सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं अनैतिक संसारमा

तपाईं अनैतिक संसारमा

तपाईं अनैतिक संसारमा

चरित्रवान्‌ हुन सक्नुहुन्छ

ति नी ह्‍याण्डसम थिए। उनी प्रतिभाशाली र सुन्दरी थिइन्‌। तिनीहरू एउटै कम्पनीमा काम गर्थे। उनले तिनीप्रति निकै चासो देखाउँथिन्‌। तिनले उनको औधी तारिफ गर्थे। तिनीहरू एकअर्कालाई उपहारहरू दिन्थे। चाँडै तिनीहरू प्रेमीप्रेमिका भए। तिनले आफ्नी पत्नी छोडे। तर उनले अन्तमा आफ्नो पतिलाई नछोड्‌ने र त्यस मानिससितको मायाप्रीतिलाई यहीं टुंग्याउने निधो गरिन्‌। तिनले दोमन गर्दै आफ्नी पत्नीसितै मिल्ने कोसिस गरे। तर साँच्चै पश्‍चात्ताप नगरेको कारण तिनले आफ्नो विवाहबन्धनलाई टुक्रिनबाट जोगाउन सकेनन्‌। यस घटनासित सम्बन्धित सबै मानिसको जीवन चल्न त चलिरह्‍यो तर सबैलाई असर भने पक्कै पऱ्‍यो।

आज यस संसारमा यौन नैतिकतालाई सद्‌गुण ठानिंदैन। बेलगाम मोजमस्ती र सन्तुष्टिको पछि लाग्ने कुरा सामान्य भइसक्यो। द न्यु इनसाइक्लोपीडिया ब्रिटानिका यसो भन्छ: “संसारमा जताततै व्यभिचार व्याप्त छ र कुनै कुनै अवस्थामा त यो विवाह जत्तिकै सामान्य भइसक्यो।”

यद्यपि, यहोवा परमेश्‍वर “सबै विवाह आदरणीय होस्‌” र “ओछ्यान नबिटुलिओस्‌” भन्‍ने चाहनुहुन्छ। (हिब्रू १३:४) धर्मशास्त्र यस्तो घोषणा गर्छ: “न ठागियौ। व्यभिचारीहरू, मूर्तिपूजकहरू, जारी गर्नेहरू, लुच्चाहरू, पुरुषगामीहरू, . . . परमेश्‍वरको राज्यको हकदार हुनेछैन।” (१ कोरिन्थी ६:९, १०) अतः ईश्‍वरीय अनुग्रह प्राप्त गर्न हामीले यस अनैतिक संसारमा नैतिक स्वच्छता कायम गर्नुपर्छ।

आफू वरपरको भ्रष्ट प्रभावहरूबाट हामी कसरी बच्नसक्छौं? बाइबल पुस्तक हितोपदेशको पाचौं अध्यायमा पुरातन इस्राएलका राजा सुलेमानले यसको जवाफ दिएका छन्‌। तिनले के भनेका छन्‌, आउनुहोस्‌ हामी जाँचौं।

तपाईंको रक्षा गर्न विवेक

इस्राएलका राजा यसरी कुरा सुरु गर्छन्‌: “हे मेरो छोरो, मेरो बुद्धिमा ध्यान दे।” अनि अझ यसो भन्छन्‌: “मेरो अर्तीलाई ध्यानसित सुन्‌। यसरी तैंले विवेकलाई कायम राख्नेछस्‌। र तेरो बोली ज्ञान-पूर्ण हुनेछ।”—हितोपदेश ५:१, २.

अनैतिक कार्यतर्फ प्रलोभित नहुन बुद्धि चाहिन्छ। त्यो बुद्धि हो, धर्मशास्त्रीय ज्ञानलाई व्यवहारमा उतार्ने क्षमता र विवेक वा सही अनि गलत छुट्याउने अनि सही मार्ग रोज्ने शक्‍ति। हाम्रो सोच्ने क्षमताको रक्षा गर्न बुद्धि र विवेकमा ध्यान दिन आग्रह गरिएको छ। हामी यो कसरी गर्नसक्छौं? हामीले परमेश्‍वरको वचन बाइबल अध्ययन गर्दा यहोवाका तौरतरिकाहरू याद गर्नुका साथै उहाँको इच्छा अनि उद्देश्‍यहरू सुन्‍न कान थाप्नुपर्छ। यसो गर्दा हामीले आफ्नो मनलाई सही दिशातर्फ डोऱ्‍याइरहेका हुनेछौं। अतः यसरी प्राप्त गरेको विवेक ईश्‍वरीय बुद्धि र ज्ञानअनुरूप हुन्छ। सही ढंगमा विवेकको प्रयोग गर्दा हामी अनैतिक पासोहरूको प्रलोभनमा पर्दैनौं।

चिप्लो घस्ने जिब्रोदेखि होसियार हुनुहोस्‌

यस अशुद्ध संसारमा नैतिक शुद्धता कायम राख्न विवेक अत्यावश्‍यक हुनुको एउटा कारण अनैतिक व्यक्‍तिहरू अत्यन्तै आकर्षक हुन्छन्‌। सुलेमान यस्तो चेताउनी दिन्छन्‌: “व्यभिचारी स्त्रीको ओठबाट मह चुहुन्छ, औ त्यसको जिब्रो तेलभन्दा चिप्लो हुन्छ। तापनि अन्तमा ता त्यो ऐरेलुभन्दा तीतो हुन्छ, र दुइ-धारे तरवारजस्तै लाग्नेहुन्छ।”हितोपदेश ५:३, ४.

यस हितोपदेशमा मनमानी जीवन बिताउने मानिसलाई “पराई स्त्री” [ NW] अर्थात्‌ वेश्‍या भनिएको छ। a तिनले फसाउन चाहेको व्यक्‍तिलाई महभन्दा गुलियो र तेलभन्दा चिप्लो शब्दहरूले लट्टू पार्छिन्‌। के अधिकांश यौन कार्यहरू यसरी नै सुरु हुने होइनन्‌ र? उदाहरणका लागि, एमी नाउँ गरेकी २७ वर्षीया आकर्षक सेक्रेटरीको अनुभवलाई विचार गर्नुहोस्‌। तिनी भन्छिन्‌: “म काम गर्ने ठाउँको एक जना मान्छेले मप्रति अत्यन्तै चासो देखाउँछ र हरेक अवसरमा ऊ मेरो प्रशंसा गर्न थाल्छ। अरूले त्यस्तो चासो देखाउँदा राम्रो लाग्छ। तर तिनको मप्रतिको चासो यौनसम्बन्धको लागि मात्र हो भन्‍ने कुरामा मलाई कुनै शंका छैन। म तिनको बहकाउमा कहाँ बहकिन्छु र!” कामुक व्यक्‍तिको खास मनसाय बुझेनौं भने तिनको कुरा सुनेर फुरुक्क हुने सम्भावना हुन्छ। यसैकारण, हामीले आफ्नो विवेक चलाउनुपर्छ।

अनैतिकताको परिणाम ऐरेलुभन्दा तीतो र दुई धारे तरवारजस्तै अर्थात्‌ पीडादायी र प्राणघातक हुन्छ। यस्तो आचरणका तीता परिणामहरू विचलित अन्तस्करण, नचाहेको गर्भधारण वा यौनजन्य रोगहरू हुन्‌। अनि अवफादार हुँदा निर्दोष पति या पत्नीले खप्नुपर्ने भावनात्मक पीडाबारे विचार गर्नुहोस्‌। अवफादारीको एउटा कार्यले जीवनभर निको नहुने गहिरो चोट लाग्नसक्छ। हो, अनैतिकताले गहिरो चोट पुऱ्‍याउँछ।

मनमानी जीवन बिताउने स्त्रीबारे टिप्पणी गर्दै बुद्धिमान्‌ राजा यसो भन्छन्‌: “त्यसको खुट्टा मृत्युको बाटोतिर ओह्रालो लाग्छ, त्यसको चाल पातालको बाटोमा लागेको हुन्छ। त्यसले जीवनतिर लाने बाटोलाई हेर्दैन, त्यसको चाल चंचल हुन्छ, रपनि त्यसले वास्ता गर्दैन।” (हितोपदेश ५:५, ६) अनैतिक जीवनशैलीले स्त्रीलाई मृत्यु अर्थात्‌ मानिसजातिको सर्वसाधारण चिहान शिओलमा पुऱ्‍याउँछ। विशेष गरी, एड्‌सजस्ता यौनजन्य रोगहरू बिगबिगी भइरहेको देख्दा यी शब्दहरू कत्ति सत्य साबित भएका छन्‌! त्यसका टेढो कार्यमा साथ दिने मानिसहरूको हालत पनि त्यस्तै हुन्छ।

साँच्चै चिन्तित हुँदै राजा यस्तो आग्रह गर्छन्‌: “अब हे मेरो छोरो, मेरो कुरा सुन्‌, औ मैले भनेको कुराको अवहेलना नगर्‌। त्यस्ता स्त्रीदेखि टाढ़ा बस्‌, औ त्यसको घरको ढोकाको नजीक नजा।”हितोपदेश ५:७, ८.

हामी अनैतिक व्यक्‍तिहरूको प्रभावदेखि टाढै रहनुपर्छ। पतित संगीत सुनेर, भ्रष्ट मनोरञ्जन हेरेर वा अश्‍लील विषयवस्तुहरू पढेर हामी आफू किन तिनीहरूको प्रभावमा पर्ने? (हितोपदेश ६:२७; १ कोरिन्थी १५:३३; एफिसी ५:३-५) तिनीहरूसित प्रेमलीला गरेर वा अभद्र पहिरन लगाएर तिनीहरूको ध्यान खिच्नु साह्रै मूर्खतापूर्ण कुरा हुनेछ!—१ तिमोथी ४:८; १ पत्रुस ३:३, ४.

चुकाउनुपर्ने ठूलो मोल

मनमानी गर्ने बानी भएका मानिसबाट टाढै रहनुपर्ने अर्को कारण के हो? सुलेमान यस्तो जवाफ दिन्छन्‌: “नत्रता तैंले अरूहरूको दृष्टिमा आफ्नो इज्जत र विदेशीहरूको सामने तेरो मान हराउनेछस्‌। विदेशीहरूले तेरो सम्पत्तिमा चैन गर्नेछ, र तैले दुःखसित कमाएको धन अरू मानिसको परिवारले लैजानेछ। आखिरमा तँ भोकै मर्नेछस्‌, तँ हाड़ र छाला मात्र हुनेछस्‌।”—हितोपदेश ५:९-११.

यसप्रकार सुलेमान अनैतिक कार्यमा फस्दा चुकाउनुपर्ने ठूलो मोलबारे जोड दिन्छन्‌। व्यभिचार र इज्जत वा आत्मसम्मान गुमाउनुबीच नजिकको सम्बन्ध छ। आफ्नो वा अरूको अनैतिक चाहना पूरा गर्न आफू सम्मिलित हुनु के बेइज्जतीपूर्ण कुरा होइन र? आफ्नो पति/पत्नीबाहेक अरू कसैसित यौनसम्बन्ध राख्दा के आत्मसम्मानको कमी भएको प्रमाणित हुँदैन र?

तर, ‘हाम्रो इज्जत, मान र दुःखसित कमाएको धन विदेशी वा अरू मानिसको परिवारले लैजानु’ भनेको के हो? एउटा पुस्तक यसो भन्छ: “यो शास्त्रपदले भन्‍न खोजेको कुरा स्पष्ट छ: व्यभिचारको कारण चुकाउनुपर्ने मूल्य ठूलो छ किनभने स्त्रीका अचाक्ली मागहरू वा समुदायबाट क्षतिपूर्तिको मागको कारण आफूले मेहनत गरेर कमाएको पदवी, शक्‍ति, धन सबै गुम्नसक्छ।” अनैतिक सम्बन्धको कारण ठूलो मूल्य चुकाउनुपर्छ!

आफ्नो मर्यादा गुमेपछि र आफ्नो धनसम्पत्ति सबै सिद्धिएपछि मूर्ख मानिसले यस्तो विलाप गर्नसक्छ: “हाय, मैले अनुशासनलाई किन घृणा गरें! र हप्कीलाई तिरस्कार गरें। मैले मेरा गुरुहरूको वचन सुनिनँ, मेरा शिक्षकहरूलाई ध्यानै दिइनँ। मैले चाँड़ै नराम्रो नाउँ कमाएँ, सारा समाजको सामने म निन्दित भएँ।”हितोपदेश ५:१२-१४.

एक शास्त्रविद्‌ले भनेझैं समय बित्दै गएपछि “मैले बुबाको कुरा सुनेको भए, म आफ्नै कुराको पछाडि मात्र नलागेको भए, मैले अरूको पनि कुरा सुनेको भए भन्‍नेजस्ता लामो सूची बक्न थाल्छ।” तथापि, तिनीहरूको घैंटोमा घाम ढिलो लाग्छ। अब कलंकित मानिसको जीवन खत्तम हुनुका साथै तिनको नाउँ बदनाम हुन्छ। हामी अनैतिक काममा फस्नुअघि त्यस्तो कामले गर्दा कत्रो ठूलो मोल चुकाउनुपर्छ भनी विचार गर्नु एकदमै महत्त्वपूर्ण छ!

“आफ्नै कुण्डको पानी . . . पी”

के बाइबल यौन सम्बन्धबारे मौन छ? अहँ, छैन। रोमान्टिक प्रेमका भावनाहरू र पुरुष तथा स्त्रीबीच संमोहको आनन्द परमेश्‍वरले दिनुभएको वरदान हो। तथापि, यस्तो सम्बन्ध वैवाहिक जोडीमै सीमित हुनुपर्छ। त्यसकारण, सुलेमान विवाहित पुरुषलाई यस्तो सुझाउ दिन्छन्‌: “आफ्नै कुण्डको पानी र आफ्नैकूवाबाट] बगेको पानी पी। तेरो कूवाको पानी चुल्लिएर बाटोतिर नजाओस्‌, तेरो पानीका धारा सड़कहरू तिर नबगून्‌। त्यो तेरै निम्ति मात्र होस्‌, परदेशीले त्यसको उपभोग नगरोस्‌।”हितोपदेश ५:१५-१७.

“आफ्नै कुण्ड” र “आफ्नै कूवा” भन्‍ने पद्यांश आफ्नी प्रिय पत्नीको निम्ति प्रयोग गरिने कवितात्मक अभिव्यक्‍तिहरू हुन्‌। उनीसित यौन सम्बन्धको आनन्द उठाउनु स्फूर्तिदायी चिसो पानी पिउनुसित तुलना गरिएको छ। कुण्ड वा कूवा अन्य सार्वजनिक धाराहरूजस्तो नभई निजी सम्पत्तिको रूपमा लिइन्छ। अनि पराइ स्त्रीहरूबाट यत्रतत्र सन्तान जन्माउनुको सट्टा आफ्नै पत्नीबाट मात्र सन्तान जन्माउने सल्लाह पुरुषहरूलाई दिइएको छ। स्पष्टतः पुरुषहरूलाई आफ्नी पत्नीप्रति वफादार हुन सल्लाह दिइएको छ।

बुद्धिमान्‌ पुरुष अझ यसो भन्छन्‌: “तेरो फोहोरा, तेरो युवावस्थाकी पत्नी आशीर्वादी होस्‌। त्यहीसित तँ सुखी हो। मायालु मृग, राम्री हरिणीझैं त्यो तेरो साथी होस्‌, त्यसकै वक्षमा त सन्तुष्ट बन्‌, तँ सधैं त्यसकै प्रेममा डुबिरह्‌।”हितोपदेश ५:१८, १९.

“फोहोरा[ले]” यौन सन्तुष्टिको स्रोतलाई पनि संकेत गर्छ। आफ्नो वैवाहिक जोडीसित यौन सम्बन्ध, परमेश्‍वरले दिनुभएको “आशीर्वाद” हो। तसर्थ, पुरुषलाई आफ्नो युवावस्थाकी पत्नीसित सुखी हुने सुझाउ दिइएको छ। तिनको लागि उनी मृगजस्तै मायालु र हरिणीजस्तै राम्री हुन्छिन्‌।

अनि सुलेमानले दुइटा आलंकारिक प्रश्‍न सोध्छन्‌: “हे मेरो छोरो, तँ किन वेश्‍याको प्रेममा फँस्‌छस्‌? तँ किन खराब स्त्रीलाई आलिङ्‌गन गर्छस्‌?” (हितोपदेश ५:२०) हो, विवाहित व्यक्‍तिले जागिर, स्कूल वा अन्य ठाउँमा भेटेका मानिससित यौन सम्बन्ध राख्न प्रलोभित हुनुपर्ने कारणै के छ र?

विवाहित मसीहीहरूलाई प्रेरित पावल यस्तो सल्लाह दिन्छन्‌: “ए भाइ हो, म यो भन्दछु, कि समय अल्प भएको छ, र अब उप्रान्त पत्नी भएका मानिसहरू पत्नी हुँदै नभएकाहरूजस्तै होऊन्‌।” (१ कोरिन्थी ७:२९) यसको अर्थ के हो? येशू ख्रीष्टका अनुयायीहरूले ‘पहिला उहाँको राज्य खोजी गर्नुपर्छ।’ (मत्ती ६:३३) तसर्थ, दम्पतीहरू एकअर्कामा चुर्लुम्मै डुबेर परमेश्‍वरको राज्य गतिविधिलाई जीवनमा दोस्रो स्थान दिनु ठीक होइन।

आत्म-संयमको खाँचो

यौन इच्छाहरू नियन्त्रणमा राख्न सकिन्छ। परमेश्‍वरको अनुमोदन चाहनेहरूले ती नियन्त्रणमा राख्नैपर्छ। प्रेरित पावलले यस्तो सल्लाह दिए: “परमेश्‍वरको इच्छा, अर्थात्‌ तिमीहरूको पवित्रतानै यही हो, कि व्यभिचारबाट अलग बस। तिमीहरूमा हरेकले आफ्ना आफ्ना पात्रलाई पवित्रता र इज्जतमा कसरी आफैले ग्रहण गर्नुपर्छ, सो जान।”—१ थिस्सलोनिकी ४:३, ४.

त्यसैले, जवान व्यक्‍तिहरूले यौन उत्तेजना प्रबल हुनेबित्तिकै विवाह गर्न हतारिनु हुँदैन। विवाहको लागि वचनबद्धताको खाँचो हुन्छ र यो जिम्मेवारी वहन गर्न परिपक्वता चाहिन्छ। (उत्पत्ति २:२४) “बैंस पनि पुगिसकेको छ” भने विवाह गर्नु उत्तम हुनेछ किनभने त्यतिबेला के ठीक र के गलत भनी छुट्याउनै नसकिने गरी यौन भावनहरू प्रबल हुँदैनन्‌। (१ कोरिन्थी ७:३६) अनि बिहे गर्ने इच्छा भएकाहरूले सम्भावित वैवाहिक जोडी नभएको कारण अनैतिक सम्बन्ध राख्नु कत्ति मूर्खतापूर्ण र पापी कुरा हो!

“दुष्ट मानिस आफ्नै अधर्ममा पक्राउ पर्छ”

यौन अनैतिकता गलत हुनुको प्रमुख कारण, जीवनदाता तथा मानवहरूमा यौन क्षमता राख्नुहुने यहोवा परमेश्‍वरले नै अनुमति दिनु हुन्‍न। त्यसैले, नैतिक तवरमा स्वच्छ रहन एकदमै जोडदार प्रेरणा दिंदै राजा सुलेमान यसो भन्छन्‌: “मानिसको चाल ता सधैं परमप्रभुको दृष्टिमा रहिरहन्छ, त्यो हिंड़ने हरेक मार्गलाई उहाँले हेर्नुहुन्छ।” (हितोपदेश ५:२१) हो, “हामीले व्यवहार गर्नुप[र्ने]” परमेश्‍वरको नजरमा केही कुरा लुक्न सक्दैन। (हिब्रू ४:१३) यौन अनैतिकता जतिसुकै गोप्य र यसको शारीरिक वा सामाजिक नतिजा जस्तोसुकै भए तापनि यहोवासितको हाम्रो सम्बन्ध अवश्‍य बिग्रन्छ। केही क्षणको अनैतिक आनन्दको निम्ति परमेश्‍वरसितको सम्बन्धलाई नै त्याग्नु साह्रै मूर्खतापूर्ण कुरा हो!

कोही कोही मानिसहरू अनैतिक कार्यहरूमा कुनै लाजै नमानी खुलमखुल्ला लाग्दा पनि त्यसको कुनै परिणाम भोग्नु नपरेको जस्तो देखिन्छ। तर कतिञ्जेल? सुलेमान यस्तो घोषणा गर्छन्‌: “दुष्ट मानिस आफ्नै अधर्ममा पक्राउ पर्छ, र आफ्नै पापको पासोमा जेलिन्छ। अनुशासनको अभावले त्यो नाश हुनेछ, आफ्नै असीम मूर्खता त्यसको कात्रो हुनेछ।”हितोपदेश ५:२२, २३.

हामीमध्ये कोही पनि किन तर्किने? आखिर हितोपदेशको पुस्तकले यस संसारका कामुक तौरतरिकाहरूबारे अग्रिम चेताउनी दिइसकेकै छ। अनि यौन अनैतिकताको कारण हाम्रो स्वास्थ्य, भौतिक धनसम्पत्ति, हाम्रो बल र सम्मानजस्ता कुराहरूमा चुकाउनुपर्ने चर्को मूल्यबारे बताइएको छ। यस्तो स्पष्ट सरसल्लाह पाइसकेपछि “यस्तो गरेको/सुनेको भए हुन्थ्यो” भन्‍नुपर्ने अवस्था नै आउनु नपर्ने हो। हो, परमेश्‍वरले आफ्नो प्रेरित वचन बाइबलमार्फत दिनुभएको सल्लाह पालन गऱ्‍यौं भने हामी यस अनैतिक संसारमा पनि चरित्रवान्‌ रहनसक्नेछौं।

[Footnotes]

a परमेश्‍वरको व्यवस्था र यहोवाबाट टाढिने मानिसहरूलाई बुझाउन “व्यभिचारी” भन्‍ने शब्द चलाइन्थ्यो। अतः वेश्‍यालाई पनि “पराई स्त्री” [ NW] भनिएको छ।

[पृष्ठ ३०-मा भएका चित्रहरू]

अनैतिकताको असर ऐरेलुभन्दा तीतो हुन्छ

[पृष्ठ ३१-मा भएका चित्रहरू]

“तेरो युवावस्थाकी पत्नी [सित ] . . . सुखी हो”