सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पुनरुत्थानको आशामा शक्‍ति छ

पुनरुत्थानको आशामा शक्‍ति छ

पुनरुत्थानको आशामा शक्‍ति छ

“मैले सबै कुरा गुमाएँ, . . . ताकि [येशू ख्रीष्ट] र उहाँको पुनरुत्थानको शक्‍ति [जान्‍न सकूँ]।”–फिलिप्पी ३:८-१०.

१, २. (क) वर्षौंअघि एक जना पादरीले पुनरुत्थानबारे कस्तो टिप्पणी गरे? (ख) पुनरुत्थान कसरी हुनेछ?

 सन्‌ १८९० दशकको सुरुतिरको कुरा हो, सं.रा.अ.-को न्यु योर्कस्थित ब्रुक्लिनमा एक जना पादरीले दिएको अचम्मको भाषणबारे एउटा सञ्चारमाध्यमले यस्तो रिपोर्ट गऱ्‍यो। तिनले भने, मानिसको हड्डी र मासु सबै जम्मा गरेर त्यसलाई सजीव पारिनेछ, चाहे त्यो शरीर आगो वा दुर्घटनाले खतम पारेको, जंगली जनावरले खाएको वा मल भएर गएकै किन नहोस्‌। उक्‍त प्रचारकले एउटा विशेष २४ घण्टे दिन हुनेछ र त्यस दिन मरेका मानिसहरूको हातखुट्टा, औंला, हड्डी, मांशपेशी तथा छालाहरूले आकाश डम्मै ढाक्नेछ र चारैतिर अन्धकार हुनेछ भने। त्यसपछि, यी टुक्राटाक्रीहरूले आफ्नो शरीरको अरू भागहरू खोज्नेछन्‌। अन्तमा सिंगो शरीरसित मिलन हुन स्वर्ग र नरकबाट आत्माहरू आउनेछन्‌।

सुरुकै अंगहरू मिलेर पुनरुत्थान हुनेछ भन्‍ने कुरा अतार्किक छ अनि मानिसहरूसित अमर आत्मा हुँदैन। (उपदेशक ९:५, १०; इजकिएल १८:४) पुनरुत्थान गर्न सक्नुहुने यहोवा परमेश्‍वरले मानव शरीरका टुक्राटाक्रीहरू जोडेर सिंगो शरीर बनाउनु पर्दैन। उहाँले पुनरुत्थान हुनेहरूका लागि नयाँ शरीर बनाउन सक्नुहुन्छ। उहाँले आफ्नो पुत्र, येशू ख्रीष्टलाई मरेकाहरूलाई अनन्त जीवनको आशासहित बिउँताउने शक्‍ति दिनुभएको छ। (यूहन्‍ना ५:२६) त्यसैकारण, येशूले यसो भन्‍नुभयो: “पुनरुत्थान र जीवन मै हुँ, मलाई विश्‍वास गर्ने मऱ्‍यो भने पनि बाँच्नेछ।” (यूहन्‍ना ११:२५, २६) कस्तो हृदयस्पर्शी प्रतिज्ञा! यसले हामीलाई परीक्षाहरू सहन अनि यहोवाका वफादार साक्षीहरूको हैसियतमा मृत्यु भोग्नसमेत बल प्रदान गर्छ।

३. पावलले पुनरुत्थानको पक्षमा किन बोल्नुपऱ्‍यो?

मानिसहरूको आत्मा अमर हुन्छ भन्‍ने युनानी दार्शनिक प्लेटोको धारणासित पुनरुत्थानको धारणा मेल खाँदैन। त्यसकारण, प्रेरित पावलले येशूलाई संकेत गर्दै परमेश्‍वरले उहाँको पुनरुत्थान गर्नुभएको कुरा बताउँदा एथेन्सको अरैयापागसमा भेला भएका प्रतिष्ठित युनानीहरूले कस्तो प्रतिक्रिया देखाए? विवरण यसो भन्छ, “जब तिनीहरूले पुनरुत्थानको कुरो सुने, तब कसै कसैले गिल्ला गरे।” (प्रेरित १७:२९-३४) पुनरुत्थान हुनुभएको येशू ख्रीष्टलाई देख्ने थुप्रै मानिसहरू अझ जीवितै थिए र तिनीहरूले अनेकन्‌ गिल्लाको बावजूद उहाँको साँच्चै पुनरुत्थान भएको हो भन्‍ने प्रमाण दिए। तर कोरिन्थ मण्डलीसित सरसंगत गर्ने झूटा शिक्षकहरूले भने पुनरुत्थानलाई स्वीकारेनन्‌। तसर्थ, पावलले १ कोरिन्थी अध्याय १५ मा यस मसीही शिक्षाको पक्षमा जोडदार तर्क प्रस्तुत गरे। तिनका तर्कहरूलाई गहिरिएर अध्ययन गर्दा पुनरुत्थानको आशाको शक्‍तिमा शंका गर्ने कुनै आधार पाउँदैनौं।

येशूको पुनरुत्थानको ठोस प्रमाण

४. पावलले येशूको पुनरुत्थानबारे कस्तो प्रत्यक्षदर्शी प्रमाण दिए?

पावलले आफ्नो तर्क कसरी सुरु गरे, ध्यान दिनुहोस्‌। (१ कोरिन्थी १५:१-११) कोरिन्थीहरूले व्यर्थमा विश्‍वास गरेका होइनन्‌ भने तिनीहरूले उद्धारको सुसमाचार पक्रिरहनेछन्‌। ख्रीष्ट हाम्रा पापहरूको लागि मर्नुभयो, गाडिनुभयो अनि बिउँताइनुभयो। साँच्चै भनौं भने, पुनरुत्थान हुनुभएको येशू केफासकहाँ (पत्रुस) र पछि “बाह्रै जनाकहाँ” देखा पर्नुभयो। (यूहन्‍ना २०:१९-२३) सायद उहाँले ‘गएर चेला बनाओ’ भन्‍ने आज्ञा दिनुहुँदा ५०० जना जतिले देखेका थिए। (मत्ती २८:१९, २०) याकूब र अरू विश्‍वासी प्रेरितहरू सबैले उहाँलाई देखे। (प्रेरित १:६-११) दमीशक नजिकै येशू शावलकहाँ “बेला नपुगी जन्मेको मानिस जस्तै” अर्थात्‌ मानौं शावल आत्मिक प्राणीको रूपमा पुनरुत्थान भइसकेको जस्तै गरी देखा पर्नुभयो। (प्रेरित ९:१-९) पावलले प्रचार गरेको कारण कोरिन्थीहरूले विश्‍वास गरे अनि सुसमाचार स्वीकारे।

५. पहिलो कोरिन्थी १५:१२-१९ अनुसार पावलले कस्तो तर्क प्रस्तुत गरे?

पावलको तर्कलाई विचार गर्नुहोस्‌। (१ कोरिन्थी १५: १२-१९) प्रत्यक्षदर्शीहरूले ख्रीष्टको पुनरुत्थान भइसकेको छ भनेर प्रचार गरेको हुँदा पुनरुत्थान हुँदैन भनेर कसरी भन्‍न सकिन्छ? यदि ख्रीष्ट बिउँतनुभएको होइन भने हाम्रो विश्‍वास बेकार भयो अनि हामी ख्रीष्टको पुनरुत्थान भयो भनेर परमेश्‍वर विरुद्ध साक्षी दिने फटाहाहरू भयौं। यदि मरेकाहरू बिउँताइँदैन भने ‘हामी अझसम्म आफ्ना पापमा छौं’ र ख्रीष्टमा मर्नेहरू पनि नष्ट भएका छन्‌। साथै, “यसै जीवनमा मात्र ख्रीष्टमा हामीले आशा राखेका छौं भने, हामी सबै मानिसहरूभन्दा ज्यादै दयनीय छौं।”

६. (क) येशूको पुनरुत्थानबारे पुष्टि दिंदै पावलले के भने? (ख) ‘सबैभन्दा अन्तिम शत्रु’ के हो र यसलाई कसरी नामेट पारिनेछ?

पावलले येशूको पुनरुत्थानको पुष्टि दिए। (१ कोरिन्थी १५:२०-२८) मर्नेहरूमा ख्रीष्ट “पहिलो फल” हुनु भए तापनि अरूहरूको पनि पुनरुत्थान हुनेछ। आदमको अनाज्ञाकारिताले गर्दा मृत्यु भयो भने अर्को मानिस, येशूले पुनरुत्थान सम्भव तुल्याउनुभयो। उहाँको साथमा हुनेहरू उहाँको उपस्थितिमा पुनरुत्थान हुनेछन्‌। ख्रीष्टले परमेश्‍वरको सार्वभौमिकताको विरोध गर्ने “सारा प्रभुत्व, सारा अख्तियार र शक्‍ति नामेट” पार्नुहुनेछ अनि यहोवाले सबै शत्रुहरू उहाँको पाउमुनि नराखुञ्जेल राजाको हैसियतमा शासन गर्नुहुनेछ। आदमबाट वंशाणुगत पाएको ‘सबैभन्दा अन्तिम शत्रु’ मृत्युलाई ख्रीष्टको बलिदानको आधारमा नामेट पारिनेछ। त्यसपछि, ख्रीष्टले यो राज्य परमेश्‍वर र पितालाई सुम्पनुहुनेछ अनि आफू “परमेश्‍वर सबैमा सवश्रेष्ठ हुनालाई, सबै कुरा उहाँको अधीनमा ल्याउनुहुने पुत्र पनि उहाँको अधीनमा हुनुहुनेछ।”

मरेकाहरूका निम्ति बप्तिस्मा?

७. “मरेकाहरूका निम्ति बप्तिस्मा” लिनेहरू को हुन्‌ र तिनीहरूको लागि यसको अर्थ के हो?

पुनरुत्थानका विरोधीहरूलाई यो प्रश्‍न सोधियो: “मरेकाहरूका निम्ति बप्तिस्मा लिनेहरू के गर्नेछन्‌?” (१ कोरिन्थी १५:२९) पावलले यहाँ बाँचेकाहरूले मरेकाहरूको निम्ति बप्तिस्मा लिनुपर्छ भन्‍न खोजेका होइनन्‌ किनभने येशूका चेलाहरूले व्यक्‍तिगत तवरमा सिक्नुपर्छ, विश्‍वास गर्नुपर्छ अनि बप्तिस्मा लिनुपर्छ। (मत्ती २८:१९, २०; प्रेरित २:४१) अभिषिक्‍त मसीहीहरू जीवन र पुनरुत्थानमा पुऱ्‍याउने मार्गमा लागेर “मरेकाहरूका निम्ति बप्तिस्मा” लिन्छन्‌। परमेश्‍वरको पवित्र आत्माले तिनीहरूमा स्वर्गीय आशा राखिदिंदा यसप्रकारको बप्तिस्मा सुरु हुन्छ र तिनीहरूले मृत्युपछि स्वर्गमा अमर आत्मिक जीवन पाउँदा त्यसको अन्त हुन्छ।—रोमी ६:३-५; ८:१६, १७; १ कोरिन्थी ६:१४.

८. शैतान र त्यसका सेवकहरूले मारिहालेको खण्डमा पनि मसीहीहरू कुन कुरामा ढुक्क हुनसक्छन्‌?

पावलका शब्दहरूले संकेत गरेअनुसार पुनरुत्थानको आशाले मसीहीहरूलाई खतरनाक घडी सहन अनि राज्य प्रचारकार्यमा लाग्दा दिनहुँजसो मृत्युको सामना गर्न बल प्रदान गर्छ। (१ कोरिन्थी १५:३०, ३१) शैतान र त्यसका सेवकहरूको हातमा मर्न दिनुभयो भने पनि यहोवाले पुनरुत्थान गर्न सक्नुहुन्छ भनेर तिनीहरूलाई थाह छ। परमेश्‍वरले मात्र तिनीहरूको प्राण वा जीवनशक्‍तिलाई गेहन्‍नामा हाल्न अर्थात्‌ अनन्त विनाश गर्न सक्नुहुन्छ।—लूका १२:५.

सजग हुनुपर्ने खाँचो

९. पुनरुत्थानको आशाले हामीलाई सम्हालेको चाहन्छौं भने हामीले के गर्नुहुँदैन?

पुनरुत्थानको आशाले पावललाई सम्हाल्यो। एफिससमा छँदा शत्रुहरूले तिनलाई जंगली जनावरहरूसित रंगशालामा फ्याँके होलान्‌। (१ कोरिन्थी १५:३२) त्यसो भएको भए तापनि दानियललाई सिंहको खोरबाट बचाइएझैं तिनी पनि बचाइए। (दानियल ६:१६-२२; हिब्रू ११:३२, ३३) पावलले पुनरुत्थानमा आशा राखेको हुँदा तिनले यशैयाको समयमा यहूदाका धर्मत्यागीहरूको जस्तो मनोवृत्ति राखेनन्‌। तिनीहरू भन्थे: “लौ, खाऔं र पियौं, किनकि भोलि ता हामी मर्नेछौं।” (यशैया २२:१३) पुनरुत्थानको आशाले पावललाई जस्तै हामीलाई पनि सम्हालेको चाहन्छौं भने हामीले त्यस्तो नकारात्मक मनोवृत्ति राख्नेहरूसित सरसंगत गर्नुहुँदैन। पावलले यस्तो चेताउनी दिए, “नठगियौ, खराब संगतले भला चाल-चलनलाई बिगार्दछ।” (१ कोरिन्थी १५:३३) निस्सन्देह, यो सिद्धान्त हाम्रो जीवनको विभिन्‍न पक्षमा लागू हुन्छ।

१०. पुनरुत्थानको हाम्रो आशालाई कसरी जीवित राख्न सकिन्छ?

१० पुनरुत्थानमाथि शंका गर्नेहरूलाई पावलले यसो भने: “धर्मको निम्ति जागा बस र पाप नगर किनकि कसै कसैलाई परमेश्‍वरको ज्ञानै छैन। तिमीहरूलाई शर्ममा पार्नलाई म यो भन्दछु।” (१ कोरिन्थी १५:३४) यस “अन्तको समय[मा]” हामी परमेश्‍वर र ख्रीष्टको सही ज्ञानअनुसार हिंड्‌नुपर्छ। (दानियल १२:४; यूहन्‍ना १७:३) यसले पुनरुत्थानको आशालाई जीवित राख्नेछ।

कस्तो शरीरमा पुनरुत्थान?

११. पावलले अभिषिक्‍त मसीहीहरूको पुनरुत्थानलाई कुन उदाहरणद्वारा प्रस्ट पारे?

११ त्यसपछि पावलले विभिन्‍न प्रश्‍नहरूको जवाफ दिए। (१ कोरिन्थी १५:३५-४१) हुनसक्छ, पुनरुत्थानबारे शंका पैदा गर्न कसैले यस्तो प्रश्‍न गर्लान्‌: “मरेकाहरू कसरी बिउँतन्छन्‌? र तिनीहरू कस्तो किसिमको शरीर लिएर आउँछन्‌?” पावलले देखाएझैं जमिनमा रोपिएको बीउ मर्छ र त्यसबाट एउटा सानो बोट अंकुराउँछ। त्यसरी नै, आत्मा-अभिषिक्‍त मानवहरू पहिले मर्नुपर्छ। अनि बीउबाट सानो बोट अंकुराएझैं अभिषिक्‍त मसीहीहरू, मानव शरीरभन्दा बेग्लै शरीर लिएर पुनरुत्थान हुनेछन्‌। तिनको स्वभाव पहिलेको जस्तै भए तापनि तिनी स्वर्गमा बाँच्नसक्ने आत्मिक शरीर लिएर नयाँ प्राणीको हैसियतमा बिउँताइनेछन्‌। तथापि, पृथ्वीमा पुनरुत्थान हुनेहरूको चाहिं हाडमासुकै शरीर हुनेछ भन्‍ने कुरामा कुनै शंका छैन।

१२. “दैविक शरीर” र “लौकिक शरीर[को]” अर्थ के हो?

१२ पावलले भनेझैं मानिस र जनावरको शरीर एउटै हुँदैन। जनावरको शरीरसमेत बेग्लाबेग्लै प्रकारको हुन्छ। (उत्पत्ति १:२०-२५) आत्मिक प्राणीहरूको “दैविक शरीर” र हाडमासुको “लौकिक शरीर[को]” तेज बेग्लाबेग्लै हुन्छ। सूर्य, चन्द्र र ताराहरूको प्रकाशमा पनि भिन्‍नता छ। तर पुनरुत्थान भएका अभिषिक्‍त जनहरूको तेज यीभन्दा महान्‌ हुन्छ।

१३. पहिलो कोरिन्थी १५:४२-४४ अनुसार के छरिन्छ र के बिउँताइन्छ?

१३ यी भिन्‍नताहरू बताइसकेपछि पावलले यसो पनि भने: “मरेकाहरूको पुनरुत्थान पनि त्यस्तै हो।” (१ कोरिन्थी १५:४२-४४) तिनले यसो पनि भने: “विनाशमा त्यो छरिन्छ, अविनाशमा बिउँताइन्छ।” यहाँ पावलले अभिषिक्‍त जनहरूलाई सामूहिक तवरमा सम्बोधन गरेको हुनसक्छ। मृत्युमा विनाश छरिन्छ, पापमुक्‍त अविनाशमा बिउँताइन्छ। संसारले अनादर गरे तापनि स्वर्गमा आत्मिक शरीरमा बिउँताइन्छन्‌ र ख्रीष्टसित महिमामा प्रकट हुन्छन्‌। (प्रेरित ५:४१; कलस्सी ३:४) मृत्युमा “प्राकृतिक शरीरमा” छरिन्छ र पछि “आत्मिक शरीरमा” बिउँताइन्छ। आत्मा-अभिषिक्‍त मसीहीहरूको यस्तो पुनरुत्थान हुने हुँदा पृथ्वीमा अरू पनि बिउँताइनेछन्‌ भनेर हामी निश्‍चिन्त हुनसक्छौं।

१४. पावलले ख्रीष्ट र आदमबीचको भिन्‍नता कसरी देखाए?

१४ त्यसपछि पावलले ख्रीष्ट र आदमबीचको भिन्‍नता देखाए। (१ कोरिन्थी १५:४५-४९) पहिलो मानिस आदम “जीवित प्राणी भयो।” (उत्पत्ति २:७) “पछिल्लो आदम” येशू “जीवन दिने आत्मा हुनुभयो।” उहाँले प्रथमतः आफ्ना अभिषिक्‍त अनुयायीहरूको खातिर आफ्नो जीवन छुडौतीको बलिदानको रूपमा चढाउनुभयो। (मर्कूस १०:४५) मानिसहरूको हैसियतमा तिनीहरूले ‘माटाको रूप धारण गर्छन्‌’ तर पुनरुत्थानपछि तिनीहरू पछिल्लो आदमजस्तै हुनेछन्‌। निस्सन्देह, येशूको बलिदानले यस पृथ्वीमा पुनरुत्थान हुने मानिसहरूलगायत सबै आज्ञाकारी मानिसहरूलाई लाभ पुऱ्‍याउनेछ।—१ यूहन्‍ना २:१, २.

१५. अभिषिक्‍त मसीहीहरूको पुनरुत्थान शारीरिक शरीरमा किन हुँदैन र तिनीहरू येशूको उपस्थितिमा कसरी बिउँताइन्छन्‌?

१५ अभिषिक्‍त मसीहीहरूको मृत्यु हुँदा तिनीहरू हाडमासुले बनेको शरीरमा बिउँताइँदैनन्‌। (१ कोरिन्थी १५:५०-५३) मासु र रगतको विनाशी शरीर, अविनाश र स्वर्गीय राज्यको हकदार हुनसक्दैन। कोही कोही अभिषिक्‍त मसीहीहरूले मृत्युको चिर निद्रामा लामो समय पर्खनु पर्नेछैन। येशूको उपस्थितिको दौडान वफादार भएर आफ्ना पार्थिव जीवन पूरा गर्नेहरू “एकै क्षणमा, आँखाको एक निमेषमा” बिउँताइनेछन्‌। तिनीहरू मर्नेबित्तिकै अविनाश र महिमामा आत्मिक जीवनमा पुनरुत्थान हुनेछ। अन्ततः ख्रीष्टको स्वर्गीय “दुलही[को]” संख्या १,४४,००० पुग्नेछ।—प्रकाश १४:१; १९:७-९; २१:९; १ थिस्सलोनिकी ४:१५-१७.

मृत्युमाथि विजय!

१६. पावल र तिनीअघिका अगमवक्‍ताहरूअनुसार पापी आदमबाट पाएको मृत्युलाई के हुनेछ?

१६ सधैंको लागि मृत्युमाथि विजय हुनेछ भनेर पावलले खुसीसाथ घोषणा गरे। (१ कोरिन्थी १५:५४-५७) विनाशी र मरणशील शरीरले अविनाशी शरीर र अमरता धारण गरेपछि यी शब्दहरू पूरा हुनेछन्‌: “मृत्यु विजयमा निलियो।” “ए मृत्यु, तेरो विजय कहाँ? ए मृत्यु, तेरो खील कहाँ?” (यशैया २५:८; होशे १३:१४) मृत्युको खील पाप हो र व्यवस्था नै पापीहरूलाई मृत्युको सजाय दिने पापको शक्‍ति थियो। तर येशूको बलिदान र पुनरुत्थानले गर्दा पापी आदमबाट पाएको मृत्यु विजयी हुनेछैन।—रोमी ५:१२; ६:२३.

१७. पहिलो कोरिन्थी १५:५८ का शब्दहरू अहिले कसरी लागू हुन्छ?

१७ पावलले यसो भने, “यसकारण, ए मेरा प्रिय भाइ हो, स्थिर र अटल बस। सधैं प्रभुको काममा प्रशस्त हुँदै जाओ। किनकि तिमीहरू जान्दछौ, कि तिमीहरूको परिश्रम प्रभुमा व्यर्थ हुँदैन।” (१ कोरिन्थी १५:५८) वर्तमान समयका अभिषिक्‍त शेष जन र येशूका “अरू भेडा” अहिले आखिरी दिनमा मरे तापनि यो कुरा तिनीहरूमा लागू हुन्छ। (यूहन्‍ना १०:१६) राज्य उद्‌घोषकहरूको हैसियतमा तिनीहरूले गरेको प्रयास बेकार जानेछैन किनभने तिनीहरूको पुनरुत्थान हुनेछ। त्यसकारण, यहोवाका सेवकहरूको हैसियतमा त्यो दिनको प्रतीक्षा गर्दै प्रभुको काममा व्यस्त हुन सकौं र त्यो दिन हामी खुसीसाथ यसो भन्‍नेछौं: “ए मृत्यु, तेरो विजय कहाँ?”

पुनरुत्थानको आशा पूरा हुन्छ!

१८. पुनरुत्थानमाथि पावलको कस्तो बलियो विश्‍वास थियो?

१८ पहिलो कोरिन्थी १५ अध्यायमा लिपिबद्ध पावलका शब्दहरूले तिनको जीवनमा पुनरुत्थानको आशाले पारेको प्रभाव प्रस्ट पार्छ। येशू बिउँताइनुभयो र अरू थुप्रै मानिसहरूलाई पनि चिहानबाट मुक्‍त पारिनेछ भन्‍ने कुरामा तिनलाई पटक्कै शंका थिएन। के तपाईंसित पनि त्यस्तो बलियो विश्‍वास छ? पावलले ‘ख्रीष्ट र उहाँको पुनरुत्थानको शक्‍ति’ जान्‍न सकूँ भनेर स्वार्थी इच्छाहरूलाई “रद्दी” सम्झे र ‘सबै कुरा गुमाए।’ प्रेरित पावल सुरुको “पुनरुत्थान” प्राप्त गर्न सकूँ भन्‍ने आशामा ख्रीष्टको जस्तै मृत्यु भोग्न तयार थिए। यसलाई “पहिलो पुनरुत्थान” पनि भनिन्छ र यो ख्रीष्टका १,४४,००० अभिषिक्‍त अनुयायीहरूले अनुभव गर्नेछन्‌। हो, तिनीहरूले स्वर्गमा आत्मिक जीवन पाउनेछन्‌ र “बाँकी मरेकाहरू[को]” पनि पृथ्वीमा पुनरुत्थान हुनेछ।—फिलिप्पी ३:८-११; प्रकाश ७:४; २०:५, ६.

१९, २०. (क) बाइबलमा उल्लिखित क-कसको पृथ्वीमा पुनरुत्थान हुनेछ? (ख) तपाईं कसको पुनरुत्थानको प्रतीक्षामा हुनुहुन्छ?

१९ मृत्युसम्मै विश्‍वासी रहने अभिषिक्‍त जनहरूको लागि पुनरुत्थानको आशा एउटा गौरवमय वास्तविकता भएको छ। (रोमी ८:१८; १ थिस्सलोनिकी ४:१५-१८; प्रकाश २:१०) “महा संकष्टबाट” बच्नेहरूले पृथ्वीमा पनि पुनरुत्थान भएको देख्नेछन्‌ जब ‘समुद्रले त्यसमा भएका मुर्दाहरूलाई दिनेछन्‌, औ मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरूलाई दिनेछन्‌।’ (प्रकाश ७:९, १३, १४; २०:१३) पृथ्वीमा बिउँताइनेहरूमाझ अय्यूब पनि हुनेछ जसले आफ्ना सात छोरा र तीन छोरीको मृत्यु सहनुपऱ्‍यो। तिनीहरूलाई स्वागत गर्न पाउँदा अय्यूब कत्ति हर्षित होलान्‌ अनि तिनका छोराछोरी आफ्ना अरू सात जना भाइ र तीन जना राम्री राम्री बहिनीहरूलाई भेट्‌न पाउँदा कत्ति खुसी होलान्‌!—अय्यूब १:१, २, १८, १९; ४२:१२-१५.

२० अब्राहाम र सारा, इसहाक र रिबेका, “सबै अगमवक्‍ताहरू” र अरू थुप्रै मानिसहरू यस पृथ्वीमा बिउँताइँदा कस्तो रमाहट हुनेछ! (लूका १३:२८) त्यसमध्ये एक जना, अगमवक्‍ता दानियल थिए जसलाई मसीही राज्यमा पुनरुत्थानको प्रतिज्ञा गरिएको थियो। दानियलले चिहानमा पर्खेर बसेको लगभग २,५०० वर्ष भइसक्यो तर पुनरुत्थानको शक्‍तिले गर्दा तिनी “सारा पृथ्वीभरिका राजकुमार[हरूमध्ये],’ एक राजकुमारको हैसियतमा ‘आफ्नो ठहराइएको दिन हेर्न खडा हुनेछन्‌।’ (दानियल १२:१३; भजन ४५:१६) पुरातन समयका विश्‍वासी जनहरू मात्र होइन तर तपाईंले मृत्युमा गुमाउनुपरेका तपाईंको आमा, बुबा, छोरा, छोरी वा अरू प्रिय जनहरूलाई स्वागत गर्न पाउनु कस्तो रोमाञ्चकारी हुनेछ!

२१. हामीले अरूको भलाइ गर्न किन ढिलासुस्ती गर्नुहुँदैन?

२१ हाम्रा कतिपय साथीहरू तथा प्रियजनहरू निकै वर्षसम्म यहोवाको सेवा गरेर अहिले वृद्ध भइसकेका होलान्‌। ढल्किंदै गएको उमेरले गर्दा तिनीहरूलाई दैनिक जीवनका चुनौतीहरू सामना गर्न गाह्रो हुनसक्छ। तिनीहरूलाई हामीले अहिले सकेसम्म मदत गर्नु कत्ति मायालु कुरा हो! त्यसो गऱ्‍यौं भने, कथंकदाचित्‌ तिनीहरूको मृत्यु भइहालेमा हामीले तिनीहरूलाई मदत गर्न नसकेकोमा पछुताउनुपर्ने छैन। (उपदेशक ९:११; १२:१-७; १ तिमोथी ५:३, ८) हामीले विभिन्‍न उमेर वा परिस्थितिमा परेका अरू व्यक्‍तिहरूको निम्ति गरेको भलाइ यहोवाले कदापि बिर्सनुहुनेछैन भनेर हामी निश्‍चिन्त हुनसक्छौं। पावलले यसप्रकार लेखे: “अब मौका हुँदानै सबै मानिसतर्फ, खास गरेर विश्‍वासका घरानातर्फ, भलाइको काम गरौं।”—गलाती ६:१०; हिब्रू ६:१०.

२२. पुनरुत्थानको आशा पूरा नहोउञ्जेल हामी के गर्न कटिबद्ध हुनुपर्छ?

२२ यहोवा “कृपाका पिता, र सबै सान्त्वनाका परमेश्‍वर” हुनुहुन्छ। (२ कोरिन्थी १:३, ४) उहाँको वचनले हामीलाई सान्त्वना दिन्छ र अरूलाई पनि पुनरुत्थानको शक्‍तिशाली आशाले सान्त्वना दिन मदत गर्छ। मरेकाहरूको यस पृथ्वीमा पुनरुत्थान भएर त्यो आशा वास्तविक नहोउञ्जेलसम्म हामी पावलजस्तै पुनरुत्थानमा विश्‍वास गरौं। हामी विशेष गरी येशूको अनुकरण गर्न सकौं किनकि उहाँले पुनरुत्थान गर्ने परमेश्‍वरको शक्‍ति देख्नुभयो। परमेश्‍वरको सम्झनामा हुनेहरूले अब चाँडै ख्रीष्टको स्वर सुन्‍नेछन्‌ र चिहानबाट निस्किआउनेछन्‌। यसबाट हामीले सान्त्वना र आनन्द प्राप्त गर्न सकौं। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रा प्रभु येशू ख्रीष्टमार्फत मृत्युमाथि विजयी तुल्याउनुहुने यहोवालाई धन्यवाद चढाऔं!

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• पावलले येशूको पुनरुत्थानबारे कस्तो प्रत्यक्षदर्शी प्रमाण दिए?

• “अन्तिम शत्रु” के हो र यसलाई कसरी नामेट पारिनेछ?

• अभिषिक्‍त मसीहीहरूको सन्दर्भमा के छरिन्छ र के बिउँताइन्छ?

• पृथ्वीमा पुनरुत्थान भएपछि बाइबलमा लिपिबद्ध क-कसलाई तपाईं भेट्‌न चाहनुहुन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको चित्र]

प्रेरित पावलले पुनरुत्थानको पक्षमा जोडदार तर्क प्रस्तुत गरे

[पृष्ठ २०-मा भएका चित्रहरू]

अय्यूब, तिनको परिवार र अरू थुप्रैको पुनरुत्थान हुँदा हर्षको सीमै रहनेछैन!