‌स अर्थात्‌ यहोवाका साक्षीहरूद्वारा आयोजना गरिएको थियो। एक वर्षको दौडान धेरै पटक बाइबल अध्ययन गरेपछि कार्लले बप्तिस्मा लिए अनि बाइबल स्टुडेन्ट भए। सन्‌ १९२५ मा तिनलाई यहोवाका साक्षीहरूको मुख्य कार्यालयमा काम गर्न बोलाइयो र अहिलेसम्म तिनी त्यहीं सेवारत छन्‌। यसरी सडकमा फेला परेको एक टुक्रा कागजबाट आठ दशकभन्दा लामो मसीही यात्रा सुरु भयो।

१५. उपयुक्‍त भएमा यहोवाले के गर्न सक्नुहुन्छ?

१५ हो, यी अनुभवहरूमा स्वर्गदूतहरूको हात थियो कि थिएन वा तिनीहरूले कुन हदसम्म डोऱ्‍याए भनेर हामी मानिसहरूले थाह पाउन सक्दैनौं। तैपनि, येशू र स्वर्गदूतहरूले प्रचारकार्यमा सक्रिय भूमिका निर्वाह गर्छन्‌ र उपयुक्‍त भए यहोवाले डोऱ्‍याउनुहुन्छ भनेर हामीले कहिल्यै शंका गर्नुहुँदैन। हामीले कसैलाई साहित्य दिइसकेपछि त्यसले कस्तो फल फलाउनसक्छ भनेर यी तथा अन्य थुप्रै अनुभवहरूले देखाउँछन्‌।

हामीलाई धन सुम्पिएको छ

१६. दोस्रो कोरिन्थी ४:७ बाट हामी के सिक्नसक्छौं?

१६ प्रेरित पावलले “धन माटाको भाड़ामा छ” भने। त्यो धन, परमेश्‍वरले अह्राउनुभएको प्रचारकार्य हो अनि माटाका भाँडाहरू भनेका यहोवाले यो धन सुम्पनुभएका मानिसहरू हुन्‌। ती मानिसहरू असिद्ध र तिनीहरूको क्षमता सीमित हुनाकारण त्यस्तो कामबाट असामान्य “शक्‍तिको सर्वश्रेष्ठ महत्त्व हामीबाट होइन, तर परमेश्‍वरको होस्‌” भनेर प्रस्ट हुन्छ भनी पावल बताउँछन्‌। (२ कोरिन्थी ४:७) हो, हामीलाई दिइएको काम पूरा गर्न यहोवाले शक्‍ति दिनुहुनेछ भनी हामी ढुक्क हुनसक्छौं।

१७. राज्यको बीउ छर्दा कस्तो अवस्था आइपर्नेछ र त्यस्तो अवस्थाको बावजूद हामीले किन सकारात्मक मनोवृत्ति राख्नुपर्छ?

१७ प्रायजसो हामीले त्यागहरू गर्नुपर्ने हुन्छ। कुनै कुनै इलाकामा काम गर्न असजिलो वा कठिन हुनसक्छ। कुनै कुनै इलाकाका प्रायजसो मानिसहरू असाध्यै भावशून्य, कतिचाहिं झगडालु पनि हुनसक्छन्‌। त्यस्तो इलाकामा निकै प्रयास गर्दा पनि खासै सफलता प्राप्त नहुन सक्छ। तर धेरैको ज्यान खतरामा भएकोले यो प्रयास बेकार जाँदैन। नबिर्सनुहोस्‌, तपाईंले छर्नुहुने बीउले मानिसहरूलाई अहिले आनन्द अनि भविष्यमा अनन्त जीवन दिनसक्छ। भजन १२६:६ का यी शब्दहरू धेरै चोटि सत्य साबित भएका छन्‌: “छर्नालाई रूँदै बिउ बोकेर लैजानेले आफ्ना बिटा बोकेर आनन्दले कराउँदै फेरि घर आउनेछ।”

१८. हामी आफ्नो सेवकाईबारे कसरी सजग रहनसक्छौं र हामीले किन त्यसो गर्नुपर्छ?

१८ कन्जुस्याइँ नगरी हामी हरेक मौकामा राज्य सत्यको बीउ छरौं। हामीले बीउ रोपेर पानी हाले तापनि बढाउने त यहोवा नै हुनुहुन्छ भनेर कहिल्यै नबिर्सौं। (१ कोरिन्थी ३:६, ७) यद्यपि, येशू र स्वर्गदूतहरूले आफूलाई दिइएको काम पूरा गरेझैं हामीले पनि आफ्नो सेवकाई पूरा गरेको यहोवा चाहनुहुन्छ। (२ तिमोथी ४:५) आफ्नो शिक्षण कला, मनोवृत्ति र सेवकाईप्रतिको उत्सुकताबारे सदैव सजग रहौं। किन? पावल यस्तो जवाफ दिन्छन्‌: “यसो गर्नाले तिमीले आफूलाई र तिमीलाई सुन्‍नेलाई समेत उद्धार गर्नेछौ।”—१ तिमोथी ४:१६.

हामीले के सिक्यौं?

• हाम्रो बीउ छर्ने कार्यले कसरी असल फल फलाइरहेको छ?

• अहिले येशू ख्रीष्ट र स्वर्गदूतहरू कसरी प्रचारकार्यमा संलग्न छन्‌?

• राज्यको बीउ छर्न हामीले किन कन्जुस्याइँ गर्नु हुँदैन?

• सेवकाईमा भावशून्यता वा दुस्मनी आइपर्दा यस कार्यलाई नछोड्‌न हामीलाई कुन कुराले उत्प्रेरित गर्नुपर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू

[पृष्ठ १५-मा भएको चित्र]

पुरातन इस्राएलका किसानहरूजस्तै, अहिले मसीहीहरू कन्जुस्याइँ नगरी राज्यको बीउ छर्छन्‌

[पृष्ठ १६, १७ भएको चित्र]

यहोवाका साक्षीहरूले ३४० भाषामा विभिन्‍न प्रकारका बाइबल आधारित प्रकाशन छाप्नुका साथै वितरण गर्छन्‌