सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पुनरुत्थानको आशा पक्का छ!

पुनरुत्थानको आशा पक्का छ!

पुनरुत्थानको आशा पक्का छ!

“पुनरुत्थान हुन्छ भन्‍ने आशा परमेश्‍वरतर्फ राखेको छु।”–प्रेरित २४:१५.

१. हामी किन पुनरुत्थानमा आशा राख्नसक्छौं?

 यहोवाले हामीलाई पुनरुत्थानमा आशा राख्ने ठोस कारणहरू दिनुभएको छ। उहाँले मृतकहरू जिउनेछन्‌ र पुनः जीवन प्राप्त गर्नेछन्‌ भन्‍ने आश्‍वासन दिनुभएको छ। अनि मृत्युको चिर निद्रामा परेकाहरूको निम्ति उहाँको उद्देश्‍य पक्कै पूरा हुनेछ। (यशैया ५५:११; लूका १८:२७) साँच्चै भनौं भने, मृतकहरूलाई बिउँताउने क्षमता परमेश्‍वरले देखाइसक्नुभएको छ।

२. पुनरुत्थानको आशाले हामीलाई कसरी लाभ पुऱ्‍याउनसक्छ?

आफ्नो पुत्र येशू ख्रीष्टमार्फत मरेकाहरूलाई बिउँताउने परमेश्‍वरको प्रबन्धले हामीलाई तनाउको बेला सम्हाल्छ। पुनरुत्थानको आशाको निश्‍चितताले हामीलाई मृत्युको मुखमै पर्दासमेत स्वर्गमा हुनुहुने पिताप्रति निष्ठा कायम राख्न मदत गर्नसक्छ। मरेकाहरू बिउँताइएका घटनाहरूबारे बाइबलमा उल्लिखित विवरणहरू विचार गऱ्‍यौं भने हाम्रो पुनरुत्थानमाथिको आशा अझ बलियो हुनेछ। यी सबै चमत्कारहरू, सार्वभौम प्रभु यहोवाको शक्‍तिबाट सम्भव भएका हुन्‌।

तिनीहरूले मरेकाहरूलाई पुनरुत्थानद्वारा जीवित पाए

३. सारपतमा बस्ने विधवाको छोराको मृत्यु हुँदा एलियाले कस्तो शक्‍ति पाए?

यहोवाका मसीहीपूर्व साक्षीहरूले देखाएका विश्‍वासबारे प्रेरित पावलले यसप्रकार लेखे: “स्त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा जीवित पाए।” (हिब्रू ११:३५; १२:१) तीमध्ये एक जना, सारपतको फोनिसियाली शहरकी गरिब विधवा पनि थिइन्‌। तिनले परमेश्‍वरको अगमवक्‍ता एलियाको राम्रो हेरचाह गरेकी हुँदा तिनी र तिनको छोराको ज्यानै जानसक्ने अनिकालको बेलामा पनि चमत्कारपूर्ण ढंगमा तिनको पीठो र तेल कहिल्यै सिद्धिएन। तिनको छोरा मरेपछि एलियाले त्यस ठीटालाई ओछ्यानमा राखे, प्रार्थना गरे अनि तीन पल्ट बालकमाथि लमतन्‍न परेर बिन्ती गरे: “हे परमप्रभु मेरा परमेश्‍वर, बिन्ती छ, जीवनको सास फेरि यस बालकको शरीरमा फर्कोस्‌।” परमेश्‍वरले बालकको शरीरमा जीवनको सास फर्काइ दिनुभयो। (१ राजा १७:८-२४) यो विधवाले यसरी आफ्नो प्यारो छोराको पुनरुत्थान हुँदा आफ्नो विश्‍वासको कत्ति ठूलो इनाम पाइन्‌ र तिनी कत्ति खुसी भई होलिन्‌, कल्पना गर्नुहोस्‌ त। यो, बाइबलमा लिपिबद्ध पहिलो पुनरुत्थान हो!

४. एलीशाले शुनैममा कस्तो चमत्कार गरे?

आफ्नो मृतजनलाई पुनरुत्थानबाट जीवित फिर्ता पाउने अर्की स्त्री शुनैम शहरमा बस्थिन्‌। तिनका पति वृद्ध भइसकेका थिए। तिनले अगमवक्‍ता एलीशा र तिनको चाकरप्रति दया देखाइन्‌। इनामस्वरूप तिनले छोरा जन्माइन्‌। तर धेरै वर्षपछि त्यो छोराको मृत्यु हुँदा एलीशा अगमवक्‍तालाई फेरि बोलाइन्‌। एलीशाले प्रार्थना गरेर दुई चार थोक गरेपछि “त्यस बालकको शरीर तातो हुँदै आयो।” “त्यस ठीटाले सात खेप छिउँ काढ़यो। तब त्यस ठीटाले आँखा खोल्यो।” यो पुनरुत्थानले गर्दा आमा छोरा दुवै हर्षित भए। (२ राजा ४:८-३७; ८:१-६) तिनीहरूले “उत्तम पुनरुत्थान [मार्फत]” जीवन पाउँदा झनै कत्ति रोमाञ्चित हुनेछन्‌। किनकि त्यसपछि तिनीहरू फेरि कहिल्यै मर्नु पर्नेछैन! पुनरुत्थानको प्रबन्ध गर्नुहुने मायालु परमेश्‍वर, यहोवालाई धन्यवाद दिनुपर्ने कस्तो ठोस कारण!—हिब्रू ११:३५.

५. मृत्युपछि पनि एलीशाले कसरी चमत्कार गरे?

एलीशा मरेर तिनको लास गाडिसकेपछि पनि परमेश्‍वरले तिनका हड्डीहरूलाई पवित्र आत्मामार्फत शक्‍तिशाली बनाउनुभयो। त्यस सम्बन्धमा हामी यस्तो लेखिएको पाउँछौं: “एकपल्ट [केही इस्राएलीहरूले] एउटा लाश गाड़दै थिए। त्यही बेला तिनीहरूले ती लूटपीट गर्ने [मोआबीहरूलाई] देखे। तिनीहरूले त्यस लाशलाई एलीशाको चिहानमा त्यसै फ्याँकिराखेर भागे। त्यस लाशले ती अगमवक्‍ताका हड्‌डीहरू छुने बित्तिकै त्यो मानिस जीवित भएर आफ्नो खुट्टामा उभियो।” (२ राजा १३:२०, २१) त्यो मानिस कत्ति दंग र गद्‌गद भयो होला! यहोवाको अचूक प्रतिज्ञाअनुसार हाम्रा प्रिय मृतजनहरू बिउँताइँदा हामी कत्ति आनन्दित हुनेछौं, कल्पना गर्नुहोस्‌!

परमेश्‍वरको पुत्रले मरेकाहरूलाई बिउँताउनुभयो

६. येशूले नाइन शहर नजिकै कस्तो चमत्कार गर्नुभयो र यो घटनाले हामीलाई कसरी प्रभाव पार्नसक्छ?

परमेश्‍वरको पुत्र, येशू ख्रीष्टले हामीलाई मृतकहरूको पुनरुत्थान हुनेछ र तिनीहरूले सधैंभरि बाँच्ने प्रत्याशा पाउनेछन्‌ भन्‍ने ठोस कारणहरू दिनुभएको छ। परमेश्‍वरले दिनुहुने शक्‍तिद्वारा त्यस्तो चमत्कार हुनसक्छ भन्‍ने कुरा बुझ्न नाइन शहर नजिकै भएको घटनाले हामीलाई मदत गर्छ। एक चोटि येशूले मुर्दा बोकेर गइरहेको मलामीहरू भेट्‌नुभयो। यो मुर्दा, विधवाको एक्लो छोरा थियो। येशूले विधवालाई भन्‍नुभयो: “नरोऊ।” त्यसपछि उहाँले अर्थीलाई छोएर भन्‍नुभयो: “ए युवक, म तिमीलाई भन्दछु, उठ्‌।” तब त्यो उठ्यो र बस्यो। (लूका ७:११-१५) यस चमत्कारले पुनरुत्थानको आशा पक्का हो भन्‍ने हाम्रो विश्‍वासलाई अझ बलियो बनाउँछ।

७. याइरसकी छोरीलाई के भयो?

सभाघरका शासक, याइरससित सम्बन्धित अर्को घटनालाई पनि विचार गर्नुहोस्‌। तिनले येशूलाई मृत्युशय्यामा परेकी आफ्नी १२ वर्षीया छोरीलाई बचाउन घरमा आउने आग्रह गरे। तर यसो भनेको केही समय नबित्दै त्यस ठिटीको मृत्यु भइसकेको खबर आइपुग्यो। शोकाकुल याइरसलाई विश्‍वास गर्ने आग्रह गर्दै येशू तिनीसित घर जानुभयो र त्यहाँ जम्मा भएको भीड पनि रोइरहेको थियो। येशूले यसो भन्‍नुहुँदा तिनीहरू हाँस्न थाले: “ठिटी मरेकी छैन, तर सुतिरहेकी छ।” वास्तवमा तिनी मरिसकेकी थिइन्‌ तर मस्त निदाएको व्यक्‍तिलाई उठाउन सकिएझैं मरेकाहरूलाई पनि बिउँताउन सकिन्छ भनी येशूले देखाउन लाग्नुभएको थियो। ठिटीको हात समातेर उहाँले भन्‍नुभयो: “ए कन्या उठ!” ऊ जुरुक्क उठी र उसका आमाबाबुहरू हर्षविभोर भएर “साह्रै छक्कमाथि छक्क परे।” (मर्कूस ५:३५-४३; लूका ८:४९-५६) निस्सन्देह, पार्थिव प्रमोदवनमा प्रिय मृतजनहरूको पुनरुत्थान हुँदा परिवारका शिरहरू हर्षविभोर भएर “साह्रै छक्कमाथि छक्क” पर्नेछन्‌।

८. येशूले लाजरसको चिहानमा के गर्नुभयो?

येशूले चिहानको मुखमा छोपिराखेको ढुंगा हटाउनुहुँदा लाजरस मरेको चार दिन भइसकेको थियो। उहाँले पनि ईश्‍वरप्रदत्त शक्‍तिलाई गुहार्नुपर्छ भनी देखाउन येशूले जनसमक्ष प्रार्थना गर्नुभयो र त्यसपछि ठूलो स्वरले कराउनुभयो: “लाजरस, बाहिर निस्की आऊ!” तिनी बाहिर निस्के! तिनको हातखुट्टा अझै कात्रोले बाँधिएको र तिनको अनुहार रुमालले बेह्रिएको थियो। येशूले भन्‍नुभयो, “तिनलाई फुकाइदेऊ, र जानदेऊ।” यो चमत्कार देखेपछि लाजरसकी दिदीहरू मार्था र मरियमलाई सान्त्वना दिन आएका थुप्रैले येशूमाथि विश्‍वास गरे। (यूहन्‍ना ११:१-४५) के यस विवरणले तपाईंका मरेका प्रियजनहरू पनि परमेश्‍वरको नयाँ संसारमा बिउँतनेछन्‌ भन्‍ने आशा प्रदान गर्दैन र?

९. येशूले मरेकाहरूलाई बिउँताउन सक्नुहुन्छ भनी हामी किन पक्का हुनसक्छौं?

बप्तिस्मा दिने यूहन्‍ना झ्यालखानामा छँदा येशूले तिनलाई यस्तो हृदयस्पर्शी सन्देश पठाउनुभयो: “अन्धाहरू देख्तछन्‌, . . . मरेकाहरू बिउँझाइन्छन्‌।” (मत्ती ११:४-६) पृथ्वीमा छँदा येशूले मरेकाहरूलाई बिउँताउनुभएको कारण परमेश्‍वरबाट शक्‍ति पाउनुभएको आत्मिक प्राणीको हैसियतमा उहाँले पछि पनि पक्कै बिउँताउन सक्नुहुनेछ। येशू, “पुनरुत्थान र जीवन” हुनुहुन्छ अनि निकट भविष्यमा “चिहानमा हुनेहरू सबैले [उहाँको] सोर सुन्‍नेछन्‌” भनी थाह पाउनु एकदमै सान्त्वनादायी कुरा हो!—यूहन्‍ना ५:२८, २९; ११:२५.

अरू पुनरुत्थानहरूले हाम्रो आशा

अझ बलियो बनाउँछ

१०. प्रेरितले गरेको पहिलो पुनरुत्थानलाई तपाईं कसरी वर्णन गर्नुहुन्छ?

१० येशूले आफ्ना प्रेरितहरूलाई राज्य प्रचारकहरूको हैसियतमा पठाउनुहुँदा यसो भन्‍नुभयो: “मरेकाहरूलाई जगाओ।” (मत्ती १०:५-८) यसो गर्न तिनीहरूले अवश्‍य परमेश्‍वरको शक्‍तिमा भरोसा गर्नुपर्थ्यो। सा.यु. ३६ मा जोप्पाकी धर्मी स्त्री डोरकास (तबीता) मृत्युको चिर निन्द्रामा परिन्‌। तिनले गरेका असल कार्यहरूमध्ये गरिब विधवाहरूको लागि लुगाफाटा सिउनु पनि थियो र यसकारण तिनको मृत्यु हुँदा ती विधवाहरूबीच ठूलो रुवाबासी भयो। चेलाहरूले तिनलाई गाड्‌ने तयारी गरे र हुनसक्छ, केही सान्त्वनाको लागि प्रेरित पत्रुसलाई बोलाए। (प्रेरित ९:३२-३८) पत्रुसले माथिल्लो तलाको एउटा कोठाबाट सबैलाई बाहिर निकालिसकेपछि यसो भने: “ए तबीता, उठ!” तिनले आँखा खोलिन्‌, उठेर बसिन्‌ अनि पत्रुसले तिनलाई आफ्ना हात दिएर जुरुक्कै उठाए। प्रेरितहरूले गरेको यो पहिलो चमत्कारले गर्दा थुप्रैले विश्‍वास गर्न थाले। (प्रेरित ९:३९-४२) यसले पनि हामीलाई पुनरुत्थानमा आशा राख्ने थप कारण दिन्छ।

११. बाइबलमा लिपिबद्ध अन्तिम पुनरुत्थान कसको थियो?

११ बाइबलमा उल्लिखित अन्तिम पुनरुत्थान त्रोआसमा भयो। तेस्रो मिसनरी यात्राको दौडान त्रोआसमा रोकिंदा पावल आधा रातसम्म कुरा गरिरहे। थकित र हुनसक्छ, धेरै बत्तीहरूको राप र गुम्म ठाउँले गर्दा युटाइकस नाउँ गरेका युवक झ्यालैमा निदाए अनि तीन तला माथिबाट खसे। तिनी बेहोस मात्र होइन तर “मरेको फेला पऱ्‍यो।” पावल युटाइकसमाथि पस्रिएर अंगालो हाल्दै त्यहाँ जम्मा भएको भीडलाई भने: “खैलाबैला नगर, किनभने त्यसको सास त्यसमा छँदैछ।” पावलले यहाँ त्यो युवक बिउँतिसकेको कुरा भन्‍न खोजिरहेका थिए। त्यहाँ भेला भएकाहरूले “निकैनै शान्ति” महसुस गरे। (प्रेरित २०:७-१२) आज, परमेश्‍वरको सेवा गरेर मरेका आफ्ना प्रियजनहरूको पनि पुनरुत्थान हुनेछ भन्‍ने आशामा परमेश्‍वरका सेवकहरूले ठूलो सान्त्वना पाउँछन्‌।

पुनरुत्थान—धेरैअघिदेखिको आशा

१२. रोमी बडा हाकिम फेलिक्सको सामु पावलले कस्तो विश्‍वास प्रकट गरे?

१२ रोमी बडा हाकिम फेलिक्सको सामु पुर्पक्ष गरिंदा पावलले यसो भने: “व्यवस्थामा र अगमवक्‍ताका पुस्तकमा लेखिएका सबै कुरा विश्‍वास . . . गर्दछु, अर्थात्‌ धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ भन्‍ने आशा परमेश्‍वरतर्फ राखेको छु।” (प्रेरित २४:१४, १५) परमेश्‍वरको वचनका केही भागहरू जस्तै, “व्यवस्था[ले]” कसरी मरेकाहरूको पुनरुत्थानबारे बताउँछ?

१३. परमेश्‍वरले पहिलो भविष्यवाणीमै पुनरुत्थानको संकेत दिनुभयो भनेर किन भन्‍न सकिन्छ?

१३ परमेश्‍वरले अदनको बगैंचामा पहिलो भविष्यवाणी गर्नुहुँदा नै पुनरुत्थानबारे बताउनुभयो। शैतान अर्थात्‌ दियाबल, “त्यो वृद्ध साँप[लाई]” सजाय सुनाउनु हुँदा नै परमेश्‍वरले यसो भन्‍नुभयो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कच्चो डस्नेछस्‌।” (प्रकाश १२:९; उत्पत्ति ३:१४, १५) स्त्रीको सन्तानको कुर्कुच्चो डस्नुको अर्थ येशू ख्रीष्टको हत्या थियो। तर त्यो सन्तानले सर्पको शिर कुच्याउने हो भने, ख्रीष्ट मरेकाहरूबाट बिउँतनु पर्नेथियो।

१४. कुन अर्थमा यहोवा परमेश्‍वर “मुर्दाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका” हुनुहुन्छ?

१४ येशूले यसो भन्‍नुभयो: “तिनले परमप्रभुलाई अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर भनेर पुकारे, तब मुर्दाहरू बिउँतन्छन्‌ भन्‍ने मोशाले समेत पोथ्राको वर्णनमा देखाएका छन्‌। उहाँ मुर्दाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका, किनकि सबै जना उहाँकै निम्ति जीवित छन्‌।” (लूका २०:२७, ३७, ३८; प्रस्थान ३:६) अब्राहाम, इसहाक र याकूब मरिसकेका थिए तर तिनीहरूको पुनरुत्थान गर्ने परमेश्‍वरको उद्देश्‍य पक्का भएको हुँदा तिनीहरू उहाँको लागि बाँचे सरह थिए।

१५. किन अब्राहामसित पुनरुत्थानमा विश्‍वास गर्ने कारण थियो?

१५ अब्राहामसित पुनरुत्थानमा आशा राख्ने आधार थियो। किनभने तिनी र तिनकी पत्नी सारा असाध्यै वृद्ध भएर छोराछोरी जन्माउन नसक्ने अवस्थामा पुगिसके तापनि परमेश्‍वरले चमत्कारपूर्ण ढंगमा तिनीहरूको प्रजनन शक्‍तिलाई सक्रिय तुल्याउनुभएको थियो। यो तिनीहरूको निम्ति पुनरुत्थान सरह थियो। (उत्पत्ति १८:९-११; २१:१-३; हिब्रू ११:११, १२) तिनीहरूको छोरा, इसहाक २५ वर्षजति पुगेपछि परमेश्‍वरले अब्राहामलाई छोरा बलि चढाउन अह्राउनुभयो। तथापि, अब्राहामले इसहाकलाई बलि चढाउन छुरी उठाउनै लाग्दा यहोवाको स्वर्गदूतले तिनलाई रोके। अब्राहामले “मरेकोबाट पनि परमेश्‍वरले [इसहाकलाई] बिताउँनसक्नुहुन्छ भन्‍ने विचार गरेर यसैले दृष्टान्तको रूपमा तिनलाई फिर्ता पाए।”—हिब्रू ११:१७-१९; उत्पत्ति २२:१-१८.

१६. अब्राहाम अहिले मृत्युको निद्रामा के पर्खिरहेका छन्‌?

१६ अब्राहामले प्रतिज्ञा गरिएको सन्तान अर्थात्‌ मसीहको शासन चलेपछि पुनरुत्थान हुने आशा राखेका थिए। मानिसको रूपमा आउनुअघि नै परमेश्‍वरको पुत्रले अब्राहामको विश्‍वास देखिसक्नुभएको थियो। तसर्थ, पृथ्वीमा हुनुहुँदा येशू ख्रीष्टले यहूदीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूका पुर्खा अब्राहाम मेरो दिन देख्नालाई प्रफुल्लित थिए।” (यूहन्‍ना ८:५६-५८; हितोपदेश ८:३०, ३१) परमेश्‍वरको मसीही राज्य आएपछि पृथ्वीमा पुनरुत्थान हुने आशामा अब्राहाम अहिले मृत्युको चिर निद्रामा मस्त छन्‌।—हिब्रू ११:८-१०, १३.

व्यवस्था तथा भजनसंग्रहबाट प्रमाण

१७. “व्यवस्थामा . . . लेखिएका सबै कुरा[ले]” कसरी येशू ख्रीष्टको पुनरुत्थानलाई औंल्यायो?

१७ पावलले पुनरुत्थानमाथि राखेको आशा “व्यवस्थामा . . . लेखिएका सबै कुरा[अनुसार]” थियो। परमेश्‍वरले इस्राएलीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूले आफ्नो बालीको पहिलो-उब्जनीको एक बिटा पूजाहारीकहाँ ल्याउनू। तिमीहरू ग्रहण हुनलाई त्यसले [नीसान १६ का दिन] त्यो बिटा परमप्रभुको सामने डोलाओस्‌।” (लेवी २३:९-१४) सम्भवतः यो व्यवस्थालाई सम्झँदै पावलले यसप्रकार लेखे: “मर्नेहरूमा पहिलो फल भएर ख्रीष्ट मरेकाहरूबाट बिउँतनुभएको छ।” सा.यु. ३३ नीसान १६ का दिन “पहिलो फल” येशूको पुनरुत्थान भयो। पछि उहाँको उपस्थितिमा ‘पछिल्लो फल’ अर्थात्‌ आत्मा-अभिषिक्‍त अनुयायीहरूको पुनरुत्थान हुनेछ।—१ कोरिन्थी १५:२०-२३; २ कोरिन्थी १:२१; १ यूहन्‍ना २:२०, २७.

१८. भजनसंग्रहमा येशूको पुनरुत्थानबारे भविष्यवाणी गरिएको थियो भनी पत्रुसले कसरी देखाए?

१८ भजनसंग्रहले पनि पुनरुत्थानलाई समर्थन गर्छ। सा.यु. ३३ पेन्तिकोसको दिन प्रेरित पत्रुसले भजन १६:८-११ उद्धरण गर्दै यसो भने: “दाऊदले उहाँको विषयमा भनेका छन्‌, ‘मैले प्रभुलाई सधैं मेरो मुखको सामने देखें, किनभने म नडग्मगाऊँ भनेर उहाँ मेरो दाहिनेतर्फ हुनुहुन्छ। यसकारण मेरो हृदय आनन्दित र मेरो जिब्रो उल्लसित भयो। यस उप्रान्त मेरो शरीरले पनि आशामा भरोसा गर्नेछ। किनकि तपाईंले मेरो प्राणलाई पातालमा छोड़नुहुनेछैन, नता तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुनदिनुहुनेछ।’ ” पत्रुसले यसो पनि भने: “अघिबाटै यो देखेर [दाऊदले] ख्रीष्टको पुनरुत्थानको विषयमा बोलेका हुन्‌, उहाँ न पातालमा छोड़िनुभयो, नता उहाँको शरीरनै कुह्‍यो। यिनै येशूलाई परमेश्‍वरले बिउँताउनुभयो। जुन कुराको हामी सबै गवाही छौं।”—प्रेरित २:२५-३२.

१९, २०. पावलले भजन ११८:२२ बाट कहिले उद्धरण गरे र यो कसरी येशूको मृत्यु तथा पुनरुत्थानसित सम्बन्धित थियो?

१९ केही दिनपछि पत्रुसलाई महासभाअगाडि उभ्याइयो र तिनले फेरि भजनसंग्रहबाट उद्धरण गरे। लंगडालाई कसरी निको पारे भन्‍ने प्रश्‍नको जवाफमा प्रेरितले यसो भने: “तपाईंहरू सबै र सारा इस्राएलका सबै जनतालाई थाह होस्‌, कि तपाईंहरूले क्रूसमा चढ़ाउनुभएका र परमेश्‍वरले मुर्दाबाट बिउँताउनुभएका, नासरतका येशू ख्रीष्टको नाउँमा, यो मानिस तपाईंहरूका सामने निको भएर उभिएको छ। [येशू] त्यही ढुङ्‌गो हुनुहुन्छ, जो तपाईं, डकर्मीहरूले बेकम्मा ठान्‍नुभएको थियो, र अहिले कुनाको शिर-ढुङ्‌गा हुनआएको छ। औ नता अरू कसैबाट मुक्‍ति छ, किनकि स्वर्गमनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन, जसबाट हामीले उद्धार पाउनसक्छौं।”—प्रेरित ४:१०-१२.

२० पत्रुसले यहाँ भजन ११८:२२ बाट उद्धरण गरे र यो येशूको मृत्यु तथा पुनरुत्थानमा लागू हुन्छ भनी देखाए। धार्मिक नेताहरूको उक्साइमा परेर यहूदीहरूले येशूलाई तिरस्कार गरेका थिए। (यूहन्‍ना १९:१४-१८; प्रेरित ३:१४, १५) ‘डकर्मीहरूले ढुंगो बेकम्मा’ ठानेको हुँदा येशूले मृत्यु भोग्नु पऱ्‍यो तर त्यो ‘कुनाको शिर ढुंगा’ हुनुले उहाँ स्वर्गमा आत्मिक प्राणीको रूपमा महिमित हुनुभयो भन्‍ने बुझाउँछ। भजनरचयिताले भविष्यवाणी गरेझैं “यो परमप्रभुबाट भएको हो।” (भजन ११८:२३) यो “ढुंगो” शिर ढुंगा हुनुमा येशू राजाको हैसियतमा उच्च पारिनु पनि समावेश थियो।—एफिसी १:१९, २०.

पुनरुत्थानको आशाले सम्हालिएका

२१, २२. अय्यूब १४:१३-१५ अनुसार अय्यूबले कस्तो आशा व्यक्‍त गरे र अहिले शोकाकुलहरूलाई यसले कसरी सान्त्वना प्रदान गर्नसक्छ?

२१ हामीले कोही पनि मरेकोबाट बिउँतेको देखेका छैनौं तर हामीले पुनरुत्थानबारे निर्धक्क हुनसक्ने केही धर्मशास्त्रीय विवरणहरू विचार गऱ्‍यौं। तसर्थ, हामी धर्मी मानिस अय्यूबको जस्तै आशा राख्नसक्छौं। कष्ट भोग्नुपर्दा तिनले यस्तो बिन्ती गरे: “तपाईं [यहोवाले] मलाई चिहानमा लुकाउनुभए, . . . तपाईंले मेरो समयको सीमा तोकिदिएर, मलाई सम्झनु भए त हुनेथियो! के मानिस मरेपछि ऊ फेरि जिउँछ? . . . तपाईंले मलाई बोलाउनुहुनेछ। म तपाईंको जवाफ दिनेछु। आफूले सृजनुभएको प्राणीलाई हेर्न तपाईंले इच्छा गर्नुहुनेछ।” (अय्यूब १४:१३-१५, नयाँ संशोधित संस्करण) परमेश्‍वरले ‘आफूले सृजनुभएको प्राणीलाई हेर्ने इच्छा गर्नुहुनेछ,’ अर्थात्‌ अय्यूबलाई पुनरुत्थान गर्ने उहाँ उत्कट इच्छा गर्नुहुनेछ। हाम्रो निम्ति कस्तो उत्तम आशा!

२२ ईश्‍वरभीरु परिवारका कोही सदस्यको अय्यूबजस्तै गम्भीर बिरामीको कारण मृत्युसमेत हुनसक्छन्‌। येशूले लाजरसको मृत्यु हुँदा आँसु बगाउनुभएझैं शोकाकुल परिवारले आँसु बगाउलान्‌। (यूहन्‍ना ११:३५) तर परमेश्‍वरले बोलाउनुहुनेछ र उहाँको सम्झनामा भएकाहरूले स्वर सुन्‍नेछन्‌ भनेर थाह पाउनु कत्ति सान्त्वनादायी कुरा हो! तिनीहरू अस्वस्थ वा असक्षम होइन तर कुनै यात्राबाट फर्केझैं पूर्ण सुस्वस्थ अवस्थामा फर्कनेछन्‌।

२३. कसै कसैले पुनरुत्थानको आशामा कसरी भरोसा देखाएका छन्‌?

२३ एक जना वफादार मसीहीको मृत्यु हुँदा सँगी उपासकहरूले यसप्रकार लेखे: “तपाईंकी आमाको मृत्युमा हाम्रो गहिरो समवेदना स्वीकार्नुहोस्‌। हामीले उहाँलाई थोरै समयको लागि मात्र गुमाउनु परेको हो र चाँडै, राम्री र तन्दुरुस्त तपाईंको आमालाई स्वागत गर्न पाउनेछौं!” छोराको मृत्यु भएका आमाबाबुले यसो भने: “जेसन बिउँतने समयको हामी उत्कट प्रतीक्षा गर्छौं! उसले चारैतिर आँखा घुमाउनेछ र उसले सधैं आशा गरेको प्रमोदवन देख्नेछ। . . . उसलाई माया गर्ने हामी सबै पनि त्यहाँ हुने कस्तो राम्रो प्रत्याशा!” हो, हामी सबै पुनरुत्थानको पक्का आशाको लागि धेरै धन्यवादी हुनसक्छौं!

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• मरेकाहरूलाई बिउँताउने परमेश्‍वरको प्रबन्धमाथिको विश्‍वासले हामीलाई कसरी लाभ पुऱ्‍याउनसक्छ?

• धर्मशास्त्रमा लिपिबद्ध कुन घटनाहरूले हामीलाई पुनरुत्थानमा आशा राख्ने ठोस कारण दिन्छ?

• पुनरुत्थानलाई किन धेरै अघिदेखिको आशा भन्‍न सकिन्छ?

• मरेकाहरूबारे कुन आशाले हामीलाई सम्हाल्नसक्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएको चित्र]

यहोवाबाट शक्‍ति पाएर एलियाले विधवाको छोरालाई बिउँताए

[पृष्ठ १२-मा भएको चित्र]

येशूले याइरसकी छोरीलाई बिउँताउनुहुँदा तिनका आमाबाबु हर्षविभोर भएर साह्रै छक्कमाथि छक्क परे

[पृष्ठ १५-मा भएको चित्र]

सा.यु. ३३ पेन्तिकोसको दिनमा प्रेरित पत्रुसले येशूको पुनरुत्थान भइसक्यो भन्‍ने जोडदार प्रमाण दिए