सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अख्तियारवालाहरूप्रतिको आदरमा किन कमी?

अख्तियारवालाहरूप्रतिको आदरमा किन कमी?

अख्तियारवालाहरूप्रतिको आदरमा किन कमी?

“संसारभरि नै धर्म र सरकार, समाज र राजनीतिजस्ता स्थापित अख्तियारको विरोध गर्ने लहर चलेको छ र यसलाई एक दिन गत दशकको उल्लेखनीय पक्षको रूपमा लिइनेछ।”

इतिहासकार तथा दर्शनशास्त्री हाना आरेन्टले माथि संकेत गर्न खोजेको दशक सन्‌ १९६० को हो र यो बितेको कैंयौ वर्ष भइसक्यो। आज अख्तियारवालाहरूको अनादर गर्ने लहर झन्‌ झनै बढिरहेको छ।

उदाहरणका लागि, हालै लण्डनको द टाइम्स-को रिपोर्ट यस्तो उल्लेख गर्छ: “कोही कोही आमाबाबु आफ्नो बच्चामाथि शिक्षकको अधिकार स्वीकार्न इन्कार गर्छन्‌ र अनुशासन दिने प्रयास गरिंदा स्कूलमा उजुर गर्छन्‌।” तिनीहरूका छोराछोरीलाई स्कूलमा अनुशासन दिइँदा अक्सर यस्ता आमाबाबु शिक्षकहरूलाई धम्की दिन मात्र होइन तर हातपात गर्नै स्कूलमा पुगिरहेका हुन्छन्‌।

बेलायतको नेसनल एसोसिएसन अफ हेड टिचर्सका प्रवक्‍ताको यस भनाइलाई उद्धृत गरिएको छ: “जनता आजकाल ‘मेरो दायित्व हो’ भन्‍नुको सट्टा ‘मेरो अधिकारको कुरा हो’ भन्छन्‌।” आफ्ना छोराछोरीलाई अख्तियारवालाहरूको उचित आदर गर्न सिकाउँदैनन्‌ र सच्याउने पनि गर्दैनन्‌ अनि अरूलाई पनि त्यसो गर्न दिंदैनन्‌। आफ्नो “अधिकार” खोज्ने केटाकेटीलाई आमाबाबु र शिक्षक दुवैको अख्तियार बेवास्ता गर्ने छुट छ र यसको नतिजा सजिलै अनुमान लगाउन सकिन्छ। स्तम्भकार मार्गारेट ड्रिस्कोल लेख्छिन्‌ “अख्तियारवालाहरूको पटक्कै आदर नगर्ने तथा सही र गलतको ज्ञानै नभएको नयाँ पीढी” सुरु भएको छ।

टाइम पत्रिकाले “रनभुल्लमा परेको पुस्ता” नामक लेखमा लोकप्रिय ऱ्‍याप संगीतकारलाई उद्धृत गर्दै थुप्रै रूसी जवानहरू निराश हुनुको कारण बताए। तिनले यसो भने: “यस संसारमा जन्मेका कसैले कसरी समाजमा भरोसा राख्ने जहाँ केही कुरा पनि लामो समयसम्म टिक्दैन र पक्षपातपूर्ण छ।” समाजशास्त्री मिखाएल टोपालोभले सहमति जनाउँदै यसो भने: “यी केटाकेटीहरू मूर्ख होइनन्‌। सरकारले तिनीहरूको आमाबाबुलाई ठगेको तिनीहरूले देखेका छन्‌ र तिनीहरूले आफ्ना आमाबाबुको बचत र जागिर सबै खतम भएको देखेका छन्‌। अनि के हामी तिनीहरूले अख्तियारवालाहरूको आदर गरेको आशा गर्नसक्छौं र?”

तथापि, अख्तियारवालाहरूमाथिको अविश्‍वास केवल युवा पीढीमै मात्र सीमित छ भन्‍ने निष्कर्षमा पुग्नु गलत हुनेछ। आज, सबै उमेरका मानिसहरू जुनसुकै अख्तियारलाई पनि अविश्‍वास र घृणाको दृष्टिले हेर्छन्‌। के यसको अर्थ कुनै पनि अख्तियारमाथि भरोसा गर्न सकिंदैन त? तर “अरूको काममा नियन्त्रण, न्याय वा प्रतिबन्ध लगाउनसक्ने शक्‍ति” भनी व्याख्या गरिएको अख्तियार सही ढंगमा अभ्यास गरिएमा प्रभावकारी हुनसक्छ। यसले व्यक्‍तिविशेष र समाज दुवैलाई लाभ पुऱ्‍याउनसक्छ। यसपछिको लेखले यसबारे छलफल गर्नेछ।