ताइवानका धानबारीहरूमा सुसमाचार घोषणा गर्दै
हामी चाहिं विश्वास गर्नेहरूमध्येका हौं
ताइवानका धानबारीहरूमा सुसमाचार घोषणा गर्दै
ताइवानमा अक्सर प्रशस्त वर्षा हुने भएकोले वर्षको दुई बाली धान लगाइन्छ। तर कहिलेकाहीं बेलामा पानी पर्दैन र बीउ मर्छ। के यसो भयो भन्दैमा कृषकले हरेस खान्छ? अहँ, खाँदैन। तिनलाई लगनशील हुनुपर्छ भनेर थाह छ। तिनले फेरि नयाँ बीउ लगाउँछन् र रोपाइँ गर्छन्। अनि परिस्थितिमा सुधार आयो भने कृषकले राम्रो कटनी गर्छन्। कहिलेकाहीं आध्यात्मिक रोपाइँ र कटनी कार्यमा पनि त्यस्तै हुन्छ।
आध्यात्मिक कटनीमा लागिरहने
वर्षौंको दौडान ताइवानमा यहोवाका साक्षीहरूले कुनै कुनै इलाकामा धर्मशास्त्रीय सत्यको बीउ रोप्न र कटनी गर्न धेरै मेहनत गरे तापनि त्यति फलदायी साबित भएको छैन। त्यस्तै एउटा इलाका मियायो-लि प्रान्त हो। त्यस इलाकामा समय समयमा साक्षी दिने प्रयास गरिए तपानि प्रतिक्रिया त्यति राम्रो भएन। त्यसैले सन् १९७३ मा पूर्ण-समय राज्य उद्घोषकको रूपमा त्यहाँ काम गर्न एउटा विशेष अग्रगामी दम्पतीलाई खटाइयो। सुरु सुरुमा त कोही कोहीले सुसमाचारप्रति चासो देखाए। तथापि, त्यो चासो चाँडै सेलायो। त्यसपछि, यी विशेष अग्रगामीहरूलाई अर्कै इलाकामा खटाइयो।
सन् १९९१ मा त्यहाँ फेरि दुई जना विशेष अग्रगामीलाई खटाइयो। तर त्यहाँ भएका घटनाहरूले अझै आध्यात्मिक उन्नतिको निम्ति उपयुक्त वातावरण नभएको संकेत गऱ्यो। बरु अर्कै इलाका फलदायी होला भनेर केही वर्षपश्चात् यी विशेष अग्रगामीहरूलाई अन्तै खटाइयो। अतः फेरि केही समयको निम्ति त्यो इलाकालाई त्यत्तिकै छोडियो।
सफलता हासिल गर्ने अर्को प्रयास
ताइवानका थुप्रै इलाकाहरूमा अझ प्रचार नभएको हुँदा सेप्टेम्बर १९९८ मा इलाकाहरू कत्तिको फलदायी होला भनी पत्ता लगाउने निर्णय गरियो। यो कसरी गर्ने? प्रचार नगरिएका यी घनाबस्ती इलाकाहरूमा ४० जना जति अस्थायी विशेष अग्रगामीहरू खटाइयो।
यस अभियानको निम्ति छानिएका इलाकाहरूमध्ये, मियायो-लि प्रान्तसँगैको दुइटा शहर पनि थियो। त्यो इलाका कस्तो छ भनी बुझ्न चार जना अविवाहित विशेष अग्रगामी बहिनीहरू पठाइयो। त्यहाँ पुगेको केही समयमै तिनीहरूले भेटेका जिज्ञासु व्यक्तिहरूबारे अत्यन्तै सकारात्मक पत्र लेखे। तीन महिने प्रचारकार्यको दौडान तिनीहरूले थुप्रै बाइबल अध्ययनहरू सुरु गरे। तिनीहरूले नजिकैको मण्डलीको प्राचीनको मदत लिएर पुस्तक अध्ययन समूह पनि स्थापना गरे।
ती बहिनीहरूमध्ये तीन जनाले त्यहाँ राम्रोसित हुर्किरहेको लहलहाउँदो “बीउ”-को हेरचाह कायमै राख्ने इच्छा प्रकट गरे। फलस्वरूप, दुई जनालाई स्थायी विशेष अग्रगामीको रूपमा नियुक्त गरियो भने अर्का एक जना बहिनीले नियमित अग्रगामीको रूपमा सेवा गरिरहिन्। नजिकैको एक जना प्राचीन उनीहरूलाई मदत गर्न त्यहाँ सरे। यस इलाकामा दिइएको प्रथम जनभाषण सुन्न ६० जनाभन्दा बढी मानिसहरू भेला भए। अहिले बढ्दै गइरहेको यस समूहलाई नियमित तवरमा आइतबारको सभा तथा केही पुस्तक अध्ययन सञ्चालन गर्न नजिकैको मण्डलीले मदत गरिरहेका छन्। आशा छ, चाँडै त्यस इलाकामा मण्डली स्थापना हुनेछ।
लगनशील भई लागिरहँदा ताइवानको अन्य भागमा सफलता
अन्य इलाकाहरूबाट पनि त्यस्तै प्रतिक्रिया प्राप्त भयो। ताइवानको उत्तरपूर्वी भाग ई-लान प्रान्तमा पनि अस्थायी विशेष अग्रगामीहरू खटाइएको थियो र त्यहाँ पनि नयाँ मण्डली पुस्तक अध्ययन समूहहरू स्थापना भए।
एक साँझ घरघर प्रचारकार्यमा जाँदा अस्थायी विशेष अग्रगामी बहिनीले जवान मानिस भेटिन् र तिनलाई मण्डलीका सभाहरू हुने समयको हातेपर्ची देखाइन्। तिनले तुरुन्तै यस्तो प्रश्न गरे: “के म भोलि बेलुका नै सभामा आए हुन्छ? हुन्छ भने, मैले कस्तो लुगा लगाउनुपर्छ?” यस अग्रगामीले हरेक हप्ता इच्छुक व्यक्तिहरूसित आठवटा बाइबल अध्ययन सञ्चालन गर्न थालिन्। त्यसमध्ये थुप्रै बाइबल अध्ययनहरूले त चाँडै बप्तिस्मा लिएर सुसमाचारको प्रकाशक हुने योजना बनाइरहेका थिए।
त्यही इलाकाका अर्का एक व्यक्ति चर्च जान थालेको वर्षौं भइसकेको थियो तर उनले बाइबलबारे सिकाइदिने कोही पनि पाइनन्। उनले बाइबल अध्ययन कार्यक्रमबारे सुन्ने बित्तिकै यस मौकाको फाइदा उठाई हालिन्। अध्ययन गर्नुअघि नै पाठ तयार गर्न उनलाई प्रोत्साहन दिइयो। उक्त अस्थायी विशेष अग्रगामी बहिनी अध्ययनको निम्ति जाँदा त्यस स्त्रीले एउटा नयाँ नोटबूक किनेर त्यसमा प्रश्नहरू सारेर “गृहपाठ” गरेको पाइन्। अनि उनले प्रत्येक प्रश्नको उत्तर पनि लेखेकी थिइन्। साथै, उनले पाठमा उल्लिखित सबै शास्त्रपदहरू पनि नोटबूकमा सारेकी थिइन्। पहिलो अध्ययनको निम्ति उक्त बहिनी जाँदा त्यस स्त्रीले तीनवटा पाठ तयार गरिसकेकी थिइन्!
मध्य ताइवानको डंगशी भन्ने शहरमा पनि त्यस्तै नतिजा प्राप्त भए। अस्थायी अग्रगामीहरूले त्यहाँ काम गरेको तीन महिनामा २,००० भन्दा बढी पुस्तिकाहरू वितरण गरे। तेस्रो महिनासम्ममा तिनीहरूले १६ वटा गृह बाइबल अध्ययन सञ्चालन गरिसकेका थिए। सेप्टेम्बर २१, १९९९ मा मध्य ताइवानमा आएको भुँइचालोले त्यस शहरको धेरैजसो भाग पूर्णतया नाश भएको थियो तर केही जिज्ञासु व्यक्तिहरूले आध्यात्मिक उन्नति गरिरहेका छन्। सबैभन्दा नजिकैको राज्यभवन पुग्न एक घण्टाभन्दा लामो यात्रा गर्नु परे तापनि तिनीहरू पछि हटेका छैनन्। हो, भौतिक होस् वा आध्यात्मिक, असल बालीको कटनी गर्न लगनशील हुनुपर्छ।
[पृष्ठ ८-मा भएको नक्सा]
चीन
ताइवान घाँटी
ताइवान
[स्रोत]
Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.