किन तिनीहरू छोराछोरी जन्माउँदैनन्?
किन तिनीहरू छोराछोरी जन्माउँदैनन्?
डेले र फोला नाउँ गरेका विवाहित दम्पत्ति a नाइजेरियास्थित वाच टावर सोसाइटीको शाखा कार्यालयमा काम गर्छन् र त्यहीं बस्छन्। तिनीहरूले त्यहाँ सेवा गर्न थालेको केही समयपछि फोलाकी आमा तिनीहरूलाई भेट्न आइन्। उनी तिनीहरूसित थुप्रै रात आफ्नो निद्रा बिथोल्ने विषयमा एकदमै गम्भीर छलफल गर्न त्यत्ति टाढाबाट आएकी थिइन्।
उनी भन्छिन्, “तिमीहरूले मेरोनिम्ति धेरै गरेका छौ। तिमीहरू मलाई कोसेली पठाउँछौ र मलाई भेट्न आइरहन्छौ। तिमीहरूले देखाएको माया मलाई एकदमै बहुमूल्य लाग्छ। तर तिमीहरू मेरो उमेरमा पुग्दा कसले तिमीहरूलाई यी सब थोक गर्ला भन्ने चिन्ताले मलाई सताउँछ। तिमीहरूको बिहे भएको पनि दुई वर्ष भइसक्यो तर अहिलेसम्म तिमीहरूको बच्चा भएको छैन। के तिमीहरूलाई बेथेल छोडेर छोराछोरी पाउने समय भयोजस्तो लाग्दैन?”
आमाले यसरी तर्क गरिन्: डेले र फोलाले बेथेलमा निकै समय सेवा गरिसके। अब तिनीहरूले आफ्नो भविष्यबारे सोच्नुपर्छ। तिनीहरूले गरिरहेको काम अरूले पनि गर्न सकिहाल्छन् नि। डेले र फोलाले पूर्ण-समय सेवकाई छोड्नु पर्दैन। छोराछोरी जन्माएर आमाबाबु हुनुको आनन्द अनुभव गर्दै सेवा गर्ने अरू तरिकाहरू पनि त छन्।
आमाको चिन्ता
आमाले यस्तो चिन्ता व्यक्त गर्नुको कारण बुझ्न सकिन्छ। जुनसुकै संस्कृति अनि जमानाको होस्, छोराछोरी जन्माउने इच्छा सबैमा हुन्छ। छोराछोरी जन्माउनुको आनन्दको कुनै सीमा हुँदैन र यसले बाँच्ने आशा पनि दिन्छ। बाइबल बताउँछ, “गर्भको फलचाहिं . . . इनाम हो।” हो, छोराछोरी जन्माउने क्षमता हाम्रो मायालु परमेश्वरले दिनुभएको बहुमूल्य उपहार हो।—भजन १२७:३.
थुप्रै समाजमा विवाहित दम्पतीले बच्चा जन्माउनैपर्ने सामाजिक दबाउको सामना गर्नुपर्ने हुन्छ। उदाहरणका लागि, आइमाईले छ जनासम्म छोराछोरी जन्माउनु सामान्य ठानिने नाइजेरियामा बिहेको बेला नवविवाहितहरूलाई “सन्तानले डाँडाकाँडा ढाकून्” भनेर आशिष् दिने चलन छ। विवाहको बेला दुलहादुलहीलाई बच्चा सुताउने कोक्रो पनि उपहारस्वरूप दिइन्छ। सासूहरू दिन गन्न थाल्छन्। वर्षदिनभरि बुहारी दुई जीउकी भइनन् भने, केही समस्या पो भएको हो कि अनि त्यो समस्या समाधान गर्न मदत गर्नसक्छन् कि भनेर तिनीहरू खोजतलास गर्न थाल्छन्।
प्रायजसो आमाहरूलाई छोराछोरी जन्माउन र वंश थाम्न नै त बिहे गरिएको हो नि भन्ने लाग्नसक्छ। फोलाकी आमाले तिनलाई यसो भनिन्: “बच्चा जन्माउनु नै थिएन भने किन बिहे गऱ्यौ त? मैले नजन्माएको भए, तिमी अहिले हुन्थ्यौ? अब, तिमीले पनि छोराछोरी जन्माउनैपर्छ।”
यसबाहेक, विचार गर्नुपर्ने व्यावहारिक पक्षहरू पनि छन्। थुप्रै अफ्रिकी मुलुकहरूमा वृद्धहरूको हेरचाह गर्ने कुनै सरकारी प्रबन्ध छैन। त्यसकारण, सानो छँदा आमाबाबुले छोराछोरीको हेरविचार गरेजस्तै हुर्किसकेपछि छोराछोरीले नै वृद्ध आमाबाबुको हेरचाह गर्नुपर्ने चलन छ। त्यसकारण, फोलाकी आमाले तर्क गरिन् कि आफ्नै छोराछोरी छ भने, पछि बूढाबूढी भएपछि एक्लो हुनुपर्दैन, कसैको बोझ बन्नुपर्दैन, दरिद्र जीवन बिताउनुपर्दैन र मरिहालेमा पनि बेवारिस लास हुनुपर्दैन।
अफ्रिकाभरि प्रायजसो ठाउँमा छोराछोरी नहुनु अभिशाप ठानिन्छ। कुनै कुनै ठाउँमा आइमाईहरूले विवाहअघि नै छोराछोरी जन्माउनसक्ने आफ्नो क्षमता देखाउनुपर्ने चलन छ। छोराछोरी जन्माउन नसक्ने आइमाईहरू हतास हुँदै
ओखतीमूलो गर्छन् र बाँझोपनबाट जोगिन हर उपाय अपनाउँछन्।यस्ता विचारधारा व्याप्त भएको हुनाले जानाजानी छोराछोरी जन्माउन नचाहने विवाहित दम्पतीलाई तिनीहरूले बेकारमा दुःख निम्त्याउने, अनौठो, अदूरदर्शी अनि दयनीय ठानिन्छ।
रमाहट तथा जिम्मेवारी
बच्चा जन्माउनु रमाहटको कुरा भए तापनि यो जिम्मेवारीको कुरा पनि हो भनेर यहोवाका जनहरूले बुझेका छन्। पहिलो तिमोथी ५:८ मा बाइबल यसो भन्छ: “तर कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।”
आमाबाबुले आफ्नो परिवारलाई मानसिक तथा आध्यात्मिक दुवै तवरमा पालनपोषण गर्नुपर्छ अनि यसका लागि निकै समय खर्च गर्नुपर्छ, मेहनत गर्नुपर्छ। छोराछोरी परमेश्वरले दिनुभएको इनाम हो। त्यसकारण, परमेश्वरले नै हेरिहाल्नुहुन्छ नि भन्ने दृष्टिकोण तिनीहरू राख्दैनन्। बाइबल सिद्धान्तअनुसार छोराछोरी हुर्काउने जिम्मेवारी परमेश्वरले आमाबाबुलाई सुम्पनुभएको पूर्ण-समय जिम्मेवारी हो; यो कसैसित बाँड्न सकिन्नँ भनेर तिनीहरूले बुझेका छन्।—व्यवस्था ६:६, ७.
यस ‘आखिरी दिनको’ ‘डरलाग्दो समयमा’ छोराछोरी हुर्काउनु निकै गाह्रो छ। (२ तिमोथी ३:१-५) आर्थिक अवस्था दिनदिनै खस्किरहेको त छँदैछ, यसबाहेक, अभक्त समाजले गर्दा पनि छोराछोरी हुर्काउनु आज चुनौती नै भएको छ। तैपनि, संसारभर थुप्रै मसीही दम्पतीहरूले यो चुनौती स्वीकारेका छन् र सफलतासाथ “प्रभुको शिक्षा र चेताउनीमा” ईश्वरभक्त छोराछोरी हुर्काएका छन्। (एफिसी ६:४) यी मेहनती आमाबाबुलाई यहोवा आशिष् दिनुहुन्छ।
किन कोही कोही छोराछोरी जन्माउँदैनन्?
अर्कोतिर थुप्रै मसीही दम्पतीहरू छोराछोरी जन्माउँदैनन्। कोही कोही बाँझो हुन्छन् तैपनि धर्मपुत्र वा धर्मपुत्री पाल्दैनन्। अन्य कतिपयचाहिं छोराछोरी पाउनसक्ने क्षमता हुँदाहुँदै पनि नजन्माउने निर्णय गर्छन्। यी दम्पतीहरू आमाबाबुको जिम्मेवारीदेखि उम्कन वा डराएकाले छोराछोरी नजन्माएका होइनन्। बरु, यिनीहरूले पूर्ण-समय सेवकाईका त्यस्ता विभिन्न पक्षहरूमा पूरापूर ध्यान लगाउन सकून् भनेर यस्तो निर्णय गरेका हुन् जुन छोराछोरी जन्माएपछि गर्न सकिन्नँ। कोही मिसनरीको रूपमा सेवा गरिरहेका छन् त कोही परिभ्रमण कार्यमा वा बेथेल सेवामा लागेर यहोवाको सेवा गरिरहेका छन्।
बाँकी अरू सबै मसीहीहरूले जस्तै तिनीहरूले पनि विलम्ब नगरी गर्नुपर्ने काम छ भनेर बुझेका छन्। येशूले यसो भन्नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” यो काम आज गरिंदैछ। सुसमाचारतर्फ ध्यान नदिने मानिसहरूको लागि “अन्त[को]” अर्थ विनाश हुनसक्ने भएकोले यो महत्त्वपूर्ण काम हो।—मत्ती २४:१४; २ थिस्सलोनिकी १:७, ८.
आज हाम्रो समय पनि नूह र तिनको परिवारले जलप्रलयबाट जोगिन विशाल जहाज बनाउँदा खेरिको समयजस्तै छ। (उत्पत्ति ६:१३-१६; मत्ती २४:३७) नूहका तीनै जना छोराहरू विवाहित भए तापनि तिनीहरूमध्ये कसैले पनि जलप्रलयको समयमा छोराछोरी जन्माएनन्। यसको एउटा कारण यी दम्पतीहरू पूरा गर्नुपर्ने काममा आफ्नो सम्पूर्ण ध्यान तथा श्रम लगाउन चाहन्थे। “मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको” यस पतित तथा हिंस्रक संसारमा छोराछोरी हुर्काउन नचाहनु अर्को कारण हुनसक्छ।—उत्पत्ति ६:५.
यसको अर्थ, आज छोराछोरी जन्माउनु सरासर गलत हो भनेको होइन। तर यहोवाले आफ्ना मानिसहरूलाई अह्राउनु भएको अत्यन्त जरुरी काममा अझ धेरै व्यस्त हुन थुप्रै मसीही दम्पतीहरूले छोराछोरी जन्माउने विचार त्यागेका छन्। यहोवाको नयाँ धार्मिक संसारमा छोराछोरी हुर्काउने सम्भावनालाई ध्यानमा राख्दै केही दम्पतीहरूले छोराछोरी जन्माउन केही समय पर्खने विचार गरेका छन् भने कतिपयले चाहिं छोराछोरी नजन्माउने नै निर्णय गरेका छन्। के यो अदूरदर्शी कदम हो? के तिनीहरूले जिन्दगीको ठूलो आनन्द गुमाइरहेका छन्? के तिनीहरू दयाका पात्र हुन्?
सुरक्षित तथा आनन्दित जीवन
सुरुमा उल्लेख गरिएका डेले र फोलाको विवाह भएको अहिले दस वर्ष बढी भइसक्यो र छोराछोरी नपाउने तिनीहरूको निर्णय अझै पनि अटल छ। डेले भन्छन्, “हाम्रा
नातेदारहरू हामीलाई अझै पनि छोराछोरी पाउनुपऱ्यो भनेर दबाउ दिइरहन्छन्। उहाँहरूलाई हाम्रो भविष्यको चिन्ता लाग्छ। हामी सधैं उहाँहरूले देखाउनु भएको चिन्ताको मूल्यांकन व्यक्त गर्छौं तर हामी जे काम गरिरहेका छौं त्यसमा एकदमै सुखी छौं भनेर कौशलतासाथ बताउँछौं। अनि सुरक्षाको सम्बन्धमा हामी उहाँहरूलाई यहोवा हाम्रो भरोसा हुनुहुन्छ र उहाँप्रति विश्वासी र वफादार रहनेहरू सबैको उहाँ भलो चाहनुहुन्छ, ख्याल राख्नुहुन्छ भनेर बताउँछौं। छोराछोरी जन्मिए भन्दैमा वृद्ध भएपछि तिनीहरूले हेर्छन् नै भन्ने कुनै ग्यारेन्टी छैन भनेर पनि हामी उहाँहरूलाई बताउँछौं। आमाबाबुको पटक्कै ख्याल नगर्ने छोराछोरी पनि छन् भने कतिले चाहेर पनि गर्न सक्दैनन् अनि कति त आमाबाबुभन्दा अघि नै मर्छन् पनि। तर यहोवासितको हाम्रो भविष्य पक्का छ।”यहोवाले आफ्ना विश्वासी सेवकहरूसित गर्नुभएको यो प्रतिज्ञामा डेले र तिनीजस्तै अरूले पूर्ण भरोसा राखेका छन्: “म तिमीलाई कुनै रीतिले छोड़नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।” (हिब्रू १३:५) “परमप्रभुको हात बचाउन नसक्ने गरी शक्तिहीन भएको छैन। उहाँको कान सुन्न नसक्ने गरी बाक्लो भएको पनि छैन” भनेर पनि तिनीहरू विश्वस्त छन्।—यशैया ५९:१.
यहोवा आफ्ना विश्वासी सेवकहरूलाई सम्हाल्नुहुन्छ भन्ने विवरणलाई नियाल्दा पनि त्यसरी विश्वस्त हुन सकिन्छ। राजा दाऊदले यसप्रकार लेखे: “जवान थिएँ, र म अहिले बूढ़ो भएको छु। तैपनि धर्मात्मा त्यागिएको, र तिनका सन्तानले भिक्षा मागेको मैले देखेको छैनँ।” यो कुरा विचार गर्नुहोस्। यहोवाको कुनै पनि विश्वासी सेवक “त्यागिएको” के तपाईंलाई थाह छ?—भजन ३७:२५.
यहोवाको अनि आफ्ना सँगी मसीहीहरूको सेवामा पूरै जीवन बिताउनेहरूले बितेका दिनहरू पछुताउँदै सम्झनुको साटो त्यसबाट सन्तुष्टि पाएका छन्। भाइ इरो ऊमा पूर्ण-समय सेवकाईमा लागेको ४५ वर्ष बढी भइसक्यो र अहिले तिनी नाइजेरियामा परिभ्रमण निरीक्षकको रूपमा सेवा गर्दैछन्। तिनी भन्छन्: “हुन त, हाम्रा छोराछोरी छैनन् तर यहोवाले सधैं हामी दुईको आध्यात्मिक अनि भौतिक तवरमा हेरविचार गर्नुहुन्छ भन्ने कुरा मनमा राखिरहन्छौं। हामीलाई केही कुराको अभाव छैन। हामी बूढाबूढी हुँदा उहाँले हामीलाई त्याग्नुहुनेछैन। पूर्ण-समय सेवकाईमा हामीले बिताएको वर्ष, हाम्रो जीवनको अत्यन्तै आनन्दित समय भएको छ। भाइबहिनीहरूको सेवा गर्न सकेकोमा र भाइबहिनीले पनि हाम्रो सेवाको मूल्यांकन गरेको अनि हामीलाई मदत गरेकोमा हामी कृतज्ञ छौं।”
थुप्रै दम्पतीका आफ्नै छोराछोरी त छैनन् तर तिनीहरूको भिन्नै खालका छोराछोरी भने अवश्य छन् र ती हुन् यहोवाको उपासना गर्ने मसीही चेलाहरू। प्रेरित यूहन्नाले यी शब्दहरू लेख्दा तिनी झन्डै १०० वर्षका थिए: “मेरा छोरा-छोरीहरू सत्यमा चलेका सुन्नभन्दा बढ़ता आनन्द अरू मलाई हुँदैन।” (३ यूहन्ना ४) यूहन्नाले “सत्य[सित]” परिचित गराएका तिनका “छोरा-छोरीहरू[को]” विश्वासले तिनलाई निकै आनन्दित तुल्यायो।
आज पनि यस्तै आनन्द प्रशस्त मात्रामा देख्न सकिन्छ। नाइजेरियाकी बर्नीसको बिहे भएको १९ वर्ष भइसक्यो र तिनले स्वेच्छाले छोराछोरी जन्माइनन्। विगत १४ वर्षदेखि तिनी अग्रगामीको रूपमा सेवा गरिरहेकी छिन्। छोराछोरी जन्माउन नसक्ने उमेर नजिकिंदै गएपछि पनि यसरी चेला बनाउने काममा आफ्नो जीवन सुम्पेकोमा तिनलाई कुनै पछुतो छैन। तिनी भन्छिन्: “मेरा आध्यात्मिक छोराछोरी आध्यात्मिक तवरमा हुर्केको देख्दा मलाई साह्रै आनन्द लाग्छ। मेरो आफ्नै छोराछोरी भएको भए पनि तिनीहरू मसित मैले सच्चाइ सिक्न मदत गरेकाहरू भन्दा धेरै घनिष्ठ हुन्थे भन्ने कुरामा मलाई शंका लाग्छ। उनीहरू मलाई आफ्नै आमासरह व्यवहार गर्छन्, मसित आफ्ना आनन्द, समस्या बाँड्छन् र मेरो सुझाउ माग्छन्। उनीहरू मलाई चिठी पठाउँछन् र हाम्रो भेटघाट भइरहन्छ।
“आफ्नै छोराछोरी नहुनु कसै कसैले श्राप हो भन्छन्। तिनीहरू उमेर ढल्केपछि दुःख पाइन्छ भन्छन्। तर खै, मलाई त त्यस्तो लाग्दैन। यहोवालाई पूरा प्राणले सेवा गरुञ्जेल उहाँले मलाई इनाम दिनुहुनेछ र मेरो हेरविचार गर्नुहुनेछ भनेर मलाई थाह छ। म बूढी हुँदा पनि उहाँले मलाई कहिल्यै त्याग्नुहुनेछैन।”
परमेश्वरद्वारा माया अनि कदर गरिएको
छोराछोरी जन्माउने र तिनीहरूलाई ‘सत्यमा चल्ने गरी’ हुर्काउनेहरूसित धन्यवादी हुने प्रशस्त कारण छ। त्यसैकारण, बाइबल यसो भन्छ: “असल मानिसको बाबु रमाउनेछन्, बुद्धिमानी छोरादेखि बाबु खुशी हुनेछ। तेरा आमा-बाबुलाई खुशी हुने केही कारण होस्, तँलाई जन्म दिने आमाले रमाहट गरोस्।”—हितोपदेश २३:२४, २५.
छोराछोरी जन्माउनुको आनन्द उठाउन नचाहने वा नपाउने मसीहीहरूले अर्कै तरिकामा आशिष् पाएका छन्। यस्ता थुप्रै दम्पतीहरूले परमेश्वरको राज्यसम्बन्धी कामकुरालाई अझ विस्तृत पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। वर्षौंको दौडान यिनीहरूले अनुभव, बुद्धि र सीप हासिल गरेका छन् जसले तिनीहरूलाई परमेश्वरको राज्यसम्बन्धी कामकुरामा बहुमूल्य योगदान पुऱ्याउन मदत गरेका छन्। यिनीहरूमध्ये थुप्रै त अग्रणीसमेत साबित भएका छन्।
राज्यसम्बन्धी कामकुराका लागि यिनीहरूले बच्चा नजन्माए तापनि यहोवाले यिनीहरूले गरेका त्यागको गहिरो मूल्यांकन गर्ने मायालु आध्यात्मिक परिवार दिनुभएर आशिष् दिनुभएको छ। येशूले भन्नुभएझैं “जसले मेरो खातिर र सुसमाचारको खातिर घर, कि दाज्यू-भाइ, कि दिदी-बहिनी, कि आमा, कि बाबु, कि बालबच्चाहरू कि जग्गा-जमीन छोड़छ त्यसले खेदोको साथसाथ सय गुणा बढ़ता घरहरू, र दाज्यू-भाइहरू, र दिदी-बहिनीहरू र आमाहरू, र बालकहरू र जग्गा-जमीनहरू . . . आउँदो जगत्मा अनन्त जीवन” पाउनेछ।—मर्कूस १०:२९, ३०.
यहोवाप्रति वफादार हुनेहरू सबै उहाँको निम्ति अति बहुमूल्य छन्! यस्ता वफादार व्यक्तिहरू सबै अर्थात् छोराछोरी जन्माउने र नजन्माउने सबैलाई प्रेरित पावल यस्तो आश्वासन दिन्छन्: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, र पवित्र जनहरूको सेवा गरेको र गर्दै रहेकोमा तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्वर अधर्मी हुनुहुन्न।”—हिब्रू. ६:१०.
[फुटनोट]
a नाउँ परिवर्तन गरिएका छन्।
[पृष्ठ २३-मा भएका चित्रहरू]
छोराछोरी नजन्माउने दम्पतीहरूले मायालु आध्यात्मिक परिवारको आशिष् पाएका छन्