सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंको जीवन कसरी अझ अर्थपूर्ण हुनसक्छ

तपाईंको जीवन कसरी अझ अर्थपूर्ण हुनसक्छ

तपाईंको जीवन कसरी अझ अर्थपूर्ण हुनसक्छ

एउटा पुरातन उपदेशले यसो भन्छ: “धन-सम्पत्ति कमाउनको निम्ति कमाराजस्तै नघोटी, विवेकी मानिस बन्‌, र त्यो गर्न छोड़िदे। तैंले यताउता हेर्न अघिनै त्यो गइहाल्छ, चील आकाशतिर उड़ेझैं त्यसको पखेटा लाग्छ।” (हितोपदेश २३:४, ५) अर्को शब्दमा भन्‍ने हो भने, धनी हुन आफ्नो सम्पूर्ण बल र समय खर्च गर्नु बुद्धिमानी होइन किनभने धनको पखेटा लाग्नसक्छ।

बाइबलले बताएझैं भौतिक धनसम्पत्ति छिट्टै सिद्धिनसक्छ। प्राकृतिक प्रकोप, आर्थिक मन्दी वा अन्य आपतकालीन परिस्थितिको कारण एकै रातमा धनसम्पत्ति स्वाहा हुनसक्छ। साथै, भौतिक सफलता हासिल गर्ने मानिसहरू अक्सर रनभुल्लमा हुन्छन्‌। राजनीतिज्ञ, खेलाडी तथा राजपरिवारका सदस्यहरूका लागि मनोरञ्जन दिने पेसा भएका जोनको अनुभवलाई विचार गर्नुहोस्‌।

जोन भन्छन्‌: “मेरोलागि मेरो काम नै सर्वमहत्त्वपूर्ण कुरा थियो। पैसा टन्‍न कमाएँ, विलासी होटलहरूमा बस्थें अनि कहिलेकाहीं निजी विमान चढेर काममा जान्थें। सुरु सुरुमा त रमाइलो लाग्यो तर बिस्तार बिस्तारै वाक्क लाग्न थाल्यो। मैले खुसी पार्नुपर्ने मानिसहरू पनि सबै ढोंगी लाग्न थाल्यो। मेरो जीवनको केही अर्थ नै थिएन।”

जोनले महसुस गरेझैं आध्यात्मिक मूल्यमान्यता बिनाको जीवन सन्तोषजनक हुँदैन। येशू ख्रीष्टको प्रख्यात डाँडाको उपदेशमा उहाँले चिरकालीन आनन्द अनुभव गर्ने तरिका बताउनुभयो। उहाँले भन्‍नुभयो: “धन्य आत्मामा दरिद्र हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।” (मत्ती ५:३) अतः आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिनु बुद्धिमानी कुरा हो। तथापि, अन्य कुराहरूले पनि तपाईंको जीवन अझ अर्थपूर्ण बनाउनसक्छ।

तपाईंको परिवार तथा मित्रहरू साँच्चै महत्त्वपूर्ण छन्‌

तपाईंको आफ्नो परिवारसित केही सम्पर्क छैन र घनिष्ठ मित्रहरू पनि कोही छैनन्‌ भने के तपाईंको जीवन आनन्ददायी हुनसक्छ र? अवश्‍य हुनसक्दैन। सृष्टिकर्ताले हामीलाई सृष्टि गर्नुहुँदा नै माया चाहने र माया गर्ने प्रकारको बनाउनुभयो। ‘छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्ने’ महत्त्वलाई येशूले जोड दिनुको एउटा कारण यही हो। (मत्ती २२:३९) परिवार एउटा ईश्‍वरीय वरदान हुनुका साथै निःस्वार्थ प्रेम प्रदर्शित गर्ने एउटा अत्यन्तै राम्रो ठाउँ हो।—एफिसी ३:१४, १५.

परिवारले हाम्रो जीवन कसरी अझ अर्थपूर्ण बनाउनसक्छ? एकताबद्ध परिवारलाई एउटा सुन्दर बगैंचासित तुलना गर्न सकिन्छ जसले दैनिक जीवनमा भोग्नुपर्ने समस्याहरूबाट स्फूर्तिदायक राहत दिन्छ। त्यस्तै गरी, परिवारमा पनि हामीले स्फूर्तिदायक संगति र एक्लोपनका भावनालाई हटाउने न्यानोपना पाउनसक्छौं। निस्सन्देह, सबै परिवारमा स्वतः त्यसो हुँदैन। तथापि, पारिवारिक बन्धन बलियो बनाउँदै लगेपछि हामी आपसमा घनिष्ठ हुन्छौं र जीवन अझै अर्थपूर्ण हुन्छ। उदाहरणका लागि, हामीले आफ्नो पति या पत्नीलाई माया र आदर देखाउन लगानी गर्ने समय र ध्यानले अन्ततः प्रचुर मात्रामा लाभांश दिन्छ।—एफिसी ५:३३.

छोराछोरी छन्‌ भने तिनीहरू हुर्काउन उपयुक्‍त वातावरण बनाउने प्रयत्न गर्नुपर्छ। तिनीहरूसित समय बिताउन, खुलस्त कुराकानी गर्ने बाटो खोल्न र आध्यात्मिक निर्देशनहरू दिन निकै समय र प्रयास खर्च गर्नुपर्ने हुनसक्छ। तर त्यस्तो समय र प्रयासले हामीलाई निकै सन्तुष्टि प्रदान गर्नसक्छ। सफल आमाबाबुले छोराछोरी वरदानको रूपमा लिनुका साथै राम्रोसित हेरचाह गर्नुपर्ने परमेश्‍वरले दिनुभएको हक ठान्छन्‌।—भजन १२७:३.

असल मित्रहरूले पनि हाम्रो जीवन अझ अर्थपूर्ण र सन्तोषजनक बनाउनसक्छ। (हितोपदेश २७:९) सँगी भाव देखाएर हामी थुप्रै मित्र बनाउनसक्छौं। (१ पत्रुस ३:८) हामी लोट्‌दा साँचो मित्रहरूले हामीलाई उठाउनसक्छन्‌। (उपदेशक ४:९, १०) अनि “मित्र . . . दुःखमा सहभागी हुनलाई जन्मेको हुन्छ।”—हितोपदेश १७:१७.

साँचो मित्रता एकदमै सन्तोषजनक हुनसक्छ! आफ्नो साथमा मित्र छ भने सूर्यास्त झनै मनमोहक, खाना झनै मीठो र संगीत झनै आनन्ददायी हुन्छ। निस्सन्देह, घनिष्ठ परिवार र भरोसायोग्य मित्रहरू त अर्थपूर्ण जीवनको दुईटा पक्ष मात्र हुन्‌। हाम्रो जीवन अझ अर्थपूर्ण बनाउन परमेश्‍वरले अन्य कस्ता प्रबन्धहरू गर्नुभएको छ?

हाम्रो आध्यात्मिक आवश्‍यकता पूरा गर्ने

माथि उल्लेख गरेझैं येशू ख्रीष्टले आनन्द र आध्यात्मिक आवश्‍यकताप्रति हाम्रो सजगताको सम्बन्ध छ भन्‍नुभयो। हामीसित आध्यात्मिक तथा नैतिक क्षमता दुवै छ। तसर्थ, बाइबलले “आत्मिक मानिस” र “हृदयको त्यो गुप्त मानिस[बारे]” बताउँछ।—१ कोरिन्थी २:१५; १ पत्रुस ३:३, ४.

डब्ल्यु. ई. भाइनद्वारा लिखित एन एक्सपोजिटेरी डिक्सनरी अफ न्यु टेस्टामेन्ट वर्डस्‌-अनुसार लाक्षणिक हृदयले “मानिसको सम्पूर्ण मानसिक तथा नैतिक गतिविधिलाई बुझाउँछ र यसमा तार्किक तथा मानसिक तत्त्व दुवै मुछिएको हुन्छ।” थप स्पष्टीकरण दिंदै भाइन अझ यसो भन्छन्‌: “अर्को शब्दमा भन्‍ने हो भने, लाक्षणिक हृदयले भित्री व्यक्‍तित्वलाई बुझाउँछ।” सोही लेखमा “हृदयले ‘भित्र लुकेको मानिस’-लाई बुझाउँछ . . . र त्यो नै वास्तविक मानिस हो” भनी उल्लेख गरिएको छ।

हामीले कसरी “आत्मिक मानिस” वा “लुकेको मानिस” अर्थात्‌ “हृदयको त्यो गुप्त मानिस[को]” आध्यात्मिक आवश्‍यकता पूरा गर्नसक्छौं? “परमप्रभुनै परमेश्‍वर हुनुहुन्छ भनी जान। उहाँलेनै हामीलाई बनाउनुभएको हो, र हामी उहाँकै प्रजा, र उहाँका खर्कका भेड़ाहरू हौं” भनी गाउने प्रेरित भजनरचयिताको कुरा मानिलियौं भने, हामीले आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गर्न महत्त्वपूर्ण कदम चालिरहेका हुनेछौं। (भजन १००:३) यो कुरा स्वीकार्दा हामी परमेश्‍वरप्रति जवाफदेही छौं भनी सजिलै बुझ्नेछौं। “उहाँका खर्कका भेड़ाहरू” हुन चाहन्छौं भने, हामीले उहाँको वचन बाइबलअनुरूप कामकुरा गर्नैपर्छ।

के परमेश्‍वरप्रति जवाफदेही हुनु खराब कुरा हो? होइन किनभने हाम्रो आचरणको परमेश्‍वर ख्याल राख्नुहुन्छ भनेर सजग हुँदा हाम्रो जीवन अझ अर्थपूर्ण हुनेछ। यसले हामीलाई अझ राम्रो व्यक्‍ति बन्‍न प्रोत्साहित गर्छ र यो निश्‍चय पनि एउटा सार्थक उद्देश्‍य हो। भजन ११२:१ यसो भन्छ: “त्यो मानिस धन्यको हो जसले परमप्रभुको भय मान्दछ, र उहाँका आज्ञाहरूमा प्रसन्‍न हुन्छ।” परमेश्‍वरप्रति श्रद्धेय भय राख्दा र उहाँका आज्ञाहरू भित्री हृदयदेखि पालन गर्दा हाम्रो जीवन अझ अर्थपूर्ण हुनसक्छ।

परमेश्‍वरप्रति आज्ञाकारी हुँदा हामी किन सन्तुष्टि महसुस गर्छौं? किनभने हाम्रो अन्तस्करण छ र यो वरदान परमेश्‍वरले सबै मानिसहरूलाई दिनुभएको छ। अन्तस्करण भनेको नैतिक परीक्षक हो। यसले हामीले के गऱ्‍यौं वा के गर्ने विचार गरिरहेका छौं, त्यसप्रति स्वीकृति वा अस्वीकृति जनाउँछ। हामी सबैले दोषी अन्तस्करण कस्तो हुन्छ, अनुभव गरेका छौं। (रोमी २:१५) तर अन्तस्करणले हामीलाई इनाम पनि दिनसक्छ। हामी निःस्वार्थ भएर परमेश्‍वर र सँगी मानवहरूको सेवा गर्दा सन्तुष्ट महसुस गर्छौं। “लिनुभन्दा दिनु अझ असल हो” भनेर पनि थाह पाउनेछौं। (प्रेरित २०:३५) यसको एउटा महत्त्वपूर्ण कारण छ।

सृष्टिकर्ताले हामीलाई यस्तो ढंगमा बनाउनुभयो कि सँगी मानवहरूको चाहना तथा आवश्‍यकताहरूले हामीलाई असर गर्छ। अरूलाई सहयोग गर्दा हामी आनन्द महसुस गर्छौं। साथै, हामीले खाँचोमा परेका कसैलाई मदत गर्दा परमेश्‍वरले उहाँप्रति नै दया देखाएको ठान्‍नुहुन्छ भनेर बाइबलले आश्‍वासन दिन्छ।—हितोपदेश १९:१७.

आध्यात्मिक आवश्‍यकताप्रति सजग हुँदा भित्री सन्तुष्टि महसुस गर्नुबाहेक के हामीलाई व्यावहारिक मदत पुऱ्‍याउँछ? मध्यपूर्वका रेमन्ड नाउँको व्यापारीको विचारमा यसले व्यावहारिक मदत पनि पुऱ्‍याउनसक्छ। तिनी भन्छन्‌, “जीवनमा मेरो एक मात्र लक्ष्य पैसा कमाउने थियो। तर जुनबेलादेखि मैले परमेश्‍वर हुनुहुन्छ र बाइबलमा उहाँका इच्छाहरू बताइएका छन्‌ भनेर स्वीकारें ममा परिवर्तनहरू आयो। अहिले मेरो जीवनको प्राथमिकता पैसा कमाउने होइन। परमेश्‍वरलाई खुसी पार्ने कोसिस गर्दा म घृणाको विनाशकारी भावनाबाट जोगिएको छु। मेरो बुबाको त्यस्तै एउटा भिडन्तमा मृत्यु भएको भए तापनि म त्यसका लागि दोषी व्यक्‍तिहरूप्रति कुनै द्वेषका भावना राख्दिनँ।”

रेमन्डले पत्ता लगाएझैं “आत्मिक मानिस[का]” आवश्‍यकताहरू पूरा गर्दा गहिरो भावनात्मक चोट पनि निको हुनसक्छ। तथापि, दिनहुँ भोग्ने समस्याहरूसित जुझ्न सक्षम नभएसम्म जीवन पूर्णतया सन्तोषदायी हुन सक्दैन।

हामी “परमेश्‍वरको शान्ति” पाउनसक्छौं

यस गोलमालको संसारमा समस्या नभएका दिनहरू त कमै हुन्छन्‌। दुर्घटनाहरू हुन्छन्‌, योजनाअनुसार कामकुरा हुँदैनन्‌ र मानिसहरूले धोखा दिन्छन्‌। यस्ता अवरोधहरूले हाम्रो आनन्द हरण गर्नसक्छ। तर, यहोवा परमेश्‍वरको सेवा गर्नेहरूलाई बाइबलले भित्री सन्तुष्टि अर्थात्‌ “परमेश्‍वरको शान्ति” दिने प्रतिज्ञा गरेको छ। हामी यो शान्ति कसरी पाउनसक्छौं?

प्रेरित पावलले यस्तो लेखे: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌। औ परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४:६, ७) समस्याहरू आफ्नै भरमा समाधान गर्न खोज्नुको सट्टा दिनहुँ आइपर्ने समस्याहरूको भार परमेश्‍वरमा बिसाएर हामीले व्यग्र प्रार्थना गर्नुपर्छ। (भजन ५५:२२) उहाँको पुत्र येशू ख्रीष्टमार्फत गरेको त्यस्तो बिन्ती उहाँले सुन्‍नुहुन्छ भन्‍ने विश्‍वासले हामीलाई आध्यात्मिक तवरमा अघि बढ्‌न र परमेश्‍वरले हाम्रो कसरी सहयोग गर्नुहुन्छ भनी बुझ्न मदत गर्छ।—यूहन्‍ना १४:६, १४; २ थिस्सलोनिकी १:३.

“प्रार्थना सुन्‍नुहुने” परमेश्‍वरमा भरोसा बढाएपछि हामी दीर्घ रोग, बुढ्यौली वा शोकजस्ता समस्याहरूको सामना गर्न सक्षम हुनेछौं। (भजन ६५:२) तथापि, साँच्चै अर्थपूर्ण जीवनको लागि हामीले भविष्यबारे पनि विचार गर्नुपर्छ।

भावी आशामा आनन्दित हुनुहोस्‌

बाइबलले “नयाँ स्वर्ग र नयाँ पृथ्वीको” प्रतिज्ञा गर्छ र यो आज्ञाकारी मानव परिवारहरूमाथि शासन गर्ने धार्मिक स्वर्गीय सरकार हो। (२ पत्रुस ३:१३) परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा युद्ध र अन्याय होइन शान्ति र न्याय हुनेछ। यो केवल क्षणिक चाहना होइन तर दिनप्रतिदिन बढ्‌दै जाने विश्‍वस्तता हो। यो साँच्चै सुसमाचार हो र आनन्दित हुने जोडदार कारण पनि हो।—रोमी १२:१२; तीतस १:२.

सुरुमा उल्लिखित जोन अहिले आफ्नो जीवन अझ अर्थपूर्ण भएको महसुस गर्छन्‌। तिनी भन्छन्‌, “म धार्मिक झुकाउ भएको मान्छे नभए तापनि परमेश्‍वरमाथि विश्‍वास गर्थें। तर यहोवाका दुई जना साक्षीहरूलाई नभेटुञ्जेल मैले यस विश्‍वासबारे केही गरिनँ। मैले तिनीहरूलाई प्रश्‍नमाथि प्रश्‍न गरें। जस्तै, ‘हामी यस पृथ्वीमा किन छौं? हाम्रो भविष्य कस्तो छ?’ ती प्रश्‍नहरूको सन्तोषजनक धर्मशास्त्रीय जवाफ सुनेपछि जीवनमा पहिलो चोटि केही उद्देश्‍य भएको महसुस गरें। त्यो त सुरुआत मात्र थियो। सत्यप्रति मेरो तिर्सना जाग्यो र त्यसले गर्दा मेरो सम्पूर्ण मूल्यमान्यता नै परिवर्तन भयो। अहिले म भौतिक तवरमा सम्पन्‍न छैन तर आध्यात्मिक तवरमा भने निश्‍चय सम्पन्‍न महसुस गर्छु।”

जोनले जस्तो सायद तपाईंले पनि आध्यात्मिक योग्यताहरूलाई निकै वर्षसम्म सुस्त रहन दिनुभएको होला। तथापि, “बुझ्ने हृदय” विकास गरेर तपाईं यसलाई पुनः जगाउन सक्नुहुन्छ। (भजन ९०:१२) कटिबद्ध हुनुका साथै प्रयास गर्नुभयो भने, तपाईंले साँचो आनन्द, शान्ति र आशा विकास गर्न सक्नुहुनेछ। (रोमी १५:१३) हो, तपाईंको जीवन अझ अर्थपूर्ण हुनसक्छ।

[पृष्ठ ६-मा भएको चित्र]

प्रार्थनाद्वारा “परमेश्‍वरको शान्ति” पाउनसक्छौं

[पृष्ठ ७-मा भएका चित्रहरू]

तपाईंको पारिवारिक जीवनलाई अझ सन्तोषजनक केले बनाउनसक्छ, तपाईंलाई थाह छ?