सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अहंकारले अपमान ल्याउँछ

अहंकारले अपमान ल्याउँछ

अहंकारले अपमान ल्याउँछ

“जब अहंकार आउँछ, तब अपमान पनि आइलाग्छ, तर नम्रताले बुद्धि ल्याउँछ।”–हितोपदेश ११:२, नयाँ संशोधित संस्करण।

१, २. अहंकार के हो र यसले कुन कुन तरिकामा विनाशतर्फ डोऱ्‍याएको छ?

 एक ईर्ष्यालु लेवी यहोवाले अभिषेक गर्नुभएको अख्तियारको विरोध गर्न मानिसहरूलाई उचाल्छन्‌। एक महत्त्वाकांक्षी राजकुमार आफ्नो पिताको सिंहासन हडप्न कुटिल चाल चल्छन्‌। एक अधीर राजा परमेश्‍वरको अगमवक्‍ताले दिएका सुस्पष्ट निर्देशनहरू बेवास्ता गर्छन्‌। यी तीनै जना इस्राएलीहरूको स्वभाव एउटै छ र त्यो हो: अहंकार।

अहंकार हृदयको अवस्था हो र यसले सबैलाई खतरामा पार्छ। (भजन १९:१३) अहंकारी मानिस आफूसित अधिकार नभएको कुरामा पनि बडो साहसी हुँदै आफ्नो अधिकारबाहिरको काम गर्छ। फलतः, यसले अक्सर विनाशमा पुऱ्‍याउँछ। वास्तवमा, अहंकारकै कारण राजाहरू बर्बाद भएका र सत्ताच्युत भएका छन्‌। (यर्मिया ५०:२९, ३१, ३२; दानियल ५:२०) यसले यहोवाका केही दासहरूलाई समेत आफ्नो पासोमा पारेको छ र तिनीहरूलाई पनि बर्बादीतर्फ धकेलेको छ।

३. अहंकारी हुनुका खतराहरूबारे हामी कसरी थाह पाउनसक्छौं?

त्यसकारण, असलै कारणसहित बाइबल यसो भन्छ: “जब अहंकार आउँछ, तब अपमान पनि आइलाग्छ, तर नम्रताले बुद्धि ल्याउँछ [“विनयीसित बुद्धि हुन्छ,” NW]।” (हितोपदेश ११:२, नयाँ संशोधित संस्करण) यो हितोपदेशको सच्चाइलाई पुष्टि गर्न बाइबलले हाम्रोनिम्ति उदाहरणहरू पेस गरेको छ। यीमध्ये केही उदाहरणलाई जाँच्दा मात्र पनि उचित सीमाहरूलाई नाघ्दा कस्तो खतरा आइपर्छ, त्यो बुझ्न मदत पाउनेछौं। तसर्थ, आउनुहोस्‌, ईर्ष्या, महत्त्वाकांक्षा अनि अधीर स्वभावले सुरुमा उल्लिखित तीन पुरुषहरूलाई कसरी अपमान भोग्नुपर्ने अहंकारी बनायो छलफल गरौं।

कोरह—ईर्ष्यालु विद्रोही

४. (क) कोरह को थिए र तिनी कुनचाहिं ऐतिहासिक घटनाका सहभागी थिए? (ख) उमेर ढल्केपछि कोरहले मानिसहरूलाई कस्तो अपमानजनक कार्य गर्न उक्साए?

कोरह कहाती खलकका लेवी थिए र मोशा र हारूनका काकाका छोरा थिए। तिनले दशकौंसम्म वफादार भई यहोवाको सेवा गरेको हुनुपर्छ। लाल समुद्रमा चमत्कारी ढंगले छुट्‌कारा पाउनेहरूमध्ये कोरह पनि थिए र सीनै पर्वतमा बाछोको उपासना गर्नेहरूलाई यहोवाले भन्‍नुभएबमोजिम दण्ड दिनेहरूमध्ये तिनी पनि हुनुपर्छ। (प्रस्थान ३२:२६) तथापि, अन्तत: कोरह, मोशा र हारूनको विरोध गर्नेहरूको नाइके भए र तिनको विद्रोही समूहमा रूबेन खलकका दातान, अबीराम र ओनका अतिरिक्‍त इस्राएलका २५० जना मुखियाहरू थिए। a तिनीहरूले मोशा र हारूनलाई यसो भने: “तपाईंहरूले अति गर्नुभयो! समुदायका सबै जना पवित्र छन्‌, र परमप्रभु तिनीहरूका बीचमा हुनुहुन्छ। तपाईंहरू किन आफूलाई सबैभन्दा उच्च तुल्याउनुहुन्छ?”—गन्ती १६:१-३, नयाँ संशोधित संस्करण।

५, ६. (क) कोरहले मोशा र हारूनको विरोध किन गरे? (ख) कोरहले परमेश्‍वरको संगठनमा आफ्नो स्थानलाई तुच्छ ठानेका हुनसक्छन्‌ भनेर किन भन्‍न सकिन्छ?

वर्षौंसम्म विश्‍वासी रहेर पनि कोरहले किन विद्रोह गरे? इस्राएलीहरूको नेतृत्व गर्दा मोशाले कदापि तिनीहरूको शोषण गरेको हुन सक्दैन किनकि तिनी “पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्‍ति थिए।” (गन्ती १२:३) हो, यसो हेर्दा कोरहले मोशा र हारूनको ईर्ष्या गरेको र तिनीहरूको उच्च ओहदाप्रति रोष प्रकट गरेको देखिन्छ। फलतः, मोशा र हारूनले मनमानी गर्दै र आफ्नै स्वार्थपूर्ति गर्न सम्पूर्ण मण्डलीमाथि आफूलाई उचालेको हो भन्‍ने गलत कुरा कोरहले गरे।—भजन १०६:१६.

परमेश्‍वरले दिनुभएको विशेषाधिकारको कदर नगर्नु पनि कोरहको समस्याको कारण हुनसक्ने बलियो सम्भावना छ। हो, कहाती खलकका लेवीहरू पूजाहारी हुन पाउँदैनन्‌ थिए तर तिनीहरू परमेश्‍वरको व्यवस्थाका शिक्षकहरू थिए। पालका सरसामान तथा भाँडाकुँडाहरू यताउता ओसार्नु पर्दा तिनीहरूले पनि जिम्मेवारी पाउँथे। यो कुनै साधारण जिम्मेवारी थिएन। किनभने धार्मिक तथा नैतिक तवरमा शुद्ध व्यक्‍तिहरूले मात्र पवित्र सरसामानहरू उठाउने सुअवसर पाउँथे। (यशैया ५२:११) यसकारण, मोशाले कोरहसित कुरा गर्दा यस्तै केही सोधेको हुनुपर्छ, के अहिले तिमी पूजाहारी पद नै चाहिने गरी यसरी आफ्नो कार्यभारलाई तुच्छ ठान्छौ? (गन्ती १६:९, १०) कुनै विशेष ओहदा वा पद प्राप्त गर्नु होइन बरु, यहोवाको प्रबन्धअनुरूप विश्‍वासी भई सेवा गर्न पाउनु नै ठूलो सम्मानको कुरा हो भनेर कोरहले बुझ्न सकेनन्‌।—भजन ८४:१०.

७. (क) मोशाले कोरह र तिनका मानिसहरूको सामना कसरी गरे? (ख) आफ्नो विद्रोही कार्यले कोरहलाई कसरी विनाशतर्फ डोऱ्‍यायो?

मोशाले कोरह र तिनका मित्रहरूलाई बोलाएर तिनीहरूलाई आगोको धुपौरो र धूप बोकेर भेट हुने पालमा भोलि बिहान एकसाथ भेला हुन निम्त्याए। कोरह र तिनका मानिसहरू पूजाहारी नभएकाले तिनीहरूले धूप चढाउने अधिकार पाएका थिएनन्‌। त्यसकारण, रातभर यस विषयमा विचारविमर्श गरिसकेर पनि तिनीहरू आगोको धुपौरो र धूप लिएर आए भने तिनीहरू अझै पनि आफूसित पूजाहारी हुने हक छ भन्ठान्दा रहेछन्‌ भनेर स्पष्ट हुनेथियो। भोलिपल्ट बिहान तिनीहरू उपस्थित हुँदा यहोवाको क्रोध तिनीहरूमाथि दन्कियो। अनि रूबेन खलककाहरूलाई “धरतीले आफ्नो मुख बाएर . . . निलि[दियो]।” कोरहलगायत बाँकी अरूचाहिं परमेश्‍वरको आगोले भस्म भए। (व्यवस्था ११:६; गन्ती १६:१६-३५; २६:१०) यसरी कोरहको अहंकारले घोर अपमान ल्यायो अर्थात्‌ तिनले परमेश्‍वरको अनुमोदन गुमाए!

“डाह गर्ने इच्छा[सँग]” लडन्त गर्नुहोस्‌

८. मसीहीहरूबीच “डाह गर्ने इच्छा” कसरी देखा पर्नसक्छ?

कोरहको घटना हाम्रोनिम्ति चेताउनी हो। असिद्ध मानवमा “डाह गर्ने इच्छा” हुनेभएकोले यो मसीही मण्डलीमा समेत देखिनसक्छ। (याकूब ४:५) उदाहरणका लागि, हामी ओहदाको चिन्ता गर्नेहरू हुनसक्छौं। आफूले चाहेको विशेषाधिकार अरू कसैले पाउँदा हामी पनि कोरहले जस्तै तिनको ईर्ष्या गर्नसक्छौं। अथवा, हामी प्रथम शताब्दीका डियोत्रिफस नाउँ गरेका मसीहीजस्तै हुनसक्छौं। तिनले प्रेरितहरूको अख्तियारको एकदमै आलोचना गरे। किनकि, तिनी सम्पूर्ण अख्तियार आफ्नो हातमा लिन चाहन्थे। वास्तवमा, यूहन्‍नाले डियोत्रिफस “ठूलो हुनखोज्ने” खालका छन्‌ भनेर लेखे।—३ यूहन्‍ना ९.

९. (क) मण्डलीका जिम्मेवारीहरूप्रति हामीले कस्तो मनोवृत्ति नराख्न होसियार हुनुपर्छ? (ख) परमेश्‍वरको संगठनमा आफ्नो स्थानबारे हामीले कस्तो दृष्टिकोण राख्नु उचित छ?

हो, मसीही पुरुषले मण्डलीमा जिम्मेवारी प्राप्त गर्न अघि बढ्‌नु पक्कै पनि गलत होइन। पावलले यस्तै गर्नु भनेर प्रोत्साहनसमेत दिएका थिए। (१ तिमोथी ३:१) तथापि, सेवा गर्ने सुअवसरहरू प्राप्त गर्नु भनेको सफलताको खुँड्‌किलो धमाधम चढ्‌नु हो भन्ठान्दै यसलाई विशिष्टताको चिह्नको रूपमा लिनु हुँदैन। येशूले भन्‍नुभएको यो कुरा सम्झनुहोस्‌ त: “जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनेछ। जो तिमीहरूमा पहिलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको चाकर हुनेछ।” (मत्ती २०:२६, २७) कुरा स्पष्ट छ, परमेश्‍वरले हाम्रो मोल उहाँको संगठनमा हामीले पाएको “पदवी[मा]” आधारित गर्नुहुन्छ भन्ठान्दै ठूलठूला जिम्मेवारी पाएकाहरूको ईर्ष्या गर्नु गलत हो। येशूले भन्‍नुभयो: “तिमीहरू चाहिं सबै दाज्यू-भाइ हौ।” (मत्ती २३:८) हो, प्रकाशक होस्‌ वा अग्रगामी, भर्खरै बप्तिस्मा लिएको होस्‌ वा धेरै अघि, सम्पूर्ण हृदयले यहोवाको सेवा गर्ने सबैले उहाँको संगठनमा बहुमूल्य स्थान पाएका छन्‌। (लूका १०:२७; १२:६, ७; गलाती ३:२८; हिब्रू ६:१०) “एउटाले अर्कोप्रति नम्रताको व्यवहार गर” भन्‍ने बाइबलको सल्लाह पालन गर्न प्रयत्न गर्ने लाखौंसित काँधमा काँध मिलाएर काम गर्न पाउनु वास्तवमा आशिष्‌ नै हो।—१ पत्रुस ५:५.

अब्शालोम—महत्त्वाकांक्षी र मौकावादी

१०. अब्शालोम को थिए र तिनले कसरी राजाकहाँ न्याय खोज्न आउनेहरूलाई फकाइफुस्लाइ तिनीहरूको मन जित्ने प्रयास गरे?

१० राजा दाऊदका साहिंला छोरा अब्शालोमको जीवनीले व्यावहारिक शिक्षा दिन्छ। यस मौकावादी षड्यन्त्रकारीले राजाकहाँ न्याय खोज्न आउनेहरूलाई फकाइफुस्लाइ तिनीहरूको मन जित्ने प्रयास गऱ्‍यो। सुरु सुरुमा त उनले दाऊदलाई तिनीहरूको आवश्‍यकताको कुनै पर्वाह छैन भन्‍ने भान तिनीहरूमाथि पाऱ्‍यो। पछि उनले यो कुटिल चाल चल्न छोडेर आफ्नो वास्तविक आशय प्रकट गऱ्‍यो। अब्शालोम यसरी फलाक्न थाल्थ्यो, “यदि म यस देशमा न्यायाधीश नियुक्‍त भएको भए यस्तो दाबी ल्याउने हरेक मानिसको फैसला गरिदिने मेरो कर्त्तव्य हुनेथियो।” अब्शालोमको षड्यन्त्रको सीमै थिएन। बाइबल यसो भन्छ, “जब कुनै मानिस तिनलाई साष्टांग दण्डवत्‌ गर्नलाई आउँथे, तब अब्शालोमले आफ्नो हात पसारेर त्यसलाई समाती अंगालो हालेर म्वाइँ गर्थे। राजाकहाँ न्याय माग्ने हरेकसँग यस्तै व्यवहार ग[र्थे]।” अनि यसको परिणाम? “अब्शालोमले इस्राएलीहरूका प्यार आफूतिर खिंचे।”—२ शमूएल १५:१-६.

११. अब्शालोमले कसरी दाऊदको सिंहासन हडप्ने प्रयास गरे?

११ अब्शालोमले आफ्नो बुबाको राज्य हडप्ने निर्णय गरिसकेको थियो। पाँच वर्षअघि, तिनले आफ्नी बहिनी तामारको बलात्कारको बदला लिन दाऊदका जेठा छोरा अम्मोनको हत्या गरेका थिए। (२ शमूएल १३:२८, २९) तथापि, त्यतिखेरै अब्शालोमले सिंहासनमा आँखा गाडेको हुनसक्थ्यो किनकि अम्मोनको हत्या तिनलाई आफ्नो बाटोबाट हटाउने सजिलो उपाय थियो। b जे होस्‌, अनुकूल समय आउँदा अब्शालोमले आफ्नो योजना कार्यान्वयन गऱ्‍यो। उसले देशभर आफू राजा भएको ढ्‌वाङ फुकायो।—२ शमूएल १५:१०.

१२. अब्शालोमको अहंकारले कसरी अपमान ल्यायो, वर्णन गर्नुहोस्‌।

१२ केही समयका लागि अब्शालोमले सफलता त हासिल गऱ्‍यो किनकि “यो षड़यन्त्र खूब प्रबल हुँदै गयो, र अब्शालोमतर्फ लागेका मानिसहरूको संख्या पनि बढ़दैगयो।” समयमा, राजा दाऊदले आफ्नो ज्यान जोगाउन भाग्नुपऱ्‍यो। (२ शमूएल १५:१२-१७) तैपनि, चाँडै, योआबले अब्शालोमको बीभत्स हत्या गरेर खाडलमा ढुंगाले छोपिदिंदा उसको आयु सिद्धियो। कल्पना गर्नुहोस्‌, राजा हुन चाहने यस महत्त्वाकांक्षी पुरुषको अन्त्येष्टिसमेत विधिपूर्वक भएन! c साँच्चै, अहंकारले अब्शालोममाथि अपमान ल्यायो।—२ शमूएल १८:९-१७.

स्वार्थी महत्त्वाकांक्षालाई त्याग्नुहोस्‌

१३. मसीहीको हृदयमा महत्त्वाकांक्षी भावले कसरी जरा गाड्‌नसक्छ?

१३ अब्शालोम सत्तामा आउनु र तुरुन्तै पतन हुनु हाम्रोनिम्ति एउटा पाठ हो। आजको खुट्टा तान्‍ने जमानामा आफूभन्दा ठूलोलाई चिप्लो घस्ने, तिनीहरूको अनुमोदन प्राप्त गर्न खोज्ने वा कुनै मौका वा बढुवा हात पार्ने प्रयास गर्ने कुरा साधारण भइसकेको छ। अनि यसबाहेक तिनीहरू आफूमुनिका कामदारहरूमाथि धाक जमाउने, तिनीहरूलाई फकाइफुस्लाइ तिनीहरूको मन जित्न र समर्थन पाउन खोज्ने आशा पनि गर्दा हुन्‌। हामी होसियार भएनौं भने, यस्तो महत्त्वाकांक्षी भावले हाम्रो हृदयमा जरा गाड्‌नसक्छ। प्रथम शताब्दीका केही मसीहीहरूबीच यस्तै भएको देखिन्छ किनकि यस्ताहरूबाट जोगिनु भनेर प्रेरितहरूले निकै सशक्‍त चेताउनीहरू दिनुपरेको थियो।—गलाती ४:१७; ३ यूहन्‍ना ९, १०.

१४. हामीले किन महत्त्वाकांक्ष र आत्मप्रशंसा त्याग्नैपर्छ?

१४ “आफ्नै मान खो[ज्ने]” आत्मप्रशंसक षड्यन्त्रकारीहरूका लागि यहोवाको संगठनमा कुनै ठाउँ छैन। (हितोपदेश २५:२७) त्यसैकारण, बाइबल यस्तो चेताउनी दिन्छ: “सबै खुशामदी गर्ने ओठलाई र ठूलाठूला कुरा गर्ने जिब्रोलाई परमप्रभुले काटिदिनुहुनेछ।” (भजन १२:३) अब्शालोमको ओंठ खुसामद गर्ने खालको थियो। सत्ता हत्याउन उसले आफूलाई चाहिने सबै समर्थन जुटाउन मानिसहरूलाई चिप्लो घस्न थालेको थियो। यसको विपरीत, पावलको यो सल्लाह स्वीकार्ने भ्रातृत्वबीच रहन पाउनु हाम्रोनिम्ति साह्रै ठूलो आशिष्‌ हो: “विरोध अथवा फोस्रो घमण्डले केही नगर। तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठा[न]।”—फिलिप्पी २:३.

शाऊल—एक अधीर राजा

१५. शाऊलले कुनै समय आफू विनयी थिए भनी कसरी देखाए?

१५ इस्राएलका राजा हुनुअघि कुनै समय शाऊल विनयी थिए। उदाहरणका लागि, तिनी जवान छँदा के भएको थियो, विचार गर्नुहोस्‌। परमेश्‍वरका अगमवक्‍ताले तिनीबारे राम्रो कुरा गर्दा शाऊलले नम्र हुँदै यस्तो जवाफ दिए: “तर म ता इस्राएलका कुलहरूको सबैभन्दा सानो एक बिन्यामिनी हुँ। औ बिन्यामीनका कुलका परिवारहरूमध्ये मेरो घराना सबैभन्दा सानो छ। तपाईं किन यो कुरो मलाई भन्‍नुहुन्छ?”—१ शमूएल ९:२१.

१६. कसरी शाऊलले अधीर मनोवृत्ति देखाए?

१६ तथापि, पछि शाऊलको विनयी स्वभाव हरायो। पलिश्‍तीहरूसित युद्ध गर्दा पछि हटेर गिलगाल झर्ने क्रममा शमूएलले बलिदान चढाएर परमेश्‍वरलाई बिन्ती गर्नेछन्‌, त्यसैकारण तिनलाई पर्खन भनिएको थियो। तोकिएको समयसम्म शमूएल नआइपुग्दा, शाऊलले अहंकारी भई आफैले होमबलि चढाए। तिनले बलि चढाउन सिध्याएका मात्र के थिए, शमूएल आइपुगे। शमूएलले सोधे, “यो तपाईंले के गर्नुभयो?” शाऊलले जवाफ दिए, “मानिसहरू मबाट हटिरहेका मैले देखें, औ तपाईंले प्रतिज्ञा गर्नुभएको समयमा तपाईं पनि आउनुभएन, . . . यसैले म आफैले यो होमबलि चढ़ाउन मलाई करै लाग्यो।”—१ शमूएल १३:८-१२.

१७. (क) यसो हेर्दा शाऊलले गरेको काम किन उचितै थियो जस्तो देखिनसक्छ? (ख) शाऊलको अधीर कदमको यहोवाले किन निन्दा गर्नुभयो?

१७ झट्टै हेर्दा, शाऊलले जे गरे ठीकै गरेजस्तो देखिनसक्छ। किनभने, परमेश्‍वरका जनहरू “घोर संकष्टमा” र “साह्रै पेलिएका” थिए। (१ शमूएल १३:६, ७) परिस्थितिको मागअनुसार कदम चाल्नुमा पक्कै पनि कुनै खराबी छैन। d तर नबिर्सनुहोस्‌, यहोवा हाम्रो हृदय पढ्‌न सक्नुहुन्छ र हाम्रा भित्री भावनाहरू बुझ्न सक्नुहुन्छ। (१ शमूएल १६:७) यसकारण, उहाँले शाऊलमा यस्ता कुराहरू देख्नुभयो जुन बाइबलमा प्रत्यक्षतः उल्लेख गरिएको छैन। उदाहरणका लागि, शाऊल, घमण्डका कारण अधीर भएको यहोवाले देख्नुभएको हुनसक्छ। सायद, सम्पूर्ण इस्राएलको राजा भईकन पनि एक वृद्ध, आलेटाले गर्ने अगमवक्‍तालाई पर्खनु तिनलाई असाध्यै असह्‍य भएको हुनसक्छ! जे होस्‌, शमूएलले ढिलासुस्ती गरेको हुँदा आफूले पाएको सुस्पष्ट निर्देशनलाई बेवास्ता गर्दै आफैले बलि चढाउनु तिनलाई उचित लागेको हुनुपर्छ। अनि यसको परिणाम? शमूएलले शाऊलको कामको प्रशंसा गरेनन्‌। यसको विपरीत, तिनले शाऊललाई यसो भन्दै हप्काए: “अब तपाईंको राज्य निरन्तर रहनेछैन। . . . किनभने तपाईंले परमप्रभुको आज्ञापालन गर्नुभएन।” (१ शमूएल १३:१३, १४, नयाँ संशोधित संस्करण) यसरी यहाँ पनि हामी अहंकारले अपमान ल्याएको देख्छौं।

अधीर हुनदेखि होसियार हुनुहोस्‌

१८, १९. (क) धीरजी हुन नसक्दा परमेश्‍वरका आधुनिक सेवक कसरी अहंकारी हुनसक्छन्‌, व्याख्या गर्नुहोस्‌। (ख) मसीही मण्डलीको परिचालन गर्ने सम्बन्धमा हामीले के कुरा बिर्सनु हुँदैन?

१८ शाऊलको अहंकारी कार्यको विवरण हाम्रै भलाइको निम्ति परमेश्‍वरको वचनमा रेकर्ड गरिएको छ। (१ कोरिन्थी १०:११) भाइबहिनीहरूको असिद्धता देखेर हामी सजिलै चिढिनसक्छौं। कुनै काम ठीकसित गर्नु छ भने आफैले नै गर्नुपर्छ भन्ठान्दै हामी पनि शाऊलजस्तै अधीर हुनसक्छौं। उदाहरणका लागि, मानौं, एक जना भाइ कामकुरा व्यवस्थित ढंगमा गर्न एकदमै निपुण छन्‌। तिनी समयनिष्ठ छन्‌, मण्डलीका कामकुरा कसरी सम्हाल्नुपर्छ तिनलाई एक एक राम्ररी थाह छ अनि तिनी दक्ष वक्‍ता र शिक्षक पनि हुन्‌। तर अरूले आफूले जस्तै एक एक कुरा गर्न नसकेको र तिनीहरू आफूले चाहेजत्तिकै सिपालु नभएको तिनलाई लाग्नसक्छ। तर के त्यसो भन्दैमा तिनी अधीर हुन मिल्छ? आफूले प्रयास नगरेका भए केही पनि हुने थिएन र मण्डली भताभुङ हुने थियो भन्‍ने भान पार्दै के तिनले आफ्ना भाइहरूको आलोचना गर्नुहुन्छ? त्यसो गर्नु अहंकार हुनेछ!

१९ वास्तवमा, केले मण्डलीका मसीहीहरूलाई एक बनाएको छ? व्यवस्थापन दक्षताले? कार्यकुशलताले? कि ज्ञानको अपार भण्डारले? हो, मण्डलीलाई सुचारुरूपले चलाउन यी चीजहरू फाइदाजनक छन्‌। (१ कोरिन्थी १४:४०; फिलिप्पी ३:१६; २ पत्रुस ३:१८) तथापि, आफ्ना अनुयायीहरू मुख्यतः तिनीहरूबीचको प्रेमले गर्दा चिनिने थिए भनी येशूले भन्‍नुभयो। (यूहन्‍ना १३:३५) त्यसैकारण, अरूको ख्याल गर्ने प्राचीनहरू व्यवस्थित त हुन्छन्‌ तर मण्डली अरट्ठो व्यवस्थापन आवश्‍यक पर्ने व्यापारिक स्थल होइन तर कोमल व्यवहारको भोको बगाल मिलेर बनेको छ भन्‍ने कुरा पनि तिनीहरू स्वीकार्छन्‌। (यशैया ३२:१, २; ४०:११) यस्ता सिद्धान्तहरूलाई अहंकारी व्यक्‍तिले अक्सर बेवास्ता गर्ने हुँदा फूट उत्पन्‍न हुन्छ। यसको विपरीत, ईश्‍वरीय व्यवस्थापनले शान्ति ल्याउँछ।—१ कोरिन्थी १४:३३; गलाती ६:१६.

२०. यसपछिको लेखमा के छलफल गरिनेछ?

२० कोरह, अब्शालोम र शाऊलसम्बन्धी बाइबल विवरणले हितोपदेश ११:२ मा बताएझैं अहंकारले अपमान ल्याउँछ भन्‍ने तथ्य प्रमाणित हुन्छ। तथापि, त्यही बाइबल पद अझै यसो पनि भन्छ: “विनयीसित बुद्धि हुन्छ।” (NW) विनयी हुनु भनेको के हो? बाइबलका कुन कुन उदाहरणले यस गुणमाथि प्रकाश पार्छ र आज हामी कसरी विनयी हुनसक्छौं? यी प्रश्‍नहरू यसपछिको लेखमा छलफल गरिनेछन्‌।

[फुटनोटहरू]

a रूबेन याकूबका जेठा छोरा थिए। तर तिनीहरूमाथि लेवी कुलका मोशाले अख्तियार चलाइरहेको हुनाले यी रूबेन खलककाहरू रुष्ट भएर कोरहसँग लागेका हुनसक्छन्‌।

b दाऊदको माहिलो छोरा किलाबको जन्मपछि तिनीबारे केही उल्लेख गरिएको छैन। अब्शालोमले विद्रोह गर्नुअघि नै तिनको मृत्यु भइसकेको हुनुपर्छ।

c बाइबलकालीन समयमा, मृतकको लास गाड्‌दा निकै महत्त्व दिइन्थ्यो। यसकारण, लासलाई राम्ररी नगाड्‌नु अपमानजनक हुनुका साथै अक्सर परमेश्‍वरको अनुमोदन गुमाएको ठानिन्थ्यो।—यर्मिया २५:३२, ३३.

d उदाहरणका लागि, दसौं हजार इस्राएलीहरूलाई नाश गर्ने ईश्‍वरीय कोपलाई रोक्न पीनहासले तुरुन्तै कदम चालेका थिए र दाऊदले भोकले रन्थनिएका आफ्ना मानिसहरूलाई “परमेश्‍वरको घर[को]” भेटीका रोटी खान प्रोत्साहन दिएका थिए। यी कार्यहरू अहंकारी भएर गरिएका थिए भनेर परमेश्‍वरले भर्त्सना गर्नुभएन।—मत्ती १२:२-४; गन्ती २५:७-९; १ शमूएल २१:१-६.

के तपाईंलाई सम्झना छ?

• अहंकार के हो?

• ईर्ष्याले कोरहलाई कसरी अहंकारी काम गर्न उक्सायो?

• महत्त्वाकांक्षी अब्शालोमबाट हामी के पाठ सिक्नसक्छौं?

• शाऊलले देखाएको अधीर मनोवृत्तिदेखि हामी कसरी टाढै रहनसक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएको चित्र]

शाऊल अधीर भए र अहंकारी कदम चाले