सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवालाई प्रेम गर्नेहरू उहाँको निम्ति मूल्यवान्‌ छन्‌

यहोवालाई प्रेम गर्नेहरू उहाँको निम्ति मूल्यवान्‌ छन्‌

राज्य उद्‌घोषकहरूको रिपोर्ट

यहोवालाई प्रेम गर्नेहरू उहाँको निम्ति मूल्यवान्‌ छन्‌

बाइबल समयदेखि नै लेबनान त्यसका प्राकृतिक सम्पदाहरूका निम्ति प्रख्यात छ। (भजन ७२:१६; यशैया ६०:१३) विशेष गरी त्यहाँ पाइने उन्‍नत जातको देवदारको अत्याधिक माग हुन्थ्यो। सौन्दर्य, सुवास र टिकाउको कारण भवन निर्माण गर्न यसको प्रयोग गरिन्थ्यो। प्रथम शताब्दीमा लेबनानमा त्योभन्दा अझै मूल्यवान्‌ कुरा पाइयो। मर्कूसको सुसमाचारको पुस्तकले लेबनानको पुरानो इलाका टायर र साइडनबाट “मानिसहरूको ठूलो भीड़ [येशूले] कस्ता ठूला ठूला कामहरू गर्नुभएको छ भन्‍ने सुनेर उहाँकहाँ आयो” भन्छ।—मर्कूस ३:८.

त्यस्तै गरी, आज पनि लेबनानमा यहोवाको नजरमा मूल्यवान्‌ फलहरू फलिरहेको छ। निम्न अनुभवहरूले यसको पुष्टि दिन्छ।

• विसम नाउँ गरेका जवान साक्षीलाई तिनको कक्षामा ३० मिनेट लामो भाषण दिन आग्रह गरियो। विसमले यसलाई साक्षी दिने राम्रो सुअवसरको रूपमा लिए। त्यसैले तिनले लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन? पुस्तकको मदत लिएर सृष्टिको विषयमा आफ्नो भाषण तयार पारे। तथापि, विसमको भाषण विषय देखेपछि तिनको शिक्षिकाले महत्त्वपूर्ण विषय भएको कारण ४५ मिनेट लामो भाषण दिनसक्ने बताइन्‌।

विसमले जसै आफ्नो भाषण सुरु गरे शिक्षिकाले तिनलाई एकछिन रोक्न लगाइन्‌ र स्कूलको प्रिन्सिपललाई डाक्न पठाइन्‌। प्रिन्सिपल पनि छिट्टै आइपुगिन्‌ र विसमले फेरि आफ्नो भाषण सुरु गरे। विसमले भाषणको परिचयमा सोधेका प्रश्‍नहरू सुनेर प्रिन्सिपल अत्यन्तै प्रभावित भइन्‌ र स्कूलका सबै विद्यार्थीहरूलाई यस भाषणको फोटोकपी दिनुपर्ने कुरा बताइन्‌।

एकछिनपछि त्यस कक्षा हुँदै गइरहेका स्कूलकै अर्का एक शिक्षकले कक्षामा चहलपहल देखेर के भइरहेको छ भनेर सोधे। तिनलाई कक्षामा भइरहेको गतिविधिबारे बताएपछि विसमले कुन कुरा प्रमाणित गर्न खोज्दै छन्‌, सृष्टि कि विकासवाद भनेर सोधे। तिनले “सृष्टि” भनेर जवाफ दिए। विसम एक यहोवाका साक्षी हुन्‌ भनेर थाह पाएपछि शिक्षकले कक्षालाई यसो भने: “तिमीहरूले तिनको भाषणबाट विज्ञानले विकासवाद होइन सृष्टिलाई समर्थन गर्छ भनेर बुझ्नेछौ।”

पछि उक्‍त शिक्षकसित पनि क्रिएसन पुस्तक भएको र तिनले विश्‍वविद्यालयहरूमा भाषण दिन उक्‍त पुस्तक चलाउने गरेको थाह पाइयो! त्यहाँबाट जानुअघि तिनले विसमको भाषण सुन्‍न भोलिपल्ट आफ्ना विद्यार्थीहरूलाई ल्याउन सकिन्छ कि भनी सोधे। यहोवाबारे असल साक्षी दिने अर्को सुअवसर पाइयो।

• बाइस वर्षीया नीना सत्यको पानीको निम्ति तिर्खाएकी थिइन्‌। एकदिन तिनको एक नातेदारले बाइबल दिए र पेन्तिकोस्टल चर्चमा लगे। आनन्दित हुँदै नीनाले बाइबल पढिन्‌ र पढेपछि मसीहीहरूले प्रचार गर्नुपर्छ भन्‍ने कुरा पनि थाह पाइन्‌। त्यसैले आफूले चिनेजानेका मानिसहरूलाई प्रचार गर्न थालिन्‌। तिनले कुरा गरे जति सबै मानिसले तिनलाई “तिमी त यहोवाको साक्षी हो कि क्या हो” भनी सोधे। यस कुराले तिनी छक्क परिन्‌।

छ वर्षपछि यहोवाका साक्षीहरू नीनाको घरमा आए र तिनीहरूले परमेश्‍वरको राज्यबारे बताए। सुरुमा त तिनले तिनीहरूको शिक्षामा गल्ती भेट्टाउने कोसिस गरिन्‌। तथापि, उनले तिनीहरूका जवाफहरू सबै तार्किक र बाइबल आधारित भएको पाइन्‌।

आखिरमा परमेश्‍वरको नाउँ, यहोवा; परमेश्‍वरको राज्यको आशिष्‌जस्ता कुराहरू सिकेपछि नीना यही नै सत्य हो भनेर विश्‍वस्त भइन्‌। उनले आफ्नो जीवन परमेश्‍वरलाई समर्पण गरिन्‌ र बप्तिस्मा लिइन्‌। विगत सात वर्षदेखि नीना पूर्ण-समय सुसमाचारकको हैसियतमा सेवा गर्दैछिन्‌। साँच्चै, यहोवा उहाँलाई साँचो प्रेम गर्नेहरूलाई आशिष्‌ दिनुहुन्छ।—१ कोरिन्थी २:९.