सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं मतभेद कसरी सुल्झाउनु हुन्छ?

तपाईं मतभेद कसरी सुल्झाउनु हुन्छ?

तपाईं मतभेद कसरी सुल्झाउनु हुन्छ?

दिनहुँ हामी विभिन्‍न व्यक्‍तित्वका मानिसहरू भेट्‌छौं। यसले अक्सर हामीलाई आनन्द अनि नयाँ दृष्टिकोण पाइरहेका हुन्छौं। कहिलेकाहीं यसले हामीबीच मतभेद पनि उत्पन्‍न गर्छ। तीमध्ये कुनै कुनै असाध्यै गम्भीर हुन्छन्‌ भने कतिपय त सानातिना अप्ठेरा परिस्थिति मात्र हुन्छन्‌। यी मतभेदहरूको प्रकृति जस्तोसुकै होस्‌, हामी जसरी यी मतभेदहरूलाई लिन्छौं, त्यसले हामीलाई मानसिक, भावनात्मक तथा आध्यात्मिक तवरमा असर गर्छ।

आपसी सहमतिमा मतभेदहरू सुल्झाउन सकेजत्ति सब गर्दा यसले हामीलाई स्वस्थ जीवनको आनन्द उठाउन तथा अरूसित मिलाप कायम गर्न मदत गर्छ। एउटा पुरानो उखान यसप्रकार छ: “शान्त मनले मानिसलाई स्वास्थ्य बनाउँछ।”—हितोपदेश १४:३०.

तथापि, यसको ठीक विपरीत यो पनि सत्य हो: “जुन मानिसले आफ्नो रीस थाम्नसक्‍तैन त्यो मानिस शत्रुको आक्रमणको निम्ति पर्खाल विनाको शहरजस्तै हो।” (हितोपदेश २५:२८) हामीमध्ये को पो आफूलाई अनि अरूलाई समेत हानि पुऱ्‍याउने अनुचित काम गर्न लगाउने गलत विचारहरूको आक्रमणमा पर्न चाहन्छौं र? रिसलाई वशमा नराखी जवाफ दिंदा पनि त्यस्तै हुनसक्छ। डाँडाको उपदेशमा येशूले हामीलाई आफ्नो मनोवृत्ति जाँच्ने सुझाउ दिनुभयो। किनकि यसले मतभेद समाधान गर्ने तरिकालाई असर गर्नसक्छ। (मत्ती ७:३-५) अरूको आलोचना गर्नुको साटो भिन्‍न मत भएकाहरू तथा भिन्‍नै पृष्ठभूमिका मानिसहरूसित मित्रता गाँस्न र कायम राख्न हामी के गर्नसक्छौं, त्यो विचार गर्नुपर्छ।

हाम्रो मनोवृत्ति

साँच्चैको होस्‌ वा लागेको मात्र, मतभेद सुल्झाउने पहिलो कदम आफू पनि गलत विचार तथा मनोवृत्तिको सिकार हुनसक्छु भनेर मानिलिनु हो। हामी सबै पाप गर्छौं र “परमेश्‍वरको महिमारहित हुनगएका” छौं भनेर धर्मशास्त्र हामीलाई सम्झाउँछ। (रोमी ३:२३) यसको अतिरिक्‍त, हाम्रो विवेकले समस्याको मूल जरो त अर्को व्यक्‍ति होइन भनेर पनि देखाउनसक्छ। यस सम्बन्धमा, हामी योनाको उदाहरणलाई जाँचेर हेरौं।

यहोवाको निर्देशनअनुसार योना निनवे शहर गए र निनवेवासीहरूमाथि आउन लागेको परमेश्‍वरको न्यायबारे प्रचार गरे। खुसीको कुरा, सम्पूर्ण निनवे शहरबासीहरूले पश्‍चात्ताप गरे र साँचो परमेश्‍वरमाथि विश्‍वास गरे। (योना ३:५-१०) तिनीहरूको पश्‍चात्तापी मनोवृत्तिको कारण यहोवाले तिनीहरूलाई माफी दिने विचार गर्नुभयो र तिनीहरूलाई माफ गर्नुभयो। “तर योनालाई यो साह्रै मन परेन, र तिनलाई रीस उठ्यो।” (योना ४:१) यहोवाको दयाप्रति योनाले देखाएको प्रतिक्रिया अचम्मलाग्दो छ। यहोवासित योना किन रिसाउनु पऱ्‍यो? स्पष्ट छ, योना आफ्नैबारे मात्र सोचिरहेका थिए र समाजमा तिनको बेइज्जत भयो भन्ठानिरहेका थिए। तिनले यहोवाको दयाको मूल्यांकन गर्न सकेनन्‌। दयालु हुनुहुँदै यहोवाले योनालाई पाठ सिकाउनुहुन्छ र त्यसले तिनलाई आफ्नो मनोवृत्ति परिवर्तन गर्न अनि यहोवाको अनमोल दयाको कदर गर्न मदत गर्छ। (योना ४:७-११) स्पष्ट छ, योनाको मनोवृत्ति सुधार्नुपर्ने थियो, यहोवाको होइन।

के कहिलेकाहीं कुनै खास विषयमा हाम्रो मनोवृत्ति परिवर्तन गर्नु पो आवश्‍यक छ कि? प्रेरित पावल हामीलाई यस्तो सल्लाह दिन्छन्‌: “मानमा एउटाले अर्कोको बढ़ता कदर गर।” (रोमी १२:१०) तिनी के भन्‍न खोजिरहेका थिए? एक अर्थमा भनौं भने, तिनी हामीलाई व्यावहारिक हुन र अन्य मसीहीहरूलाई गहिरो आदर र गरिमासहित व्यवहार गर्न प्रोत्साहन दिइरहेका थिए। यसमा व्यक्‍तिविशेषसित छनौट गर्ने सुअवसर हुन्छ भनेर स्वीकार्नु बिथोलित छ। पावल यो पनि स्मरण गराउँछन्‌: “हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ।” (गलाती ६:५) यद्यपि, मतभेदले फाटो ल्याउनुअगावै कतै हाम्रै मनोवृत्तिमा पो छाँटकाँट गर्नुपर्ने हो कि भनेर विचार गर्नु कत्ति बुद्धिमानी हुनेछ! यहोवाको विचार प्रकट गर्न र परमेश्‍वरलाई साँच्चै माया गर्ने अरू व्यक्‍तिहरूसित शान्ति कायम राख्न कडा परिश्रम गर्नैपर्छ।—यशैया ५५:८, ९.

हामी कसरी अघि सर्छौं

दुई बच्चाहरू एउटा खेलौना खोसाखोस गरिरहेको कल्पना गर्नुहोस्‌। एक जनाले त्यो खेलौना नछोडुञ्जेल वा अरू कसैले हस्तक्षेप नगरुञ्जेल यसरी तानातान गर्दा रिसको झोंकमा थुप्रै शब्दहरू मुखबाट निस्कनसक्छन्‌।

उत्पत्तिको विवरणले हामीलाई अब्राहामले आफ्नो अनि तिनको भतिजा लूतका गोठालाहरूबीच विवाद भएको कुरा सुनेको बताउँछ। लूतलाई भेट्‌न अब्राहाम नै अघि सर्छन्‌ र यसो भन्छन्‌: “तिम्रो र मेरो बीचमा औ तिम्रा र मेरा गोठालाहरूका बीचमा झगड़ा नहोस्‌, किनकि हामी ता नातेदार हौं।” कुनै किसिमको कलहले तिनीहरूबीचको सम्बन्ध बिगार्न नपाओस्‌ भन्‍ने अठोट अब्राहमले गरेका थिए। अनि त्यसको मूल्य? उमेरको कारण पाउने पहिलो हक त्याग्न तिनी राजी थिए। अब्राहामले लूतलाई आफ्नो परिवार तथा बगाल कुन इलाकामा लान चाहन्छन्‌, छान्‍न दिए। तुरुन्तै लूतले आफ्नोनिम्ति सदोम र गमोराको हरियो फाँट छाने। अब्राहाम र लूत शान्तपूर्ण वातावरणमा छुट्टिए।—उत्पत्ति १३:५-१२.

अरूसित मेलमिलापमा रहन के हामी अब्राहामले देखाएजस्तै मनोवृत्ति देखाउन तयार छौं? बाइबलको यस घटनाले हामीलाई मतभेद सुल्झाउने राम्रो उदाहरण दिन्छ। अब्राहामले फेरि फेरि “झगड़ा नहोस्‌” भनेर आग्रह गरे। वास्तवमा अब्राहामले मेलमिलापको समाधान खोज्ने साँचो इच्छा राखेका थिए। पक्कै पनि मिलाप कायम राख्ने यस्तो निम्तोले जस्तोसुकै गलतफहमी हटाउन मदत गर्छ। त्यसपछि, अब्राहामले “हामी ता नातेदार हौं” भन्‍ने अभिव्यक्‍तिद्वारा कुरा टुंग्याए। व्यक्‍तिगत छनौट वा घमण्डको कारण यस्तो अनमोल सम्बन्ध किन खतरामा पार्ने? महत्त्वपूर्ण कुरा के हो भने, त्यसैमा अब्राहामले आफ्नो ध्यान लगाए। अनि तिनले भतिजालाई आत्मसम्मान तथा आदरका साथै सम्मान दिंदै त्यसो गरे।

मतभेद सुल्झाउन बाह्‍य हस्तक्षेप आवश्‍यक पर्ने अवस्था पनि आइपर्ला तर गोप्य तवरमै समाधान गर्नु कत्ति बेस हुनेछ! आफ्नो भाइसित शान्ति कायम गर्न अघि सर्न आवश्‍यक परे क्षमा माग्न येशू हामीलाई प्रोत्साहन दिनुहुन्छ। a (मत्ती ५:२३, २४) यसो गर्न विनम्रता वा नम्रता चाहिन्छ। तर पावलले यस्तो लेखे: “तिमीहरू सबै एउटाले अर्कोप्रति नम्रताको व्यवहार गर। किनभने परमेश्‍वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” (१ पत्रुस ५:५) सँगी विश्‍वासीहरूसित गर्ने व्यवहारले परमेश्‍वरसितको हाम्रो सम्बन्धमा प्रत्यक्ष प्रभाव पार्छ।—१ यूहन्‍ना ४:२०.

मसीही मण्डलीमा शान्ति कायम गर्न हामीलाई आफ्नो हकमा भएका कुराहरू त्याग्न आग्रह गरिनसक्छ। अहिले यहोवाका साक्षीहरूसित संगत गरिरहेका थुप्रै मानिसहरू गत पाँच वर्षभित्र परमेश्‍वरको साँचो उपासकका परिवारमा सामेल हुनेहरू हुन्‌। यसले हाम्रो हृदयलाई कत्ति प्रसन्‍न पार्छ! हामी जस्तो व्यवहार गर्छौं, त्यसले यिनीहरू र मण्डलीका अरूलाई पक्कै असर गर्छ। त्यसैकारण, अरूले हामीलाई कस्तो ठान्छन्‌ र हामी कस्तो मनोरञ्जन छान्छौं, हाम्रो सोख केमा छ, हाम्रो सामाजिक गतिविधि वा जागिर कस्तो छ, त्यसबारे होसियारीसाथ विचार गर्नुपर्ने असल कारण छ। के हाम्रो कुनै क्रियाकलाप वा शब्दको गलत अर्थ पो लगाइनसक्छ कि र यो अरूको निम्ति ठोक्करको कारण पो हुनसक्छ कि?

प्रेरित पावल हामीलाई यसरी सम्झाउँछन्‌: “सबै कुरा न्यायसंगत छन्‌, तर सबै कुरा फायदाका छैनन्‌। सबै कुरा उचित छन्‌, तर सबै कुराले सुधार गर्दैनन्‌। आफ्नै होइन, तर आफ्नो छिमेकीको भलाइ खोज।” (१ कोरिन्थी १०:२३, २४) मसीही भएकोले हामी मसीही भ्रातृत्वको प्रेम अनि एकता बढाउने कुराप्रति साँच्चै चासो राख्छौं।—भजन १३३:१; यूहन्‍ना १३:३४, ३५.

निको पार्ने शब्दहरू

शब्दहरूले राम्रो प्रभाव पार्नसक्छ। “दयालु वचन तपतप चुहुने महजस्तै हो, जिब्रोलाई मीठो बनाउने र शरीरलाई स्वास्थ्यकर बनाउने त्यो हुन्छ।” (हितोपदेश १६:२४) एप्रैमका मानिसहरूसित हुनसक्ने द्वन्द्वलाई गिदोनले टारेको वृत्तान्तले यस हितोपदेशलाई सत्य साबित गर्छ।

मिद्यानीहरूसित चर्काचर्की युद्ध भइरहेको बेला गिदोनले एप्रैम कुलकाहरूलाई गुहारे। तर युद्ध सिद्धिसकेपछि एप्रैमीहरू गिदोनसित रिसाए र लडाइँ सुरु हुने बित्तिकै किन नबोलाएको भन्दै एकदमै रुष्ट भए। अनि “तिनीहरूले उनलाई अनेक अभियोग लगाए” भनी विवरण भन्छ। गिदोनले यस्तो जवाफ दिए: “तिमीहरूले गरेको तुलनामा मैले के गरेको छु र? के एप्रैमको दाखका सीला-बाला अबीएजेरको जम्मै दाखको फसलभन्दा असल छैन र? परमेश्‍वरले मिद्यानका शासक ओरेब र जएबलाई तिमीहरूका हातमा सुम्पिदिनुभएको छ। तिमीहरूले गरेझैं मैले के गरेको छु?” (न्यायकर्त्ता ८:१-३) यसरी राम्ररी विचार पुऱ्‍याएर शान्त पार्ने शब्दहरू प्रयोग गर्दै गिदोनले विनाशकारी अन्तरजातीय युद्धलाई टारे। एप्रैम कुलकाहरूसित घमण्ड तथा मै हुँ भन्‍ने भाव भएको हुनसक्छ। तथापि, यसले गिदोनलाई शान्तपूर्ण वातावरण सृजना गर्नदेखि रोक्नसकेन। के हामी पनि त्यसै गर्नसक्छौं?

अरूको मनमा रिस उर्लनसक्छ अनि तिनीहरूले हामीप्रति वैमनस्य भाव राख्नसक्छन्‌। तिनीहरूको भावना बुझ्नुहोस्‌ र तिनीहरूको दृष्टिकोण बुझ्ने प्रयास गर्नुहोस्‌। हाम्रै कारणले तिनीहरू रिसाएका हुन कि? त्यसो हो भने, आफ्नो कारणले गर्दा पनि समस्या चर्किएको रहेछ भनी मानिलिएर समस्यामाथि समस्या थपेकोमा खेद प्रकट गरे कसो होला? सोचविचार गरी बोलिएका केही शब्दहरूले बिग्रेको सम्बन्धलाई पनि सुधार्नसक्छ। (याकूब ३:४) कहिलेकाहीं, रुष्ट भएका व्यक्‍तिलाई हाम्रो दयालु आश्‍वासनको आवश्‍यकता मात्र परेको हुन्छ। “दाउरा विना आगो निभ्छ” भनी बाइबल उल्लेख गर्छ। (हितोपदेश २६:२०) हो, होसियारीसाथ शब्दहरू छानेर राम्रो मनसायले कुरा गर्नु भयो भने, ‘क्रोध शान्त हुन्छ’ र त्यसले चोट निको पार्छ।—हितोपदेश १५:१.

प्रेरित पावल यस्तो सल्लाह दिन्छन्‌: “हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो।” (रोमी १२:१८) हो, हामी अरूको भावना नियन्त्रण गर्न सक्दैनौं तर शान्ति कायम गर्न आफ्नो भूमिका भने अवश्‍य निर्वाह गर्नसक्छौं। आफ्नो वा अरूको असिद्धताको वशमा पर्नुको साटो हामी तुरुन्तै बाइबलका सर्वोत्तम सिद्धान्तहरू प्रयोगमा ल्याउनसक्छौं। यहोवाले हामीलाई निर्देशन दिनुभएबमोजिम मतभिन्‍नताहरू सुल्झाउँदा त्यसले हामीलाई चिरकालीन शान्ति र आनन्द दिनेछ।—यशैया ४८:१७.

[फुटनोट]

a प्रहरीधरहरा, अक्टोबर १५, १९९९ को “हृदयदेखि क्षमा गर्नुहोस्‌” र “भाइलाई आफ्नो गराऊ” लेखहरू हेर्नुहोस्‌।

[पृष्ठ २४-मा भएको चित्र]

के हामी मेरो गोरुको बाह्रै टक्का भनेझैं गर्छौं?

[पृष्ठ २५-मा भएको चित्र]

मतभेद सुल्झाउँदा व्यावहारिक हुने सम्बन्धमा अब्राहामले राम्रो उदाहरण बसाले