सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

घृणाको महामारी

घृणाको महामारी

घृणाको महामारी

“मानिसहरू आफूले घृणा गर्ने मानिसलाई बुझ्दै बुझ्दैनन्‌।”–निबन्धकार तथा कूटनितिज्ञ, जेम्स रसेल लोवेल।

घृणा आज चारैतिर व्याप्त छजस्तो देखिन्छ। पूर्वी टिमोर, कोसोभो, लाइबेरिया, लिटलटन र सरायभोजस्ता नाउँहरू अनि जलेर बचेका भग्नावशेषहरू, एकसाथ गाडिएका लासहरूको ठूलठूला चिहान र मृत शरीरहरूका चित्रहरूका साथसाथै नव-नाजी, स्कीनहेड र ह्वाइट सुप्रिमेसिस्टका नाउँहरू हामीलाई कण्ठ भइसकेको छ।

घृणा, द्वेष तथा हिंसामुक्‍त भविष्यका सपनाहरू चकनाचूर भएका छन्‌। डान्यल मिट्टरान्ड, जसको मृत पति फ्रान्सेली राष्ट्रपति थिए, तिनी आफ्नो युवावस्था सम्झँदै यसो भन्छिन्‌: “मानिसहरू भाइचाराले भरिएको भरोसायोग्य समाजमा स्वतन्त्रता साथ बाँच्ने सपना देखिरहेका थिए। आफू अनि वरपरका मानिसहरू शान्तिपूर्वक बाँच्ने, सबैको हेरचाह गर्नसक्ने बलियो अनि विशाल संसारमा स्वस्थ, शान्त तथा मर्यादित जीवन बिताउने आशा गरिरहेका थिए।” कहाँ गए ती आदर्शहरू? तिनले यस्तो गुनासो गरिन्‌: “आधा शताब्दी बित्न नपाउँदै हाम्रा सपनाहरूमाथि आघात पुग्न थाल्यो।”

वर्तमान घृणाको वृद्धिलाई आँखा चिम्लेर बेवास्ता गर्न सकिंदैन। यो विश्‍वभरि फैलिएको छ र झन्‌ झनै सुस्पष्ट ढंगमा देखिन थालेको छ। लाखौं मानिसहरूले हल्कासित लिइरहेको व्यक्‍तिगत सुरक्षा अहिले पहिलेभन्दा दिनप्रतिदिन खतरनाक हुँदै गइरहेको घृणाका निरर्थक प्रकटीकरणद्वारा हराउँदै गइरहेको छ। हामी आफ्नो घर वा हाम्रो देशमा घृणाबाट बचे तापनि अरू ठाउँमा हामीलाई यसले पर्खिरहेको हुन्छ। हामी हरेक दिन टेलिभिजनमा समाचार हेर्छौं र भर्खरै भएका घटनाहरूको प्रसारणमा यसको प्रमाण पाउँछौं। यसका केही अंशहरू इन्टरनेटमा समेत पोखिएका छन्‌। तीमध्ये केही उदाहरणहरूलाई विचार गर्नुहोस्‌।

बितेको दशकदेखि राष्ट्रवाद उल्लेखनीय रूपमा वृद्धि भएको छ। हार्वर्ड सेन्टर फर इन्टरनेशनल अफेयर्सका निर्देशक जोसेफ एस. नाइ, जुनियरअनुसार “विश्‍वका धेरैजसो भू-भागमा राष्ट्रवाद कमजोर होइन झन्‌ झन्‌ बलियो हुँदै गइरहेको छ। एउटै विश्‍वव्यापी छहारी हुनुपर्ने ठाउँमा एकअर्काप्रति द्वेष राख्ने थुप्रै छहारीहरू देखा परेका छन्‌। परिणामस्वरूप भिडन्त हुने सम्भावना बढेको छ।”

राष्ट्रिय सिमाना अथवा छिमेकीहरूको परिधिभित्र लुकेका अरू किसिमको घृणाहरू कुनै पनि बेला विस्फोट हुनसक्छ। क्यानाडामा स्कीनहेड समूहका पाँच जना व्यक्‍तिले एक जना वृद्ध शिखको हत्यालाई “जातीय सहिष्णुता भएको ठाउँ भनेर सबैले चिन्‍ने देशमा समेत घृणा देखा पर्न थाल्नुको चिह्न मानेका छन्‌।” जर्मनीमा गत वर्षहरूमा घृणा कम हुन थालेको भए तापनि सन्‌ १९९७ मा उग्रवादीहरूले भिन्‍न जातिका मानिसहरूमाथि गर्न थालेको आक्रमणमा २७ प्रतिशतले वृद्धि भयो। “यो निरुत्साहजनक उन्‍नति हो” भनी आन्तरिक मामिलासम्बन्धी मन्त्री म्यानफ्रेट कान्ठर टिप्पणी गर्छन्‌।

उत्तरी अल्बेनियाको रिपोर्टले ६,००० भन्दा बढी बालबच्चाहरू आफ्ना आमाबाबुका शत्रुहरूले मार्लान्‌ भन्‍ने डरले आफ्नै घरमा कैदीजस्तै जीवन बिताइरहेका छन्‌। तिनीहरू रक्‍तपातपूर्ण जातिभेदका सिकार भएका छन्‌। यसले “हजारौं परिवारको जीवनलाई भताभुंग पारिसकेको छ।” संयुक्‍त राज्यमा, फेडरल ब्युरो अफ इन्भेस्टिगेशनअनुसार (एफ बि आइ) “सन्‌ १९९८ मा एफ बि आइ-मा रिपोर्ट गरिएका ७,७५५ वटा घृणासम्बन्धी अपराधहरू जातीय भेदभावका कारण भएको थियो।” बाँकी घृणाले गर्दा भएका अपराधहरूचाहिं धर्म, वर्गीय अथवा राष्ट्रिय र निर्धोपनजस्ता कारणहरूले गर्दा भएका थिए।

यसबाहेक, हरेक दिन पत्रिकाहरूको शीर्ष समाचारले शरणार्थीहरू विरुद्ध गरिने अपराधिक घटनाहरू छाप्छन्‌। अनि यस्ता शरणार्थीहरू हाल २ करोड १ लाखभन्दा बढी छन्‌। दुःखको कुरा, विदेशीहरूप्रति आफ्नो घृणा देखाउने धेरैजसो गैर जिम्मेवार राजनैतिक व्यक्‍तित्वहरू वा अरूमाथि दोष थोपार्न खोज्नेहरूको उक्साइमा परेका जवान मानिसहरू छन्‌। अनि त्यस्तो किसिमले आफ्नो प्रतिक्रिया देखाइ नहाल्ने मानिसहरूले चाहिं ती शरणार्थीहरूलाई भरोसा गर्दैनन्‌, सहँदैनन्‌ र तिनीहरूप्रति गलत अवधारणा राख्छन्‌।

घृणाको यत्रो महामारी फैलनुका केही कारणहरू के हुन्‌? अनि घृणालाई नामेट पार्न के गर्न सकिन्छ? यस पछिको लेखले यी प्रश्‍नहरूको जवाफ दिनेछन्‌।

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

Cover, top: UN PHOTO 186705/J. Isaac

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Daud/Sipa Press