सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रो अनमोल सम्पदा–यसले तपाईंको निम्ति के अर्थ राख्छ?

हाम्रो अनमोल सम्पदा–यसले तपाईंको निम्ति के अर्थ राख्छ?

हाम्रो अनमोल सम्पदा–यसले तपाईंको निम्ति के अर्थ राख्छ?

“आओ, ए मेरा पिताका धन्यका हो, जो राज्य जगत्‌को उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको छ, त्यो अधिकार गर।”–मत्ती २५:३४.

१. मानिसहरूले कस्ता कस्ता कुरा पुर्ख्यौली सम्पत्तिस्वरूप पाएका छन्‌?

 सबै मानिसले केही न केही सम्पदा अवश्‍य पाएका हुन्छन्‌। कसै कसैले भौतिक तवरमा सुसम्पन्‍न जीवन पाएका हुनसक्छन्‌ भने अरूले चाहिं गरिबी जीवन। कुनै कुनै अवस्थामा चाहिं अनुभव वा सुनेका कुराहरूले गर्दा पुर्खाहरूले आफ्ना सन्ततिहरूलाई तीव्र जातीय द्वेष भाव सम्पदाको रूपमा दिएका हुन्छन्‌। तथापि, एउटा कुरा भने हामीहरू सबैले पाएका छौं। त्यो हो, प्रथम मानव आदमबाट पाएको पुर्ख्यौली सम्पत्ति, पाप। यो सम्पत्तिले अन्ततः मृत्युसम्म पुऱ्‍याउँछ।—उपदेशक ९:२, १०; रोमी ५:१२.

२, ३. सुरुमा यहोवाले आदम र हव्वाका सन्तानहरूलाई कस्तो सम्पदा दिन लाग्नुभएको थियो तर तिनीहरूले त्यो किन प्राप्त गर्न सकेनन्‌?

स्वर्गमा हुनुहुने मायालु पिता यहोवाले सुरुमा मानवजातिलाई भिन्‍नै खालको सम्पदा अर्थात्‌ प्रमोदवनमा अनन्त सिद्ध जीवन दिनुभएको थियो। हाम्रो प्रथम मातापिता आदम र हव्वालाई सिद्ध पापरहित सुरुआत दिइएको थियो। यहोवा परमेश्‍वरले मानिसजातिलाई उपहारस्वरूप पृथ्वी दिनुभएको थियो। (भजन ११५:१६) भविष्यमा हुने सम्पूर्ण पृथ्वीको नमुनास्वरूप उहाँले अदनको बगैंचा लगाउनुभयो र हाम्रो प्रथम मातापितालाई रमाइलो तर चुनौतीपूर्ण कार्यभार सुम्पनुभयो। तिनीहरूले छोराछोरी जन्माउनुपर्थ्यो, पृथ्वी अनि यसमा भएका सारा वनस्पति तथा प्राणीको हेरचाह गर्नुपर्थ्यो र पूरै विश्‍वलाई प्रमोदवनमा परिणत गर्नुपर्थ्यो। (उत्पत्ति १:२८; २:८, ९, १५) तिनीहरूका सन्तानले तिनीहरूलाई यो काम पूरा गर्न सघाउने थिए। कस्तो अद्‌भुत पुर्ख्यौली सम्पत्ति!

तथापि, यी सबको आनन्द उठाउन, आदम र हव्वा अनि तिनीहरूका सन्तानको परमेश्‍वरसित घनिष्ठ सम्बन्ध हुनुपर्थ्यो। तिनीहरूले यहोवालाई माया गर्नुपर्थ्यो, उहाँको आज्ञा पालन गर्नुपर्थ्यो तर आदम र हव्वाले परमेश्‍वरले दिनुभएका कुराहरूको मूल्यांकन गरेनन्‌ र उहाँको आज्ञा उल्लंघन गरे। तिनीहरूले आफ्नो प्रमोदवनरूपी घर र परमेश्‍वरले तिनीहरू सामु राखिदिनुभएको ठूलो प्रत्याशा गुमाए। फलतः तिनीहरूले आफ्ना सन्तानलाई पुर्ख्यौली सम्पत्ति सरह ती सुन्दर प्रत्याशाहरू दिन सकेनन्‌।—उत्पत्ति २:१६, १७; ३:१-२४.

४. आदमले गुमाएको सम्पदा हामी फेरि कसरी प्राप्त गर्नसक्छौं?

आदमले गुमाएको सम्पदा तिनीहरूका सन्तानले फेरि पाउनसकून्‌ भनेर यहोवाले मानिसजातिमाथि दया देखाउन एउटा प्रबन्ध मिलाउनुभयो। कसरी? परमेश्‍वरले तोक्नुभएको समयमा उहाँको आफ्नै पुत्र येशू ख्रीष्टले आदमका सन्तानका लागि आफ्नो सिद्ध मानव जीवन दिनुभयो। यसरी ख्रीष्टले तिनीहरू सबैलाई किन्‍नुभयो। तथापि, यो सम्पदा स्वतः तिनीहरूको भइहाल्ने थिएन। तिनीहरूले परमेश्‍वरको अनुमोदन पाउनु आवश्‍यक थियो। तिनीहरूले येशूले दिनुभएको बलिदानमा निहित पापमोचनको मूल्यमा विश्‍वास गरेर तथा आज्ञा पालन गरेर उक्‍त विश्‍वास प्रकट गर्नुपर्थ्यो। (यूहन्‍ना ३:१६, ३६; १ तिमोथी २:५, ६; हिब्रू २:९; ५:९) के तपाईंको जीवनशैलीले तपाईं यस प्रबन्धको मूल्यांकन गर्नुहुन्छ भनेर देखाउँछ?

अब्राहामद्वारा दिइएको सम्पदा

५. अब्राहामले यहोवासितको आफ्नो सम्बन्धको कसरी मूल्यांकन गरे?

पृथ्वीका लागि सोच्नुभएको आफ्नो उद्देश्‍य पूरा गर्नुहुँदै जाँदा यहोवाले अब्राहामसित विशेष तरिकामा व्यवहार गर्नुभयो। परमेश्‍वरले यस विश्‍वासी पुरुषलाई तिनको आफ्नो मुलुक छोडेर उहाँ आफैले देखाउनुहुने भूमिमा जाने निर्देशन दिनुभयो। अब्राहामले हाँसीखुसी त्यसलाई स्वीकारे। गन्तव्य स्थान पुगिसकेपछि यहोवाले अब्राहामलाई तिनले होइन तर तिनको सन्तानले उक्‍त भूमि सम्पदास्वरूप पाउनेछन्‌ भन्‍नुभयो। (उत्पत्ति १२:१, २, ७) अब्राहामले कस्तो प्रतिक्रिया जनाए? आफ्नो सन्तानले त्यो सम्पदा प्राप्त गर्नसकोस्‌ भनेर परमेश्‍वरले जहाँसुकै र जस्तोसुकै तरिकामा डोऱ्‍याऊन्‌, तिनी यहोवाको सेवा गर्न इच्छुक थिए। त्यो भूमि तिनको थिएन तैपनि, अब्राहामले आफ्नो मृत्यु नहोउञ्जेल १०० वर्षसम्म यहोवाको सेवा गरे। (उत्पत्ति १२:४; २५:८-१०) के तपाईंले भए त्यसै गर्नुहुन्थ्यो? यहोवाले अब्राहाम उहाँको “मित्र” थिए भन्‍नुभयो।—यशैया ४१:८.

६. (क) आफ्नो छोरालाई बलिदान दिन राजी भएर अब्राहामले के प्रकट गरे? (ख) अब्राहामले आफ्नो सन्तानलाई कस्तो सम्पदा दिनसके?

अब्राहामले छोरा इसहाक पाउन धेरै वर्ष कुर्नुपऱ्‍यो। तिनी आफ्नो छोरा इसहाकलाई एकदमै माया गर्थे। इसहाक लक्का जवान भएपछि यहोवाले अब्राहामलाई त्यो छोरा उहाँको निम्ति बलिदान चढाउन अह्राउनुभयो। परमेश्‍वर स्वयम्‌ले आफ्नै छोरा छुटकाराको बलिदानको रूपमा दिनुहुने कुरा आफैले प्रदर्शन गर्दैछु भनेर अब्राहामलाई थाह थिएन। तैपनि, तिनले आज्ञा पालन गरे र इसहाकलाई बलिदान चढाउनै लागेको बेला तिनलाई यहोवाका स्वर्गदूतले रोके। (उत्पत्ति २२:९-१४) यहोवाले अब्राहामलाई तिनीसित गर्नुभएको प्रतिज्ञा तिनको छोरा इसहाकद्वारा पूरा हुनेछ भनेर पहिल्यै बताइसक्नुभएको थियो। हुन त, यस्तो पहिले कहिल्यै भएको थिएन। तैपनि, आवश्‍यक परेमा परमेश्‍वरले इसहाकलाई मृत्युबाट फर्काउन सक्नुहुन्छ भन्‍ने स्पष्ट विश्‍वास अब्राहामसित थियो। (उत्पत्ति १७:१५-१८; हिब्रू ११:१७-१९) अब्राहामले आफ्नो छोरालाई बलिदान चढाउनसमेत इनकार नगरेको हुनाले यहोवाले यस्तो घोषणा गर्नुभयो: “तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्‌।” (उत्पत्ति २२:१५-१८) यसले उत्पत्ति ३:१५ मा उल्लेख गरिएको सन्तान, अर्थात्‌ मसीह, अब्राहामको वंशबाट आउनेछ भन्‍ने संकेत गऱ्‍यो। आफ्नो सन्ततिलाई दिन सकिने कस्तो अनमोल सम्पदा!

७. अब्राहाम, इसहाक र याकूबले आफ्नो सम्पदाको कसरी मूल्यांकन गरे?

त्यतिखेर यहोवाले के गर्दै हुनुहुन्थ्यो, त्यसको अर्थ अब्राहामले बुझेका थिएनन्‌; न त “त्यही प्रतिज्ञाका हकदारहरू” तिनका छोरा इसहाक र नाति याकूबलाई नै थाह थियो। तर तिनीहरू सबैले यहोवामाथि भरोसा राखे। तिनीहरूले कुनै शहर बसालेनन्‌ किनकि तिनीहरू त्योभन्दा उत्तम कुरा अर्थात्‌ “त्यही जग भएको शहरको प्रतीक्षा गर्दथिए, जसको बनाउने र निर्माण गर्ने परमेश्‍वरनै हुनुहुन्छ।” (हिब्रू ११:८-१०, १३-१६) यद्यपि, अब्राहामका सबै सन्तानले तिनीमार्फत पाइने अनमोल सम्पदाको मूल्यांकन गरेनन्‌।

यस सम्पदालाई तिरस्कार गर्ने केही व्यक्‍ति

८. एसावले कसरी आफ्नो सम्पदाको कदर गरेनन्‌?

इसहाकका जेठा छोरा एसावले आफ्नो जेष्ठ अधिकारको मूल्यांकन गरेनन्‌। तिनले पवित्र कुराहरूको कदर गरेनन्‌। त्यसकारण, एकदिन एकदमै भोक लागेको बेला एसावले आफ्नो भाइ याकूबलाई आफ्नो जेष्ठ अधिकार बेचिदिए। केको लागि? एक छाक रोटी र सुरुवाको लागि! (उत्पत्ति २५:२९-३४; हिब्रू १२:१४-१७) फलतः परमेश्‍वरले अब्राहामसित प्रतिज्ञा गर्नुभएको जाति याकूबको सन्तानबाट आउने भयो जसको नाउँ परमेश्‍वरले पछि इस्राएल राख्नुभयो। यो विशेष सम्पदाले तिनीहरूलाई कस्तो मौका प्रदान गऱ्‍यो?

९. आफ्नो आध्यात्मिक सम्पदाको कारण याकूब अथवा इस्राएलका सन्तानले कस्तो छुटकारा पाए?

अनिकालको समयमा याकूब र तिनको परिवार मिस्रमा बसाइँ सरे। त्यहाँ तिनीहरूको संख्या वृद्धि हुँदै गयो र तिनीहरू असंख्य भए तर तिनीहरू दासहरू पनि भए। तथापि, यहोवाले अब्राहामसित गर्नुभएको आफ्नो करार बिर्सनु भएन। आफूले तोक्नुभएको समयमा परमेश्‍वरले इस्राएलका छोराहरूलाई मिस्रबाट मुक्‍त गर्नुभयो र अब्राहामलाई प्रतिज्ञा गर्नुभएको “दूध र मह बहने” देशमा तिनीहरूलाई लैजाँदैछु भनेर बताउनुभयो।—प्रस्थान ३:७, ८; उत्पत्ति १५:१८-२१.

१०. सीनै पर्वतमा इस्राएलका छोराहरूले पाउने सम्पदासित सम्बन्धित कस्तो असाधारण घटना भयो?

१० इस्राएलका छोराहरू प्रतिज्ञा गरिएको देशतर्फ जाँदै गर्दा यहोवाले तिनीहरूलाई सीनै पर्वतमा जम्मा गर्नुभयो। त्यहाँ उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “यदि तिमीहरूले मेरा कुरा साँच्चैनै सुन्यौ र मेरो करार पालन गऱ्‍यौ भने समस्त मानिसहरूमध्ये तिमीहरू चाहिं मेरो एक निज धन हुनेछौ, किनकि सारा पृथ्वी मेरै हो। तिमीहरू मेरा निम्ति पूजाहारीहरूको एक राज्य, र एक पवित्र जाति हुनेछौ।” (प्रस्थान १९:५, ६) राजीखुसीसाथ सबै मानिसहरूले सहमती जनाएपछि यहोवाले तिनीहरूलाई आफ्नो व्यवस्था दिनुभयो। यस्तो व्यवहार उहाँले अरू कुनै जातिमाथि कहिल्यै देखाउनुभएको थिएन।—भजन १४७:१९, २०.

११. इस्राएलका छोराहरूले पाउने आध्यात्मिक सम्पदाका केही बहुमूल्य चीजहरू के थिए?

११ त्यो नयाँ राष्ट्रले एकदमै अनमोल आध्यात्मिक सम्पदा प्राप्त गऱ्‍यो! तिनीहरू एक मात्र साँचो परमेश्‍वरको उपासना गर्थे। उहाँले तिनीहरूलाई मिस्रबाट छुटाउनुभयो र सीनै पर्वतमा व्यवस्था दिनुहुँदा तिनीहरूले आश्‍चर्यजनक घटनाहरू पनि देखे। अगमवक्‍ताहरूद्वारा थप “परमेश्‍वरको [पवित्र] वाणी” प्राप्त गर्दै जाँदा तिनीहरूको सम्पदाको महत्त्व झनै बढ्यो। (रोमी ३:१, २) यहोवाले तिनीहरूलाई आफ्नो साक्षी नियुक्‍त गर्नुभयो। (यशैया ४३:१०-१२) प्रतिज्ञा गरिएको मसीह वंश तिनीहरूको जातिबाट निस्कने थियो। व्यवस्थाले त्यस वंशतर्फ औंल्याउने थियो, उहाँको परिचय दिने थियो र तिनीहरूलाई उहाँका आवश्‍यकता महसुस गराउने थियो। (गलाती ३:१९, २४) यसको अलावा, तिनीहरूलाई त्यस मसीही वंशसँगसँगै राज्यको पूजाहारी तथा पवित्र जातिको रूपमा सेवा गर्ने मौका दिइने थियो।—रोमी ९:४, ५.

१२. प्रतिज्ञा गरिएको देशमा प्रवेश गरे तापनि इस्राएलीहरूले के अनुभव गर्न पाएनन्‌ र किन?

१२ आफ्नो प्रतिज्ञाअनुसार यहोवाले इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशमा लानुभयो। तर पछि प्रेरित पावलले वर्णन गरेझैं तिनीहरूमा विश्‍वासको कमी भएकोले उक्‍त देश साँच्चैको ‘विश्राम गर्ने ठाउँ’ हुनसकेन। जातिको रूपमा तिनीहरूले “परमेश्‍वरको विश्राममा” प्रवेश पाएनन्‌ किनकि आदम र हव्वाको सृष्टिपछि सुरु भएको परमेश्‍वरको विश्राम-दिनको उद्देश्‍य तिनीहरूले बुझ्न सकेनन्‌ न त त्यसअनुरूप कामै गर्नसके।—हिब्रू ४:३-१०, NW.

१३. आफ्नो आध्यात्मिक सम्पदाको मूल्यांकन गर्न नसक्दा इस्राएल जातिले के गुमायो?

१३ स्वर्गमा मसीहसँगसँगै पूजाहारीहरूको एक राज्य, र एक पवित्र जातिको रूपमा राज्य गर्ने सबै जनहरू प्राकृतिक इस्राएलकै हुनसक्थे। तर तिनीहरूले आफ्नो अनमोल सम्पदाको मूल्यांकन गरेनन्‌। मसीह आउनुहुँदा प्राकृतिक इस्राएलको सानो समूहले मात्र उहाँलाई स्वीकारे। फलतः भविष्यवाणी गरिएको पूजाहारीहरूको राज्यमा थोरै मात्र समावेश भए। त्यो राज्य प्राकृतिक इस्राएलबाट खोसियो र ‘फल फलाउने जातिलाई दिइयो।’ (मत्ती २१:४३) त्यो कुन जाति थियो?

स्वर्गमा सम्पदा

१४, १५. (क) येशूको मृत्युपछि जाति जातिहरूले कसरी अब्राहामको ‘सन्तानद्वारा’ आशिष्‌ पाउन थाले? (ख) “परमेश्‍वरका इस्राएल[का]” सदस्यहरूले सम्पदास्वरूप के पाउँछन्‌?

१४ त्यो राज्य पाउने जाति येशू ख्रीष्टका आत्मा-अभिषिक्‍त १,४४,००० अनुयायीहरू, “परमेश्‍वरका इस्राएल” अर्थात्‌ आत्मिक इस्राएल थियो। (गलाती ६:१६; प्रकाश ५:९, १०; १४:१-३) यी १,४४,००० मध्ये केही प्राकृतिक यहूदीहरू नै थिए तर अधिकांश अन्यजातिका थिए। यसप्रकार, अब्राहामकै “सन्तान[द्वारा]” पृथ्वीका सबै जातिहरू आशिषित हुनेछन्‌ भनी परमेश्‍वरले गर्नुभएको प्रतिज्ञा पूरा हुनथाल्यो। (प्रेरित ३:२५, २६; गलाती ३:८, ९) उक्‍त प्रतिज्ञाको प्रारम्भिक पूर्ति हुँदा जाति जातिका मानिसहरू पवित्र आत्माले अभिषिक्‍त भए अनि यहोवाले तिनीहरूलाई आफ्नो आत्मिक पुत्र र येशूका भाइहरूको रूपमा ग्रहण गर्नुभयो। यसरी, तिनीहरू पनि त्यस ‘वंशको’ दोस्रो भाग भए।—गलाती ३:२८, २९.

१५ आफ्नो मृत्यु हुनुअघि येशूले त्यस नयाँ राष्ट्रका सम्भावित यहूदी सदस्यहरूसित नयाँ करार बाँध्नुभयो। अनि त्यो उहाँको रगतद्वारा सदर गरियो। सदर गर्ने उक्‍त बलिदानमाथिको तिनीहरूको विश्‍वासको आधारमा त्यस करारमा बाँधिएकाहरूलाई “सिद्ध” हुनेथिए। (हिब्रू १०:१४-१८) तिनीहरू “धर्मी ठहरिएका” हुनेथिए र तिनीहरूको पाप क्षमा गरिने थियो। (१ कोरिन्थी ६:११) यसरी, तिनीहरू आदमले पाप गर्नुअघिकै जस्तो अवस्थामा पुग्नेथिए। तथापि, यिनीहरू पार्थिव प्रमोदवनमा बस्नेथिएनन्‌। येशूले तिनीहरूको निम्ति स्वर्गमा ठाउँ तयार पार्न जाँदैछु भन्‍नुभएको थियो। (यूहन्‍ना १४:२, ३) ‘स्वर्गमा तिनीहरूका निम्ति साँचिराखेको हकको निम्ति’ तिनीहरूले आफ्नो पार्थिव प्रत्याशालाई त्यागे। (१ पत्रुस १:४) तिनीहरूले त्यहाँ के गर्ने थिए? येशूले यस्तो जवाफ दिनुभयो: “तिमीहरूका निम्ति म एउटा राज्य नियुक्‍त गर्छु।”—लूका २२:२९.

१६. अभिषिक्‍त मसीहीहरूसित सेवा गर्ने कस्तो अद्‌भुत मौका छ?

१६ स्वर्गबाट ख्रीष्टसँगै राज्य गर्नेहरूले अन्य कुराहरूका साथसाथै यहोवाको सार्वभौमिकताको विद्रोह गर्ने सारा थोक पृथ्वीबाट नामेट पार्न मदत गर्नेछन्‌। (प्रकाश २:२६, २७) अब्राहामको आत्मिक सन्तानको दोस्रो भागको रूपमा तिनीहरूले सारा जातिका मानिसहरूलाई सिद्ध जीवन प्रदान गर्ने काममा भाग लिनेछन्‌। (रोमी ८:१७-२१) तिनीहरूले कस्तो अनमोल सम्पदा पाए!—एफिसी १:१६-१८.

१७. पृथ्वीमा छँदै अभिषिक्‍त मसीहीहरूले आफ्नो सम्पदाको कुनचाहिं पक्षको आनन्द उठाउँछन्‌?

१७ तर येशूका अभिषिक्‍त अनुयायीहरूको सम्पदा मृत्युपछिको जीवनमा मात्रै सीमित छैन। येशूले तिनीहरूलाई एक मात्र साँचो परमेश्‍वर यहोवालाई चिन्‍न यत्ति मदत गर्नुभयो कि अरू कसैले पनि तिनीहरूले जति यहोवालाई चिन्‍न सक्ने थिएनन्‌। (मत्ती ११:२७; यूहन्‍ना १७:३, २६) कुरा तथा काम दुवैबाट उहाँले तिनीहरूलाई यहोवामाथि “आफ्नो भरोसा” राख्नुको अर्थ के हो र उहाँप्रति आज्ञाकारी हुनुमा के के बिथोलित छन्‌, त्यो सिकाउनुभयो। (हिब्रू २:१३; ५:७-९) येशूले तिनीहरूलाई परमेश्‍वरको उद्देश्‍यबारे साँचो ज्ञान दिनुभयो र पवित्र आत्माले तिनीहरूलाई अझ धेरै समझशक्‍ति दिनेछ भनेर आश्‍वासन पनि दिनुभयो। (यूहन्‍ना १४:२४-२६) उहाँले तिनीहरूको मन मस्तिष्कमा परमेश्‍वरको राज्यको महत्त्वको गहिरो छाप पार्नुभयो। (मत्ती ६:१०, ३३) येशूले तिनीहरूलाई यरूशलेम, यहूदिया, सामरिया र पृथ्वीका अन्तसम्मै साक्षी दिने र चेला बनाउने कार्यभार पनि सुम्पनुभयो।—मत्ती २४:१४; २८:१९, २०; प्रेरित १:८.

ठूलो भीडका लागि अनमोल सम्पदा

१८. अब्राहामकै ‘सन्तानद्वारा’ पृथ्वीका सारा जातिहरूले आशिष्‌ पाउनेछन्‌ भनी यहोवाले गर्नुभएको प्रतिज्ञा कुन तरिकामा पूरा भइरहेको छ?

१८ हामीले जानेबुझेअनुसार, राज्य हकदारहरूको सानो भीड अर्थात्‌ आध्यात्मिक इस्राएलको सम्पूर्ण सदस्य छानिसकिएको छ। (लूका १२:३२) यहोवाले जाति जातिकाहरूबाट ठूलो भीडका मानिसहरूलाई छान्‍नेतर्फ ध्यान केन्द्रित गर्नुभएको अहिले दशकौं भइसकेको छ। यसरी, यहोवाले अब्राहामलाई तिनकै ‘सन्तानद्वारा’ सारा जातिका मानिसहरूले आशिष्‌ पाउनेछन्‌ भनी गर्नुभएको प्रतिज्ञा अझ विस्तृत तवरमा पूरा भइरहेको छ। आनन्दको कुरा, यी आशिषित्‌ व्यक्‍तिहरूले पनि यहोवालाई त्यसै गरी पवित्र सेवा चढाइरहेका छन्‌ र आफ्नो छुटकारा परमेश्‍वरको थुमा, येशू ख्रीष्टमाथिको विश्‍वासमा भर पर्छ भनेर तिनीहरूले बुझेका छन्‌। (प्रकाश ७:९, १०) के तपाईंले यो आनन्दित समूहको भाग हुने यहोवाको हार्दिक निमन्त्रणा स्वीकार्नु भइसकेको छ?

१९. आज आशिष्‌ पाउने जातिहरूले कस्तो सम्पदा पाउनेछन्‌?

१९ सानो बगालमा नपर्नेहरूका लागि यहोवाले कस्तो बहुमूल्य सम्पदा दिनुहुन्छ? अहँ, तिनीहरूले पाउने सम्पदा स्वर्गमा पाइने सम्पदा होइन। त्यो त आदमले आफ्ना सन्तानलाई दिनुपर्ने सम्पदा हो अर्थात्‌ सारा पृथ्वीमा फैलिने प्रमोदवनमा सिद्ध अनन्त जीवन पाउने प्रत्याशा। त्यस संसारमा “फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन।” (प्रकाश २१:४) त्यसकारण, परमेश्‍वरको प्रेरित वचन तपाईंलाई यसो भन्छ: “परमप्रभुमा भरोसा राख्‌, र भलाइ गर्‌। देशमा रहेर सत्यताको पछि लाग्‌। तँ आफै परमप्रभुमा मग्न हो। र उहाँले तेरो मनोरथ पूर्ण गर्नुहुनेछ। किनकि थोरै बेरपछि, दुष्ट रहनेछैन। . . . तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌। धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:३, ४, १०, ११, २९.

२०. “अरू भेडा[ले]” अभिषिक्‍त मसीहीहरूको आध्यात्मिक सम्पदाको अधिकांश भागको आनन्द कसरी उठाउँछन्‌?

२० येशूका “अरू भेडा[ले]” यसै स्वर्गीय राज्यको पार्थिव इलाकामा पैतृक सम्पति पाउनेछन्‌। (यूहन्‍ना १०:१६क) तिनीहरू स्वर्गमा नजाने भए तापनि अभिषिक्‍त जनहरूले आनन्द उठाउने थुप्रै आध्यात्मिक सम्पदाको आनन्द तिनीहरूलाई पनि दिइनेछ। अभिषिक्‍त जनहरूको “विश्‍वासी र बुद्धिमान दास” समूहमार्फत अरू भेडाले परमेश्‍वरको वचनमा भएका अनमोल प्रतिज्ञाहरूको अर्थ बुझ्न सकेका छन्‌। (मत्ती २४:४५-४७; २५:३४) अभिषिक्‍त तथा अरू भेडा दुवैले एक मात्र साँचो परमेश्‍वर यहोवालाई चिनेका छन्‌ र उहाँको उपासना गर्छन्‌। (यूहन्‍ना १७:२०, २१) येशूको बलिदानमा निहित पापमोचनको मूल्यका लागि तिनीहरू एकसाथ परमेश्‍वरलाई धन्यवाद चढाउँछन्‌। तिनीहरू एकै बगालको भएर एउटै गोठालो, येशू ख्रीष्टको अधीनमा बसेर एकसाथ सेवा गर्छन्‌। (यूहन्‍ना १०:१६ख) तिनीहरू सबै एउटै मायालु विश्‍वव्यापी भ्रातृत्वको भाग हुन्‌। तिनीहरू यहोवाको र उहाँको राज्यको साक्षी हुने विशेषाधिकारबाट एकसाथ आनन्द उठाउँछन्‌। हो, यदि तपाईं यहोवाको समर्पित अनि बप्तिस्मा प्राप्त सेवक हुनुहुन्छ भने, यी सब तपाईंको आध्यात्मिक सम्पदामा समावेश हुनेछन्‌।

२१, २२. हामी आफ्नो आध्यात्मिक सम्पदाको कदर गर्छौं भनेर कसरी देखाउनसक्छौं?

२१ यो आध्यात्मिक सम्पदा तपाईंलाई कत्तिको अनमोल लाग्छ? के तपाईं परमेश्‍वरको इच्छा पूरा गर्नु नै आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा ठान्‍ने हदसम्म यस सम्पदाको कदर गर्दै हुनुहुन्छ? यसको प्रमाणस्वरूप के तपाईं उहाँको वचन र संगठनको सल्लाहअनुरूप सम्पूर्ण मसीही सभाहरूमा नियमित तवरले उपस्थित भइरहनुभएको छ? (हिब्रू १०:२४, २५) कठिनाइको बावजूद परमेश्‍वरको सेवा गरिरहन्छु भन्‍ने हदसम्म के तपाईंले त्यो सम्पदालाई बहुमूल्य ठान्‍नुभएको छ? यस सम्पदालाई गुमाउने मार्गतर्फ लानसक्ने कुनै पनि प्रलोभनलाई त्याग्नसक्ने गरी के तपाईंको त्यसको मूल्यांकन गर्नुहुन्छ?

२२ परमेश्‍वरले हामीलाई दिनुभएको यो आध्यात्मिक सम्पदाको हामी सबै कदर गरौं। आउँदै गरेको प्रमोदवनमा आफ्नो ध्यान केन्द्रित गर्दै यहोवाले अहिले हामीलाई दिनुभएको यस आध्यात्मिक सम्पदामा पूर्णतया भाग लिऔं। जीवनको हर कुरामा यहोवासितको हाम्रो सम्बन्धलाई विचार गरेर हामी ईश्‍वरप्रदत्त यो सम्पदालाई कत्तिको अनमोल ठान्छौं, त्यसको सशक्‍त प्रमाण दिन्छौं। हामी पनि यसो भनेर घोषणा गर्नेहरूमध्ये होऔं: “हे मेरा परमेश्‍वर, हे महाराजा, म तपाईंको प्रशंसा गर्नेछु। र म तपाईंको नाउँलाई सदा सर्वदा धन्यको भन्‍नेछु।”—भजन १४५:१.

तपाईं कसरी व्याख्या गर्नुहुन्छ?

• परमेश्‍वरप्रति वफादार भएका भए आदमबाट हामीले कस्तो सम्पदा पाउने थियौं?

• अब्राहामका सन्तानले आफूले पाएको सम्पदालाई कस्तो व्यवहार गरे?

• ख्रीष्टका अभिषिक्‍त अनुयायीहरूको सम्पदामा के समावेश छ?

• ठूलो भीडको सम्पदा के हो र त्यस सम्पदाको साँच्चै मूल्यांकन गर्छन्‌ भनेर तिनीहरूले कसरी देखाउन सक्छन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २०-मा भएका चित्रहरू]

अब्राहामका सन्तानले अनमोल सम्पदाको प्रतिज्ञा पाए

[पृष्ठ २३-मा भएका चित्रहरू]

के तपाईं आफ्नो आध्यात्मिक सम्पदाको मूल्यांकन गर्नुहुन्छ?