सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा आफ्ना वफादार जनलाई सधैं इनाम दिनुहुन्छ

यहोवा आफ्ना वफादार जनलाई सधैं इनाम दिनुहुन्छ

जीवनी

यहोवा आफ्ना वफादार जनलाई सधैं इनाम दिनुहुन्छ

भर्नन डनकमको वृत्तान्तमा आधारित

बेलुकीको खाना खाइसकेपछि सदाझैं मैले चुरोट सल्काएँ। त्यसपछि, मैले मेरी पत्नी एलीनलाई सोधें: “आज साँझको सभा कस्तो भयो?”

एकछिन रोकिएर तिनले भनिन्‌: “नयाँ नियुक्‍तिहरूबारे चिठी पढेर सुनाइयो र त्यसमा तपाईंको पनि नाउँ थियो। तपाईंलाई ध्वनि सेवक नियुक्‍त गरिएको छ। चिठीको अन्तिम वाक्यमा चाहिं यसो भनिएको थियो: ‘यी भर्खरै नियुक्‍त भएका भाइहरूमध्ये कोही सुर्तीको अम्मली छ भने तिनीहरूले यो जिम्मेवारी वहन गर्न सक्दिनँ भनेर सोसाइटीलाई चिठी लेख्नुपर्छ।’ ” a म एकछिन अकमकिएँ र गम्भीर हुँदै भनें, “ए, त्यसो पो लेखिएको रहेछ।”

मैले दाह्रा किटेर अगाडि राखिएको एस्ट्रेमा चुरोट निभाएँ। “मलाई त्यस कामको लागि किन छानिएको होला। त्यसो त, मैले कहिल्यै आफूलाई सुम्पिएको काम इन्कार गरेको छैन र त्यसो गर्ने विचार पनि छैन।” मैले फेरि कहिल्यै धूम्रपान नगर्ने अठोट गरें। एक जना मसीही अनि संगीतकारको हैसियतमा त्यस निर्णयले मेरो जीवनमा निकै असर गऱ्‍यो। आउनुहोस्‌, मैले निर्णय गर्नुअघिका केही घटना तपाईंहरूलाई सुनाउँछु।

प्रारम्भिक पारिवारिक जीवन

मायालु अनि परिश्रमी आमाबाबु भर्नोन र लीलाबाट जन्मेका चार छोरा र दुई छोरीमध्ये म सेप्टेम्बर २१, १९१४ मा क्यानाडाको टोरोन्टोमा जन्मेको जेठो छोरो हुँ। मपछि योर्क, त्यसपछि ओरोलान्डो, डग्लस, एलीन र कोरल थिए। म नौ वर्षको मात्र हुँदा आमाले मेरो हातमा एउटा भाइलिन थम्याइदिनुभएर हेरिश स्कूल अफ म्युजिकमा संगीत सिकाउने प्रबन्ध मिलाइ दिनुभयो। आर्थिक स्थिति त्यत्ति राम्रो नभए तापनि बुबाआमाले स्कूल आउनेजाने खर्च र स्कूलको पैसा तिर्ने प्रबन्ध मिलाइदिनुभयो। मैले रोयल कन्जर्भेटोरी अफ म्युजिक इन टोरन्टोमा संगीत अध्ययन गरें र पछि बाह्र वर्षको उमेरमा त्यहींबाट टोरोन्टोको प्रख्यात संगीत भवन म्यासी हलमा नगरव्यापी वाद्यवादन प्रतियोगितामा भाग लिएँ। म विजयी भएँ र पुरस्कार स्वरूप गोहीको छालाको बाकसमा सजाइएको राम्रो भाइलिन पाएँ।

केही समयपछि मैले पियानो र बास भाइलिन पनि बजाउन सिकें। प्रायजसो हाम्रो समूहले शुक्रबार र शनिबार हुने सानातिना भोज र नाचहरूका लागि बाजा बजाउने गर्थ्यो। यस्तै एउटा नाचमा मैले एलीनलाई पहिलोपल्ट भेटेको थिएँ। हाई-स्कूलको अन्तिम सालतिर मैले शहरभरमै ठूलो वाद्यसमूहको साथमा बाजा बजाएँ। स्नातकपछि मलाई फर्डी माउरी अर्केष्ट्राले उनीहरूसित काम गर्न निम्तो दियो र १९४३ सम्म यस कामबाट मैले राम्रो पारिश्रमिक पाएँ।

यहोवालाई चिन्‍ने

प्रथम विश्‍वयुद्ध सुरु हुनुभन्दा केही समयअघि आमाबाबुले बाइबल सच्चाइ सुन्‍नुभएको थियो। त्यतिबेला बुबा टोरोन्टो शहरको डिपार्टमेन्टल स्टोरमा झ्याल सजाउने काम गर्नुहुन्थ्यो। खाजा खाने कोठामा दुई जना सँगी कामदारहरू जो बाइबल स्टुडेन्टहरू (यहोवाका साक्षीहरू त्यसबेला त्यही नाउँले चिनिन्थे) थिए, तिनीहरूको वार्तालाप उहाँ सुन्‍नुहुन्थ्यो र साँझ घर फर्केर आफूले सुनेका कुराहरू आमालाई भन्‍नुहुन्थ्यो। केही वर्षपछि सन्‌ १९२७ मा बाइबल विद्यार्थीहरूले टोरोन्टोमा पर्ने क्यानेडियन नेसनल एक्जीविशन मैदानको रंगमञ्चमा विशाल अधिवेशनको आयोजना गरे। संयुक्‍त राज्य अमेरिकाको ओहायोबाट आएका २५ जनाको लागि बासको प्रबन्ध मिलाउन पश्‍चिमी मूलद्वारबाट मैदानमा पुग्ने सडक छेउका दुइटा ब्लक प्रयोग गरियो र त्यहाँ हाम्रो घर पनि पर्थ्यो।

त्यसपछि, एक जना बाइबल विद्यार्थी आडा ब्लेट्‌सोले आमालाई लगातार भेटघाट गरेर नयाँ नयाँ साहित्य छोड्‌न थाल्नुभयो। एक दिन तिनले यसो भनिन्‌: “श्रीमती डनकम, मैले केही समयदेखि तपाईंकहाँ साहित्यहरू छाडेकी छु। के तपाईंले तिनीहरूमध्ये कुनै पढ्‌नुभएको छ?” छ जना केटाकेटीहरूलाई हुर्काउँदै गरिरहनुभएको भए तापनि आमाले त्यसबेलादेखि पत्रिकाहरू पढ्‌ने अठोट गर्नुभयो र कहिल्यै रोक्नुभएन। तथापि, मैले साहित्यहरूमा त्यति ध्यान दिइनँ। मैले स्कूलबाट स्नातक प्राप्त गर्न प्रयास गरिरहेको थिएँ र साथै म संगीतमा चुर्लुम्मै डुबेको थिएँ।

जून १९३५ मा एलीन र मैले एङ्‌गलिकन चर्चमा विवाह गऱ्‍यौं। मैले १३ वर्षको उमेरदेखि नै युनाइटेड चर्च छोडिसकेको हुनाले त्यसबेला मेरो कुनै धर्मसित पनि सरोकार थिएन। त्यसैले, विवाहको रजिस्टरमा मैले आफू त्यतिञ्जेलसम्म यहोवाको साक्षी भई नसकेको भए तापनि म यहोवाको साक्षी हुँ भनी सही गरें।

हामीले भविष्यमा परिवार बसाउने र असल आमाबाबु बन्‍ने आशा गरेका थियौं। तसर्थ, हामीले नयाँ नियम सँगसँगै पढ्‌न थाल्यौं। तथापि, हाम्रो असल मनोभावका बावजूद अन्य बाधा अड्‌चनहरू आए। हामीले बारम्बार सँगै बाइबल पढ्‌ने प्रयास गऱ्‍यौं तैपनि परिस्थितिले साथ दिंदैनथ्यो। त्यसपछि, १९३५ को क्रिसमसमा हामीले एउटा उपहार प्राप्त गऱ्‍यौं र खोलेर हेर्दा द हार्प अफ गड नामक पुस्तक रहेछ। मेरी पत्नीले भनिन्‌: “ओहो, तपाईंको आमाले त अचम्मको क्रिसमस उपहार पठाइदिनुभएको रहेछ।” म काममा गएपछि तिनले पढ्‌न थालिन्‌ र आफूले पढेको कुरा तिनलाई मन पऱ्‍यो। केही समयसम्म त मलाई यसबारे केही थाह भएन। हाम्रो परिवार बढाउने आशाचाहिं पूरा हुनसकेन। फेब्रुअरी १, १९३७ मा जन्मेकी हाम्री छोरी पनि बाँचिनन्‌। हामीलाई धेरै दुःख लाग्यो!

यस अवधिभित्र मेरा आमाबुबा प्रचार कार्यमा सक्रियता साथ लागिरहनुभएको थियो र परिवारमा कन्सोलेशन-को (अहिले ब्यूँझनुहोस्‌!) ग्राहक बनाउन नसक्ने राज्य प्रचारकहरूमध्ये बुबा मात्र हुनुहुन्थ्यो भन्‍ने कुरा थाह पाएँ। यो त्यस महिनाको क्षेत्र सेवकाईको अभियान थियो। मैले सोसाइटीका प्रकाशनहरू नपढेको भए तापनि बुबाले ग्राहक बनाउन नसक्नुभएकोमा मलाई नमीठो लागेको हुनाले यसो भनें: “ठीक छ, बुबा मलाई नै ग्राहक बनाउनुहोस्‌ अनि तपाईं पनि अन्य प्रकाशकहरूजस्तै हुनुहुनेछ।” गृष्म ऋतु आयो र हाम्रो अर्केष्ट्रा समूह शहरबाहिर अर्कै ठाउँमा जानुपऱ्‍यो। कन्सोलेशन हुलाकबाट पाइनै रहें। शरद्‌ ऋतु आयो र हाम्रो टोली टोरोन्टोमै फर्क्यो। पत्रिकाहरू हाम्रो पत्राचार गर्ने नयाँ ठेगानाहरूमा आउन छोडेन तर मैले तिनीहरूमध्ये एउटाको पनि खोलसमेत नखोली थन्काइ राखें।

क्रिसमसको बिदातिर मैले पत्रिकाहरूको थाकतिर हेरेर सोचें यिनीहरूको लागि पैसा तिरेको छु, केही न केही त पढ्‌नैपर्छ। पहिलोचाहिं मैले खोल्ने बित्तिकै झस्किएँ। यसले त्यसबेलाको राजनैतिक दाउपेच र भ्रष्टाचारको पर्दाफास गरेको थियो। आफूले पढेको कुरा आफ्नो संगीतकार साथीहरूलाई पनि बताउन थालें। तथापि, मैले भनेका कुराहरूको सत्यतामाथि तिनीहरूले चुनौती दिन थाले र आफ्नो कुरा सही प्रमाणित गर्न मैले पढिनै रहनुपऱ्‍यो। थाहै नपाई मैले यहोवाको साक्षी दिन थालें। अनि त्यसबेलादेखि मैले “विश्‍वासी अनि बुद्धिमान्‌ दास[मार्फत]” प्रबन्ध गरिएका चाखलाग्दा बाइबल प्रकाशनहरू कहिल्यै पढ्‌न छोडिनँ।—मत्ती २४:४५.

प्रायजसो हप्तैभरि व्यस्त रहे तापनि म एलीनसित आइतबारको दिन सभाहरू धाउन थालें। सन्‌ १९३८ को एउटा आइतबार हामी जसै सभामा पुग्यौं दुई जना वृद्ध बहिनीले हामीलाई स्वागत गरे र तिनीहरूमध्ये एक जनाले यसो भनिन्‌: “जवान भाइ, के तपाईंले यहोवाको पक्षमा आफ्नो अडान लिइसक्नुभयो? तपाईंलाई थाहै छ, आरमागेडोन आउनै लागेको छ!” यहोवा एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने मलाई थाह थियो र यो उहाँको संगठन हो भनेर पनि म विश्‍वस्त थिएँ। म यसको भाग हुन चाहन्थें, त्यसैले अक्टोबर १५, १९३८ मा बप्तिस्मा लिएँ। एलीनले चाहिं त्यसको लगभग छ महिनापछि बप्तिस्मा लिइन्‌। मेरो परिवारका सबै जना यहोवाका समर्पित सेवकहरू भएकोमा म असाध्यै खुसी छु।

परमेश्‍वरका जनहरूसित संगत गरेर मैले धेरै आनन्द महसुस गरें! चाँडै नै म तिनीहरूमाझ रमाउन थालें। सभामा एक चोटि मात्र उपस्थित भइनँ भने पनि त्यहाँको गतिविधि जान्‍न म उत्सुक हुन्थें। यस लेखको सुरुमा उल्लेख गरिएको विशेष साँझ यहोवाको सेवामा लाग्ने ठूलो मोड साबित भयो।

हाम्रोलागि ठूलो परिवर्तनको समय

मे १, १९४३ मा हामीले अर्को उल्लेखनीय छाँटकाँट गर्नुपऱ्‍यो। सेप्टेम्बर १९४२ मा ओहायोको क्लिभल्याण्डमा हामीले पहिलोपल्ट विशाल अधिवेशनमा भाग लियौं। त्यो थियो, नयाँ संसार ईश्‍वरतान्त्रिक सम्मेलन। कुनै टुँगो नै नदेखिएको घमासान युद्धको बेला वाच टावर सोसाइटीका तात्कालीन अध्यक्ष भाइ नोरले साहसिलो भई सबैको चासो जगाउने “शान्ति—के यसको अन्त होला?” भन्‍ने विषयमा जन भाषण दिनुभयो। उहाँले युद्धपछि शान्तिमय समय आउनेछ र महान्‌ प्रचारको काम पूरा हुनेछ भनेर प्रकाश अध्याय १७ बाट बुझाउनुभएको हामीलाई अझै सम्झना छ।

त्यसअघि भाइ नोरले दिनुभएको “यिप्तह र तिनको सपथ” विषयको भाषणले हामीलाई अझबढी असर गऱ्‍यो। त्यसपछि, थुप्रैलाई अग्रगामी हुने निमन्त्रणा दिइयो! एलीन र मैले एक अर्कालाई हेऱ्‍यौं र एकैसाथ (अरू थुप्रै भाइबहिनीसँग एकै चोटि) यसो भन्यौं: “हामी तयार छौं!” त्यसपछि तुरुन्तै हामीले अझ महत्त्वपूर्ण काममा लाग्न योजनाहरू बनाउन थाल्यौं।

क्यानाडामा जूलाई ४, १९४० देखि यहोवाका साक्षीहरूको कार्यमा प्रतिबन्ध लगाइएको थियो। हामीले मे १, १९४३ देखि अग्रगामीको काम गर्न थाल्दा त्यहाँ अझै यहोवाको साक्षी दिनु र सोसाइटीका प्रकाशनहरू क्षेत्र सेवकाईमा वितरण गर्नु गैर-कानुनी थियो। मसीहीहरूको हैसियतमा सेवा गर्दै हामी व्यक्‍तिगत किंग जेम्स भर्सन बाइबल मात्र बोक्थ्यौं। हामीलाई पहिलोपल्ट अग्रगामीको रूपमा खटाइएको ठाउँ ओन्टारियोको पारीसाउन्डमा पुगेको केही समय बित्न नपाउँदै हामीसँग काम गर्न शाखा कार्यालयले अनुभवी अग्रगामी स्टुअर्ट म्यानलाई खटायो। कस्तो मायालु प्रबन्ध! भाइ म्यान निकै मिजासिलो अनि हँसिलो हुनुहुन्थ्यो। हामीले उहाँबाट धेरै कुरा सिक्यौं र रमाइलो अनुभव बटुल्यौं। सोसाइटीले हामीलाई त्यहाँबाट ह्‍यामिल्टनमा खटाउँदा हाम्रा थुप्रै बाइबल अध्ययनहरू भइसकेका थिए। तर त्यसको केही समयपछि उमेर नाघिसकेको भए तापनि अनिवार्य सैनिक सेवामा भर्ती हुने आदेश पाएँ। सेनामा भाग लिन अस्वीकार गरेपछि डिसेम्बर ३१, १९४३ मा म गिरफ्तार भएँ। न्यायालयको कारवाही सकिएपछि जनसेवा शिविरमा राख्ने सजाय तोकियो र अगस्त १९४५ सम्म म त्यहीं रहें।

त्यहाँबाट छुट्‌नेबित्तिकै मलाई र एलीनलाई ओन्टारियोको कोर्नवालमा अग्रगामीको काम गर्न खटाइयो। त्यसको धेरै समय नबित्दै, हामीलाई सोसाइटीको कानुन विभागबाट विशेष प्रहरीसम्बन्धी मामिलाहरू ठीक गर्न क्युबेकमा खटाइयो। त्यसबेला क्युबेकमा डुपलेसिसको युग थियो। त्यहाँ यहोवाका साक्षीहरूमाथि अचाक्ली सतावट भइरहेको थियो। हप्तैपिच्छे हरेक दिनजसो चारवटा विभिन्‍न अदालतहरूमा हाम्रा भाइहरूलाई मदत गर्नमै मेरो दिन बित्थ्यो। त्यो, उत्साहजनक र विश्‍वासलाई झन्‌ मजबुत पार्ने समय थियो।

सन्‌ १९४६ मा सम्पन्‍न क्लिभल्याण्डको अधिवेशनको लगत्तैपछि हामीलाई क्षेत्रीय तथा जिल्ला कार्यको सिलसिलामा क्यानाडाका विभिन्‍न ठाउँहरूमा खटाइयो। त्यसपछि, थुप्रै परिवर्तन भए। हामीलाई १९४८ मा वाचटावर बाइबल स्कूल अफ गिलियडको ११ औं कक्षामा निम्त्याइयो। भाइ अल्बर्ट श्रोडर र माक्सवेल फ्रेन्ड कक्षाका शिक्षकहरू थिए अनि कक्षामा ४० जना अभिषिक्‍त जनहरूलगायत १०८ विद्यार्थीहरू थिए। त्यति धेरै लामो समयदेखिका यहोवाका विश्‍वासी सेवकहरूमाझ हुन पाउनु हाम्रोलागि साँच्चै इनामदायी अनुभव थियो!

एक दिन भाइ नोर ब्रूकलिनबाट हामीलाई भेट्‌न आउनुभयो। उहाँले भाषणको दौडान जापानी भाषा सिक्न २५ जना स्वयम्‌सेवकहरू चाहिएको कुरा बताउनुभयो। त्यहाँ उपस्थित १०८ जना नै त्यस कुरामा अघि सरे! फलतः क-कसलाई सिकाउने भनी छनौट गर्ने काम अध्यक्षले गर्नुपर्ने भयो। मेरो विचारमा उक्‍त छनौटमा यहोवाको निर्देशन थियो किनभने त्यो छनौटले राम्रो नतिजा ल्यायो। त्यसबेला छानिएर जापानमा काम सुरु गर्ने सुअवसर पाउने २५ जनामध्ये थुप्रै अहिले वृद्ध भइसके तापनि त्यहीं आफ्नो जिम्मेवारी सम्हाल्दै छन्‌। लोयड र मेल्बा ब्यारीजस्ता कोही कोहीचाहिं पछि अर्कै काममा खटाइए। गत वर्ष मृत्यु नहोउञ्जेल लोयाड ब्यारी परिचालक निकायका सदस्य थिए। यहोवाले दिनुभएको इनाममा उहाँहरूसँगसँगै हामी पनि रमायौं।

स्नातक समारोहको दिन पनि आयो र हामीलाई जमैकामा खटाइयो। तथापि, क्युबेकमा अदालतले तारिख दिएको हुनाले हामीलाई क्यानाडा नै फर्कने निर्देशन दिइयो।

अझबढी संगीत!

अग्रगामी सेवाको लागि मैले धेरैअघि नै संगीत छोडिसकेको भए तापनि संगीतले चाहिं मलाई छोडेको रहेनछ। वर्ष दिनपछि सोसाइटीको अध्यक्ष नेथन नोर र उहाँका सचिव मिल्टन हेन्सचेल टोरोन्टोको मापल लिफ गार्डन्समा आउनुभयो। “तपाईंले सोचेभन्दा ढिलो भइसक्यो!” विषयमा भाइ नोरले दिनुभएको जनभाषण सुनेर हामी सबै जना प्रोत्साहित भएका थियौं। मलाई पहिलोपल्ट अधिवेशनको अर्केष्ट्रा सम्हाल्ने जिम्मेवारी दिइयो। हामीले किंगडम सर्भिस संग बूक (१९४४) बाट केही प्रचलित गीतहरूको धुन बजाउने तयारी गऱ्‍यौं। भाइहरूले यसलाई मन पराए। शनिबार दिउँसोको कार्यक्रम सिध्याएपछि हामी भोलिपल्टको कार्यक्रमको लागि तयारी गरिरहेका थियौं। त्यतिनै बेला भाइ हेन्शेल हामीतिर आउँदै गर्नुभएको देखेर धुन रोक्न लगाएँ र उहाँलाई भेट्‌न पर्खें। उहाँले मलाई सोध्नुभयो, “तपाईंको यहाँको वाद्यवादन समूहमा कति जना संगीतकारहरू छन्‌?” मैले “सबै गरी ३५ जना हुन्छौं” भनें। “तपाईंले अर्को गृष्म ऋतुमा न्यु योर्कमा त्यसको दुई गुणा पाउनुहुनेछ,” उहाँले भन्‍नुभयो।

त्यो गृष्म ऋतु आउनुअघि नै मलाई ब्रूकलिन बोलाइयो। कारणवश एलीन मसँगै जान सकिनन्‌। त्यतिञ्जेल १२४ कोलम्बिया हाइट्‌सको भवन निर्माण कार्य सकिएको थिएन। त्यसैले, मलाई बेथेल गृहमै दुई जना वयस्क अभिषिक्‍त भाइहरू पेन र कार्ल क्लेनसँगै एउटा सानो कोठामा राखियो। उहाँहरूलाई मैले पहिलोपल्ट देखेको थिएँ। कोठा एकदमै सानो भएन र? भयो। तैपनि, हामी मिलीजुली बस्यौं। ती वृद्ध भाइहरू सहनशील र धीरजी हुनुहुन्थ्यो। मैले उहाँहरूभन्दा जान्‍नेसुन्‍ने हुन खोजिनँ! परमेश्‍वरको आत्माले पार्नसक्ने प्रभावबारे त्यो राम्रो पाठ थियो। भाइ क्लेनसित भेटेर काम गर्दा मैले त्यस्तो आशिष्‌ पाएँ! उहाँ सधैं दयालु र मदतगार हुनुहुन्थ्यो। हामीले राम्ररी सँगै काम गऱ्‍यौं र ५० वर्षभन्दा बढी समयसम्म घनिष्ठ मित्र भइरह्‍यौं।

सन्‌ १९५०, १९५३, १९५५ र १९५८ मा यान्की स्टेडियममा अनि अल केभलिनसित १९६३ सालतिर क्यालिफोर्नियाको पासाडेनास्थित रोज बउलमा सम्पन्‍न अधिवेशनहरूमा धुनसम्बन्धी जिम्मेवारी पाउनु मेरोलागि सुअवसर थियो। यान्की स्टेडियममा १९५३ मा भएको अधिवेशनको आइतबार दिउँसोको जन भाषणअघि सांगीतिक कार्यक्रम प्रस्तुत गऱ्‍यौं। एरिक फ्रस्टले गायक, एडित सीम्योनिकलाई (पछि भिग्यान्ट) परिचय गराउनुभयो र उहाँले हाम्रो धुनसित मिलाएर “अघि बढ साक्षीहरू हो!” विषयको गीत गाउनुभयो। त्यसपछि, पहिलो चोटि हाम्रा अफ्रिकी भाइबहिनीहरूको सुरिलो स्वर सुनेर रोमाञ्चित भयौं। मिसनरी हेरी आर्नटले उत्तरी रोडेशियाबाट (हाल जाम्बिया) हाम्रो मनोरञ्जनको लागि राम्रो टेप रेकर्डिंग ल्याउनुभएको थियो। त्यो स्वरले पूरा स्टेडियम नै गुञ्जियो।

सन्‌ १९६६ को गीतिपुस्तक रेकर्ड गरिंदा

के तपाईंले “सिंगिङ्‌ एण्ड एकम्पेनिइङ योरसेल्भ्स विथ म्युजिक इन योर हाट्‌र्स” विषय भएको गुलाफी रंगको कडा प्लास्टिकको खोल भएको गीति पुस्तक सम्झनुभएको छ? यसको अन्तिम तयारी भइरहेको बेला भाइ नोरले भन्‍नुभयो: “हामी केही रेकर्डहरू बनाउँदैछौं। म सानो अर्केष्ट्राको बनाउन चाहन्छु। त्यसमा केही भाइलिन र दुई चारवटा बाँसुरीको मात्र प्रयोग गरिनेछ। म, कसैले पनि ‘आफ्नो भोंपू फुकेको चाहन्‍नँ’!” बेथेलको राज्यभवन हाम्रो स्टुडियो बनाउने विचार थियो तर त्यसलाई प्रयोग गर्दा केही समस्या पर्नेथियो। खुल्ला पर्खालहरू, टाएलका भुइँ अनि फलामे मेचहरूमा ध्वनि परावर्तन हुँदा के होला? त्यसबाट निस्कन सक्ने नराम्रो ध्वनि समस्याको समाधान कसले गरिदिने? कसैले यस्तो सुझाव दियो: “टम्मी मिचेल! उहाँ ए बि सी नेटवर्क स्टुडियोमा काम गर्नुहुन्छ।” हामीले भाइ मिचेलसित भेट्यौं र उहाँ हामीलाई मदत गर्न तयार हुनुभयो।

रेकर्डिंङ गर्ने पहिलो शनिबार आइपुग्यो र सबै संगीतकारहरूको परिचय भइरहेको बेला एक जनाले भोंपू बाजा निकाल्नुभयो। भाइ नोरले दिनुभएको यो चेताउनी मैले सम्झें: “म कसैले पनि ‘आफ्नो भोंपू फुकेको चाहन्‍नँ’!” अब के गरूँ? उहाँले आफ्नो बाजा निकालेर दुई भाग जोडी फुक्नलाग्नुभएको मैले हेरिरहेको थिएँ। उहाँ टम मिचेल हुनुहुन्थ्यो र उहाँले बजाउनुभएको पहिलो दुई/चारवटा नोटहरू एकदमै राम्रा थिए। उहाँले त्यस भोंपू बाजाको सोर हुबहु भाइलिनको जस्तै निकाल्नुभयो! मैले ‘त्यस भाइलाई पनि सामेल गर्नुपर्छ!’ भन्‍ने सोचें र भाइ नोरले पनि इन्कार गर्नुभएन।

त्यो वाद्यवादक समूहमा राम्रा राम्रा संगीतकारहरू थिए र तिनीहरू सबै हाम्रै प्रिय भाइबहिनीहरू थिए। त्यहाँ कोही पनि अनुशासन भंग गर्नेहरू थिएनन्‌! रेकर्डिंग गर्न निकै मेहनत गर्नुपऱ्‍यो तर गुनासो भने कसैले गरेनन्‌। त्यसमा भाग लिने सबै जना काम सिद्धिएपछि रोए र सबैबीच घनिष्ठ मित्रता रह्‍यो। हामी सबै आफूले पाएको सुअवसरमा आनन्दित भयौं अनि काम पूरा गर्न सकेकोमा यहोवालाई धन्यवाद दियौं।

थप इनामदायी सुअवसर

यत्तिका वर्षपछि पनि म पूर्ण-समय सेवकाईमा लागिरहेको छु। क्षेत्रीय अनि जिल्ला कार्यमा २८ वर्ष बितायौं र त्यसबेलाको हरेक क्षण रमाइलो थियो। त्यसपछि, पाँच वर्षसम्म ओन्टारियोको नोर्भल सम्मेलन भवनको निर्देशकको रूपमा काम गऱ्‍यौं। हरेक सप्ताहन्तमा क्षेत्रीय सम्मेलन अनि विदेशी भाषाका जिल्ला अधिवेशनहरू हुनेहुँदा एलीन अनि म व्यस्त हुन्थ्यौं। सन्‌ १९७९/८० मा हाल्टन हिल्सस्थित सोसाइटीको भावी शाखा निर्माण कार्य गर्ने योजना बनाउन आर्किटेक्ट तथा इन्जिनियरहरू आएर सम्मेलन भवनको प्रयोग गरे। सम्मेलन भवनको कामपछि हामी १९८२ देखि १९८४ मा ब्रूकलिनमा संगीतसम्बन्धी थप काम गर्ने जिम्मेवारीमा खटियौं।

हाम्रो ५९ औं विवाह समारोहको ठीक एक सातापछि मेरी प्यारी पत्नीको जून १७, १९९४ मा मृत्यु भयो। हामीले सँगै मिलेर पूरा ५१ वर्ष अग्रगामी कार्यमा बिताएका थियौं।

आफ्ना जीवनका अनुभवहरू सम्झिंदा बाइबल मेरोलागि कत्ति बहुमूल्य निर्देशक साबित भयो भन्‍ने सम्झन्छु। कहिलेकाहीं म एलीनको व्यक्‍तिगत बाइबल हेर्छु र तिनले चिह्न लगाएका कुन कुन पद, वाक्यांश र शब्दहरूले तिनको हृदय छोएको रहेछ, त्यो हेरेर असीम आनन्द प्राप्त गर्छु। एलीनलाई जस्तै मलाई पनि घत लागेका पदहरू छन्‌। तिनीहरूमध्ये एउटा, भजन १३७ औं अध्यायमा यहोवालाई चढाएको प्रार्थना हो जसले यसो भन्छ: “ए यरूशलेम मैले तँलाई बिर्सें भने, मैले कहिल्यै पनि तुरही बजाउन नसकूँ! मैले तँलाई सम्झिनँ भने, यदि कहिल्यै मेरो सारा आनन्दभन्दा श्रेष्ठ मानिनँ भने, मैले कहिल्यै पनि गीत गाउन नसकूँ!” (भजन १३७:५, ६, टुडेज इंगलिस भर्सन) मलाई संगीत मन परे तापनि वफादार भई यहोवाको सेवा गरेर सर्वश्रेष्ठ आनन्द पाएको छु। उहाँले मलाई पूर्ण तथा सन्तुष्ट जीवन दिनुभएर पुरस्कृत गर्नुभएको छ।

[फुटनोट]

a जून १, १९७३ को प्रहरीधरहरा-मा बप्तिस्मा लिएर यहोवाका साक्षीहरूमध्येको हुन धूम्रपान छोड्‌नुपर्ने कारणहरू उल्लेख गरिएका थिए।

[पृष्ठ २८-मा भएको चित्र]

सन्‌ १९४७ मा एलीनसित

[पृष्ठ ३०-मा भएको चित्र]

सुरुसुरुतिर रेकर्डिङ गरिरहेको बेला