सतावटले एन्टिओकमा अझ वृद्धि हुन्छ
सतावटले एन्टिओकमा अझ वृद्धि हुन्छ
स्तिफनसलाई मारेपछि सतावट चर्कियो र येशूका थुप्रै चेलाहरू यरूशलेमबाट भागे। तिनीहरूले शरण लिएको एउटा ठाउँ, ५५० किलोमिटर उत्तरमा पर्ने सिरियाको एन्टिओक शहर थियो। (प्रेरित ११:१९) त्यसपछिका घटनाहरूले सम्पूर्ण मसीही इतिहासलाई नै असर पाऱ्यो। त्यहाँ के भयो भनी बुझ्न, एन्टिओकबारे केही जानकारी लिनु बेस होला।
रोमी साम्राज्यका शहरहरूमध्ये आकार, संवृद्धि तथा महत्त्वको हिसाबले एन्टिओकभन्दा ठूला शहरहरू रोम र एलेक्जान्ड्रिया मात्र थिए। सिरियाका शहरहरूले भूमध्यसागरको उत्तरपूर्वी छेउलाई ओगटेको थियो। एन्टिओक (वर्तमान समयको अन्तक्या, टर्की), जहाजहरू ओहोरदोहर गर्ने ओरन्टेस नदीको किनारामा पर्थ्यो र यहाँबाट ३२ किलोमिटर टाढा सेल्युसिया पेरियाको बन्दरगाह थियो। यसले रोम र टाइग्रीस-युफ्रेटिस उपत्यकाबीच सबैभन्दा महत्त्वपूर्ण व्यापारिक मार्गमाथि अधिकार जमाएको थियो। एन्टिओक अर्थव्यवस्थाको केन्द्र हुनाकारण यसले सारा साम्राज्यसित व्यापार गर्थ्यो र थरिथरिका मानिसहरू आवतजावत गर्थे। फलतः रोमी संसारको अरू भागमा भइरहेका सबै धार्मिक गतिविधिको खबर यहाँ पुगिहाल्थ्यो।
एन्टिओकमा युनानी धर्म र दर्शन फस्टाइसकेको थियो। तर इतिहासकार ग्लानभिल डाउनी भन्छन्, “ख्रीष्टको समयमा पुराना धार्मिक पन्थहरू तथा दर्शनहरू व्यक्तिगत तवरमा मानिने विश्वास मात्र थिए किनभने मानिसहरूले आफ्ना समस्या तथा आकांक्षाहरूको लागि व्यक्तिगत तवरमा धार्मिक सन्तुष्टि खोज्न थाले।” (अ हिस्ट्रि अफ एन्टिओक इन सिरिया) थुप्रैलाई यहूदी धर्मको एउटा परमेश्वर, नानाभाँतिका उत्सवहरू तथा नीतिनियमहरू मन पर्न थाल्यो।
सा.यु.पू. ३०० मा एन्टिओक शहर बसालिएदेखि त्यहाँ एउटा ठूलो यहूदी समुदाय बसोबास गर्न थालिसकेको थियो। प्राप्त अनुमानअनुसार त्यहाँ २०,००० देखि ६०,००० जति यहूदीहरू थिए, जुन कुल जनसंख्याको १० प्रतिशत हुनआउँछ। इतिहासकार जोसेफसअनुसार सेल्युसियाली राजकुलले यहूदीहरूलाई नागरिकता प्रदान गरेर शहरमै बसोबास गर्न प्रोत्साहित गरे। त्यतिञ्जेल हिब्रू धर्मशास्त्र युनानी भाषामा उपलब्ध भइसकेको थियो। यसले गर्दा यहूदी मसीही शिक्षासित सहमत हुनेहरूको चासो बढ्न थाल्यो। फलतः, थुप्रै युनानीहरूले पनि धर्म परिवर्तन गरे। यी सबै कारणले गर्दा मसीही चेला बनाउने कार्यको लागि एन्टिओक एकदमै फलदायी ठाउँ साबित भयो।
अन्यजातिहरूलाई साक्षी दिने
सतावटको कारण यरूशलेमबाट भागेका येशूका प्रायजसो चेलाहरूले यहूदीहरूलाई मात्र आफ्नो विश्वासबारे बताउँथे। तथापि, एन्टिओकमा साइप्रस र साइरेनीका कोही कोही चेलाहरूले “ग्रीकहरूसँग पनि बातचित गरे।” (प्रेरित ) सा.यु. ३३ पेन्तिकोसदेखि नै युनानी भाषा बोल्ने यहूदीहरू र धर्म परिवर्तन गरेकाहरूलाई प्रचार गर्ने कार्य सुरु भए तापनि एन्टिओकको प्रचारकार्य अलि बेग्लै थियो। यहाँ यहूदीहरूलाई मात्र प्रचार गरिएन। हो, अन्यजातिका कर्नीलियस र तिनको परिवार चेला भइसकेका थिए। तर यहोवाले एउटा दर्शन दिनु भएपछि मात्र प्रेरित पत्रुसलाई अन्यजातिका मानिसहरू अथवा अरू राष्ट्रका मानिसहरूलाई पनि प्रचार गर्नुपर्ने रहेछ भनेर पक्का भयो।— ११:२०प्रेरित १०:१-४८.
एकदमै ठूलो तथा पुरानो यहूदी समुदाय भएको र यहूदी तथा अन्यजातिहरूबीच खासै कुनै दुस्मनी नभएको शहरमा गैरयहूदीहरूलाई पनि साक्षी दिइँदैथ्यो र तिनीहरूले सुसमाचारप्रति सकारात्मक प्रतिक्रिया देखाइरहेका थिए। प्राप्त प्रमाणअनुसार त्यस्तो अवस्थाको लागि एन्टिओकमा उपयुक्त वातावरण थियो र ‘विश्वास गर्नेहरू धेरै भए।’ (प्रेरित ११:२१) अनि पहिले मूर्तिपूजा गर्नेहरू मसीही भएपछि तिनीहरू पनि अन्यजातिका अरू मानिसहरूलाई साक्षी दिन सक्षम भए।
एन्टिओकमा भएका घटनाहरूबारे सुनेपछि यरूशलेमको मण्डलीले त्यहाँ जाँचबुझ गर्न वर्णाबासलाई पठाए। यो बुद्धिमानी र मायालु निर्णय थियो। तिनी पनि गैरयहूदीहरूलाई प्रचार गर्न थालेका अरू साइप्रसीहरूजस्तै थिए। वर्णाबासलाई एन्टिओकका अन्यजातिहरूसित बस्न कुनै अप्ठ्यारो पर्ने थिएन। ती अन्यजातिहरूले पनि तिनलाई आफ्नै समुदायका मानिस ठान्नेथिए। a तिनीहरूको कामप्रति सहानुभूति देखाउन सक्नेथिए। त्यसैकारण, “तिनी त्यहाँ आएर परमेश्वरको अनुग्रह देखीकन खुशी भए र तिनीहरू सबैलाई हृदयको संकल्पले प्रभुमा लागिरहनुपर्छ भनी तिनले उत्साहपूर्ण अर्ती दिए” र “धेरै मानिसहरू प्रभुमा थपिए।”—प्रेरित ११:२२-२४.
इतिहासकार डाउनी भन्छन्, “एन्टिओकको प्रारम्भिक प्रचारकार्य फस्टाउनुको कारण हो, यो शहरमा मिसनरीहरू यरूशलेममा जस्तो यहूदी कट्टरपन्थीहरूसित डराउनु पर्दैनथ्यो; साथै सिरियाको राजधानी भएकोले यो शहरमा सैनिक अफिसरको शासन थियो र यसले गर्दा यरूशलेममा जस्तो हूलदंगा हुने सम्भावना कम थियो र यहाँको सुव्यवस्था पनि राम्रो थियो। यरूशलेममा भने यहूदियाका (त्यतिबेलाका) अफिसरहरूले यहूदी हठधर्मीहरूलाई रोक्न सकिरहेका थिएनन्।”
यस्तो अनुकूल परिस्थिति र काम प्रशस्त भएको हुँदा वर्णाबासले आफूलाई मदत चाहिएको महसुस गरे अनि आफ्नो साथी शावललाई सम्झे। शावल अथवा पावल नै किन? सम्भवतः पावल, १२ प्रेरितहरूमध्ये नभए तापनि तिनले अन्यजातिहरूबीच प्रेरितको काम गर्ने आज्ञा पाइसकेका थिए। (प्रेरित ९:१५, २७; रोमी १:५; प्रकाश २१:१४) यसर्थ, अन्यजातिहरूको शहर एन्टिओकमा सुसमाचार घोषणा गर्न पावललाई साथी रोज्नु एकदमै उपयुक्त थियो। (गलाती १:१६) त्यसकारण, वर्णाबास टार्सस गए, शावललाई भेट्टाए अनि एन्टिओकमा ल्याए।—प्रेरित ११:२५, २६; पृष्ठ २६-७ को पेटी हेर्नुहोस्।
ईश्वरीय निर्देशनबाट मसीही कहलाइएका
एक वर्षभरिमा वर्णाबास र शावलले “धेरै जनालाई सिकाए, र चेलाहरू पहिले एन्टिओकमानै ख्रीष्टियान भनिएका हुन्।” येशूका चेलाहरूलाई ख्रीष्टियान (युनानी) वा मसीहीहरू (हिब्रू) भन्न थालेका प्रथम व्यक्तिहरू यहूदीहरू हुनसक्दैन किनभने तिनीहरूले येशूलाई मसीह वा ख्रीष्टको रूपमा स्वीकार्न इन्कार गरे र त्यसैकारण उहाँका चेलाहरूलाई ख्रीष्टियान भन्ने नाउँ दिएको हुनसक्दैन। कसै कसैको विचारमा मूर्तिपूजक जन समुदायले हँसी उडाउन वा गिज्याउन तिनीहरूलाई ख्रीष्टियान भनेको हुनसक्छ। तथापि, त्यो नाउँ वास्तवमा परमेश्वरले नै दिनुभएको हो भनी बाइबल बताउँछ।—प्रेरित ११:२६.
मसीही युनानी धर्मशास्त्रमा यो नयाँ नाउँसित प्रयोग गरिने क्रियालाई अनुवाद गर्दा “भनिन्थ्यो” हुन्छ र
यसको अर्थ अलौकिक, देववाणी वा ईश्वरीय कुराहरूसित सम्बन्धित हुन्छ। यसकारण, शास्त्रविद्हरूले यो क्रियालाई “देववाणी गर्नु,” “ईश्वरसित घनिष्ठ” वा “ईश्वरीय आज्ञा वा सल्लाह दिनु, स्वर्गबाट शिक्षा दिनु” भनी लेख्न थाले। येशूका चेलाहरूलाई “ईश्वरीय निर्देशनबाट” ख्रीष्टियान भनिएको हुँदा यहोवाले शावल र वर्णाबासलाई त्यो नाउँ दिने निर्देशन दिनुभएको हुनसक्छ।यो नयाँ नाउँको प्रयोग बन्द भएन। यसउप्रान्त येशूका चेलाहरूलाई यहूदीधर्मको एउटा गुट हो भनी छ्यासमिस गर्न नमिल्ने भयो किनभने तिनीहरू बेग्लै थिए। सा.यु. ५८ सम्ममा रोमी अधिकृतहरूलाई ख्रीष्टियान को हुन् भनेर राम्ररी थाह भइसकेको थियो। (प्रेरित २६:२८) इतिहासकार टासिटसअनुसार सा.यु. ६४ सम्म रोममा पनि यो नाउँ प्रचलित भइसकेको थियो।
यहोवाले आफ्ना विश्वासी जनहरूलाई चलाउनुहुन्छ
एन्टिओकमा सुसमाचारको एकदमै फलिफाप भयो। यहोवाको आशिष् र येशूका अनुयायीहरूले प्रचारकार्यमा देखाएको कटिबद्धताले गर्दा एन्टिओक प्रथम शताब्दीमा मसीहीधर्मको केन्द्र भयो। परमेश्वरले त्यहाँको मण्डलीलाई टाढा टाढासम्म सुसमाचार प्रचार गर्ने माध्यमको रूपमा प्रयोग गर्नुभयो। जस्तै, प्रेरित पावलले सबै मिसनरी यात्राहरू यहाँ एन्टिओकबाटै सुरु गरे।
आधुनिक समयमा पनि विरोधको बावजूद जोस र कटिबद्धताले गर्दा साँचो मसीहीधर्म फैलिएको छ र थुप्रैले सुसमाचार सुन्ने र त्यसप्रति मूल्यांकन देखाउने मौका पाएका छन्। b तपाईंले शुद्ध उपासनालाई समर्थन गर्दा सतावट भोग्नुभयो भने यहोवाले त्यसो हुन दिनुको कारण छ भनेर नबिर्सनुहोस्। प्रथम शताब्दीमा जस्तै अहिले पनि मानिसहरूले परमेश्वरको राज्यबारे सुनेर उहाँको पक्षमा उभिने मौका पाउनुपर्छ। तपाईं वफादार भएर यहोवाको सेवा गरिरहन कटिबद्ध हुनुभयो भने हुनसक्छ, कुनै एक जना व्यक्तिले सत्यको सही ज्ञान लिने मदत पाउनेछन्।
[फुटनोटहरू]
a छ्याङ्ग खुलेको दिनमा एन्टिओकको दक्षिणपश्चिममा पर्ने कासियस पर्वतबाट साइप्रस टापु देखिन्छ।
b प्रहरीधरहरा, अगस्त १, १९९९, पृष्ठ ९; ब्यूँझनुहोस्!, मे ८, १९९९, पृष्ठ १२; १९९९ यरबूक अफ जेहोभाज् विट्नेसेज, पृष्ठ २५०-२ हेर्नुहोस्।
[पृष्ठ २६, २७-मा भएको पेटी/चित्रहरू]
शावलबारे “उल्लेख नगरिएका वर्षहरू”
शावल सा.यु. ४५ मा एन्टिओक जानुअघि प्रेरितको पुस्तकमा तिनको अन्तिम चोटि उल्लेख त्यतिबेला गरिएको थियो जुन बेला यरूशलेममा तिनलाई मार्ने षडयन्त्र विफल भयो र सँगी विश्वासीहरूले तिनलाई टार्सस पठाए। (प्रेरित ९:२८-३०; ११:२५) तर त्यो नौ वर्षअघि सा.यु. ३६ तिरको कुरा थियो। शावलबारे उल्लेख नगरिएका वर्षहरूको दौडान तिनले के गरे त?
यरूशलेमबाट शावल सिरिया र सिलिसिया गए अनि यहूदाका मण्डलीहरूले यसो भनेको सुने: “जसले अघाड़ि हाम्रो खेदो गर्दथियो, त्यसले अघाड़ि संहार गरेको विश्वास अहिले प्रचार गरिरहेको छ।” (गलाती १:२१-२३) त्यस रिपोर्टले एन्टिओकमा वर्णाबाससितको क्रियाकलापलाई संकेत गरेको हुनसक्छ तर त्यसअघि पनि शावल पक्कै पनि बिनाकाम त्यसै बसेका थिएनन्। सा.यु. ४९ तिर सिरिया र सिलिसियामा थुप्रै मण्डलीहरू भइसकेका थिए। एउटा मण्डली एन्टिओकमा थियो तर कसै कसैको विचारमा शावलबारे उल्लेख नगरिएका ती वर्षहरूको दौडान अरू कतिपय मण्डलीहरू स्थापना भए होलान्।—प्रेरित ११:२६; १५:२३, ४१.
कोही कोही शास्त्रविद्अनुसार शावलको जीवनमा भएका केही महत्त्वपूर्ण घटनाहरू त्यो समयावधिमा नै भएको हुनुपर्छ। “ख्रीष्टका सेवक” भएर तिनले भोगेका थुप्रै कठिनाइ तिनको मिसनरी सेवकाईको दौडान भएजस्तो देखिंदैन। (२ कोरिन्थी ११:२३-२७) शावलले कहिले यहूदीहरूको हातबाट ३९ कोर्रा खाए? तिनले कहाँ तीन चोटि लौरोको पिटाइ खाए? कहाँ तिनी ‘झन् प्रशस्त गरी’ कैदमा थुनिए? किनकि तिनी रोममा थुनिएको त अलि पछि मात्रै हो। तिनले फिलिप्पीमा पिटाइ खाएर झ्यालखानामा परेको एउटा घटनाबारे बताइएको छ। तर अरू घटनाहरूबारे नि? (प्रेरित १६:२२, २३) एक जना लेखकले बताएअनुसार यो समयावधिमा शावलले “डियास्पोराका सभाघरहरूमा ख्रीष्टबारे प्रचार गरेको हुँदा नै धार्मिक तथा निजामती अख्तियारवालाहरूबाट सतावट भोग्नु परेको हो।”
शावल चढेको जहाज चार चोटि डुब्यो तर धर्मशास्त्रले जहाज डुबेको एउटा घटना मात्र वर्णन गरेको छ र यो दुर्घटना तिनले कोरिन्थीहरूलाई आफूले भोगेका दुःखकष्टबारे बताइसकेपछि भएको हो। (प्रेरित २७:२७-४४) त्यसकारण हुनसक्छ, ती तीनवटा जहाज दुर्घटनाहरू हुँदाको यात्राबारे हामीलाई थाह छैन। यी सबै वा कुनै कुनै घटना शावलबारे “उल्लेख नगरिएका वर्षहरूमा” भएको हुनसक्छ।
यस समयावधिमा भएको हुनसक्ने अर्को घटना २ कोरिन्थी १२:२-५ मा दिइएको विवरण हो। शावलले भने: ‘म ख्रीष्टका एक जना मानिसलाई, जो चौध वर्षअघि समातिएर तेस्रो स्वर्गतिर लगियो, र त्यसले बयान गरी नसक्ने कुराहरू सुन्यो, जे उच्चारण गर्न मानिसको निम्ति न्यायसंगत छैन।’ यो विवरण शावलले आफ्नै विषयमा भनिरहेको जस्तो छ। तिनले यो सा.यु. ५५ तिर लेखेको हुँदा १४ वर्षअघि भनेको सा.यु. ४१ अर्थात् तिनीबारे “उल्लेख नगरिएका वर्षहरूको” बीचतिर पर्नेछ।
निस्सन्देह, त्यो दर्शनले शावललाई अद्भुत अन्तर्दृष्टि प्रदान गऱ्यो। के यसले तिनलाई “अन्यजातिहरूको प्रेरित” हुन सक्षम बनाउने थियो? (रोमी ११:१३) के यसले तिनका भावी सोचाइ, लेखाइ र बोलाइमा असर गऱ्यो? शावलले धर्म परिवर्तन गरेको र तिनी एन्टिओकमा बोलाइनुबीचको समयावधिले के तिनलाई भावी जिम्मेवारीहरूको लागि प्रशिक्षण लिएर परिपक्व हुन मदत गऱ्यो? यस्ता प्रश्नहरूको जवाफ जस्तोसुकै किन नहोस्, वर्णाबासले शावललाई एन्टिओकको प्रचारकार्य द्रुत गतिमा अघि बढाउन बोलाउँदा तिनी जोसिलो भई आफ्नो कार्यभार पूरा गर्न सक्षम भइसकेका थिए।—प्रेरित ११:१९-२६.
[पृष्ठ २५-मा भएको नक्सा]
सिरिया
ओरन्टेस
एन्टिओक
सेल्युसिया
साइप्रस
भूमध्यसागर
यरूशलेम
[स्रोत]
Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.
[पृष्ठ २४-मा भएका चित्रहरू]
माथि: वर्तमान एन्टिओक
बीचमा: सेल्युसियाको दक्षिणी दृश्य
तल: सेल्युसिया बन्दरगाहको पर्खाल