सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अख्तियारवालाहरूलाई आदर गर्नु किन अत्यावश्‍यक?

अख्तियारवालाहरूलाई आदर गर्नु किन अत्यावश्‍यक?

अख्तियारवालाहरूलाई आदर गर्नु किन अत्यावश्‍यक?

हाम्रो सरसामान चोर्ने वा परिवारलाई धम्काउने अपराधीहरूलाई पक्रने अधिकार प्रहरीसित भएकोमा के हामी कृतज्ञ छैनौं र? अनि समाजलाई सुरक्षित राख्न अपराधीहरूलाई सजाय दिने अधिकार अदालतसित भएकोमा के हामी त्यसको मूल्यांकन गर्दैनौं र?

अक्सर सरकारले उठाउने करबाट गरिने बाटो मर्मत, सरसफाइ र शिक्षाजस्ता मदतकारी सार्वजनिक सेवाहरू पनि हाम्रो मनमा आउनसक्छ। साँचो मसीहीहरू नियुक्‍त अख्तियारवालाहरूको आदर गर्नु अत्यावश्‍यक छ भनी स्वीकार्छन्‌। तर कुन हदसम्म आदर गर्नुपर्छ? अनि जीवनको कुन कुन क्षेत्रमा अख्तियारवालाको आदर गर्नु आवश्‍यक छ?

समुदायमा अख्तियार

बाइबलले विश्‍वासी, अविश्‍वासी सबै मानिसहरूलाई निजामति अख्तियारको आदर गर्न आग्रह गर्छ र यसो गर्दा समुदायकै भलाइ हुन्छ। मसीही प्रेरित पावलले रोमका आफ्ना सँगी विश्‍वासीहरूलाई यसबारे लेखे र तिनले भनेको कुरा जाँच्नु मदतकारी हुनेछ र यो रोमी १३:१-७ मा उल्लिखित छ।

पावल रोमी नागरिक थिए र त्यतिबेला रोम विश्‍वशक्‍ति थियो। सा.यु. ५६ तिर लेखेको पत्रमा पावलले मसीहीहरूलाई उदाहरणीय नागरिक हुन सल्लाह दिए। तिनले यस्तो लेखे: “हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्‌, किनभने परमेश्‍वरका बाहेक अरूको अख्तियार हुँदैन, औ अख्तियारहरूचाहिं परमेश्‍वरबाट खटिएका हुन्छन्‌।”

परमेश्‍वरको अनुमतिबिना कुनै पनि मानव अख्तियार अस्तित्वमा आएको छैन भनेर पावल यहाँ बताउँछन्‌। यसर्थ, परमेश्‍वरको उद्देश्‍यमा मानव अख्तियारवालाहरूको पनि सापेक्षिक स्थान छ। त्यसैकारण “अख्तियारवालाको विरुद्धमा खड़ा हुनेले परमेश्‍वरको धार्मिकविधानको विरोध गर्दछ।”

उच्च अख्तियारवालाहरूले असल नागरिकहरूको प्रशंसा गर्छन्‌ भने गल्ती गर्नेहरूलाई सजाय दिने अख्तियार पनि तिनीहरूसित छ। सरकारहरूले “परमेश्‍वरका सेवक[को]” हैसियतमा काम गर्ने भएकोले खराब काम गर्नेहरू अख्तियारवालाहरूको “बदला लिने” शक्‍तिसित डराउनु उचित हो।

पावल आफ्नो तर्कको अन्त यसरी गर्छन्‌: “क्रोधको खातिर मात्र होइन, तर अन्तस्करणको निम्ति पनि तिमीहरूलाई अधीनमा रहनु उचित छ। किनभने यसैकारणले पनि तिमीहरू कर तिर्दछौ। किनकि तिनीहरू यसै कामको निम्ति निरन्तर लागिरहेका परमेश्‍वरका सेवक हुन्‌।”

करसम्बन्धी निर्णय गर्ने जिम्मेवारी उच्च अख्तियारवालाहरूको थियो, करदाताको होइन। इमानदार नागरिकको हैसियतमा मसीहीहरूले असल अन्तस्करण कायम राख्छन्‌। उच्च अख्तियारवालाहरूको अधीनमा बसेर कर तिर्नुपर्नेलाई कर तिर्दा समुदायको स्तरलाई कायम राख्न मात्र मदत गरिरहेको हुँदैनौं तर ईश्‍वरीय आवश्‍यकताअनुरूप पनि काम गरिरहेका हुनेछौं भनेर मसीहीलाई थाह छ।

परिवार अनि अख्तियार

परिवारमा अख्तियारबारे के भन्‍न सकिन्छ नि? भर्खर जन्मेको शिशुले अक्सर रोएर वा कराएर आफूतिर ध्यान खिच्छ। तर बुद्धिमान्‌ आमा वा बुबाले छोराछोरीका आवश्‍यकताहरू बुझ्छन्‌ र तिनीहरू रोईकराई गरे तापनि जे माग्यो त्यही दिंदैनन्‌। कोही कोही बच्चाहरूलाई हुर्कंदै जाँदा छाडा छोडिन्छ र तिनीहरू आफू खुसी गर्छन्‌। अनुभवको कमीको कारण तिनीहरू अपराध वा अन्य गलत कार्यहरूमा फस्नसक्छन्‌। यसले गर्दा परिवार र बृहत्‌ रूपमा भन्‍ने हो भने, सम्पूर्ण समुदायको शान्ति नै भंग गर्छन्‌। यसबारे थुप्रै अख्तियारवालाहरू सचेत छन्‌।

चिल्ड्रेन वी डिजर्भ नामक पुस्तकका लेखिका रोसालिन्ड माइल्स्‌ भन्छिन्‌: “आमाबाबुले छोराछोरीलाई ढिलो अनुशासन दिन थाल्छन्‌। अनुशासन दिन थाल्ने सही समय बच्चा जन्मने बित्तिकै हो।” आमाबाबुले सुरुदेखि नै छोराछोरीमाथि दयालु अनि मायालु ढंगमा अख्तियार प्रयोग गरेमा र आफ्नो काममा एकरूपता देखाएमा छोराछोरीले चाँडै त्यो अख्तियार र तिनीहरूबाट पाउने मायालु अनुशासन स्वीकार्नेछन्‌।

पारिवारिक अख्तियारको सन्दर्भमा बाइबलमा प्रशस्त जानकारी छन्‌। हितोपदेशको पुस्तकमा बुद्धिमान्‌ पुरुष सुलेमानले छोराछोरी समक्ष ईश्‍वरभीरु आमाबाबुको एकतातर्फ ध्यानाकर्षण गर्छन्‌। तिनी भन्छन्‌: “हे मेरो छोरो, आफ्ना बाबुको शिक्षा ध्यानसित सुन्‌ र आफ्नी आमाको अर्ती इन्कार नगर्‌।” (हितोपदेश १:८) छोराछोरीसित व्यवहार गर्दा आमाबाबु व्यावहारिक ढंगमा एक छन्‌ भने छोराछोरीलाई आमाबाबुको दृष्टिकोण थाह हुनुका साथै आमाबाबुबाट के आशा गर्न सकिन्छ, छोराछोरीले बुझ्नेछन्‌। आफूले भनेजस्तो गर्न तिनीहरूले आमाबाबुबीच बेमेल उत्पन्‍न गर्ने कोसिस गर्नसक्छन्‌ तर आमाबाबुले मिलेर अख्तियार चलाएको खण्डमा छोराछोरीको निम्ति सुरक्षा साबित हुनेछ।

बाइबल, छोराछोरीको मात्र होइन तर पत्नीको समेत आध्यात्मिक आवश्‍यकताको देखभाल गर्ने मुख्य जिम्मेवारी पतिको हो भन्छ। यसलाई शिरत्व भनेर व्याख्या गरिएको छ। यस शिरत्व-को अभ्यास कसरी गर्नुपर्छ? ख्रीष्ट मण्डलीको शिर हुनुभएझैं पति पनि पत्नीको शिर हुन्‌ भनी पावल बताउँछन्‌। त्यसपछि पावल यसो भन्छन्‌: “ए पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो।” (एफिसी ५:२५) येशूको उदाहरण पछ्याउँदै पतिले मायालु ढंगमा शिरत्वको अभ्यास गर्दा आफ्नी पत्नीबाट “गहिरो आदर” कमाउनेछन्‌। (एफिसी ५:३३, NW) त्यस्तो परिवारमा हुर्केका छोराछोरीले परमेश्‍वरले दिनुभएको अख्तियारको महत्त्व बुझ्नुका साथै त्यसलाई स्वीकार्न प्रोत्साहित हुन्छन्‌।—एफिसी ६:१-३.

मृत्युले गर्दा पति वा पत्नी गुमाउने व्यक्‍तिहरूलगायत अन्य कारणले एक्लिएका आमा वा बुबाले कसरी यस समस्या समाधान गर्नसक्छन्‌? आमा होस्‌ वा बुबा, तिनीहरूले सीधै यहोवा परमेश्‍वर र येशू ख्रीष्टको अख्तियारलाई गुहार्नसक्छन्‌। येशू सधैं अख्तियारसाथ आफ्नो पिता र प्रेरित धर्मशास्त्रबारे कुरा गर्नुहुन्थ्यो।—मत्ती ४:१-१०; ७:२९; यूहन्‍ना ५:१९, ३०; ८:२८.

केटाकेटीले सामना गर्ने समस्याहरूबारे बाइबलमा प्रशस्त बहुमूल्य सिद्धान्तहरू दिइएका छन्‌। ती सिद्धान्तहरू पत्ता लगाएर पालन गरेमा एक्लो आमा वा बुबाले आफ्ना छोराछोरीलाई मायालु तथा मदतकारी सल्लाह दिनसक्छन्‌। (उत्पत्ति ६:२२; हितोपदेश १३:२०; मत्ती ६:३३; १ कोरिन्थी १५:३३; फिलिप्पी ४:८, ९) धर्मशास्त्रको अख्तियारको आदर गर्दा हुने लाभहरूको मूल्यांकन गर्न छोराछोरीलाई सिकाउन आमाबाबुले विशेष गरी यसैको लागि तयार पारिएको बाइबल आधारित प्रकाशनहरूको मदत लिनसक्छन्‌। a

मसीही मण्डली र अख्तियार

“यिनी मेरा प्रिय पुत्र हुन्‌, जसमा म प्रसन्‍न छु, तिमीहरूले उनको कुरा सुन।” (मत्ती १७:५) यहोवा परमेश्‍वर स्वयम्‌ले भन्‍नुभएका यी शब्दहरूले येशूले ईश्‍वरीय अख्तियार सहित बोल्ने अधिकार पाउनुभएको छ भनेर स्पष्ट पाऱ्‍यो। उहाँले भन्‍नुभएका कुराहरू सुसमाचारका चारवटा पुस्तकमा हामी सजिलै पढ्‌नसक्छौं।

स्वर्गमा जानुभन्दा केही समयअघि येशूले आफ्ना चेलाहरूलाई यस्तो जानकारी दिनुभयो: “स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ।” (मत्ती २८:१८) मण्डलीको शिरको हैसियतमा येशूले पृथ्वीमा भएका आफ्ना अभिषिक्‍त अनुयायीहरूको ख्याल राख्नुका साथै सा.यु. ३३ पेन्तिकोसमा पवित्र आत्माले नियुक्‍त गर्नु भएपछि तिनीहरूलाई “विश्‍वासी र बुद्धिमान दास[को]” रूपमा सत्य कुराहरू सिकाउने माध्यमको रूपमा चलाउनुभयो। (मत्ती २४:४५-४७; प्रेरित २:१-३६) मसीही मण्डलीहरूलाई सुदृढ पार्नका लागि उहाँले यी कामहरू कसरी गर्नुभएको छ? “उहाँ माथि उक्लेर जानुहुँदा, . . . [“पुरुषहरूमा,” NW] वरदान दिनुभयो।” (एफिसी ४:८) यी “पुरुषहरूमा वरदान” पवित्र आत्माद्वारा नियुक्‍त मसीही प्राचीनहरू हुन्‌ र तिनीहरूलाई सँगी विश्‍वासीहरूको आध्यात्मिक आवश्‍यकताहरूको हेरविचार गर्ने अख्तियार दिइएको छ।—प्रेरित २०:२८.

यसकारण, पावल यस्तो सल्लाह दिन्छन्‌: “तिमीहरूलाई परमेश्‍वरको वचन सुनाउने र तिमीहरूका अगुवाहरूलाई सम्झ र तिमीहरूका जीवनको नतिजालाई विचार गरेर तिनीहरूको विश्‍वासको देखा-सिकि गर।” यी विश्‍वासी पुरुषहरूले सकेसम्म येशूको पाइला पछ्याउने प्रयास गर्ने भएकाले हामीले तिनीहरूको विश्‍वासको देखासिकि गर्नु पक्कै पनि बुद्धिमानी हो। त्यसपछि, पावल अझ यसो भन्छन्‌: “तिमीहरूमाथि शासन गर्नेहरूका आज्ञाकारी होओ, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्ने जस्तैगरी, तिमीहरूका प्राणको तिनीहरूले हेरचाह गर्छन्‌, यो तिनीहरूले आनन्दसाथ गरून्‌। दुःख मानेर होइन, किनकि त्यसबाट तिमीहरूलाई लाभदायक हुँदैन।”—हिब्रू १३:७, १७.

त्यस्तो निर्देशन बेवास्ता गर्दा के हुन्छ? प्रारम्भिक मसीही मण्डलीका कसै कसैले बेवास्ता गर्दा तिनीहरू धर्मत्यागी भए। हाइमेनियस र फिलेतसले ‘अशुद्ध बकबक’ गरेर कसै कसैको विश्‍वास उल्टाइदिए भनेर उल्लेख गरिएको छ। तिनीहरूले भनेका कुराहरूमध्ये एउटा थियो, आत्मिक वा प्रतीकात्मक पुनरुत्थान भइसक्यो, त्यसैले परमेश्‍वरको भावी राज्यमा पुनरुत्थान हुनेछैन।—२ तिमोथी २:१६-१८.

नियुक्‍त अख्तियारले यसको खण्डन गऱ्‍यो। मसीही प्राचीनहरूले त्यस्तो तर्कको खण्डन गर्न सके किनभने येशू ख्रीष्टको प्रतिनिधिको हैसियतमा तिनीहरूले धर्मशास्त्रको अख्तियार चलाए। (२ तिमोथी ३:१६, १७) “सत्यको खामा र जग” भनी व्याख्या गरिएको आजको मसीही मण्डलीमा पनि त्यही कुरा लागू हुन्छ। (१ तिमोथी ३:१५) हाम्रो विश्‍वासको निम्ति बाइबलका पानाहरूमा सुरक्षित राखिएका “पक्का कुराहरू”-लाई झूटा शिक्षाले कहिल्यै बिगार्न पाउने छैन।—२ तिमोथी १:१३, १४.

संसारमा अख्तियारवालाहरूको आदर झन्‌ झनै हराउँदै गए तापनि मसीहीहरूको हैसियतमा हामी आफ्नो समुदाय, परिवार र मसीही मण्डलीभित्रको उचित अख्तियार हाम्रै भलाइको निम्ति हो भनी स्वीकार्छौं। हाम्रो शारीरिक, भावनात्मक र आध्यात्मिक सुस्वास्थ्यको निम्ति अख्तियारवालाको आदर गर्नु अत्यावश्‍यक छ। परमेश्‍वरले दिनुभएको त्यस्तो अख्तियारवालालाई स्वीकारेर आदर गर्दा सबैभन्दा महान्‌ अख्तियारवाला यहोवा परमेश्‍वर र येशू ख्रीष्टले हाम्रो सुरक्षा अनि अनन्त भलाइ गर्नुहुनेछ।—भजन ११९:१६५; हिब्रू १२:९.

[फुटनोट]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफपारिवारिक आनन्दको रहस्य पुस्तकहरू हेर्नुहोस्‌।

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

परिवारको अख्तियारबारे बाइबलमा प्रशस्त जानकारीहरू दिइएका छन्‌

[पृष्ठ ६-मा भएको चित्र]

एक्लो आमा वा बुबाले सीधै यहोवा परमेश्‍वर र येशू ख्रीष्टको अख्तियारलाई गुहार्नसक्छन्‌

[पृष्ठ ७-मा भएका चित्रहरू]

मसीहीहरू परिवार, मसीही मण्डली र समुदाय भित्रको उचित अख्तियार हाम्रै भलाइको निम्ति हो भनी स्वीकार्छन्‌

[पृष्ठ ४-मा भएको चित्रको स्रोत]

Photo by Josh Mathes, Collection of the Supreme Court of the United States