सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं सिनिक्‌हरूद्वारा प्रभावित हुनुभएको छ?

के तपाईं सिनिक्‌हरूद्वारा प्रभावित हुनुभएको छ?

के तपाईं सिनिक्‌हरूद्वारा प्रभावित हुनुभएको छ?

“शंकालु व्यक्‍तिले कहिल्यै मानिसको असल गुण देख्दैन तर दुर्गुण देख्न भने पछि पर्दैन। ऊ लाटोकोसेरोजस्तो हुन्छ, अँध्यारोमा टाठो तर उज्यालोमा केही नदेख्ने, सिनु खाने तर आफै सिकार नगर्ने।” भनिन्छ, यो भनाइ १९ औं शताब्दीका पादरी हेन्री वार्ड बिचरको हो। धेरैको विचारमा यो वर्तमान समयको सिनिक्‌ अर्थात्‌ शंकालु व्यक्‍तिको एकदमै सही परिभाषा हो। शंकालु अर्थ बुझाउने अंग्रेजी शब्द “सिनिक्‌” पुरातन ग्रीसबाट सुरु भयो र त्यतिबेला त्यो शब्दले केवल शंकालु मनोवृत्तिलाई मात्र चित्रण गर्दैनथ्यो। शताब्दीयौंसम्म यसले दार्शनिकहरूको एउटा छुट्टै समूहलाई बुझाउँथ्यो।

सिनिक्‌हरूको दर्शन कसरी सुरु भयो? तिनीहरूले के सिकाए? के मसीहीहरूले सिनिक्‌हरूको गुण अनुकरण गर्नु बेस होला?

पुरातन सिनिक्‌हरू—तिनीहरूको सुरुआत तथा विश्‍वास

पुरातन ग्रीस, अनेकन्‌ विवाद र बहसको केन्द्रबिन्दु थियो। शताब्दीयौंदेखि अहिले हाम्रो सामान्य युगसम्म सुकरात, प्लेटो र अरस्तुजस्ता दार्शनिकहरू आफ्नो दर्शनले गर्दा प्रख्यात भए। तिनीहरूको शिक्षाले मानिसहरूमा गहिरो छाप पाऱ्‍यो र ती धारणाहरू पश्‍चिमी संस्कृतिमा अझै व्याप्त छन्‌।

सुकरातले (सा.यु.पू. ४७०-३९९) भौतिक कुराहरूको दौडधूप वा शारीरिक सुखविलासबाट चिरकालीन आनन्द प्राप्त हुँदैन भन्‍ने तर्क गरे। सद्‌गुणको खोजमा लागेको जीवनबाट साँचो आनन्द प्राप्त हुन्छ भन्‍ने तिनको धारणा थियो। सुकरातले सबैभन्दा उच्चतम भलाइ भनेको सद्‌गुण हो भने। यो लक्ष्य हासिल गर्न तिनले भौतिक सुखविलास त्यागे तथा अनावश्‍यक दौडधूप गरेनन्‌ किनभने तिनलाई यी सबै कुराहरूले आफू हिंड्‌न खोजेको मार्गबाट अलमल्याउँछ जस्तो लाग्यो। तिनले संयमित मार्ग अपनाए र आत्म-तिरस्कार गर्दै सरल, मितव्ययी जीवन बिताए।

सुकरातले सुरु गरेका शिक्षण पद्धतिलाई सुकरात प्रणाली भनियो। अधिकांश दार्शनिकहरूले आफ्नो धारणा प्रस्तुत गरेर त्यसलाई समर्थन गर्ने तर्क पेस गरे तर सुकरातले ठीक उल्टो गरे। तिनले अरू दार्शनिकहरूका सिद्धान्तहरू सुनेर ती धारणाहरूको त्रुटि पर्दाफास गर्न खोजे। यसले तरिकाले आलोचनात्मक हुन तथा अरूप्रति नकारात्मक दृष्टिकोण राख्न प्रोत्साहित गऱ्‍यो।

सुकरातका अनुयायीहरूमध्ये एन्टिस्थेन्स्‌ (सा.यु.पू. ४४५-३६५ तिर) नाउँका दार्शनिक पनि थिए। तिनी र अरू केही व्यक्‍तिहरू मिलेर सुकरातको आधारभूत शिक्षामा अझ थपथाप गरेर सद्‌गुण मात्रै भलाइ हो भने। तिनीहरूको विचारमा सुखविलास खोज्नु भनेको ध्यान विकर्षण मात्र होइन तर दुष्टता थियो। समाजमा पटक्कै घुलमिल हुन नचाहेर तिनीहरूले सँगी मानवहरूलाई अत्यन्तै तुच्छ सम्झन थाले। तिनीहरू सिनिक्‌हरू भनेर चिनिन थाल्यो। सिनिक्‌ भन्‍ने नाउँ युनानी शब्दबाट (किनिकोस्‌) लिइएको हुनसक्छ र त्यसले तिनीहरूको एकलकाँटे तथा अहंकारी स्वभावलाई बुझाउँछ। त्यसको अर्थ हो, “कुकुरजस्तो।” a

तिनीहरूको जीवनमा परेको असर

सिनिक्‌ दर्शनले सिकाएअनुसार भौतिकवाद र आत्म-विलासिताको विरोध गर्नु मानिसहरूले सामान्यतया राम्रै ठान्थे होलान्‌ तर सिनिक्‌हरूले अचाक्ली गरे। तिनीहरूको सबैभन्दा लोकप्रिय सिनिक्‌, दार्शनिक डायोजिन्सको जीवनबाट यो प्रस्ट हुन्छ।

डायोजिन्सको जन्म सा.यु.पू. ४१२ मा ब्ल्याक सिको तटवर्ती शहर सेनोपेमा भएको थियो। आफ्नो बुबासित तिनी एथेन्समा बसाइँ सरे र तिनले सिनिक्‌हरूका शिक्षाबारे थाह पाए। डायोजिन्सको गुरु एन्टिस्थेन्स्‌ थिए र तिनी सिनिक्‌ दर्शनमा चुर्लुम्मै डुबे। सुकरात सरल जीवन बिताउँथे तर एन्टिस्थेन्स्‌ अति परहेजी। तर डायोजिन्सले भने सन्यासी जीवन बिताए। भनिन्छ, आफूले भौतिक सुखसयललाई इन्कार गरेको देखाउन डायोजिन्स केही समय एउटा ठूलो बाटामा त्यसै बसे!

त्यसै गरी, भनिन्छ, भलाइको खोजीमा डायोजिन्स दिउँसो टन्टलापुर घाममा बत्ती बालेर सद्‌गुणी मानिसको खोजी गर्न हिंड्‌थे रे! त्यस्तो व्यवहारले अरूको ध्यानाकर्षण गर्थ्यो र यसरी डायोजिन्स तथा अरू सिनिक्‌हरूले मानिसहरूलाई सिकाए। भनिन्छ, एक चोटि महान्‌ सिकन्दरले डायोजिन्सलाई तिनी के चाहन्छन्‌ भनी सोद्धा डायोजिन्सले सिकन्दरलाई तिनी अलि सरेर घामलाई नछेकेको चाहन्छु भने रे!

डायोजिन्स तथा अरू सिनिक्‌हरू सन्यासी जीवन बिताउँथे। तिनीहरूसित परिवार, दाजुभाईसित बिताउने समय थिएन र तिनीहरूले नागरिक दायित्वहरू पनि पूरा गरेनन्‌। हुनसक्छ, सुकरात प्रणालीबाट प्रभावित भएर तिनीहरूले अरूको पटक्कै आदर गर्दैनथे। डायोजिन्स तिनको कटु छेडपेचको लागि चिनिन थाल्यो। सिनिक्‌हरूले “कुकुरजस्तो” भन्‍ने नाउँ कमाए र डायोजिन्सलाई भने कुकुर भन्‍ने उपनाउँ दिइयो। सा.यु.पू. ३२० तिर ९० वर्षको उमेरमा तिनको मृत्यु भयो। तिनको चिहानमाथि संगमरमरले बनाइएको कुकुरको स्मारक राखियो।

सिनिक्‌ दर्शनका कुनै कुनै शिक्षाहरू अन्य समूहका शिक्षासित छ्यासमिस भयो। तथापि, समयको दौडान डायोजिन्सका सन्काहापन र पछिका अनुयायीहरूले गर्दा सिनिक्‌ दर्शन विवादास्पद भयो। अन्ततः त्यसको नामोनिसान मेटियो।

वर्तमान सिनिक्‌हरू—के तपाईंले पनि तिनीहरूको जस्तै चालढाल अपनाउनु ठीक होला?

दी अक्सफर्ड इंग्लिस डिक्सनरी-को परिभाषाअनुसार वर्तमान सिनिक्‌ भनेको “अरूलाई गाली गर्ने वा अरूको दोष कोट्याउने व्यक्‍ति हो। . . . मानिसहरूको मनसाय वा काम निष्कपट वा असल छन्‌ भनी पत्याउन नचाहने, आफ्नो असहमति देखाउन नाक खुम्च्याउने वा छेडपेच गर्ने र अरूको उपहास गर्दै दोष निकाल्ने व्यक्‍ति हो।” आजको संसारमा यस्तै मनोभाव देखिन्छ तर त्यो मसीही व्यक्‍तित्वसित पटक्कै मेल खाँदैन। निम्न बाइबल शिक्षा तथा सिद्धान्तहरू विचार गर्नुहोस्‌।

“परमप्रभु दयासागर र अनुग्रही, रीसमा ढीला र अति करुणामय हुनुहुन्छ। उहाँले सधैं हप्काइरहनुहुन्‍न। नता उहाँले सधैंभरि रीस लिइराख्नुहुन्छ।” (भजन १०३:८, ९) मसीहीहरूलाई “परमेश्‍वरका देखा-सिकी गर्नेहरू होओ” भनिएको छ। (एफिसी ५:१) सर्वशक्‍तिमान्‌ परमेश्‍वर “अरूलाई गाली गर्ने वा अरूको दोष कोट्याउने” गर्नुको साटो दयालु र करुणामय हुनुहुन्छ। त्यसकारण, मसीहीहरूले पनि त्यसै गर्ने प्रयास गर्नुपर्छ।

यहोवा परमेश्‍वरको प्रतिरूप येशू ख्रीष्टले “उहाँको पाइलामा टेकेर हिंड़नालाई एक उदाहरण” छोड्‌नुभएको छ। (१ पत्रुस २:२१; हिब्रू १:३) कहिलेकाहीं येशूले धार्मिक झूट पर्दाफास गर्नुभयो र संसारको दुष्ट कार्य विरुद्ध गवाही दिनुभयो। (यूहन्‍ना ७:७) यद्यपि, उहाँले निष्कपट मानिसहरूबारे सराहनीय कुराह गर्नुभयो। उदाहरणका लागि, उहाँले नथनेलबारे यसो भन्‍नुभयो: “हेर, साँच्चै एउटा इस्राएली, जसमा छल छैन।” (यूहन्‍ना १:४७) येशूले चमत्कार गर्नुहुँदा उहाँले त्यस व्यक्‍तिको विश्‍वासमा ध्यानकेन्द्रित गर्नुभयो। (मत्ती ९:२२) अनि कसै कसैले एउटी स्त्रीको मूल्यांकनको अभिव्यक्‍ति एकदमै भड्‌किलो भएको टिप्पणी गर्दा येशूले त्यस स्त्रीको मनसायमा शंका गर्नुभएन बरु, यसो भन्‍नुभयो: “सारा जगत्‌मा जहाँ यो सुसमाचार प्रचार गरिएला यो नारीले जे गरिन्‌ त्यसको चर्चा पनि तिनको सम्झनाको लागि गरिनेछ।” (मत्ती २६:६-१३) येशू आफ्ना अनुयायीहरूका लागि भरोसायोग्य मित्र र “अन्त्यसम्मनै प्रेम” गर्नुहुने मायालु साथी हुनुहुन्थ्यो।—यूहन्‍ना १३:१.

येशू सिद्ध हुनुभएको कारण उहाँलाई असिद्ध मानिसहरूको दोष भेट्टाउनु कुनै गाह्रो कुरा थिएन। तथापि, अरूलाई नपत्याउने अनि दोष भेट्टाउने मनोभाव देखाउनुको साटो उहाँले मानिसहरूलाई स्फूर्ति प्रदान गर्नुभयो।—मत्ती ११:२९, ३०.

प्रेमले] सबै कुराको पत्यार गर्छ।” (१ कोरिन्थी १३:७) यो वाक्यांश सिनिक्‌हरूको मनोभावसित पटक्कै मिल्दैन किनभने तिनीहरू अरूको हरेक कार्य तथा मनोवृत्तिमा शंका गर्छन्‌। निस्सन्देह, संसारमा खराब मनसाय राख्ने मानिसहरूको कुनै कमी छैन; त्यसकारण सतर्क त हुनैपर्छ। (हितोपदेश १४:१५) तैपनि, प्रेमले पत्यार गर्छ किनभने यसले अरूलाई पत्याउँछ र अनावश्‍यक शंका गर्दैन।

परमेश्‍वरले आफ्ना सेवकहरूलाई माया गर्नुहुन्छ र तिनीहरूमाथि भरोसा गर्नुहुन्छ। उहाँलाई तिनीहरूको सीमितताबारे जति थाह छ, त्यति तिनीहरू आफैलाई पनि थाह छैन। तथापि, यहोवाले आफ्ना जनहरूलाई कहिल्यै शंका गर्नुहुन्‍न र तिनीहरूले गर्नसक्ने भन्दा बढी गरेको आशा पनि राख्नुहुन्‍न। (भजन १०३:१३, १४) त्यति मात्र होइन, परमेश्‍वरले मानिसहरूको असल पक्षलाई हेर्नुहुन्छ अनि आफ्ना असिद्ध तर वफादार सेवकहरूलाई सुअवसर तथा अख्तियार दिनुहुँदा भरोसा गर्नुहुन्छ।—१ राजा १४:१३; भजन ८२:६.

“हरेक मानिसलाई त्यसको चालअनुसार र त्यसको कर्मको फलअनुसार दिनलाई म परमप्रभु मानिसको मन तलाश गर्छु, त्यसको हृदयको म जाँच गर्छु।” (यर्मिया १७:१०) यहोवाले मानिसको हृदय वास्तवमा कस्तो छ, जान्‍न सक्नुहुन्छ। हामी सक्दैनौं। तसर्थ, अरूको शंका उपशंका गर्नदेखि सतर्क हुनुपर्छ।

शंकालु स्वभावले जरा गाडेर हाम्रो सोचाइमाथि प्रभुत्व जमाउन थाल्यो भने त्यसले हामी र सँगी विश्‍वासीहरूबीच फाटो ल्याउनसक्छ। यसले मसीही मण्डलीको शान्ति भंग गर्नसक्छ। त्यसकारण, हामी येशूको अनुसरण गरौं जसले आफ्ना चेलाहरूसित व्यवहारिक तर सकारात्मक ढंगमा व्यवहार गर्नुभयो। उहाँ तिनीहरूको भरोसायोग्य मित्र हुनुभयो।—यूहन्‍ना १५:११-१५.

“जसो मानिसहरूले तिमीहरूसित गरून्‌ भन्‍ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसित त्यसै गर।” (लूका ६:३१) येशू ख्रीष्टको यो सल्लाह पालन गर्ने थुप्रै तरिकाहरू छन्‌। उदाहरणका लागि, हामी सबै जना अरूले हामीसित दयालु अनि आदरपूर्ण ढंगमा बोलेको चाहन्छौं। त्यसो हो भने, हामीले पनि अरूसित दयालु अनि आदरपूर्वक कुरा गर्नुपर्छ। येशूले धार्मिक नेताहरूको झूटा शिक्षाहरू खुलेआम पर्दाफास गर्नुहुँदासमेत उहाँले कटु व्यंग प्रहार गर्नुभएन।—मत्ती २३:१३-३६.

शंका हटाउने तरिकाहरू

हामीले निराशा भोग्नुपरेको छ भने, हामीमा शंकालु स्वभाव पलाउन धेरै बेर लाग्दैन। यहोवाले आफ्ना असिद्ध मानिसहरूलाई पत्याउनुहुन्छ भन्‍ने कुरा बुझेपछि यस्तो शंकालु झुकाउ हटाउनसक्छौं। यसले हामीलाई परमेश्‍वरका अरू उपासकहरू सही बाटोमा हिंड्‌न प्रयास गरिरहेका असिद्ध मानिसहरू हुन्‌ भनेर मानिलिन अर्थात्‌ तिनीहरूबाट अनावश्‍यक माग नगर्न मदत गर्छ।

पीडादायी अनुभवहरूले गर्दा कसै कसैले चाहिं अरूलाई पत्याउनै छाड्‌छन्‌। हो, असिद्ध मानिसहरूमा पूर्ण भरोसा राख्नु बुद्धिमानी होइन। (भजन १४६:३, ४) तथापि, मसीही मण्डलीमा थुप्रैले साँच्चै प्रोत्साहन दिन चाहन्छन्‌। आफ्ना परिवार गुमाएकाहरूको लागि आमा, बुबा, भाइ, बहिनी वा छोराछोरीसरह हुने हजारौंलाई सम्झनुहोस्‌ त। (मर्कूस १०:३०) संकटको बेलामा हाम्रो साँचो मित्र साबित हुनेहरूलाई पनि नबिर्सनुहोस्‌। bहितोपदेश १८:२४.

येशूका चेलाहरूको चिनारी शंकालुपन होइन तर भ्रातृत्व प्रेम हो किनभने येशूले यसो भन्‍नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्‍यो भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूहन्‍ना १३:३५) त्यसकारण, हामी प्रेम देखाऔं र सँगी मसीहीहरूको असल गुणहरूमा ध्यानकेन्द्रित गरौं। यसो गर्दा हामी सिनिक्‌जस्तो हुनेछैनौं।

[फुटनोटहरू]

a अर्को सम्भावना सिनिक्‌ शब्द किनोसारिज्‌-बाट सुरु भएको हुनसक्छ। यसले एथेन्सको एउटा व्यायामशालालाई बुझाउँछ जहाँ एन्टिस्थेन्स्‌ले सिकाउँथे।

b मे १५, १९९९ प्रहरीधरहरा-मा प्रकाशित “मसीही मण्डली—बलको स्रोत” शीर्षकको लेख हेर्नुहोस्‌।

[पृष्ठ २१-मा भएको चित्र]

सबैभन्दा नाउँ चलेको सिनिक्‌, डायोजिन्स

[स्रोत]

From the book Great Men and Famous Women