सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं “परिपक्व” मसीही हुनुहुन्छ?

के तपाईं “परिपक्व” मसीही हुनुहुन्छ?

के तपाईं “परिपक्व” मसीही हुनुहुन्छ?

“जब म बालक थिएँ, तब बालकले जस्तै बोल्थें, बालकले जस्तै सोच्थें, बालकले जस्तै विचार गर्थें।” उक्‍त शब्दहरू प्रेरित पावलका हुन्‌। हो, वास्तवमा हामी सबै कुनै समय असहाय बालकजस्तै थियौं। तथापि, हामी सधैं त्यही अवस्थामा रहिरहेनौं। पावल अझ यसो भन्छन्‌: “तर अब म जवान भएको छु, र केटा-केटीको कुरो छोड़िदिएको छु।”—१ कोरिन्थी १३:११.

त्यसै गरी, सबै मसीहीहरू कुनै समय आध्यात्मिक तवरमा बालकै थिए। तर समयको क्रममा, सबैले “विश्‍वासको र परमेश्‍वरका पुत्रको ज्ञानको एकता प्राप्त ग[रे], र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म [पुगे]।” (एफिसी ४:१३, नयाँ संशोधित संस्करण) पहिलो कोरिन्थी १४:२० मा हामीलाई यस्तो सल्लाह दिइएको छ: “भाइ हो, सोच-विचारमा बालक नहोओ। . . . तर सोच-विचारमा परिपक्व बन।” (नयाँ संशोधित संस्करण)

परिपक्व र पाको मसीहीहरू आज परमेश्‍वरका जनहरूका लागि र त्यसमा पनि विशेष गरी यत्ति धेरै नयाँ मानिसहरू भएको समयमा आशिष्‌ नै हुन्‌। परिपक्व मसीहीहरूले मण्डलीलाई स्थिर राख्न मदत गर्छन्‌। मण्डलीमाथि तिनीहरूको सकारात्मक असर पर्छ।

शारीरिक विकास धेरथोर स्वतः हुन्छ भने आध्यात्मिक विकासका लागि प्रयास र समय चाहिन्छ। त्यसैले होला, पावलको जमानामा केही मसीहीहरूले परमेश्‍वरको सेवा गरेको निकै भइसके तापनि ‘सिद्धतातर्फ बढ्‌न’ सकेका थिएनन्‌। (हिब्रू ५:१२; ६:१) तपाईं नि? तपाईंले परमेश्‍वरको सेवा गर्न थाल्नुभएको निकै वर्ष भएको होस्‌ वा हिजो मात्रै, इमानदारीसाथ आफ्नो जाँच गर्नु उचित हुनेछ। (२ कोरिन्थी १३:५) के तपाईंलाई परिपक्व अथवा पाको मसीही भन्‍न मिल्छ? मिल्दैन भने, कसरी परिपक्व अथवा पाको मसीही हुने?

“सोच-विचारमा परिपक्व बन”

आध्यात्मिक बालक सजिलै “भ्रमको धूर्त कारवाईहरूअनुसार छलमा मानिसहरूको धूर्तताले सिद्धान्तको प्रत्येक बतासबाट ओल्ट्याङ-पल्ट्याङ पारिएर यताउता हुर्रिने” हुन्छन्‌। त्यसकारण, पावलले यस्तो आग्रह गरे: “हामी सबै कुरामा उहाँसम्मै, अर्थात्‌ ख्रीष्टसम्मै बढ़दै जाऔं, जो शिर हुनुहुन्छ।” (एफिसी ४:१४, १५) यसो कसरी गर्न सकिन्छ? हिब्रू ५:१४ यसो भन्छ: “खँदिलो खानेकुराचाहिं पूरा बढ़ेका मानिसहरूका निम्ति हो, जो त्यसको प्रयोगबाट खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रियको अभ्यास भएका हुन्छन्‌।”

याद गर्नुहोस्‌, परिपक्व मानिसहरूले आफ्नो ज्ञानेन्द्रियको अभ्यास गरेका हुन्छन्‌ अथवा बाइबल सिद्धान्तहरू प्रयोग गरेर अनुभवी भएका हुन्छन्‌। स्पष्ट छ, कुनै व्यक्‍ति रातारात परिपक्व हुँदैन; आध्यात्मिक तवरमा हुर्कन समय लाग्छ। तैपनि, व्यक्‍तिगत अध्ययनद्वारा र विशेष गरी परमेश्‍वरको वचनका गहिरा कुराहरू अध्ययन गरेर तपाईं आध्यात्मिक तवरमा निकै छिटो हुर्कन सक्नुहुन्छ। प्रहरीधरहरा-का हालैका अंकहरूमा थुप्रै गहिरा विषयहरू छलफल गरिएका छन्‌। ती लेखहरूमा भएका “कुराहरू बुझ्न कठिन छन्‌” भन्दै परिपक्व व्यक्‍तिहरू त्यसलाई पन्छाउँदैनन्‌। (२ पत्रुस ३:१६) बरु, तिनीहरू यी खँदिलो खानेकुरा स्वात्त पारिहाल्छन्‌!

जोसिला प्रचारक तथा शिक्षकहरू

येशूले आफ्ना चेलाहरूलाई यस्तो निर्देशन दिनुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१९, २०) प्रचार कार्यमा जोसिलो भई भाग लिंदा पनि तपाईंको छिटो छिटो आध्यात्मिक प्रगति हुन्छ। अतः परिस्थितिले दिउञ्जेल यसमा पूरापूर भाग लिने अथक प्रयास गर्नुभए कसो होला?—मत्ती १३:२३.

कहिलेकाहीं जीवनका दबाउहरूले गर्दा प्रचार गर्ने समय निकाल्न निकै मुस्किल हुन्छ। यद्यपि, प्रचारकको रूपमा ‘प्रयत्न गर्नुभयो’ भने तपाईं ‘सुसमाचारलाई’ महत्त्व दिनुहुँदोरहेछ भन्‍ने प्रकट हुन्छ। (लूका १३:२४; रोमी १:१६) फलतः तपाईं “विश्‍वासीहरूका अघि . . . उदाहरण” हुन सक्नुहुनेछ।—१ तिमोथी ४:१२, नयाँ संशोधित संस्करण।

निष्ठावान्‌हरू

परिपक्वतातर्फ हुर्कनुमा निष्ठावान्‌ हुन प्रयास गर्नु पनि बिथोलित छ। भजन २६:१ मा रेकर्ड गरिएझैं दाऊदले यस्तो घोषणा गरे: “हे परमप्रभु, मेरो इन्साफ गर्नुहोस्‌, किनकि म मेरो इमान्दारीमा हिंड़ेको छु।” निष्ठा भनेको नैतिक पूर्णता, समग्रता हो। तथापि, यसको अर्थ सिद्धता होइन। दाऊद आफैले थुप्रै गम्भीर पाप गरे। तर तिनले ताडना स्वीकार्नुका साथै आफ्नो भूल सुधारेर आफ्नो हृदयमा अझै पनि यहोवा परमेश्‍वरको निम्ति साँचो प्रेम छ भनेर देखाए। (भजन २६:२, ३, ६, ८, ११) समग्रतामा हृदयको सम्पूर्णता वा पूर्णता समावेश छ। दाऊदले आफ्नो छोरा सुलेमानलाई यसो भने: “परमेश्‍वरलाई आफ्नै ईश्‍वर मान, र सारा हृदय . . . ले उहाँको सेवा गर।”—१ इतिहास २८:९.

निष्ठावान्‌ रहनुमा राजनीति तथा युद्धहरूबाट अलग बस्दै ‘यस संसारको नहुनु’ पनि समावेश छ। (यूहन्‍ना १७:१६) तपाईंले व्यभिचार, जारी तथा लागू पदार्थको प्रयोग जस्ता भ्रष्ट कामकुराको पनि प्रतिरोध गर्नैपर्छ। (गलाती ५:१९-२१) निष्ठावान्‌ हुनु भनेको यी कुराहरूदेखि अलग रहनु मात्रै होइन। सुलेमानले यस्तो चेताउनी दिए: “जसरी मरेका झींगाहरूले अत्तर बनाउनेको सुगन्धित अत्तरलाई दुर्गन्धित तुल्याइदिन्छ, त्यसरीनै थोरै मूर्खताले बुद्धिलाई बेकामको तुल्याइदिन्छ।” (उपदेशक १०:१) हो, “थोरै मूर्खताले” जस्तै विपरीत लिंगको व्यक्‍तिसित अनुपयुक्‍त तवरमा ठट्टा वा नखरा गर्नु आदिले पनि व्यक्‍तिविशेषको असल नाउँ अर्थात्‌ “बुद्धिलाई” धूलोमा मिलाइदिनसक्छ। (अय्यूब ३१:१) त्यसकारण, “सबै किसिमको खराबीबाट अलग” रहँदै आफ्नो हर आचरणमा उदाहरणीय भएर परिपक्वता प्रकट गर्नुहोस्‌।—१ थिस्सलोनिकी ५:२२.

वफादारहरू

परिपक्व मसीही वफादार पनि हुन्छ। एफिसी ४:२४ मा हामी प्रेरित पावलले मसीहीहरूलाई यस्तो सल्लाह दिएको पाउँछौं: “नयाँ मानिसलाई घारण गर, जो परमेश्‍वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको छ।” युनानी धर्मशास्त्रमा “पवित्रता” अर्थात्‌ वफादारीको निम्ति प्रयोग गरिएको मूल शब्दले पवित्रता, धार्मिकता, श्रद्धा बोध गराउँछ। वफादार व्यक्‍ति धर्मपरायण हुन्छ, भक्‍त हुन्छ र परमेश्‍वरप्रतिको आफ्नो सम्पूर्ण कर्तव्य वहन गर्न एकदमै होसियार हुन्छ।

तपाईंले यस्तो वफादारी विकास गर्नसक्ने केही तरिकाहरू के हुन्‌? एउटा तरिका त, स्थानीय मण्डलीका प्राचीनहरूसित मिलेर काम गर्नु हो। (हिब्रू १३:१७) ख्रीष्ट मसीही मण्डलीको अभिषिक्‍त शिर हुनुहुन्छ भन्‍ने कुरा स्वीकारेर परिपक्व मसीहीहरू “परमेश्‍वरका मण्डलीमा चराउ[ने]” यी नियुक्‍त व्यक्‍तिहरूप्रति वफादार हुन्छन्‌। (प्रेरित २०:२८) यी नियुक्‍त प्राचीनहरूको अख्तियारमाथि प्रश्‍न गर्नु वा तिनीहरूको अख्तियारलाई नाघ्न खोज्नु कत्ति अनुपयुक्‍त हुनेछ! तपाईं “विश्‍वासी र बुद्धिमान दास” अनि आध्यात्मिक आहार “ठीक ठीक समयमा” फैलाउन चलाइएका माध्यमहरूप्रति पनि वफादार हुनुपर्छ। (मत्ती २४:४५) प्रहरीधरहरा र त्यसका सह प्रकाशनहरूमा भएका जानकारीहरू पढ्‌न तत्पर हुनुहोस्‌।

प्रेमलाई आफ्नो कामद्वारा प्रकट गर्ने

पावलले थिस्सलोनिकीका मसीहीहरूलाई यस्तो लेखे: “तिमीहरूको प्रेम, प्रत्येकको एक अर्कोप्रति बढ़दै पनि छ।” (२ थिस्सलोनिकी १:३) प्रेममा बढ्‌नु विशेष गरी आध्यात्मिक परिपक्वताको अत्यावश्‍यक पक्ष हो। यूहन्‍ना १३:३५ मा येशूका निम्न शब्दहरू लिपिबद्ध गरिएका छन्‌: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यो भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” यस्तो भ्रातृप्रेम, भावना वा अनुभूतिमा मात्र सीमित हुँदैन। भाइन्स एक्सपोजिटोरी डिक्सनरी अफ ओल्ड एण्ड न्यु टेस्टामेन्ट वड्‌र्स-को अवलोकन यस्तो छ: “प्रेम, प्रेमले उत्प्रेरित भई गर्ने कार्यबाट मात्र प्रकट हुन्छ।” हो, प्रेमलाई कामद्वारा प्रकट गरेर तपाईं परिपक्वतातर्फ बढ्‌न सक्नुहुन्छ!

उदाहरणका लागि, रोमी १५:७ मा हामी यस्तो लेखिएको पाउँछौं: “एउटाले अर्कोलाई सत्कार गर।” प्रेम प्रकट गर्ने एउटा तरिका सँगी विश्‍वासीहरूलाई र मण्डलीका सभाहरूमा आउने नयाँ व्यक्‍तिहरूलाई न्यानो तथा हार्दिक अभिवादन गर्नु हो! तिनीहरूलाई व्यक्‍तिगत तवरमा चिन्‍ने प्रयास गर्नुहोस्‌। “अरूहरूका कुरामा पनि” चासो दिनुहोस्‌। (फिलिप्पी २:४) तपाईं तिनीहरूलाई आफ्नो घरमा बोलाएर अतिथि सत्कार देखाउन पनि सक्नुहुन्छ। (प्रेरित १६:१४, १५) अरूको असिद्धताले कहिलेकाहीं तपाईंको प्रेमको गहिराइलाई जाँच्नसक्छ तर ‘प्रेममा एउटाले अर्कोलाई सहन’ सक्नुभयो भने तपाईंले आफ्नो परिपक्वता प्रदर्शित गरिरहनुभएको हुनेछ।—एफिसी ४:२.

शुद्ध उपासनालाई अघि बढाउन आफ्नो स्रोतसाधन प्रयोग गर्ने

पुरातन समयमा परमेश्‍वरका सबै जनहरूले यहोवाको मन्दिरलाई सहयोग गर्ने आफ्नो जिम्मेवारी वहन गरेनन्‌। त्यसकारण, परमेश्‍वरले यस सम्बन्धमा आफ्ना जनहरूलाई उत्साहित पार्न हाग्गै, मलाकी जस्ता अगमवक्‍ताहरूलाई पठाउनुभयो। (हाग्गै १:२-६; मलाकी ३:१०) परिपक्व मसीहीहरू आज रमाउँदै आफ्नो स्रोतसाधनद्वारा यहोवाको उपासनालाई समर्थन गर्छन्‌। मण्डली र यहोवाका साक्षीहरूको विश्‍वव्यापी कार्यलाई सहयोग गर्न नियमित तवरमा ‘केही जोगाएर साँचिराख्नु’ भन्‍ने १ कोरिन्थी १६:१, २ को सिद्धान्तलाई पछ्याउँदै यस्ता व्यक्‍तिहरूको अनुकरण गर्नुहोस्‌। परमेश्‍वरको वचनले यस्तो प्रतिज्ञा गर्छ: “किफायतीसँग छर्नेले किफायतीसँगै काट्‌छ, र प्रशस्तसँग छर्नेले प्रशस्तसँगै काट्‌छ।”—२ कोरिन्थी ९:६.

तपाईंसित भएका अन्य स्रोतसाधनहरूलाई कम नठान्‍नुहोस्‌। जस्तै: तपाईंको समय र शक्‍ति। कम महत्त्वका क्रियाकलापमा समय खर्च गर्नुको साटो ‘समयको पूरा सदुपयोग गर्नुहोस्‌।’ (एफिसी ५:१५, १६, नयाँ संशोधित संस्करण; फिलिप्पी १:१०, नयाँ संशोधित संस्करण) समयको सदुपयोग गर्न अझ दक्ष हुन सिक्नुहोस्‌। यसो गर्नु भयो भने, राज्य भवनको स्याहारसम्भार गर्ने काममा र यहोवाको उपासनालाई अघि बढाउने त्यस्तै अन्य क्रियाकलापमा भाग लिन सक्नुहुनेछ। यसरी आफ्नो स्रोत तथा साधन प्रयोग गरेर तपाईंले आफू परिपक्व मसीही हुनुहुँदैछ भन्‍ने थप प्रमाण दिइरहनुभएको हुनेछ।

परिपक्वतातर्फ बढ्‌नुहोस्‌!

अध्ययन गर्ने तथा ज्ञानी, जोसिला भएर प्रचार गर्ने, आफ्नो निष्ठामा रत्तिभर ढलपल नहुने, विश्‍वासी र मायालु अनि राज्यसम्बन्धी कामकुरालाई भौतिक अनि आध्यात्मिक तवरमा समर्थन गर्न इच्छुक स्त्री तथा पुरुषहरू वास्तवमा साँच्चै ठूलो आशिष्‌ नै हुन्‌। त्यसैले होला, प्रेरित पावलले यस्तो आग्रह गरे: “ख्रीष्टसम्बन्धी प्राथमिक सिद्धान्तहरूलाई छोडेर हामी परिपक्वतातर्फ बढौं!”—हिब्रू ६:१.

के तपाईं परिपक्व मसीही हुनुहुन्छ? अथवा के तपाईं कुनै कुनै तरिकामा आध्यात्मिक तवरमा अझै बच्चै हुनुहुन्छ? (हिब्रू ५:१३) जेसुकै होस्‌, व्यक्‍तिगत अध्ययन गर्न, प्रचार गर्न अनि आफ्ना भाइहरूलाई प्रेम देखाउन कटिबद्ध हुनुहोस्‌। परिपक्व व्यक्‍तिले दिएको जुनसुकै सल्लाह तथा अनुशासनलाई स्वीकार्नुहोस्‌। (हितोपदेश ८:३३) आफ्नो मसीही जिम्मेवारी पूरापूर वहन गर्नुहोस्‌। समय दिनुभयो र प्रयास गर्नुभयो तपाईं पनि “विश्‍वासको र परमेश्‍वरका पुत्रको ज्ञानको एकता प्राप्त ग[रेर] अनि परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पु[ग्ने]” हुन सक्नुहुन्छ।—एफिसी ४:१३.

[पृष्ठ २७-मा भएको ठूलो अक्षरको क्याप्सन]

परिपक्व मसीहीहरूले मण्डलीलाई स्थिर राख्न मदत गर्छन्‌। तिनीहरूसित सकारात्मक असर पार्ने झुकाउ हुन्छ

[पृष्ठ २९-मा भएका चित्रहरू]

अरूप्रति व्यक्‍तिगत चासो देखाएर परिपक्व व्यक्‍तिहरू मण्डलीको मनोभावलाई कायमै राख्छन्‌